शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५४७ - जग्गा खिचोला दर्ता बदर हक कायमसमेत

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५४७ ने.का.प. २०४५     अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.पु.नं. ६७९

फैसला भएको मिति : २०४५।४।२६।४ मा

 

पुनरावेदक/वादी : हे.न.पं.वा.नं.९ बस्ने कर्णबहादुर बल तामाङ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने दिलशोभा बाबु

 

मुद्दा : जग्गा खिचोला दर्ता बदर हक कायमसमेत

 

(१)                  रजिष्ट्रेशन पारित नभएको घरसारको लिखतबाट अचल सम्पत्ति जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने ।

(प्रकरण नं. १६)

(२)                रजिष्ट्रेशन पारित नभएको छोडपत्रको लिखतको आधारमा विवादको जग्गाको दर्ता कायम हुने ठहर्‍याएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने ।

(प्रकरण नं. १६)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान गर्ने आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुतमुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ :

२.     मैले ०२१।११।१२।३ मा राप्तीदुन चितौन जग्गा बिक्री वितरण कमिशनबाट जिल्ला मकवानपुर प्रगन्ना सेश्रा मौजे पशुपतिनगरमा पूर्व घडेरी लाईन, पश्चिम खोल्सो, उत्तर प्रेमकृष्ण, दक्षिण वीरबहादुर यति ४ किल्लाभित्रको कि.नं.४४ को जग्गा विगहा ११८ को मैले उक्त चलानी पुर्जीबाट प्राप्त गरी त्यसको लाग्ने प्रतिमूल्य मालपोत समेत मकवानपुर मालमा तिरी बुझाई र.नं.४८ मा दर्ता भई अविछिन्न भोगी चर्ची आएको जग्गा हो । उक्त जग्गा मध्येकै ०१०१३ ज.वि.नै विपक्षले हाल नापीमा कि.नं.३७२ मा विपक्ष दिलशोभाका नाउँमा जग्गा नाप जाँच ऐन, ०१९ को दफा ६ को उपदफा (७) बमोजिम दर्ता गरिदिने चित्त नबुझ्ने पक्षले ३५ दिनभित्र उजूर गर्नसक्ने छ भनी ०३७।१०।५ मा पर्चा खडा गरी ०३७।१०।९ मा सूचना तामेल भएको थियो । विपक्षले नाप नक्शा गराएको मेरो साविक कि.नं.४४ र.नं.४८ को जग्गा नै हाल नापीमा आफ्नो नाउँमा कि.नं.३७२ मा ज.वि.०१०१३ नाप नक्शा गराएको हो । विपक्षले मेरो जग्गा छैन भन्न र यो ठाउँमा पर्छ भनी लेख्न सकेको छैन कथित बोलपत्रको आधारबाट मेरो नम्बरी जग्गा गायव हुने प्रश्न नै छैन । मेरो नम्बरी हक हुनआएको नम्बरी प्रमाण नापी टोलीमा पेश गरेको छु । विपक्षको मेरो भन्दा बलियो यो प्रमाण भन्ने पर्चामा उल्लेख छैन । विपक्षलाई भोगवाला भनेकोमा निजले भोग गरेको जोताहा निस्सा आदि कुनै प्रमाणित छैन । तसर्थ मेरो साविक कि.नं.४४ र नं. ४८ को जग्गा विगहा ११८ मध्येमा नै विपक्षले नापी गराउनु भएको हाल नापीको कि.नं.३७२ ज.वि.०१०१२ विपक्षीका नाउँमा दर्ता गरिदिने गरेको निर्णय पर्चा लेनदेन व्यवहारको ३१ नं.र रजिष्ट्रेशनको १ नं.ले बदर गरी उक्त कि.नं.३७२ को समुच्चा जग्गा विगहा ०१०१३ को प्रचलित मूल्य रु.४००।मोलिने उक्त जग्गा मेरो हक कायम दर्ता हुने गरी चलन चलाई न्याय पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.     मैले छोडपत्र गरिदिएको भन्ने काल्पनिक एवं झुठ्ठा हो भन्ने विपक्षको लेखाई भए तापनि छोडपत्र लेखिदिएकै होइन भन्न सकेको छैन । नापीमा छोडपत्रको नक्कल मैले पेश गरेको र सो नक्कल वादीले हेरी देखी सकेको फिराद लेखाइबाटै प्रष्ट छ । राप्तीदुन जग्गा बिक्री वितरणबाट पाएको राजीनामा पारित गरी बेचबिखन गर्न बन्देज भएको हुँदा छोडपत्र गरी लिनु दिनु पर्ने प्रचलन भएको हो । तसर्थः रजिष्ट्रेशनको १ नं.अप्रासंगिक छ । छोडपत्र तथा मैले राजीनामा गराई लिएको जग्गा अन्यत्र छ भनी विपक्षीले देखाउन सकेको पनि छैन । सरजमीन हुँदा कि.नं.३७२ को जग्गा मेरो हक भोगको हो भनी बहुसंख्यक व्यक्तिले लेखाएका छन् । त्यसमा उजूर गरेको पनि छैन । नापीमा कि.नं.४०५ र ३४९ मा पनि दावी लिएको तर यसमा सो कित्ताउपर दावी लिन नसकेबाटै वादी झुठ्ठा आधारमा चलेको स्वतःसिद्ध छ । सबूद प्रमाणको मूल्यांकन गरी त्यसको आधारमा नापी अधिकृत क्याम्पले अ.बं.१८५ नं. अनुसार गरेको निर्णय र सो निर्णय बमोजिम भएको मेरो दर्ता बदर हुन पर्ने होइन । झुठ्ठा दावी गरी दुःख दिने वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.     वादीको दर्तातिरो भित्रको उक्त विवाद कित्ता नम्बर जग्गा वादीको हकको देखेकोले अस्थायी दर्ता गर्ने गरेको उक्त कित्ता नापी क्याम्पको पर्चा बदर हुने र वादी दावी अनुसार वादीले चलन पाउने समेत ठहर्छ भन्ने समेत व्यहोराको मकवानपुर जि.अ.को मिति २०३९।८।८ को फैसला ।

५.     शुरु मकवानपुर जिल्ला अदालतको फैसला कानून एवं न्यायसंगत नहुँदा सो फैसला पूर्णरुपले उल्टाई नापी दर्ता क्याम्पको दर्ता सदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको दिलशोभा बाबुको ना.अं.अ.मा परेको पुनरावेदन ।

६.     शुरु जिल्ला अदालतबाट वादी दावी बमोजिम पर्चा बदर गरी विवादको जग्गामा चलन समेत पाउने ठहराएको शुरु इन्साफ मिलेन, बदर गरिदिएको छ र वादी दावी नपुग्ने समेत ठहर्छ भन्ने समेत व्यहोराको ना.अं.अ.को मिति २०४०।९।२४ को फैसला ।

७.     न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख), (ग) को प्रश्नहरु उपस्थित गरी नारायणी अञ्चल अदालतबाट फैसला भएको हुनाले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको कर्णबहादुर बल तामांगको यस अदालतमा पर्न आएको निवेदन ।

८.     घरसारको लिखतबाट अचल सम्पत्ति पक्रन नपाउने भन्ने कानूनको पृष्ठभूमिमा घरसारको छोडपत्रलाई प्रमाण लिई दर्ता गर्ने गरेको निर्णयलाई सदर राख्ने गरेको ना.अं.अ.को फैसलामा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) ले त्रुटिपूर्ण भन्नु पर्ने हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएकोछ भन्ने समेत व्यहोराको २०४१।६।२८ को म.क्षे.अ.सिंगल बेञ्चको आदेश ।

९.     कि.नं.३७२ को जग्गा समेत छोडपत्र एवं भोगचलनकै आधारमा दिलशोभाको नाममा अस्थायी दर्ता कायम हुनआएको देखिँदा प्रमुख नापी अधिकृत क्याम्प कार्यालय हेटौंडाको मिति २०३७।१०।५।१ को निर्णयलाई बदर गराई पाउन र सो विवादको जग्गामा वादीको हक कायम गरी चलन पाउँ भन्ने वादी दावी पुग्ने नदेखिँदा शुरु जि.अ.मकवानपुरको फैसला बदर गरी वादी दावी पुग्न नसक्ने ठहराएको ना.अं.अ.को इन्साफ मनासिब छ भन्ने समेत म.क्षे.अ.को फैसला ।

१०.     म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा वादीको निवेदन परेकोमा कर्णबहादुरले मिति २०२६।१।७।७ मा दिल शोलाभालाई गरिदिएको घरसारको छोडपत्र पास नभएको भन्ने कुरा प्रतिवादीले स्वीकार गरेको र यस्तो पास नभएको लिखतको आधारमा विवादको जग्गा दिलशोभाको नाउँमा नापी टोलीले अस्थायी दर्ता गर्ने गरेकोमा उजूर परी नापी टोलीले अस्थायी दर्ता गर्ने गरेको बदर हुन्छ र वादी दावी बमोजिम चलन पाउने ठहर गरेको जि.अ.को फैसलालाई उल्टी गर्ने गरेको ना.अं.अ.को फैसला सदर गर्ने गरेको म.क्षे.अ.को फैसला रजिष्ट्रेशनको १,,६ नं. र लेनदेन व्यवहारको ३१, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटी भएको भनी यस अदालत संयुक्त इजलासबाट मिति ०४३।७।१९ मा पुनरावेदन गर्ने अनुमति दिने भनी आदेश भएको रहेछ ।

११.     नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले प्रतिवादी दिलशोभाले गराई लिएको छोडपत्र रजिष्ट्रेशन पारित नहुँदा त्यस्तो लिखतको आधारमा विवादीत जग्गामा प्रतिवादीको हकै कायम हुन नसक्नेमा प्रतिवादीको नाममा दर्ता गर्ने गरी वादी दावी खारेज गर्ने गरेको इन्साफ मिलेको छैन, वादी दावी कायम हुन पर्छ भनी गर्नु भएको बहस र विपक्षी प्रतिवादीको वा. केदारकृष्णको छलफल समेत सुनियो ।

१२.    अब क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सोको निर्णय दिनु परेको छ ।

१३.    निर्णयतर्फ विचार गर्दा यसमा मुख्यतः विवादको कि.नं.३७२ को जग्गामा प्रतिवादी दिलशोभा बाबु वा पुनरावेदक वादी कसको हक कायम हुने हो सोही कुराको निर्णय दिन पर्ने देखिन्छ ।

१४.    विवादीत उक्त कि.नं.३७२ को जग्गा राप्तीदुन चितवन जग्गा बिक्री वितरणबाट प्राप्त गरी  मेरो नाममा मकवानपुर मालमा साविक कि.नं.४४ रै.नं. मा दर्ता भई अविछिन्न रुपमा भोगी आएको जग्गालाई प्रतिवादीले नापीमा कि.नं.३७२ मा दर्ता गराएकोले सो दर्ता बदर गरी मेरो हक कायम गराई पाउँ भन्ने वादी दावी भएकोमा विवादको उक्त कि.नं.३७२ को जग्गा वादीले छोडपत्र गरिदिएको हुँदा मेरो हक भोगको जग्गा हो भन्ने प्रतिवादी जिकिर देखिन्छ ।

१५.    अब दुवैको हकको श्रोतको विश्लेषण गर्दा विवादको उक्त कि.नं.३७२ को जग्गा वादीले राप्तीदुन चितौन जग्गा वितरणबाट प्राप्त गरी साविक कि.नं.४४,रै.नं.४८ मा वादीको नाममा दर्ता भएको कुरा प्रतिवादीले स्वीकार गरेकै पाइन्छ । अब वादीले सो जग्गा प्रतिवादीलाई छोडपत्र गरिदिएको भन्ने हकमा विचार गर्दा प्रतिवादीले पेश गरेको मिति २०२६।१।७।७ को घरसारको लिखत रजिष्ट्रेशन पारित भएको देखिन आएन । मुलुकी ऐन, रजिष्ट्रेशनको १ नं.को देहाय १ मा विक्री वा अरु कुनै किसिमले आफ्नो हक छोडी दिएको लिखत समेत रजिष्ट्रेशन पारित गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको देखिन्छ ।

१६.     यसप्रकार रजिष्ट्रेशन पारित नभएको घरसारको लिखतबाट अचल सम्पत्ति जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने हुनाले विवादको कि.नं.३७२ को जग्गामा प्रतिवादी दिलशोभा बाबुको हक पुग्न सक्ने देखिँदैन । सो जग्गामा वादीको हक कायम हुने ठहर्छ । तसर्थ रजिष्ट्रेशन पारित नभएको छोडपत्रको लिखतको आधारमा विवादको कि.नं.३७२ प्रतिवादी दिलशोभाको नाममा दर्ता कायम हुने ठहर्‍याएको ना.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने ठहर्छ । सो जग्गामा वादी दावी बमोजिम वादीको हक कायम हुने ठहर्‍याई नापीले प्रतिवादी दिलशोभाको नाममा अस्थायी दर्ता गर्ने गरेको निर्णय बदर हुने र वादी दावी अनुसार वादीले चलन पाउने समेत ठहर्‍याएको शुरु मकवानपुर जिल्ला अदालतको इन्साफ सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएअनुसार वादी दावी कायम हुने ठहरेकोले देहाय बमोजिम गर्नु भनी शुरु जि.अ.मकवानपुरमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु . १

वादीले देहायका अदालतमा राखेको कोर्टफी प्रतिवादीबाट भराई पाउँ भनी कानूनका म्यादभित्र वादीको दर्खास्त परेमा कुनै दस्तूर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु ..२

मकवानपुर जि.अ.मा राखेको कोर्टफी रु.१५६८।म.क्षे.अ.मा राखेको कोर्टफी रु.२३५।२० सर्वोच्च अदालतमा राखेको कोर्टफी रु.२३५।२० वादी दावीको कि.नं.३७२ को जग्गा प्र.दिलशोभा बाबुको नामको अस्थायी दर्ता कट्टा गरी वादीको नाममा दर्ता गरिदिनु भनी नापी शाखा मकवानपुरलाई लेखी पठाउनु ....३

दं.स.को ४३ नं. को म्यादभित्र चलन चलाई पाउँ भनी वादीले दर्खास्त दिएका बखत सयकडा २।५० (रु. दिई पचास पैसा) दस्तूर लिई वादी दावी बमोजिम चलन चलाई दिनु .....३

का.जि.अ.मा प्र.ले राखेको जेथा जमानीको हकमा नारायणी अञ्चल अदालतको मिति २०४०।९।२४ को फैसलाले कायम गरेको लगत बमोजिम गरी बा.अं.अ.को अरु लतग कट्टा गरिदिनु ... ४

मिसिल नियम बमोजिम अभिलेख (मिसिल) शाखामा बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल श्रावण २६ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु