शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४२५ - डाँका

भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक:

निर्णय नं. ३४२५ ने.का.प. २०४५     अङ्क ७

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ५६३

फैसला भएको मिति : २०४५।५।१३।२ मा

 

पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय, कारागार शाखा पाल्पा तानसेनमा थुनामा रहेको टिपनारायण थारु

विरुद्ध

विपक्षी/वादी : मुरारी थारु समेतको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : डाँका

 

(१)                  प्रहरीमा गरेको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुनु पर्ने ।

(प्रकरण नं. ४१)

(२)                सहअभियुक्तले प्रहरीमा भएको कागजमा पोल गरेको स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेको स्थितिमा केवल प्रहरीमा भएको सावितीलाई आधारमानी कसूरदार ठहर गर्न न्यायसंगत नहुने ।

(प्रकरण नं. ४१)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की

विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति भई फौज्दारी दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.     ०३७ साल ज्येष्ठ २७ गतेको रात सुती निदाएका अवस्था डाँकाहरु आई म मुरारीको बिगो रु. २५,४००।र म ऋषिरामको बिगो रु. १,८६०।का धनमाल डाँका गरी लगे म गेजहीको कागजपत्र मात्र लगेको हुँदा जाहेर गरेका छौं । डाँका गर्नेहरुले गहनाहरु खोसिरहेको अवस्था म ऋषिरामकी छोरी सावित्रीले पूर्णमासा अहिर, टिपनारायण थारु र मुनीलाल थारु समेतसंग लडिरहेको बखत चिनेकोले निजहरु समेतलाई पक्राउ गरी कानून बमोजिम कारवाही र सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

३.     जाहेरवालाको घरमा श्याम, चन्द्र किशोर, बाबुराम झकरी समेत भई डाँका गरेको हौं भन्ने समेत व्यहोराको प्रतिवादी टिपनारायणले प्रहरीमा गरेको बयान ।

४.     म समेतको साथीहरु मिली जाहेरवाला मुरारी समेतको घरमा डाँका गरेका हौं भन्ने समेत व्यहोराको पूर्णमासी अहिरले प्रहरीमा गरेको बयान ।

५.     हामी सबैजना मिली डाँका गरेका हौं भन्ने समेत व्यहोराको झकरीले प्रहरीमा गरेको बयान ।

६.     डकैती गर्न गएको होइन, किन पोल गरे भन्ने समेत व्यहोराको बिजुली अहिरको प्रहरीमा भएको बयान ।

७.     जाहेरवालाको घरमा डाँका गरेको भन्ने कुरा सुनेको हुँ, म डकैती गर्न गएको छैन, म उपरको पोल झुठ्ठा हो भन्ने समेत व्यहोराको बाबुरामको प्रहरीमा भएको बयान ।

८.     हामी सबैजनाको राय सल्लाह भई घरमा पसी  लुटी धनमाल लुटिरहेकै अवस्थामा गाउँमा हल्ला भई हामी धनमाल लिई भाग्यौं । धनमालको भाग हिस्सा पाएको छैन भन्ने समेत व्यहोराको बहिरा भन्ने अयोध्या अहिरले प्रहरीमा गरेको बयान ।

९.     म डकैती गर्न गएको छैन, किन टिपनारायणले म प्रति पोल गरे म जान्दिन भन्ने समेत व्यहोराको कालीराम थारुको प्रहरीमा बयान ।

१०.     डकैती गरेको अवस्थामा वेलाइसेन्सको भरुवा बन्दूक लिएको थिएँ । धनमालको हिस्सा मैले पाएको छैन भन्ने समेत व्यहोराको मुनिलालको प्रहरीमा भएको बयान ।

११.     डकैती गर्दाको अवस्था म घरभित्र नपसेकोले के कति धनमाल डाँका गरे थाहा छैन, मैले हिस्सा भाग समेत पाएको छैन भन्ने समेत व्यहोराको रमेश कार्कीको प्रहरीमा भएको बयान ।

१२.    ०३७ साल जेष्ठ २७ गते जाहेरवाला मुरारी थारु, ऋषिराम, गैडही थारु समेतको घरबाट जाहेरीमा लेखिए अनुसारको धनमाल डकैती भएको हो, टिपनारायण थारु समेत जना ९ र पक्राउमा नपरेका किशोर लोहार समेत उपर डाँका गरेमा विश्वास लाग्छ निजहरु लुकी छिपी बसेका छन् डकैती गरेको अवस्था मुरारी र निजकी श्रीमतीलाई कुटपिट गरेका रहेछन् भन्ने समेत व्यहोराको सरजमीन ।

१३.    लुकाई राखेको भरुवा बन्दूक र झोलामा रहेको वारुद केप हामीहरुको सामुन्ने गस्ती प्रहरीले बरामद गरेको ठीक साँचो हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

१४.    चोरीको ६ नं. बमोजिम डाँका गरेको सिद्ध हुन आएकोले जाहेरवाला मुरारीको बिगो रु. २५,४००।र ऋषिरामको बिगो रु. १,८६०।समेतको बिगो भराई चोरीको १२।१४ को देहायको दफा ४ बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१५.    मैले डकैती गर्ने सल्लाह गरेको र डकैती गर्न गएको होइन, किन पोल गरे थाहा छैन भन्ने समेत व्यहोराको टिपनारायणले अदालतमा गरेको बयान ।

१६.     मैले डकैती गरेको होइन किन शंका गरे थाहा छैन । म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको बिजुली अहिरले अदालतमा गरेको बयान ।

१७.    ज्येष्ठ २७ गते दिन रात म मेरो घरमा थिएँ मैले डकैती गरेको छैन, कसले डकैती गरे थाहा छैन भन्ने समेत व्यहोराको बाबुराम थारुले अदालतमा गरेको बयान ।

१८.    मैले डकैती गरेको छैन । कसले के कति धनमाल डकैती गरे थाहा छैन भन्ने समेत व्यहोराको कालीराम थारुले अदालतमा गरेको बयान ।

१९.     मैले डकैती गरेको होइन, जाहेरवालाको परिवारलाई कसरी चोट लाग्यो थाहा छैन । प्रहरीमा मैले भने बमोजिम लेखिएको छैन भन्ने समेत व्यहोराको पूर्णमासीले अदालतमा गरेको बयान ।

२०.    मुरारी समेतको घरमा डकैती गर्न गएको र डकैती गर्ने सल्लाह समेत गरेको हैन, कसले डकैती गरे थाहा छैन भन्ने समेत व्यहोराको मुन्निलालले अदालतमा गरेको बयान ।

२१.    डकैती गर्ने सरसल्लाह र डकैती गर्न गएको हैन । मेरो उपरको पोल झुठ्ठा हो भन्ने समेत व्यहोराको अयोध्या अहिरको अदालतमा भएको बयान ।

२२.    म समेतले जाहेरवालाको घरमा डकैती गरेको छैन । जाहेरवालाको डकैती भए नभएको थाहा छैन म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको झकरी केवटले अदालतमा गरेको बयान ।

२३.    जाहेरवाला मुरारी समेतको घरमा मैले डाँका गरेको छैन । किन प्रहरीमा यस्तो लेखे थाहा छ्रैन कागजमा लेखिएको कुरा झुठ्ठा हो भन्ने समेत व्यहोराको रमेश सार्कीले अदालतमा गरेको बयान ।

२४.    मैले डकैती गरेको छैन । इवीबाट झुठ्ठा पोल गरेको होला, मैले डकैती गरेको हैन भन्ने समेत  व्यहोराको पृथीराजको अदालतमा भएको बयान ।

२५.    जाहेरवालाको घरमा डकैती भयो भन्ने कुरा सुनेको हुँ । कसले कसरी धनमाल डकैती गरे थाहा छैन । ज्येष्ठ २७ गते दिनरात म मेरो घरमा थिएँ, अरु कहाँ थिए थाहा छैन भन्ने समेत व्यहोराको जगन थारुको अदालतमा बयान ।

२६.    जाहेरवालाको घरमा मैले डकैती गरेको हैन, मेरो उपरको पोल झुठ्ठा हो भन्ने समेत व्यहोराको भिखारीले अदालतमा गरेको बयान ।

२७.    मुन्निलालसंग झगडा भएको थियो । सोही इवीबाट झुठ्ठा पोल गरेको हो, मैले डकैती गरेको छैन भन्ने समेत व्यहोराको भिमबहादुर थारुले अदालतमा गरेको बयान ।

२८.    जाहेरवालाको घरमा डकैती भयो भन्ने कुरामा गाउँमा हल्ला भएर सुनेको हुँ । मैले डकैती गरेको छैन । किन पोल गरे थाहा छैन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको जसराम थारुको अदालतमा भएको बयान ।

२९.    मैले डकैती गरेको छैन, मेरो उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको लालमोहरले अदालतमा गरेको बयान ।

३०.    टिपनारायण, मुन्निलाल, पूर्णमासी समेतको बयान अनुसार मैले डकैती गरेको छैन, ०३७ ज्येष्ठ २७ गते बाबुराम नेवारको घरमा हरुवाई गरी बसेको थिएँ । किन त्यस्तो पोल गरे ? म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको तिलक थारुको अदालतमा बयान ।

३१.    डकैती गरे भन्ने थाहा छैन, मैले डकैती गरेको छैन । म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको भोला थारुले अदालतमा गरेको बयान ।

३२.    प्रतिवादीका साक्षी जना १३ को बकपत्र मिसिल सामेल रहेछ ।

३३.    अदालतमा भएको बयान, साक्षीहरुको बकपत्र परस्पर बाझिएको तथा रमेशले साक्षी प्रमाण गुजार्न सकेको नदेखिएको समेत कारणबाट निजहरुले जाहेरवालाको घरमा प्रहरी प्रतिवेदन दावी अनुसार डकैती गरेको देखिएकोले बुझिएसम्मका प्रमाणबाट टिपनारायण, पूर्णमासी, रमेश कार्की समेतले जाहेरवालाको घरमा डकैती गरेको ठहर्छ । अन्य प्रतिवादीहरुको हकमा सरजमीनको शंका सावितीको पोलकै भरमा दोषी प्रमाणित गर्न मिल्दैन । प्रतिवादी मुन्निलाल अयोध्या झकरी, जसराम, बाबुराम, जगत थारु, पृथ्वी राम थारु, भिमबहादुर थारु, बिजुली अहिर, कालीराम थारु तिलक थारु, लालमोहर थारु, भोला थारु, भिखारी थारु समेतले जाहेरवालाको घरमा डाँका गरेको ठहर्दैन । प्रतिवादी मध्ये श्यामचन्द्र थारु, किशोर लोहार समेतले म्यादी पुर्जीको म्याद गुजारी बसेकोले निजहरुको हकमा मुल्तवी राख्ने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरु नवलपरासी जिल्ला अदालतको ०३९।४।३१।१ को फैसला ।

३४.    प्रहरीमा सावित हुने झकरी केवट, मुन्नीलाल थारु, अयोध्या अहिर, टिपनारायण थारु, पूर्णमासी अहिर, रमेश सार्कीले डाँका गर्न गएका भनी एकै मुखले पोल गरेको देखिन्छ । एकातिर टिपनारायण पूर्णमान सिंह, रमेश सार्कीले प्रहरीमा गरेको कागजलाई खम्बीर मानी अपराध गरेको ठहर्‍याएको छ भने त्यही कागजमा पोलिएका व्यक्तिहरुलाई अदालतमा इन्कारी गरेको भरमा सफाई पाउने ठोस र आधारभूत प्रमाणको अभाव भई सफाई दिएको शुरु जिल्ला अदालतको फैसला मिलेको भन्न सकिएन । सफाई दिने हदसम्मको शुरु जिल्ला अदालतको फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ हुन पर्ने भन्ने वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

३५.    तथ्य वास्तविकता र सम्पूर्णता मिसिल समेतको न्याय निरोपण भई मलाई दोषी ठहर्‍याई गरिएको जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र.टिपनारायण थारुको पुनरावेदन पत्र ।

३६.    यसमा टिपनारायण थारुले डकैती गरेको ठहर्‍याएको शुरु र जसराम थारु समेतले सफाई पाउने ठहर्‍याएको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को फैसला ।

३७.    प.क्षे.अ.को फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी टिपनारायण थारुको निवेदन ।

३८.    प.क्षे.अ.को फैसला अ.बं. १८४,१८५ र प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशको त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको ०४१।७।२९ को आदेश ।

३९.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रमेश विक्रम कार्कीको र विपक्षी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टको बहस जिकिर समेत सुनियो ।

४०.    अब प.क्षे.अ.को इन्साफ मनासिब छ छैन निर्णय दिनु पर्ने देखिन आयो ।

४१.    निर्णयतर्फ विचार गर्दा यसमा शुरु इन्साफमा चित्त बुझाई पुनरावेदन नगर्ने प्र. रमेश सार्की पूर्णवासी अहिरको हकमा विचार गर्नु परेन प्र.टिपनारायण थारुका हकमा विचार गर्दा जाहेरवालाको घरमा डकैती गरेकोमा प्रतिवादी टिपनारायण थारु अधिकार प्राप्त अधिकारी समक्ष सावित भई अदालतमा बयान गर्दा कसूर गरेमा इन्कार रहेको पाइन्छ । प्रहरीमा गरेको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुनुपर्छ तर प्रहरीको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थन हुन सकेको छैन । जाहेरवाला मध्येका मुरारी थारुले जाहेरीमा डाँकाहरुले बालेको लाइटरको उज्यालोबाट चिने भनी उल्लेख गरेको पाइन्छ तर अदालतबाट झिकाइएकोमा अदालतमा आई जाहेरी दर्खास्तलाई समर्थन गरी बकपत्र गर्न सकेको देखिँदैन । त्यस्तै सरजमीनका मानिसहरु तथा बरामदी मुचुल्काका मानिसहरुले अदालतमा आई बकपत्र गर्न सकेका छैनन् । प्रतिवादीहरुलाई सहअभियुक्त पूर्णवासी अहिर र रमेश सार्की समेतले प्रहरीमा भएको कागजमा पोल गरेको पाइन्छ तर सो पोल स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेको छैन । यस्तो स्थितिमा केवल प्रहरीमा भएको सावितीलाई आधारमानी प्रतिवादी टिपनारायण थारुलाई कसूरदार ठहर गर्न न्यायसंगत नहुँदा निजलाई सफाई दिनु पर्नेमा शुरु जिल्ला अदालतले कसूरदार ठहर गरेको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुन्छ । प्रतिवादी टिपनारायण थारुले सफाई पाउने ठहर्छ अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी टिपनारायण थारुके माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकाले निजलाई शुरुले गरेको जरिवाना रु. ४०,८९०।र कैदवर्ष ६ तथा प.क्षे.अ.बाट पुनरावेदन गरेवापतको थप जरिवाना रु. ४,०८९।र कैद महिना ७ दिन ६ को लगत समेत कायम राख्न परेन । सो लगत कट्टा गरी दिन शुरु न.पं.जि.अ.मा पठाउँन का.जि.अ.त.मा लगत दिनु । साथै निज प्रतिवादी जि.का. कारागार शाखा पाल्पा तानसेनमा थुनामा रहेको देखिँदा थुनाबाट छाडी दिन लेखी पठाउनु...१

मिसिल नियमानुसार बुझाई दिनु...१

 

उक्त रायमा मेरो सहमती छ ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल भाद्र १३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु