शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४७३ - अंश

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४७३          ने.का.प. २०५४                       अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

सम्वत् २०५३ सालको दे.पु.नं. ....... ३५५१

सम्वत् २०५३ सालको दे.पु.नं. ......... ३६६८

फैसला मितिः २०५४।७।१२।३

 

मुद्दाः अंश ।

 

पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने हरिभक्त श्रेष्ठ ।

विरुद्ध

विपक्षी/वादीः का.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने गणेशभक्त श्रेष्ठ समेत ५ जना ।

 

पुनरावेदक/वादीः का.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने विमला देवी श्रेष्ठ ।

विरुद्ध

विपक्षी/प्रतिवादीःका.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने हरिभक्त श्रेष्ठ समेत २ जना ।

 

§  ३५ वर्षको उमेर पुगेको विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भन्ने अंशवण्डाको १६ नं. मा उल्लेख भएको पाइन्छ । निज विमला देवीले प्रमाण दिएको एस.एल.सी को प्रमाण पत्रबाट निजको जन्म मिति २०१८।३।१५ ले निजको उमेर ३५ वर्ष नाघी सकेको देखिंदा विमला देवीले अंश पाउने नै देखिन्छ । वादी प्रतिवादी समेतको लेखबाट निज विमला देवी समेत ७ अंशियार भएको देखिन्छ । तसर्थ ७ अंशियार कायम गरी ७ भागको ५ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।      

(प्र.नं. १६)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुवर

विपक्षी प्रतिवादी तर्फबाटः x

अवलम्वित नजिरः x

 

फैसला

            न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छः

            २.    म गणेशभक्त र कान्छीवाट ३ छोराहरुमा हरिभक्त, शंकरभक्त, माधवभक्त र छोरीहरु ३ जनामा हरिदेवीको विवाह भएको, कमलादेवी र विमलादेवीको विवाह भएको छैन । विपक्षीहरुसँग अंशवण्डा नगरी वसी रहन मुनासिव नभएकोले हरिभक्त ०३६।१२।१ देखि र माधवभक्त ०३९।८।२१ देखि चुला मानो छुट्टि अलग वसी रहे तर्फ समर्थन गरि सकेको उक्त मिति देखि मानो छुट्टिएको मिति कायम गरी सो मिति सम्मको विपक्षी तथा हामीहरु सवै सँग तायदाती लिई विपक्षी तथा हामीहरु सबैको अंश मात्र वण्डा लगाई अंश भाग छुट्टयाई दिलाई पाउँ भन्ने संयुक्त फिराद पत्र ।

            ३.    नारायण स्थानको घर ०१७।१०।२६ मा वेची सोही पैसावाट ०१८।१।२५ मा मेरो वुवा गणेश भक्तले मुमा कान्छीको नाममा फार्सी गरी दिनु लिनु भएको हो । मैले घरमा झगडा गरेको छैन । म पढाइमा सधै व्यस्त थिएं । म २०३६।१२।१ देखि म छुट्टै भान्सा गरी जहानलाई पालनपोषण गर्दै आएको छु । आजसम्म  मैले अंश मागेको छैन । अंश लिई भिन्न वस्ने इच्छा समेत नभएकोले विपक्षीहरुको झूठ्ठा फिराद दावी खारेज गरी पाउँ भन्ने प्र.हरिभक्त श्रेष्ठको प्रतिउत्तर पत्र ।

            ४.    विपक्षीहरु मध्ये गणेश भक्त श्रेष्ठ मेरो वुवा र कान्छी भन्ने मेरो मुमा तथा अन्य मेरा दिदी वहिनीहरु र माहिला दाजु हुन । उनीहरु आपसमा मिली आमा वावुलाई उचाली म कान्छो छोरालाई जवरजस्ती अंशवण्डा गरी अलग राख्न खोजेको स्पष्ट देखिन्छ । जवकी आजसम्म मैले अंश मागेको छैन र आमा वावु वाचुन्जेल सम्म मानु छुट्टि वसेतापनि अंश लिन चाहेको छैन । आमा वावुको हेरचाह मैले आफ्नो क्षमता अनुसार गर्दै आएको छु । गर्ने पनि छु । यस्तो अवस्थामा वण्डाको कानूनमा भएको प्रावधान अनुसार मलाई जवरजस्ती छुट्टयाउन लागेको अंशवण्डाको १० नं. को विपरित भएको हुँदा झूठ्ठा मुद्दा फिराद दावी खारेज गरी पाउँ भन्ने प्रतिवादी माधव भक्त श्रेष्ठको प्रतिउत्तर जिकिर ।

            ५.    यी वादी प्रतिवादीहरुको वीच ०३६ साल चैत्र देखि नै मानो छुट्टिएको जेठो छोरा मात्र मानो छुट्टि एउटै घरमा रहनु भएको कान्छो छोरा वावु आमाको संगोलमा वसी रहेका छन् । वादी प्रतिवादी वीच अंशवण्डा भएको छैन जवरजस्ती वादी गणेश भक्त श्रेष्ठले छोराहरुलाई अंशवण्डा छट्टयाउन लागेको हो भनने समेतको वादीको साक्षी राधाकृष्ण श्रेष्ठले गरेको वकपत्र ।

            ६.    यिनीहरु जम्मा छोडी २ दाजुभाई ३ जना छन् । साथै यिनीहरुको जहिले पनि झगडा भै रहन्छ । भिन्नाभिन्नै खाई रहेका छन् । अंशवण्डा भएको छैन भन्ने समेतको वादीको साक्षी कान्छा महर्जनले गरेको वकपत्र ।

            ७.    पेश भएको फाँटवारीको सम्पत्तिमा वादी दावी अनुसार वादीहरुले अंश पाउने ठहर्छ भन्ने समेतको मिति २०५०।२।११ को काठमाण्डौं जिल्ला अदालतको फैसला ।

            ८.    हकदैया विहिन व्यक्तिको फिराद लिई अंश नपाउनेलाई अंश दिलाई र आमा वावुहरु जीवित रहेसम्म छुट्टि  भिन्न वस्तिन भन्ने छोराहरुलाई छुट्टयाई भिन्न गराउन नपाउने कानूनी प्रावधान विपरित गरेको काठमाण्डौं जिल्ला अदालतको फैसला वदर गरी सुपथ न्याय पाउँ भन्ने समेत प्र. माधव भक्त श्रेष्ठको श्री पुनरावेदन अदालत पाटन ललितपुरमा परेको पुनरावेदन पत्र ।

            ९.    अंश पाउँ भनि दावी गर्ने विमला देवी श्रेष्ठको अंश पाउँ भन्ने फिराद दावी लाग्न सक्दैन । निजको उमेर अंश मुद्दा दायर गर्ने अवस्थामा ३५ वर्ष पुगेको छैन । ३५ वर्ष उमेर नपुगी हकदैया हुदैन । अ.वं. ८२ र १८० नं. वमोजिम वादी दावी खारेज गर्नु पर्दथ्यो । तसर्थ खारेज नगरी गरेको फैसला प्रत्यक्षतः कानूनी त्रुटीपूर्ण भएकोले वदर होस भन्ने समेतको प्रतिवादी हरिभक्त श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            १०. अविवाहित छोरी वादी मध्येकी विमला देवीको अंशवण्डाको १६ नं. अनुसार उमेर पुगेको नदेखिएकोले निजले समेत अंश पाउने गरी भएको शुरु का.जि.अ.को निर्णय विचारणीय हुँदा अ.वं. २०२ नं. अनुसार विपक्षीहरुलाई झिकाई पेश गर्नु भन्ने श्री पुनरावेदन अदालत पाटनको आदेश ।

            ११.    उमेर सम्वन्धमा एस.एल.सी.को प्रमाण पत्रमा उलेख भएको जन्म मिति अन्यथा प्रमाणित नभए सम्म सोही मितिलाई नै आधिकारिक जन्म मिति मान्नु पर्ने हुन्छ । २०१८।३।१५ को जन्म मितिवाट फिराद पत्र परेको दिन र हाल सम्म पनि विमला देवी ३५      वर्ष पुगेको नदेखिंदा निज विमला देवीको विवाह खर्च पर सारी ६ अंशको अंशियारा कायम गरी ६ भागको ४ भाग अंश पाउने ठहर्छ । ७ भागको ५ भाग पाउने ठहर्‍याएको शुरु इन्साफ केही उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०५२।१०।२ को फैसला ।

            १२.   पैत्रिक सम्पत्तिलाई स्त्री धन भनी मलाई अंशवाट अलग गर्ने उद्देश्यले वहिनीहरु र भाईले आमा वावुसँग मिलेमतो गरी अंश मुद्दा दिई उमेर नपुगेकी वहिनीलाई उमेर पुगेको देखाई अंशमा दावी गर्न लगाई दिएको मुद्दामा पुनरावेदन अदालत पाटनवाट उमेर नपुगेको हुँदा विवाह खर्च मात्र पाउने ठहरी फैसला भएको र घरको जेठो छोराको नाताले वृद्ध वावु आमाको हेर विचार समेत मैले नै गर्दै आएको छु । घरको आयस्ता अनुसार इज्जत आमद अनुसार खान लाउन दिएको अवस्थामा छोरीहरुले अंश माग्न नमिल्ने हुँदा शुरु तथा पुनरावेदन अदालतबाट भएको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको मिति २०५३।११।८ को प्रतिवादी हरिभक्त श्रेष्ठको पुनरावेदन पत्र ।

            १३.   म पुनरावेदिकाले फिराद पत्र दायर गर्दाको अवस्थामा मेरो उमेर ३५ वर्ष नाघी ३६ वर्ष लागेको भनी उल्लेख गरेकी जुन कुरालाई पुष्टि हुने आधार जन्म कुण्डली नै पेश गरी सकेपछि उक्त जन्म कुण्डलीलाई प्रमाणमा नलिई केवल एस.एल.सी को प्रमाण पत्रको मितिलाई मात्र आधार मानी गरेको पुनरावदेन अदालत पाटनको फैसला अ.वं. १८४(क) १८५ प्रमाण ऐन, २०३१ को दफा ३,५४ को त्रुटी पूर्ण हुँदा साथै अंशवण्डाको १६ नं. को विपरित हुँदा फैसला वदरभागी भएकोले वदर गरी शुरु जिल्ला अदालतको फैसला बमोजिम न्याय पाउँ भन्ने समेत व्यहोराको वादी विमला देवीको मिति २०५३।१।२७ को पुनरावेदन पत्र ।

            १४.   यसमा मिति २०४८।५।१७ मा फिराद दायर गर्दा विमला देवीको उमेर फिराद पत्रमा ३६ वर्ष जनिएकोमा प्रतिवादीहरुले आफ्नो प्रतिउत्तर पत्रमा उमेर सम्वन्धमा विवाद नगरेको एस.एल.सी को प्रमाणपत्रमा जन्म मिति २०२८।३।१५ भनि उल्लेख भएकोबाट पनि अहिले  विमला देवीको उमेर ३५ वर्ष नाघी सकेको देखिन आएकोले अंशवण्डाको महलको १६ नं. मा ३५ वर्ष उमेर पुगेपछि विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भनि उल्लेख भएबाट पुनरावेदन अदालतको फैसला फरक पर्ने देखिंदा अ.वंं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०४९ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधी नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५३।६।२३ को आदेश ।

            १५.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुंवरले विपक्षीहरुले विमला देवीको उमेर नपुगेकोले  अंश नपाउने भन्ने कुरा कहिं उल्लेख गरेको छैन । उमेर पुगेकोमा सावित समेत भै सकेको वारिसनामामा उल्लेखित साक्षी र शुरु अदालतले बुझेको साक्षीबाट समेत विमला देवीको उमेर पुगेको प्रष्ट भएको छ । साथै उमेर पुगेको भन्ने सम्वन्धमा आफ्नो जन्मकुण्डली पेश गरेकोमा त्यस्तो ठोस प्रमाणलाई आधार नमानी मात्र एस.एल.सी.का. सर्टिफिकेटमा उल्लेखित मितिलाई आधार मानी गरिएको फैसला त्रुटीपूर्ण हुँदा वदर होस भनी गर्नु भएको बहस र विपक्षी प्रतिवादी हरिभक्त श्रेठ समेतलाई रोहवरमा राखी निजको समेत जिकिर सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको निर्णय मिलेको छ छैन सो विषयमा निर्णय गर्नु पर्ने देखिन आयो ।

            १६.    यसमा मेरो उमेर ३५ वर्ष नाघी सकेको हुँदा मैले पनि अंश पाउनु पर्दछ भन्ने वादी विमला देवीको र छोरीहरु उमेर पुगे पनि आफ्नो आयस्ता बमोजिम खान लाउन दिई राखेकोमा झन उमेर पुगेको वृद्ध आमा वावु भाईको हेरविचार गर्नु पर्नेमा अंश छुट्याई पाउँ भनि दिएको नालिस उचित अनुचित के छ विचार होस भन्ने प्र. हरिभक्तको पुनरावेदन देखिन्छ । निज विमला देवीको नाता सम्वन्धमा विवाद छैन । ३५ वर्षको उमेर पुगेको विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भन्ने अंशवण्डाको १६ नं. मा उल्लेख भएको  पाइन्छ । निज विमला देवीले प्रमाण दिएको एस.एल.सी को प्रमाण पत्रबाट निजको जन्म मिति २०१८।३।१५ ले निजको उमेर ३५ वर्ष नाघी सकेको देखिंदा विमला देवीले अंश पाउने नै देखिन्छ । वादी प्रतिवादी समेतको लेखबाट निज विमला देवी समेत ७ अंशियार भएको देखिन्छ । तसर्थ ७ अंशियार कायम गरी ७ भागको ५ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । विमला देवीलाई अंश नदिलाउने ठहर्‍याएको हदसम्मको पुनरावेदन अदालत पाटनको इन्साफ नमिलेकोले केही उल्टी हुन्छ । सो हदसम्म पुनरावेदकका प्रतिवादी हरिभक्त श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई   दिनु

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरव प्रसाद लम्साल

 

इति सम्वत २०५४ साल  कार्तिक १२ गते रोज ३ शुभम्................।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु