निर्णय नं. ६४८१ - लेनदेन
निर्णय नं. ६४८१ ने.का.प. २०५४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५२ सालको दे.पू.नं. ... २७९१
फैसला मितिः २०५४।४।१६।२
मुद्दाः लेनदेन ।
पुनरावेदक/प्रतिवादीः जिल्ला कपिलवस्तु गाउँ विकास समिति गौरी वडा नं. ८ वस्ने पंचम चमार समेत जम्मा २ ।
विरुद्ध
विपक्षी/वादीः जिल्ला कपिलवस्तु गाउँ विकास समिति रंगपुर वडा नं. ३ वस्ने छोटे चमार ।
§ मुख्य जानकार भएको अभावमा त्यस्तो व्यक्तिले लिएको ऋणको दायित्व अरु अंशियारमा पर्न नसक्ने हुँदा घरको मुख्य जानकार नरहेकी पार्वती चमारनीले गरी दिएको लिखत वमोजिमको सांवा व्याज निज पार्वतीबाट मात्र भरी पाउने ठहर गर्नु पर्नेमा अरु अंशियार प्रतिवादीबाट समेत भराउने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला गल्ती भई केहि उल्टी हुन्छ । वादीले लिखत वमोजिमको सांवा व्याज प्रतिवादीहरु गुरु प्रसाद चमार र पंचम चमार समेतबाट भराई पाउने नभई पार्वती चमारनीबाट मात्र भराइ पाउने ।
(प्र.नं. १५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री जयकान्त लाल
विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस
अवलम्वित नजिरः x
फैसला
न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत बूटवलबाट मिति २०५१।१०।१७ मा भएको फैसला उपर पर्न आएको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :-
२. प्रतिवादी पार्वती चमारनीले रु.१००५१। कर्जा लिई मिति २०३७।१।१ गते कपाली तमसुक गरिदिएकी र सो को सांवा व्याज समेत पार्वतीसंग माग्दा निजले गुरु प्रसाद पंचम समेतले गरि कर्जा तिर्नुपर्छ भनेकी हुँदा पंचम समेतबाट सो कर्जा माग्दा इन्कार गरेकोले सवै अंशियारबाट सांवा व्याज भराइपाउँ भन्ने फिराद पत्र ।
३. पार्वती चमारनीले आफ्नै साखै भाइबाट ऋण लिएको भनी देखाइ हामीसमेत उपर झूठ्ठा मुद्दा दिएको हो हामीले कुनै ऋण लिएको छैन वादीले भने देखाएको तमसुक लिखत के कसो हो ? सक्कल तमसुक देख्न सुन्न पाउँ वादीको झूठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी पंचम र गुरु प्रसाद चमार समेतको संयुक्त प्रतिउत्तर पत्र ।
४. मैले कर्जा दिन पुर्याउन इन्कार गरेको होइन सो सबै अंशियारले तिर्नु बुझाउनुपर्ने हो भन्ने प्रतिवादी पार्वतिको प्रतिउत्तर पत्र ।
५. वादीका साक्षी र प्रतिवादी पार्वतीका साक्षीले २०३७।१।१ गते छोटे चमारसंग प्रतिवादी पार्वतीले रु.१००५१।- ऋण लिएको हुन् भन्ने वकपत्र र प्रतिवादीहरु आफ्नै घरमा थिए छोटे र पार्वती मिलि जाली तमसुक बनाएका हुन भन्ने प्रतिवादी गुरु प्रसाद चमारको साक्षीको वकपत्र ।
६. वादी दावीको रुपैया लिई लिखत गरिदिएको सद्दे सांचो देखिन आएकोले सावां रु.१००५१।- र लिखत मितिदेखि विगो भरि भराउका मितिसम्मको ऐन बमोजिम सयकडा दशका दरले हुने व्याज समेत वादीले सवै प्रतिवादीबाट वरावरीका दरले भराइ लिन पाउने ठहर्छ भनी कपिलवस्तु जिल्ला अदालतले मिति २०४८।३।३२ मा गरेको फैसला ।
७. प्रतिवादी पार्वतीले अंश दिन इन्कार गरि निज समेत उपर अंश मुद्दा चली क्षेत्रीय अदालतबाट निज हारेपछि निज पार्वतीले आफ्नो साखै भाइलाई धनी र आफु ऋणी देखाई हामीलाई थाहा नै नदिई हाम्रो मन्जूरी विना रु. १००५१।- को जालसाजी तमसुक वनाई झूठ्ठा लेनदेन गरेको भन्ने पुनरावेदक पंचम र गुरु प्रसाद चमारको पुनरावेदन पत्र ।
८. यसमा संगोलमा लगाइएको ऋण संगोलबाटै तिर्नु बुझाउनु पर्ने हुँदा लिखतलाई जालसाजी नठहर्याई वादी दावी बमोजिम प्रतिवादीहरुबाट सांवा व्याज भराई लिन पाउने ठहर्याएको कपिलवस्तु जिल्ला अदालतको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलबाट मिति २०५०।१०।१७ मा भएको फैसला ।
९. उक्त फैसलामा चित्त बूझेन विपक्षीले ऋणी भनी देखाएको पार्वती चमारनीको पति छोटेलालको मृत्यु २०३८।४।२८ गतेमा भएको र निज छोटे चमार जिवित रहदासम्म मुख्य भइ कार्य गर्दै आएका हुन । घरको मुख्य व्यावहारकर्तावाला छोटे चमार जिवित रहंदा कै अवस्थामा मिति २०३७।१।१ को छोटे चमारकी श्रीमती पार्वतीले कुनै संगोलको ऋण लिने हकदैया नै नभएको र सो कथित ऋण लेनदेन व्यवहारको ८ नं.ले सगोलले तिर्न नपर्ने हुँदा हामी निवेदकलाई समेत तिर्ने गरि गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, वुटवलको फैसला त्रुटिपूर्ण हुदा वदर गरि न्याय दिलाइ पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
१०. यसमा मिति २०३७।१।१ मा वादीसंग प्रतिवादी पार्वती चमारनीले कर्जा लिएको देखिन्छ जसले कर्जा लिएको छ उस उपर नालेश हुनु पर्नेमा कर्जा तमशूकमा ऋणी नदेखिने पंचम चमार र गुरु प्रसाद उपर नालेश दिइ त्यस्तो ऋण भराउने गरेको पुनरावेदन अदालत वुटवलको फैसलामा न्याय प्रसाशन ऐन, २०४८ को दफा १२(१) देहाए (ख) को त्रुटि देखिदा दोहोर्याइ हेर्ने निस्सा प्रदान गरिएको छ विपक्षीलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०५२।६।२६ गतेको संयुक्त इजलासको आदेश ।
११. नियम बमोजिम दैनिक पेशि सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट विद्वान अधिवक्ता श्री जयकान्त लालले घरको मुख्य भइ व्यवहार चलाउने व्यक्ति पति छेदी चमार जिवित रहेकै अवस्थामा पत्नि पार्वती चमारले लिएको कर्जा सबै अंशियारले तिर्नु बुझाउनु पर्दैन । साथै घरको मुख्य मानीसले गरेको वा एकाघरका उमेर पुगेका अरुले गरेको लिखतमा मुख्य जानकार कै पनि सहिछाप हुनुपर्नेमा पार्वती चमारले आफ्नो भाइ छोटे चमारसंग लिएको उक्त कर्जाको लिखतमा कसैको पनि सहिछाप परेको छैन । तसर्थ उक्त कर्जाको लिखतबाट मेरो पक्षहरुले रकम तिर्नु बुझाउनु नपर्ने हुँदा मेरो पक्षहरुबाट भराउने गरि गरेको शुरुको फैसला र सो लाई सदर गर्ने गरेको पुनरावेदन अदालत बूटवलको फैसला लेनदेन व्यवहारको ८ र ९ नं. को विपरित भएकोले वदर गरि मेरो पक्षलाई न्याय दिलाइ पाउँ भन्ने र विपक्षीका तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री शिवानन्ददास सरसले मेरो पक्ष पार्वती घरको मुख्य मानीस हो भन्ने कुराको पुष्टि स्वयं यी विपक्षीहरुले अंश मुद्दामा नै मुख्य भनी उल्लेख गरि सोहि आधारमा अंश लिएबाट हुन्छ अंश मुद्दामा २०४३ सालमा तायदाती दिदा मेरो पक्षले उक्त कर्जा पनि उल्लेख गरेको छ । २०४४ सालमा अंश पाउने ठहरे पनि उक्त कर्जाको लिखत २०४३ सालमा थाहा पाएपछि जालसाज हो भने जालसाजीको १८ नं. ले जालसाजी कायम गरि पाउँ भनी उजुर गर्नु पर्नेमा विपक्षीहरुले सो गर्न सकेको छैनन् । तसर्थ पार्वती चमारले छोटे चमारसंग लिएको उक्त कर्जाको रकम विपक्षीहरुबाट समेत भराउने गरेको शुरु इन्साफ र सो सदर गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासिव हुँदा सदर गरि पाउँ भन्ने समेत व्यहोराको वहस गर्नु भयो ।
१२. विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस जिकीर सुनी प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरि निर्णय तर्फ विचार गर्दा यसमा शुरु इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।
१३. यसमा विपक्षी पार्वती चमारनीले २०३७।१।१ मा कपाली तमसुक गरि लिएको कर्जाको सावां व्याज निज पार्वतीसंग माग्दा निजले र गुरु प्रसाद पंचम समेतले कर्जा तिर्नुपर्छ भनेकी हुँदा पंचम समेतबाट सो कर्जा माग्दा इन्कार गरेकोले सबै अंशियारबाट सांवा व्याज भराइपाउँ भन्ने वादी र पार्वती चमारनीले आफ्नै साखै भाईबाट ऋण लिएको भनी देखाइ हामी समेत उपर झूठ्ठा मुद्दा दिएको हो हामीले कुनै ऋण लिएको छैन वादीको झूठ्ठा फिरादीबाट फुर्सद पाउँ भन्ने गुरु प्रसाद समेतको प्रतिउत्तर भइ विवाद परेको देखिन्छ । प्रस्तुत भएको लिखत छोटेलाल र पार्वती चमारनीका वीच साहु असामी बनी २०३७।१।१ मा लिखत भएको देखिन्छ । लिखत हुँदाका अवस्थामा पार्वती चमारनीको पति छेदे चमार जिवित रहेको देखिन्छ । निजको पति छेदे चमारको मृत्यु मिति २०३८।४।२८ मा भएको मृत्यु दर्ताको प्रमाणपत्रबाट देखिन आउँछ । पति जिवित रहेको अवस्थामा भएको लिखत पार्वतीले मुख्यको हैसियतले गरेको भन्ने कुनै प्रमाण देखिन आएको छैन । लेनदेन व्यवहारको ८ नं. ले मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेकोमा मुख्य जानकारको पनि सहिछाप वा लिखत भएको व्यवहार मात्र गोश्वारा धनबाट चल्छ भन्ने व्यवस्था गरेको पाइन्छ । लिखित गरिदिने निज पार्वती चमारनी मुख्य पनि नदेखिएको र मुख्यको हैसियतले पनि व्यवहार गरेको प्रमाणित नरहेको अवस्थामा घरको मुख्य जानकार पार्वतीका पति छेदेलालको सहिछाप वा लिखत भएको नदेखिंएको साथै एकाघरका उमेर पुगेका अरु व्यक्तिको सहीछाप वा मन्जूरी समेत नरहेका यस्तो ऋण अन्य अंशियारहरुले बेहोर्नुपर्ने नदेखिदा गोश्वारा धनबाट बेहोर्नुपर्ने अवस्थाको ऋण देखिन आएन । मुख्य भई कामकाज गरेको भन्ने प्रमाणित नदेखिएपछि लोग्ने जिवित रहेको अवस्थाकी पार्वती चमारनीले लिएपाएको ऋण निजै पार्वतीले तिर्नु वुझाउनु पर्ने हुन्छ ।
१४. मिति २०३७।१।१ मा भएको सो लिखत पार्वतीको नाममा भएको छ र अन्य प्रतिवादीहरु गुरु प्रसाद चमार र पंचम चमार सो लिखतमा साक्षी छैनन् उक्त लिखत बमोजिमको ऋण लिएकोमा पार्वती सावीत रहेकी छिन गुरु प्रसाद र पंचम चमार समेत सो लिखतमा ऋणी देखिएका छैनन् । निजहरुले सो लिखतलाई जालसाजी भनेपनि निजहरुको हकमा सो लिखतको दायित्व नपर्ने हुनाले जालसाजी तर्फ वयान गराइ जालसाजी तर्फ विचार गरिरहनु परेन ।
१५. अतः मुख्य जानकार भएको अभावमा त्यस्तो व्यक्तिले लिएको ऋणको दायित्व अरु अंशियारमा पर्न नसक्ने हुँदा घरको मुख्य जानकार नरहेकी पार्वती चमारनीले गरी दिएको लिखत वमोजिमको सांवा व्याज निज पार्वतीबाट मात्र भरी पाउने ठहर गर्नु पर्नेमा अरु अंशियार प्रतिवादीबाट समेत भराउने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला गल्ती भई केहि उल्टी हुन्छ । वादीले लिखत वमोजिमको सांवा व्याज प्रतिवादीहरु गुरु प्रसाद चमार र पंचम चमार समेतबाट भराई पाउने नभई पार्वती चमारनीबाट मात्र भराइ पाउने
ठहर्छ । अरु तपसिल वमोजीम गर्नु ।
तपसिल
माथी इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिमको ऋणको सांवा व्याज प्रतिवादीहरु पंचम चमार र गुरु प्रसाद चमार समेतबाट भरी पाउने नभइ पार्वती चमारनीबाट मात्र भरी पाउने ठहरेकोले निज प्रतिवादीहरु पंचम चमार र गुरु प्रसाद चमार समेतले तत्कालिन गण्डकि अंचल अदालतमा पुनरावेदन गर्दा वादीले भराइ पाउने कोर्ट फि रु.५३९। धरौटी राखेको देखिदा उक्त धरौटी राखेको रकम फिर्ता पाउ भनी ऐनका म्यादभित्र प्रतिवादीहरुको निवेदन परे कुनै दस्तुर नलिइ फिर्ता दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु .. १
माथी इन्साफ बमोजिम हुने ठहरेकोले प्रतिवादीहरुले तत्कालीन गण्डकी अंचल अदालतमा पुनरावेदन गर्दा राखेको थप कोर्ट फि रु.१२१। र यस अदालतमा राखेको कोर्ट फि रु.१२१। समेत जम्मा रु.२४२। वादीबाट भराइ पाउँ भनी कानूनका म्यादभित्र दरखास्त दिए कानून बमोजिम भराइदिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु .. २
मिसिल नियमानुसार गरि बुझाइदिनु ..... ३
उक्त रायमा मेरो सहमति छ ।
न्या. अरविन्दनाथ आचार्य
इति सम्वत् २०५४ साल साउन १६ गते रोज २ शुभम् .......... ।