शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५३९ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५३९ ने.का.प. २०४५     अङ्क ८

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४५ सालको फौ.सा.नं.१४५

फैसला भएको मिति : २०४५।३।१।४ मा

 

वादी : प्र.ह.वलबहादुरको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : कृष्णबहादुर श्रेष्ठसमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                  बुहारीसँग अनुचित सम्बन्धबाट करणी लिनुदिनु भई त्यसबाट गर्भ रही जन्मेको जातक बच्चालाई लोकापवादबाट बाच्नको लागि घाँटी थिची मारेको भन्ने देखिन आएकोमा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई अ.बं.१८८ नं.ले कैद बर्ष १० हुने ।

(प्रकरण नं. १८)

 

फैसला

प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.     गस्ती गर्दै जाँदा कृष्णबहादुर श्रेष्ठ र निजकै बुहारी मनमायाको करणी लिनु दिनु भई जीवित छोरा जातक जन्मेको मारी दवाए भन्ने सुनेकोले पक्राउ पर्दा ०४१।१।८ गते छोरा जन्मेको मारी गाडेको भनेकोले निजहरु दुवैजनालाई दाखिला गरेका छौं । कारवाही होस् भन्ने प्र.ह.वलबहादुर कोइरालाको प्रतिवेदन ।

३.     छोरा हस्तबहादुरको विवाह भएको ३ वर्ष पछि छोरा इण्डियातर्फ गएको र बुहारी घरमा बसेकी थिइन । बुहारी र म घाँस काट्न भित्ता खर्क भन्ने जङ्गलमा पुगी घाँस काट्न लागेको अवस्था बुहारीलाई कम्मर समाती लडाएँ, करणी लिनु दिनु भयो । भोलिपल्ट पनि गोठमा करणी लिनु दिनु भयो । ३/४ महिनापछि गर्भ रही ०४१।१।७ गते राती बुहारीको जातक बच्चा जन्मी रहेको रहेछ । बच्चा जीवित थियो । घाँटी थिची निचोर्दा  बच्चा मर्‍यो । लाश चौरी खोल्साको दुई ढुङ्गाको च्यापमा गाडी आएँ । मैले बच्चा मारेको कुरा बाबु आमा र बुहारी समेत ४ जनालाई मात्र थाहा छ भन्ने समेत अभियुक्त कृष्णबहादुर श्रेष्ठले प्रहरीमा गरेको कागज ।

४.     ०४०।४।२ गते ससुरा र म घाँस काट्न जङ्गलमा गयौं । करणी लिनु दिनु भयो गोठमा पनि करणी लिनु दिनु भयो । मलाई गर्भ रहेको कुरा ३ महिना पछि थाहा भयो । ०४१।१।७ गते राती विहानीपख व्यथा लागी ससुरा आइपुग्दा बच्चा पैदा भइसकेको थियो । ससुरा आइपुगेपछि बच्चाको घाँटी थिची मारी सो बच्चा गोठबाट निकाली कहाँ लगे मलाई थाहा भएन भन्ने समेत अभियुक्त मनमाया श्रेष्ठले प्रहरीमा गरेको  कागज ।

५.     म कृष्णबहादुरको श्रीमती भए पनि राम्रो बोलचाल नभएको हुँदा बुहारी र कृष्णबहादुरलाई प्रहरीले पक्राउ गर्दा निजहरुको भनाइबाट मात्र बुहारी मनमायाले बच्चा पाई मारेको थाहा पाएको हुँ भन्ने सुकुमाया श्रेष्ठले प्रहरीमा गरेको कागज ।

६.     म लोग्नेसंग भिन्न भएको बुहारी मनमाया र कृष्णबहादुरको सम्बन्धमा बच्चा जन्माई मारे भन्ने कुरा सुनेकी हुँ भन्ने समेत कृष्णमाया श्रेष्ठले प्रहरीमा गरेको कागज ।

७.     श्रीमानसंग भिन्न बसेको १४ बर्ष भयो । लोग्ने र बुहारी मनमायाको सम्बन्ध भई बच्चा जन्माई मारेछन् त्यो कुरा थाहा थिएन अहिले श्रीमान र बुहारीलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा थाहा पाएको भन्ने सुकुमाया श्रेष्ठले प्रहरीमा गरेको कागज ।

८.     छोरा कृष्णबहादुरले मेरो आमा बाबुलाई बच्चा मारेको थाहा थियो भने पनि म ९६ वर्ष उमेर पुगेको राम्रो होस समेत रहँदैन भन्ने समेत सुशी श्रेष्ठले प्रहरीमा गरेको कागज ।

९.     छोरा कृष्णबहादुर नातीनी बुहारी मनमायाले के के भनेका छन् होस नभएकोले थाहा छैन । कहीले बच्चा जन्माए मारे थाहा छैन भन्ने समेत जयबहादुर श्रेष्ठले प्रहरीमा गरेको कागज ।

१०.     ससुरा कृष्णबहादुर र बुहारी मनमायाले कर्णी लिनुदिनु गरी बच्चा मारे भन्ने थाहा थिएन अहिले निजहरु कै बयानबाट बच्चा जन्माई मारे भन्ने कुरा थाहा भयो भन्ने समेत ०४२।४।१६ को सरजमीन मुचुल्का ।

११.     प्र.कृष्णबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धीको १३ नं. देहाय ३ र मनमायालाई ज्यानसम्बन्धीको १७ नं. देहाय ३ बमोजिम सजायँ हुन अनुरोध छ भन्ने २०४२।४।२० को प्रहरी प्रतिवेदन ।

१२.    बुहारी मनमायासंग कर्णी लिनुदिनु भएको कारणबाट छोरा पैदा भयो । बच्चा मरेको थियो । मानिसले देख्छ भनी बच्चा खोल्सामा ढुंगाको ओडारमा गाडी दिएको हुँ । मैले बच्चाको घाँटी थिची मारेको  होइन । प्रहरीको कागज कुटपिट डर त्रासमा लेखाएका हुन् भन्ने समेत अभियुक्त कृष्णबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।

१३.    ०४०।४।४ गते ससुरा र म घाँस काट्न जंगलमा गएको कर्णी लिनुदिनु भई गर्भ रहेको ३ महिनापछि थाहा पाउँ । ०४१।१।१० गते व्यथा लागी ससुरा बोलाएँ ससुरा आउँदा बच्चा जन्मिसकेको थियो । ससुराले बच्चालाई स्याउलाले बोकी बाहिर लगे कता लगे थाहा भएन । प्रहरीमा गरेको कागज इच्छाले गरेको हुँ जिउँदो बच्चालाई ससुराले मारेको भनेको थिएन भन्ने समेत अभियुक्त मनमाया श्रेष्ठले अदालतमा गरेको बयान ।

१४.    प्र.कृष्णबहादुरलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्र.मनमाया श्रेष्ठको हकमा बच्चा मार्नमा सक्रिय सल्लाह नदिएको देखिँदा कसूरको अवस्था समेत विचार गर्दा ज्यानसम्बन्धीको १७ नं. को देहाय ३ बमोजिम तजबिजी साढे १० महिना कैद हुने ठहर्छ भन्ने सोलुखुम्बु जिल्ला अदालतको ०४३।२।२१ को फैसला ।

१५.    सोलुखुम्बू जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०४४।८।७।२ को फैसला ।

१६.     प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? हेरी साधक निर्णय दिनु पर्ने हुन आएको छ ।

१७.    यस्मा प्र.कृष्णबहादुर श्रेष्ठका हकमा साधक निर्णयतर्फ हेर्दा अभियुक्त कृष्णबहादुर श्रेष्ठ र मनमाया श्रेष्ठले अनुचित सम्बन्धबाट कर्णी लिनुदिनु गरी गर्भ रहेकोमा ०४१।१।७ गते जन्मेको जिउँदो बालकलाई मारेमा प्र.कृष्णबहादुरलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम र प्र.मनमायालाई ज्यानसम्बन्धीको १७ नं. को देहाय ३ बमोजिम सजायँको माग दावी गरी प्रहरी प्रतिवेदन परेको देखिन्छ । अभियुक्त कृष्णबहादुर श्रेष्ठले बुहारी मनमायासंग कर्णी लिनु दिनु भई गर्भ रह्यो । ०४१।१।७ गते जातक बच्चा जन्मेको जीवितै थियो सो बच्चाको घाँटी थिची निचोर्दा बच्चा मर्‍यो खोल्सामा गाडेँ भनी सावित भई प्रहरीमा कागज गरेका पाइन्छ । तर अदालतमा बयान गर्दा बच्चा मरेको थियो, मारेको होइन प्रहरीको कागज डर त्रासमा लेखाएको हो भनी बच्चा मारेमा इन्कार रहेको देखिन्छ । प्र.मनमायाले प्रहरीमा कागज गर्दा जिउँदो बच्चालाई ससुराले मारेको भनेको थिइँन भनेको देखिन्छ । ससुरा र छोरा बुहारीमा कर्णी लिनुदिनु भई गर्भ रहेको सो गर्भबाट बच्चा जन्मेको कुरामा दुवै अभियुक्तको मुख मिलेकै छ । त्यसमा कुनै विवाद देखिँदैन । बच्चा जन्मेको जिउँदो बालकलाई घाँटी थिची मारेको भनी प्र.कृष्णबहादुरले प्रहरीमा सावित भई बयान गरेको छ प्रहरीले त्यसरी बच्चा मारेको हो भनी सावित गराउनु पर्ने मनासिब कारण कुनै दिनसकेको छैन । प्र.मनमायाको लोग्ने प्र.कृष्णबहादुरको छोरा हस्तबहादुर भनेको सिंगदास श्रेष्ठले सरजमीन भएको बखत बाबु कृष्णबहादुरलाई बच्चा मारेको हो होइन भनी सोधनी गर्दा मैले मारेको हो भनी भनेको हो भनी अदालतमा बकपत्र गरेको देखिन्छ । यसबाट समेत प्रहरीमा भएको सावितीको पुष्टि भएको पाइन्छ । प्रहरीमा गरेको कागज स्वेच्छाले भएको होइन भन्न सकिने आधार कुनै देखिँदैन । निज प्रतिवादी कृष्णबहादुरलाई आरोपित कसूरमा सजायँ गरेउपर पुनरावेदन गर्नसकेको पनि छैन । तसर्थ अरु शुरु जिल्ला तथा क्षेत्रीय अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत प्रतिवादी कृष्णबहादुर श्रेष्ठले अनुचित सम्बन्धबाट गर्भ रही जन्मेको बच्चालाई लोकापवादबाट बँच्न घाँटी थिची मारी आरोपित कसूर गरेको भन्ने देखिन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको शुरु सोलुखुम्बु जिल्ला अदालतको इन्साफलाई सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ ।

१८.    प्रतिवादी कृष्णबहादुर श्रेष्ठले अदालतमा जन्मेको बच्चा मरेको थियो मैले मारेको होइन भनी इन्कार रही बयान गरेको छ । तर प्रहरीमा बयान गर्दा बुहारीसंग कर्णी लिनुदिनु भई गर्भ रह्यो र जातक जिउँदो बच्चा जन्मेको घाँटी थिची मारेको भनी सावित भई बयान गरेको देखिन्छ । अपराधको अवस्था हेर्दा आफ्नो छोरा बुहारी मनमायासंग अनुचित सम्बन्धबाट कर्णी लिनु दिनु भई त्यसबाट गर्भ रही जन्मेको जातक बच्चालाई लोकापवादबाट बँच्नको लागि घाँटी थिची मारेको भन्ने देखिन आयो । यस्तोमा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निज प्र.कृष्णबहादुर श्रेष्ठलाई अ.बं.१८८ नं.ले कैद बर्ष १०(दश) हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी कृष्णबहादुर श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिएअनुसार अ.बं.१८८ नं.ले कैद बर्ष १०(दश) हुन्छ । निज ०४२।४।६ देखि थुना परेको र हाल जि.का.कारागार  शाखा सोलुखुम्बूमा बन्दी हुँदा थुनामा परेका मितिदेखि कैद कट्टी गर्नु भनी सोलुखुम्बू जि.अ.मा लेखी पठाउँन का.जि.अ.मा लगत दिनु ..१

प्र.कृष्णबहादुर श्रेष्ठके सोलुखुम्बू जिल्ला अदालतका ०४३।२।२१ का फैसलाले सर्वश्वसहित जन्मकैद गर्ने गरेकोमा माथि लेखिएअनुसार १० वर्ष मात्र कैद हुने भएकोले सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरिदिनु भनी सोलुखुम्बू जि.अ.मा लेखिपठाउन का.जि.अ.मा लगत दिनु .....२

सोलुखुम्बू जि.अ.का मिति ०४३।२।२१ का फैसलाले प्र.कृष्णबहादुर श्रेष्ठको सर्वश्व रोक्का गर्ने गरेकोमा सो सर्वश्व रोक्का गर्नुपर्दैन रोक्का भएको भए फुकुवा गरिदिनु र रोक्का नभएको भए रोक्का गर्नु पर्दैन भनी सोलुखुम्बू जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ..३

कैद वर्ष १० मात्र हुने गरी साधक निर्णय भएको सूचना प्र.कृष्णबहादुर श्रेष्ठलाई दिनु ....४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु .................................. ५

 

उक्त रायमा म सहमत छु ।

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल आषाढ १ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु