शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४७० - जिउ मास्ने वेच्ने

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४७०             ने.का.प. २०५४                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

सम्वत २०५१ सालको फौ.पु.नं. ... ९९५

सम्वत २०५२ सालको फौ.पु.नं. ... १०९८

फैसला मितिः २०५४।५।२४।३

 

मुद्दाः जिउ मास्ने वेच्ने ।

 

पुनरावेदक/वादीः पूर्ण कुमारी नेपालीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः स्याङजा जिल्ला पेल्काचौर घर भई हाल कास्की जिल्ला पो.न.पा. वडा नं. ८ डेरा गरी वस्ने प्रेम कुमारी थापा मगर

 

पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला हेटौंडा न.पा. वडा नं. १ घर भै हाल पाल्पा कारागारमा थुनामा रहेकी डालु भन्ने वाटुली लामा

विरुद्ध

प्रत्यर्थी/वादीः पूर्ण कुमारी नेपालीको जाहेरीले श्री ५ को सरकार ।

 

§  प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादीको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्फ जीउ मास्ने वेच्ने कार्यलाई नियन्त्रण गर्न वनेको जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) अनुसार निर्दोषिताको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने हुन्छ भने यस अलावा प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार सजाय हुन नपर्ने कुराको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने कानूनी व्यवस्था रहेकोमा यि प्रतिवादी डालु भन्ने वाटुली लामाले आफ्नो साक्षी सवुद प्रमाण केही दिन सकेको  पाइदैन । केवल इन्कारी कै भरमा आरोपित कसुर यी प्रतिवादीले गरिनन् होला भनी संझन नमिल्ने ।

(प्र.नं. २०)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ

पुनरावेदक प्रतिवादीः विद्वान वैतनिक अधिवक्ता श्री लाल बहादुर थापा

अवलम्वित नजिरः x

 

फैसला

            न्या.भैरव प्रसाद लम्सालः पुनरावेदन अदालत पोखराको मिति २०५१।२।२२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ख) वमोजिम पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः

            २.    लाटा नेपालीसँग प्रेम विवाह भै घर माइत छाडी प्रेम कुमारी थापा मगर डेरा गरी वसेकै घरमा नाउँ गाउँ थाहा नभएको मनिस आई रक्सी खाने गर्दथ्यो । प्रेम कुमारीले यस्तो लाटासँग तिम्रो जीवन वित्दैन, सव्जीवाला धनी छ उ सँग गयौ भने जीवन सुखमा हुन्छ भनी फकाएकीले ०४२ साल फाल्गुणमा सो सव्जीवालासँग प्रेम कुमारीले मलाई पोखरा वस विसौनीमा लगी वस चढाइन, सव्जीवाला र म विरगंज पुगी १ महिना वसियो । निजको दिदी भन्ने महिलाले सिनेमा हेर्न जाउँ भनी भारत वम्वैमा लगी भा.रु. १०,०००। मा विक्रि गरेको हुँदा हाल गाउँकै मानिसद्वारा रुपैया वुझाई घरमा आएकी छु । प्रेम कुमारी थापा मगर समेतलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत पूर्ण कुमारी नेपालीको जाहेरी ।

            ३. प्रेम कुमारी थापाले फकाई सव्जीवाला केटासँग लगाई दिई निजले डालुलाई ल्याई डालुले वम्वै लगी वेची भन्ने समेत व्यहोराको जाहेरीवाला पूर्ण कुमारी नेपालीको वयान, सो वयान प्रमाणको लागी पठाइएको सोही वयानका पछाडी प्रमाणित भै आएको प्रमाणित पत्र ।

            ४. पूर्ण कुमारी नेपाली र निजको लोग्ने लाटो भन्ने मेरो घरमा आई वसेका थिए । त्यहा एकजना वर्ष ३०,३५ को ५ फिटको हेर्दा सार्की जस्तो देखिने व्यक्ति रक्सी खान आउँथ्यो । निजले विरगंजवाट सव्जी ल्याई पोखरा वेच्छु भन्दथ्यो । त्यसले पूर्ण कुमारी नेपालीलाई फकाई दिनुहोस भनेकाले लाटासँग नवस सव्जीवाला सँग गए सुख पाउछेस भनी आज भन्दा ३, ४ वर्ष पहिला निज पूर्ण कुमारी नेपालीलाई वसपार्क पोखरावाट वसमा चढाई सव्जीवाला सँग पठाई दिएकी हुँ । कतिमा विक्रि गर्‍यो थाहा भएन । मैले सो वापत कुनै आर्थिक सहयोग लिएको छैन । सो पछि सव्जीवालासँग भेटघाट छैन भन्ने समेत प्रेम कुमारी थापा मगरले प्रहरीमा गरेको वयान कागज ।

            ५.    मैले पूर्ण कुमारी नेपालीलाई देखे चिनेको थिइन । निजलाई भारत वम्वै लगी विक्रि गरेको होइन । सव्जीवाला भनने व्यक्ति र प्रेम कुमारी थापा मगरलाई चिन्दिन । उजुर गर्नुको कारण केही थाहा छैन भन्ने समेत वाटुली मगर लामाले प्रहरीमा गरेको वयान कागज ।

            ६. मलाई भारत वम्वैमा लगी विक्रि गर्ने इनै डालु भन्ने वाटुली हुन् देखे चिने भनी पूर्ण कुमारी नेपालीले गरेको सनाखत कागज ।

            ७. पूर्ण कुमारी नेपालीको भनाइ अनुसार प्रेम कुमारी थापा मगरले फकाइ तरकारी वेच्ने मानिस जिम्मा लगाई वसपार्कवाट पठाई विरगंजवाट डालु भन्ने वाटुली लामाले भारत वम्वै लगी विक्रि गरे भन्ने भनाइ अनुसार निजहरुले उक्त कार्य गरेको होलान भन्ने शंका लाग्यो भन्ने समेत सर्जमिन  मुचुल्का ।

            ८. डालु भन्ने वाटुली लामालाई ज्यू मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ८ को (१) अनुसार सजांय हुन र प्रेम कुमारी थापालाई सोही ऐनको दफा ८ को (४) अनुसार सजांय हुन र सवै प्रतिवादीलाई ऐ. ऐनको दफा ८ (५) अनुसार जरिवाना समेत हुन माग गरी दायर भएको प्रहरी प्रतिवेदन माग दावी ।

            ९.    जि.प्र.का.मा भएको वयान कागजको सहीछाप मेरो वयान कागजको व्यहोरा मेरो होइन प्रहरीले जवरजस्ती हात समाएर सही गराएको हो । सव्जीवालासँग पूर्ण कुमारीलाई मैले पोइल लगाई दिएको होइन । पूर्ण कुमारी सँग मेरो लिनु पैसा माग्दा पौष १५ गते झगडा भएको थियो सोही रिसले निजले मलाई पोल गरेको हो भन्ने समेत व्यहोराको प्रेम कुमारी थापा मगरले अदालतमा गरेको वयान ।

            १०.    जाहेरवाली पूर्ण कुमारी नेपालीलाई मैले देखेकी छैन निजलाई मैले भारत वम्वै लगी वेचेको होइन । सव्जीवाला केटो को हो मलाई थाहा छैन प्रहरी प्रतिवेदन दावीवाट फूर्सद पाउँ श्याम कुमार लामाको जोहरीले श्री ५ को सरकार वादी म प्रतिवादी भएको ज्यू मास्ने वेच्ने मुद्दामा मलाई पर्सा जि.अ.वाट ११ वर्ष कैद र ५०००। जरिवाना गरी फैसला भएकोले सोही मुद्दामा हाल पाल्पा कारगारमा कैदमा वसेकी छु भन्ने समेत वाटुली लामाले अदालतमा गरेको वयान ।

            ११.    सर्जमिनका मानिसले वकेको वकपत्र मिसिल सामेल रहेछ ।

            १२.   यस्मा वम्वैमा लगी विक्रि गर्ने भनी पिडितले सनाखत गरेको प्रतिवादी डालु भन्ने वाटुली लामाले समेत निजलाई पोलेको समेत नहुँदा र प्रतिवादीका साक्षीहरुले प्रतिवादीको इन्कारी वयानलाई पुष्टि गरी वकपत्र गरेकाले स्वतन्त्र एवं तथ्ययुक्त सवुद प्रमाणको अभाव हुँदा प्रतिवादी प्रेम कुमारी थापा मगरको हकमा प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन, सफाइ पाउने ठहर्छ । प्रतिवादी डालु भन्ने वाटुली लामाले नै वम्वैमा लगी आफूलाई विक्रि गरेको हो भनी पिडित पूर्ण कुमारीले सनाखत गरी दिएको देखिन्छ भने प्रतिवादीले जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ वमोजिम आफू निर्दोष भएको प्रमाणित गर्ने अभिभारा वहन गरी साक्षी सवुद गुहार्न सकेको नदेखिंदा निज प्रतिवादी डालु भन्ने वाटुली लामाले प्रहरी प्रतिवेदन दावी अनुसार कसुर अपराध गरेको ठहर्छ । जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ अनुसार १० वर्ष कैद हुन्छ भन्ने समेत २०४९।७।५।४ को शुरु कास्की जिल्ला अदालतको फैसला ।

            १३.   शुरु कास्की जिल्ला अदालतले प्रतिवादी प्रेम कुमारी थापालाई सफाइ दिइ र प्र. डालु भन्ने वाटुली लामाको हकमा सजांय तर्फ मौन रही गरेको फैसला चित्त वुझेन, फैसला वदर गरी प्रहरी प्रतिवेदन दावी वमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउँ भनी वादी श्री ५ को सरकार तर्फवाट र मलाई प्रहरी प्रतिवदेन दावी अनुसार सजाय हुनु पर्ने होइन झूठ्ठा दावीवाट सफाइ पाउँ भन्ने प्रतिवादी डालु भन्ने वाटुली लामाको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।

            १४.   जाहेरवालीलाई विवाह गर्न र स्वास्नी वनी जान सम्म प्रेम कुमारीले फकाएको र तत्पश्चात निज सव्जीवालासँग वसेको समेत देखिएको स्थितिमा र विक्रि गर्ने कार्यमा कुनै सहयोगी वा मतीयारको भूमिका निभाएको र उक्त अपराधिक कार्यमा सम्लग्न रहेको तथ्यपूर्ण तवरवाट नदेखिएको अवस्थामा निज प्रेम कुमारीलाई सफाइ दिएको तथा प्र.डालु भन्ने वाटुली लामाको हकमा जिउ मास्ने वेच्ने मुद्दामा निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको नै हुनेमा पिडित पूर्ण कुमारीको कथनलाई तथ्यपूर्ण एवं काट्य प्रमाण पेश गरी निजले अन्यथा प्रमाणित गर्न सकेको देखिदैन । वारदात हुँदाको अवस्था आफू थुनामा रहेको भन्ने सम्म व्यक्त गरे तर्फ यी वाटुली लामा प्रतिवादी भएको जीउ मास्ने वेच्ने मुद्दाको नारायणी अञ्चल अदालतवाट फैसला भएको मिसिलवाट निज २०४४।५।१५ देखि थुनामा रहेको देखिएवाट उक्त मुद्दामा थुनामा पर्नु अगावै निजले यी पूर्ण कुमारीलाई वम्वै लगी विक्रि गरी जिउमास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ अन्तर्गत दावी वमोजिमको अपराध गरेको भन्ने देखिन आएकोले उक्त ऐन वमोजिम सजाय हुने ठहराएको कास्की जिल्ला अदालतको निर्णय मनासिव ठहर्छ । ऐनको दफा ८(५) वमोजिम विगो वमोजिम जरिवाना समेत तर्फ दावी रहेकोमा सोही दफा ८(५) मा वेच्ने व्यक्तिलाई उपदफा (१) मा लेखिएको सजायमा थप सो थैलीको विगो वमोजिम जरिवाना समेत हुने व्यवस्था भइरहेकोमा अपराध गरेको ठहरी कैद सजाय भएपछि जरिवाना पनि गर्नु पर्नेमा सो नगरेको समम कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण देखिंदा सो हदसम्म केही उल्टी भई निज प्र.वाटुली लामालाई विगो वमोजिम भा.रु. १००००। (दश हजार) को ने.रु. १६,०००। (सोह्र हजार) जरिवाना हुने समेत ठहर्छ । वादी श्री ५ को सरकारको प्रेम कुमारी लाई पनि सजाय हुनु पर्ने भन्ने प्रतिवादी वाटुली लामाको सफा पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत पोखराको मिति २०५१।२।२२।१ को फैसला ।

            १५.   प्रमाणहरुको न्यायिक मूल्याकंन नगरी प्र. प्रेम कुमारीलाई सफाइ दिने गरेको शुरुको फैसला  सदर गरेको पुनरावेदन अदालत पोखराको उक्त फैसला त्रुटिपूर्ण हुँदा वदर गरी प्र.प्रेम कुमारीलाई पनि प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फवाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १६.    मैले जाहेरवालीको कथन अनुसार विदेशमा लगी विक्रि गरेको भन्ने ठोस आधार प्रमाण वादी पक्षले पेश गर्न सकेको  छैन । मैले नै निज जाहेरवालीलाई डेरा गरी वस्ने घर पोखरावाट ललाई फकाई लगी विक्रि गरेको भन्न सकेकी छैनन् । शंकाको सुविधा समेतको उपेक्षा गरिएको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत प्र. डालु भन्ने वाटुली लामाको कारागार शाखा मार्फत यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १७.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्र.प्रेम कुमारीलाई आरोपित कसुरवाट सफाइ दिएको र प्र.डालु भन्ने वाटुली लामालाई दावी वमोजिमको अपराध गरेको ठहर गरेको शुरु निर्णय मनासिव ठहराई निज प्र.डालु भन्ने वाटुलीलाई जरिवाना नगरेको हदसम्म उल्टी गरी विगो वमोजिम भा.रु.१०,०००। को ने.रु.१६,०००। जरिवाना गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला उपर प्र. प्रेम कुमारीलाई दावी वमोजिम सजाय हुनु पर्ने भनी वादी श्री ५ को सरकारको तर्फवाट र सफाइ पाउनु पर्ने भनी प्र.डालु भन्ने वाटुली लामाको पुनरावेदन पर्न आएकोले पुनरावेदक वादी श्री ५ को सरकारका तर्फवाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठले प्र.प्रेम कुमारी थापा मगर उपर किटानी जाहेरी परेको छ, निजले पूर्ण कुमारीलाई ललाई फकाई घरवाट पोखरा वसस्टपसम्म लगी त्यहाँ सव्जीवालासँग वस चढाएर विरगंज पठाएपछि प्रेम कुमारीलाई आर्थिक लाभ हुने अवस्था हुन्छ, सो कुरा पिडितले वम्वैमा वेचिएपछि मात्र ज्ञात हुन आएवाट जोहेरी परेको छ । निज प्र. प्रेम कुमारी अधिकार प्राप्त अधिकारी समक्ष ललाई फकाई लगी वस चढाएकोमा सावित रहेको छ, जिउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ विशेष प्रकृतिको ऐन भएकोले सो ऐन वमोजिम निजैले निर्दोषिताको प्रमाण पुर्‍याउन पर्नेमा सो गर्न नसकेवाट निजलाई सफाई दिएको पुनरावेदन अदालत पोखराको फैसला कानून त्रुटिपूर्ण हुँदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाउनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

            १८.   पुनरावेदक प्रतिवादी डालु भन्ने वाटुली लामाको तर्फवाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री लाल वहादुर थापाले प्र. डालु भन्ने वाटुली लामा प्रहरीमा र अदालतमा कसुर गरेमा इन्कार छन, प्रतिवादी प्रेम कुमारीकै भनाई वमोजिम सव्जीवालासँग वीरगंज गएको र निजको दिदी पर्नेले वम्वैमा लगी वेचेको भन्ने जाहेरी देखिन्छ । ललाई फकाई पठाउने कार्य प्रेम कुमारीवाट पोखरामै भई सकेको देखिएको छ भने सव्जीवाला को हो र वम्वैमा लगी विक्रि गर्ने भनिएकी सव्जीवालाको दिदी भनेको को हो खुल्दैन, जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दावी लिइएकोमा सो ऐन आउनु अघि नै २०४२ सालमा घटेको कथित घटनालाई सो ऐन लागु पनि नहुने र सोही ऐन अनुसार प्रमाणको भार प्र. डालु भन्ने वाटुली लामामा रहने नभै प्रमाण ऐन, २०३१ को दफा २५ वमोजिम प्रतिवादीको कसुर प्रमाणित गर्ने भार वादी पक्ष श्री ५ को सरकारमा नै रहने हुन्छ । विशेष ऐन आउनु अघि घटेको कथित वारदात घटनालाई सो विशेष ऐन वमोजिम मुद्दा चलाउनु पर्ने नभै मुलुकी ऐन जिउ मास्ने वेच्नेको महल वमोजिम मुद्दा चल्नुपर्ने हुँदा निजलाई कसुरदार कायम गरेको कानून त्रुटिपूर्ण हुँदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाउनु पर्छ भन्ने समेतको वहस गर्नु भयो ।

            १९.    विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस समेत सुनि पुनरावेदन अदालत पोखराको फैसला मुनासिव छ छैन भनी निर्णय तर्फ विचार गर्दा प्रतिवादी प्रेम कुमारी थापा मगरले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा पिडित पूर्ण कुमारीलाई सव्जीवालासँग पोइल जान फकाई दिएको कुरामा सावित रहे पनि निजलाई पोइल लगाई दिएको कुरामा समेत पूर्णत इन्कार रही अदालतमा वयान गरेको देखिन्छ । जाहेरवाला पिडीत पक्ष पूर्ण कुमारीको जाहेरी र प्रमाणित वयान व्यहोरामा समेत निज प्रेम कुमारीले सव्जीवालासँग स्वास्नी वनी जान फकाई दिई साथ लगाई पठाएको भन्ने सम्म उल्लेख गरी निज प्रेम कुमारीले विक्रि गर्न वा विक्रि गरी पठाएको भनी किटानीसाथ भन्न सकेको देखिंदैन । सव्जीवालासँग स्वास्नी वनी जान फकाई दिएको भनिएको सव्जीवाला उपर वादी श्री ५ को सरकारवाट कुनै दावी लिई कारवाही चलाएको देखिंदैन । निज सव्जीवालासँग स्वास्नी वनी जान जाहेरवालीलाई फकाई दिएको सम्म भनेको र अर्को प्रतिवादी डालु भन्ने वाटुलीले समेत निजलाई कसुरदार देखाउन सकेको पाइदैन । निज प्रेम कुमारीले जाहेरवालीलाई विक्रि गर्ने कार्यमा कुनै भूमिका निर्वाह गरेको देखिन नआएको अवस्थामा निज प्रतिवादी प्रेम कुमारीलाई कसुरदार ठहर गर्न मिल्ने देखिदैन ।

            २०.   अर्को प्रतिवादी डालु भन्ने वाटुली लामाको सन्दर्भमा विचार गर्दा निज आरोपित कसुर गरेमा इन्कार रहेको देखिन्छ । निजले नै विरगंजवाट भारत वम्वैमा लगी आफूलाई विक्रि गरिदिएको भनी पिडित जाहेरवाली पूर्ण कुमारीको किटानी जाहेरी पर्नुको साथै सनाखत गरी अदालतमा प्रमाणित वयानमा समेत कसुरदार हुन भनी लेखाई दिएकी  देखिन्छ । पिडित पूर्ण कुमारीले यी प्रतिवादी डालु भन्ने वाटुली लामालाई अनाहकमा दोषारोपण गर्नु पर्ने तथ्ययुक्त कारण पनि अदालतमा भएको निजको वयानमा पनि खुलाउन सकेको देखिंदैन । जाहेरी दर्खास्त र पिडित जाहेरवालीको अदालत समक्ष भएको सनाखत वयान समेतवाट प्रस्तुत घटना २०४२ सालको फागुन चैत्र महिनामा भएको देखिन आउनुको साथै पुनरावेदन अदालत पोखराको फैसलामा श्याम कुमार लामाको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी यीनै डालु भन्ने वाटुली लामा भएको जिउ मास्ने वेच्ने मुद्दामा नारायणी अञ्चल अदालतवाट भएको फैसला सहितको मिसिलवाट निज २०४४।५।१५ देखि थुनामा रहेको देखिएको भन्ने उल्लेख गरे सन्दर्भमा निजले वारदात समक्ष आफू उक्त मुद्दामा कारागारमा सजाय भोगी रहेको भन्ने पुनरावेदनमा जिकिर लिएको भएतापनि २०४४।५।१५ देखि निज थुनामा रहेको देखिएको भन्ने पुनरावेदन अदालतको आधार वुँदालाई प्रमाण दिई तथ्ययुक्त तवरले खण्डन गर्न सकेको पाइदैन । जहाँसम्म प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादीको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्फ जीउ मास्ने वेच्ने कार्य लाई नियन्त्रण गर्न वनेको  जीउमास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) अनुसार निर्दोषिताको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने हुन्छ भने यस अलावा प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार सजाय हुन नपर्ने कुराको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने कानूनी व्यवस्था रहेकोमा यि प्रतिवादी डालु भन्ने वाटुली लामाले आफ्नो साक्षी सवुद प्रमाण केही दिन सकेको पाइदैन । केवल इन्कारी कै भरमा आरोपित कसुर यी प्रतिवादीले गरीनन् होला भनी संझन मिल्ने देखिएन ।

            २१.   अतः उल्लेखित आधार प्रमाणवाट प्रतिवादी प्रेम कुमारी थापा मगरलाई आरोपित कसुरवाट सफाइ दिएको र प्र. डालु भन्ने वाटुली लामालाई दावी वमोजिमको अपराध गरेको ठहर गरेको शुरु निर्णय मनासिव ठहराई निज डालु भन्ने वाटुलीलाई जरिवाना नगरेको हदसम्म उल्टी गरी विगो वमोजिम जरिवाना गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला मुनासिव देखिंदा सो फैसला सदर हुने ठहर्छ । प्र.प्रेम कुमारीलाई पनि दावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको र सफाइ पाउनु पर्ने भन्ने प्र.डालु भन्ने वाटुली लामाको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दा किनारा भएको जनाउ कारागार शाखा पाल्पामा कैदमा रहेकी पुनरावेदक प्र.डालु भन्ने वाटुली लामा र महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णजंग रायमाझी

 

ईति सम्वत २०५४ साल भाद्र २४ गते रोज ३ शुभम् ..... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु