निर्णय नं. ६४५७ - जग्गा खिचोला

निर्णय नं. ६४५७ ने.का.प.०५४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
सम्वत् २०५० सालको दे.पु.नं. .... १४३७
फैसला मितिः २०५४।६।७।३
मुद्दा : जग्गा खिचोला ।
पुनरावेदक/वादी : जि. महोत्तरी धिरापुर गा.वि.स. वडा नं. वा.नं. ४ वस्ने राजिन्दर राय दशौनी समेत जम्मा ३ ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. वस्ने देवेन्द्र राय दशौनी समेत जम्मा ४ ।
§ जग्गा जस्तो अचल सम्पतिमा हकाधिकार रहेको भन्ने कुराको पुष्टि गर्ने आधार मौखिक कथन मात्र हुन नसक्ने ।
(प्र.नं. १०)
पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने
प्रत्यर्थी वादीका तर्फवाटः
अवलम्बित नजीरः
फैसला
न्या.गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति ०४९।१२।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छ ।
२. जि. म. धिरापुर गावि.स. वडा नं. ८ को मटिहानी जाने सडक सो पश्चिम पोखरीमा जाने वाटो सो उत्तर अनिरु्रद्रको रायको हाल कि.नं. ३५८ को जग्गा देखि दक्षिण कि.नं. ३५९ मन्दीर देखि पूर्व ०(१(० रैलानी वेनवरी जग्गा पुर्खोली सनातन देखी भोगी आएको छौं । हाम्रो पुर्खाले पाउनु भएको विर्ता मध्येका जग्गा भित्रमा उक्त उल्लेखित जग्गामा करीव २५ वर्ष पहिले हामीले पूर्व मुखको घर बनाई भोग चलन गरी आएको थियो । सर्भे नापी हुँदाको अवस्था जग्गामा घर वनी सकेकोले गाउँ एरिया भित्रमा परी जग्गाको नापनक्सा हुन सकेन । प्रतिवादी देवेन्द्र राय समेतका प्रतिवादीहरुले ०४३।२।२९ गते उक्त हाम्रो जग्गा चलन हटक गरी खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. दावीको जग्गा फिरादीहरुको भए छेउको जग्गा नापी हुँदा सो जग्गा पनी नापी हुनपर्ने, विवादित जग्गाको दुवैतर्फ नम्वरी जग्गा छ भन्ने फिराद लेखवाट देखिन्छ । दावीको जग्गा वादीको हो भन्ने कुनै प्रमाण वादीलेपेश गर्न सकेको छैन । वादी दावीको जग्गा सार्वजनिक सडकको जग्गा हो । अंचलाधिश कार्यालय, जिल्ला कार्यालय तथा गा.पं. कार्यालयबाट कार्वाही हुँदा मे.ना.शा. महोत्तरीबाट दावीको जग्गा वाटोको नक्सा अन्तर्गत पर्छ भनि मिति ०४३।४।९ च.नं. २२ को पत्रबाट देखिन्छ । पुर्खोली जग्गा भन्ने वादी दावी झूठा हो दावीको जग्गा देखि मेरो कुनै व्यक्तिगत लगाव छैन । धिरापुर गा.पं. को हैसियतले कार्यवाही गरेको छु । वारदातका दिन म वैद्यनाथ कृषि शाखा धनकुटामा र प्र.म. दामोदर मलंगवामा छु भन्ने समेत व्यहोराको प्रतिउतर पत्र ।
४. विवादको जग्गा स्कूललाई हस्तान्तरण गरेको कुनै प्रमाण पेश नभएको जिल्ला कार्यालय महोत्तरीमा प्र.पं. देवेन्द्र राय, वद्रि राय, विदेश्वर समेतले गरेको शर्तनामा कागजमा वद्रि रायले साविकमा बनाई राखेको घर जग्गा छाडी भन्ने व्यहोराको शर्तनामा कागज समेतबाट वादी दावी जग्गामा वादीको घर भएको कुरा प्रष्ट देखिन आएको र वादी दावी जग्गामा वादीको घर भएको कुरा मिसिल प्रमाणबाट खुलेको देखिन आएकोले वादी दावी जग्गामा प्र.हरुले खिचोला गरेको ठहर्छ भन्ने समेत शुरु म.जि.अ.बाट ०४६।४।१९।५ मा भएको फैसला ।
५. शुरु म. जि.अ. वाट भएको गैर कानूनी फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको देवेन्द्र रायको पुनरावेदन पत्र ।
६. यसमा शुरु निर्णय विचारणिय हुँदा धरौटीमा रहेका पुनरावेदकलाई अ.वं. २०१ नं. वमोजिम र अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थीलाई समेत झिकाई आएपछि वा सो को अवस्था नाघेपछि पेश गर्नु भन्ने तकालिन ज.अं अ. वाट मिति ०४७।९।३० मा भएको आदेश ।
७. विवादित जग्गा वादीको हक भोगमा रहेको भन्ने प्रमाण पेश हुन समेत नसकेको र उक्त जग्गा सार्वजनिक रहे भएको भनी ०४२ साल देखि कार्यवाही चलिरहेको समेत देखिन आएकोले वादीको रहेछ भन्न ठहराउन सकिने अवस्था नहुँदा सो जग्गामा खिचोला ठहराउन सकिने समेत अवस्था नहुँदा सो जग्गामा खिचोला ठहराएको शुरु इन्साफ उल्टी हुने ठर्हछ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति ०४९।१२।११ को फैसला ।
८. पु.वे.अ. जनकपुरले गरेको फैसला त्रुटीपूर्ण हुँदा चित्त वुझेन मेरो परापूर्व कालदेखि नै रही आएको घर जग्गालाई विपक्षीहरुले उजाडेर खिचोला गरेको हुँदा पु.वे.अ.को फैसला वदर गरी दावी वमोजिम गरी पाउँ भन्ने समेत पुनरावेदन जिकिर ।
९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक पक्षबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले वादी दावीको जग्गा ऐलानी वेनवरी गाउँ व्लकमा परेको घर समेत भएको जग्गा हुँदा वादीसँग त्यस्तो जग्गाको दर्ता श्रेस्ता नभएको हो । वादीको परापूर्वकाल देखिको जग्गा हुँदा पुनरावेदन अदालत जनकपुरको फैसला वदर गरी वादी दावी वमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहर हुनु पर्छ भनी गर्नु भएको वहस समेत सुनियो । यस्मा परापूर्व कालदेखि हामीले भोगि आएको पुर्खोली ऐलानी ०(१(० जग्गामा विपक्षीहरुले खिचोला गरेकोले मेटाई चलन समेत चलाई पाउँ भन्ने वादी र वादी दावी झूठा हो दावीको जग्गा सार्वजनिक सडकको जग्गा हो । वादीको हकको होइन भन्ने समेत प्रतिवादी भएको प्रस्तुत मुद्दामा शुरु महोत्तरी जि.अ.ले वादी दावी वमोजिम खिचोला गरेको ठहराएको फैसलालाई पुनरावेदन अदालत, जनकपुरले उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर गरे उपर यस अदालत समक्ष प्रस्तुत पुनरँवेदन पर्न आएको देखिन्छ ।
१०. पु.वे.अ. जनकपुरले गरेको उक्त फैसला मिले नमिलेको के रहेछ भनी हेरी निर्णय तर्फ विचार गर्दा यस्मा जुन जग्गामा वादीले आफ्नु हक भोग रहेको देखिने दर्ता श्रेस्ता वा अन्य कुनै किसिमको प्रमाण वादीले पेश गर्न सकेको देखिंदैन । विवादित जग्गाको उत्तर तथा पश्चिम तर्फ नम्वरी दर्ता जग्गा र पूर्व तथा दक्षिण तर्फ सडक वाटो देखिन्छ । उक्त जग्गा वादी दावी अनुसार वादीको हकको भए सांधको जग्गा नापी हुँदा उक्त जग्गा पनि नापी हुनु पर्ने, नापी गर्न छुट भएको भए सो तर्फ वादीले कानून वमोजिम कारवाही चलाई आफ्नु हक पक्का गराएको देखिनु पर्नेमा सो समेत मिसिल प्रमाणबाट देखिंदैन । जहाँसम्म उक्त जग्गामा घर भएकोले गाउँ व्लकमा परी नापी न भै ऐलानी वेनम्वरी रहन गएको भन्ने वादी दावी छ । सो तर्फ हेर्दा अदालतबाट मिति २०४३।११।३ मा भै आएको नक्सामा विवादित जग्गामा कुनै घर रहेको देखिंदैन भने सो वरपर समेत घर भएको कारणबाट गाउँ व्लकमा परेको अन्य जग्गा देखिदैन । विवादित जग्गामा वादीको घर थियो भन्ने अन्य कुनै विश्वनिय आधार प्रमाण समेत मिसिलबाट देखिंदैन । जग्गा जस्तो अचल सम्पतिमा हकाधिकार रहेको भन्ने कुराको पुष्टि गर्ने आधार मौखिक कथन मात्र हुन सक्दैन । मिसिल संलग्न मेन्टेनेन्स नापी शाखा महोत्तरीको मिति ०४५।९।१६ को पत्रानुसार कि.नं. ३५८ देखि दक्षिण कि.नं. ३५९ देखि पूर्वको जग्गा नक्सा र फिल्डवुक अनुसार कि.नं. ७१३ वाटो भित्रकै जग्गा हो भन्ने उल्लेख भै आएको देखिन्छ । अदालतबाट भै आएको नक्सा अनुसार न.नं. ४ वादी ले आफ्नु हक भोगको र प्रतिवादीले सार्वजनिक जग्गा भनी झगडा जनाएको देखिन्छ र सो जग्गाको उत्तर पश्चिम तथा दक्षिण तर्फ सर्वे नापी भएको जग्गा देखिन्छ भन्ने पूर्व तर्फ न.नं.५ को कच्ची सडकले न.नं. ६ सार्वजनिक जग्गा र विवादित न.नं. ४ को जग्गालाई छुटयाएको देखिन्छ । अतः मिसिल प्रमाणबाट विवादित ०-१-० जग्गामा वादी दावी वमोजिम वादीको हक पुगेको नदेखिंदा सो जग्गामा खिचोला भयो भन्ने वादी दावी पुग्न नसक्ने ठहराई गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ठर्हछ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.भैरव प्रसाद लम्साल
इति सम्वत् २०५४ साल असोज ७ गते रोज ३ शुभम् .... ।