शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४६७ - अंश नामसारी

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४६७             ने.का.प. २०५४                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०५२ सालको दे.पु.नं........२९०७

फैसला मितिः २०५४।७।२७।४

 

मुद्दाः अंश नामसारी

 

पुनरावेदक/प्रतिवादीः घुरहुको छोरा पजरकट्टी गा.पं. वार्ड नं. ९ मनोहरापुर वस्ने राम आन्द्रोतेली समेत जम्मा ६ ।

विरुद्ध

विपक्षी/वादी : निरहुकोपली जि.रुपन्देही पर्सा गा.वि.स. वार्ड नं. ८ तर्कुल्लाह वस्ने उदासी तेलीको मु.स. गरी आफ्नो हकमा समेत निरहुको छोरा वेचुतेली ।

 

§  २०२०।७।१० को लिखतमा यो यति सम्पति अंश वापत वण्डा लिएको भन्ने उल्लेख नभएको उक्त लिखतमा वण्डा पाउने सम्पतिको आधाको मूल्य लिई सकेको भन्ने उल्लेख भएको र कुन मितिमा कुन कुन सम्पति वा कति रकम लिई अंश छोडपत्र गरेको हो भन्ने उल्लेख नभएको अंश वापत रुपैया र चल सम्पति लिई अंश छोडपत्र गरेको भनेको लिखत कानूनको रीत पुगेको पनि देखिएन । तसर्थ रजिष्ट्रेशन हुनु पर्ने कुरा तत्कालिन अंशवण्डाको ३० नं. को अन्तिम वाक्यले गरेकोले उक्त लिखतलाई मान्यता दिन मिलेन । साथै खेदुको नाउँको जग्गा वादी तर्फ सरी आएको नदेखिएको र ७ नं. फाराम पनि पुर्खौली सम्पत्तिको भरेको नदेखिएको प्रतिउत्तर पत्रमा केही जग्गा निजी आर्जन भन्ने जिकिर लिएपनि यस मितिमा खरीद गरेको वा यस आधारवाट निजी आर्जन हो भन्ने नखुलाएको र सो वमोजिमको कुनै प्रमाण समेत पेश हुन आएको नदेखिएको हुँदा व्यवहार प्रमाणबाट वण्डा भएको भन्न पनि मिलेन । अतः वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ उल्टी गरी वादी दावी वमोजिम पेश हुन आएको तायदातीको २ भागको १ भाग अंश वादीले पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै देखिंदा सदर हुने ।          

(प्र.नं. २३)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस

विपक्षी वादी तर्फबाटः x

अवलम्वित नजिरः x

                       

फैसला

            न्या.लक्ष्मण प्रसाद अर्यालः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            २.    खेदतेलीको छोरा बलदेव तेली बलदेव तेलीको २ छोरा धुरहु र निरहु भएकोमा धुरहुका ३ छोरा हरिद्धार, राम आश्रे र फागु भै हरिद्वारको छोरा रामदास राम समझ फागुको छोरा पूर्णमासी र अनिरुद्र भै निरहुको २ पत्नी मध्ये कान्छी म वादी उदासी र निरहु उदासीवाट २ छोरा भगौती र वादी वेचुको जायजन्म भएको, खेदु, बलदेव, धुरहु भगौती परलोक भै वांकी हामी जीवित छौं । अंशवण्डा भएको छैन । पैतृक जग्गा १९७८ सालमा खेदुको नाउँमा दर्ता रहेको खेदुको शेषपछि धुरहुको नाउँमा र धुरहुको शेषपछि राम आश्रे फागु रामदास, राम समुझको नाउँमा नामसारी दर्ता भएको सो वाट वढे वढाएको हरिद्वार, पूर्णमासी र अनिरुद्रको नाउँमा भएको मुल घर पजरकट्टी गा.पं. वा.नं. ४ मनोहरापुर भएको, निरह पर्सा गा.पं. वार्ड नं. ८ तर्कुलाहा आफ्नो ससुरालीमा गै वस्दा निजको जेठी श्रीमती परलोक भै म उदासीसँग विवाह हुँदा छोरा भगौती र वेचको जन्म भएको निरहुले ससुरालीको केही जग्गा पाए पनि सालीले मुद्दा गरी हारेकोले सुनरीले जग्गा आफ्नो नाउँमा वनाई विक्री गरी वंजहीयामा गै वसेका छन् । वावुले ससुराली जांदा आफ्नो अंश नलिई घुरहु जिम्मा छाडी जानु भएको, तर्कलाहामा ससुरालीको जग्गा नपाई मनोहरापुर आउने जाने गर्दा निरहुको मृत्यु भएको हामीले मेहनत मजुरी गरी जीविका चलाई आएका सो वाट आर्जेको जग्गामा अरुको वण्डा नलाग्ने, हरिद्वारको दर्ता जग्गा पनि नामसारी भएको छैन धुरहुको नाउँमा रहेको जग्गा नामसारी गराउन विपक्षीले कारवाही चलाउँदा म वेचुले पनि सम्वन्धित पर्सा र पजरकट्टी गा.पं. को सिफारिस लिई मालपोत कार्यालय रुपन्देहीमा कारवाही चलाएकोमा विपक्षीहरुले विरोध गरी आफ्नो नाउँमा नामसारी गराउन कारवाही चलाएका छन् । मालपोत कार्यालयमा धुरहुको भतिजा वेचुको नाउँमा दर्ता गरी दिन भन्दा धुरहुका छोरा नातिका नाउँमा दर्ता गरी दिन व्यवहारिक देखिएको भनी राम आश्रे, राम दास फागुको नाममा संयुक्त दर्ता नामसारी गरी दिने र वेचुको अंश हक लाग्ने भए छुटाई लिन पाउने भनी २०४२।१०।७ मा निर्णय पर्चा भएको कुरा २०४२।१०।१७ मा नक्कल लिंदा जानकारी भएको र निरहुको आधा अंश भाग दिनुहोस् भनी २०४२।१०।१९ मा विपक्षीहरुसँग भन्दा इन्कार गरेकोले अंशवण्डाको १.२.३५ नं. का आधारमा फिराद गर्न आएका छौं, पैतृक जग्गा र त्यसैवाट वढे वढाएको विपक्षीका नाउँको फिराद दर्ता हुँदाका अघिल्ला दिन सम्मको तायदाती लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वेचु तेली समेतको २०४२।११।१६ को फिराद पत्र ।

            ३.    वादी दावी अनुसार अंश दिनुपर्ने होइन सम्पूर्ण वादी दावी झुट्टा हो । पैतृक सम्पति  हाम्रो नाउँमा भएको भनिए तापनि  खेदुको पालाको सम्पत्ति हाम्रो नाउँमा आएको प्रमाण पेश हुन सकेको छैन । निरहुले अंश नलिई ससुराली गएको भन्ने भनाई पनि असत्य हो । वादी हाम्रो एका सगोलमा छैनन् विपक्षीको वावु निरहुले हाम्रो वावु वाजे धुरहु सँग २०२०।७।१० गतेका दिन अचल सम्पत्ति वापत नगद अंश लिई, घरसारको कागज समेत गरी दिएका छन् । अंशवण्डाको ३० नं. प्रतिकूल दावीवाट फुर्सद पाउँ । धुरहु निरहुले छुट्टा छुट्टै ७ नं. फाराम भरेवाट अलग भएको देखिन्छ । साथै १ नं. फाराम समेत अलग अलग  देखिन्छ । घर नम्वर र मतदाता नामावली समेत अलग अलग देखिन्छ सो वाट विपक्षीको वावु २०२०।७।१० मा अलग भएको देखिन्छ केही जग्गा २०२०।७।१० मा विपक्षीको वावु अलग भएपछिको निजी आर्जन हो भन्ने समेतको मिति २०४३।२।१५ को राम आश्रेतेली समेतको प्रतिउत्तरपत्र ।

            ४.    वादीका साक्षी अधारे अहिरले वादीले दावी वमोजिम अंश पाउनु पर्ने हो भनी वकी दिएको वकपत्र निजकै साक्षी भन्नु हरिजनको पनि सोही व्यहोराको वकपत्र तथा प्रतिवादीको साक्षी भगौ यादव र वेचु यादवको वकपत्र भई मिसिल सामेल रहेको ।

            ५.    यस अदालतवाट वा.स. म वेचु तेलीलाई २०४३।५।१९ को तारेख तोकिएको मेरी आमा उदासी तेलीन २०४३।३।२२ मा कालगतिले परलोक भएको हुँदा २०४३।४।११ को मृत्यु प्रमाणपत्रको फोटोकपी पेश गरेको छु आमा उदासीको मुद्दा सकार गराई पाउँ भन्ने वेतु तेलीको निवेदन र व्यहोरा सांचो भए मुद्दा सकार गराई दिनु भन्ने व्यहोराको मिति २०४३।४।२० को आदेश ।

            ६.    मिति २०२०।७।१० गते अंश वुझेको घरसारको भरपाई देखें  सो भरपाई मेरो वावु निरहु तेलीले अंश वुझी गरि दिएको भरपाई होइन अंश मार्न जालसाजीवाट खडा भएको भरपाई हो । सो भरपाईमा भएको ल्याप्चे सहीछाप धुरहु तेली र फडके साक्षी समेत मिली झूक्याई लिखत जालसाजीवाट खडा भएको देखिंदा साक्षी र लेखतलाई समेत सजाय गरी पाउँ भन्ने प्र.वा.स.वेचु तेलीले गरेको वयान ।

            ७.    भरपाई जालसाजीवाट खडा भएको गरेको होइन मेरो वावुवाट काका निरहुले अंश वुझी गरि दिएको सद्दे व्यवहारको लिखत हो सद्दे भरपाइलाई जालसाजी भनेमा वादीहरुलाई नै सजाय गरी पाउँ भन्ने प्रतिवादी फागु तेलीले गरेको वयान ।

            ८.    जग्गा नामसारी सम्वन्धको २०४३।१०।७ गतेको निर्णय पर्चा सहितको मिसिल प्रमाणको लागि साथै पेश भएको ।

            ९.    वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेतको मिति २०४४।७।१८ को शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिसिल सामेल रहेको ।

            १०.    २०२०।७।१० को अंश वुझेको भनेको कागज तर्फ मैले वयान गर्दा जालसाजी भनी वयान गरेको सो तर्फ केही नवोलिएको, अचल सम्पत्तिमा हक छाडी चल वापत वुझेको भने प्रति कति सम्पत्ति वुझेको उल्लेख नभएको, रजिष्ट्रेशन गर्ने भनि उल्लेख गरिएको कागजलाई रजिष्ट्रेशन नगरि दिएको कारणले प्रमाणमा लिन नमिल्ने कागज अंश दिने घरसारको मन्जूरीनामा वाट पेश हुन नसकेको व्यवहार प्रमाणवाट छुटिई भिन्न भएको देखिने भनी उल्लेख गरे पनि मुल घर पजरकट्टी गा.पं. वार्ड नं. ४ भएको वावु ससुरालीमा गै वसेको त्यही कान्छी स्वास्नी विवाह गरेको ससुरालीको केही जग्गा पाई आफ्नो नाउँमा भू.सु.७ नं. फाराम भरेको भन्ने समेतको वादी वेचु तेलीको २०४४।८।२० मा तत्कालिन लुम्बिनी अञ्चल अदालतमा पर्न आएको पुनरावेदन पत्र।

