निर्णय नं. ३५६६ - लेनदेन

निर्णय नं. ३५६६ ने.का.प. २०४५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ५७७
फैसला भएको मिति : २०४५।७।३०।३ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला बर्दिया पातभार गा.पं.वा.नं.९ बस्ने मणिराम थारु
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने प्रतापबहादुर शाह
मुद्दा : लेनदेन
(१) दावीको सबै कुरामा ठहर नगरी आंशिक रुपमा ठहर गरेकै आधारमा सो लिखतलाई सद्दे कायम गरी सो लिखतबाट भरी पाउने ठहर्याएको मुलुकी ऐन, अ.बं.८४(क) नं. विपरीत देखिन आएकोले शुरु र क्षे.अ.को इन्साफ बदर हुने । दावीका सबै कुरामा कानून बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर गर्नु पर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : म.प.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. मणिराम थारुले म बाट रु.४५,०००।– मिति ०२९।७।५ मा लिई कपाली तमसुक गरी दिनु भएको २०३९ साल माघ महिना भरमा बुझाउने भाखा गरेको २०४० साल माघ २१ गते कुरा हुँदा तिर्दिन भन्ने जवाफ दिएकोले साँवा रु.४५,०००।– र फैसला हुँदा सम्मको व्याज समेत र फिराद गर्दा राखेको कोर्टफी समेत भरी पाउँ भन्ने फिरादपत्र ।
३. म विपक्षीको घरमा ३, ४ वर्ष अघिदेखि नोकर भई बसेको अवस्था मलाई सिधा साधादेखि तेरो छोरा छैन जग्गा छोरीको नाउँमा बकसपत्र गरी दे भनी २०३९ साल फाल्गुण महिनामा नेपालगञ्जतर्फ लगी बकसपत्रको कागज हो भनी कागजमा सहिछाप गराई जग्गा तेरी छोरीको नाउँमा भयो भन्नु भएको थियो तर बकसपत्र नभई रु.४५,०००।– को कागज गराउनु भएको हो वा के हो पछि सक्कल कागज देख्न पाएका बखत अ.बं.७८ नं.बमोजिम बयान गर्नेछु । मैले रु.४५,०००।– कर्जा लिएको हैन छैन भन्ने प्रतिउत्तर ।
४. तमसुकमा लागेको दा.वा. ल्याप्चे सहिछाप प्रतिवादीकै हो प्रतिवादीको छोरीका नाउँमा जग्गा पास गरी दिन्छु भनी बाँके नेपालगञ्जमा वादीले प्रतिवादीलाई र निजको छोरीलाई लगी कागज लेखाई अब बकसपत्र पास हुन्छ भनी विभिन्न ठाउँमा सहिछाप गराउनु भएको थियो सो सम्बन्धमा वादीले राजापुर प्रहरी थानामा सो कागज बदरतर्फ कारवाही चलाउँदा मैले प्र.लाई कुनै कागज गराएको छैन भनी भन्नु भएको रु.४५,०००।– प्रतिवादीले वादीबाट लिएखाएको होइन जालसाज लिखत खडा गरी नालेश गरेको वादीलाई र सो कागजमा साक्षी बस्नेहरु समेतलाई सजायँ गरी लिखत तमसुक बदर गरिपाउँ भन्ने प्र.वा. मदन मोहन मिश्रको बयान ।
५. प्रतिवादी मणिराम थारुले विभिन्न मितिमा विभिन्न कार्यको लागि लिएको रु.३९,१०६।– रुपैयाँ लिई सकेपछि कपाली तमसुक गर्दाका दिन रु. ५,८९४।– समेत जम्मा रु.४५,०००।– वादीबाट लिई प्रतिवादीले तमसुक गरिदिएका हुन् मैले जालसाजी गरेको होइन भन्ने समेत वादीको वा.मधुसुधन शर्माको बयान ।
६. पटक–पटक लिइसकेको हिसाब गरी रु.४५,०००।– मा नपुग रु. ५,८९४।– हाम्रो रोहवरमा लिई तमसुक गरिदिएकोले साक्षी बसी दिएको हुँ भन्ने तमसुकका साक्षी वालाराम थारु, ठाकुरप्रसाद थारुको बयान ।
७. ऋणी धनी दुवै थरले हाम्रो लेनदेन व्यवहार भइसकेको छ तमसुक लेखी दिनुहोस् भन्दा मैले निजहरुको भनाई अनुसार रु.४५,०००।– को तमसुक लेखी दिएको हुँ भन्ने समेत व्यहोराको लिखत साक्षी भुपेन्द्र विक्रम शाहको बयान ।
८. प्रतिवादीले तमसुकमा सहिछाप गरेको कुरालाई स्वीकार गरेबाट सद्दे कीर्तेतर्फ केही बोलिरहनु नपर्ने रु.४५,०००।– भराई पाउँ भन्ने दावीतर्फ तमसुक गर्दाको दिन रु.५,८९४।– मात्र लिएको भन्ने तमसुकको साक्षीहरुको बयान समेत देखिएकोले तमसुकमा अघि लिएको भनेको रकम खुलेको नदेखिनाले रु.५,८९४।– र तमसुक भएका मिति देखिको ब्याज भरी पाउने ठहर्छ भन्ने समेत शुरु बाँके जि.अ.को फैसला ।
९. विवादीत लिखतको सम्बन्धमा प्र.ले जालसाजीमा उजूर गरी अदालतमा २०४०।१०।१९।३ मा कार्यालमा गरिसकेको देखिँदा लिखत सद्दे देखिन आयो । उक्त लिखतको साँवा मध्ये शुरुबाट रु.५,८९४।– भराई दिने ठहर भएउपर प्र.को पुनरावेदन परेको देखिएन त्यतिसम्म निजले स्वीकार गरेकै देखियो सो कटाई बाँकी रुपैयाँका हकमा रु.२९,०००।– बापत १–९–० विगाहा जग्गा भोग गरी रहेको छु भन्ने वादीले बर्दिया जिल्ला कार्यालयमा २०४०।११।२९ मा बयान गरेको प्रमाण मिसिलबाट देखिँदा उक्त रकमको ब्याज पाउन सक्ने अवस्था भएन लिखत सद्दे देखिन आएपछि वादीले प्र.बाट साँवा रु.४५,०००।– भरी पाउने ठहर्छ । ब्याजको हकमा २९,२००।– कटाई बाँकी रु.१५,८००।– को सम्म ब्याज भराएको मितिसम्म प्र.बाट भरी पाउने ठहर्छ भन्ने म.प.क्षे.अ.को फैसला ।
१०. म. प.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा अ.बं.७८ नं. को व्याख्या सम्बन्धी प्रश्नमा न्या.प्र.सु. ऐन, २०३१ को संशोधित दफा १३(५) को अवस्थामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यसै अदालतको आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विपक्षी वादीको तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले गर्नुभएको बहस समेत सुनी पुनरावेदक जिकिर सहितको मिसिल अध्ययन गरी म.प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा वादी विपक्षीले आफ्नो दावीको आधारको रुपमा पेश गरेको पुनरावेदकले गरिदिएको भनेको २०३९।७।५ को साहू वादी प्रतापबहादुर असामी पुनरावेदक प्र.मणीराम थारु भएको लिखत सुनी बयान गर्दा सो लिखतमा परेको सही आफ्नै हो तर वादीले मणीरामकी छोरी विसनीको नाउँमा जग्गा पास गरी दिन्छु भनी प्रतिवादी र निजको छोरी समेतलाई लिई गई तमसुक के कस्तो व्यहोराको कागज लेखाई अब बकसपत्र पास हुन्छ भनी विभिन्न ठाउँमा सहिछाप गराउनु भएको हो दावी बमोजिमको रु.४५,०००।– लिए खाएको होइन यो तमसुक वादी प्रतापबहादुर शाह र तमसुकका लेखत साक्षी अन्तरसाक्षी सबैजना मिली जालसाजी गरेका हुनाले जालसाजीमा सजायँ गरिपाउँ भनी दावी लिई बयान गरेको देखिन आउँछ । तर शुरु जि.अ.ले ठहर गर्दा प्रतिवादीले तमसुकमा सही गरेको कुरा स्वीकार गरेबाट सद्दे कीर्तेतर्फ केही बोलिरहन नपर्ने भनी प्रतिवादीले कागज सुनी गरेको बयानबाट दावी लिएको कुरामा कुनै ठहर गरेको देखिन आएन । यस स्थितिमा सोही अदालतबाट लिखत बमोजिमको रकम लिए दिएको नठहर्याई खाली रु. ५,८९४।– सम्म लिएको ठहर्याएकोबाट दावीको सबै कुरामा ठहर नगरी आंशिक रुपमा ठहर गरेकै आधारमा क्षे.अ.बाट सो लिखतलाई सद्दे कायम गरी सो लिखतबाट भरी पाउने ठहर्याएको मुलुकी ऐन अ.बं.८४(क) नं. विपरीत देखिन आएकोले शुरु र क्षे.अ.को इन्साफ बदर हुन्छ दावीका सबै कुरामा कानून बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल शुरु जि.अ.मा पठाई दिनु, शुरुबाट कानून बमोजिम ठहर भएकै नदेखिई सो आधारमा क्षे.अ.बाट ठहर भएकोले क्षे.अ.को फैसला समेत बदर भएकोले पक्ष विपक्ष तर्फको अरु जिकिरतर्फ विचार गर्नु परेन ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल कार्तिक ३० गते रोज ३ शुभम् ।