शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४७१ - राजिनामा दर्ता वदर हक कायम

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४७१               ने.का.प. २०५४               अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५२ सालको दे.पु.नं. ...  ३०७३

फैसला मितिः २०५४।५।१८।४

 

मुद्दाः राजिनामा दर्ता वदर हक कायम ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला कपिलवस्तु गा.वि.स. सिसवा वडा नं. ६ वस्ने सैरुन फकिर समेत जम्मा २ ।

विरुद्ध

प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने वरसाती फकिर समेत जम्मा २

 

§  लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति कसैलाई हक छोडी दिंदा अन्य अंशियारको मंजुरी लिनु पर्ने र नलिएमा नलिएको अंशियारहरुको जति वदर हुने भन्ने व्यवस्था गरेको पाइन्छ । राजिनामा गरिदिएको सम्पत्ति निजी आर्जनको भनी प्रतिवादीले लिएको जिकिरलाई निजले सवुद प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिंदैन । अंशवण्डाको १९ नं. मा व्यवहार चलाउनलाई स्वास्नी छोरा वुहारीको मंजुरी नभएपनि आफू खुस गर्न पाउने भन्ने प्रावधान भएकोले दाजुभाई अंशियारको सन्दर्भमा सो ऐन आकर्षित हुने भन्न नमिल्ने ।          

(प्र.नं. ११)

 

पुनरावेदक प्रतिवादी तर्फबाट: x

प्रत्यर्थी वादी तर्फबाटः x

अवलम्वित नजिरः x

 

फैसला

            न्या.गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत वुटवलको २०५१।१०।२४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा  ९(१) अन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः

            २.    कोदई फकिरको जेठा अमिन फकिर १ माहिला वरसाती फकिर १ कान्छा नवी फकिर १ समेत ३ छोरा भएको । अमिन फकिरको श्रीमती शैरुन फकिर भएको कोदई फकिर र निजकी श्रीमतीको अघि नै आफ्नो कालगतीले मृत्यु भै सकेको वांकी हामी ३ दाजु भाई सगोल सराकतमा वसी आई हाम्रो अंश सगोलमा नै भएको हाम्रो अंश हकको जग्गा कपिलवस्तु गा.पं. सैमरी मा.सि. ५ क कि.नं. ४९५ को ०-१-१७ कि.नं. १०३६ को ०--६ वार्ड नं. ६ क कि.नं. ५२३ को ०-१-१८ कि.नं. ६८८ को ०--१२  कि.नं. ६९१ को ०--१७ कि.नं. १०७३ को ०-१०-२ वार्ड नं. ६ कि.नं. १०४ को ०-१-१ वार्ड नं. ६ कि.नं. ८४ को ०--८ कि.नं. ९५ को ०--७ को खेत जग्गा दिने अमीन फकिर लिने शैरुन फकिर भनी कुनै थैली लेनदेन नगरेपनि रु.२३,०२०। घर खर्च गर्न लिएको भन्ने र कैफियत महलमा झूठ्ठा रुपले दाइजो पेवा सम्पत्ति नासी मासी दिए वापत भनी लेखी सो जग्गा मिति ०४५।७।१६ गतेको राजिनामा लेखी ०४५।९।१६ गते मालपोत कार्यालय कपिलवस्तुवाट पास गराएको कुरा अघि मलाई थाहा थिएन । ०४६।९।१५ गते थाहा पाई नक्कल लिंदा प्रष्ट भै जालसाजी तर्फ छुट्टै नालिस गर्ने भै जग्गा फिर्ता गराई हक कायम गरी राजिनामा दर्ता वदर गरी मेरो नाउँमा दर्ता समेत गरी पाउने तर्फ नालेस गरेको छु । मिति ०४५।७।१६ गते घरसारमा राजिनामा लेखिई मिति ०४५।९।१६ मा पास भएको राजिनामा उल्लेखित जग्गा मध्ये ३ खण्डको १ खण्ड म वरसातीको १ खण्ड म नवी फकिरको अंश हक कायम गरी सो राजिनामा दर्ता वदर गरी हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    विपक्षी वादी नवी फकिर समेतको म अमीनसँग कुनै अंश हक नभएको व्यक्तिलाई मैले आफू खुश गर्न पाउने सम्पतिमा दावी समेत गर्नलाई अ.वं. ८२ नं. समेतले हकदैया नै नपुगेको अवस्थामा हकदैया विहिन प्रस्तुत नालेश खारेज हुने निर्विवाद छ । शैरुनले माइती मावली समेतबाट पाएको रुपैया २३,०२०। पटक पटक गरी म अमिनले घर खर्चमा लगाई दिएको वापत शैरुनलाई म अमिनले कानूनले निर्विवाद रुपबाट आफू खुश गर्न पाउने भएको जग्गा सम्पत्ति पेवा समेत लेखी पारित गरी दिएको हो । ०४५।७।१६ गतेका दिन जालसाजीबाट लिखत भएको होइन । सत्य सांचो व्यहोराबाट लिखत भएको हो । लेनदेन व्यवहारको १० नं. र अ.वं. ४६ नं. को प्रतिकूल प्रस्तुत नालेश दायर गरेको निर्विवाद भएकोवाट हकदैया विहिन हदम्याद नाघी परेको प्रस्तुत नालेश खारेज गरी पाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।

            ४.    वादी दावी वमोजिमको राजिनामा मध्ये ३ खण्डको २ खण्ड वदर भै १ खण्ड नविको र १ खण्ड वरसातीको हक कायम हुनुपर्छ भन्ने समेत व्यहोराको वादीको साक्षी सई महमद मुसलमानको वकपत्र ।

            ५.    अमीनले आफूले कमाएको जग्गा दाइजो पेवा राजिनामा लेखि दिएका हुन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी राम नारायण मुराउको वकपत्र ।

            ६.    मिति ०४५।९।१६ मा पारित भएको राजिनामाको सम्पूर्ण जग्गाको आधा अर्थात   -१५-४ को ३ भागको २ भाग सम्मको जग्गा वादीहरुको हक कायम हुने र लिखत दर्ता वदर हुने ठहर्छ भन्ने शुरु कपिलवस्तु जिल्ला अदालतको ०४९।५।३१।४ को फैसला ।

            ७. शुरु कपिलवस्तु जिल्ला अदालतले अंशवण्डाको १९ नं. अनुसार प्रतिवादीले आधा सम्पत्ति आफू खुश गर्न पाउने भनि उल्लेख गरी सो मा हाम्रो हक कायम नगरिएको राजिनामा दर्ता वदर नगरिएको हदसम्म कपिलवस्तु जिल्ला अदालतको उक्त फैसला वदर गरी सम्पूर्ण सम्पत्तिमा ३ खण्डको १ खण्ड म वरसातीको १ खण्ड नवी फकिरको समेत अंश हक हामीलाई फिर्ता गराई राजिनामा दर्ता वदर गरी जग्गा छुट्र्‍याई हाम्रो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत वादीहरुको पुनरावेदन पत्र ।

            ८.    राजिनामाको जग्गाको ३ भागको २ भाग जग्गामा वादीहरुको हक कायम हुने र लिखत दर्ता वदर हुने समेत ठहराई शुरु कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी हक इन्साफ गरी पाउँ भन्ने समेत प्रतिवादीहरुको पुनरावेदन पत्र ।

            ९. विवादित राजिनामाको सम्पूर्ण लिखत मध्ये वादी दावी वमोजिमको ३ भागको २ भाग लिखत वदर गर्नु पर्नेमा सो को आधा वदर हुने ठहर्‍याएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा केही उल्टी हुन्छ । विवादित ०४।९।१६ को राजिनामा लिखतको वादी दावी वमोजिमको ३ भागको २ भाग वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, वुटवलको मिति २०५१।१०।२४ को फैसला ।

            १०.    वादी दावी लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी परेको छ । स्त्री अंश धनको ४, ५ एवं अंशवण्डाको १८ नं. अनुसार निजी आर्जनको दाइजो पेवाको सम्पत्तिको विवेचना गरिएको छैन । पुनरावेदन अदालतको फैसला समेत उल्टाई हाम्रो प्रतिउतर जिकिर वमोजिम इन्साफ पाउँ भन्ने समेतको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।

            ११.    नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदन अदालत, वुटवलले गरेको फैसला मिलेको छ, छैन ? साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने भई निर्णय तर्फ विचार गर्दा यसमा विपक्षी जेठा दाजु अंशियार। भै सगोलको कि.नं. ४९५ समेतका जग्गा ज.वि. १-१०(८ दिने अमिन फकिर लिने शैरुन फकिर भै राजिनामा लिनु दिनु गरेकाले हाम्रो हक जति लेनदेन व्यवहारको १० नं. वमोजिम ३ भागको २ भाग वदर गरी पाउँ भन्ने समेत वादी दावी र आफू खुश गर्न पाउने मेरो नाउँको जग्गा श्रीमतीको दाइजो पेवा खर्च भए वापत राजीनामा गरी दिएकोले वदर हुनु पर्दैन भन्ने प्रतिउतर जिकिर रहेको पाइन्छ । यसै मुद्दासँग लगाउको अंश मुद्दाबाट पुनरावेदन अदालत हेटौंडाको फैसला उपर यिनै प्रतिवादीको उक्त मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा आजै यसै इजलासबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्ने मिलेन भन्ने समेत आदेश भएकोवाट वादीहरु र प्रतिवादीहरु सगोलको अंशियारा रहेको देखिन आयो । लेनदेन व्यवहारको १० नं ले सगोलको सम्पति कसैलाई हक छोडी दिंदा अन्य अंशियारको मंजुरी लिनु पर्ने र नलिएमा नलिएको अंशियारहरुको जति वदर हुने भन्ने व्यवस्था गरेको पाईन्छ । राजिनामा गरी दिएको सम्पत्ति निजी आर्जनको भनी प्रतिवादीले लिएको जिकिरलाई निजले सवुद प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिंदैन । अंशवण्डाको १९ नं. मा व्यवहार चलाउनलाई स्वास्नी छोरा वुहारीको मंजुरी नभएपनि आफू खुश गर्न पाउने भन्ने प्रावधान भएकोले दाजुभाई अंशियारको सन्दर्भमा सो ऐन आकर्षित हुने भन्न मिलेन । तर्सथ विवादित ०४५।९।१६ को राजिनामा लिखतको वादी दावी वमोजिम ३ भागको २ भाग वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासिव देखिंदा सदर हुने ठर्हछ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत  छु ।

 

न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति सम्वत् २०५४ साल भाद्र १८ गते रोज ४ शुभम ........ ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु