शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५६९ - कीर्ते जालसाजी

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५६९ ने.का.प. २०४५     अङ्क ९

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.इ.नं. २७

फैसला भएको मिति : २०४५।८।१४।३ मा

 

पुनरावेदक/प्रतिवादी : त्रिभुवननगर न.पं.वा.नं.३ ढिकपुर बस्ने विमलकुमार शर्मासमेत

विरुद्ध

विपक्षी/वादी : जि.दाङ मानपुर गा.पं.वा.नं.४ बस्ने  तेसराकुमारी उपाध्याय

 

मुद्दा : कीर्ते जालसाजी

 

(१)                  बण्डापत्र पढी सुनाई यस्को मजबून समेत सम्झाई बुझाई आफू स्वयंले सहिछाप गरी अडडबाट पारित समेत गराएको बण्डापत्रको लिखतलाई कीर्ते भन्न नमिल्ने ।

(प्रकरण नं. २५)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्त कुंवर

 

फैसला

प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : यस सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     ससुरा गिरीराजका छोरा जेठा मेरा पति युधिष्ठिर २००३ सालमा र ससुरा गिरीराज २००७ सालमा देहान्त भएपछि ससुराका नाउँको जग्गा देवर खगेश्वरले आफ्ना नाउँमा नामसारी गराएको देवर खगेश्वर र म एकाघरमा रहेकोले राय नमिली २०२१ साल विजया दशमीको दिन चलअचल धन सम्पत्ति बुझी म दाङ हल्वार देवर खगेश्वर लहरामा बसी अचल सम्पत्ति घर जग्गा ०२१।७।१५ मा बण्डापत्र गरेको रजिष्ट्रेशन नभएको मेरो बण्डामा परेको दाङ हलवारको ज.वि.०१७० बोधीप्रसादलाई ०२८ सालमा बिक्री गर्नु भएछ । त्यस्को बदला खलुवा हलोराको जग्गा भोग गर्न दिनु भएको तिर्थ ब्रत गराई सुख सन्तोषमा राखौंला अब देखि एकै घरमा बसौं भनी खगेश्वर, माधवीदेवीले भनेबाट ०२८ साल चैत्र देखि सगोल एकाघरमा बसेका थियौं पछि खान लाउनमा समेत दुःख दिएकोले बण्डा गरी ०३३।३।२९ मा बण्डापत्र कागज खडा गरी ऐ.३१ गते पास भएको माधवीदेवीका नाउँको निजको पेवाको मोहीले कमाएको विगहा ८६ जग्गा मोहीकै जिम्माबाट बाली बण्डा बिक्री गरी दिने गरेको छ भनी विमलकुमार, खगेश्वरले र मेरो पेवा जग्गा छ भनी माधवीदेवीले भनेको खगेश्वरले यो जग्गा माधवीदेवीको पेवाको भनी हटक सुनाएको थुमाकुमारीबाट राजीनामा गराई लिएको जग्गा विगहा ७१३० विमलकुमार नागेश्वरबाट लिएको जग्गा विगहा ११० जंगबहादुरलाई दिई निजबाट सट्टापट्टा लिएको जग्गा ४२ समेत साविक विगहा १२८ माधवीदेवीका नाउँको दाङ मानपुर गा.पं.वडा नं.४(क) कि.नं.३८६, ३८७, ३८०, ३८१, ३८२, ३१५, ३०७, ३१४, ३०१, ३९४, ३९३, ४००, ४११, ४१०, ऐ.(ख) ३३५ समेत सोह्र कित्ताको ज.वि.८६ अंश लाग्ने जग्गा बण्डापत्र हुँदा माधवीदेवीको पेवा हुँदा भनी बण्डा नगरी माधवीले फाइदा उठाई खगेश्वरले फाइदा गरी दिने गरी मिलोमतोबाट झुक्याई काम गर्ने अन्यायवालाहरुलाई सजायँ गरिपाउँ झुक्याई गरेको बण्डापत्र बदर गरिपाउँ भन्ने समेतको तेश्राकुमारीको फिरादपत्र ।

४.     ०२१।७।१५ गते बण्डापत्र हुँदा सो भन्दा अगावै ०१९।७।२६ मा ज.वि.३१४१४ माधवीदेवीको पेवा धनबाट सो लहलौराको जग्गा नन्दलालबाट लिएको भई ०२१।७।१५ को बण्डापत्रबाट वादी दावी ज.वि.८६ जग्गा लेखिएकोमा माधवीदेवीको पेवा धनबाट विमलकुमार नागेश्वरबाट ज.वि.११० मितारियाको किनी लिएको वादीलाई याद भैरहेको सो पछि बण्डापत्र हुँदा तेश्राका दाजू पं.नन्दलाल फड्के साक्षी भई बण्डापत्र भएको देवरानी माधवीदेवीको पेवा  को जग्गा बाहेक बण्डापत्र भएकोमा मेरो बण्डा भन्दा वादीको बण्डा ०० जग्गा बढी नै बण्डा दिएको हुँदा झुक्याई कीर्ते गरे भन्ने वादीको दावी झुठ्ठा हो भन्ने समेत खगेश्वर समेतका प्रतिउत्तरपत्र ।

५.     प्रतिवादीहरुले झुक्याई कीर्ते गरेको भए पास हुँदाको बखत पढी वाची सुनाएको अवस्था विरोध पर्ने सो कुरातर्फ वादीले फिरादमा उल्लेख गर्न नसकेको पास भएको बण्डापत्रलाई झुक्याई कीर्ते गरे भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको फैसला ।

६.     मेरो र खगेश्वरको अंश लाग्ने सगोलको सम्पत्तिलाई निज माधवीदेवीको पेवा भन्ने लेखिएकोमा सो अंश घटी भएको बण्डापत्र बदर गरिपाउँ भन्नेतर्फ निर्णय नदिई झुक्याई कीर्ते गरेको भन्ने वादी दावी नपुग्नेसम्म ठहर्‍याको दा. दे. जि.अ.को फैसला बदर गरिपाउँ भन्ने तेश्राकुमारीको पुनरावेदन ।

७.     देवानी फौज्दारीतर्फ एउटै फिराद दर्ता गरी त्यै फिरादबाट कारवाही गरी देवानी लिखततर्फ केही नबोली कीर्ते फौज्दारी तर्फबाट शुरु जि.अ.ले निर्णय गरेको फैसला नमिलेको हुँदा जे जो बुझ्नु पर्छ बुझी ऐन नियम बमोजिम फैसला गर्न शुरुमा पठाई दिनु भन्ने स.अ.को फैसला ।

८.     ०३२।१२।३१ मा पारित बण्डापत्र प्रतिवादीहरुले वादी दावी बमोजिम जालसाजबाट खडा गरेको ठहर्छ भन्ने दा.दे.जि.अ.को फैसला ।

९.     हामीहरुले जालसाज गरेको ठहर्‍याएको शुरुको इन्साफमा चित्त बुझेन भन्ने माधवीदेवी समेतको संयुक्त पुनरावेदन ।

१०.     शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने राप्ती अञ्चल अदालतको फैसला ।

११.     उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिने म.प.क्षे.अ.को आदेश ।

१२.    देवानी र फौज्दारी मुद्दाको छुट्टाछुट्टै फिराद लिई कारवाही गर्नु पर्नेमा कीर्ते बण्डापत्र बदर गरिपाउँ भनी देवानी र फौज्दारी दुवै विषयको एउटै फिराद दावीले तहकिकात इन्साफ गरेको दा.दे.जि.अ.को फैसला बदर हुन्छ । अ.बं.७२ नं. को अधीनमा रही कानून बमोजिम फैसला गर्नु भन्ने म.प.क्षे.अ.को फैसला ।

१३.    कीर्ते बण्डापत्रको कागज खडा गरेको ठहर्छ भन्ने दा.दे.जि.अ.को फैसला ।

१४.    सो फैसलामा चित्त बुझेन भन्ने प्र.खगेश्वर उपाध्याय समेतको रा.अं.अ.मा परेको पुनरावेदन ।

१५.    प्रस्तुत मुद्दा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) बमोजिम क्षे.अ.को अधिकार क्षेत्रभित्र पर्ने रा.अं.अ.को आदेश ।

१६.     पेवा भनिएको जग्गा माधवीदेवीका दाजु विमलकुमार र नरेश्वरलाई प्र.खगेश्वरले राजीनामा गरी दिएको सोही जग्गा माधवीदेवीको नाउँमा राजीनामा गराएकोले जालसाजबाट गराइएको हुँदा कीर्ते गरेको ठहर्‍याएको शुरु दा.दे.जि.अ.को इन्साफ मनासिठ ठहर्छ भन्ने म.प.क्षे.अ.को फैसला ।

१७.    उक्त फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा वादी स्वयं पक्ष भई पास भएको बण्डापत्रलाई कीर्ते भित्र पर्छ भन्न नमिल्ने हुँदा कीर्ते कागजको १,३ नं. समेतको त्रुटी गरी म.प.क्षे.अ.बाट फैसला भएको देखिँदा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४३।२।२८ को आदेश ।

१८.    वादी र प्र.खगेश्वर अंशियार भन्ने कुरा निर्विवाद रुपमा देखिन्छ । प्र.माधवीको पेवा भनिएको जग्गा पैतृक सम्पत्ति भई प्र.खगेश्वरले आफ्ना जेठानहरुलाई बिक्री गरी सोही जग्गा आफ्नो श्रीमतीका नाउँमा राजीनामा गराई लिएको देखिन आएबाट सो कार्यहरु  जालसाजपूर्ण कार्य भएको देखिन आउँछ । त्यसरी जालसाजपूर्ण भएको कार्यबाट अंश नलाग्ने भनी बण्डापत्रमा भएको कार्य पनि जालसाज नै हुँदा म.प.क्षे.अ.को फैसलामा लेखिएको बुँदा प्रमाण समेतको आधारमा म.प.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा सदर हुन्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन । सहयोगी मा.न्या.श्री गजेन्द्रकेशरी बास्तोलाको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय ।

१९.     प्रस्तुत मुद्दामा माधवादेवीले २०१९।१०।३ मा ज.वि.३१४१४, २०२१।८।१४ मा ज.वि.५१०० खरीद गरी लिएको जग्गा दाईजो पेवा भनी भोग गरी आएको जग्गालाई २०२१ सालको घरसारको बण्डापत्रमा वादीले स्वीकार गरेको र पछि २०३३ सालमा पारित बण्डापत्रमा सोही कुरालाई उल्लेख गरेकोसम्म कुरालाई कीर्ते जालसाजी भन्न मिल्दैन । ०१९ र २०२१ सालमा नै पारित भई हक दावी भइसकेको कुरालाई २०३३ सालको बण्डापत्रमा दाइजो पेवा भनेको कुरा कीर्ते जालसाजी हो भन्न मिल्दैन । कीर्ते जालसाजी भएको भए ०१९ र ०२१ सालमा नै भई सकेको छ । त्यस्मा कानूनको म्यादभित्र वादीको उजूरी छैन तसर्थ वादी दावी पुग्न सक्दैन क्षे.अ.को इन्साफ उल्टी हुने ठहर्छ । क्षे.अ.को इन्साफ सदर गर्ने मा.न्या.श्री बब्बरप्रसाद सिंहको रायसंग सहमत हुन नसकेकोले स.अ.नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई संयुक्त इजलासबाट निर्णय भएको रहेछ ।

२०.    संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीचमा मतैक्य हुन नसकी निर्णयार्थ यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले वादीले जुन बण्डापत्र कीर्ते भनी दावी लिएको छ सो बण्डापत्रको लिखत मिति २०३३।३।३१ मा पारित भएको छ र त्यसमा स्वयं वादी तेसराकुमारी उपाध्यायको हस्ताक्षरको सही छ र निजकै दाजु उक्त लिखतमा साक्षी बसेका छन् । २०२० सालमा खगेश्वरले विमलकुमार शर्मालाई गरिदिएको राजीनामाको लिखतउपर वादीको उजूरी परेको छैन भने २०२१ सालमा विमलकुमार शर्माले माधवीदेवीलाई गरिदिएको राजीनामाको लिखतमा नै पेवाको पैसा लिएको भन्ने कुरा उल्लेख छ र यो राजीनामाको लिखत कीर्ते हो भनी वादीको उजूरी परेको छैन । माधवीदेवीले पेवाको पैसाबाट किनेको यही जग्गालाई ०३३ सालको बण्डापत्रमा पेवा भनी उल्लेख गरेको हो अतः यस्तो बण्डापत्रको लिखतलाई कीर्ते लिखत भन्न नमिल्ने हुनाले वादी दावी नपुग्ने ठहर्‍याएको संयुक्त इजलासका मा.न्या.श्री गजेन्द्रकेशरी बास्तोलाको राय कायम गरी पाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रेवन्त कुँवरले प्रतिवादी खगेश्वर उपाध्यायले पैतृक सम्पत्तिको जग्गा आफ्नो जेठान विमलकुमार शर्मा समेतलाई राजीनामा गरी दिएको र यिनै जग्गाहरु प्रतिवादी माधवीदेवी उपाध्यायले आफ्नो पेवा रुपैयाँबाट लिएको भनी आफ्ना दाजुहरुबाट राजीनामा गराई लिएको छ । यसरी प्रतिवादीहरुको यो व्यवहार नै जालसाजीपूर्ण छ । मेरो पक्ष अनपढ छ २०३३ सालको बण्डापत्रको लिखत गर्दा देवरानी माधवादेवीको पेवाको जग्गा अन्त नै छ, भनी झुक्याई बण्डा लाग्ने जग्गालाई देवरानी माधवीदेवीको पेवाको हुनाले बण्डा नलाग्ने भन्ने उल्लेख गरी भएको बण्डापत्रको लिखत जालसाजी हो । प्रतिवादीहरुको मिलोमतोबाट मेरो पक्षको अंश मार्नका लागि जालसाजी बण्डापत्र खडा गरेको हुनाले संयुक्त इजलासका मा.न्या.श्री बब्बरप्रसाद सिंहको राय कायम गरी पाउँ भन्ने समेत बहस गर्नु भयो ।

२१.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत  मुद्दामा वादी दावी बमोजिमको २०३३।३।३१ गतेको बण्डापत्रको लिखत कीर्ते हो होइन भन्ने विषयमा निर्णय गर्नु परेको छ ।

२२.    निर्णयतर्फ हेर्दा यसमा ज.वि.८६ अंश लाग्ने जग्गा बण्डापत्र कागजमा बण्डा नलेखी माधवादेवीको नामको बण्डा नलाग्ने पेवा जग्गा भन्ने उल्लेख गरी गराई खगेश्वर नामको जग्गा मात्र बण्डापत्रमा लेखी उल्लिखित जग्गा र घरमा मेरो अंश मारी नोक्सानी पारी माधवादेवीले फाइदा उठाउने र निज माधवादेवीको दाजु विमलकुमार तथा खगेश्वरले फाइदा गरी दिने लिने मिलोमतोले झुक्याई कीर्ते काम गर्ने गराउने अन्यायहरुलाई कीर्ते कागजको ७ नं. ले हुने जरिवाना गरी पाउँ भन्ने फिराद दावी भएको पाइन्छ भन्ने वादी दावी बमोजिम झुक्याई कीर्ते गरेको हैन, छैन स्वयं वादीको दाजु समेत फड्के साक्षी बसी बण्डापत्रको लिखत पारित समेत भएकोले सो बण्डापत्रको लिखत कीर्ते होइन भन्ने प्रतिउत्तर जिकिर भएको पाइन्छ ।

२३.    मिति २०३३।३।३१ गतेको बण्डापत्रको लिखत हेर्दा उक्त बण्डापत्र वादी तेसराकुमारी उपाध्याय र प्रतिवादी मध्येको खगेश्वर उपाध्याय अर्थात देवर भाउजुको बीचमा भएको देखिन्छ । बण्डापत्रको पेटबोलीमा देवरानी माधवादेवीका नाममा दर्ता श्रेस्ता भएको खलुवा लहलोराको ८६ जग्गा निज देवरानीको पेवा भएकोले बण्डा गर्नु नपर्ने भन्ने व्यहोरा समेत उल्लेख भई बण्डापत्रको कागज एक प्रति लियौं दियौं भनी मिति २०३२।१२।२९।१ मा घरसारमा बण्डापत्रको लिखत भएको पाइन्छ । मिति २०३२।१२।२९।१ मा घरसारमा भएको उक्त बडापत्रको लिखत मिति २०३३।३।३१ अर्थात लिखत भएको मितिले करिब तीन महिना पछिमात्र उक्त बण्डापत्रको लिखत भूमिप्रशासन कार्यालय, दाङ देउखुरीबाट पारित भएको देखिन्छ । यसरी आफ्नो साथमा तीन महिनासम्म राखेको बण्डापत्रको लिखतमा ८६ जग्गा देवारानी माधवादेवीको पेवा हुनाले बण्डा गर्न नपर्ने भनी उल्लेख भएको कुरा वादी तेसराकुमारीले थाहा पाइनन् होला भन्न स्वभाविक देखिँदैन । बण्डापत्रको लिखतमा वादी तेसराकुमारी उपाध्यायको दाजु नन्दप्रसाद उपाध्याय समेत फड्के साक्षी बसेको देखिएबाट समेत वादी तेसराकुमारी उपाध्यायलाई झुक्याई बण्डापत्र गरे गराएको भन्न नमिल्ने । यसका साथै भूमिप्रशासन कार्यालय, दाङ देउखुरीबाट उक्त बण्डापत्रको लिखत पारित गर्दा बण्डापत्र पढी सुनाई मजबून सम्झाउँदा बुझाउँदा दुवै थरी सनाखत साक्षी समेत लेख व्यवहार ठीक साँचो हो भनी थप सनाखत सहिछाप गरी दिएको प्रमाण २०३२ सालको पोत बुझाएको रसीद र प्रमाण पुर्जा देखाउँदा सो रजिष्ट्रेशन पारित गरी दिए भन्ने उल्लेख भएको कुरा मिसिल संलग्न कागजातबाट देखिन्छ । यसरी बण्डापत्रको लिखत पारित हुनु अघि बण्डापत्रको व्यहोरा अड्डैबाट पढी वाची सुनाउँदा तेसराकुमारीलाई उक्त बण्डापत्रमा ८६ जग्गा देवरानी माधवादेवीको पेवामा राखेको कुराको जानकारी समेत हुने र सो जग्गा माधवादेवीको पेवा नभई बण्डा लाग्नु पर्ने भए उसै बखत बण्डापत्रको कागज रजिष्ट्रेशन पारित गर्न इन्कार गर्नु पर्नेमा सो समेत नगरी थप सनाखत सहिछाप समेत गरी उक्त बण्डापत्रको लिखत पारित गराएको देखिन्छ ।

२४.    प्रतिवादी खगेश्वर उपाध्यायले मिति २०२०।७।३।१ मा प्रतिवादी विमलकुमार शर्मा र नरेश्वर उपाध्यायलाई पारित गरी दिएको राजीनामा र मिति २०२१।८।१५।२ मा विमलकुमार शर्मा तथा नरेश्वर उपाध्यायसंग माधवादेवीले आफ्नो पेवाको पैसाले खरीद गरी लिएको राजीनामा कीर्ते जालसाजी भए उसै बखत उजूरी गर्नु पर्ने सो गरेको पनि देखिँदैन । यसरी माधवादेवीले राजीनामा गरी लिंदा नै पेवा रुपैयाँबाट लिएको भन्ने उल्लेख भएको र सोही व्यहोरा उल्लेख गरी बण्डापत्र पारित गरेको देखिन्छ ।

२५.    उपरोक्त कारणहरुबाट भूमिप्रशासन कार्यालय दाङ देउखुरीबाट बण्डापत्र पढी सुनाई यसको  मजबून समेत सम्झाई बुझाई वादी आफू स्वयंले सहिछाप गरी अड्डाबाट पारित समेत गराएको मिति २०३३।३।३१ को बण्डापत्रको लिखतलाई कीर्ते भन्न मिलेन । तसर्थ वादी दावी पुग्न सक्दैन कीर्ते गरेको ठहर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला मनासिब ठहर्‍याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहर्‍याएको संयुक्त इजलासका मा.न्या.श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिब ठहर्छ । तपसील बमोजिम गर्नु ।

तपसील

देहायका प्रतिवादीले शुरु दाङ देउखुरी जिल्ला अदालतको २०४१।३।५ को फैसलाले देहाय बमोजिम जरिवाना गर्ने गरेकोमा माथि लेखिएबमोजिम इन्साफ उल्टी भएकोले सो जरिवाना नलाग्ने हुँदा सो को लगत काटी दिनु भनी दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१

प्र.खगेश्वर उपाध्याय के. रु.१८३३।३४, प्र.माधवादेवी उपाध्याय के. रु.१८३३।३३ प्र.विमलकुमार शर्मा के रु.१८३३।३३ देहायका प्रतिवादीहरु के दाङ देउखुरी जि.अ.को २०४१।३।५ को फैसलाले देहाय बमोजिम लाग्ने गरेको जरिवाना मध्ये प्र.खगेश्वरले २०४१।३।५ मा र प्र.विमलकुमार शर्माले २०४१।३।२३ मा दाङ देउखुरी जि.अ.मा बुझाएको म.प.क्षे.अ.को रेकर्ड मिसिलबाट देखिँदा सो बुझाएको जरिवाना फिर्ता पाउँ भनी निज प्रतिवादीहरुको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई देहायका प्रतिवादीहरुलाई फिर्ता दिनु भनी दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..२

प्र.खगेश्वर उपाध्याय के. रु.१८३३।३४ प्र.विमलकुमार शर्मा के. रु.१८३३।३३ प्र.माधवादेवी उपाध्याय के दाङ देउखुरी जि.अ.को फैसलाले गर्ने गरेको ज.रु. १८३३।३३ बापत खगेश्वर उपाध्यायका नामले दाङ मानपुर गा.पं.वडा नं.४(ख) कि.नं.३६३ को ज.वि.०११४ जेथा जमानी रोक्का रहेकोमा सो जरिवाना नलाग्ने भएकोले उक्त जेथा जमानी रोक्का फुकुवा गरी दिनु भनी मालपोत कार्यालय दाङलाई लेखी पठाउन मिसिल दाङ देउखुरी जिल्ला अदालतमा पठाई दिनु....३

देहायका प्रतिवादीहरु के मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४२।१०।११ को फैसलाले देहाय बमोजिम गरेको जरिवाना नलाग्ने हुँदा खगेश्वरले ०४१।१०।१३ मा र अरुले ०४२।१०।१८ मा म.प.क्षे.अ.मा बुझाएको रसीदबाट देखिँदा सो बुझाएको जरिवाना फिर्ता पाउँ भनी निजहरुको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई निजहरुलाई फिर्ता दिनु र सो जरिवानाको लगत काटीदिनु भनी दाङ देउखुरी जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...४

प्र.खगेश्वर उपाध्याय के. रु.१८३।३४ प्र.माधवादेवी उपाध्याय के. रु.१८३।३३ प्र.विमलकुमार शर्मा के. रु.१८३।३३ वादी तेसराकुमारी उपाध्यायलाई वादी दावी नठहरे बापत जरिवाना गर्नु पर्छ कि भन्नालाई दं.स.को १८ नं. ले केही गर्नु परेन..५

मिसिल नियम बमोजिम गरी बुझाई दिनु......६

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.सुरेन्द्रप्रसाद सिंह,

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल मंसीर १४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु