निर्णय नं. ६४७५ - जिउ मास्ने वेच्ने

निर्णय नं. ६४७५ ने.का.प. २०५४ अङ्क ११
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत् २०५४ सालको प्रतिवेदन नं. ... ३०
आदेश मितिः २०५४।७।२१।५
मुद्दाः जिउ मास्ने वेच्ने ।
निवेदक/प्रतिवादीः जिल्ला पांचथर फिदीम गा.वि.स. वडा नं. १ घर भई हाल पांचथर कारागारमा थुनामा रहेका वद्री प्रसाद पाण्डे ।
विरुद्ध
विपक्षी /वादीः कमला देवी चौलागाईको जाहेरीले श्री ५ को सरकार ।
§ प्रतिवादी वद्री प्रसाद पाण्डे अदालत समक्ष आरोपित कसुरमा इन्कार रहेको र इन्कार रहने कारणमा औषधी उपचार भई रहेको अवस्था उल्लेख भएको देखिन्छ । एलेवी लिए तर्फ तत्काल मूल्याङ्कन हुने नभई मुद्दा किनारा हुँदाका वखत मूल्याङ्कन हुने विषय हुन आउँछ । तत्काल प्राप्त प्रमाणको आधारमा मात्र थुनछेक तर्फ विचार गर्नु पर्ने देखिंदा तत्काल प्राप्त प्रमाणबाट निजलाई थुनामा राखी मुद्दा पुर्पक्ष गरिनु पर्ने सम्मको आधार प्रमाण पुगेको नदेखिंदा पछि वुझ्दै जांदा देखिन आएको आधार प्रमाणबाट थुनछेक तर्फ विचार गर्न मिल्ने नै देखिंदा हाल प्राप्त प्रमाणको आधारले मात्र प्रतिवादी वद्रि प्रसाद पाण्डेलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु पर्ने स्थिति नदेखिंने ।
निवेदक प्रतिवादी तर्फबाटः x
विपक्षी वादी तर्फबाटः x
अवलम्वित नजिरः x
आदेश
न्या.केदारनाथ आचार्यः पांचथर जिल्ला अदालत के उपरोक्त मुद्दामा पुर्पक्षको लागि शुरु पांचथर जिल्ला अदालतबाट प्र. वदी्र प्रसादलाई तारेखमा राख्ने गरेको आदेश वदर गरी पुर्पक्षको लागि थुनामा राखी कारवाही गर्ने गरी पुनरावेदन अदालत इलामबाट भएको आदेश वेरीतको हुँदा अ.वं. १७ नं. अनुसार वदर गरी तारेखमा रहन पाउँ भन्ने निवेदनमा भएका आदेशानुसार पुनरावेदन अदालत इलामबाट प्राप्त हुन आएको प्रतिवेदनको व्यहोरा समेत पेश भयो यसमा पिडित ८ वर्षे वालीका गंगा देवीले मिति ०५३।९।१६।३ मा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई पांचथर जिल्ला अदालतबाट सोही मितिमा प्रमाणित गरि दिएको वयान हेर्दा बद्रि प्रसाद पाण्डेको नाम उल्लेख भएको पाइदैन । जाहेरवाली कमलादेवी चौलागांइले मिति ०५३।९।१६।३ मा जाहेरी दिएको र उक्त जाहेरीमा समेत वद्री प्रसाद पाण्डेको नाम उल्लेख भएको पाइदैन । वद्री पाण्डेको नाउँ उल्लेख गर्ने भनेको खेमराज पाण्डेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा लेखाउँदा अनुप योन्जनबाट वद्री प्रसादलाई थाहा भएको र केटीलाई छुटाई दिन वावु वद्री प्रसादले अनुपयोन्जनलाई भनेको भन्ने व्यहोरा लेखेका देखिन्छ । तथापि निज खेमराज पाण्डेको अदालतमा भएको वयानबाट पुष्टि पुगेको देखिदैन । वादी दावि हेरिदा वद्री प्रसाद पाण्डे बिरुद्ध जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(४) रहेको र सो वमोजिम जिउ मास्ने वेच्ने कार्य गर्ने परिपन्च मिलाउने वा सहयोग पुर्याउने वा त्यस्तो कार्यमा लाग्न दुरुत्साहन गर्ने वा त्यस्तो कार्य गर्ने उद्योग गरेको ठहर भएमा पांच वर्ष सम्म कैद हुन सक्ने अवस्था देखिन्छ । प्रतिवादी वद्री प्रसाद पाण्डे अदालत समक्ष आरोपित कसुरमा इन्कार रहेको र इन्कार रहने कारणमा औषधी उपचार भई रहेको अवस्था उल्लेख भएको देखिन्छ । एलेवी लिए तर्फ तत्काल मूल्याङ्कन हुने नभई मुद्दा किनारा हुँदाका वखत मूल्याङ्कन हुने विषय हुन आउँछ । तत्काल प्राप्त प्रमाणको आधारमा मात्र थुनछेक तर्फ विचार गर्नु पर्ने देखिंदा तत्काल प्राप्त प्रमाणबाट निजलाई थुनामा राखी मुद्दा पुर्पक्ष गरिनु पर्ने सम्मको आधार प्रमाण पुगेको नदेखिंदा पछि वुझ्दै जांदा देखिन आएको आधार प्रमाणबाट थुनछेक तर्फ विचार गर्न मिल्ने नै देखिंदा हाल प्राप्त प्रमाणको आधारले मात्र प्रतिवादी वद्रि प्रसाद पाण्डेलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु पर्ने स्थिति देखिएन । तारेखमा राख्ने आदेश गरेको पांचथर जिल्ला अदालतको मिति २०५४।१।२९ को आदेश मिलकै देखियो । पांचथर जिल्ला अदालतको आदेश वदर गरि बद्रि प्रसाद पाण्डेलाई मुद्दा पुर्पक्ष निमित्त थुनामा राख्ने गरेको पुनरावेदन अदालत इलामको मिति २०५४।२।१०।६ को आदेश मिलेको नदेखिंदा वदर गरी दिएको छ । पांचथर जिल्ला अदालतबाट मिति २०५४।१।२९ मा भएको आदेश मुनासिव देखिदा प्रतिवादी वद्रि प्रसाद पाण्डेलाई पछि वुझ्दै जांदा ठहरे वमोजिम हुने गरी मुद्दा पुर्पक्षको लागि हाल तारेखमा राखी कानून वमोजिम गर्नु । यो आदेशको जानकारी पुनरावेदन अदालत इलाममा पनि पठाई दिनु ।
इति संवत २०५४ साल कार्तिक २१ रोज ५ शुभम् .. ।