शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४६८ - वन फांडी जग्गा आवाद गर्योो

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४६८     ०५४, ने.का.प               अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

सम्वत् २०५१ सालको फौ.पु.नं. ... ७७२

फैसला मिति : २०५४।५।२३।२

 

मुद्दाः वन फांडी जग्गा आवाद गर्‍यो

 

पुनरावेदक/वादी : इ.व.स. उद्धव वहादुर घिमिरेको जाहेरीले श्री ५ को सरकार

बिरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला पाल्पा छहरा गा.वि.स. वडा नं. ५ वस्ने ज्योतीमान श्रेष्ठ

 

§  विवादको जग्गा यी प्रतिवादीको हक भएको भन्न सकिने जग्गाको दर्ता स्वामित्वको प्रमाणहरु निजवाट पेश हुन सकेको देखिंदैन । कुनै व्यक्ति विशेषको नाममा दर्ता हक नभएको जंगल भनी सर्भे नापी भै श्रेस्तामा जनिएको त्यस्तो वन सिमाना भित्रको जग्गालाई वन जंगल कायम गरेको शुरुको फैसलाबाट हक वेहक भएको भन्न सकिने अवस्था पनि छैन । तसर्थ विवादित जग्गा वन कायम गर्ने गरेको शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालत, जिल्ला वन कार्यालय पाल्पाको इन्साफ मनासिव ठहर्ने ।

(प्र.नं. १८)

 

पुनरावेदक तर्फबाट : विद्वान का.मु. वरिष्ठ सरकारी अधिवक्ता श्री शारदा वज्राचार्य

विपक्षी तर्फबाट : x

अवलम्वित नजीर : x

 

फैसला

            न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत वुटवलको मिति २०५०।१०।२१।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ ।

            २. छहरा गा.पं. वडा नं. १ अंलावास वस्ने अं. वर्ष ५० को ज्योतिमान श्रेष्ठ मुखियाले ऐ. जिल्ला वुढीकोटे गाउँ अन्तर्गत कचल पाचचोटे भन्ने जंगल लापरवाही काटी हिनामिना गरेकोले निजलाई र ऐ. जिल्ला झयामारा गा.पं. को पुन मगर भन्नेले पनि गर्तूको धरी भन्ने वन जंगल कटानी गरेकोले निजलाई समेत कारवाही गरी पाउँ भनि ऐ. जिल्ला गा.पं. का प्रतिनिधिहरुबाट मिति २०४५।४।१९ गते श्री माननीय वन मन्त्री समक्ष द्वारा उजुरी निवेदन दिएका रहेछन ।

            ३. वुढीकाटे गा.पं. अन्तर्गत कचल पाचचोटे भन्ने जंगलको अ. ३० रो. जग्गा आवाद गरेको हुँ । ०३० मार्ग ११ गते खस्र्योली गा.पं. पाल्पाका मिन प्रसाद उपाध्यायसँग रु.४०००।- मा किनेको हुँ । मैले मात्र आवाद गरेको हुँ । कसैको मिलेमतो   छैन । जग्गाको प्रमाणको हकमा मिन प्रसादले गरी दिएको राजिनामा छ । मैले लिनु पूर्व उक्त जग्गा जंगलमा पर्‍यो । ०३२ सालमा नापी गर्न छुटी ०३४ सालमा म माथि उक्त जग्गा उपर मुद्दा पर्‍यो । नापी गर्न नापी मन्त्रालय टोली गोश्वरा समेतमा समयमै निवेदन गरेको थिएं । ०३४ सालमा डिमार्केशन गर्दा वन सिमाना भित्र पारेका हुन । पछि मुद्दा जितेपछि जग्गा दर्ता गर्न माल कार्यालयमा निवेदन दिएको थिएं । कारवाही चलेकै छ दर्ता भएको छैन भनि ०४६।१।१८ गते ज्योतिमान श्रेष्ठले ठाडो कागज गरी दिएको रहेछ ।

            ४. उक्त जग्गा ज्योति मानले नै आवाद गरेको हो । उक्त जग्गाको रुख वुटा निजले नै काटेका हुन अरु त्यहीं छन । अं. २९र३० रोपनी निजले आवाद गरेका छन । जग्गा वन सिमाना भित्र नै पर्दछ भन्ने व्यहोराको ऐ. गा.वि.स. वडा नं. ५ वस्ने वर्ष ३८ का राम वहादुर वरई समेत जना ५ को मिल्दोजुल्दो सर्जमीन वयान । उक्त जग्गा ज्योतिमानले नै आवाद गरेको हो । वन सिमाना भए नभएको मलाई थाहा भएन ।  रुख वुटा कसले फडानी गर्‍यो मलाई थाहा भएन भन्ने जना ५ को मिल्दोजुल्दो सर्जमीन वयान ।

            ५.    उक्त जग्गामा भएका रुख वुटा काट्यो भन्ने वारेमा श्री लुम्विनी सर्कल कार्यालयमा मुद्दा परेकोमा ०३७।३।११ गते ति काटिएका वुट्टाहरु ज्योतिमानले काटेका ठहर नहुँदा सफाइ पाएको फैसलाको नक्कल मैले ०३० साल मार्ग महिनामा ओेखलढुंगा वस्ने मु. मन्सोधन घर्तिमगरका तेरीज भित्रको तिरो रु.(।८१ लाग्ने पाचंचोटै भन्ने पाखो जग्गा रु.४,०००।- मा ज्योतिमान श्रेष्ठलाई वेचेको छु । १९८७ सालमा भिमलालको नाममा दर्ता भै तिरो चलेको जग्गाको विक्रि गर्दा थैली रु.३००।- लिन वांकी भएकाले पास गरी दिएको छैन । पास गरी दिन मन्जूर छु भनि पाल्पा जि. देउराली गा.पं. वडा नं. १ वस्ने वर्ष ६७ का मिन प्रसादले मिति ०३५ वैशाख १९ गते जि.का. पाल्पाका नि.प्र.जि.अ. को इजलाशमा गरेको वयानको नक्कल ।

            ६.    नाम दर्ता हुन छुटेको जग्गा नाम दर्ता गरी पाउँ भनी भूमि सुधार मन्त्री समक्ष ०३३।३।२२ मा भूल सुधार गरी दर्ता गरी पाउँ भनि टोली प्रमुख १० नं. नापी टोली फेक डेटदोभान गा.पं. पाल्पामा ०३३।१।१४।२ मा दिएको निवेदन पाखो जग्गा दर्ता गरी पाउँ भनि मालपोत कार्यालय पाल्पामा मिति ०३२।७।९ गते दिएको ज्योतिमान श्रेष्ठको निवेदनको नक्कल प्रतिलिपी ।

            ७.    ०३०।८।११ गते मिन प्रसादले ज्योति मान श्रेष्ठसँग वाट रु.४०००।- लिई  मुन्सोधन घर्तिमगरका जिम्माको रु.-।८१ र वढ समेत रु.-।९१ तिरो लाग्ने पूर्व खोल्सो, पश्चिम केकली वाहुनको जग्गा गोरेटो दक्षिण निज वाहुनहरुको जग्गा पर्खाल उत्तर गोरेटो, पांचोटे भन्ने पाख्रो वारी वेचिएको कागजको प्रतिलिपी जग्गा दर्ता गर्न श्री नापी अधिकृत ५ नं. नापी गोश्वरा पाल्पामा ०३३।८।६ मा दिएको निवेदनको प्रतिलिपी पेश गरेका रहेछन ।

            ८.    सर्जमीनका मान्छ्ेहरुले उक्त जग्गा ज्योतीमान श्रेष्ठले नै आवाद गर्दै आएका हुन भनेका र ज्योतीमानले उक्त जग्गा रु.४०००।- मा मिन प्रसाद उपाध्यायबाट खरीद गरेको हो भने पनि निजले कुनै ठोस प्रमाण विना जग्गा आवाद गरेकोले निजले वन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ को दफा ३(ख) अनुसारको कसुर गरेको हुँदा सोही ऐनको दफा ९(ख) वमोजिम ३० रोपनी जग्गा निजले आवाद गरेको हुँदा प्रति रोपनी रु.५०।- को दरले हुने रु.१५००।- एकहजार पांचसय र एक वर्ष कैदको माग दावी गरी २०४६।१।२१ गतेको फिराद ।

            ९. फेक गा.पं. वडा नं. ५ कचलफाँटमा मेरो खेतवारी छ । सो जग्गा २०३० सालमा पाल्पा देउराली गा.पं. वडा नं. १ वस्ने मिन प्रसाद पण्डितसँग राजिनामा गरी लिएको हो । म छहरा गा.पं. मा वस्छु । नापीको खवर नपाउँदा छुट्न गएको हो । मालपोत कार्यालयमा दर्ता गर्ने निवेदन दिएको छु । मैले किन्दा पाखो थियो र पछि खेत वनाएको हुँ । उक्त जग्गा जंगल भनी वन सिमाड्ढन लगाएको छ । वन सिमाड्ढन लगाउने समयमा फदम वहादुरलाई यो मेरो जग्गा हो वन सिमाड्ढन नलगाई दिनुस भनेको हुँ दर्ता भएको छैन भनि ज्योतिमान श्रेष्ठले ०४६।१।२१ गते अदालतमा वयान गरेको ।

            १०. ज्योतिमान श्रेष्ठले वन जंगलको जग्गा आवाद गरेको भनि किटानी सर्जमीन भएको अदालतमा गरेको वयानमा समेत साविति देखिएको वादीको दावी पनि निजले वन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ को दफा ३ को (ख) अनुसार कसुर गरेकोले सोही ऐनको दफा ९(ख) वमोजिम ३० रोपनी जग्गा आवाद गरेकोमा प्रति रोपनी रु.५०। का दरले हुने रु.१५००। र १ वर्ष कैदको माग दावी वमोजिम देखिंदा मुद्दा फैसला हुँदा वखत फैसला वमोजिम हुने गरी हाललाई वादीको दावी वमोजिम निजसँग धन जमानी वा जेथा जमानी माग गर्ने सो दिन नसके मुलुकी ऐन, अ.वं. ११८ नं वमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्ने एक सदस्यीय विशेष अदालतको मिति ०४६।१।२१ को आदेश ।

            ११.    प्रमाणको रुपमा जि. पाल्पा देउराली गा.वि.स. वडा नं. १ वस्ने मिन प्रसाद  उपाध्यायको मिति ०३५ साल फाल्गूण ८ गते मृत्यु भएको भन्ने श्री देउराली गा.वि.स. पाल्पाको च.नं. ३३।०४७।१०।१८ को पत्र रहेछ भन्ने पाल्पा फेक डेटदोभान गा.पं. वडा नं. ५ को कि.नं. ७० को फिल्डवुक प्राप्त भएको ।

            १२.   यसमा विवादित जग्गा ज्योतिमानले आवाद गरेकोमा कसुरदार नदेखिएको र विवादित जग्गा वन नै कायम गर्ने ठहर्छ भन्ने एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय पाल्पाको मिति २०४८।१।१५।१ को फैसला ।

            १३. विवादित जग्गालाई वन कायम गर्ने गरिएको हदसम्मको फैसला त्रुटीपूर्ण हुँदा चित्त बुझेन सो हदसम्म शुरुको फैला उल्टाई मेरो भोगचलनमा रहेको आवादी जग्गा  कायम गरी पाउँ भन्ने प्रतिवादी ज्योतिमान श्रेष्ठको तत्कालिन अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।

            १४.   विवादित जग्गामा आफ्नो हक भोग रहेको भनी पुनरावेदकले वयान गरेको र सर्भे नापीमा र मालापोत कार्यालयमा समेत निजको उजुरी परी कारवाही भएको भन्ने देखिन आएकोले त्यस्तो हक वेहकको प्रश्न खडा भएको अवस्थामा एक सदस्यीय वन संरक्षण विशेष अदालतलाई हकवेहकको प्रश्नमा ठहर गर्ने अधिकार कानूनले प्रदान गरेको नदेखिंदा विवादित जग्गा वन नै कायम गर्ने भनी गरेको फैसला अनधिकृत हुँदा वदर गरिदिएको छ । अव कानून वमोजिम जो जे गर्नु पर्छ गर्नु भनी तारेखमा उपस्थित रहेको पुनरावेदकलाई एक सदस्यीय वन संरक्षण विशेष अदालतको तारेख तोकी मिसिल समेत पठाई दिने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत वुटवलको मिति २०५०।१०।२१।५ को फैसला ।

            १५. वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा १० अन्तर्गत सो जग्गा   वन क्षेत्र हो वा होइन भन्ने सम्वन्धमा निर्णय गर्दा वन  क्षेत्र भित्रको हो भनी डि.एफ.ओ. ले निर्णय गरेको देखिन्छ । यस मुद्दामा हक वेहकको प्रश्न नभएकोले वन कायम गर्ने  गरी भएको फैसला सदर हुनु पर्नेमा कानून त्रुटीपूर्ण पुनरावेदन अदालत वुटवलको उक्त फैसला वदर गरी एक सदस्यीय वन संरक्षण विशेष अदालतबाट भएको फैसला सदर गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १६.    विवादित जग्गा वन सिमाना भित्र परेको कुरा स्वीकारी प्रतिवादीले वयान गरेको समेत देखिएकोले विवादित जग्गा वन कायम गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला फरक पर्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने भन्ने समेत यस अदालतको आदेश ।

            १७.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान का.मु. वरिष्ठ सरकारी अधिवक्ता श्री शारदा वज्राचार्यले विवादको जग्गामा प्रतिवादीको हकाधिकार स्थापित भएको छैन, वन सिमाना भित्रको जग्गा भन्ने दावी भएको हुँदा वन सिमाना भित्रको जग्गा हो होइन भनि निर्णय गर्ने अधिकार एक सदस्यीय वन संरक्षण विशेष अदालतलाई नै भएको र शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालतले गरेको फैसला कानून अनुरुप नै छ । तसर्थ हकवेहकको प्रश्नमा पुनः निर्णय गर्नु भनि पुनरावेदन अदालत वुटवलले शुरुमा पठाउने गरेको फैसला कानूनसँगत नहुँदा वदर गरी शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय पाल्पाको फैसला सदर हुनपर्छ भन्ने समेतको गर्नु भएको वहस समेत सुनी विवादित जग्गा वन कायम गर्ने गरेको शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय पाल्पाको इन्साफ उल्टी गरी हकवेहकमा निर्णय गर्नु भनी शुरुमा पठाउने गरेको पुनरावेदन अदालत वुटवलको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएकोले पुनरावेदन अदालत वुटवलको उक्त फैसला मनासिव छ छैन भनी निर्णय दिनु परेको छ ।

            १८.   निर्णय तर्फ विचार गर्दा विवादको जग्गा वन सिमाना भित्र परेको भनी प्रतिवादी ज्योतिमान श्रेष्ठले नै अदालतमा वयान गर्दा स्वीकारेको देखिन्छ । विवादको जग्गा २०३२।९।१४ मा सर्भे नाप नक्सा हुँदा कि.नं. ७० मा जंगल भनी नापी भएको कुरा मिसिल संलग्न क्षेत्रीय किताव उतार प्रतिलिपीबाट देखिन्छ । विवादको जग्गा यी प्रतिवादीहरुको हक भएको भन्न सकिने जग्गाको दर्ता स्वामित्वको प्रमाणहरु निजवाट पेश हुन सकेको देखिंदैन । कुनै व्यक्ति विशेषको नाममा दर्ता हक नभएको जंगल भनी सर्भे नापी भै श्रेस्तामा जनिएको त्यस्तो वन सिमाना भित्रको जग्गालाई वन जंगल कायम गरेको शुरुको फैसला हक वेहक भएको भन्न सकिने अवस्था पनि छैन । तसर्थ विवादित जग्गा वन कायम गर्ने गरेको शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालत, जिल्ला वन कार्यालय पाल्पाको इन्साफ मनासिव  ठहर्छ । पुनरावेदन अदालत वुटवलले हक वेहकको वेहकको प्रश्न खडा भएको भनी शुरु फैसला वदर गरी कानून वमोजिम जो जे गर्नुपर्छ   गर्नु भनी शुरु एक सदस्यीय वन संरक्षण   विशेष अदालतमा पठाउने गरेको निणर्य  मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ । प्रस्तुत फैसलाको प्रतिलिपी सहित मुद्दा किनारा भएको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्ण कुमार वर्मा

 

इति सम्वत् २०५४ साल भाद्र २३ गते रोज २ शुभम् ... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु