निर्णय नं. ६४८५ - कर्तव्य ज्यान
निर्णय नं. ६४८५ ०५४, ने.का.प अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
संवत् २०५३ सालको फौ.पू.नं. ... १५६८
फैसला मिति : २०५४।७।१३।४
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः ग.अ. लमजुङ जिल्ला चण्डीस्थान गा.वि.स. वडा नं. ६ वस्ने टेक बहादुर रिमाल
बिरुद्ध
विपक्षी /वादी : धन बहादुरको जाहेरीले श्री ५ को सरकार
§ मृतकसंग प्रतिवादीको ज्यान मार्नु पर्ने सम्मको रिसईवी भए रहेको समेत मिसिल प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीले मृतकसंग संगै वेशीशहर गई संगै रक्सी खाएको कुरालाई अदालतको वयानमा समेत स्वीकार गरेको देखिन्छ । निज प्रतिवादीले मृतकलाई ढुंगाले पछाडी घुच्चुक्मा हानेको त्यसपछि मृतकसंग लडामारी भई धकेली दिंदा भीरवाट लडी मरेको भनी प्रहरी समक्ष वयान गरेको, टाउको पछाडी घाउ भएको लाश जांच मुचुल्काबाट निजहरु वीच धकेला धकेल भएको समेत पुष्टी भएको देखिन आउँछ । रक्सीको नशामा लडामारी भई धकेल्दा भीरवाट लडी मरेको अवस्था देखिंदा ज्यान सम्वन्धीको १३ नं. आकर्षित हुने अवस्था देखिन आएन । होस नपुर्याई वा हेलचक्रयाई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पांच सय रुपैयासम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै संजाय हुने ज्यान सम्वन्धीको ६(२) नं ले कानूनी व्यवस्था गरेको पाइन्छ । होस नपुर्याई लडामरी भई धकेला धकेल भई भीरबाट लडी तिलक बहादुरको मृत्यु भएको देखिन आएकोले निज तिलक बहादुर प्रतिवादीको क्रियाबाट भवितव्य परी मरेको ठहर्छ । मुलुकी ऐन, ज्यान सम्वन्धिको ६(२) नं. ले २ वर्ष कैदको सजाय हुन्छ । कर्तव्यबाट मरेको ठहर्याई ज्यान सम्वन्धीको १३(३) नं. ले सजाय हुने ठहर्याएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ समेत नमिली उल्टी हुने ।
(प्र.नं. २५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी
विद्वान अधिवक्ता श्री उज्वल राज मैनाली, विद्वान अधिवक्ता श्री अर्थ बहादुर हमाल
विपक्षी वादी तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता शरद कुमार खड्का
अवलम्वित नजीरः
फैसला
न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०५३।१।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ख) वमोजिम दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. मिति २०४९।८।२६ गते खाना खाई माहिलो छोरालाई फोन गर्न जान्छु भनि वावु तिलक बहादुर अधिकारी वेशीशहर तर्फ जानु भएकोमा घरमा आउनु भएन । भोलीपल्ट विहानै चनौटे जाने वाटोमा मृतक अवस्थामा छन् भन्ने सुनी आई हेर्दा मृत्यु भै सकेको रहेछ । मेरो वावुको मृत्यु के कुन परिवन्धबाट भएको हो ? अनुसन्धान गरी कानून वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको २०४९।८।२७ को धन बहादुर अधिकारीको शुरु जाहेरी दरखास्त ।
३. लाश देखि अन्दाजी २२ फिट उचाईमा मनाङ जाने वाटो देव्रे किनारा उक्त किनारादेखि २ मिटर ८ फिटमा लाश भन्ने समेत घण्डी स्थान गा.वि.स. वडा न. ९ को घटनास्थल प्रकृति ।
४. दक्षिण टाउको उत्तर खुट्टा दायां कोल्टे परी हातलाई शरीरले च्यापेको तिलक बहादुर अधिकारीको लाश दायां आंखा माथि दुई वटा घाउ आंखा वन्द नाक मुखबाट रगत निस्केको पछाडी मेरुदण्डमा र पाता समेत गरी ५ वटा घसारीएको दाग टाउको पछाडी १ इन्च गहिराई आधा इन्च गोलाइ भएको घाउ भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
