निर्णय नं. ३५२९ - कर्तव्य ज्यान
निर्णय नं. ३५२९ ने.का.प. २०४५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको फौ.पु. नम्बर ३९७
फैसला भएको मिति : २०४५।३।७।३ मा
पुनरावेदक/वादी : उत्तमकुमार भारतीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.झापा महेशपुर गा.पं. वार्ड नं.३ बस्ने भेषन भन्ने भेषबहादुर थापासमेत
मुद्दा : कर्तव्य ज्यान
(१) अदालतमा आई इन्कार रहे तापनि परिस्थितिजन्य प्रमाण इन्कारी विरुद्ध रहेको देखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ।
(प्रकरण नं. ४०)
(२) ज्यान मार्ने मतलवी सम्म भएको देखिएकोलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुने ।
(प्रकरण नं. ४०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री वलराम के.सी.
प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहरदाहाल
फैसला
न्या.महेशरामभक्त माथेमा : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मेरो दाजु अविकेशर भारती अरनिको प्र.मा.वि. मा शिक्षकको काम गर्नुहुन्थ्यो । २०३५।५।८ गते बेलुका अं. ४.३० बजेको समयमा खोल्सा खोल्सीमा हुने माछाहरु स्कूलको निमित्त दिने गरी आएको हुँदा सोही माछाको डाँक बढाबढ गराउन स्कूलमा जानुभएको बेलुका फर्की आउनु भएन । ९ गते विहानै गाउँकै चन्द्रकला गुरुङ्गले अलि अलि हिलो पानी जमेको ठाउँमा मानिस लडिरहे जस्तो देखि निजले हल्ला गरेपछि निजकी श्रीमती र म समेत गई पल्टाई हेर्दा दाजु अविकेशरको लाश देखी चिनी दर्खास्त दिन आएको छु । निजलाई के कुन तरिकाबाट मारी लाश फालेका हुन् अभियुक्त समेत पत्ता लगाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने उत्तरकुमार भारतीको जाहेरी दर्खास्त ।
३. दायाँपट्टि आँखी भैंमा १½ इन्च लम्बाइको चोट भई रगत बगेको, दायाँ गालामा आधा गोलाइको चोट भएको, तालुमा १¼ गोलाईको चोट भएको र रगत आएको, बायाँ गोडाको गोलीगाँठा माथि आधा इञ्चको चोट भएको भन्ने मृतक अविकेशर भारतीको लाश प्रकृति मुचुल्का ।
४. मृत्युको कारण चोटपटक लाग्नाको कारणले रगत सञ्चार श्वासक्रिया बन्द भई मृत्यु भएको पोष्टमार्टम रिपोर्ट ।
५. शिक्षक अविकेशर भारतीको मृत्यु भएको सम्बन्धमा कडा अनुसन्धान गरी पाउँ भन्ने समेत व्यहोराको नि.प्र.अ. तुङ्गनाथ चापागाईको निवेदन ।
६. निम्नलिखित व्यक्तिहरुबाट षडयन्त्र रची अवकेशर भारतीलाई २०३९।५।८ गते रातको कर्तव्य गरी मारेको बुझिन आएकोले कारवाही गरी पाउँ भन्ने प्र.ना.नि.भाष्कर घिमिरेको प्रतिवेदन ।
७. आर.एन. सर र मेरो ५ दिन अगावै गिरी सरलाई मार्ने सल्लाह थियो । २०३९।५।८ गते बेलुका ५:३० बजे मेरो भाइ तुलबहादुर म डबलटुको पैनीदेखि पर ढुकी बस्यौं, मेरो हातमा १ लाठी थियो । १५–२० मिनेटपछि गिरी सर गई लाले सतार, विजय सुब्बा, मल्ल विहारी, कुमार राई समेत आए, गिरी सरको हातमा पुल्ठो थियो, हाम्रो नजिक गिरी सर आइपुग्दा पहिला मैले लाठीले हिर्काएँ, भाइ तुलबहादुरले घुस्सा र लातले हिर्कायो, ऐया मार्यो भनी गिरीसर जमीनमा गिरे हातमा फरुवा बोकी उभिएको लाले सतारले मैले हान भन्दा फरुवाले हिर्कायो । विजय, मल्लु, कुमारले पनि हान भनेपछि लात मुक्काले हिर्कायो, गिरी सर मरिसकेपछि पानी हिलो र ठुटाठुटी भएको ठाउँमा पुर्यायौं र लाश घोप्टो पारी राख्यौं भन्ने समेत अभियुक्त भेषबहादुर थापाले प्रहरीमा गरेको कागज ।
८. साँझ ८ बजेतिर लाले सतार, विजय सुब्बा, मल्ल विहारी, कुमार राईले गिरी सरलाई लिई आए, हातमा पुल्ठो थियो, विजयको हातमा टर्च लाले सतारको काँधमा कोदाली थियो । हामी भएको ठाउँमा आइपुग्दा दाजु भेषबहादुरले हातमा लाठी लिएको विजयले हातको पुल्ठो निभाई दिनासाथ भेषबहादुरले गिरीसरको टाउकोमा लाठीले हिर्काए मैले लात्ती घुस्साले हिर्काएँ, गिरीसर लड्न लाग्दा विजयले सन्डिमा लात्तीले हिर्काए, गिरी सर लडेपछि लाले सतारले पनि फरुवाले हिर्काए, दाजु भेषनले गर्दनमा थिचेपछि गिरी सरको मृत्यु भयो भन्ने समेत तुलबहादुर थापाले प्रहरीमा गरेको कागज ।
९. अं. ८ बजेतिर गिरीसर हाम्रो घर आँगनमा आए, मेरो बुबा कुलप्रसादले लाले सतारलाई पुल्टो बनाइदे अँध्यारो छ भनेपछि लालेले पुल्ठो बनाई सल्काइदियो म भल्लु, कुमार र लाले सतार गिरीलाई पुर्याउँन गई डबल टुको पैनीपारी पुगेपछि भेषन लुकी बसेको ठाउँबाट उठी गिरी सरलाई २ पटक टाउको र कञ्चटमा लाठी प्रहार गरी तुलेले हात मुक्काले हान्यो, सरले सकि नसकी गुहारसम्म भने, तर मुर्छा परी जमीनमा लडे भेषनले हान भनेपछि लालेले फरुवाले हिर्कायो, कुमार मल्लले पनि हिर्काए, पछि गिरीसरको मृत्यु भयो भन्ने समेत विजयकुमार सुब्बाले प्रहरीमा गरेको कागज ।
१०. २०३९।८।५ गते बेलुका डबल टुकपैनी पार गरी केही पर पुगेपछि लुकी बसेका भेषबहादुर थापाले गिरीसरलाई समाती पुल्ठो निभाई निजको हातमा भएको लाठीले टाउकोमा हिर्काई तुलबहादुरले बक्सिङ्ग र लातले हिर्काउन थालेपछि गिरी सर जमीनमा लडे लाले सतारलाई भेषनले हान भनेपछि लाले सतारले फरुवाले एकपल्ट हिर्कायो, गिरी सरको प्राण गएपछि लाश म समेत भई समाती अलिक पर पानी र हिलो भएको ठाउँमा घोप्टो पारी लाश फाल्यौं भन्ने समेत मल्लु विहारीले प्रहरीमा गरेको कागज ।
११. भेषबहादुर थापाले गिरीसरको टाउकोमा हिर्कायो, तुलबहादुरले घुस्साले हिर्कायो, गिरीसर जमीनमा लडी छटपटाउँदा भेषनले हान भनेकोले मैले पनि आफूले बोकेको फरुवाले गिरीसरको ढाडमा हिर्काए, विजयमल्लु र कुमारले हात र लातले हिर्काए, त्यसपछि गिरीसर मर्नुभयो भन्ने समेत लालेसतारले प्रहरी समक्ष गरेको कागज ।
१२. डबलटुको पैनीपारी केही परपुगेपछि गिरीसरलाई छाडी हामी फर्किन आँटेका थियौं, त्यही लुकेर बसेका भेषबहादुर थापा फुत्त निक्ली गिरीसरलाई समात्यो, त्यसैबेला विजयले पुल्ठो निभाई दियो, भेषबहादुरले घुस्सी लात्तिले हिर्कायो, गिरीसर जमीनमा लडेपछि भेषबहादुरले हान भनेपछि लालेसतारले पनि फरुवाले गिरीसरलाई लडेकै बेला पासोले पछाडि हिर्कायो, गिरीसरको मृत्यु भएपछि लासलाई भेषबहादुर, तुलाबहादुर लालेसतार समेत भई बोकी पानी र हिलो ठुटा ठुटी भएको ठाउँमा लगी घोप्टो पारी फाली दियो भन्ने समेत कुमार राईले प्रहरी समक्ष गरेको कागज ।
१३. गिरीसर (अविकेशर) संग मेरो कुनै रीसइवी थिएन, हत्या गर्न मेरो सल्लाह र सहमति समेत छैन हत्याभएको कुरा थाहा पाएर प्रकाशमा नल्याएको र गुपचुप राखेको सम्म हुँ । बाटोमा ढुक्नुपर्छ कि के हो भन्दै भेषन र तुला त्यहाँबाट के कतागए म आफ्नो काममा लागे भन्ने समेत आकासे भन्ने कुलप्रसादले प्रहरी समक्ष गरेको कागज ।
१४. अभियुक्त भेषबहादुर थापाले मर्ने अविकेशर भारतीलाई कुटपिट गरेको फरुवा प्रहरीले बरामद गरेको बरामदी मुचुल्का ।
१५. मैले मर्ने गिरीलाई कर्तव्य गरी मार्ने सल्लाह दिएको होइन । भेषनले सो कुरा किन भनेको हो, निजै जानुन भन्ने समेत आर.एन.प्रधान भनेको रामनारायण प्रधानले प्रहरीमा गरेको कागज ।
१६. गिरीसरको आँखामा समेत चोट लागेको हुँदा कर्तव्य गरी मार्नमा भेषबहादुर, तुलबहादुर, लालेसतार, मल्लुविहारी कुमार राई, विजय सुब्बा, तुलप्रसाद लिम्बू, रामनारायण प्रधान समेत भई मारेको शंका लाग्छ भन्ने समेत मृतककी श्रीमती सावित्री भारती समेत ११ जनाको एकै मिलानको सरजमीन मुचुल्का ।
१७. ४ फीट लम्बाई, ३ इन्च गोलाई भएको खिराको जात काठको लाठी मैले बोकेको थिएँ, गतेबार याद भएन, गिरीसर मर्नुभन्दा केही दिन अगाडि लाठी लिई माहिलाको दोकानमा गएको थिएँ, सो अवस्था भेष बहादुरसंग भेट भई यो मलाई दे म भोली तँलाई दिउँला भनेकाले मैले सो लाठी निजलाई दिएको थिएँ, सो लाठी यही हो, हेरी सनाखत गरिदिएको छु भन्ने समेत मिश्री सतारको सनाखत कागज ।
१८. हालसम्मको अनुसन्धानबाट संकलित सबूद प्रमाण कागज अध्ययन गर्दा अभियुक्त भेषबहादुर थापा, तुलबहादुर थापा, लालेसतार समेत ३ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ दफा अनुसार सजायँ हुन र कुमार राई, मल्लुविहारी, विजय सुब्बा समेत ३ जनालाई ज्यानसम्बन्धीको १३ को देहाय ४ अनुसार सजायँ हुनुपर्ने र त्यसमध्ये विजय सुब्बाको उमेर १५ वर्षको मात्र देखिएकोले निजको हकमा दण्डसजायँको महल नं. १ अनुसार हुने र आकासे हवल्दार भनेको कुलप्रसाद लिम्बूलाई ज्यानसम्बन्धीको १७ नं. को देहाय ३ दफा अनुसार सजायँ हुन र आर.एन.सर भनेको रामनारायण प्रधानलाई ज्यानसम्बन्धीको १६ नं. अनुसार सजायँ हुनु पर्ने भन्ने समेतको प्रहरी प्रतिवेदन ।
१९. आर.एन.सर भन्ने रामनारायण प्रधानलाई ज्यानसम्बन्धीको १३(४) अनुसार सजायँ हुन कारवाही चलाउने छुट्टै राय व्यक्त गरेको छु भन्ने समेत स.स.अ.को छुट्टै राय भएको ।
२०. २०३९।८।५ गते दिनरात म आफ्नै घरमा छु । प्र.भेषबहादुर, कुलप्रसाद, मल्लु, लालबहादुर कुमार, रामनारायण, विजयलाई चिनेको छु । अविकेशरलाई पनि चिनेको छु । निजसंग रीसइवी थिएन । निजलाई कसले मारे वा आफ्नै कालगतिले मरे भन्न सक्दिन, प्रहरीमा गरेको कागज मैले भनेको कुरा नलेखी सबै बनावटी लेखी मलाई कुटपिट गरी सहिछाप गराएका हुन, स्वेच्छाले भनेको होइन, मृतक अविकेशरलाई म समेत भई मार्नु मराउनु गरेको होइन, अभियोगबाट सफाई पाउँ भन्ने समेत तुलबहादुर थापाले अदालतमा गरेको बयान ।
२२. २०३९।५।८ गतेका दिन म घरमा थिएँ, मंगलबारे हाट गई घरमा आई बसी रहेको अवस्था मर्ने अविकेशरले मेरो बाबुलाई छ छैन भनी सोधे, पैनीको डिउटीमा जानु भयो भनें, अनि मलाई एउटा पुल्ठो बनाई देउ भनेबाट मेरो नोकर लाले सतारले पुल्ठो बनाई दियो म र कुमार राई लाले सतार, मल्लविहारी समेत भई मेरो घरबाट डबल टुको घर छेउको पैनीसम्म ल्याएर सरले अब जान्छु, तिमीहरु जाओ भनेबाट हामी त्यहीबाट फर्की गयौं, मृतक अविकेशरसंग मेरो राम्रो चिनजान थियो । निजसंग झगडा थिएन, भेषबहादुर हाम्रो स्कूलको मुखिया हो त्यसै स्कूलको हेडमास्टर रामनारायण र मर्ने अविकेशरसंग लेनदेन विषयमा झगडा भएको थियो गिरी सरलाई हामीले पैनीपारी पुर्याएका बखत साथमा अरु कोही थिएन । निजलाई के कस्तो किसिमबाट मार्नु मराउनु गरेको हो म भन्न सक्तिन मेरो साथमा जानेले मारे मराएको होइन । अरु प्रतिवादीहरुले मारे मारेनन् म भन्न सक्तिन, प्रहरीमा गरेको बयान आफ्नू बुद्धि विवेकले भनी लेखाएको होइन । सरजमीनले किन पोले निजै जानुन् म समेत भई मार्नु मराउनु गरेको होइन, अभियोगबाट सफाई पाउँ भन्ने समेत प्र.विजयकुमार लिम्बूले अदालतमा गरेको बयान ।
२३. मैले पहिला पनि स्कूलमा अस्थायी मुखिया पदमा काम गरेको हुँदा नियुक्ति हुनपाउँ भनी निवेदन दिएको थिएँ । २०३९।५।८ गते मुखिया पदमा नियुक्ति गर्ने र स्कूलको पैनीको माछा ठेक्का दिने भई बैठक बसेको थियो । बैठकले दिन बहादुरलाई माछाको ठेक्का दिने निर्णय भई स्कूलको मुखिया पदमा नियुक्ति हुन समय पुगेन । स्कूलको पिउन र म ६.१५ बजे बेलुकी स्कूल नजिकमा दोकान छ त्यहाँ आई केही छिनपछि दोकान बन्द गरी म आफ्नै घर जाँदै गर्दा अम्बरबहादुर खवास आई रक्सी खाउँ भनेबाट १ बोतल रक्सी निज र मैले खाई म आफ्नो घरमा गई खानाखाई सुतें, भोलिपल्ट भेषबहादुरकी साली आएर गिरीसर हिलोमा लडिरहेको छ भनेकोले त्यहाँ गई हेरी मृतकको घरमा र अरु गाउँमा खबर गरेको हुँ । मृतक गिरीसरको सबैसंग राम्रै थियो १ पटक हेडमास्टर रामनारायणसंग लेनदेनमा झगडा भएको थियो । मेरो प्रहरीमा गरेको बयान सबै झुठ्ठा हो, स्वेच्छाले भनेको होइन कुटपिट गरी साविती गराएका हुन् । म समेत भई बाटो ढुकी मारेको होइन, अभियोगबाट सफाई पाउँ भन्ने समेत प्र.भेषबहादुर थापाले अदालतमा गरेको बयान ।
२४. २०३९।५।८ गते मालिक कुलप्रसाद लिम्बूको हलो जोती बेलुकी घरमा आई बसिरहेको, विजयहरु पढिरहेका थिए । त्यसबेला मर्ने अविकेशर आई मलाई एउटा पुल्ठो बनाई देउ भनेबाट लाले सतारले पुल्ठो बनाई म समेत भई डबलटुकी पैनीको डिलमा पुर्याई दिएपछि तिमीहरु जाओ म एक्लै जान्छु भनेबाट फर्की आयौं । तुलबहादुर, भेषबहादुर, रामनारायणलाई चिनेकोछु, निजहरुले केही भनेका थिएनन् । गिरी सरसंग मेरो रीसइवी थिएन । प्रहरीमा भएको कागज स्वेच्छाले गरेको होइन । प्रहरीले कुटपिट गरी सहिछाप गराएका हुन् । सरजमीनले किन पोले निजैहरु जानुन् भन्ने समेत प्र.मल्लुविहारीले अदालतमा गरेको बयान ।
२५. २०३९।५।८ गते राती अं. ८ बजे म र लालेसतार, विजय सुब्बा, मल्लु विहारीले डबलटुको पैनी छेउमा पुर्याई फिरी आई राती विजय सुब्बाको घरमा सुतेको छु । म समेत भई गिरी सरलाई मारे मराएको होइन । प्रहरीमा भएका कागज पढी नसुनाई आफूखुसि लेखी कुटछन् कि भन्ने डरले सहिछाप गरेको हुँ । के कसरी मरे भन्न सक्दिन भन्ने समेत प्र.कुमार राईले अदालतमा गरेको बयान ।
२६. २०३९।५।८ गते म आफ्नो घरमा छु । प्रा.नि.मा काम गर्ने पानीको पालो सम्बन्धमा कुराकानी गर्न गएको थिएँ, करिब ८.३० बजे म आफ्नो घरमा आएँ, विजय मेरो छोरा हो । कुमार मेरो भदै नाता हो, लाले र मल्लु मेरो हली गोठाला हो । निजहरुलाई कहाँ गयौं भनी सोद्धा गिरीसर आउनु भएको थियो, पुल्ठो समेत बनाएर अलिकपरसम्म पुर्याउन गयौं भने म समेत भई अविकेशरलाई कर्तव्य गरी मारे मराएको होइन । रामनारायण र अविकेशरको झगडा भए नभएको मलाई थाहा छैन । प्र.हरुले कुटपिट गरी कागज गराएकाले डरले साविती भएको हुँ, झुठ्ठा अभियोगबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र.कुलप्रसाद लिम्बूले अदालतमा गरेको बयान ।
२७. २०३९।५।८ गतेका दिन विहान १० बजे स्कूल भवनमा पुगें । अरनिको प्र.मा.वि.का. म प्र.अ.पनि हुँ । सो स्कूलमा सञ्चालक समितिको बैठक पनि थियो । सो बैठकमा स्कूलको नाममा भएको जग्गाको पोखरी खाडी, नालाहरुमा भएका माछा ठेक्का लगाउने काम बारे छलफल थियो । ठेक्का लगाइने काम पुरा गरी ६.३० बजे स्कूलबाट निक्ली म आफ्नो घरतर्फ गई बसें । मृतक अविकेशर पनि स्टाफको नाताले त्यहीँ बसी डाँक बढाबढको कागज समेत निजले लेख्नु भएको थियो । सञ्चालक सदस्यसंग घर जान्छु भनी जानु भएको थियो, सो मलाई थाहा भएन । प्र.मध्ये भेष व.थापा पहिले सो स्कूलमा अस्थायी मुखिया पनि थिए सो दिन पनि १ पटक आएको थियो । मृतकको र प्र.भेषबहादुरको कुनै झगडा इवी थिएन । मेरो र मृतकको पनि इवी झै झगडा थिएन । प्रहरीमा गरेको कागज मेरो स्वेच्छाले गरेको हो । भेषबहादुर, तुलबहादुर, विजय समेतलाई षडयन्त्र मिलाई गिरी सरलाई मार्न लगाएको होइन झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत रामनारायण प्रधानले अदालतमा गरेको बयान ।
२८. प्र.रामनारायण, प्र.कुलबहादुरले सफाई पाउने, प्र.विजय कुमार लिम्बू, मल्लु विहारी, लाले सतार, कुमार राई ४ जनालाई ज्यानसम्बन्धीको १७ नं. को ३ दफा अनुसार कैद महिना ।६ का दरले सजायँ गर्ने र प्र.भेषबहादुर, तुलबहादुरलाई प्रहरी प्रतिवेदन दावा अनुसार ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद हुने समेत ठहर्छ भन्ने समेत शुरु झापा जिल्ला अदालतको २०४०।४।२०।६ को जाहेरी फैसला ।
२९. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको; शुरु झापा जिल्ला अदालतको फैसला उपर चित्त बुझेन सफाई पाउँ भन्ने समेत प्र.लालबहादुर सतार, कुमार राई, भल्लु विहारी समेत ३ जनाको; शुरु झापा जि.अ.को फैसला उपर चित्त बुझेन शुरु फैसला बदर गरी सफाई पाउँ भन्ने समेत प्र.भेषबहादुर थापा, प्र.तुलाबहादुर थापा र शुरु झापा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत प्र.विजयकुमार सुब्बाको छुट्टा छुट्टा पु.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
३०. पुल्ठो बाली वारदातको रात पैनीसम्म पुर्याएकोमा अदालतमा समेत सावित हुने लालबहादुर सतार, भल्लु सतार, कुमार राई समेतलाई ज्यानसम्बन्धीको १७(३) नं. ऐन अनुसार तजविजी सजायँ गर्ने र नावालख विजयकुमार समेतलाई ऐन अनुसार समेत सजायँ गर्ने ठहराएको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । वारदात गर्दासंग साथ नरहेका र आरोपित कसूर गरेको प्रमाणित हुन नआएका प्र.रामनारायण समेतले सफाई पाउने ठहराएको समेत शुरुको इन्साफ मनासिब ठहर्छ । निजहरुले समेत आरोपित कसूर गरेको ठहर्नु पर्ने भन्ने वादी श्री ५ को सरकारको समेत पुनरावेदन जिकिर पुग्न सक्तैन । सबै प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने भनी ठहर गर्नु हुने सहयोगी मा.न्या. श्री नरेन्द्रबहादुर न्यौपानेज्यूको रायसंग म सहमत हुन सकिन भन्ने समेत मा.न्या.श्री झुलेन्द्रप्रसाद छतकुलीज्यूको २०४१।८।१७।१ को छुट्टै राय ।
३१. मिसिल संलग्न अन्य कुनै सबूद प्रमाणबाट प्रतिवादी उपर गढाउ भएको नदेखिँदा यी सबै सबूद प्रमाणको मूल्यांकन गरी हेर्दा प्रतिवादी भेषबहादुर थापा, तुलबहादुर थापा, लालबहादुर सतार, विजय सुब्बा, कुलप्रसाद लिम्बू, रामनारायण प्रधान, कुमार राई, भल्लु विहारी समेतका प्रतिवादीहरु आरोपित कसूरमा निर्दोष ठहर्छन् । शुरु झापा जिल्ला अदालतले प्र.भेषबहादुर थापा, तुलबहादुर थापालाई ज्यानसम्बन्धीको १३(३), प्र.लालबहादुर सतार, मल्ला विहारी र कुमार राईलाई ऐ. को १७(३) अनुसारको कसूरदार ठहराएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु झापा जिल्ला अदालतको इन्साफ मनासिब ठहराई प्र.भेषबहादुर र तुलबहादुरलाई ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको र प्र.लालबहादुर सतार, भल्लु सतार र कुमार राईलाई ऐ. को १७(३) अनुसारको कसूरदार ठहर गर्नु हुने सहयोगी मा.न्या. श्री झुलेन्द्रप्रसाद छतकुलीज्यूको रायसंग म सहमत हुन सकिन, तसर्थः आफ्नो छुट्टै राय लेखी दिएको छु भन्ने समेत मा.न्या.श्री नरेन्द्रबहादुर न्यौपानेज्यूको २०४१।८।१७।१ को राय ।
३२. पैनीसम्म पुर्याएकै कुराबाट निजहरुले मारेको हो भन्न कानूनले नमिल्ने हुँदा शंकै शंकाको आधारमा कसूरदार ठहराउँन नमिल्ने भई शंकाको सुविधा प्रतिवादीहरुले पाउने हुन्छ । त्यसकारण उपरोक्त बुँदा प्रमाणबाट समेत प्र.भेषबहादुर थापा समेतका प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई पाउने ठहर्याएको सहयोगी मा.न्या.श्री नरेन्द्रबहादुर न्यौपानेको रायसंग यो बेञ्च सहमत भई यो फैसला गरिदियाँ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको मा.मु.न्या. ओमभक्त श्रेष्ठको रायसाथ भएको मिति २०४२।५।१२।४ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
३३. ठोस सबूद प्रमाणको आधारमा प्रतिवादीहरुले कसूर गरेको प्रमाणित हुँदा हुँदै प्रतिवादीहरुलाई सफाई दिई पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानूनसंगत नभएकोले बदर गरी प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
३४. परिस्थितिजन्य प्रमाणबाट प्रतिवादीहरुले अविकेशर भारतीलाई कर्तव्य गरी मारेको देखिन आउने यस स्थितिमा पु.क्षे.अ.को फैसला सर्वोच्च अदालत फुल बेञ्चको नि.नं. २७७२ को पुनरावेदक बुद्धिबहादुर विरुद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०४३ पृष्ठ ६१५) र डिभिजन बेञ्चको नि.नं. २५२१ को दिलीप सिंह ठाकुर वि.श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०४२ पृष्ठ ९४१) को निर्णय विपरीत समेत भएको देखिँदा सो क्षेत्रीय अदालतको निर्णयसँग सहमत हुन सकिएन । तसर्थः अ.बं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली बमोजिम झगडिया झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
३५. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री बलराम के.सी. र प्रतिवादीहरु कुलप्रसाद, रामनारायण, विजयकुमारको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
३६. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
३७. यसमा निर्णयतर्फ विचार गर्दा, मृतक अविकेशर भारती मिति २०३९।५।८ मा कुलबहादुरको घरमा आई पुल्ठो बनाउँन लगाई लालेसतार समेतका व्यक्तिहरुसाथ हिँडेको देखिन्छ । त्यसको भोलिपल्ट निज अविकेशरलाई मरेको अवस्थामा फेला पारिएको रहेछ । निजलाई लागेको घाउ चोट र लाश प्रकृति मुचुल्काबाट कर्तव्यबाट मरेको भन्ने देखिने र सोही कुरालाई पोष्ट मार्टम प्रतिवेदनबाट समेतले समर्थन गरेको देखिन्छ । अर्थात् अविकेशरको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरा पुष्टि भएकै छ ।
३८. अब को कसको कर्तव्यबाट निजको मृत्यु हुन गएको हो भन्ने तर्फ विचार गर्दा मृतक पुल्ठो लिएर कूल बहादुरको घरबाट फर्कंदा लालेसतार, विजय सुब्बा साथ लागेर आएका मृतकलाई ढुकी बसेका प्रतिवादी भेषबहादुर र तुलबहादुर मध्ये प्र.भेषबहादुरले पहिले लाठीले र तुलबहादुरले लात घुस्साले हिर्काएको र लालेसतारलाई अह्राउँदा निजले फरुवाले हानेको भनी प्रतिवादी भेषबहादुरको अधिकार प्राप्त अधिकारी समक्ष सावित बयान भएको देखिन्छ । सोही व्यहोराको बयान प्र.तुलबहादुरको समेत रहेको देखियो ।
३९. मृतकलाई पुर्याउँन गएका विजयकुमार सुब्बाको भनाइबाट पनि प्र.भेषबहादुर र प्र.तुलबहादुरको बयान समर्थित भएको देखिन्छ । अपराध गर्नु पूर्व बाटोमा ढुक्ने कुरा गर्दै प्र.भेष र तुला हिंड्ेको भनी प्र.कुलप्रसादले कागज गरेको पाइन्छ । सरजमीनको जोगमाया राइनीले अदालतमा बकपत्र गर्दा मृतक मर्नु अघि प्र.भेषबहादुर र तुलबहादुरले साथै रक्सी खाएको कुरा पुष्टयाई गरेको छ ।
४०. पुल्ठोवाले र मृतकसाथ गएका, परस्पर पोल गरी अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीहरुको बयान भएको र मृतकको लास रहेको ठाउँमा बयान बकपत्रमा मेल खाने गरी पुल्ठो समेत प्राप्त भएको देखिन्छ । बरामदी मुचुल्कामा अपराध गर्दा प्रयोग भएको फरुवा बरामद भएको उल्लेख गरेको पाइन्छ । मृतकलाई भेषबहादुरले हिर्काउँदा प्रयोग गरिएको लाठी मबाट लिएका थिए भनी मिश्री सतारले सनाखत कागज गरेको रहेछ । यस्तो स्थितिमा मृतकको मृत्यु कर्तव्यबाट भएको र घटनापूर्व अघिल्लो दिन पुल्ठो लिई हिँडेको देखी लास परेकोसम्मको स्थिति र प्रतिवादीहरुको बयानबाट मुख्य कर्तव्यवाला प्रतिवादी भेषबहादुर र प्र.तुलबहादुर भएको कुरा पुष्टि हुन आउँछ । निजहरु अदालतमा आई इन्कार रहे तापनि परिस्थितिजन्य प्रमाण निजहरुको इन्कारी विरुद्ध रहेको देखिन्छ । तसर्थः निजहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । अब अर्का प्र.लालेसतार भन्ने लालबहादुरको हकमा निजले पछि फरुवाले प्रहार गरेको भनी स्वयं अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको र सावितीलाई पुष्टि हुने खालको लास प्रकृति मुचुल्का र प्र.भेषबहादुर समेतको बयान भएको तथा विजयकुमार समेतको भनाई रहेबाट निजको समेत उक्त वारदातमा संलग्नता रहेको देखिन्छ । तापनि बाटो ढुकी बसेका प्र.भेषबहादुर र तुलबहादुरको झैं निजले ज्यान मार्ने पूर्व मनसाय लिएको देखिएन । ज्यान मार्ने मतलबीसम्म भएको देखिएकोले निजलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुन्छ । निजहरुलाई सफाई दिने गरेको पू.क्षे.अ.को फैसला उल्टी हुन्छ । अन्य प्रतिवादीहरु कुलबहादुर लिम्बू, विजयकुमार लिम्बू, मल्लु विहारी, कुमार राई र रामनारायण प्रधानको हकमा प्रहरी प्रतिवेदनको दावी पुष्टि हुन नआएकोले अभियोगबाट सफाई दिने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिँदा निजहरुका हकमा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरु के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजहरुलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद हुने ठहरेकाले बेरुजू हुँदा लगत कसी असूल गर्नु भनी झापा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१ जि.झापा महेशपुर गा.पं. वार्ड नं. ३ बस्ने भेषबहादुर थापा...१
ऐ. ऐ. बस्ने तुलबहादुर थापा...१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी लाले सतार भन्ने लालबहादुर सतारलाई ज्या.सं.को १७ (३) नं. बमोजिम ६ महिना कैद हुने ठहरी फैसला भएकोमा निज प्रहरी हिरासतमा २०३९।६।१३।४ र झापा जिल्ला अदालतका आदेश बमोजिम २०३९।७।३ देखि झापा कारागार शाखामा थुनामा रहेको र पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला बमोजिम जि.का. कारागार शाखा चन्द्रगढीले २०४२।६।६ मा थुनाबाट छुटकारा दिएको कारागार शाखाको पत्रबाट देखिएकोले निजलाई यस अदालतबाट लागेको ६ महिना कैद बसी भुक्तान गरी सकेको हुँदा लगत कसी असूल गरिरहन परेन...२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल असार ७ गते रोज ३ शुभम् ।