निर्णय नं. ८८११ - निर्णय बदर एवं दाखिल खारेज दर्ता कायम

ने.का.प. २०६९, अङ्क ४
निर्णय नं.८८११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
२०६५-CI- ०५२८
फैसला मितिः २०६८।७।२३।४
मुद्दा : निर्णय बदर एवं दाखिल खारेज दर्ता कायम ।
पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २ लाजिम्पाट बस्ने प्रेमदास प्रकाशको मु.स. गर्ने ऐ. ऐ. बस्ने शोभादेवी प्रकाश समेत
विरूद्ध
प्रत्यर्थी वादीः बैतडी जिल्ला, पुचौडीघण्ट गाउँ विकास समिति बसन्तपुर घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ बस्ने रश्मीदेवी बम
शुरू फैसला गर्ने :–
मा.जि.न्या.श्री भरतप्रसाद अधिकारी
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती
मा.न्या.श्री हरिप्रसाद घिमिरे
§ दाइजो पेवाबाट प्राप्त गरेको सम्पत्ति मुलुकी ऐन, स्त्री अंशधनको ५ नं. को कानूनी व्यवस्था समेतले आफूखुश गर्न पाउने ।
(प्रकरण नं.४)
§ आफूले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बकसपत्र पाउनेले भोगचलन नगरेको अवस्थामा मात्र मुलुकी ऐन, दान बकसको ५ नं. को कानूनी व्यवस्था आकर्षित हुने ।
§ जग्गामा रहेको घरको सटर भाडामा दिएको र विद्युत महसूल तिरेको संकेत कार्डबाट देखिएको हुँदा विवादित घर जग्गामा प्रत्यर्थीको भोग रहेको केवल दाखिल खारेज नामसारी हुनसम्म बाँकी रहेको अवस्थामा मुलुकी ऐन, जग्गा पजनीको २ नं. मा भएको कानूनी प्रावधानबमोजिम हदम्याद नाघिसकेको भन्न नमिल्ने ।
(प्रकरण नं.६)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय भोलाकुमार भट्टराई र बालकृष्ण नेउपाने
प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता बच्चुसिंह खड्का
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ अ.वं. १३९ नं.
§ जग्गा पजनीको २ नं.
§ दानबकसको ५ नं.
फैसला
न्या.तर्कराज भटृः पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
स्व. पिता रत्नदास प्रकाश र आमा प्राणमाया खड्गीबाट जायजन्म भएका तीन छोरा पाँच छोरीहरूमा सबैको विवाह भैसकेको छ । म फिरादी रश्मीदेवीको अन्तरजातीय विवाह भै मेरा पति रणबहादुर बमसँग वैमनश्यता भै म फिरादी माइती कै संरक्षकत्वमा रही बालबच्चा पालनपोषण गरी बसी आएकी थिएँ । स्वर्गीय आमा जीवितै अवस्थामा रहँदाखेरी आमाले मिति २०५२।२।१ मा म फिरादीलाई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ को कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ जग्गा र सो जग्गामा बनेको तीनतले घरमध्ये जमिन तल्ला र पहिलो तल्लाको जम्मा ४ भाग गरी सोमध्ये २ भाग घर जग्गा शेषपछिको बकसपत्र गरिदिएकोमा म फिरादीको नाउँ समेत समावेश गरी दा.खा. दर्ता गर्नुपर्नेमा सो नगरी विपक्षी प्रतिवादी प्रेमदास प्रकाशले ३ भाइको नाउँमा मात्र दा.खा. गर्ने गरी गरेको मिति २०५७।११।८ को मालपोत कार्यालय काठमाडौंको निर्णय र सो निर्णयका आधारमा विपक्षी समेत ३ जनाको नाममा मात्र भएको नामसारी दर्ता बदर गरी उक्त घर जग्गामा मेरो नाउँमा भएको शेषपछिको बकसपत्र बमोजिम भोगचलनको घर जग्गाको हदसम्मको मेरो समेत नाममा दा.खा.नामसारी गरिदिनु भन्ने मालपोत कार्यालय काठमाडौंको नाउँमा पूर्जी समेत दिलाई पाऊँ भन्ने व्यहोराको फिराद दावी ।
कानूनले तोकिदिएको नाताको मानिसले संरक्षक नबसी उनाउले सनाखत र संरक्षक भई पास गरिएको शेषपछिको बकसपत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भनी सिद्धान्त समेत प्रतिपादन भएको छ । विपक्षीले शेषपछिको बकसपत्र पास गर्दा धोका छली कार्य गरी कीर्ते जालसाजी गरेको हुँदा शेषपछिको बकसपत्र बदरभागी छ । विपक्षीले कुन घर पास गरी लिनु भएको हो आजसम्म देखाउन सक्नु भएको छैन । आमाले गरी दिएको शेषपछिको बकसपत्र लिखतको आधारमा विपक्षीले दाखेल खारेज नामसारी गराउन नसक्नु भएको प्रष्ट छ । पछि म समेत ३ भाईका नाउँमा कि.नं. २६२ को घर जग्गा नामसारी भैसकेपछि विपक्षीले मालपोत कार्यालयमा निवेदन दिई निर्मलरत्नले कि.नं. २६२ को घर जग्गा शेषपछिको बकसपत्र पाउने रश्मीदेवीका नाउँमा दा.खा. नामसारी गरी दिई म समेतको नाउँ कट्टा गरेमा मेरो मञ्जूर छ भनी सनाखत गरेका छन् । यसबाट यो देखिन्छ कि दुवै जनाले अंश मुद्दामा तायदातीमा पेश गरेको सम्पत्ति जानी जानी दवाई छिपाई खाने कुनियतले गर्दा दपोट कार्यमा दुवै संलग्न भएका हुन् । आमाको परलोक भएपछि मिति २०५७।११।८ मा तीन दाजुभाइका नाममा नामसारी भएको हो । आमा प्राणमायाले जीवितै अवस्थामा दिएको र.नं. १११५६ को शेषपछिको बकसपत्र लिखतबमोजिम नामसारी भई कायम भएका निर्मलरत्न प्रकाशले मञ्जूरी समेतको आधारमा शेषपछिको बकसपत्र लिखतबमोजिम हक हिस्सा मिति २०५८।४।३ को अनुरूप जनिएकोमा निजले उक्त व्यहोरा कट्टा गरिपाऊँ भनी माग गरेको देखिँदा उक्त स्रेस्तासँग सम्बन्धित सबै जनालाई बुझी अग्रीम कारवाही हुनुपर्ने देखिँदा पेश गरेको छु । तसर्थ हालसम्म विपक्षी रश्मीदेवीले शेषपछिको बकसपत्रबाट हक कायम गर्न सकेको अवस्था छैन । हालसम्म दा.खा. नामसारी नभई निष्क्रिय रहेको शेषपछिको बकसपत्रबाट हक कायम गर्न कानूनतः मिल्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर ।
अ.वं. १३९ नं. बमोजिम बुझिएका प्रेमपुष्प प्रकाशले म्यादै गुजारी बसेको ।
अ.वं. १३९ नं. बमोजिम बुझिएका निर्मलरत्न प्रकाशले कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ घर जग्गाको जमिन तल्ला र पहिलो तल्लाको हिस्सामा ४ भागको २ भाग घर सहितको घर जग्गा दिदी रश्मीदेवीले आमा प्राणमायाको खुशीराजी र हामी अंशियारको सहमतिले शेषपछिको बकसपत्र पाई भोगचलन गरी आई रहनुभएको छ । मालपोत कार्यालय काठमाडौंको मिति २०२७।११।८ को निर्णय बदर गरी दिदी रश्मीदेवीका नाउँमा दा.खा. दर्ता भएमा मेरो मञ्जूर छ भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएका निर्मलरत्न प्रकाशको बयान ।
वादी रश्मीदेवीले शेषपछिको बकसपत्र गरी लिएको कुरा उल्लेख नै नगरी प्रतिवादीहरू प्रेमदास प्रकाश समेतका नाउँमा संयुक्त दर्ता हुने गरी भएको मिति २०५७।११।८ को मालपोत कार्यालय, काठमाडौंको निर्णयमा वादी रश्मीदेवीको नाउँमा दर्ता कायम हुने कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ मध्ये चार खण्डको २ खण्ड कट्टा गरी बाँकी जग्गा मात्र निजहरूको नाउँमा दर्ता हुनुपर्नेमा पूरै जग्गा दर्ता हुने निर्णय भएकोले उक्त कि.नं. २६२ को जग्गाको ४ खण्डको २ खण्ड जग्गा दर्ता बदर हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको फैसला ।
शेषपछिको बकसपत्रबाट हक भएको भनी स्रोत देखाएको तर दान बकसको ५ नं. को हदम्यादभित्र प्रस्तुत फिराद नपरेको, फिरादमा जग्गा पजनीको १७ नं. तथा जग्गा मिच्नेको १८ नं. भनी दायर गरेको, मुद्दा पर्दापर्दै हक नै नपुगेको अवस्थामा शेषपछिको बकसपत्र लिएको अर्थात् वादीको हक स्थापना गर्ने हदम्याद नाघी लिखत नै निष्क्रिय भैसकेको अवस्थामा फिराद खारेज गर्नुपर्नेमा कानूनविपरीत फैसला गरेको शुरु फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
वादी रश्मीदेवी वमले मिति २०५२।२।१ मा र.नं. १११५६ बाट प्राप्त गरेको शेषपछिको बकसपत्रको लिखत बदर गरिपाऊँ भनी कसैको उजूर नपरी सो लिखत यथावत कायम रहेको देखिन्छ । शेषपछिको बकसपत्र लिखत गरी दिने प्राणमायाले कि.नं. २६२ को घर जग्गा २०१८ सालमा स्व. रत्नदास प्रकाशले निज प्राणमायाको दाइजो पेवाको रकम रु.५,०००।– मासेबापत निजले आफूखुशी गर्न पाउने गरी लिखत गरी दिएको र यिनै पुनरावेदक प्रेमदास प्रकाश उक्त लिखतमा अन्तर साक्षी बसी काठमाडौं रजिष्ट्रेशन अड्डाबाट मिति २०१८।४।१२ मा लिखत पारित भएको देखिन्छ । यसरी वादीका दाता प्राणमायाले दाइजो पेवाबाट प्राप्त गरेको विवादित घर जग्गा स्त्री अंशधनको ५ नं. ले आफूखुश गर्न पाउने सम्पत्ति देखिन आयो । मालपोत कार्यालयबाट मिति २०५७।११।८ को निर्णयले यी पुनरावेदक तथा अन्य प्रतिवादी प्रेमपुष्प प्रकाश र निर्मलरत्न प्रकाश समेत ३ जनाका नाउँमा संयुक्त नामसारी दर्ता भएकोमा सोही जग्गाका अन्य संयुक्त दर्तावाला दुई जना भाइहरूले उक्त जग्गा शेषपछिको बकसपत्र बमोजिम रश्मीदेवीको हो, निजको फिराद दावीबमोजिम भएमा मञ्जूर छ भनी बयान समेत गरेको देखिएको अवस्थामा वादी दावीबमोजिम शेषपछिको बकसपत्र बमोजिमको कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ को चार खण्डको २ खण्ड सम्मको मिति २०५७।११।८ को मालपोत कार्यालयको निर्णय बदर भै वादीका नाउँमा दर्ता हुने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६३।५।२७ को फैसला ।
कि.नं. २६२ को घर जग्गा म पुनरावेदक समेतका नाउँमा नामसारी भई गएको व्यहोरा मिति २०५८।३।२१ मा नै विपक्षीले थाहा जानकारी पाइसक्नु भएको थियो । यसरी नामसारी दर्ता भई गएको थाहा पाएपछि विपक्षीको आफ्नो हक पुग्ने भए अ.वं. ८६ नं. बमोजिम सो निर्णय बदर गराउन थाहा पाएको मितिले ३५ दिनभित्रमा नालिस गरिसक्नु पर्नेमा हदम्याद नघाई फिराद परेको छ । फिरादमा दावी लिएको स्रोत शेषपछिको बकसपत्र भएकोले उक्त बकसपत्र दाता प्राणमायाको मृत्यु मिति २०५५।११।२९ मा भएपछि सो मितिबाट २ वर्षभित्र दान बकसको ५ नं. बमोजिम विपक्षीले लिखतबमोजिमको घर जग्गा आफ्नो नाउँमा गराई लिनुपर्नेमा उक्त हदम्याद भित्र विपक्षीले आफ्नो नाउँमा गराई लिन सक्नु भएको छैन । प्रमाणमा नै लिन नहुने शेषपछिको बकसपत्रको लिखतलाई प्रमाणमा लिई गरेको फैसला त्रुटिपूर्ण छ । शेषपछिको बकसपत्र दिने दाताको मृत्यु भएको २ वर्षसम्म पनि शेषपछिको बकसपत्र लिनेले दाताको नामबाट दा.खा. गरी नलगेमा शेषपछिको बकसपत्रको पारित लिखतको अस्तित्व स्वतः निष्क्रिय हुन्छ । हदम्यादको आधारमा वादी दावी खारेज गर्नुपर्नेमा असान्दर्भिक दफा प्रयोग गरी मलाई हराउन मिल्ने होइन । प्रस्तुत विवादमा जग्गा पजनीको १७, जग्गा मिच्नेको १८ नं. को कानूनी व्यवस्था आकर्षित हुन सक्दैन । म्यादभित्र उजूर नगरी स्वतः निष्क्रिय भइसकेको शेषपछिको बकसपत्रको लिखतलाई आधार लिई अदालतसमक्ष फिराद गर्न पाउने हक नै विपक्षीलाई छैन । उक्त शेषपछिको बकसपत्रको लिखतलाई कानूनबमोमिज ग्रहण गर्न समेत नहुनेमा प्रमाणमा ग्रहण गरी फैसला भएकोले मलाई हराई काठमाडौं जिल्ला अदालतबाट भएको उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम बदरभागी छ । शेषपछिको बकसपत्रको लिखत नै निष्क्रिय भइसकेको अवस्था हुँदा शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटन ललितपुरको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको निवेदन पत्र ।
यसमा प्रतिवादीहरूको नाममा मिति २०५७।११।८ मा भएको नामसारी निर्णयउपर प्रस्तुत फिराद जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद लगाई मिति २०६१।१।१५ मा दायर भएकोमा दावीबमोजिम लिखत बदर हुने ठहरी फैसला भएको देखिन्छ । यी वादीले मिति २०५२।२।१ को शेषपछिको बकसपत्र पाएकोमा बकसपत्र दिने प्राणमाया मिति २०५५।११।२९ मा परलोक भएको कुरा फिरादपत्रको प्रकरण नं. (२) मा उल्लेख भएकोले सोही मितिबाट दानबकसको ५ नं. को २ वर्ष हदम्यादभित्र फिराद दायर नगरेकोले पुनरावेदन अदालतको फैसलामा दानबकसको ५ नं. र जग्गा पजनीको २(क) नं. तथा लाग्नै नसक्ने ऐन लगाएको जग्गा मिच्नेको १८ नं. तथा जग्गा पजनीको १७ नं. समेतको व्याख्यात्मक त्रुटि विद्यमान रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा
१२(१)(क) अनुसार दोहोर्याई हेर्न निस्सा प्रदान गरिएको छ । पुनरावेदन दर्ता गरी विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।११।१६ को आदेश ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री भोलाकुमार भट्टराई र श्री बालकृष्ण नेउपानेले कि.नं. २६२ को घर जग्गा पुनरावेदक समेतका नाउँमा नामसारी भएको व्यहोरा प्रत्यर्थीले मिति २०५८।३।२१ मा नै थाहा जानकारी पाएको हुँदा उक्त निर्णय बदर गराउन थाहा पाएको मितिले ३५ दिनभित्र नालिस गर्नुपर्नेमा हदम्याद नघाई फिराद दायर भएको छ । मुलुकी ऐन, दानबकसको ५ नं. मा बकस दिनेको मृत्यु भएको २ वर्ष भित्र नामसारी गर्नुपर्ने कानूनी प्रावधान रहेकोमा शेषपछिको बकसपत्र दिने प्राणमाया खड्गीको मिति २०५५।११।२९ मा मृत्यु भएपछि करिब तीन वर्ष पछि प्रत्यर्थी दाखिल खारेजको लागि अड्डामा आएको अवस्था हुँदा हदम्याद नघाई दाखिल खारेजको माग गरेको प्रष्ट हुन्छ । शेषपछिको बकसपत्र दिने दाताको मृत्यु भएको दुई वर्षसम्म पनि शेषपछिको बकसपत्र लिनेले दाताको नामबाट दाखिल खारेज गरी नलगेमा शेषपछिको बकसपत्रको लिखतको अस्तित्व समाप्त हुने हुँदा शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले मालपोत कार्यालयले हक बेहकको लागि अदालत जानु भनी सुनाएका आधारमा मेरो पक्ष अदालत प्रवेश गरेको हो । बकसपत्र प्राप्त गरेको घर जग्गा मेरो पक्षले कबुलियत गरी बहालमा दिएको तथा विद्युत र खानेपानी समेत मेरो पक्षको नाउँमा जडान भएको हुँदा शेषपछिको बकसपत्र प्राप्त गरेको जग्गा भोगचलन गरिरहेको भन्ने तथ्य पुष्टि हुन्छ । पुनरावेदकले लगाउको अंश मुद्दामा पेश गरेको तायदाती फाँटवारीमा समेत मेरो पक्षले शेषपछिको बकसपत्र पाएको भूईतल्ला र पहिलो तल्ला आफ्नो नभएको भन्ने स्वीकार गरेको अवस्था छ । पुनरावेदन अदालत पाटनको मिति २०६०।८।१७ को फैसला कार्यान्वयनको सिलसिलामा मात्र मालपोत कार्यालयले मेरो पक्षलाई हक बेहकमा जान सुनाएको हो । पुनरावेदन अदालतको उक्त फैसलाबाट नै हदम्याद सम्बन्धी विषयको निरोपण भैसकेको छ भने सो फैसला अन्तिम भै रहेको छ । मुलुकी ऐन दानबकसको ५ नं. मा शेषपछिको बकसपत्र पाएको जग्गा दुई वर्षभित्र भोगचलन गरेको हुनुपर्ने भन्ने कानूनी व्यवस्था रहेको र मेरो पक्षको भोगचलनलाई विपक्षीले खण्डन गर्न नसकेको हुँदा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको हुँदा सदर कायम हुनु पर्दछ भन्ने समेत प्रस्तुत गर्नुभएको बहस सुनियो ।
दुवै पक्षका तर्फबाट प्रस्तुत भएको उपरोक्तानुसारको बहस जिकीर समेत सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन, पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. आमा प्राणमाया खड्गीले मिति २०५२।२।१ मा मलाई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ स्थित कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ जग्गा र सो जग्गामा बनेको तीनतले घरमध्ये जमिन तल्ला र पहिलो तल्लाको जम्मा ४ भाग गरी सोमध्ये २ भाग घर जग्गा शेषपछिको बकसपत्र गरी दिएकोमा आमाको मिति २०५५।११।२९ मा मृत्यु भएपछि उक्त घर जग्गामा मेरो नाउँ समेत समावेश गरी दाखिल खारेज दर्ता गर्नुपर्नेमा सो नगरी प्रेमदास प्रकाश, निर्मलरत्न प्रकाश र प्रेमपुष्प प्रकाश समेत तीन जनाको नाउँमा मात्र दाखिल खारेज गर्ने गरी गरेको मालपोत कार्यालय काठमाडौंको मिति २०५७।११।८ को निर्णय र सो निर्णयका आधारमा भएको नामसारी दर्ता बदर गरी उक्त घर जग्गामा मेरो नाउँमा भएको शेषपछिको बकसपत्र बमोजिम भोगचलनको घर जग्गाको हदसम्म मेरो नाममा दाखिल खारेज नामसारी गरिदिनु भन्ने मालपोत कार्यालय काठमाडौंको नाउँमा पूर्जी समेत दिलाई पाऊँ भन्ने मुख्य फिराद दावी तथा वादीले हालसम्म शेषपछिको बकसपत्रबाट हक कायम गर्न नसकी शेषपछिको बकसपत्र निष्क्रिय भएको हुँदा फिराद दावी खारेज गरिपाऊँ भन्ने समेत प्रतिउत्तर जिकीर रहेकोमा शुरु काठमाडौं जिल्ला अदालतबाट दावीको कि.न.२६२ को जग्गाको ४ खण्डको २ खण्ड जग्गा दर्ता बदर हुने गरी भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीको मुद्दा दोहोर्याई पाऊँ भनी यस अदालतमा निवेदन परेकोमा मुद्दा दोहोर्याई पाउने निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेश हुन आएको पाइयो ।
३. कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ जग्गा र सो जग्गामा बनेको पक्की घर तीन तल्ले मध्येबाट जमिन (भूर्इं) तल्ला र सो भन्दा माथिको पहिलो तल्ला समेत जम्मा दुई तल्ला घर र जग्गा चार खण्डको दुई खण्ड आमा प्राणमामा खड्गी (प्रकाश) ले प्रत्यर्थी वादी रश्मीदेवी बमलाई शेषपछिको बकसपत्र गरी दिएको भन्ने मिसिल संलग्न मालपोत कार्यालय काठमाडौंबाट पारित र.नं.१११५६ मिति २०५२।२।१ को शेषपछिको बकसपत्रको छायाँप्रतिबाट देखिन्छ । शेषपछिको बकसपत्र गरिदिने प्राणमाण खड्गी (प्रकाश) को मिति २०५५।११।२९ मा मृत्यु भएपछि पुनरावेदक प्रतिवादी प्रेमदास प्रकाशले मालपोत कार्यालय, काठमाडौंमा निवेदन दिई प्राणमायाको हक खाने तीनजना छोराहरू मात्र हो भनी दिएको निवेदनअनुसार प्रेमदास, निर्मलरत्न र प्रेमपुष्पको नाममा संयुक्त दर्ता नामसारी हुने गरी मिति २०५७।११।८ मा मालपोत कार्यालय काठमाडौंबाट निर्णय भएकोमा प्रत्यर्थी वादी रश्मीदेवीले उक्त घर जग्गामा शेष पछिको बकसपत्र अनुसार आफ्नो समेत हक रहेको भनी दावी गरेपछि उक्त शेष पछिको बकसपत्रबाट रश्मीदेवी समेतको के कति हक हिस्सा रहने हो भन्ने सम्बन्धमा प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने अवस्था हुँदा सम्बन्धित अदालतमा जान सुनाई दिनुपर्नेमा हकवाला समेतलाई नझिकाई आफैले गरेको पूर्व निर्णयप्रतिकूल हुने गरी मालपोत कार्यालयबाट भएको मिति २०५८।४।३ को निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत हुँदा बदर गरी दिएको छ, हक बेहक सम्बन्धमा अदालतमा जान सुनाई दिने भनी मिति २०६०।८।१७ मा पुनरावेदन अदालत पाटनबाट फैसला भै सोही फैसलाको आधारमा काठमाडौं जिल्ला अदालतमा प्रस्तुत मुद्दा दायर भएको देखिन्छ । मालपोत कार्यालय, काठमाडौंको पहिलो निर्णयबाट दावीको घर जग्गा प्रेमदास प्रकाश, निर्मलरत्न प्रकाश र प्रेमपुष्प प्रकाश गरी तीन जनाको नाममा संयुक्त दर्ता गर्ने निर्णय भएकोमा प्रत्यर्थी रश्मीदेवी बमको निवेदन परेपछि ३ भाई छोराहरू र छोरी रश्मीदेवी समेतको नाममा दावीको उक्त जग्गा दर्ता हुन गएको भन्ने मिसिल संलग्न जग्गाधनी स्रेस्ताको प्रतिलिपिबाट देखिन्छ ।
४. प्राणमाया खड्गी (प्रकाश)ले प्रत्यर्थी रश्मीदेवी बमलाई दावीको घर जग्गा शेषपछिको बकसपत्र गरी दिएको र.नं. १११५६ मिति २०५२।२।१ को लिखत बदर नभई उक्त लिखत हालसम्म कायम नै रहेको देखिन्छ । उक्त शेषपछिको बकसपत्रमा उल्लिखित कि.नं. २६२ को जग्गा दाता प्राणमाया कै नाममा रहेको भन्ने मिसिल संलग्न दर्ता उतारबाट देखिन्छ । रत्नदास प्रकाशले प्राणमायाको दाइजो पेवाको रकम रु.५,०००।– मासेबापत उक्त जग्गामा रहेको घर समेत आफूखुशी गर्न पाउने गरी मिति २०१८।४।१२ मा काठमाडौं रजिष्ट्रेशन अड्डाबाट छोडपत्र लिखत पारित गरिदिएको र सो लिखतमा यी पुनरावेदक प्रेमदास प्रकाश समेत अन्तर साक्षी रहेको मिसिल संलग्न लिखतको छायाँप्रतिबाट देखिन्छ । उक्त कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ जग्गामा बनेको घरमध्येबाट नै छोरी रश्मीदेवी बमलाई शेषपछिको बकसपत्र गरिदिएको देखिँदा त्यस्तो दाइजो पेवाबाट प्राप्त गरेको सम्पत्ति मुलुकी ऐन स्त्री अंशधनको ५ नं. को कानूनी व्यवस्था समेतले आफूखुश गर्न पाउने अवस्थाको देखिन आयो ।
५. पुनरावेदकका भाई निर्मलरत्न प्रकाशलाई शुरु काठमाडौं जिल्ला अदालतबाट अ.वं. १३९ नं. बमोजिम झिकाई बुझ्दा आमा प्राणमायाबाट शेषपछिको बकसपत्र गरी लिने दिदी रश्मीदेवीले शेषपछिको बकसपत्र लिखतमा उल्लेख भएअनुसार नै घर जग्गा पाउनु पर्छ भनी बयान गरेको पाइन्छ भने यिनै पुनरावेदकले दिएको लगाउको अंश चलन मुद्दामा मिति २०५९।९।२४ मा काठमाडौं जिल्ला अदालतमा आफैले पेश गरेको तायदाती फाँटवारीमा कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ जग्गामा बनेको घर जग्गा दोस्रो र तेस्रो तल्ला भन्ने उल्लेख भएबाट दोस्रो र तेस्रो तल्लामा मात्र बण्डा लाग्नुपर्ने भनी माग गरेको देखिँदा प्रत्यर्थी वादीले शेषपछिको बकसपत्रबाट पाएको घर जग्गा प्रत्यर्थी वादीकै हो भन्ने तथ्यलाई स्वीकार गरेको देखिन आयो ।
६. अब, दाता प्राणमायाको मिति २०५५।११।२९ मा मृत्यु भएपछि सो मितिबाट २ वर्षभित्र दानबकसको ५ नं. बमोजिम लिखत बमोजिमको घरजग्गा आफ्नो नाउँमा गराई लिनु पर्नेमा सो अवधिभित्र दाखिल खारेज गरी लिन नसकेको हुँदा लिखतको अस्तित्व नै समाप्त भैसकेको छ भन्ने पुनरावेदन जिकीर सम्बन्धमा विचार गर्दा आफूले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बकसपत्र पाउनेले भोगचलन नगरेको अवस्थामा मात्र मुलुकी ऐन दान बकसको ५ नं. को कानूनी व्यवस्था आकर्षित हुने हुन्छ । प्रत्यर्थी रश्मीदेवी बमले कि.नं. २६२ को जग्गामा रहेको घरको सटर भाडामा दिएको भन्ने मिसिल संलग्न घर भाडा सम्झौताबाट देखिनुको साथै विद्युत समेत निज प्रत्यर्थीकै नाममा जडान भएको भन्ने मिसिल संलग्न विद्युत महसूल तिरेको संकेत कार्डको फोटोकपीबाट देखिएको हुँदा विवादित घर जग्गामा प्रत्यर्थी रश्मीदेवी वमको भोग रहेको केवल दाखिल खारेज नामसारी हुनसम्म बाँकी रहेको भन्ने देखिन आयो । मुलुकी ऐन, जग्गा पजनीको २ नं. मा “आफ्ना हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको र दर्तावाला मरी हकवालाको नाममा सर्नेमा समेत पैतीस दिनभित्र दाखिल दर्ता नगराई म्याद गुजारी बसेकोमा पछि दाखिल दर्ता गराउन दरखास्त दिएमा जतिसुकै अवधि व्यतीत भए पनि दश रुपैयाँ दस्तूर लिई नामसारी दाखिल खारेज गरिदिनु पर्छ । यो ऐन लागू हुनु भन्दा पहिले जग्गाको नामसारी दाखिल खारेज गर्ने म्याद गुज्रेका कलमहरूमा समेत सो बमोजिम दस्तूर लिई नाउँसारी दाखिल खारेज गरिदिनु पर्छ” भन्ने कानूनी प्रावधान भएको हुँदा हदम्याद नाघिसकेको भन्ने पुनरावेदन जिकीर समेत कानूनसंगत देखिएन ।
७. अतः माथि विवेचना गरिएका आधार कारण र प्रमाणबाट वादी दावीबमोजिम शेषपछिको बकसपत्र बमोजिमको कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ को चार खण्डको दुई खण्डसम्मको मिति २०५७।११।८ को मालपोत कार्यालय, काठमाडौंको निर्णय बदर भै वादीका नाउँमा दर्ता हुने गरी भएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६८ साल कात्तिक २३ गते रोज ४ शुभम्
इजलास अधिकृत : कृष्णप्रसाद पौडेल