शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५६७ - जग्गा खिचोला जालसाजी

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५६७ ने.का.प. २०४५     अङ्क ९

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पुर्ण इजलास नं. ८०

फैसला भएको मिति २०४५।९।६।३ मा

 

पुनरावेदक/प्रतिवादी : जि.उदयपुर भुटार गा.पं. वा.नं.३ बस्ने लालबहादुर खत्री क्षेत्री

विरुद्ध

विपक्षी/वादी : ऐ. वा.नं.९ हाल वा.नं. ६ बस्ने मानबहादुरको मु.स.गर्ने भक्तबहादुर सुनार कार्की

 

मुद्दा : जग्गा खिचोला जालसाजी

 

(१)                  कानूनले पारित हुनु पर्ने लिखत पारित भएको छैन भने त्यसबाट कसैको हकको स्रोत हुन     नसक्ने ।

(प्रकरण नं. १६)

(२)                हक पक्का भएको जग्गा कानून बमोजिम हक हस्तान्तरण गरी गराई जग्गा प्राप्त नगरेको अवस्थामा अरु विभिन्न कृयाकलापबाट जग्गामा हक प्राप्त भयो भन्न नमिल्ने ।

(प्रकरण नं. १६)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत

 

फैसला

प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा प्रतिवादीको परेको पुनरावेदन यस अदालतको संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णययार्थ यस इजलास समक्ष पेश हुन आएकोमा मुद्दाको तथ्य यसप्रकार छ :

२.     भक्तबहादुर र भीमबहादुर समेतबाट ०३, ०४, ०५, साल समेतमा पटकपटक राजीनामा गराई लिएको माटो मुरी ६।५।४ र विर्ता पाखा बासिंटार मान्के भन्ने खेत समेत भुटार गा.पं.वडा नं.७ कि.नं.३ को ११०३ र सोही जामुने ७(ख) कि.नं.१८० को ०, कि.नं.१८२ को रोपनी ०३ र वडा नं.७(घ) कि.नं.७८ को रोपनी १३ समेतको राजीनामा गराई ०३।०४ सालको मालपोत समेत तिरी अधिया कमाउन विपक्षी लालबहादुरलाई दिएको र ज्यान मुुद्दामा म २०१० सालदेखि र छोरो भक्तबहादुर २०१६ सालदेखि डाँका मुद्दामा थुनामा परी कागतपत्रहरु प्रतिवादीले गुम पारे म २०२८।२।३० गते कारागारबाट घर आउँदा सर्भे नापी हुँदा अधियामा कमाएको जग्गाहरु मेरै हो भनी उक्त ४ कित्ता जग्गा झगडा जनाई मेरा नाममा दर्ता हुन नदिएको म्यादभित्र २ नं. नापी गोश्वारामा उजूर दिंदा अदालतमा गई निर्णय गराई लिनु भनी मिति २०३०।२।२३ मा सूचना दिएकोले नालेस गर्न आएको छु । उक्त जग्गाबाट प्रतिवादीहरुको खिचोला मेटाई मेरा नाममा दर्ता गरराई चलन चलाई पाउँ भन्ने समेत फिरादपत्र ।

३.     दावीको जग्गा दाता भीमबहादुर, भक्तबहादुरबाट लिई सालसालै पोत तिरी २०१४ सालमा म लालबहादुरबाट लगत भएको मानबहादुरको भए  २०१४ सालमै छोरा भक्तबहादुरले दर्ता गराउन सक्नु पर्ने सो जग्गामा विपक्षीको कुनै दायित्व छैन । विर्ताको जग्गा हुँदा भक्तबहादुर, भीमबहादुरबाट दाजु भाइले लिन पाउने भई म लालबहादुरले खरीद गरी हाल भुटार गा.पं.वडा नं.७(क) कि.नं.३, १८०, १८२ वडा नं.७(घ) कि.नं.७८ मा हामी तीनैजनाको नाममा नापी दर्ता छ । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिउत्तरपत्र जिकिर ।

४.     यसमा सक्कल लिखत सनाखत गराउँदा ०३।१।१२, ०३।१०।८, ०३।११।२९ गतेका राजीनामा जालसाजीबाट खडा गरी पेश गरेका हुन् भन्ने समेत प्रतिवादीको वा.वीरबहादुरको बयान र जालसाजी होइन भन्ने समेत वादीको वा.भक्तबहादुरको बयान र प्रतिवादीबाट पेश भएको राजीनामा र रसीद समेत कीर्ते जालसाजी हुन भन्ने समेत वादीको वा.भक्तबहादुरको बयान र सद्दे हुन भन्ने प्रतिवादीका वा.वीरबहादुर ततिम्बा बयान ।

५.     वादीको उजुर झुठ्ठा ठहर्छ भन्ने उदयपुर जिल्ला अदालतको मिति २०३३।१२।१८ गतेको  फैसला ।

६.     शुरु इन्साफमा चित्त बुुझेन भनी वादीको पुनरावेदन परेकोमा जालसाजीतर्फ समेत ठहर निर्णय गरी सोको आधारमा जग्गातर्फ समेत निर्णय गर्न शुरुमा पठाउने भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति २०३५।५।६ गतेको फैसला ।

७.     वादीबाट पेश भएको राजीनामा जालसाजीबाट खडा भएको ठहर्छ । प्रतिवादीबाट पेश भएका राजीनामा र रसीद जालसाजबाट खडा गरेको ठहर्दैन । जग्गा प्रतिवादीकै हक भोगको देखिँदा सो जग्गामा खिचोला मेटाई पाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने समेत शुरु उदयपुर जिल्ला अदालतको फैसला ।

८.     शुरु इन्साफमा चित्त बुझेन भन्ने वादीको सगरमाथा अञ्चल अदालतमा पुनरावेदन परेकोमा शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति २०३८।७।२७ गतेको फैसला ।

९.     सगरमाथा अञ्चल अदालतको फैसला उपर वादीलाई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान भएको रहेछ ।

१०.     वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको सो जग्गा वादीको नाममा दर्ता भई चलन चलाई पाउने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।४।२९ गतेको फैसला ।

११.     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति प्राप्त भई यो निवेदनपत्र पुनरावेदनपत्रमा परिणत गरी पुनरावेदनको सुनुवाई गरी उक्त फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदनपत्र ।

१२.    यसमा पुनरावेदनपत्रको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको डिभिजन बेञ्चको मिति २०४२।५।१२ को आदेश ।

१३.    निर्णयार्थ संयुक्त इजलास समक्ष पेश हुँदा वादीले २००३ साल र २००४ सालमा भक्तबहादुर, भीमबहादुरबाट जम्मा ५ थान राजीनामा गराई लिएको देखियो । निवेदक भीमबहादुर क्षेत्री, विपक्षी लालबहादुर खत्री भएको ऋण निश्चित मुद्दामा भूमीसुधार कार्यालय उदयपुरमा प्रतिवादी लालबहादुरले मिति २०२३।६।२४ मा प्रतिवाद गर्दा यो विवादीत जग्गा वादीका नाममा राजीनामा भएको भनी स्वीकार गरेको देखियो । उक्त जग्गाहरुबाट वादीको हक छुटाई लिएको कुनै लिखत प्रमाण प्रतिवादीले देखाउन पेश गर्न सकेको छैन । यसरी राजीनामालाई स्वीकार गरेको र हक छाडी प्रतिवादीले वादीबाट लिएको नदेखिँदा प्रतिवादीबाट पेश भएको लिखत तथा रसीद सद्दे साँचो हुन् भनी मान्न मिलेन तसर्थ प्रतिवादीबाट पेश भएको लिखतहरु रसीद समेत जालसाजी ठहर्‍याई वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको सो जग्गा वादीको नाममा  दर्ता भई चलन समेत पाउने ठहर्‍याई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

१४.    यसमा वादीले खास गरी विवादको जग्गाहरु भक्तबहादुर र भीमबहादुरबाट आफूले हद मुनि राजीनामा गरी लिई हक भएको जग्गा भनी देखाई पुनरावेदकलाई अधियामा खान दिइराखेकोमा नापीमा आफ्नो नाममा नापी गराई खिचोला गरेकोले खिचोला मेटाई गराइएको दर्ता समेत बदर गरी पाउँ भन्ने दावी लिएको देखिन आएको छ । प्रतिवादी पुनरावेदकले पनि विवादको जग्गा वादीको जिकिर बमोजिम दाता भक्तबहादुर र भीमबहादुरबाट वादीको नाममा राजीनामा भएको हुँदा अघि पञ्चायतमा र भूमिसुधार कार्यलयमा परेको मुद्दामा समेत सरकारी प्रतिवाद गरेको पनि देखिन्छ । तर पुनरावेदकले ती मुद्दामा प्रतिवाद गर्दाकै अवस्था देखिनै विवादको जग्गा वादीका नाममा राजीनामा लिखत भएकै भए पनि सो जग्गाको भोगबन्धकी थैली तिर्न आफ्नो पैसा परेकोबाट वादीका बाबु मानबहादुरले विवादको जग्गाहरु आफूलाई राजीनामा गरी नदिएको तर सो लिखत पास हुन नपाउँदै निज मानबहादुर ज्यान मुद्दामा परी थुनिएकोबाट सो लिखत पास गराई लिन नसकेको भए पनि सो जग्गा जिम्मावाल मुखियाले २००६ सालदेखि नै आफ्नो नाममा दर्ता गरिदिएको र सो दर्ताको नाताबाट तिरो समेत बुझाई आएको हुँ भनी तिरो तिरेको २००८ साल र २०२८,२०२९ सालका रसीदहरु पेश गर्नाको साथै सो जग्गाहरुको धनी भक्तबहादुरले आफ्नो नाममा हद मुनिको राजीनामा थान ५ समेत गरी दिएकोमा यिनै वादी मानबहादुर समेत साक्षी बसेका छन् भनी यीनै पुनरावेदकउपर चन्द्रबहादुरले दिएको जग्गा बाली मुद्दामा प्रतिउत्तरपत्र फिराई सो राजीनामा रसीदहरु समेत पेश गरेकोबाट ती प्रमाणहरु र बुझिएका साक्षीहरुको बकाईको आधारमा विवादको जग्गाहरु पुनरावेदककै हक भोगको ठहर्‍याई मिति २०११।४।१२ मा फैसला भइरहेको सोही फैसलामा उल्लेख भएका बूँदाबाट सो मुद्दाको वादी चन्द्रबहादुरको यी मुद्दामा वादी मानबहादुरकी स्वास्नीको जेठी सासू नाताकी भएकोले मानबहादुरको नामको राजीनामा समेत मागी लगी यो मुद्दामा पेश गरेको भनी देखाएको हुँदा यदि विवादको जग्गा वादीको राजीनामा भए मौकामा सो फैसला उपर उजूर गरी बदर गराउन सक्नुपर्ने सो नगरेकोबाट सो फैसला कायमै रहेको देखिन आएको छ भीमबहादुरले यीनै पुनरावेदकउपर ऋण निश्चित गरिपाउँ भनी भूमिसुधार कार्यालयमा निवेदन दिएकोबाट भएको कारवाहीमा पनि यीनै पुनरावेदकले उक्त बमोजिमकै कुरा देखाई विवादको जग्गा आफ्नो नाममा दर्ता गरी भोग तिरो गरी आएको जग्गा हो भोगबन्धकी होइन भनी दावी लिई निवेदन दिएकोबाट भूमी सूधार कार्यालयबाट विवादको जग्गा भोगबन्धकी नदेखिएको भनी पुनरावेदककै भोग तिरोको कायम भई मिति २०२४।१।१२ मा फैसला भइरहेको देखिन आएको यस्तो अवस्थामा वादीको दावी बमोजिम घरायसी राजीनामाको भरमा पुनरावेदकको साविक दर्ता तथा उक्त अन्तिम भइरहेको फैसलाहरु बदर गराउन बेगर जग्गामा वादीको हक कायम हुने र पुनरावेदकको राजीनामा र रसीदहरु जालसाजी ठहर्‍याउन नमिल्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतले मानबहादुरको नामको घरायसी राजीनामाको आधारमा दावी बमोजिम खिचोला गरेको ठहर्‍याई दर्ता बदर समेत गर्ने ठहर्‍याएको मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने माननीय नयाधीश श्री हिरण्येश्वरमान प्रधानको राय भई मिति २०४४।३।३२ गतेमा फैसला भएको रहेछ ।

१५.    पुनरावेदकको वारिस डम्बरबहादुर दाहाल विपक्षी भक्तबहादुरको वारिस टेकबहादुर राउत क्षेत्री रोहवरमा रही पेश हुन आएकोमा पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विष्णु राउतले  विवादीत जग्गाको ७ नं. फाराम पुनरावेदकले भरेको छ । २०१० सालमा चन्द्रबहादुरले पुनरावेदकउपर उजूर गरेकोमा दासिंटार पञ्चायतको २०११।४।१२ को फैसलाले जग्गा पुनरावेदकले जिति पाएको छ । भक्तबहादुरले पुनरावेदकलाई राजीनामा दिंदा वादी मानबहादुर र चन्द्रबहादुर साक्षी छ । जग्गा वादीका नाममा नामसारी भएको छैन । वादी मानबहादुरले २००३ सालमा किनेको भनेको भोग दर्ता छैन तसर्थ विवादको जग्गा पुनरावेदकको हक कायम हुनुपर्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन । माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।

१६.     यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा भक्तबहादुर र भीमबहादुर समेतबाट २००३ र २००४ साल समेतमा पटकपटक राजीनामा लिएको माटो मुरी ६।५।४ र विर्ता पाखा दासिंटार मान्के भन्ने खेत समेत भुटार गा.पं.वडा नं.७ कि.नं.३ को १।१०।३ र ७(ख) कि.नं.१८० को ०।५।१, कि.नं. १८२ को रो. ०३ र वडा नं. ७(ख) कि.नं. ७८ को रोपनी १।२।३ समेतको जग्गा अधिया कमाउन विपक्षीलाई दिएको नापी हुँदा जग्गा मेरै भनी उक्त कित्तामा झगडा जनाई मेरो नाममा दर्ता हुन नदिई २ नं. नापी गोश्वारामा उजूर दिंदा अदालतमा गई निर्णय गराई लिनु भनी सूचना दिएकोले उक्त जग्गामा प्रतिवादीको खिचोला मेटाई जग्गा मेरा नाममा दर्ता गराई चलन चलाई पाउँ भन्ने समेत मुख्य वादी दावी देखिन्छ । वादी दावीको जग्गा भीमबहादुर, भक्तबहादुरबाट लिई सालसालै पोत तिरी २०१४ सालमा म लालबहादुरबाट लगत भएको सो जग्गामा विपक्षीको कुनै दायित्व छैन । भक्तबहादुर, भीमबहादुरबाट लालबहादुरले खरीद गरी हाल भुटार गा.पं.वडा नं.७(क) कि.नं.३, १८०, १८२ वडा नं.७(घ) कि.नं.७८ मा हामी तीनैजनाका नाममा नापी दर्ता छ । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादीले जिकिर लिएको पाइन्छ । विवादीत जग्गा वादीले राजीनामा गरी लिएको भनी राजीनामा लिखत थान ५ पेश गरेको देखिन्छ । प्रतिवादी पुनरावेदकले विवादीत जग्गा आफ्नो हक भएको प्रमाण पेश गर्न सकेको छैन । यिनै पुनरावेदक लालबहादुरउपर चन्द्रबहादुर खत्री क्षेत्रीले लेखिदिएको १० नं. दासिंटार पञ्चायतबाट मिति २०११।४।१२ मा फैसला भएको जग्गा वादी मुद्दामा यही पुनरावेदकले फिराएको प्रतिउत्तरपत्रको नक्कल भनी वादीले फिरादसाथ पेश गरेकोमा भक्तबहादुर, भीमबहादुरबाट राजीनामा छोडपत्र मानबहादुर कार्की क्षेत्रीले लिएपछि निजले मलाई कं.रु. ९४४।छोडपत्र गरी लिने दिने बन्दोबस्त भई कं.रु. ९४४।को मानबहादुरले मलाई गरिदिएको राजीनामा कागज समेत ऐनका म्यादभित्र रीत गरी नदिएबाट यो छोडपत्र राजीनामा समेत मानबहादुर जिम्मा राख्न दिएको, जग्गा मानबहादुरका राजीनामा बमोजिम मेरै भोग छ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट वादीले भक्तबहादुर, भीमबहादुरबाट राजीनामा छोडपत्र लिएको भन्दै वादीको जग्गामा हक भएको भन्ने कुरा पुनरावेदक प्रतिवादी लालबहादुरले सो प्रतिउत्तरमा स्वीकार गरेको देखिन्छ । तर मानबहादुरबाट पुनरावेदक प्रतिवादीले राजीनामा लिएको भनेको सो राजीनामा पारित भएको भन्ने देखिँदैन । मानबहादुरले गरिदिएको भनेको राजीनामा पारित नभएको भनी प्रतिवादीले स्वीकार गरेको देखिन्छ । कानूनले पारित हुनुपर्ने लिखत पारित भएको छैन भने त्यसबाट कसैको हकको श्रोत हुनसक्दैन । यिनै पुनरावेदक लालबहादुर खत्रीउपर भीमबहादुर क्षेत्रीले ऋण निश्चित गरी पाउँ भनी उजूरी दिएको भूमिसुधार कार्यालय उदयपुरबाट मिति २०२४।१।१२ मा यस कार्यालयको क्षेत्रभित्र नपर्ने हुँदा अ.बं.१८० नं. ले खारेज हुने ठहर्छ भनी निर्णय भएको मुद्दामा यिनै पुनरावेदक प्रतिवादी लालबहादुरले प्रतिवाद गर्दा यो विवादीत जग्गा वादीका नाममा राजीनामा भई जग्गा वादीको हक भएको कुरा स्वीकार गरेको प्रमाण मिसिलबाट देखिन्छ । त्यसरी वादीको हक पक्का भएको जग्गा निज वादीबाट  कानून बमोजिम हक हस्तान्तरण गरी गराई पुनरावेदक प्रतिवादीले जग्गा प्राप्त नगरेको अवस्थामा अरु विभिन्न क्रियाकलापबाट सो विवादको जग्गामा पुनरावेदक प्रतिवादीलाई हक प्राप्त भयो भन्न मिल्दैन । यस स्थितिमा प्रतिवादीबाट पेश भएको लिखत तथा रसीदहरु सद्दे साँचो हुन् भनी मान्न मिलेन । तसर्थ वादीबाट पेश भएको लिखतहरु सद्दे र प्रतिवादीबाट पेश भएको लिखतहरु र रसीद समेत जालसाजी ठहराई वादी दावी बमोजिम वादीहरुले खिचोला गरेको जग्गा वादीका नाममा दर्ता भई चलन चलाई पाउने ठहर्छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

कोर्ट फी लागी दायर भएको मुद्दा हुँदा कसैलाई केही गर्न परेन....१

पुनरावेदक लालबहादुर खत्री क्षेत्रीके जालसाजीतर्फ पुनरावेदकलाई रु.४२।०६ जरिवाना गरेकोमा पुनरावेदन गरे बापत अ.बं.२०३ नं. ले त्यसको सयकडा १०% ले रु.४।२० (चार रुपैयाँ बीस पैसा) थप जरिवाना लाग्छ वारिस भई बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी का.जि.अ.मा लगत दिनु.....२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...........३

 

उक्त रायमा हामीहरु सहमति छौं ।

न्या.बब्बरप्रसाद सिंह,

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल पौष ६ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु