शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४७२ - मोही बेदखली

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४७२          ने.का.प. २०५४                       अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा

सम्वत् २०५१ सालको दे.पु.नं. –– १८९६

फैसला मितिः २०५४।६।७।३

 

मुद्दा :मोही बेदखली ।

 

पुनरावेदक/वादीः दोलखा जिल्ला लांदुक गा.बि.स. वडा नं. ८ वस्ने मधुसुधन वलीको मु.स. गर्ने ऐ.ऐ. वस्ने बलराम वली ।

                                     विरुद्ध                                    

प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.वस्ने नारायण कुमार वली समेत जम्मा ४ ।

 

§  भर्पाइ समेत लिई दिई वाली वुझाई आएको भन्ने नै मुख्य दावी जिकिर देखिएकोमा वाली वुझेको भर्पाइ भए नै पनि सो भर्पाइलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने देखिंदैन । विधिवत श्रेस्ता प्रमाण समेतबाट मोही कायम भएको नदेखिंएको अवस्थामा मोहीको हैसियत रहेछ भनी मान्न मिल्ने स्थिति नदेखिंने ।

(प्र.नं. १३)

 

पुनरावेदक वादी तर्फबाटः x

प्रत्यर्थी प्रतिवादी तर्फबाटः x

अवलम्वित नजिरः x

फैसला

     न्या.अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पाटनको मिति २०५०।८।२९ को फैसला उपर पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छ :

      २.    दो.जि.लांदुक गा.पं. वडा नं. ८ स्थित जगत कुमारीको पेवा वापत हक प्राप्त भएको माटो मुरी ।१३ को गुवुसिम सिरान लादुके खेत बिपक्षी जगत कुमारीका वावुको पाला देखि मधुसुधनले अधियामा कमाई ०२० साल बाट साल एकको ५ मुरी धान बुझाउने गरी ठेक्कामा कमाई आएको र ०२३ सालको नापीमा ४ नं. जोताहा भरी मोहीको लगत समेत रही साल वसाली वाली बुझेको भरपाई समेत लिई दिई मोहीको हैसियतले बुझाउंदै आएको अवस्थामा ०३९ सालको ठेक्का वाली बुझ्न नआएकोले सो वापतको रकम यो कार्यालयमा धरौट समेत राखेको थिएं मैले मोहीको रुपमा अविछिन्न रुपमा कमाई आएको उक्त जग्गामा ०४१।१।२४ मा बिपक्षी नारायण कुमारी वली समेतका नचिनेका अन्य व्यक्तिले लगाएको वाली लगेकोले मोही हक खिचोला भएकोमा बुझ्दा ०३८।२।१६ मा बिपक्षी नारायण कुमारीले मालपोत कार्यालय काठमाण्डौवाट वकसपत्र पारीत गराई लिएको जानकारी भएकोले मेरो मोही हक सुरक्षित गरी मोही वेदखल गरेमा सजाय समेत गरी पाउं भन्ने व्यहोराको फिराद दावी ।

      ३.    पदम सिंह खड्काको नाम दर्ताको माटो मुरी ।१३ को गुवु सिरान लांदुके खेत दर्तावालपछि हक प्राप्त कृति वहादुरवाट वकसपत्र पाएको ममता पौडेलवाट मिति ०३८।२।१६ मा हालैको वकसपत्र पारीत गरी लिई भोगी आएको छु । सो जग्गामा बिपक्षी मोही भएको र म समेतले मोही दखल गरेको हैन भन्ने समेतको नारायण कुमारी वली समेतको प्रतिउत्तर जिकिर ।

      ४.    फिराद दावी वमोजिमको जग्गाको मोही दखल गरेको  छैन । निज मोही भए मैले जगत कुमारीसंग लिंदा मोही नदेखाई मोही दखल भएकोमा मौकैमा उजुर गर्नुपर्नेमा सो नभएकोले फिराद दावी झुठ्ठा हो भन्ने समेतको हरि नारायण खड्काको प्रतिउत्तर  जिकिर ।

      ५.    प्रतिवादी मध्ये जगत कुमारीको नाउंमा मिति ०४०।११।१० मा तामेल भएको म्यादमा प्रतिउत्तर नफिराई वसेको तथा प्र. ममता पौडेलको वतन पत्ता नलागी म्याद  तामेल हुन नसकेको देखिएको ।

      ६.    विवादित जग्गा ०३८ साल अघि मधुसुधन वलीले ठेक्कामा कमाएको त्यसपछि प्र. नारायण कुमारी वलीले कमाएको भन्ने व्यहोराको सर्जमिन मुचुल्का ।

      ७.    दावी वमोजिमको जग्गामा प्रतिवादीहरुले मोही वेदखल गरेको हुंदा जनही रु. ५१।जरिवाना समेत हुन्छ भन्ने समेतको मिति ०४३।८।१६ को भूमी सुधार कार्यालय दोलखाको निर्णय ।

      ८.    मैले वकसपत्रवाट प्राप्त गरेको जग्गामा मोहीको प्रमाणको अभावमा बिपक्षीहरुलाई मोही कायम गरी मोही वेदखल तर्फ जरिवाना समेत गरेको जिल्ला कार्यालय भूमी सुधार शाखा दोलखाको निर्णय त्रुटिपूर्ण भएकोले उक्त फैसला वदर गरि प्रतिउत्तर जिकिर वमोजिम गरी इन्साफ पाउं भनी प्रतिवादी नारायण कुमारी वलीले तत्कालीन जनकपुर अंचल अदालतमा दिएको पुनरावेदन पत्र ।

      ९.    यिनै पुनरावेदीका वादी वलराम वली प्रतिवादी भएको लुटपीट मुद्दा झिकाउने आदेश भै लेखापढी हुंदा मिसिल प्राप्त भएको नदेखिएकोले मिसिल झिकाई प्राप्त भएपछि जगाई कार्वाही गर्ने गरी अ.वं. १२ नं. बमोजिम मुलतवी राखी दिएको छु भन्ने समेतको मिति ०४६।६।२।४ को तत्कालीन जनकपुर अंचल अदालतको  आदेश ।

      १०.    मिति ०४६।२।३२ को आदेशले मुलतवी रहेकोमा पूर्व आदेश वमोजिमको लुटपिट मुद्दाको मिसिल प्राप्त भै सकेको देखिंदा प्रस्तुत मुद्दा मुलतवीबाट जगाई दिएको छु भन्ने समेतको मिति ०४९।६।२ को आदेश ।

      ११.    तारा देवी भन्ने जगत कुमारीवाट मोहियानीमा कमाएको भन्ने वादीको दावी प्रमाणित हुन नआएकोले वादीलाई मोही कायम गरी निजको हकमा प्रतिवादीले मोही वेदखल गरेको ठहराएको शुरु ०४३।८।१६ को निर्णय मिलेको देखिएन, उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।२९ को फैसला ।

      १२.   मेरो जोताहा अस्थायी निस्सा र १ नं. लगतलाई अकाट्य प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने वाध्यता हुंदा हुंदै त्यस सम्बन्धमा अदालतले केही उल्लेख नगरी प्रतिवादी इन्कार रहेको देखिन्छ भनी गरेको फैसला त्रुटिपूर्ण छ । अ.वं. १३९ नं. वमोजिम बुझ्नु पर्ने व्यक्ति नारायण वहादुर खड्कालाई नबुझी गरिएको फैसला गैर कानूनी छ । तारा देवी भन्ने जगत कुमारी सित पोत बुझि लिएको रसिद जस्ता प्रमाणहरुलाई मूल्यांकन नगरी अ.वं. ७८ नं. वमोजिम बिपक्षीलाई नसुनाई फैसला भएको छ । पुनरावेदन अदालतको त्रुटियूक्त फैसला वदर गरी शुरु भू.सु.का को निर्णय सदर गरी पाउं भन्ने समेतको वलराम वलीको यस अदालतमा परेको पुनरावेदन ।

      १३.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने भई निर्णय तर्फ विचार गर्दा यसमा मैले मोही भई कमाई आएको जग्गाको विपक्षीले वकसपत्र पारित गराई लिई मेरो मोहियानी हक वेदखल गरेकोले मेरो मोही हक सुरक्षित गरी वेदखल गरेकोमा सजाय समेत गरी पाउं भन्ने मुख्य फिराद दावी भएको प्रस्तुत मुद्दामा शुरु भुमि सुधार कार्यालय दोलखावाट दावी वमोजिम मोही बेदखल गरेको ठहर निर्णय गरेको भएपनि मूलतः उल्लेखित दावीको जग्गामा वादीले  मोही  हकको  निश्चित आधार प्रमाण दिन सकेको पाईदैंन । भर्पाई समेत लिई दिई वाली वुझाई आएको भन्ने नै मुख्य दावी जिकिर देखिएकोमा वाली बुझेको भर्पाई भए नै पनि सो भर्पाइलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने देखिंदैन । विधिवत श्रेस्ता प्रमाण समेतवाट मोही कायम भएको नदेखिएको अवस्थामा मोहीको हैसियत रहेछ भनी मान्न मिल्ने स्थिति पनि देखिन आउंदैन । त्यसमा पनि प्रस्तुत  मुद्दाको मिसिल संलग्न रहेको यीनै पक्ष विपक्षका वीच चलेको लुटपीट मुद्दाको फैसलाको प्रतिलिपि हेर्दा सो मुद्दामा यीनै वादीले प्रतिउत्तर पत्र दिंदा उल्लेखित जग्गा आफूले मोही भई कमाएको भन्ने उल्लेख गरेको नभै जग्गाको हक स्वामित्व मै दावी जिकिर लिएको देखिन आउंछ । कहिले उसै जग्गाको हक स्वामित्वको दावी जिकिर लिने र कहिले मोही हक मात्रको दावी लिने यी वादीको एउटै स्पष्ट अडान रहेको पनि पाईदैन । यसर्थ वादीले मोही भई दावीको जग्गा कमाई आएको प्रमाणवाट नदेखिएकोले शुरु भूमी सुधार कार्यालय दोलखाको निर्णय उल्टी गरी दावी पुग्न नसक्ने गरी भएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.राजेन्द्रराज नाख्वां

 

इति सम्वत् २०५४ साल आश्विन ७ गते रोज ३ शुभम् ––––––––––––––––––

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु