निर्णय नं. ३५१६ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३५१६ ने.का.प. २०४५ अङ्क ७
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको रिट नं. १३९२
आदेश भएको मिति : २०४५।४।२४।२ मा
निवेदक : बारा अमृतगञ्ज गा.पं. वडा नं. २ बस्ने धुपलाल राय यादव मरी हक खाने निजको छोरा गोपालप्रसाद यादव
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय कलैयाका भू.सु.अ.विश्वनाथ श्रेष्ठसमेत
विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) कबूलियतको अभावमा मोही कायम हुने ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :
२. जि.बारा अमृतगञ्ज गा.पं. वडा नं. २ कि.नं. १८९ को ०–४–०, कि.नं. ३५८ को ०–४–१२, कि.नं. ३७२ को १–८–०, कि.नं. ३९७ को ०–८–० समेत जम्मा जग्गा विगहा २–४–१२ पिताजी धुपलाल राय यादवको नाममा दर्ता भएकोमा २०३३ साल मार्गमा वहाँको देहावसान भएकोले उक्त जग्गामा मेरो हक हुन आई जोती कमाई आएको छु । यसैबीच विपक्षी विन्दालाल आई उक्त जग्गामा मोहियानी मेरो कायम भई भू.सु.का.बाट जितेको हुनाले मलाई कमाउन दिनुपर्छ भनी भनेकोले विपक्षी भू.सु.का. मा गई बुझ्दा विपक्षी विन्दालालले मेरो ०३३ सालमा परलोक भइसकेका पिताजी धुपलाल उपर २०४०।४।२९ गते निवेदन दिएको रहेछ र सोही आधारमा स्वर्गीय पिताको नाउँमा २०४०।५।६ मा म्याद तामेल गर्दा म्यादवाला मानिस र घरमा उमेर पुगेको मानिस फेला नपरेकोले घर दैलामा टाँस गरेको भन्ने जनाई विपक्षी विन्दालाललाई मोही कायम गर्ने गरी २०४२।३।१० मा फैसला गरिएको रहेछ ।
३. विपक्षी भू.सु.का.ले २०३३ सालमै परलोक भइसकेका मेरो पिता उपरको निवेदन लिई तामेल नै नभएको म्यादलाई घरदैलामा टाँस भएको भन्ने आधार देखाउनु अ.बं. ११० नं. विपरीत छ । यसबाट मलाई आफ्नो कुरा भन्ने मौका नदिई गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । उक्त मुद्दामा कारवाही चलिरहेकोमा वादीले म्याद गुजारेकोले मिति ०४१।४।५ मा तामेलीमा गइसकेकोमा पुनः निजको ०४१।४।११ मा अर्को निवेदन लिई तामेलीमा गइसकेको मिसिलको आधारमा पुनः कारवाही चलाउन मिल्दैन । त्यसरी पुनः कारवाही गर्दा मलाई म्याद दिनु पर्नेमा दिइएको छैन । अर्कोतर्फ विपक्षी यदि मोही भएको भए भू.सं ऐनको दफा ३४ बमोजिम दोहरी कबूलियत हुनु पर्ने थियो, सो भएको छैन । विपक्षीको न त जो.अ.नि. छ, न फिल्डबुकमा नै मोही जनिएको छ । यसप्रकार विपक्षी कार्यालयले विना आधार र प्रमाण गरेको गैरकानुनी निर्णयबाट नेपालको संविधानको धारा ११(२)(ङ) तथा धारा १५ द्वारा प्रदत्त मौलिक हक अधिकारको हनन् भएकोले भू.सु.का.को उक्त २०४२।३।१० को निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेतको गोपालप्रसाद राय यादवको रिट निवेदन ।
४. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. विन्दालाल प्रसाद यादवले मोही कायम गरी पाउँ भनी निवेदन दिएकोमा ज.ध.लाई इतलायनामा पठाउँदा म्याद गुजारी बसेको साथै वादी मोहीको वारेसले पनि म्याद गुजारी बसेकोले मिसिल तामेलीमा गइसकेकोमा हाल वादी मोहीले तामेली मिसिलको प्रमाणको नक्कलसाथ निवेदन दिँदा गा.पं.को सिफारिश र मुचुल्का अनुसार विन्दालाल प्रसाद यादवले जग्गा जोती आएको हुँदा निजको नाममा मोही कायम गरी दिन भनी प्रमाणको आधारमा यस कार्यालयको मिति २०४२।३।१० को निर्णय अनुसार मोही कायम गरिएको हो । रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको भू.सु.का. बाराको लिखित जवाफ ।
६. रिट निवदेकको पिता २०३३ सालमा परलोक हुनु भएको नभई २०४२ सालको अन्त्यतिर मात्रै परलोक हुनु भएको हो । विवादित जग्गा २०३६ साल देखि मैले जोत कमोद गरी आएको कुरा प्रधानपञ्चले गरिदिनु भएको सिफारिश र सरजमीनबाट समेत देखिन्छ । विपक्षीको पिताका नाउँमा २०४०।५।६ मा रीत पुर्याई तामेल भएको म्याद गुजारी बसेकोले भू.सु.का.ले कानून बमोजिम प्रमाणको आधारमा निर्णय गरेकोमा २ वर्ष २ महिना पछि आएर रिट निवेदन दिनु बिलम्बको सिद्धान्तको आधारमा समेत मिल्दैन झुठ्ठा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको विन्दलालप्रसाद यादवको लिखित जवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले मोही कायम गरिपाउँ भन्ने प्रत्यर्थी विन्दालालको उजूर परी तारेख छाडेकोले तामेली रही सकेकोमा पुनः अर्को निवेदन लिई कारवाही गरेको त्रुटिपूर्ण छ । प्रत्यर्थी विन्दालाल विवादित जग्गाको मोही नै हैन । यदि २०३६ साल देखि मोही भई आएको भए भू.सं. ऐन, २०२१ को दफा ३४ बमोजिम कबूलियत हुनुपर्ने थियो सो पनि छैन र विपक्षीले जोताहाको अस्थायी निस्सा समेत प्राप्त नगरेको अवस्थामा एकाएक सुनुवाईको मौका समेत नदिई विपक्षीलाई मोही कायम गर्ने गरी गरेको भू.सु.का.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेतको बहस गर्नु भयो । प्रत्यर्थी तर्फबाट रहनु भएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले रिट निवेदकको पिता २०४२ सालमा परलोक हुनु भएको हो । कानून बमोजिम रिट निवदेकको पिताको नाउँमा रीत नपुर्याई म्याद तामेली गरिएकोमा म्याद गुजारी बसेकोले गा.पं.को सिफारिश तथा सरजमीनको आधारमा भू.सु.का.ले गरेको निर्णय कानून अनुरुप छ । २ वर्ष कटाई विलम्ब गरी आएको हुँदा रिट निवेदन खारेज होस् भन्ने समेतको बहस गर्नु भयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सोको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा पहिले मोही कायम गरिपाउँ भनी वादीले दिएको निवेदनमा जग्गा धनीले इतलायनामाको म्याद गुजारी बसेको र वादीको वारेसले तारेख छाडी बसेकोले मिसिल तामेलीमा राखिएको देखिन्छ हाल वादीले तामेलीमा रहेको मिसिल कागजको प्रमाण बमोजिम मोही कायम गरिपाउँ भनी सरजमीन मुचुल्का गा.पं.को सिफारिश समेत पेश गरेको आधारमा निवेदकको नाममा मोही कायम हुने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय बाराले मिति २०४२।३।१० मा निर्णय गरेको देखिन्छ ।
१०. मुख्य न्यायाधिवक्ताले इजलास समक्ष देखाएको भू.सु.का.ले निर्णय गरेको फाइल हेर्दा अमृतगंज गा.पं. वार्ड नं. २ को कि.नं. १८९, ३५८, ३७२ र ३९७ को जम्मा २–४–१२ जग्गा ०३६ साल देखि मोही भई कमाई आएको मोही प्रमाणपत्र पाउँ भन्ने प्रत्यर्थी विन्दालाल प्रसाद यादवको भू.सु.का. बारामा ०४०।४।२६ मा द.नं. ३३० को निवेदन परेको र यसमा पक्षले नै तारिख गुजारी बसेको देखिँदा प्रस्तुत मिसिल तामेलीमा राखी दिनु भन्ने भू.सु.का. बाराबाट ०४१।४।५ मा आदेश भएको भन्ने फाइल सामेल रहेका नक्कल कागजबाट देखिन्छ । सो कुरा हाल मोही कायम गरिपाउँ भनी दिएको उजूरीबाट स्वीकार गरेको पाइन्छ । त्यसरी एकपटक मोहीको प्रमाणपत्र पाउँ भनी दावी गरी उजूर परेकोमा तारेख छाडेको कारणबाट उजूरी तामेलीमा राख्ने निर्णय आदेश गरी सकेपछि भू.सु.कार्यालय आफैंले अर्को निवेदन लिई निर्णय गरेको त्रुटिपूर्ण हुनुको साथै प्रत्यर्थी विन्दालाल प्रसाद यादवले ०३६ साल देखि मोही भई जग्गा कमाएको भनेकोमा त्यस्तो भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ अनुसार कूत कबूलियतको आवश्यक हुन्छ । तर सो कूत कबूलियत छ भन्न प्रत्यर्थी विन्दालाल प्रसादले सकेको छैन । प्रत्यर्थी भू.सु.कार्यालयले मोही कायम गर्ने निर्णय गरेकोमा सो अनुसार कबूलियतको आधार लिन सकेको पनि छैन । तसर्थ कबूलियतको अभावमा प्रत्यर्थी भूमिसुधार कार्यालय बाराले मोही कायम हुने ठहराई गरेको मिति २०४२।३।१० को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
११. अतः उपर्युक्त उल्लिखित कारणबाट प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति २०४२।३।१० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउँन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल श्रावण ४ गते रोज २ शुभम् ।