            ११.    भरपाई जालसाजीवाट खडा भएको होइन सो सांचो व्यहोराको अंश वुझी लिई दिई गरी दिएको भरपाई पनि होइन सो लिखत भए गरेको मलाई थाहा छैन, नमालुम कुन कुन मानिसहरु मिली यस्तो भरपाई खडा गरे भन्ने समेतको वुझिएका पन्चमणि त्रिपाठीले गरेको वयान ।

            १२.   धुरहुवाट निरहु तेलीले अंश वुझी भरपाई गरी दिएको मलाई थाहा छैन । अंश लेनदेन भए नभएको मलाई थाहा छैन उक्त मितिको भरपाई मेरो सामुन्ने र रोहवरमा भएको होइन भन्ने समेतको व्यहोराको वुझीएका नन्दलालमणि त्रिपाठीले गरेको बयान ।

            १३.   यसमा निरहु तेलीले २०२०।७।१० मा अंश वुझी घरसारमा गरी दिएको भनी पेश भएको भरपाई पनि प्रमाण वनाई वादी दावी नपुग्ने गरी ठहर भएको पाइन्छ सो भरपाईलाई पनि मूल्याङ्कन गरेर मात्र प्रमाण लिनु पर्ने हुँदा अवं. ७८ नं. को प्रकृया अनुसार वादी प्रतिवादीलाई सुनाएकोमा सो जालसाजी हो भनी वादीले वयान गरेको  देखिन्छ । तर सो भरपाई सद्दे वा कीर्ते के हो भन्ने तर्फ नवोलेकोमा वुझ्नु पर्ने प्रमाण समेत वुझी कानून वमोजिम निर्णय गर्नु भनि शुरु रुपन्देहीमा पठाई दिनु भन्ने समेतको २०४५।६।२१ को श्री लुम्विनी अञ्चल अदालतको फैसला ।

            १४.   २०२०।७।१० को लिखतमा वयान गर्दा अंश वुझेको भरपाई र जालसाजीवाट भएको भनी सनाखत वयान भएकोमा विशेषज्ञ कहां जाँच गर्न पठाउँदा सो निरहुकै सहीछाप हो भनी किटानीसाथ राय दिएकोमा अंश वुझेको भरपाइलाई जालसाजी भन्न मिल्ने अवस्था आउन, अव वादीले अंश पाउने वा नपाउने सम्वन्धमा फिरादीका वावुले भरपाइ वमोजिम अंश भाग वुझी सकेका र भू.सु. अनुसूची फारामवाट अलग अलग वसेको देखिंदा व्यवहार प्रमाणवाट छुट्टि भिन्न भइसकेको देखिई सकेकोले फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेतको शुरु रुपन्देही जिल्ला अदालतको २०४७।२।३ को फैसला ।

            १५.   २०२०।७।१० को कागजमा फेरी उजुर नगर्ने गरी म्यादभित्र रजिष्ट्रेशन पास गरी दिने मन्जूरीनामा कागज भएको सो लाई अंश वुझेको भरपाई भनी गलत अर्थ लगाइएको प्रतिउत्तरपत्रमा २०२७।७।१० मा सम्पूर्ण चल अचल सम्पत्ति वापत नगद वुझेको भनेको लिखतमा सो मिति भन्दा अघि नै नगद वुझेको कुरा उल्लेख भएको कुरा एक आपसमा वाझीएको, लिखतमा सो मिति भन्दा अघि नै नगद वुझेको कुरा उल्लेखित साक्षीहरु नन्दलाल मणि त्रिपाठी एवं पन्चमणी त्रिपाठीको सहीछाप लिखतमा रहे नभएको घरसारको लिखत रजिष्ट्रेशनको १ नं. अनुसार रजिष्ट्रेशन भएको नदेखिएको सो लाई प्रमाणमा लिन मिल्ने  होइन । प्रतिवादीले वादीले अंश पाएको कुराको प्रमाण पेश गर्न नसकेको तथा पैतृक सम्पत्ति वादीसँग रहे भएको देखाउन नसकेको न्यायको औचित्यमा नै असर पर्न गएको वतन अलग अलग भएको भनी शुरुले आधार लिए पनि सो को कारण फिरादमा नै उल्लेख गरेको सोही कारणवाट भू.सु. १(७ नं. फारामहरु अलग अलग भरिएको प्रष्ट छ । त्यसलाई मेरो विरुद्ध प्रमाण लिन मिल्ने होइन त्यसैले शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा वादी दावी वमोजिम इन्साफ पाउँ भन्ने समेतको वादी वेचु तेलीको मिति २०४६।३।१० को पुनरावेदन

            १६.    यसमा प्रतिवादीवाट पेश भएको वादीको वावु निरहु तेलीले अंश वुझेको भनी गरी दिएको लिखतको प्रकृति र सो लिखतका साक्षीहरुको वयानका सम्वन्धमा उक्त लेखतको प्रमाण लिई गरेको इन्साफ नमिलेको देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई आएपछि पेश गर्नु भन्ने २०४९।१।११ को  आदेश ।

            १७.   यसमा वादी प्रतिवादी अंशियारा भएको कुरामा विवाद देखिएन । वादीका वावु निरहुले यो यस्तो पैतृक सम्पत्ति लिए पाएको भनि प्रतिवादीहरुले प्रमाण दिन गुजार्न सकेको देखिन नआएको अवस्थामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो भन्दा अघिको वादी प्रतिवादीवाट निजहरु जिम्मा रहेको चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी लिई पेश गर्नु भन्ने २०५०।३।२१ को आदेश अनुसार वादी प्रतिवादीवाट पेश हुन आएको तायदाती फाँटवारी मिसिल सामेल रहेछ ।

            १८.   वण्डापत्र भन्ने शव्दसम्म लेख्दैमा श्री सम्पति उल्लेख भई यो यति भागको यो यति श्री सम्पती लिने दिने उल्लेख नभएको अवस्था त्यस्तो कागजलाई अंश बण्डाको कागज भनी मान्न मिलेन र विद्वान अधिवक्ताको २०४३ साल अघिको अर्थात २०३४।९२७ पूर्वको घरसारको अंशवण्डाको कागज भनी नामाकारण दिई रजिष्ट्रेसन नगरे पनि कानूनी मान्यता दिनु पर्ने भन्ने वहस जिकिरसँग सहमत हुन सकिएन । अर्कोतर्फ २०२७।७।१० गते भएको लिखतका साक्षीहरुको उक्त लिखतमा सहीछाप नलागेको निजहरु अदालतमा आई वयान गर्दा पनि आफ्नो रोहवरमा कागज नभएको भनी वयान गरेका आधारमा पनि उक्त मितिको लिखत वादीका विरुद्ध प्रमाण लाग्ने अवस्था देखिएन । वादीहरुको वसोवास अलग भएको र भू.सु. १.७ नं. फाराम समेत अलग अलग भएको भन्ने सम्वन्धमा विचार गर्दा भू.सु. ऐन अनुसार जग्गा नाउमा भएको व्यक्तिले भर्ने फाराम हुँदा वादीले १ नं.र ७ नं. फाराम भरेको कारणले अंश वुझी लिइ वेगल वसेको भन्न मिलेन । लेनदेन व्यवहारको ८ नं. ले घरको मुख्य भै, काम काज गर्ने वा सगोलमा वसी विभिन्न ठाउँमा घर खेती व्यवहार गरी वसेका उमेर पुगेका लोग्ने मानिस वा स्वास्नी मानिसलाई आफू वसी काम गरेको ठाउँको मुख्य व्यक्ति मान्नु पर्ने विभिन्न ठाउँमा वसी आर्जन गरेको कमाई र लगाएको ऋणमा सवैको वरावर हक लाग्न्े व्यवस्था भएको देखिन्छ भने प्रतीवादीले अदालतमा प्रवेश गर्दा नै आफू वादीसँग एका सराकतमा नवसे नभएको कुरा स्पष्ट रुपमा उल्लेख गरेकै हुँदा निजको मतदाता नामावली भू.सु. फाराम तथा घर नम्वर अलग अलग हुँदैमा प्रस्तुत मुद्धामा वादी विरुद्ध कुनै नयां प्रमाणको सिर्जना हुन सक्ने अवस्था देखिएन । यस अदालतवाट मिति २०५०।३।२९ को आदेश अनुसार तायदाती पेश गर्दा समेत मेरो निजी वण्डा गर्न नपर्ने भनी उल्लेख नगरेकोवाट समेत वादी दावी नपुग्ने ठहराई गरेको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०४७।२।३।५ को फैसला नमिलेकोले उल्टी भई वादी दावी वमोजिम पुनरावेदक वादीले २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत बुटवलको फैसला ।

            १९.    २०२०।७।१० मा घुरेहु र निरहु विच भएको कागजको भूल मर्मलाई प्रमाणमा ग्रहण नगरी भएको फैसला त्रुटिपूर्ण  छ । उक्त कागजमा अंश वण्डा गरी लियों दियौं भन्ने उल्लेख भएको छ । वादीका वावुले उक्त कागजलाई मान्यता दिई मौकामा उक्त कागज उपर कुनै कारवाही नचलाई वसेका  छन् । वादी प्रतिवादी एकासराकता भए जग्गा नापजाँच गर्दा संयुक्त रुपमा जग्गा धनी देखिनु पर्ने सो देखिएको छै्रन । वादीका वावुले चल सम्पत्ति लिएको हुनाले उक्त सम्पत्ति स्थायी नहुने हुँदा निश्चित गर्न नसकिएको हो । अंशवण्डाको ३० नं. वमोजिम अंशवण्डाको कागज रजिष्ट्रेशन गर्नु पर्ने कानूनी व्यवस्था मुलुकी ऐन सातौं संशोधन २०३४।९।२७ वाट मात्र लागु भएको हो । उक्त संशोधन अभावैको वण्डापत्रको कागज भएकोले रजिष्ट्रेसन हुनु पर्ने आवश्यकता छैन । लिखितका साक्षी नन्दलाल मणी त्रिपाठीले प्रतिवादी वाहेको नीजको  अन्य अंशियार नभएको भनी बकपत्र गरिदिएका छन् । जग्गा नामसारी गर्दा समेत एकलौटी हकको भनी सिफारिश गरिदिएको र सो बमोजिम नामसारी समेत भएको छ वादी प्रतिवादीको भू.सु. १, ७ नं. फाराम अलग अलग भएको मतदाता नामावली अगल अलग भएको र वादी प्रतिवादीको वसोवास समेत घरै पहिला देखि छुट्टी भीन्न भै अलग अलग भएकोलाई एकासगोलका अंशियार ठहराई वादीलाई अंश दिने ठहराएको  पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेको नहुँदा बदर गरी सुरु रुपन्देही जिल्ला अदालतको इन्साफ कायम राखी पाउँ भनी प्रतिवादीहरुको यस अदालतमा पर्न      आएको पुनरावदेनपत्र ।

            २०.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको     प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी तर्फबाट  उपस्थित  हुनु भएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले वादी प्रतिवादीका वावु घुरहु निरहु २०२०।७।१० को घरसारको वण्डापत्र बमोजिम छुट्टी भिन्न भै वादीका वावु निरहु तकुल्लाह ससुराली गै वसेको र प्रतिवादीहरु आफ्नै पैत्रिक थलो पजरकट्टी भै बसोवास गरि आएका छन् । सो आधारमा वादी प्रतिवादीहरुको मतदाता नामावली भूमि सम्वन्धी १ नं. ७ नं. अनुसूची फारम अलग अलग भएको र घुरहु तर्फको सम्पत्ति प्रतिवादीहरुको नाउमा विना अवरोध नामसारी समेत भएको  छ । अंश वण्डा भए गरेको कागजको अस्तित्व रहेको र उक्त कागजलाई अ.व.७८ नं. को प्रक्रिया पूरा गरी उक्त कागजलाई मान्यता नदिई भएको फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी बादीदावी नपुग्ने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ कायम राखी पाउँ भनी बहस प्रस्तुत गर्नु   भयो ।

            २१.   यसमा म वादी र प्रतिवादीहरु अलग अलग रहे बसेपनि अशियार भएका र हामी वीच अंशवण्डा नभएको हुँदा वादी प्रतिवादीबाट तायदाती लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी र वादीका वावु निरहु हाम्रा वाबु वाजे घुरहु सँग मिति २०२०।७।१० मा आफ्नो अंश वापतको सम्पति लिई ससुराली तर्कल्लाहमा गै बसेको  कुरा उक्त मितिको वण्डापत्र छोडपत्रको लिखतबाट स्थापित भएको छ भन्ने प्रतिवादी भै शुरु रुपन्देही जिल्ला अदालतले अंश वुझेको भनी निरहुले गरिदिएको भरपाई सद्दे सांचो ठहरेकाले जालसाजी भन्न मिलेन व्यवहार प्रमाणबाट वादी प्रतिवादी अलग अलग बसेका देखिंदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु इन्साफ उपर वादीको पुनरावेदन परी पुनरावेदन अदालतले वादीका बावु निरहु र प्रतिवादीका वावुवाजे निरहुका वीचमा मिति २०२०।७।१० वण्डाको कागजलाई मान्यता दिन नमिल्ने हुँदा वादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहराए उपर प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

            २२.   प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा मुल रुपमा पुनरावेदन अदालतले यिनै वादीका वावु र प्रतिवादीका वावु वाजे वीच भएको मिति २०२०।७।१० को बण्डापत्र छोडपत्र कागजलाई मान्यता नदिई पुनरावेदन अदालतले प्रतिवादीबाट वादीले अंश पाउने ठहराएको इन्साफ मिलेन भन्ने मुख्य पुनरावेदन जिकिर लिएको पाइन्छ । त्यसै गरी केही जग्गा निजी आर्जनको घर जग्गामा वण्डा लगाएको मिलेन भन्ने जिकिर लिएको पाइयो । वादी प्रतिवादी वीच नाता पुस्तावारीमा विवाद नभएपछि अंशियार रहे भएको कुरामा मुख मिलेकै देखियो । अव यि वादी प्रतिवादीका वावु वाजे वीच २०२०।७।१० को कागज बमोजिम बण्डापत्र भएको हो होइन ? र उक्त कागजको प्रमाणिकता कानूनी रुपमा के कस्तो छ भन्ने सम्वन्धमा विचार गर्दा उक्त कागजलाई शुरुमा वादी प्रतिवादीले अ.वं.७८ नं. को प्रक्रिया अपनाई बयान गर्दा वादीले उक्त कागज जालसाजीबाट खडा भएको भनी वयान गरेको र प्रतिवादीले सद्दे भनी वयान गरेको पाइन्छ । उक्त कागजमा वण्डापत्र गरि लियौं दियौं भन्ने वोली नपरी अंशवण्डाको लिखत ऐनका म्याद भित्र राजिष्ट्रेशन गर्न मन्जूर भै मन्जूरनामाको कागज गरि लियौं दियौं भन्ने वोली परेको बाट उक्त कागज पूर्ण रुपमा वण्डापत्रको कागज नभई त्यसको पूर्ण तयारीका रुपमा भए गरेको कागज मान्नु पर्ने देखियो । त्यसरी पूर्व तयारीको रुपमा भएको कागजमा लागेको ल्याप्चे सहिछाप विशेषज्ञबाट जाँच गराउदा निरहु कै सहिछाप  भएपनि उक्त कागजमा राखिएका अन्तरसाक्षीहरुले समेत उक्त कागज आफ्नो रोहवरमा नभएको भनी बकपत्र गरे पछि निजहरुको वकपत्र जिकिरलाई समेत प्रमाणको रुपमा मध्ये नजर राख्नु पर्ने हुन्छ । प्रतिवादीहरुले वादीले निजका वावु वाजेबाट अंश बुझी लिएको सम्पति यो हो भनी प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम आफ्नो जिकिरलाई प्रमाणित गर्न सकेको पाइदैन । यसै गरी यस अदालतमा प्रतिवादीहरुले पुनरावेदन गर्दा निजी आर्जन को जग्गा समेत वण्डापत्र हुने ठहराएको मिलेन भनी लिएको जिकिर तर्फ विचार गर्दा के कुन जग्गा निजहरुले निजी रुपमा आर्जन गरेको हो । सो जिकिरलाई प्रमाणित गर्ने सवुद प्रमाणको तथ्यगत आधार देखाउन सकेको पाइदैन । हाल प्रचलित अंशवण्डाको ३० नं. मुलुकी ऐन सातौं संशोधन २०३४।९।२७ पूर्व घर सारमा भएको वण्डापत्र रजिष्ट्रेशन पारित नभए पनि त्यसले कानूनी मान्यता प्राप्त गर्नु पर्ने भन्ने बहस तथा पुनरावेदन जिकिर तर्फ विचार गर्दा वादी र प्रतिवादीका वावु वाजे वीच २०२०।७।१० मा भएको भनिएको लिखत वण्डापत्रको लिखत नभई अंश छोडपत्रको लिखत पारित गरिदिने शर्तमा भए गरेको देखिन्छ । सो कागज अंश छोडपत्रको कागज देखियो । त्यस्तो कागज तत्काल प्रचलित अंशवण्डाको ३० नं. को अन्तिम वाक्यांशले अंश छोडपत्रको लिखतलाई अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नु पर्ने व्यवस्था गरेको छ । तसर्थ उक्त कागजलाई प्रमाण लिनु पर्ने भन्ने जिकिरसँग समेत यो इजलास सहमत हुन सकेन ।

            २३.   तसर्थ २०२०।७।१० को लिखतमा यो यति सम्पति अंश वापत वण्डा लिएको भन्ने उल्लेख नभएको उक्त लिखतमा वण्डा पाउने सम्पतिको आधाको मूल्य लिई सकेको भन्ने उल्लेख भएको र कुन मितिमा कुन कुन सम्पति वा कति रकम लिई अंश छोडपत्र गरेको हो भन्ने उल्लेख नभएको अंश वापत रुपैया र चल सम्पति लिई अंश छोडपत्र गरेको भनेको लिखत कानूनको रीत पुगेको पनि देखिएन । तसर्थ रजिष्ट्रेशन हुनु पर्ने कुरा तत्कालिन अंशवण्डाको ३० नं. को अन्तिम वाक्यले गरेकोले उक्त लिखतलाई मान्यता दिन मिलेन । साथै खेदुको नाउँको जग्गा वादी तर्फ सरी आएको नदेखिएको र ७ नं. फाराम पनि पुर्खौली सम्पत्तिको भरेको नदेखिएको प्रतिउत्तर पत्रमा केही जग्गा निजी आर्जन भन्ने जिकिर लिएपनि यस मितिमा खरीद गरेको वा यस आधारवाट निजी आर्जन हो भन्ने नखुलाएको र सो वमोजिमको कुनै प्रमाण समेत पेश हुन आएको नदेखिएको हुँदा व्यवहार प्रमाणबाट वण्डा भएको भन्न पनि मिलेन । अतः वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ उल्टी गरी वादी दावी वमोजिम पेश हुन आएको तायदातीको २ भागको १ भाग अंश वादीले पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै  देखिंदा सदर हुने ठहर्छ । मिसिल निमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इति सम्वत २०५४ साल कार्तिक २७ गते रोज ४ शुभम् ..... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु