शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४६२ - कर्तव्य ज्यान ।

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४६२        ने.का.प. २०५४                 अङ्क ११

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गोबिन्द वहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्ब्त २०५३ सालको फौ.पु.इ.नं. ––– २५, २६, २७,

फौ.सा.पु.इ.नं. –––– २८

फैसला मितिः २०५४।९।१०।५

 

मुद्दा :कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा मस्याम गा.बि.स. वार्ड नं. ३ घर भै हाल पाल्पा कारागारमा रहेको रंगेली कान्छा भन्ने लेख वहादुर  झांक्री ।

विरुद्ध

विपक्षी/वादीः दुर्गा बहादुरको जाहेरीले श्री ५ को सरकार

                       

पुनरावेदक/प्रतिवादीः जिल्ला रुपन्देही दुधराक्ष गा.बि.स. वडानं. ५ घर भै हाल पाल्पा कारागारमा थुनामा रहेको कृष्ण वहादुर वि.क.

विरुद्ध

विपक्षी/वादीः दुर्गा वहादुर अस्लामी मगरको जाहेरीले श्री ५ को सरकार ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा मस्याम गा.बि.स. वडानं. ३ घर भै हाल पाल्पा कारागारमा थुनामा रहेका रण वहादुर विश्वकर्मा ।

विरुद्ध

विपक्षी/वादीः दुर्गा वहादुर अस्लामीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः जिल्ला मकवानपुर धिगाल गा.वि.स. वडानं. ९ घर भै हाल कारागार शाखा पाल्पामा थुनामा रहेको खड्ग बहादुर गुरुंग ।

 

§  प्र. लेख बहादुर प्रहरीमा फरार रहि अदालतमा आई वयान गरेको  देखिन्छ । निजको वयानलाई हेर्दा अपराध गर्ने योजनामा पहिला देखि नै सरिक भएको देखिन्छ । त्यसै गरी  निजले कर्तव्य पछि रु.१४००। निकालिएको सो रु.१४००। रुपैया मध्येबाट आफुले रु.३००। लिएको कुरा पनि स्विकार गरेको निजकै वयानबाट देखिन्छ । उल्लेखित वयानलाई पुष्टि गर्दै प्रतिवादी रण बहादुर, खड्ग बहादुर समेतले स्यानी मेजर्नीलाई रंगेली कान्छा भन्ने लेख बहादुरले घांटी अठ्याएका दवाएका हून भनी प्रहरी अदालतमा वयान गरेका र प्रतिवादी रण बहादुरले लेखाएको वयानमा पनि अपराध गर्नु भन्दा पहिले तेज कुमारीको पसलमा को को छन् भनी रंगेली कान्छा भन्ने रण बहादुर हेर्न गएको भनेका र सो कूरालाई लेख बहादुर समेतले स्वीकार गरेको पाइन्छ । यसरी पैसाको प्रलोभनमा मार्ने पुर्व तयारी गरी योजना वनाई घांटी अठ्याई मृतक राम बहादुर अस्लामी मगर, सानी मेजर्नी भन्ने यनीसरा मगर्नी र तेज कुमारी मगर्नीलाई मारेकोमा प्रतिवादी रण बहादुर समेत सावित भएको र उल्लेखित कुरालाई पुष्टि गर्दै अदालतमा उपस्थित सर्जमीनका मानिसहरु समेतले किटानी रुपमा लेखाई दिएको पाइन्छ । अतः उल्लेखित अवस्था तथा घट्नाको निरन्तरता समेतलाई हेर्दा प्र.रंगेली कान्छा भन्ने लेख बहादुर वारदातमा संलग्न थिएनन् भन्न मिल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा अपराधमा आफू संलग्न नभई घटनास्थल वाहिर मानिस हेर्न वसेको भन्ने प्र. लेख बहादुरको भनाईलाई पुष्टि गर्ने कुनै प्रमाण समेत गुजार्न सकेको देखिदैन । खाली म संलग्न थिइन भन्दैमा निजलाई शंकाको सुविधा दिई निज लेख बहादुर पूर्व योजना अनुरुप घटनास्थलमा उपस्थित भईसकेपछि वारदातमा संलग्न नरही ३ जनाको कर्तव्य ज्यान जस्तो संगिन अपराधमा दर्शक मात्र भई टुलु टुलु हेरी मात्र रहे होलान भनी भन्न मिल्ने अवस्था विद्यमान नहुँदा निज प्रतिवादी रंगेली कान्छा भन्ने लेख बहादुर झांक्री समेतलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्‍याएको शुरु पाल्पा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मनासिव ठहर्‍याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मिलेकै देखिंदा मनासिव ठहर्ने ।               

 (प्र.नं. २८)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री उत्तम सिंह थांगदेन

विपक्षी वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति

अवलम्वित नजिरः x

 

फैसला

      न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत, वुटवलको मिति २०४९।१२।९।२ को फैसला उपर पुनरावेदन र साधक जांचको लागी पर्न आई यस अदालत संयुक्त इजलासमा मतैक्यता हुन नसकी यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

      २.    पाल्पा मस्याम गा.पं. वडा नं. ७ मा मेरो पानी मिल छ । मिलमा काम गर्ने ड्राईभर राम वहादुर अस्लामी मगर मिल घरको नजीक दुकान गरी वस्ने तेज कुमारीको घरमा पनि कहिले कांही सुत्न जान्थे । २०४४।८।१० गते म समेतका परिवार घरमा थियौं । ऐ.११ गते विहान लेक वहादुर झांक्रीले तेज कुमारीको दुकानमा चिया खान आएको कोही पनि उठे्नन भनी भनेकाले म समेत भै जांदा ड्राइभर राम वहादुर, तेज कुमारी र स्यानी मेजर्नी घर भित्र मृतक अवस्थाामा देखिएकोले जाहेर गरेको छु कानून वमोजिम गरी पाउं भन्ने दुर्गा वहादुरको जाहेरी दरखास्त ।

      ३.    मृतक राम वहादुरको देब्रे कान पटृीको भाग निलो भै सुनिएको, देव्रे नाक वाट रातोपानी वाहिर निस्केको, घांटीमा रातो निलडाम भएको र मृतक तेज कुमारीको घांटीको दुवै भागमा चिथोरीएको घाउ निलडाम भएको, योनीवाट रगत निस्केको तथा यनिसराको पिठ्ठयूमा रातो निलो डाम भएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लास प्रकृति   मुचुल्का ।

      ४.    घटनास्थलमा चाइनिज लाईट, चप्पल समेत फेला परेको भन्ने वरामदी  मुचुल्का । तथा मृतकहरुको लास जांच  प्रतिवेदन ।

      ५.    मेरो जेठो छोरी कृष्ण वहादुर वि.क. लाई माइली छोरी खलासी काम गर्ने खड्ग वहादुरसंग विवाह गरेका छन् । निज जुवाईहरु वेला मौकामा मेरो घर आउंदा तेज कुमारीको दुकान पसलमा जाने गर्दथे । खड्ग वहादुरले तेज कुमारीसंग धेरै पैसा छ मार्न पर्‍यो भनी भनेकाले र म पनि गरीव हुँदा मन्जूर गरे र दुवै ज्वाई म र रंगेली कान्छा भन्ने समेत भै ड्राइभर राम वहादुर, तेज कुमारी, स्यानी मेजर्नीलाई घांटी अठ्याई मारी रु. १,४००।पैसा पटुकावाट निकाली निजहरुलाई सिरक ओडाई हिडेका हुम् भन्ने समेत व्यहोराको प्र. रण वहादुर वि.क. ले प्रहरीमा गरेको वयान कागज ।

      ६.    खड्ग वहादुरको सल्लाह अनुसार म खडग वहादुर ससुरा रण वहादुर रंगेली कान्छा भै तेज कुमारीको घरमा राती ११ बजे गै पैसाको लोभले उल्लेखित तिनजना व्यक्तिहरुलाई मारी रु. १,४००।नेपाली लिई पैसा वाडी लिएका हुम् । सो अवस्थामा मेरो लाईट त्यही छुटेछ भन्ने समेत व्यहोराको प्र. कृष्ण वहादुर वि.क. को प्रहरीमा भएको वयान कागज ।

      ७.    २०४४।८।८ गते ससुराली गएको अवस्थामा मेजर्नीले धेरै पैसा राखेको छ मार्न पर्‍यो भनी ससुरा रण वहादुरलाई भन्दा हुन्छ भनेकाले साडुभाई कृष्ण वहादुर, रंगेली कान्छा भै पूर्व सल्लाह अनुसार ०४४।८।१० गते राती ४ जना भै गई तिनजना सुतेका रहेछन् । भित्र गई कसैले हात कसैले खुट्टा समाई अठ्याई मारेको र त्यसपछि पैसा खोज्दा रु. १,४००।मात्र फेला पारी लिएको हो भन्ने समेत व्यहोराको प्र. गोपाल भन्ने खड्ग वहादुरको प्रहरीमा भएको वयान कागज।

      ८.    मृतकहरुलाई प्रतिवादीहरुले मारेकोमा विश्वास लाग्दछ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।

      ९.    ०४४।८।१० गते राती ८ बजेको समयमा सलाई किन्न भनि तेज कुमारीको दोकानमा जांदा तेज कुमारी, यनिसारा, लेख वहादुर झाक्री समेत वसी रक्सी खांदैथिए भन्ने समेत व्यहोराको जाहेरवालाको श्रीमती धन कुमारी, अस्लामीको कागज ।

      १०.    अनुसन्धानका सिलसिलामा संकलित कागजातहरुको आधारमा विरुद्ध खण्डमा लेखिएका रण वहादुर विश्वकर्मा, कृष्ण वहादुर विश्वकर्मा, रंगेली कान्छा भन्ने लेख वहादुर झाक्री, र गोपाल भन्ने खड्ग वहादुर गुरुङ समेतले तेजकुमारी, राम वहादुर, यनिसरा समेत जना ३ लाई घांटी दवाई, कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १ नं.  को अपराध गरेको सिद्ध हुन आएको हुँदा सोही ऐनको दफा १३ को देहाय ३ बमोजिम हदैसम्म सजाय हुन मांग दावी गरी अभियुक्त रण वहादुर विश्वकर्मा, कृष्ण वहादुर विश्वकर्मा समेत जना २ लाई यसै साथ प्रस्तुत गरिएको र गोपाल भन्ने खड्ग वहादुर गुरुङ, कल वहादुर रानाको जाहेरीले परेको डांका मुद्दामा प्रहरी प्रतिवेदनसाथ मिति ०४५।४।११ मा पेश भएको हुँदा त्यहां वाटै कारवाही हुन र पक्राउमा नपरेका रंगेली कान्छा भन्ने लेख वहादुर झाक्रीलाई कानून वमोजिम झिकाई कारवाही गरी पाउं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन अभियोग मागदावी ।

      ११.    मैले मारेको ३ जनाको नाम जान्दीन मारेको हो मारेपछि रु.६००।७०० लिएको हो प्रतिवादी रण वहादुर विश्वकर्मा र कृष्ण वहादुर विश्वकर्मालाई चिन्दछु । कान्छा भन्ने लेख वहादुरलाइ मैले चिन्दीन भन्ने समेत व्यहोराको प्रतिवादी गोपाल भन्ने खड्ग वहादुर गुरुङले मिति ०४५।४।२३ गते अदालतमा गरेको वयान ।

      १२.   घटना वारदातको सम्बन्धमा मलाई केही थाहा छैन । ससुरा रण वहादुर संग कुनै रिस इवी छैन गोपालसंग थियो रंगेली कान्छोलाई मैले देखेको थिइन मलाई किन पोल गरे थाहा छैन । मैले कसुर नगरेको हुँदा सजाय हुनु पर्ने होइन भन्ने समेत प्र. कृष्ण वहादुर विश्वकर्माको वयान ।

      १३.   मृतक राम वहादुर तेज कुमारी र सानी मेजर्नी यनिसरा समेतलाई राती १२ बजेको समय तिर तेज कुमारीको घरमा निजसंग पैसा धेरै छ भन्ने थाहा पत्ता समेत लगाई तीनै जनालाई मार्नुपर्छ भन्ने सल्लाह वमोजिम चाइनिज टर्च चप्पल देखें जेठा ज्वाई कृष्ण वहादुरको हो घटना गर्न जांदा अध्यारो हुँदा छोडिएको हो मेरा ज्वाई गोपाल वहादुर रंगेली कान्छो र म समेत घटना घटाएको होभन्ने समेत रण वहादुर विश्वकर्माको वयान कागज ।

      १४.   तेज कुमारीको दुकान घरमा म सधैं जसो चिया, रक्सी खान जाने आउने गर्दथें ०४५।८।१० गते पनि निज तेज कुमारीको घरमा रक्सी समेत खाएकोहुम मृतक जना ३ कसको कर्तव्यवाट मरे मलाई थाहा छैन, राम वहादुर, तेज कुमारी, सानी मेजर्नी समेतलाई रण वहादुर, गोपाल,कृष्ण वहादुर र म समेत भै घटना घटेको ठाउंमा गई म वाहिर मानिस हेर्न लागे भन्ने समेत व्यहोराको रंगेली कान्छा भन्ने लेख वहादुर झाक्री मगरको वयान ।

      १५.   प्रतिवादी गोपाल भन्ने खड्ग वहादुर गुरुङले वादी दावा वमोजिम मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ (३) नं. अनुसार कसूर गरेको ठहर्छ । सो ठहर्नाले निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं वमोजिम सर्वश्व सहित जन्मकैद हुन्छ । मृतक मध्ये यनिसराको घांटी अठ्याउने व्यक्ति रंगेली कान्छा भन्ने लेख वहादुरले यस अदालतमा वयान गर्दा आफूहत्याको वारदातमा संलग्न रहेको तथ्यलाई स्वीकार गरे पनि मृतक यनिसराको घांटी अठ्याउने व्यक्ति अभियुक्तहरु मध्ये यही नै रहेछ भन्ने स्पष्ट खुल्न आएन । अत अभियुक्त प्र. रण वहादुर विश्वकर्मा, कृष्ण वहादुर विश्वकर्मा र रंगेली कान्छा भन्ने लेख वहादुर झाक्री, मृतक राम वहादुर अस्लामी, तेज कुमारी र यनिसरा ३ जनाको हत्याको वारदातमा सम्मिलित भै मृतकको हात खुट्टा समाउने समेतको कार्य गरेको देखिन आएवाट निजहरु तिनै जनाले प्रहरी प्रतिवेदन अभियोग दावी वमोजिम मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम कसुर गरेको ठहर्छ । सो ठहर्नाले निजहरु तीनै जनालाई सोही ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम जन्म कैद हुन्छ भन्ने समेत व्यहोराको मिति ०४७।५।२५।२ मा पाल्पा जिल्ला अदालतले गरेको फैसला ।

      १६.    पाल्पा जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा सो उल्टी गरी न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादी रण वहादुर विश्वकर्मा, गोपाल भन्ने खड्ग वहादुर गुरुङ, रंगेली कान्छा भन्ने लेख वहादुर र कृष्ण वहादुर बिश्वकर्माको पुनरावेदन अदालत, वुटवलमा परेको छुट्टा छुट्टै पुनरावेदन पत्र ।

      १७.   मृतकहरुलाई प्रतिवादीहरुले घांटी थिची अठ्याई मारेको भन्ने कुराको पुष्ट्याई भएको समेतका उल्लेखित सवूद प्रमाणहरुवाट निज प्रतिवादीहरु रण वहादुर विश्वकर्मा, गोपाल भन्ने खड्ग वहादुर गुरुङ, कृष्ण वहादुर विश्वकर्मा, र रंगेली भन्ने लेख वहादुर झांक्रीको कतव्यवाट मृतक राम वहादुर अस्लामी मगर तेज कुमारी र स्यानी मेजर्नी भन्ने यनिसरा कुमारीको मृत्यु हुन गएको देखिंदा निज प्रतिवादीहरु रण वहादुर विश्वकर्मा, कृष्ण वहादुर विश्वकर्मा र रंगेली कान्छा भन्ने लेख वहादुर झांक्री समेतलाई ज्यान सम्बन्धीको १३(३) नं. वमोजिमको कसुरदार ठहर्‍याई जन्म कैदको सजाय गर्ने र गोपाल भन्ने खड्ग बहादुरलाई ज्यान सम्बन्धिको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद गरेको शुरु पाल्पा जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, वुटवलको मिति ०४९।१२।९।२ को  फैसला ।

      १८.   प्रहरीले मेरो इच्छा विरुद्ध डर,त्रास, यातना दिई ठाडो कागज गराएको हुँदा प्रमाण ऐन, २०३१ को दफा ९(क) २,३ को बिपरित र असंवैधानिक भएको छ । प्रहरीको ठाडो कागजलाई प्रमाणमा लिन नमिल्ने भनि सर्वोच्च अदालतवाट महत्वपूर्ण सिद्धान्तको प्रतिपादन वासुदेव भारती समेत विरुद्ध विर वहादुर भएको मुद्दा (ने.का.प. ०१५ नि.नं. ४ पृष्ठ १५) मा भएको छ । प्रतिवादी गोपाल भन्ने खड्ग वहादुर गुरुङ मेरो छोरी जुवाई हो आफू चोरी मुद्दा गर्ने वदमास हो । छोरी जुवाईको नाताले उनिहरुले गरेको कसुर रहेछ भनेपनि मलाई सावित भएको भन्दैमा दोषी ठहर्‍याउन मिल्ने होइन । एकै घरमा ३३ जना परिवारको मृत्यु भएकोमा हो हल्ला आवाज गुहार सम्मको आवाज, उठाउनु पर्नेमा केही पनि भएको छैन । मृत्युको कारण स्पष्ट खुलेको पनि छैन । ३३ जना व्यक्ति मर्दा ३ जना प्रतिवादीले आक्रमण गर्न सक्ने अवस्था पनि हुँदैन । शंका गर्ने हो भने शंकाको फाईदा मैले पाउनु पर्ने कानूनी प्रावधान छ । सजाय गर्नु परेपनि ज्यान सम्वन्धीको १३(३) वमोजिम सजाय गर्न कानूनको प्रतिकूल भएको हुँदा यसै महलको १४ नं. आकर्षित हुने हुँदा सोही वमोजिम १० वर्षको सजाय गरी पाउं भन्ने समेत व्यहोराको रण वहादुर विश्वकर्माको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      १९.    म पुनरावेदकले प्रहरीमा गरेको वयान मेरो स्वेच्छाले भएको होइन । प्रहरीले लाठीले कुटपिट गरी यातना दिई मेरो इच्छा विरुद्ध गरी वयान खडा गरेका हुन् । यस्तो अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ९(क) २,३ को प्रतिकूल भएको छ । प्रतिवादी रण वहादुरले पोल गरेकाले दोषी ठहर्छ भन्ने तर्फ निज प्रतिवादीले पोल गरेको भरमा मलाई दोषी ठहराउन मिल्ने होइन । वारदात घटाउन पूर्व तयारी गरी मारेका हुन् भने अदालत समक्ष युवराज खनालले वकपत्र गरेकोले भन्ने तर्फ दोषी ठहर्‍याउन मिल्दैन । यदि उक्त घटना घटाउन पूर्व योजना भएको र निज युवराज खनालले थाहा पाएको भए तत्कालै उजुर गर्न पर्नेमा सो गरेको छैन । यसरी मार्ने कुरामा पूर्व योजनाको वारेमा चाल पाएर पनि चुप लाग्नु निज युवराज खनाललाई पनि ज्यान सम्वन्धी महलको २६ नं.आकर्षित भएको छ । उपरोक्त वारदातमा म संलग्न पनि छैत । मृतकहरुलाई मार्दा के प्रयोग गरेको हो भन्ने पनि खुलेको छैन । केवल घांटी समाती मारेको भनि उल्ल्ख भएको छ । मलाई सजाय नै गर्नु परे पनि ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम हुनु पर्नेमा एक्कासी १३(३) नं. वमोजिम सजाय गर्नु कानूनको प्रतिकूल भएको हुँदा उल्टी गरी पाउं भन्ने समेत व्यहोराको कृष्ण वहादुर विश्वकर्माको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      २०.   वारदातमा म संलग्न पनि थिइन । वारदातमा आफूले मार्नमा हात नछाडेको हेरी मात्र रहेको भन्ने कुरा खुल्न आएको छ ।मलाई त्यसरी वारदातमा रहेको र हात नछाडेको हेरी मात्र रहेको कुरालाई समर्थन गर्ने हो भने पनि मलाई ज्यान सम्बन्धी १७(३) अनुसार ३ बर्ष सजाय हुनु पर्ने हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउं भन्ने समेत व्यहोराको रंगेली कान्छा भन्ने लेख वहादुर झांक्रीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      २१.   प्रतिवादी मध्ये खड्ग वहादुर गुरुङको पुनरावेदन परेको मिसिल सामेल देखिन आएन ।

      २२.   अपराध भनेको शंकारहित तरिकावाट प्रमाणित हुन पर्ने हुन्छ । शंका र अनुमानको आधारमा अपराधी ठहर्‍याउनु फौज्दारी न्याय सिद्धान्त बिपरित हुन जान्छ । प्रतिवादीहरु रण वहादुर र कृष्ण वहादुरका हकमा ज्या.सं. १३(३) वमोजिम जन्मकैदका सजाय हुने ठहर्‍याएको पु.वे.अ.को इन्साफ मिलेकै देखियो, तर प्र.लेख वहादुरलाई ज्या.स.को १३(३) को सजाय गर्ने गरेको इन्साफ मिलेको देखिन आएन । प्र. लेख वहादुर मृतकहरुको ज्यान मार्ने मतलवमा भने पसेको तर ज्यान मार्ने ठाउंमा गई मानिस आउंछन कि भनी हेरी रहने मतलवी देखिएकोले ज्या.स. १७(३) वमोजिम कैद वर्ष ३ हुन्छ । पुनरावेदन अदालतको इन्साफ केही उल्टी हुन्छ । प्र. लेख वहादुरको हकमा पनि ज्या.स. १३(३) वमोजिम जन्मकैद हुने ठहर गरेको पुनरावेदन अदालतको इन्साफ मनासिव ठहर्‍याएको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायमा सहमत नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत मा.न्या. श्री कृष्णजंग रायमाझीको राय ।

      २३.   अन्य प्रतिवादीको हकमा सहमती जनाउंदै प्रतिवादी रंगेली कान्छा भन्ने लेख वहादुर झांक्री अरु तीनजना प्रतिवादीरुसंग साथमा अपराधमा संलग्न भएकोमा नै मनसुवामा पसेको वारदात स्थलमा भएको पैसा बांडी खाएका यावत कुरामा सावित रहंदै चोट छोडेमा इन्कार रहेको स्थिति पाइन्छ । निज रंगेली कान्छा भन्ने लेख बहादुर झाक्रीको वयान व्यहोरा हेर्दा अपराधमा संलग्नता रहेको र आफूलाई निर्दोष सावित कसरी गराउन सकिन्छ भन्ने तर्फ चनाखो रही त्यस्तो पारावाट कार्य गरे भन्ने निजकै वयानको प्रकरण १६ वाट पनि देखिन्छ। आफूलाई निर्दोष देखाउने प्रयत्न गर्दै रहेको र मौकामा फरार रहेको स्थिति पनि रहेछ । घटना भएको सवै कुरा लुकाई राखेका र पत्ता नलाग्ने भयो भन्ने बिश्वास भएपछि तराईवाट घर फर्की आउंदा पक्राउ परेका भन्ने वयानको प्रकरण १६ वाट देखिन्छ । अदालतमा आई वयान भएको, प्रहरीमा वयान हुन पाएको देखिंदैन । अदालतमा वयान गर्दा वयान व्यहोरा वाझिएका देखिन्छन् । घटनाक्रम वर्णन आफू आफूहरुले वर्णन क्रमसंग मिलेको पाइन्छ । सह अभियुक्तको वयान सुनेपछि केही इन्कार हुन खोजेको पाइन्छ । आफूलाई कसुरदार ठहर्ने गरी साविती रहने सहअभियुक्तहरुको वयानवाट निजले कसुरदार ठहर्ने गरी साविति रहने सहअभियुक्तहरुको वयानवाट निजले चोट छोडेको भन्ने स्पष्ट छ । अन्यथा प्रमाणित हुन सकिरहेको नदेखिने अवस्थामा निजको केही इन्कारीवाट सांचो रहेछ भनी मान्न सकिने अवस्था रहंदैन । तीन तीन जना व्यक्तिलाई घांटी थिची मार्दा घटनास्थलमा उपस्थित रहने लेख वहादुर टुलु टुलु हेरी मात्र रहे होलान भनी मान्न परिस्थितिजन्य अवस्थाले पनि समर्थित गरी रहेको भन्न नमिलेबाट शुरु पाल्पा जिल्ला अदालतको फैसला मनासिव ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ।  माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझीसंग पुनरावेदक प्रतिवादी रंगेली कान्छा भन्ने लेख वहादुर झाक्रीको हकमा ज्या.स. १७(३) नं. वमोजिम कैद बर्ष ३ हुने ठहर्‍याई गरेको फैसलामा सम्म सहमत हुन नसकेवाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) वमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत मा.न्या. श्री केदारनाथ आचार्यको राय ।

      २४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावदेक प्रतिवादीहरुको तर्फवाट उपस्थित विद्धान वैतनिक अधिवक्ता श्री उत्तमसिंह थाङदेनले प्रतिवादी लेख वहादुर अपराध घटाउने कार्यमा संलग्न नभई खाली घटनास्थलमा कोहि आउलान कि भनि मानिस हेर्न वाहिरै वसेको भन्ने निजको वयानवाट देखिन्छ । चश्मदित पनि कोहि नभएकोमा फौज्दारी अपराधमा खाली शंकाको भरमा सजाय गर्न मिल्ने होइन अतः संयुक्त इजलासका मा.न्या. श्री कृष्णजंग रायमाझीको राय सदर हुनुपर्छ भन्ने समेतको वहस र बिपक्षी वादी दुर्गा वहादुरको जाहेरीले श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्धान सरकारी अधिवक्ता सत्यनारायण प्रजापतिले चारै जना प्रतिवादीरुले मृतकहरु राम वहादुर अस्लामी मगर, स्यानी मेजर्नी भन्ने यनीसरा मगरनी र तेज कुमारी मगरनीलाई पैसाको प्रलोभनमा मार्न पूर्वतयारी गरी रातको ११ वजे गई घांटी समेत थिची अठ्याई मारेको भन्ने कुराको पुष्ट्याई समेत भएको छ । प्रतिवादीहरुले घटनासंग सम्बन्धित संपूर्ण वारदातमा सहभागी भै गरेकोमा केही गरेको छैन भन्न मिल्ने अवस्था नदेखिंदा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १७(३) नं. वमोजिमको कसुरदार ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसलालाई सदर गरेको मा.न्या. श्री केदारनाथ आचार्यको राय सदर गरी पाउं भन्ने समेत व्यहोराको वहस प्रस्तुत  गर्नुभयो ।

      २५.   प्रस्तुत मुद्दामा पुनरावेदन अदालत,वुटवलले गरेको फैसला मिले नमिलेको के रहेछ भन्ने बिषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।

      २६.   यसमा निर्णय तर्फ विचार गर्दा पुनरावेदन नपरेका प्रतिवादी खड्ग वहादुर गुरुङ र पुनरावेदन गर्ने प्रतिवादीहरु कृष्ण वहादुर बिश्वकर्मा तथा रण वहादुर बिश्वकर्मा समेतको हकमा पुनरावेदन अदालत वुटवलको फैसला मनासिव ठहर्याई यस अदालत संयुक्त इजलासको मतैक्यता कायम भएको देखिंदा त्यसतर्फ केहि बिचार गरिरहनु परेन ।

      २७.   त्यस्तै अर्का पुनरावेदक प्रतिवादी रंगेली कान्छा भन्ने लेख वहादुर झांक्रीको हकमा पुनरावेदन परेको अवस्था देखिएकोले सो पुनरावेदन उपर संयुक्त इजलासमा छलफल हुँदा निज प्र. लेख वहादुरको हकमा सम्म मतैक्यमा कायम हुन नसकि प्रस्तुत मुद्दाहरु यस पूर्ण इजलास समक्ष पेश हुन आएको देखिंदा पुनरावेदन को रोहवाट इन्साफ जांच हुने नै हुँदा साधकको लगत कट्टा गरिदिनु ।

      २८.   अब पुनरावेदन गर्ने यी प्रतिवादी लेख वहादुर झांक्रीको हकमा संयुक्त इजलासमा मतैक्यता कायम हुन नसकी यस इजलासमा पेश भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ बिचार गर्दा प्र. लेख वहादुर प्रहरीमा फरार रहि अदालतमा आई वयान गरेको देखिन्छ । निजको वयानलाई हेर्दा अपराध गर्ने योजनामा पहिला देखि नै सरिक भएको देखिन्छ । त्यसै गरी निजले कर्तव्य पछि रु. १४००।निकालिएको सो रु. १४००। रुपैया मध्येवाट आफूले रु. ३००। लिएको कुरा पनि स्विकार गरेको निजकै वयानवाट देखिन्छ । उल्लेखित वयानलाई पुष्टी गर्दै प्रतिवादी रण वहादुर, खड्ग वहादुर समेतले स्यानी मेजर्नीलाई रंगेली कान्छा भन्ने लेख वहादुरले घांटी अठ्याएका दवाएका हुन भनि प्रहरी अदालतमा वयान गरेका र प्रतिवादी रण वहादुरले लेखाएको वयानमा पनि अपराध गर्नु भन्दा पहिले तेज कुमारीको पसलमा को को छन भनि रंगेली कान्छा भन्ने रण बहादुर  हेर्न गएको भनेका र सो कुरालाई लेख वहादुर समेतले स्वीकार गरेको पाइन्छ । यसरी पैसाको प्रलोभनमा मार्न पूर्व तयारी गरी योजना वनाई घाटी अठ्याई मृतक राम वहादुर अस्लामी मगर, सानी मेजर्नी भन्ने यनीसरा मगर्नी र तेज कुमारी मगर्नीलाई मारेकोमा प्रतिवादी रण वहादुर समेत सावित भएको र उल्लेखित कुरालाई पुष्टी गर्दै अदालतमा उपस्थित सर्जमीनका मानिसहरु समेतले किटानी रुपमा लेखाई दिएको पाइन्छ । अतः उल्लेखित अवस्था तथा घट्नाको निरन्तरता समेतलाई हेर्दा प्र. रंगेली कान्छा भन्ने लेख वहादुर वारदातमा संलग्न थिएनन् भन्न मिल्ने अवस्था देखिंदैन । यस्तो अवस्थामा अपराधमा आफू संलग्न नभई घटनास्थल वाहिर मानिस हेर्न वसेको भन्ने प्र. लेख वहादुरको भनाईलाई पुष्टी गर्ने कुनै प्रमाण समेत गुजार्न सकेको देखिंदैन । खाली म संलग्न थिइन भन्दैमा निजलाई शंकाको सुविधा दिई निज लेख वहादुर पूर्व योजना अनुरुप घटनास्थलमा उपस्थित भईसकेपछि वारदातमा संलग्न नरही ३ जनाको कर्तव्य  ज्यान जस्तो संगिन अपराधमा दर्शक मात्र भई टुलु टुलु हेरी मात्र रहे होलान भनि भन्न मिल्ने अवस्था विद्यमान नहुँदा निज प्रतिवादी रंगेली कान्छा भन्ने लेख वहादुर झांक्री समेतलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्‍याएको शुरु पाल्पा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मनासिव ठहर्‍याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मिलेकै देखिंदा मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या कृष्ण कुमार वर्मा

न्या. इन्द्रराज पाण्डे

 

ईति सम्बत् २०५४ साल पौष १० गते रोज ५ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु