निर्णय नं. ३५५१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३५५१ ने.का.प. २०४५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् ०४४ सालको रि.नं. १५१६
आदेश भएको मिति : २०४५।६।१८।३ मा
निवेदक : जि.वारा लक्ष्मीपुर कोतवाली गा.पं.वा.नं.५ बस्ने सवेना अन्सारीसमेत
विरुद्ध
विपक्षी : भूमिसुधार अधिकारी भू.सु.का.बारासमेत
विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) साविक मोही परलोक भएपछि निज स्वास्नी छोराहरुले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोही नामसारी गरिपाउँ भनी निवेदन उजूरी दिएपछि उक्त कानूनको प्रकृया अपनाई कारवाही गर्नुपर्ने अनिवार्य देखिने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षीर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ :
२. विपक्षी लगन साहू कानुको नाउँमा दर्ता भएको बारा जिल्ला लक्ष्मीपुर कोतवाली गा.पं.व.नं.१ को कि.नं.२४८ को क्षेत्रफल ०–८–० कठ्ठा जग्गाको हाम्रो पति, बाबु फजुल मियाँ ऐनको दफा २५(१) अन्तर्गतको हक प्राप्त मोही हुनुहुन्थ्यो । मिति ०४१।५।२ का दिन आफ्नो कालगतिले उहाँ परलोक हुनु भएपछि पनि हामीले जोत्दै आएका छौं । २०४१ को बालीमा विपक्षी कानुले बालीमा विवाद उठाएकोले मोहियानी हटक गर्यो भनी म इजराइल मियाँको उजूर पर्दा विपक्षी भू.सु.का.बाट विपक्षी कानुलाई झिकाई २०४१।५।३१ मा मोही हटक गरेको देखिएकोले निर्देशन समेत जारी हुने ठहर्याई निर्णय भएकोमा विपक्षी कानुले सो निर्णय बदर गराउँन सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा ०४२।६।१७।५ मा मोही नामसारी नभई मोही हक नै नपुगेको व्यक्तिले मोही हटक गर्यो भन्न नमिल्ने भन्ने आदेश जारी भयो । सो आदेशबाट विपक्षी भू.सु.का.को पूर्व निर्णयसम्म बदर भए पनि पति, बाबु फजुल मियाँ नाउँको मोहियानी हकमा कुनै असर नपरेकोले भूमिसम्बन्धी ऐनको दफा २६(१) अन्तर्गत हामी छोराहरुको मञ्जूरीसहित म आमा सवेना अन्सारिनको नाउँमा मोहियानी नामसारी गरिपाउँ भनी २०४२।८।६ मा विपक्षी भू.स.का.मा संयुक्त निवेदन दिएकोमा विपक्षी लगन साह कानूलाई झिकाई बयान गराउँदा मोही भएकै कुरामा इन्कारी बयान दिएको र विपक्षी भू.सु.का.ले सर्वोच्च अदालतको मिति २०४२।६।१७।५ को आदेशलाई आधार बनाउँदै मोही लगत कट्टा हुने ठहर्छ भन्ने निर्णय गरी ०४४।५।३१ मा म सवेना अन्सारीलाई जानकारी दिनु भएकोले भूमिसम्बन्धी ऐन, २०२१ द्वारा प्रदत्त कानुनी हक तथा संविधानको धारा १०(१),११(१),११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकहरुमा समेत आघात परेको र अन्य उपचारको बाटो नहुँदा संविधानको धारा १६।७१ अन्तर्गत रिट निवेदन गर्न आएका छौं । बाबु/पतिका नाउँको मोहियानी हकको प्रमाण–पत्र हामीसंग छ । लगत कट्टा गर्ने निर्णय विपक्षीबाट भएकोले लगत भएको स्वतः स्पष्ट छ । स.अ.को आदेशले मोही नामसारी हुन बाँकी रहेको आधारमा मात्र हटक नभएको ठहर गरेको हो मोही हकमा कुनै प्रतिकूल असर गरेको छैन । हामी निवेदकहरुले मोही नामसारीको दावी लिएकोमा लगत कट्टा गर्ने निर्णय भएबाट दावी बाहिर गई विपक्षीबाट निर्णय भएको छ । तसर्थ अ.बं.३५,१८४(क), १८५ र १८९ एवं प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत हुन गएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम मोही रोज्न लगाउनु भनी विपक्षी कार्यालयका नाउँमा आदेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदन रहेछ ।
३. विपक्षीहरुबाट लिखित जवाफ मगाउने भन्ने सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट मिति ०४४ कार्तिक ९ गते भएको आदेशानुसार प्राप्त लिखित जवाफको संक्षिप्त व्यहोरा निम्नानुसार रहेछ ।
४. मिति २०४३।६।१२ को भू.सु.कार्यालयको निर्णय विपक्षीहरुलाई मौकैमा थाहा भएको हुँदा निजहरुलाई विलम्बको सिद्धान्त लागू हुन्छ । सर्वोच्च अदालतबाट मोहियानी हकदैया नै नरहेको ठहर भई इजरायल इन्सारीको निवेदन खारेज भएकोले अ.बं.८५ नं. विपरीत प्रस्तुत रिट पर्न आएको छ । फुजुल मियाँका नाउँमा मोहियानी कायम भएको लगत भू.सु.ऐनको रीत पुगेको नभई नापीको बखतमा मात्रै कायम भएकोले त्यस्तो बेरीतको लगत कट्टा गर्न आवश्यक भएकोले भू. सु. का.बाट लगत कट्टा गर्ने गरेको निर्णय पूर्णतःअधिकार क्षेत्रभित्रको भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षी लगन साहू कानूको लिखित जवाफ ।
५. दावीको जग्गामा यस मुद्दामा समेत वादी बनेको इजराइल मियाँले बेदखली मुद्दा चलाई बेदखली ठहराएको निर्णय सर्वोच्च अदालतबाट बदर भइसकेपछि सोही व्यक्तिले समेत वादी बनी पुनः कारवाही चलाएको देखिँदा हक नपुग्ने देखी मोही लगत कट्टा गरिदिने निर्णयमा कानुनी त्रुटि नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.बाराको लिखित जवाफ ।
६. नियमानुसार पेश भएको प्रस्तुत रिट निवेदनको फाइल समेत अध्ययन गरी रिट निवेदकहरुका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दास र विपक्षी भू.सू.का.का तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ तथा विपक्षी लगन साहू कानूका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गणेशराज शर्माले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
७. अब रिट निवेदन माग अनुसारको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी लगन साहू कानूको नाममा दर्ता रहेको जि.वारा, लक्ष्मीपुर कोतवाली गा.पं.वडा नं.१ को कि.नं.२४८ को ज.वि.०–८–० जग्गाको मोही हाम्रा पति, पिता फजुल मियाँ परलोक भएपछि २०४१ सालको बालीमा विपक्ष जग्गाधनीले विवाद उठाएकोले मोही बेदखलीमा रिट निवेदक मध्ये इजराइल मियाँको उजूरी पर्दा भू.सु.का.बाट मोही हटक गरेको ठहर्याई गरेको फैसला उपर यस अदालतमा रिट निवेदन परेकोमा मोही हक नामसारी नभई मोही हक नै नपुगेको व्यक्तिले मोही हटक गर्यो भन्न नमिल्ने भनी यस अदालतबाट मिति २०४२।६।१७ मा भू.सु.का.को निर्णय बदर हुने ठहर्याई निर्णय भएपछि रिट निवेदकहरुको परलोक भएको पति, पिता फजुल मियाँको नामको मोहियानी भू.सु. ऐनको दफा २६(१) अन्तर्गत नामसारी गरिपाउँ भनी भू.सु.का.मा रिट निवेदकहरुको निवेदन उजूरी परेकोमा विपक्षी इजरायल मियाँले लगन साहू कानुउपर यसै जग्गाको सम्बन्धमा बेदखली मुद्दा दिई यस भू.सु.कार्यालयको निर्णय बदर हुने ठहर्याई स.अ.बाट निर्णय भइसकेकोले सोही जग्गामा सोही व्यक्ति समेतउपर दायर भएको देखिँदा खारेज हुने ठहर्छ भनी भू.सू.का.बाट २०४३।६।१२ गते भएको फैसला उपर प्रस्तुत रिट निवेदन परेको देखिन आयो ।
९. सर्वप्रथम मिति २०४३।६।१२ मा भएको निर्णय बदर गराउन मिति २०४४।७।८ मा मात्र पर्न आएको प्रस्तुत रिट निवेदन विलम्बको सिद्धान्तको आधारमा खारेज हुनु पर्ने भन्ने प्रश्नको सम्बन्धमा हेर्दा उक्त मुद्दा मिति २०४३।६।१२ का दिन निर्णय हुँदा रिट निवेदकहरु रोहवरमा भएको अर्थात् निजहरुले निर्णय सुनी पाएको कागज गरेको मिसिलबाट देखिन आउँदैन । उक्त निर्णय अनुसार मोहीको लगत कट्टा गरेको सूचना मिति २०४४।५।३१ मा दिएबाट प्रस्तुत रिट निवेदन पर्न आएको देखिएकोले विलम्ब गरी पर्न आएको भन्ने बहस जिकिरसंग सहमत हुन सकिएन ।
१०. अब रिट निवेदकहरुका परलोक भएका पति/पिता फजुल मियाँको नामको मोहियानी नामसारी गरिपाउँ भनी रिट निवेदकहरुले निवेदन उजूरी दिएकोमा मिति २०४२।६।१७ मा यस अदालतबाट भएको फैसलाको आधारमा निवेदन नै खारेज गरेको देखिन्छ । यस अदालतबाट उक्त मितिमा रिट जारी हुँदा के कस्तो आधार लिएको रहेछ भनी हेर्दा मोही फजुल मियाँ देखिएकोले मोही नै नभएको व्यक्ति (इजराइल मियाँ) ले मोही हटक गरेको भनी मान्न मिलेन भनी मोही हटक हुने ठहर्याएको भू.सु.का.को पूर्व निर्णय बदर हुने भनी रिट जारी भएको देखिन्छ । परलोक भएका फजूल विवादको जग्गाको मोही भएको र निवेदकहरुको पति/पिता भएको कुरामा विवाद देखिँदैन । यस्तो अवस्थामा साविक मोही परलोक भएपछि निज स्वास्नी छोराहरुले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोही नामसारी गरिपाउँ भनी निवेदन उजूरी दिएपछि उक्त कानूनको प्रकृया अपनाई कारवाही गर्नुपर्ने अनिवार्य देखिन आउँछ । तर सो बमोजिम नगरी माथि उल्लेख भएअनुसार यस अदालतबाट जारी भएको निर्णयलाई आधार लिई नामसारी गरिपाउँ भन्ने निवेदन खारेज गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानून बमोजिम पुनः कारवाही किनारा गर्नु भनी विपक्षी भू.सु.का.को नाममा परमादेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि विपक्षी कार्यालयमा निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाउनु । फाइल नियमानुसार मिसिल शाखामा बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.हरगोविन्दसिंह प्रधान
इति सम्वत् २०४५ साल आश्विन १८ गते रोज ३ शुभम् ।