५. टाउकोमा चोट लागेको कारणले अधिक रक्तश्राव भई मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको लमजुङ अस्पतालको शव परिक्षण प्रतिवेदन ।
६. मिति २०४९।८।२६ गते मेरो भाइले दार्चुलाबाट पठाएको पैसा लिन भनि मेरो वावु तिलक बहादुर अधिकारी वेशी शहर जानु भएको र पैसा नलिई आउनु भएछ, आउँदा चण्डीस्थान गा.वि.स. वडा नं. ६ वस्ने नेउटे भन्ने टेक बहादुर रिमालले कर्तव्य गरी मारेको भन्ने गाउँमा व्यापक हल्ला भएको सो सम्वन्धमा निज नेउटे भन्ने टेक बहादुर रिमाल उपर कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको धन बहादुर अधिकारीले ०४९।१०।१० मा दिएको जाहेरी दरखास्त रहेछ ।
७. चण्डीस्थान गा.वि.स. वडँ नं. ६ वस्ने नेउटे भन्ने टेक बहादुर रिमाललाई खोज तलास गरी उपस्थित गराएको छु भन्ने समेत व्यहोराको प्र.ह. दामोदर रानाभाटको प्रतिवेदन ।
८. तिलक बहादुर अधिकारीले खाएको हिसाव माग्दा नदिएकोले आश्विण महिनामा झगडा भएको थियो । ०४९।८।२६ गते वेशीशहर मुला वेच्न जान लाग्दा म पनि वेशी शहर जाने भनेकोले संगै वेशीशहर आयौं । तरकारी वेचेपछि तिलक बहादुर सोही ठाउँमा आई रक्सी खाने भनेकोले रक्सी खान लाग्यौं । मैले जाउँ भन्दा कहिले जान्छु कहिले जान्न भनेकोले म घर तर्फ जान हिडे । तिलक बहादुर पनि पछि पछि आउदैं थिए । वजार पुगी चन्द्र बहादुर माष्टरको दोकानमा सामान किन्दै रहेको अवस्था तिलक बहादुर निज माष्टरकै घर दोकान वाटोवाट म भन्दा अगाडि घर तर्फ जान लाग्यो । मैले सामान झोलामा हाली पछि लागे युवा खोला वगरमा पहिलाको हिसाव मिलाई दिनुहोस भन्दा हामीहरु वीच भनाभन धकेला धकेल शुरु भयो । सो अवस्थामा रिस उठी वगरको ढुंगा टिपी पछाडी घुचुक्कामा हाने निजले मलाई धकेली लडाई दिई हात खुट्टा टेक्दै उकालो वाटो माथि डिलमा पुगें म पनि पछि गै डिलमा लडामारी भै धकेली दिंदा भिरवाट लडे । तिलक बहादुर खसेको ठाउँमा आई हेर्दा छटपटाई रहेको थिए । उठाउन खोज्दा टाउको ढाले । अव यो मर्छ भनि म घर तर्फ लागे भन्ने समेत व्यहोराको नेउटे भन्ने टेक बहादुर रिमालले जिल्ला प्रहरी कार्यालय लमजुङमा गरेको वयान कागज पत्र ।
९. मिति २०४९।८।२६ गते दिउसो म र मेरो वुहारीले कोदो कुटेर सांझमा थन्काउन लागेको थियौं । ऐ. वस्ने झयाउरी भन्ने सूक माया रिमाल साझं आगोको अगूल्टो हल्लाउदैं आइन । कता जान लागेको भनी सोध्दा तिलक बहादुरले विहानै म भरे औषधी गरी दिन्छु । (फुकी दिन्छु) खाना वनाई राख भनेकाले खाना कुरी वसेको छु । यसवेला सम्म आएन । टेक बहादुर पनि तिलक बहादुर संग शहर गएका थिए रे टेक बहादुरलाई सोध्न जान पर्यो भनी जान लागेको भनेकी थिईन । भोलीपल्ट खान खाने वेला तिर सुकमाया कता गएर आएकी रहीछन । वाटोमा सुनेको, तिलक बहादुर भिरवाट लडेर मरे रे भनिन् । मैले सुनेको यति नै हो भन्ने समेत व्यहोराको नन्द कुमारी रिमालले जिल्ला प्रहरी कार्यालय लमजुङमा गरेको कागज ।
१०. टेक बहादुरलाई थाहा छ कि भनि सोध्न जांदा रेडियो वजाई वसेका रहेछन । तिलक बहादुर आएनन् भनि सोध्दा आउछन कि आउदैन के गर्दछन भनि निजले भने भोलीपल्ट तिलक बहादुर चनौटे भिर मुनी मृत अवस्थामा छन् भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको सुकमायाले जिल्ला प्रहरी कार्यालय लमजुङमा गरेको कागज ।
११. २०४९।८।२६ गते वेलुकी टेक बहादुर रिमाललाई नयां लाईट दिएं निज घर तर्फ गए तिलक बहादुरलाई मैले उक्त दिन देखिन भोलीपल्ट विहान मृत अवस्थामा देखेको हुँ भन्ने समेत व्यहोराको चन्द्र बहादुर राउतले जिल्ला प्रहरी कार्यालय लमजुङमा गरेको कागज ।
१२. तिलक बहादुरलाई टेक बहादुरको पसल नजिक देखेको हुँ । भोलीपल्ट ७ वजे तिलक बहादुरको मृत्यु भयो रे भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको मिन बहादुर बसौलाले जिल्ला प्रहरी कार्यालय लमजुङमा गरेको कागज ।
१३. २०४९।८।२७ गते विहान ७ वजेको हुदो हो चनौटे भिर मुनि वाटोमा तिलक बहादुरकै लाश भन्ने सुनि गाउँका मानिसहरु आई हेर्यो । तिलक बहादुरलाई चिन्यौं । लाशको प्रकृतिले कर्तव्य गरी मारेको जस्तो लाग्यो भन्ने समेत व्यहोराको सर्जमीन व्यहोरा रहेछ ।
१४. २०४९।८।२६ गते तिलक बहादुर र टेक बहादुरसंग वेशिशहरु वजार भिमसेन थानमा हिडेको देखेको हुँ भन्ने समेत व्यहोराको सन्त बहादुर रिमालको जिल्ला प्रहरी कार्यालय लमजुङमा गरेको कागज ।
१५. संकलित मिसिल अध्ययन गर्दा २०४९।८।२६ गते तिलक बहादुर अधिकारी र चण्डीस्थान गा.वि.स. वडा नं. ६ वस्ने टेक बहादुर रिमालसंगै वेशिशहर वजार भिमसेन स्थानमा हिडेंको देखेको हुँ भन्ने समेत व्यहोराको सन्त बहादुर रिमालले गरी दिएको कागज समेतबाट तिलक बहादुरलाई टेक बहादुर रिमालले मु.ऐन ज्यान सम्वन्धी महलको १ नं. को कसुर गरेको हुँदा निजलाई सोही ऐनको १३(३) वमोजिम हदैसम्म संजाय गरी पाउन माग दावी लिई सक्कल मिसिल र मानिस समेत पेश गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र रहेछ ।
१६. घरबाट वेशिशहर आउन लाग्दा तिलक बहादुर अधिकारी वाटोमा भेट भयो र म संगसंगै वेशि शहर वजारमा आएको हो । आफुलाई चाहिएको सामान लिएर म ५ वजे आफ्नो घरमा पुगेको क । थानामा कूटपिट गरेको हुँदा मैले मारेको हो भनी वयान गरी दिएको हुँ । मैले निज तिलक बहादुर अधिकारीलाई मारेको होईन भन्ने समेत व्यहोराको टेक बहादुर रिमालले २०४९।१२।१२ मा अदालतमा गरेको वयान ।
१७. अदालतका आदेशानुसार मौकामा कागज गर्ने सर्जमीनका मानिस जाहेरवाला र प्रतिवादीका साक्षीहरु उपस्थित भए सम्मका व्यक्तिहरुको वकपत्र भई मिसिल संलग्न रहेछ ।
१८. प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति वयान र जाहेरवाला धन बहादुरले अदालतमा समेत आई प्रतिवादीले कर्तव्य गरी मारेको भनि किटानी वकपत्र गरेको सर्जमीनमा र अदालतमा समेत आई वक्ने टेक बहादुर अधिकारी, लाल बहादुर अधिकारी, भिम बहादुर परियार, कूल बहादुर खत्री, अर्जून अधिकारी, मान बहादुर रिमाल, हर्क बहादुर अधिकारी, पदम बहादुर अधिकारी, टेक बहादुर अधिकारी, र सन्त बहादुर अधिकारीले वकपत्र गर्दा प्रतिवादीले नै कर्तव्य गरेको कुरामा शंका देखाई लेखाई दिएको समेतवाट मृतक तिलक बहादुर अधिकारी प्रतिवादी टेक बहादुर रिमालको कर्तव्यवाट मरेको देखिन ठहर्न आउने हुँदा प्रतिवादी निज टेक बहादुर रिमाललाई मुलुकी ऐन, ज्यान सम्वन्धीको १३(३) नं. अनुसार सर्वश्व सहित जन्मकैदको संजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको लमजुङ जिल्ला अदालतको २०५२।३।२९।५ को फैसला ।
१९. उक्त फैसलामा चित वुझेन । सर्वश्व सहित जन्मकैद हुने ठहरी ठहर्याई गरिएको लमजुङ जिल्ला अदालतको फैसला वदर गरी मेरो अदालतको वयान एवं पुनरावेदन जिकिर वमोजिम हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी टेक बहादुर रिमालको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।
२०. यसमा प्रमाण मुल्याकंनको अभावमा भएको शुरु लमजुङ जिल्ला अदालतको फैसला फरक पर्न सक्ने भएवाट अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम छलफल निमित पुनरावेदन सरकारी वकिल कार्यालय पोखरालाई पेशिको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखराको संयुक्त इजलासको मिति २०५२।१०।३।४ को आदेश ।
२१. मृतकको मृत्यु प्राकृतिक नभई टाउकोको चोटले मरेकोमा विवाद छैन । मृतकको टाउकोको पछाडी यी प्रतिवादी र मृतकका वीच भएको घचेटा घचेटको कारणले चोट परको देखिए पछि यी प्रतिवादी दोष रहित छन भन्न सकिने स्थिति मिसिल संलग्न प्रमाणबाट देखिन आएन । यस स्थितिमा शुरुले प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) अनुसार सर्वश्व सहित जन्मकैद हुने ठहर गरेको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिरिक पुग्न सक्दैन । तर मृतकलाई भनाभन झगडा हुँदा घचेटिन गएको समेत कारणबाट मृत्यु भएको देखिएको स्थितिमा उपरोक्त वमोजिमको संजाय गर्दा चर्को पर्न जाने हुँदा अ.व. १८८ नं. वमोजिम ५ वर्ष मात्र कैद गर्न उपयुक्त देखिएकोले राय प्रस्तुत गरिएको छ भन्ने पू.वे.अ. पोखराको २०५३।१।१७ को फैसला ।
२२. मृतक तिलक बहादुर वेशि शहरवाट घरतर्फ जांदा रक्सी सेवन गरी हिडेकोले उकालो ओरालो वाटो हिड्दा अडिन नसकी भिरवाट खसी मर्ने प्रशस्त सम्भावना छंदाछंदै म वारदातमा नै नभएको व्यक्तिलाई अनुमान कै भरमा कसुरदार ठहराई मलाई संजाय गरेको शुरुको फैसलालाई पू.वे.अ. पोखराले समेत मनासिव ठरहराई अ.वं. १८८ नं. वमोजिम ५ वर्ष कैद हुने संजायको राय व्यक्त गरेको फैसलाले मलाई अन्याय परेकोले आरोपित कसुरवाट पूर्ण सफाई दिलाई पाउँ भन्ने प्रतिवादी टेक बहादुर रिमालको यस अदालतमा परेको पुनरावेदन ।
२३. यसमा प्रतिवादी टेक बहादुर रिमाल र मृतक तिलक बहादुर अधिकारी वीच रीसइवी भएको भन्ने कुरा र मार्नु पर्ने सम्मको उद्देस्य थियो भन्ने कुरा मिसिलबाट पुष्टि हुन आउँदैन । दुवैले रक्सी खाएको अवस्था छ । सिर्फ रु.२००। को कुराबाट विवाद उठेको छ । प्रहरीमा भएको कागजमा पनि मार्नु पर्ने सम्मको उद्देश्य नभएको सो प्रहरी कागज अरु प्रमाणवाट पुष्टि नभएको, यस अवस्थामा पू.वे.अ. पोखराको फैसलामा फरक पर्ने भएकोले अ.वं. २०२ नं. वमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिनु भन्ने यस अदालत संयुक्त इजलासवाट भएको मिति ०५४।४।२२ को आदेश ।
२४. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु व.अ. श्री कृष्ण प्रसाद भण्डारी, अ. श्री उज्वल राज मैनाली र अ. श्री अर्थ बहादुर हमालले प्रतिवादीले कसुर गरेको हो भन्ने चश्मदिद कोही छैन मार्नु पर्ने सम्मको रीसइवी पनि केही देखिदैन । शंकाकै आधारको जाहेरी र सरजमीन भएको संदिग्ध अवस्थामा कसुरदार ठहर्याउन नमिल्ने हुँदा सफाई पाउनु पर्दछ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो भने विपक्षी तर्फका विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्काले जाहेरवालाको रीसइवी छैन भनेको प्रतिवादी र जाहेरवालाको वीचको कुरा हो । मृतक र प्रतिवादीको वीचको भन्ने होईन । रीसइवी लगायतको मनसाय पूर्ण हत्या हुन सक्ने हुँदा प्रतिवादीले संजाय पाउनु पर्ने भएकोले शुरु र पुनरावेदन तहबाट समेत कसुरदार ठहर्याई गरेको सजाय मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने समेतको प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।
२५. पुनरावेदक प्रतिवादीले संजाय पाउनु पर्ने हो, होइन ? पुनरावेदन अदालतले गरेको इन्साफ मनासिव वेमनासिव के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आएको प्रस्तुत मुद्दामा भवितव्य उल्लेख गरी अनुसन्धान गरी पाउँ भनी पहिलो जाहेरीवाट कारवाही प्रारम्भ भएको
देखिन्छ । मृतकसंग प्रतिवादीको ज्यान मार्नु पर्ने सम्मको रिसईवी भए रहेको समेत मिसिल प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीले मृतक संगसंगै वेशीशहर गई संगै रक्सी खाएको कुरालाई अदालतको वयानमा समेत स्वीकार गरेको देखिन्छ । निज प्रतिवादीले मृतकलाई ढुंगाले पछाडी घूच्चूकमा हानेको त्यसपछि मृतकसंग लडामारी भई धकेली दिंदा भीरवाट लडी मरेको भनी प्रहरी समक्ष वयान गरेको, टाउको पछाडी घाउ भएको लाश जांच मुचुल्काबाट निजहरु वीच धकेला धकेल भएको समेत पुष्टी भएको देखिन आउँछ । रक्सीको नशामा लडामारी भई धकेल्दा भीरवाट लडी मरेको अवस्था देखिंदा ज्यान सम्वन्धीको १३ नं. आकर्षित हुने अवस्था देखिन आएन । होस नपुर्याई वा हेलचक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पांच सय रुपैयासम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै संजाय हुने ज्यान सम्वन्धीको ६(२) नं ले कानूनी व्यवस्था गरेको पाइन्छ । होस नपुर्याई लडामरी भई धकेला धकेल भई भीरबाट लडी तिलक बहादुरको मृत्यु भएको देखिन आएकोले निज तिलक बहादुर प्रतिवादीको क्रियाबाट भवितव्य परी मरेको ठहर्छ । मुलुकी ऐन, ज्यान सम्वधीको ६(२) नं. ले दुई वर्ष कैदको संजाय हुन्छ । कर्तव्यवाट मरेको ठहर्याई ज्यान सम्वन्धीको १३(३) नं. ले संजाय हुने ठहर्याएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ समेत नमिली उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी टेक बहादुर रिमालके माथि ठहर खण्डमा लेखिए वमोजिम ज्यान सम्वन्धीको ६(२) नं. वमोजिम दुई वर्ष मात्र कैदको संजाय हुने ठहरेकोले निज मिति ०४९।१२।१२ देखि पुर्पक्षको निमित थुनामा रही लागेको कैद भुक्तान भइसकेको देखिंदा अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनाबाट छाडि दिनु भनी यस अदालतवाट आदेश समेत भई सकेकोले केहि गर्नु परेन .........१
शुरु लमजुङ जिल्ला अदालतको मिति २०५२।३।२९ को फैसलाले निज प्रतिवादी टेक बहादुर रिमाललाई ज्यान संवन्धीको १३(३) नं वमोजिम लागेको संजायको वापत राखीएको लगत कट्टा गर्नु भनी लमजुङ जिल्ला अदालतलाई लेखि पठाउनु ................. १
शुरु जिल्ला अदालतको फैसला वमोजिम निज प्रीतवादी टेक बहादुर रिमालको अंश समेत मिति २०५२।७।१८ मा रोक्का राखेको देखिंदा सो रोक्का फुकुवा गरी दिनु भनी सवंन्धीत कार्यालयलाई लेखि पठाई दिनु ... १
फैसलाको नक्कल सहित महान्यायाधीवक्ताको कार्यालयलाई जानकारी दिनु .... १
मिसिल नियमानुसार गरी बुझाई दिनु .. १
उक्त रायमा म सहमत छुं ।
न्या. राजेन्द्रराज नाख्वा
इति संवत् २०५४ साल कार्तिक १३ गते रोज ४ शुभम् ......................... १