शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४५० - वाली मोही निष्काशन

भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १०

निर्णय नं. ६४५०      ने.का.प.०५४                        अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

सम्वत् २०५१ सालको दे.पु.नं. ... २०५१

फैसला मितिः २०५४।४।२९।४

 

मुद्दाः वाली मोही निष्काशन ।

 

पुनरावेदक/प्रतिवादीःजिल्ला सप्तरी गा.वि.स. इटही विष्णुपुर वडा नं. २ वस्ने मक्तू शाह तेली

विरुद्ध

विपक्षी/वादीः जिल्ला सप्तरी गा.वि.स. वोरीया वडा नं. ७ वस्ने धिरन दास ।

 

§  दर्तावाला मोही मुनाई साहुको मृत्यु भएपछि उक्त जग्गा मोहीको हैसियतले यी पुनरावेदकले कमाई आएको भएतापनि जग्गाधनीले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम विधिबत रुपमा मोही रोज्ने कार्य गरेको नदेखिदा कि.नं. २५० र २५१ को जग्गामा पुनरावेदक मक्तू साह तेलिको मोही हक स्थापित भएको मान्न मिलेन । दर्तावाला मोहीको मृत्यु भएपनि मोही लगतको दर्ता स्वतः वदर हुदैन । सो बदर गर्नको लागी कानून बमोजिमको कार्यबिधि अबलम्बन गर्नु पर्ने ।

§  प्रतिवादीको वाबु मुनाइ साहुको नाममा मो लगत कायम भएकोमा निजको मृत्युपछि निजको कुनैपनि छोरालाई विधिबत रुपमा मोही नरोजि निजको छोरा मक्तु शाहलाई मोही मानी निजलाई मोहीबाट निष्काशन समेत गरेको मिलेको नदेखिदा शुरुको केहि उल्टि गरी मोही निष्काशन समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला उल्टि हुने।

(प्र.नं. ११)

पुनरावेदक तर्फवाटः

विपक्षी तर्फवाटः

अवलम्बित नजीरः ने.का.प. २०५१, अंक ५, नि.नं. ४९०६ पृष्ठ ३४७, ने.का.प. २०५२ अंक ११ नि.नं. ६१०३ पृष्ठ ९५७

 

फैसला

            न्या. ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत राजविराज, सप्तरीबाट भएको मिति २०५०।१०।५।३ को फैसला उपर न्याय प्रशासन ऐन, ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

            २. मेरा नाउँ दर्ताको गा.पं. वोरीया वा.नं. ८ कि.नं. २५१ को ०-९-१-३ ऐ. कि.नं. २५० को ०-८-५ समेत जग्गा मुनाई साहले मोहीमा जोती कमाई आएको र निज पछि निजकै छोरा विपक्षी मक्तू साहले कमाएमा २०४८ सालको हुने कुत नवुझाई धरौट समेत नराखेकोले हुने कुत धान मन २-२७ शेरको निर्धारीत रु. १९२।- प्रतिमनले हुने रु. २४४०।- दिलाई मोही समेतबाट निष्काशन गरी पाउँ भन्ने वादी दावी ।

            ३. उल्लेखित जग्गाको वाली बुझाएको र यो २०४८ सालको समेत वाली बुझाई दिएको छु भरपाई नदिएको हुँदा ईन्साफ पाउँ भन्ने प्रतिउत्तर जिकिर ।

            ४. प्रतिवादीले कुत बुझाएको आधार प्रमाण पेश नगरेको र छलफलमा कुत बुझाउन तैयार छु भनी स्वीकार गरेको मोहीलाई सुध्रन मौका दिने उद्देस्यले मोही हक यथावत कायम राखी कुत २४४०।- वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत प्रतिउत्तर जिकिर ।

            ५. शुरुले गरेको फैसलामा चित्त वुझेन सो फैसला उल्टी गरी मोही निष्काशन समेत गरी पाउँ भन्ने पु.वे. वादीको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन ।

            ६. प्रस्तुत मुद्दाका प्रतिवादीले कुत बुझाएको भन्ने सवुद गुर्जान नसकेबाट निजले कुत वुझाई सकेको भन्न मान्न सकिने अवस्था भएन । तर्सथः मोही निष्काशन नगर्ने गरेको शुरु भूमि सुधार कार्यालय सप्तरीको फैसला सो हदसम्म नमिलेकोले उल्टी भै भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) को व्यवस्थाले मोही निष्काशन समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको फैसला ।

            ७. उक्त फैसलामा चित्त बुझेन । विवादित जग्गाको मोही लगत मेरा स्व. वावु मुनाई साहुका नाउँमा छ मोही नामसारी गरी पाउँ भन्ने भू.सु.का. सप्तरीमा मिति २०५०।२।२८ मा निवेदन परी कारवाही चल्दै  छ । यी वादीले कसलाई मोहीमा पत्याएको हो सो वमोजिम नालेस गर्नु पर्नेमा सो केही नगरी झूठा नालेस दिई मोही निष्काशन गरेकोले पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला वदर गरी न्यायोचित फैसला गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीले यस अदालतमा दिएको पुनरावेदन ।

            ८. यसमा वादीको फिराद स्व.पिताको नाममा मोहीको लगत कायमै रहेको अवस्थामा छोराका नाममा दिएको नालेशबाट मोही निष्काशन हुने ठहर्‍याएको पु.वे.अ. राजविराजको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराकाले यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।

            ९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी भक्तूसाह तेलीको वा. सोनाई सुतिहार तथा विपक्षी वादी धिरनदासको वा. ओम प्रकाश दासले इजलास समक्ष आई गरेको छलफल समेत सुनी प्रस्तुत मुद्दाको शुरु मिसिल सहितको रेर्कड मिसिल र पुनरावेदन पत्र समेतको अध्ययन गरी हेर्दा यसमा मेरा नाउँ दर्ताको कि.नं २५० र २५१ को जग्गा मुनाई साहले मोहीमा कमाई आएको र निजको मृत्यु भएपछि निजकै छोरा मक्तूसाहले कमाएकोमा २०४८ सालको हुने कुत नवुझाएको र घरौट समेत नराखेको हुनाले कुत दिलाई मोही निष्काशन समेत गरी पाउँ भन्ने वादी र २०४८ सालको वाली बुझाई सकेको हो । भरपाई नदिएको हुँदा झूठा नालेश गरेको हो भन्ने समेत प्रतिवादी भै विवाद परेको देखिन्छ । मोही हक यथावत राखि २०४८ सालको कुत वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भनि गरेको शुरु भूमि सुधार कार्यालय सप्तरीको निर्णय उपर वादीको पुनरावेदन परेकोमा शुरु ईन्साफ केही उल्टी गरी मोही निष्काशन समेत गर्न ठहर्‍याएको पुनरावेदन अदालत राजविराजका फैसला उपर यस अदालतमा  यो पुनरावेदन पर्न आएको देखियो ।

            १०. पुनरावेदन अदालत, राजविराजबाट भएको उक्त फैसला मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

            ११. निर्णय तर्फ विचार गर्दा यसमा फिराद दावीको कि.नं. २५० र २५१ को जग्गाको दर्तावाला मोही यी पुनरावेदकको वावु मुनाई साहु भएको र निजको मृत्यु समेत भै सकेको कुरामा कुनै विवाद देखिंदैन । दर्तावाला मोही मुनाई साहुको मृत्यु भएपछि उक्त जग्गा मोहीको हैसियतले यी पुनरावेदकले कमाई आएको भएतापनि जग्गाधनीले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम विधिवत रुपमा मोही रोज्ने कार्य गरेको नदेखिंदा कि.नं. २५० र २५१ को जग्गामा पुनरावेदक मक्तू साह तेलीको मोही हक स्थापित भएको मान्न मिलेन । दर्तावाला मोहीको मृत्यु भएपनि मोही लगतको दर्ता स्वतः वदर हुदैन । सो वदर गर्नको लागि कानून वमोजिमको कार्यविधि अवलम्वन गर्नु पर्ने हुन्छ । सो समेत भए गरेको पाइएन । निवेदक वहिद खां पठान विपक्षी श्रीराम कान्छु वानिया भएको उत्प्रेषण मुद्दामा यस अदालत पूर्ण इजलासबाट कानूनद्वार। निर्धारीत आधार विना मोही प्राप्तीका आधार स्वभाव वा व्यवहार या भरपाई हुन सक्दैन भन्ने समेत ने.का.प. २०५१ अंक ५ नि.नं. ४९०६ पृष्ठ ३४७ मा सिद्धान्त प्रतिपादन भै रहेको देखिंदा दर्तावाला मोहीको मृत्युपछि निजको हकवालाले मोहीको हैसियतले जग्गा कमाएकै आधारमा त्यसलाई मोही हक स्थापित भएको मानी निष्काशन गर्न मिल्ने देखिंदैन । साथै यस्तै प्रश्न समावेश भएको पुनरावेदक महेश पण्डित कुम्हाल समेत विपक्षी राजेश्वर दुवे व्राम्हण भएको कुतवाली मोही निष्काशन मुद्दामा यस अदालत संयुक्त इजलासबाट विधिवत रुपमा कायम नभएको मोहीलाई निश्काशन गरेको नमिल्ने भन्ने समेत ने.का.प. २०५२ अंक ११ नि.नं. ६१०३ पृष्ठ ९५४७ मा निर्णय भैसकेको  समेत  देखिन्छ ।

तर्सथ प्रतिवादीको वावु सुनाई साहुको नाममा मोही लगत कायम भएकोमा निजको मृत्यु पछि निजको कुनै पनि छोरालाई विधिवत रुपमा मोही नरोजी निजको छोरा भक्तसाहुलाई मोही मानी निजलाई मोहीबाट निष्काशन समेत गरेको मिलेको नदेखिंदा शुरुको केही उल्टी गरी  मोही

निष्काशन समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको फैसला  उल्टी  हुन्छ । कुतसम्म भराई दिएको शुरु भूमि सुधार कार्यालय सप्तरीको निर्णय मुनासिव ठर्हछ । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए वमोजिम मोही निष्काशन हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको मिति २०५०।१०।५।३ को फैसला उल्टी भै मोही निष्काशन नहुने ठहर्‍याएको शुरु भूमि सुधार कार्यालय, सप्तरीको २०४९।१०।२७ को निर्णय मुनासिव ठहरेकाले पुनरावेदन अदालत राजविराजको फैसलाले कायम गरेको सम्पूर्ण लगत कट्टा गरी दिनु भनि शुरु भूमि सुधार कार्यालय सप्तरीलाई लेखी पठाउनु ...    

मिसिल नियमानुसार गरी बुझाई दिनु ..... १

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरि प्रसाद शर्मा

 

इति सम्वत् २०५४  साल श्रावण २९ गते रोज ४ शुभम् .................................. ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु