शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४६४ - निषेधाज्ञा

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४६४     ०५४, ने.का.प               अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको दे.पु.नं. ... २५२७

फैसला मिति : २०५४।३।२४।३

 

मुद्दाः निषेधाज्ञा ।

 

पुनरावेदक/निवेदकः पर्सा जिल्ला वीरगंज न.पा. वडा नं. ७ अन्तर्गतको श्रीराम जानकी मन्दिरको संचालक समितिको अध्यक्ष ऐ. झौवा गुठी गा.वि.स. वडा नं २ वस्ने पारस प्रसाद वरै समेत जम्मा ४ ।

बिरुद्ध

विपक्षीः ऐ. वीरगंज न.पा. वडा नं. ७ को वडा समिति समेत जम्मा २ ।

 

§  लालमती कलवारिनले पुजारी शुकेश्वर पाण्डेलाई मिति २००४।८।६।६ मा वेच विखन गर्न नपाउने गरी रामजानकी मन्दिरको पुजाआजाको कार्य चलाउने साधु सन्तलाई दान पुण्य भोजन गराई वांकी आयस्ता खानु भनी दानपत्र गरी दिएको सम्म देखिएको सो गरी दिएको दानपत्रमा शुकेश्वर पाण्डे धर्मछोरा भनी रामजानकी मन्दिरको पुजाआजा समेत संचालन गर्न संचालक समिति गठन गर्न सक्ने अधिकार दिएको नदेखिएको र अधिकार विना गठन भएको संचालक समितिले दिएको निवेदन नै अनाधिकार समेत देखिएको कारण समेतबाट निषेधाज्ञाको निवेदन पत्र खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय आदेश मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न  नसक्ने ।             

                                                                                                                                    (प्र.नं. ९)

 

 

पुनरावेदक तर्फबाटः x

विपक्षी तर्फबाटः x

अवलम्वित नजीरः x

 

फैसला

            न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत, हेटौंडाबाट भएको मिति २०५१।३।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

            २.    मेरो धर्म आमा लालमतीले आफ्नो जीवन कालमा कि.नं. १०३, १०४, १९७, १९८, २०० का जग्गाहरु रामजानकी मन्दिर स्थापना गरी जग्गाको आयस्ताबाट पुजाआजा र साधुसन्तलाई दान भोजन गराई वांकी आयस्था पुजारीले खान पाउने गरी मिति २००४।८।६ मा दानपत्र गरी दिनु भएको   रहेछ । सो जग्गा मध्ये वीरगंज न.पा. अन्तर्गतको जग्गामा अहिल्ल्या देवी र राम प्रसादसँग खिचोला मुद्दा चल्दा कि.नं. ११७ को जग्गा रामजानकीको हक कायम गरी भगवती शरण संचालक रहने गरी मिलापत्र भएको र दानपत्र अनुसार धर्म कार्य गर्न मन्दिर गुठि संचालक समिति गठन गरी मन्दीर निर्माणको सामाग्री समेत तैयार गर्दा सो जग्गामा रहेको टहरो घरमा कव्जा जमाउन विपक्षीहरुले वहालवालासँग वहाल उठाउने उद्देश्यले म योगेन्द्रलाई विपक्षी समितिमा वोलाई समितिले वहाल उठाउने गरी कागज गर्न भन्दा मैले कागज नगरी फर्किदा विपक्षीले पक्राउ गरी उपस्थित गराउने र वहालवालालाई धम्काई घरजग्गा खाली गराउने प्रयासमा लाग्नु भएकोले वाध्यभई यो निवेदन दिन आएका छौं । विपक्षीहरुको सो कार्यबाट हाम्रो नागरीक अधिकार ऐन, २०१२ को दफा ३,६ (९)७, , १३ द्वारा प्रदत नागरीक अधिकारमा आघँत हुने प्रवल आशंका भएकोले सो केही नगर्नु नगराउनु भनी अन्तरीम आदेश सहितको निषेधाज्ञा जारी गरी पाउँ भन्ने पारस प्रसाद वरै समेतको निवेदन ।

            ३.    विपक्षीहरुको नाउँमा पुनरावेदन अदालत हेटौंडाबाट जारी भएको कारण देखाउ आदेश ।

            ४.    लालमती कलवारनीले वीरगंजको जग्गामा रामजानकी मन्दिरको स्थापना गरी अन्य जग्गाबाट आउने आयस्थाले पुजापाठ  साधु सन्तलाई दान पुण्य भोज गराई वांकी आयस्था खानु भनि शर्त राखि सुकेश्वर पाण्डेलाई पुजारी नियुक्त गरी २००४।८।६ मा दानपत्र गरी दिएकोले सो मन्दिर स्थापना र यथोचित व्यवस्था गर्ने अधिकार पुजारी सुकेश्वर पाण्डेलाई भएकोमा निज पुजारीले ०४९।३।१५ मा यस न.पा. वडा नं. ७ समितिमा विपक्षी निवेदकहरुले जग्गाको  धानवाली र भाडा उठाई खाई मन्दिर र मुर्ति स्थापना गरी देउ भन्दा नगरी धर्म कार्य लोप गर्न लागेकोले सो नगर्न पाउने व्यवस्था गरी पाउँ भनि निवेदन दिनु भएको र यति लामो सम्म पनि मन्दिर वन्न नसकेकोले आ.व. ०४९।५० मा वडा समितिबाटै मन्दिर निर्माण कार्य पनि समावेश गरी मन्दिर  निर्माण योजना भएको न.पा. ऐन, २०४८ को दफा ४०(१)(ख) वमोजिम कि.नं. ११७ को जग्गामा न.पा.को पूरा हक रहेको साथै  त्यस्तो  सम्पतिको रेखदेख प्रवन्ध समेत न.पा. ले गर्नु पर्ने भएको साथै दफा १५(२)(ङ) वमोजिम पनि धर्म संरक्षण र सम्वद्र्धन गर्नु  पर्ने दायित्व भएको हुँदा वडा समितिको निर्णयहरु भएका  हुन । मन्दिर निर्माण भएमा वहाल आयस्था खान नपाउने भई यो निवेदन दिएकाले निवेदन खारेज गरी पाउँ भन्ने वडँ नं. ७ को वडा समिति समेतको लिखित  जवाफ ।

            ५. दानपत्र हेर्दा यी निवेदकलाई संचालक समिति राख्ने गरी सो जग्गाको व्यवस्था गर्ने अधिकार दानपत्रले दिएको नदेखिएको हुँदा त्यस्तो अधिकारै नभएको व्यक्तिले गठन गरेको संचालक समितिले प्रस्तुत निषेधाज्ञाको निवेदन दिएको देखिएको हुँदा अरु कुरामा विचार गरी रहनु नपर्ने भएकोले प्रस्तुत निवेदन खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको निर्णय आदेश ।

            ६. उक्त निर्णयमा चित वुझेन । श्री रामजानकी मन्दिरको जग्गालाई व्यक्तिगत पार्ने नियतबाट विपक्षीले कव्जा गर्न खोजेकोले सो केही गर्न नदिनको लागि प्रस्तुत निषेधाज्ञाको निवेदन दर्ता गराएको हो । गुठी सम्वन्धी महलको ४ नं. ले सो गुठी जग्गाको हामी हकवाला भएकोमा हामीलाई सो गुठी सम्पत्ति सुरक्षा गर्ने हक छैन भनी भएको पुनरावेदन अदालत, हेटौंडाको निर्णय आदेश पूर्णतः त्रुटीयुक्त भएकोले उक्त आदेश वदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकहरुले यस अदालतमा दिएको पुनरावेदन ।

            ७.    नियम वमोजिम दैनिक पेशी चढी पेश हुन आएको प्रस्तुत मुद्दाको रेकर्ड मिसिल र पुनरावेदन पत्र समेत अध्ययन गरी हेर्दा यसमा धर्म आमा लालमतीले दानपत्र गरी दिएको श्रीराम जानकी मन्दिरको जग्गा र त्यसमा रहेको टहरो घरमा विपक्षीहरुले गैर कानूनी रुपले कव्जा जमाउन लागेकोले सो केही नगर्नु नगराउनु भन्ने निषेधाज्ञा जारी गरी पाउँ भन्ने निवेदन जिकीर भएकोमा विवादित जग्गाको व्यवस्था गर्ने अधिकारै नभएको व्यक्तिले गठन गरेको संचालक समितिले प्रस्तुत निषेधाज्ञाको निवेदन दिएको हुँदा निवेदन खारेज हुने ठहर गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको निर्णय आदेश उपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।

            ८. पुनरावेदन अदालत, हेटौंडाबाट भएको उक्त निर्णय आदेश मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु पर्ने देखिन  आयो ।

            ९.    निर्णय तर्फ विचार गर्दा लालमती कलवारिनले पुजारी शुकेश्वर पाण्डेलाई मिति २००४।८।६।६ मा वेच विखन गर्न नपाउने गरी रामजानकी मन्दिरको पुजाआजाको कार्य चलाउने साधु सन्तलाई दान पुण्य भोजन गराई वांकी आयस्ता खानु भनी दानपत्र गरी दिएको सम्म देखिएको सो गरी दिएको दानपत्रमा शुकेश्वर पाण्डे धर्मछोरा भनी रामजानकी मन्दिरको पुजाआजा समेत संचालन गर्न संचालक समिति गठन गर्न सक्ने अधिकार दिएको नदेखिएको र  अधिकार  विना गठन भएको संचालक समितिले दिएको निवेदन नै अनाधिकार समेत देखिएको कारण समेतबाट निषेधाज्ञाको निवेदन पत्र  खारेज  गर्ने  गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय आदेश मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५४ साल आषाढ २४ गते रोज ३ शुभम् ............................. ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु