शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५६१ - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: मंसिर अंक:

निर्णय नं. ३५६१ ने.का.प. २०४५     अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको रिट नं. १३०४

आदेश भएको मिति : २०४५।६।२०।५ मा

 

निवेदक : का.न.पं.वा.नं.२४ वटुटोल घर भई ऐ.वा.नं.२५ इन्द्रचोक दोकान गरी बस्ने गोपाल चित्रकार

विरुद्ध

विपक्षी : काठमाडौं जिल्ला अदालत, काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)                  जुन फैसलाको आधारमा वादीको चलन चलाउने कारवाही चलाइएको छ सो फैसलाबाट निवेदकको हक हनन् भएको भए सो फैसलामा कानून बमोजिम उजूर गर्नु पर्ने सो गरेको समेत निवेदन लेखाईबाट नदेखिएकोले यो निवेदनबाट माग बमोजिम आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. ८)

 

निवेदनतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

 

आदेश

न्या.हिरण्येश्वरमान प्रधान :      नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.     धनवीर सिं की पत्नी मान्यलक्ष्मीले सम्वत् १९४७ साल सुदी १० मा स्थापना गरेको श्री सत्यनारायण राधाकृष्णको मूर्तीको नित्य पूजा र भोज भतेर खाने खुवाउने नियम बाँधी घर गुठी राखिएको  रहेछ । सोही घरको आयस्ताबाट गूठी चलाउन पर्ने कसैले पनि नियम उल्लंघन गर्न नपाउने, घर भत्के बिग्रेमा मर्मत गर्नु पर्ने, बेचबिखन गर्न नपाउने र गुठी चलाउने पालोको नामावली समेत सिलापत्र लेखी चढाएको रहेछ । उक्त घरमा निवेदक लगायत विभिन्न व्यक्तिले पसल कवल तथा कोठाहरु भाडामा लिई भोगचलन गरी वहाल बुझाउँदै आएको कुरामा विवाद छैन । गुठीयारहरु मध्ये ज्ञानेश्वरी श्रेष्ठले निवेदकलाई ब्लक नं. ८।२४ को घर मध्येको  पहिलो तलाको उत्तर पट्टीको कोठा १ ज्यूताभर वहालमा बस्न पाउने गरी वार्षिक रु.१८००।मा बसी आएको कुरा २०३६।९।३० को बहाल कबूलियतले स्पष्ट गरेको छ । यस्तो कबुलियत छँदाछँदै काठमाडौं जिल्ला अदालतबाट एक म्याद प्राप्त हुन आयो जसमा गुठी घर पसल चलन चलाई पाउँ भन्ने मुद्दामा का.जि.अ.का २०४१।७।२७ का फैसला र बागमती अञ्चल अदालतका २०४३।१०।१५ का मिलापत्र बमोजिम गुठी घर पसल चलन चलाई पाउँ भनी वादी का.जि.का.न.पं.वडा नं.२५ बस्ने बद्रीदास श्रेष्ठले दिएको दर्खास्तको सिलसिलामा डोर खटाई पठाउँदा तपाई भेट नभएको र सो घरमा तपाई समेत बहालमा बसी राखेकोले उक्त गुठी घर पसल वादीलाई चलन चलाई दिन बाधा अड्चन परेको भनी २०४४।३।२३ मा डोरबाट मुचुल्का भई आएकोले तपाईको नाउँमा यो १५ दिनको म्याद जारी गरी पठाएको छ । १५ दिनभित्र उक्त गुठी घर पसल खाली गरी दिनु भन्ने समेत उल्लेख रहेछ ।

३.     प्रत्यर्थीहरुका बीच मुद्दा गरी हारजित तथा मिलापत्र गरे गराएको कुरो निवेदकलाई जानकारी हुने कुरा भएन । वहाल कबुलियत बमोजिम भाडा तिरी भाडामा बसी आएको निवेदकलाई त्यसबाट असर पर्ने कुरा थिएन । बहालमा बसेको व्यक्तिलाई उठाउन र चलन लिनको लागि मुलुकी ऐन घर बनाउनेको महलको ८ र ९ नं. ले व्यवस्था गरेको छ । सो अनुरुपको मुद्दा परी चलन पाउने विपक्षको दावी पनि छैन । ज्यूताभर बस्न पाउने हक मलाई बहाल कबूलयतले दिएको छ । मिलापत्र तथा फैसला समेतले निवेदकसँग चलन पाउने भनिएको छैन । मिलापत्र र फैसलाले नभनेको कुरामा अदालत स्वयं वादी बनी चलन चलाउन नमिल्नेमा गैरकानुनी रुपको काठमाडौं जिल्ला अदालतको उक्त आदेश तथा जारी गरिएको म्याद समेत बदर गराउन अन्य उपचारको बाटो नभएकोले निवेदन गरेको छु भन्ने समेत व्यहोराको निवेदनपत्र ।

४.     यसमा विपक्षीहरुबाट लिखित जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।४।१२।३ को आदेश ।

५.     फैसला र दर्खास्त दावा बमोजिम यस अदालतमा भएको लगत अनुसार उक्त गुठी घर पसल चलन चलाई दिन यस अदालतबाट डोर खटी गई वादीले चलन पाउने घर र उक्त १६ कबल पसल समेतमा निवेदकहरु समेत बहालमा बसी आएको र प्रतिवादीहरु समेत भेट नभएकोले वादीलाई दर्खास्त फैसला लगत बमोजिम घर पसल चलन चलाई दिन बाधा अड्चन परेको भनी सरजमीनका मानिसहरुले लेखाई दिएको मुचुल्का भई आएकोले प्रतिवादीहरुलाई समेत म्याद जारी गर्नु भन्ने मिति २०४४।३।२४ मा आदेश भएकाले सो आदेशानुसार प्रतिवादीहरु र घर पसलमा बसेका गोपाल चित्रकार समेतलाई १५ दिनभित्र फैसला लगत र दर्खास्तमा दावा गरेको घर पसल खाली गरी दिनु होला भनी यस अदालतबाट म्याद जारी भएकोमा यी निवेदक समेतका व्यक्तिहरुले सो आदेश बदर गरी पाउँ भनी यस अदालतमा निवेदन दिएकोमा यसमा २०४१।७।२७ को का.जि.अ.को फैसला र बा.अं.अ.को २०४३।१०।१२ को फैसला मिलापत्रउपर समेत अ.बं.८६ नं. अनुसार मुद्दा दायर गरेको भन्ने निवेदकको भनाई हुँदा हाल यो चलन कारवाही माग अनुसार स्थगित राखी वादीको तारेखका दिन जानकारी दिई फैसला बदर मुद्दाको मिसिल चलन सम्बन्धी मुद्दाको मिसिल समेत साथै राखी पेश गर्नु भन्ने आदेश भएको र अन्य निवेदनमा आदेश नभएको मिसिलबाट देखिएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको लिखित जवाफ ।

६.     विपक्षीले गुठीको घर पसलको सञ्चालनको लागि चलन पूर्व सञ्चालकहरुबाट दिने सम्बन्धमा कानून अनुरुप फैसलाको प्रचलन गराई रहेको अवस्थामा गैरकानुनी श्रोतबाट अस्वाभाविक अप्राकृतिक शर्तको  बहालको हकको आधार लिई संवैधानिक हक आघातित हुने भन्ने विपक्षीको जिकिर कानून प्रतिकूल भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको बद्रीदास श्रेष्ठको लिखित जवाफ ।

७.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

८.     यसमा प्रस्तुत निवेदन २०४४।४।१० मा परेको र निवेदकले विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेलाई २०४४।१०।१२ देखि नै मुकरर गरेकोमा आजको पेशीमा मिसिल अध्ययन गर्न नपाएकोले समय पाउँ भनी निज विद्वान कानून व्यवसायीले बेञ्च समक्ष दिएको निवेदन व्यहोरा मनासिब नदेखिई मिसिल अध्ययन गरी यसमा निवेदकले काठमाडौं जिल्ला अदालतबाट बहाल कबूलियत बमोजिम बसी आएको घर पसल चलन चलाउने गरी गरेको कारवाही गैरकानुनी हुँदा सो कारवाही बदर गरी पाउँ भनी मुख्य जिकिर लिएको देखियो । का.जि.अ.तथा विपक्षी मध्येको बद्रीदासको लिखित जवाफबाट का.जि.अ.बाट दावीको चलन चलाउने कारवाही वादी बद्रीदास श्रेष्ठ विपक्षी श्रीधरमान श्रेष्ठ समेत भएको गुठी धर्मलोप मुद्दामा यसै अदालत समेतबाट २०३८।११।१४ मा गुठी धर्मलोप गरेको ठहरी भएको फैसलाअनुसार निजै वादीको निज प्रतिवादीहरुउपर चलन चलाई पाउँ भनी मुद्दा परी काठमाडौं जि.अ.बाट चलन पाउने ठहरी २०४१।७।२७ मा भएको फैसला बमोजिम दिइएको लगतको आधारमा कारवाही चली सो कारवाहीबाट यिनी निवेदक र अरु प्रतिवादीहरु समेतका नाउँमा म्याद जारी भएकोमा यिनी निवेदक र श्रीराम श्रेष्ठ र कुवेरदास श्रेष्ठ समेतको सो चलनको कारवाही रोकी पाउँ भन्ने निवेदन परेकोमा श्रीराम श्रेष्ठ र कुवेरदाश श्रेष्ठको निवेदनबाट चलनको कारवाही स्थगित राखी फैसला बदर मुद्दाको मिसिल र चलन सम्बन्धी मुद्दाको मिसिल समेत साथ राखी पेश गर्नु भनी मिति २०४४।४।१० मा आदेश भइराखेको भन्ने देखिन आएकोले सो चलनको कारवाही चलाउने नचलाउने केही निर्णय भइसकेको देखिन नआएको र विपक्षी बद्रीदासले पनि सो निवेदनबाट भएको कारवाही टुड्डो नलागी हालसम्म चलनको कारवाही स्थगित नै रहेको भनेकोले सोमा निर्णय हुनु बेगर यो रिट निवेदनबाट माग बमोजिमको आदेश जारी गर्न नमिलेको र जुन फैसलाको आधारमा वादीको चलन चलाउने कारवाही चलाइएको छ सो फैसलाबाट निवेदकको हक हनन् भएको भए सो फैसलामा कानून बमोजिम उजूर गर्नु पर्ने सो गरेको समेत निवेदन लेखाईबाट नदेखिएकोले यो निवेदनबाट माग बमोजिम आदेश जारी गर्न मिलेन । प्रस्तुत निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल आश्विन २० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु