निर्णय नं. ३५३५ - अंश

निर्णय नं. ३५३५ ने.का.प. २०४५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ६१०
फैसला भएको मिति २०४५।६।१६।१ मा
पुनरावेद/प्रतिवादी : जि. तनहुँ सामु भगवतीपुर गा.पं. वडा नं. ४ बस्ने इन्द्रबहादुर श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने सेती श्रेष्ठ
मुद्दा : अंश
(१) अंशबण्डाको २२ नं. बमोजिम जाहेर गर्नु भनी गएको म्यादको आधारमा जाहेरी दिएकोमा जाहेरी आएपछि वादीबाट आएको तायदातीमा यो यस्तो भनी ठहर गरी तायदाती कायम गरी भाग अंश छुट्याउने गर्नु पर्नेमा सो कारवाही ठहर भएको नदेखिएको सो गर्नु बेगर वादीबाट आएको तायदाती कायम मानी सोहीबाट अंश छुट्याई दिने गरेको मिलेको नदेखिएकोले शुरुको ठहर सोही हदसम्म बदर हुने ।
(प्रकरण नं. १५)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. अन्यायवाला मानबहादुरको २ श्रीमतीमा जेठी डम्बरकुमारीतर्फ विपक्ष इन्द्रबहादुर छोरा भएको म कान्छीतर्फ छोरा छोरी नभए पनि सँगै सगोलमा बसी आएकोमा बुहारीको कुरा सुनी दुःख दिएकोले ३ अंशियारमा ३ भागको १ अंश भाग दिलाई पाउँ भन्ने समेत वादी दावी ।
३. म इन्द्रबहादुर १६ सालमै छुट्टी भिन्न भएको भन्ने प्र.इन्द्रबहादुर र वादीलाई चल र अचलमा कि.नं. ४६–१८७ को २ कित्ता जग्गा दिई छुट्याई दिएको बहिनीको घरमा गई बसेकी छिन् । इन्द्रबहादुर ०१६ सालमै छुट्टी भिन्न भएको भन्ने मानबहादुरको र इन्द्रबहादुरको छुट्टा छुट्टै प्रतिउत्तरपत्र ।
४. प्रतिवादीहरु पक्राउ भई नआएको र वादीले पनि अंशको फाँटवारी पेश गर्न नसकेको हुँदा पेश हुन आएका बखत कानून बमोजिम निर्णय हुने भन्ने २०३८।१२।१७ को फैसला ।
५. वादीबाट अंशको फाँटवारी पेश भएको हुँदा अंशबण्डाको २२ नं. बमोजिम दर्ता गरी पेश गर्नु भन्ने शुरु त.जि.अ. को आदेश ।
६. फाँटवारी अनुसारको ३ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने तनहुँ जि.अ. को फैसला ।
७. शुरु जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरुको ग.अं.अ.मा परेको पुनरावेदन ।
८. यसमा छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने ग.अं.अ. को आदेश ।
९. शुरु त.जि.अ. को इन्साफ मनासिबै ठहर्छ भन्ने समेत २०४१।१२।७ को ग.अं.अ. को फैसला ।
१०. अंशबण्डाको ३० नं. प्रतिकूल भएको प्रस्तुत फैसलाहरु उपर पुनरावेदन गर्न अनुमति प्रदान भई समेतको बण्डाबाट विपक्षले अंश पाउने गरी भएको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने प्र.इन्द्रबहादुरको निवेदन ।
११. वादीले तायदातीमा देखाएको कि.नं. १९० को जग्गा मुद्दा पर्नु अगावै बाबु मानबहादुरले छोरा इन्द्रबहादुरलाई २०३६।११।२० मा राजीनामा गरी दिएको प्रमाणबाट देखिन आएको सो समेत बण्डा लगाउँने गरेको फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
१२. प्रतिवादी मानबहादुरका २ श्रीमती जेठी डम्बरकुमारी निजपट्टि प्र.इन्द्रबहादुर एक मात्र छोरा भएका कान्छी वादी सेतीका छोराछोरी नभएको तीन अंश देखियो । वादी प्रतिवादीहरु बीचको रजिष्ट्रेशन भएको बण्डापत्र पेश हुन नसकेको व्यवहार प्रमाणबाट पनि अंश बण्डा भएको देखिन नआएकोले प्र.मानबहादुरले प्र.इन्द्रबहादुरलाई मिति २०३६।११।२० मा गरिदिएको राजीनामालाई मान्यता दिई कटाउँन समेत नमिल्ने भएबाट तायदातीमा लेखिएको सम्पत्ति मध्ये ३ खण्डको १ खण्ड वादीले प्रतिवादीहरुबाट अंश पाउने ठहर्याएको शुरुको फैसला सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराको मिति २०४३।११।२७ को फैसला ।
१३. शुरुको फैसला सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मनासिब ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा न्यायप्रशासन सुधार ऐन, २०३१ को संशोधित दफा १३(५)(ख)(ग) को प्रश्नमा गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रबहादुर श्रेष्ठको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१४. यसमा सेती श्रेष्ठले आफ्नो अंशको जग्गा आफ्ना नाममा दर्ता गराएको समेत भएपछि व्यवहार प्रमाणबाट पूर्णतः छुटी भिन्न भइसकेको देखिँदा अंशबण्डाको ३० नं. अनुसार वादीको दावी लाग्न नसक्नेमा वादी दावी बमोजिम ३ भागको १ भाग अंश पाउने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको ३० नं. को व्याख्या सम्बन्धी त्रुटी हुँदा पुनरावेदन गर्न अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०४४।५।२४।४ को आदेशानुसार प्रस्तुत मुद्दा यस अदालतको देवानी दायरीमा दर्ता भई पेश हुनआएको रहेछ ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले वादी विपक्षीलाई अघि नै अंश छुट्याई दिई निजको नामबाट २ नं. फाराम भरेको र छुट्याई दिएको जग्गा समेत विपक्षी वादीका नाउँमा दर्ता समेत भएको छ । २०१६ सालमा छुट्टी भिन्न भएका छोरालाई आफ्नो भागको जग्गा बिक्री गरी दाखिल खारेज समेत भई सकेको हुँदा व्यवहार प्रमाणबाट छुट्टिएको देखिने अवस्थामा दावी बमोजिम अंश पाउने ठहर्याएको नमिल्ने भन्ने समेत व्यहोराको बहस गर्नु भएकोबाट क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने तर्फ विचार गरिएमा वादीले प्रतिवादी आफ्नो लोग्ने मानबहादुर र सौतेनी छोरा इन्द्रबहादुरबाट अंश दिलाई पाउँ भनी दावी गरेकोमा प्रतिवादी मानबहादुरले प्रतिउत्तर दिँदा छोरा इन्द्रबहादुरलाई निजको अंश भाग दिई २०१६ सालमा नै छुट्याई दिएको सोही बमोजिम निजको अंश भागको जग्गा नापीमा फिल्ड बुकमा निजका नाउँमा र वादीको र मेरो भागको जग्गा मेरो नाउँमा फिल्डबुकमा देखाई नापी गराएको र पछि आफ्नो भाग छुट्याई देउ भनी वादीले जोड गरेबाट पञ्च भलाद्मी समेत राखी आफ्नो नाउँमा दर्ता रहेको कि.नं. ४६ को सम्पूर्ण कित्ता र कि.नं. ३८७ को आधा निज वादीलाई अंश छुट्याई दिएको, छोरा भिन्न बसेपछि वादी सगोलमा बस्दाको ऋण वापतमा आफ्नो नाउँको कि.नं. ५० को जग्गा सुमन सिंह र कि.नं. १९० को जग्गा छोरा इन्द्रबहादुरलाई बिक्री गरिदिई निजको नाउँमा दाखिल खारेज समेत भएको छ भन्ने जिकिर लिई प्रतिउत्तर परेकोबाट यिनी वादी मानबहादुर सित नापी हुँदाका अवस्था अर्थात् फिल्डबुक उतारबाट देखिएको नापी भएको मिति २०३१।१।४ सम्म सगोलमा रहेको र प्रस्तुत मुद्दामा वादीबाट तायदाती पेश भई मानबहादुर समेतका नाउँमा कानून बमोजिम सो तायदाती उपर जाहेर गर्नु भनी पठाएको म्यादमा प्रतिवादी मानबहादुरले उजूरी दिँदा वादीसित एकासगोल रहँदाको ऋणमा आफ्नो नाउँ दर्ताको कि.नं. १९० को जग्गा छोरालाई २०३६।११।२० मा राजीनामा गरी दिएको भनी देखाएकोबाट सो अवस्थासम्म सगोलमै रहेको देखिएकोबाट वादीले अघि नै अंश पाई आफ्नो नाममा भू.सु. ७ नं. फाराम भरेको भन्ने जिकिर पक्षकै भनाई सित मेल खाएको देखिन आएन । जहाँसम्म प्रतिवादीले वादीलाई कि.नं. ४६ को पुरै र कि.नं. ३८७ को आधा जग्गा अंश दिएको भन्ने हकमा दर्ता बुझिएकोमा मालपोत कार्यालय तनहुँको २०३७।८।२९ को पत्रबाट दर्ता उतार पठाउँदा सो दुवै कित्ता प्रतिवादी मानबहादुरकै नाममा दर्ता दाखिल रहेको देखिन आएकोबाट सौतेनी छोराको नाउँमा छुट्टै दर्ता देखिएकै आधारमा यिनीसित रीतपूर्वक बण्डा भइसकेको भन्न कानूनसंगत देखिन नआएको समेतबाट वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । सो बमोजिम अंश छुट्याउन प्रतिवादीबाट तायदाती नआई वादीबाट तायदाती दाखिल भएकोले अंशबण्डाको २२ नं. बमोजिम जाहेर गर्नु भनी मानबहादुर समेतको नाउँमा गएको म्यादको आधारमा मानबहादुरले विभिन्न कुराको जिकिर लिई जाहेर दिएको देखिन आउँछ । यस्तो जाहेरी आएपछि वादीबाट आएको तायदातीमा यो यस्तो भनी ठहर गरी तायदाती कायम गरी भाग अंश छुट्याउने गर्नु पर्नेमा जिल्ला अदालतमा सो कारवाही ठहर भएको नदेखिएको सो गर्नु बेगर वादीबाट आएको तायदाती कायम मानी सोहीबाट अंश छुट्याई दिने गरेको मिलेको नदेखिएकोले शुरु जिल्ला अदालतको ठहर सोही हदसम्म बदर हुन्छ, परेको जाहेरीमा अंशबण्डाको २२ नं. मा व्यवस्था भए बमोजिम ठहर गरी तायदाती कायम गरी पाउने ठहरेको अंश छुट्याई दिनु भनी पक्ष विपक्षलाई तारिख तोकी यस अदालतको दायरी लगत कट्टा गरी शुरु मिसिल शुरु जिल्ला अदालत तनहुँमा पठाई दिई रेकर्ड मिसिल रेकर्ड शाखामा बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल आश्विन १६ गते रोज १ शुभम् ।