निर्णय नं. ६४६६ - मोही पजनी

निर्णय नं. ६४६६ ने.का.प २०५४ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५० सालको दे.पु.नं. ... १२६०
फैसला मितिः २०५४।३।३१।२
मुद्दाः मोही पजनी ।
पुनरावेदक/प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. १५ वस्ने पृथ्वीमान तामाङ
बिरुद्ध
विपक्षी/वादीः ऐ. वडा नं. ४ वस्ने अयोध्या प्रसाद वास्तोला
§ भूमि सम्वन्धी ऐनको दफा २६(क) ले स्पष्ट रुपले मोही हक विक्रि गर्न दान दातव्य गर्न वा अन्य किसिमले हक हस्तान्तरण गर्न वन्देज गरेको कुरामा उक्त वन्देजको प्रतिकूल हुने गरी यी प्रतिवादीले अन्य व्यक्तिलाई मोही हक उल्लेखित किसिमले हस्तान्तरण गर्न सक्ने अवस्था पनि देखिदैन । पृथ्वीमानले झपट वहादुरलाई जग्गा जोत्न दिएको भनेको लिखत मिति २०४४।३।१० मा भएको तर ०४६ सालमा यिनै प्रतिवादी उपर वाली भराई पाउँ भन्ने मुद्दा दिंदा पृथ्वीमान मोही भएको कुरालाई स्वीकार गरेको पाईन्छ । तसर्थ उल्लेखित कानूनी व्यवस्थाहरुवाट मिति २०४४।३।१० का लिखतको आधारमा पुनरावेदक प्रतिवादीले मोही हक छोडेको भन्न सकिने अवस्था नेदेखिंने ।
(प्र.नं. १७ र १८)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल
विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल
अवलम्वित नजीरः x
फैसला
न्या.केशव प्रसाद उपाध्यायः कोशी अन्चल अदालत, धरानबाट मिति २०४६।१०।८।१ मा भएको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. हाल मेरो नाममा दर्ता रहेको जिल्ला सुनसरी वाफगरा गा.पं. वडा नं. ३(क) कि.नं. १०६ र उक्त भई कायमी कि.नं. २९९ को जग्गा विगाहा ०-१३-६.१/२ जग्गाको हक प्राप्त मोही पृथ्वीमान तामाङ हुनु भएकोमा सो जग्गा निजले आफू नजोती झपट वहादुर दाहालले रु. ६०००।- मा मोही हक खरीद गरेको छु जोती खान्छु तपाईहरुको चित्त नबुझे आफ्नो मोहीलाई जे गर्नुपर्छ गर्नुस भनेको हुँदा सरजमीन लगायतका वुझनु पर्ने प्रमाण वुझी मोही पजनी गरेकोमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५ को उपदफा ४ को देहाय (क) वमोजिम विपक्षी पृथ्वीमान तामाङको मोही हक समाप्ती हुने हुँदा मोहीयानी हक निष्काशन समेत गरी पाउँ भन्ने वादीको माग दावी उजुरी ।
३. प्रतिवादी पृथ्वीमान तामाङले मलाई रु. ६०००।- मा दिएको छ । मैले मोहीमा जोति रहेको वाफगरा गा.पं. वडा नं. ३ (क) कि.नं. २९९ र ३०० को जग्गाको कुत मुक्तिनाथ वास्तोलालाई वुझाई तपाईले जोती खानु भनि मिति २०४४।३।१० गते कागज गरी दिनु भएको र मैले सो जग्गा व्याज गरी मोही खरीद गरी जोति खाएको हुँ वादी दावीबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका झपट वहादुर दहालको प्रतिउतर जिकीर ।
४. दावीका जग्गाको हक प्रँप्त मोही हुँ । वादी दावा अ.वं. ८२ नं. वमोजिम खारेज हुने प्रष्ट छ र मैले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ को उपदफा ८ वमोजिम म वादीको जग्गाधनी कायम भएको सूचना समेत नपाएको विपक्षीले उल्लेख गरेका कित्तामा यो साल पनि मैले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २ (ख) वमोजिम कुत बुझाई रहेको छु झपट वहादुरलाई जग्गा कमाउन दिएको छैन म निअक्षरी हुँदा मेरो हकहितमा असर पर्ने गरी कागज गराएको भए सो तर्फ छुट्टै नामाकरण गरी उजुर गर्ने छु ।मैले जग्गा नजोतिएको भए २०४५ सालको वालीमा विपक्षीले उजुर गर्ने नै थिएन । वादी अनुसार मोहियानी पजनी नगरेको हुँदा दावाबाट फुर्सद गराई पाउँ भन्ने प्रतिवादी मध्यका पृथ्वीमान तामाङको प्रतिवाद जिकिर ।
५. प्रतिवादी मध्ये झपट वहादुर दहालले प्रतिउतर साथ प्रमाण स्वरुप पेश गरेको मिति २०४४।३।१० को सक्कल कागज निजबाट पेश गराई प्रतिवादी मध्येको पृथ्वीमानको वालाई देखाई सुनाई कागज गराउने भन्ने मिति २०४६।३।१५ को आदेश वमोजिम सो कागज पेश गराई प्रतिवादी मध्येका पृथ्वीमान तामाङको वा. नर वहादुर तामाङलाई सक्कल कागज देखाई सुनाई वयान गराउँदा मिति २०४४।३।१० गतेमा सो सक्कल लिखत कागज पृथ्वीमान तामाङ र झपट वहादुर दहाल वीच भएको ठिक सांचो सत्य हो र लिखत किर्ते होईन सद्दे हो भन्ने मिति २०४६।३।१५ को वयान कागजको व्यहोरा ।
६. वास्तविक मोही पजनी भए नभएको के रहेछ भनि सम्वन्धित जग्गा भएको स्थानमा गई कार्यालयको तर्फबाट सांध संधियार पंच भरभलादमी राखी सरजमीन गर्दा सरजमीनमा वस्ने अधिकांश व्यक्तिहरुले गहूँ वाली तथा मकै वाली समेत मोही पृथ्वीमान तामाङ र झपट वहादुर दहालले लगाएको र मोही पजनी गरेको ठिक सत्य सांचो हो भनि मिति २०४६।३।१० मा भई आएको सरजमीनको व्यहोरा ।
७. वादी दावीको जग्गा प्रतिवादी मोही पृथ्वीमान तामाङले नकमाई प्रतिवादी झपट वहादुर दहालले कमाएको भन्ने मिति २०४३।३।१० को सरजमीन मुचुल्का प्रतिवादी पृथ्वीमान तामाङले प्रतिवादी झपट वहादुरका वीच भएको मिति २०४४।३।१० को लिखत सद्दे सांचो हो भनि प्रतिवादी पृथ्वीमान तामाङको वारिसले वयान गरेको समेतबाट वादी दावी वाफगरा गा.पं. वडा नं. ३ (क) कि.नं. २९९ को ज.वि. ०-१३-६.१/२ जग्गाबाट मोही पृथ्वीमान तामाङको मोहीयानी हक भूमि सुधार ऐन, २०२१ को दफा २५ को उपदफा ४ को खण्ड (क) मा भएको व्यवस्था वमोजिम समाप्त हुने ठहर्छ । प्रतिवादी झपट वहादुर दहालको मोही कायम तर्फ माग दावी नहुँदा केही गरी रहनु परेन भन्ने समेत मिति २०४६।३।१८ गतेको जिल्ला भूमि सुधार कार्यालय, सुनसरीको फैसला ।
८. सो फैसलामा चित वुझेन भन्ने समेत प्रतिवादी पृथ्वीमान तामाङको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
९. मिति २०४३।३।१० मा भई आएको सरजमीन मुचुल्काबाट दावीको जग्गा मोही पृथ्वीमान तामाङले नकमाई प्रतिवादी झपट वहादुरले कमाई गरेको भनि सरजमीनले लेखाएको देखिन्छ । सरजमीन हंूदा प्रतिवादीका वा. नर वहादुर तामाङ समेत रोहवरमा रहे वसेको छ । सरजमीनको लेखाईमा प्रतिवादीले कुनै जिरह नलिएको समेतबाट प्रतिवादी पृथ्वीमानले प्रतिवादी झपट वहादुर दाहाललाई मोहीयानी विक्रि गरेको कुराको पुष्टि भएको छ । पुनरावेदक पृथ्वीमान तामाङले दावीको जग्गा आधामात्र निष्काशन हुनु पर्ने भनि यसै लगाउको दे.पु.नं. १०३।६१६ को मोही पजनी मुद्दामा यिनै प्रतिवादीले दिएको पुनरावेदनकको प्रकारण नं. ५ मा उल्ललेख गरेकोबाट आफ्नो नामको मोहीयानी हकको जग्गा आफूले कमाई नगरी प्रतिवादी झपट वहादुरलाई विक्रि गरी मोही पजनी गरेको प्रष्ट देखिन आउँछ । भूमि सुधार ऐन, २०२१ को दफा २५ को उपदफा (४) को खण्ड (क) मा भएका व्याख्याले मोही पजनी गरी विक्रि गर्ने प्रतिवादी पृथ्वीमान तामाङको मोहीयानी हक कायम रहन सक्ने नदेखिंदा प्रतिवादी पृथ्वीमान तामाङको प्रतिउतर जिकिर र पुनरावेदन जिकीर तथ्ययुक्त भन्न मिलेन । अतः उपरोक्त वुँदा प्रमाण आधार र शुरुका निर्णयमा उल्लेख हुँदा प्रमाण आधारबाट प्रतिवादी पृथ्वीमान तामाङको मोहीयानी हक समाप्त हुने ठहराएको भूमि सुधार कार्यालय, सुनसरीको मिति २०४६।३।१८ गतेको निर्णय मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको तत्कालिन कोशी अन्चल अदालतको फैसला ।
१०. तत्कालिन कोशी अञ्चल अदालतको इन्साफ सदर कायम राखी पुनरावेदनको अनुमती प्रदान गर्ने गरेको तत्कालिन पुर्वान्चल क्षेत्रीय अदालतको इन्साफ त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमती पाउँ भन्ने निवेदन पत्र ।
११. यसमा वादी दावीको जग्गा पृथ्वीमानले नकमाई झपट वहादुरले कमाई आएको व्यहोरा उल्लेख गरी सरजमीनले बकि लेखाई दिएका र झपट वहादुरले प्रतिउतर साथ पेश गरेको मिति २०४४।३।१० गतेको लिखतलाई देखाउँदा सुनाउँदा पृथ्वीमान र झपट वहादुर वीचको सो लिखतलाई पृथ्वीमानको वा. नर वहादुरले स्वीकार गरेको र लिखतबाट पृथ्वीमानबाट झपट वहादुर दहालले जग्गा कमाउने हक प्राप्त गरेको देखिएको समेतबाट भूमि सुधार ऐन, २०२१ को दफा २५ को उपदफा ४(क) वमोजिम कि.नं. ३०० को जग्गाबाट पृथ्वीमानको मोही हक समाप्त हुने ठहर्याएको शुरुको सदर गरेको कोशी अञ्चल अदालत, धरानको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को खण्ड (ख) समेत को त्रुटी भएको नदेखिंदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत व्यहोराको पुर्वान्चल क्षेत्रीय अदालतको आदेश ।
१२. पुर्वान्चल क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिन इन्कार गरेको आदेश त्रुटीपूर्ण र कानून प्रतिकूल हुँदा पुनरावेदन गर्ने अनुमती पाउँ भन्ने समेत व्यहोराको यस सर्वोच्च अदालतमा पर्न आएको निवेदन पत्र ।
१३. यसमा २०४६ सालको दे.दा.नं. ६८४ को वादी अयोध्यानाथ वास्तोला प्रतिवादी यिनै निवेदक पृथ्वीमान मोही भएको कुत दिलाईपाउँ भन्ने मुद्दामा सुनसरी जिल्ला अदालतबाट मिति २०४६।१२।३० मा फैसला हुँदा वादीको जग्गाधनी र प्रतिवादी मोही भएकोमा विवाद नदेखिएको, मोहीले वाली बुझाएको प्रमाण पेश गर्न नसकेको आधारमा २०४५ सालको वाली वादीले भरी पाउने ठहर भएको र सो फैसला अन्तिम भएर रहेको छ भन्ने जिकिर भएको प्रस्तुत मुद्दाको प्रतिउतरमा पनि फैसला भएको कुराको जिकिर लिएको देखिएको तर यिनै तहबाट निर्णय हुँदा प्रतिवादी वीच मोहीको सम्वन्धलाई लिएर भएको फैसला जस्तो प्रमाणलाई कुनै उल्लेखसम्म नगरी निर्णय भएको देखियो । प्रमाण ऐन, २०३१ को दफा ५३ अनुसार प्रमाणमा लिनु पर्ने कुरालाई मध्य नजर नराखी भएको फैसलाहरु त्रुटीपूर्ण देखिन्छ । अर्कोतर्फ भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ ले मोही हक हस्तान्तरण गर्न प्रतिवन्ध लगाएको हुँदा त्यस्तो लिखतले कानूनी मान्यता पाउने नसक्ने प्रष्ट छ । स्वयं जग्गाधनीले कुत वाली भराई पाउँ भनि नालेश गर्दासम्म निवेदकले मोही भई कमाएको भनि लेखेका हुँदा सो कुरा हैन भन्न प्रमाण ऐनको दफा ३४ ले विवन्धित हुन्छ । २०४४।३।१० को मोही हक छोडेको लिखत हेर्दा वन्धकी रुपमा लिएको कर्जा नबुझाएसम्म जग्गा जोत्नसम्म भनेको मोही हक छोडेको हैन भन्ने निवेदक तर्फका कानून व्यवसायीले वहसमा जिकिर लिएकोले सो लिखतको व्याख्या सम्वन्धि प्रश्न र भूमि सम्वन्धि ऐन, २०२१ को दफा २५(४) को खण्ड (क) अन्तर्गत अन्य व्यक्तिलाई जग्गा कमाउन पाएको व्यक्तिले मोही दावा गर्न आएको अवस्था नभई जग्गाधनी नै आएको हुँदा प्रस्तुत मुद्दामा उक्त दफाको पुर्वावस्था विद्यमान भएको नदेखिंदा शुरु भूमि सुधार अधिकारीको निर्णय सदर गर्ने गरेको कोशी अञ्चल अदालतको फैसलामा उपरोक्त कानूनी त्रुटीहरु विद्यमान हुँदाहंूदैं पुर्वान्चल क्षेत्रीय अदालतबाट मिति २०४७।८।७ मा तत्कालिन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को खण्ड (ख) अन्तर्गतको अवस्था विद्यमान नभएको भनि अनुमति प्रदान नगर्ने गरेको कानूनी त्रुटीपूर्ण देखिंदा सोही ऐनको दफा १३ को उपदफा ७ र १३(५) को खण्ड (ख) अनुसार अनुमति प्रदान गरीएको छ भन्ने समेत यस अदालतको आदेश ।
१४. नियम वमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अग्नी खरेलले विवादित जग्गाको मेरो पक्ष विधिवत मोही कायमै छन । वादीले पनि मेरो पक्ष मोही होइनन् भनि इन्कार गर्न सकेको छैन । विभिन्न फैसलाहरुवाट समेत प्रतिवादी मोही भएको कुरा स्थापित भएको हुँदा तल्ला अदालतहरुको फैसला तथा आदेश वदर हुनु पर्छ भनि वहश प्रस्तुत गर्नुभयो । विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादीले गरी दिएको लिखतबाट झपट वहादुर दाहाललाई जग्गा कमाउन दिएपछि भूमि सम्वन्धि ऐन, २०२१ को दफा २५(४) वमोजिम मोही हक समाप्त हुने हुँदा तल्लो अदालतहरुवाट भएका फैसलाहरु कायमै हुनु पर्छ भनि वहश जिकिर प्रस्तुत गर्नु भयो ।
१५. विद्वान अधिवक्ताहरुले गर्नु भएका वहश जिकिर सुनि निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला मिलेको छ, छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन्छ ।
१६. यसमा मेरा नाममा दर्ता रहेको जिल्ला सुन्सरी वाकगरा गा.वि.स. वडा नं. ३ (क) कि.नं. १०६ कित्ताफोड भई कायम रहेको कि.नं. ३०० को ज.वि. ०-१३-७ को मोही हक प्राप्त पृथ्वीमान तामाङले नजोती झपट वहादुरले रु. ६०००।- मा खरीद गरी जोतखन गरेको हुँदा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(४) वमोजिम मोही हक समाप्त गरी पाउँ भन्ने वादीको मुख्य जिकिर रहेछ ।
१७. यसमा यिनै वादीले यिनै प्रतिवादी उपर दिएको दे.दा.नं. ६८४ को कुत दिलाई पाउँ भन्ने मुद्दामा प्रतिवादीले वादीलाई कुत वुझाउन पर्ने ठहरी मिति २०४६।१२।३० मा सुनसरी जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त मुद्दामा यी प्रतिवादी पृथ्वीमान तामाङले वाली बुझाएको प्रमाण पेश गर्न नसकेको आधारमा २०४५ सालको वाली विपक्षी वादीले भरी पाउने ठहरी अन्तिम फैसला भई राखेको देखिएबाट यी पुनरावेदक प्रतिवादी विवादित जग्गाको मोही रहेछन भन्ने कुरामा विवाद देखिएन । साथै उक्त मुद्दामा जग्गाधनीले कुत वाली भराई पाउँ भनि नालेश गर्दासम्म प्रतिवादीले मोही भई कमाएको भनि लेखेकोले सो कुरा हैन भन्न प्रमाण ऐन, २०३४ ले वादी विवन्धित हुने देखिन्छ । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(क) ले मोहीयानी हक खरीद विक्रि, दान दातव्य वा अरु कुनै किसिमले हक हस्तान्तरण गर्न नपाउने गरी प्रष्ट रुपमा वन्देज लगाएको देखिन्छ । २०४४।३।१० को यी प्रतिवादीले झपट वहादुर दाहाललाई गरी दिएको लिखत हेर्दा पनि मोही हक छाडेको भन्ने देखिंदैन । भूमि सम्वन्धी ऐनको दफा २६(क) ले स्पष्ट रुपले मोही हक विक्रि गर्न दान दातव्य गर्न वा अन्य किसिमले हक हस्तान्तरण गर्न वन्देज गरेको कुरामा उक्त वन्देजको प्रतिकूल हुने गरी प्रतिवादीले अन्य व्यक्तिलाई मोही हक उल्लेखित किसिमले हस्तान्तरण गर्न सक्ने अवस्था पनि देखिदैन । पृथ्वीमानले झपट वहादुरलाई जग्गा जोत्न दिएको भनेको लिखत मिति २०४४।३।१० मा भएको तर २०४६ सालमा यिनै प्रतिवादी उपर वाली भराई पाउँ भन्ने मुद्दा दिंदा पृथ्वीमान मोही भएको कुरालाई स्वीकार गरेको पाइन्छ ।
१८. उल्लेखित कानूनी व्यवस्थाहरुवाट मिति २०४४।३।१० का लिखतको आधारमा पुनरावेदक प्रतिवादीले मोही हक छोडेको भन्न सक्ने अवस्था देखिंदैन । तर्सथ वादी दावी पुग्न
नसक्ने ठहर्याउनु पर्नेमा प्रतिवादीले मोही हक छाडेको अर्थ गरी मोही हक समाप्त हुने ठहर्याएको शुरु भूमि सुधार कार्यालय सुनसरीको निर्णय सदर गरेको तत्कालिन कोशी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरेको तत्कालिन पुर्वान्चल क्षेत्रीय अदालतको आदेश समेत त्रुटीपूर्ण भई उल्टी हुने ठहर्छ । वादी दावी पुग्न सक्दैन अरु तपसिलका कुरामा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा ठहरे वमोजिम हुने भएकोले पुनरावेदक प्रतिवादीको नामको मोही लगत कट्टा गर्ने गरी कायम भएको लगत वमोजिम गर्नु नपर्ने हुँदा उक्त लगत कट्टा गर्नु भनि शुरु भूमि सुधार कार्यालय, सुनसरीमा लेखी पठाउन का.जि.अ.अ.त.मा लगत दिनु .... १
मिसिल नियम वमोजिम गरी बुझाइ दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत् २०५४ साल असार ३१ गते रोज २ शुभम् ...... ।