शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५७२ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५७२ ने.का.प. २०४५     अङ्क ९

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४५ सालको फौ.सा.नं. १३०

फैसला भएको मिति : २०४५।३।२१।३ मा

 

वादी : लोगे तिरुवाको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : अछाम कारागार शाखामा थुनामा रहेकी कलसी तिरुवा कमिनी

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                  विधुवा स्त्रीले अर्काको गर्भ बोकी जन्मेको बच्चालाई लोकापवाद र लाजगालबाट बच्न सकिन्छ कि भन्ने अभिप्रायले सम्म जन्मेको बच्चालाई मारेको भन्ने देखिएकोमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अभियुक्तलाई घटी सजायको लागि राय लगाएको मनासिब देखिँदा अपराधको अवस्था समेतबाट अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० सजायँ हुने ।

(प्रकरण नं. १९)

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.     मेरो बाजे जयातिरुवा मरेपछि बजै कलशीको पेट बढी राखेको देख्ता के हो भनी सोद्धा पेटमा ग्याँस भरिएको हो भनी भन्थिन । यही साल भाद्र ५ गते बच्चा जन्माई ऐ.७ गते पेट ठीक भयो भनी रहेकी थिइन् । गोठमा स्याउला फाल्न जाँदा बोरामा मृतक शिशु लपेटी स्याउलामा लुकाई डोकाले छोपी राखेको देखी के रहेछ भनी हेर्दा भरखर जन्मेको मृतक नवजातक शिशु (छोरा) रहेछ पक्कै बजै कलशीकै कैफियत हो भनी निजलाई सोद्धा २०४१ साल कार्तिक महिनामा खड्के कठायतसंग करणी गरेको थिएँ निजकै विर्यबाट गर्भ रही बच्चा जन्मी बोरामा लपेटी लुकाई राखेको भनेकीले बालकलाई कलशीले कर्तव्य गरी मारी लुकाई राखेको पूर्ण विश्वास लागेकोले निज बजै कलशीलाई सजायँ गरी पाउँ भन्ने मिति २०४२।५।८ गतेको लागे तिरुवाको जाहेरी दर्खास्त ।

३.     वोरा खोली हेर्दा मृतक नवजात शिशुको दाहिने कान देखिएको दाहिने हात कुइना टेकी हत्केला  उत्तानो परेको दुइटै घुँडा टेकी घोप्टो परेको गुद्दद्वारबाट पातलो दिशा निस्की पिडलामा समेत दिशा लागेको, टाउकोमा पुरै रौं आएको, मुख खुल्ला रहेको, दुवै आँखा चिम्लेको, घाँटीमा केही चिजले बाँधी रातो भएको, सो रातो दाग पुरै घाँटीको गोलाइमा भएको, शरीर पुरै निलो पँहेलो भएको, शिशुको लाश नीलो भई औंसा परी दुर्गन्ध आई पोष्टमार्टम गर्ने स्थितिमा नभएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.     २०४१ साल मंसीर महिना हो खड्के कठायतले मौरको जंगलमा जबरजस्ती करणी गरेबाट निजको वीर्यले गर्भ रही भाद्र ६ गते दिउँसो ३ बजे मेरो गर्भबाट छोरा जन्मियो । बच्चा जिउँदै थियो । बच्चा पायो भनी थाहा पाइन्छकी भनी साँझपख बच्चालाई सोही बच्चाको नाभीको आन्ध्राले घाँटीमा थिची दिएकी   थिएँ । बच्चाको मृत्यु भएछ । भोलिपल्ट साँझ ५ बजे थाङना सहित बोरामा लपेटी स्याउलाले ढाकी डोकाले छोपी दिएको थिएँ, साँझ नाती लोगेले देखी हल्ला गरेको थियो । बदनामी हुन्छ कि भन्ने डरले जन्मेको बच्चालाई मारी घरकै गोठमा फाली दिएको हुँ भन्ने समेत कलशी तिरुवाले मिति २०४२।५।१० मा प्रहरी अनुसन्धानमा गरी दिएको बयान कागज ।

५.     प्रतिवादी कलशी तिरुवा नाम गरेकी महिलाले गर्भ धारण गरी बच्चा जन्माएको देखिन्छ भन्ने समेत जि.का.स्वास्थ्य शाखा अछामले मिति २०४२।५।१० मा गरी दिएको प्रमाणपत्र ।

६.     यही भाद्र ६ गते कलशीले नजवात शिशु छोरा जन्माई भाद्र ६ गतेमा जन्माएका बच्चा भाद्र ७ गते गोठमा फालेकी रहिछ भन्ने कुरा थाहा पाई सो बच्चा जन्माई निज कलेशीले नै मारी फ्याँकेकोमा पूर्ण विश्वास लाग्छ खड्के कठायत सित करणी गरेबाट जन्मेको बच्चा हो भन्ने समेत सरजमीनका व्यक्ति र जाहेरवालाकी आमा सावि तिरुवा समेतले लेखाएको सरजमीन मुचुल्का ।

७.     कलशी तिरुवाले आफ्नो पतिको देहावसान पछि अवैध गर्भ धारण गरी बच्चा जन्माई लोकको लाजबाट बच्न सो बच्चालाई आफैंले कर्तव्य गरी मारी फालेकोमा मुख सावित भएकीले निजले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं.को कसूर गरेको देखिँदा निज प्रतिवादी कलशी तिरुवालाई सोही महलको १३ नं. को देहाय ३ बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रतिवेदन ।

८.     मिति २०४१।८।१७ गते हो मौरे भन्ने जंगलमा खड्के कठायतले मेरो बेमन्जूरीमा जवर्जस्ती करणी गरी लोग्ने मरेपछि निज खड्केसंग मात्र करणी भएको हो सो करणीबाट गर्भ रही पुरै १० महिनाको छोरा मिति २०४२।५।६ को दिन जन्मेको हो सो कुरा कसैलाई भनेको थिइँन । बच्चा जन्मेपछि हेर्दा छोरा जन्मेको उक्त बच्चा जन्मने वित्तिकै मरेको थियो । बच्चा जन्मने अवस्था नकराएकोले पेटबाटै मरेर जन्मेको हो । प्रहरीमा गरेको कागज पढी बाँची सुनाएको थिएन मैले भने अनुसार लेखेको होला भनी सही गरेको छु । जाहेरवालाले किन जाहेर गरे सरजमीनका मानिसले किन म माथि शंका देखाएको थाहा छैन भन्ने समेतको मिति २०४२।६।२० गतेमा अदालतमा कलशी तिरुवाले गरेको बयान ।

९.     मिति २०४२।५।६ गते मेरो आमाले खबर गर्दा सुतेको कोठाबाट उठ्न सक्दैन भनी कलशीले भनेकी र मिति २०४२।५।७ गते दिनको १२ बजे पितलको बाटामा राखी बोराभित्र बेरी हातमा कोदालो लिई गोठमा गाड्न गएको समयमा म समेतले देखी पक्री वोरा खोली हेर्दा बच्चाको मरेको लाश थियो बच्चाको घाँटीमा निमोठी मारे जस्तो लाग्छ भन्ने समेत जाहेरवालाले मिति २०४२।६।८।२ मा अदालतमा गरेको बकपत्र ।

१०.     खड्के कठायतको गर्भ हो भन्ने कुरा कलशीकै मुखबाट सुनेको हो । कशलीबाट जन्मेको बच्चा कशलीले नै मारेको जस्तो लाग्छ बच्चा मार्न  लागेको कुरा आँखाले देखेको हैन भन्ने समेत धोजे, काले तिरुवा, लोकबहादुर साउद, काशि साउद, पदमसिं साउद, कपुर सिं साउद, दयाराम साउद समेत सरजमीनका व्यक्तिले अदालतमा गरेको बकपत्र ।

११.     प्रतिवादी कलशी तिरुवाको अंश रोक्का भएको मिति २०४३।२।२०।३ मा अछाम जिल्ला अदालतबाट भएको अंश रोक्का गरेको मुचुल्का ।

१२.    प्रतिवादी कलशी तिरुवाले जन्माएको नवजात शिशुलाई जन्माई कर्तव्य गरी मारेमा यस अदालतमा इन्कारी बयान गरे पनि निज कलशीले प्रहरीमा बयान कागज गर्दा बच्चा (छोरा) लाई कर्तव्य गरी मारेमा सावित भई बयान कागज गरेको देखिन्छ । जाहेरी दर्खास्त पनि किटानी भएको र सरजमीनका मानिसले कलशी माथि मारेको शंका देखाई बयान गरेको लाश प्रकृति मुचुल्काबाट बच्चा पुरै महिना पुगेर जन्मेको  देखिन्छ । कलशीले जन्माएको बच्चा निजले नै कर्तव्य गरी मारेको देखिन आउँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत ठहर गरेको र जवानी अवस्थाको कारणले एकजनासँग फस्न गई गर्भधारण गरी पैदा गरेको देखिन्छ । गाउँघरकी अपठित आइमाई हुन् । यस्तो काम गर्दा सजायँ भोग्नु पर्छ भन्ने ज्ञान नभएको १० महिनासम्म पेटमा राखी जन्माएको बालख नमारु भन्दा भन्दै पनि आवेशमा आई मारेको देखिन्छ निजलाई हदैसम्म सजायँ गर्दा ज्यादै मर्का पर्ने देखिँदा निज प्रतिवादी कलशीलाई १० (दश) वर्ष कैद हुनु पर्ने देखी छुट्टै आफ्नो राय पेश गरेको छु, भन्ने समेत जिल्ला न्यायाधीश कबिन्द्रराज काफ्लेको राय समेतको मिति २०४३।३।२२ गतेको अछाम जिल्ला अदालतको फैसला ।

१३.    अछाम जिल्ला अदालतले मलाई कसूरदार नठहराई सफाई दिनु पर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने ठहराई हराई फैसला गर्नु भएको र १० वर्ष कैद गर्न उचित देखिन्छ भनी राय व्यक्त गरेको कुरामा समेत मेरो चित्त नबुझी पुनरावेदन चढाएको छु भन्ने समेतको कलशी तिरुवाको पुनरावेदनपत्र ।

१४.    अभियुक्त कलशीको साक्षी बुझेको नदेखिँदा कलशीको साक्षी बुझी बकपत्र गराई मिसिल पठाई दिनु भनी शुरु मिसिल अछाम जिल्ला अदालतमा पठाई, आएपछि पेश गर्नु भन्ने मिति २०४३।१०।६ गतेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको संयुक्त इजलासशको आदेश ।

१५.    मिति २०४२।५।६ गते म गोरु खोज्न डाँडा गएको थिएँ कलशी जाहेरवाला कहाँ छन् थाहा छैन निजले कसैसँग करणी गराई गर्भ बोकेको कुरा र बच्चा जन्माई कर्तव्य गरी मारेकीले प्रहरीले पक्री लगेको कुरा सुनेको हुँ आँखाले नदेखेकोले मलाई केही थाहा छैन भन्ने समेत प्रतिवादी कलशीको साक्षी झंकरे तिरुवाले गरेको बकपत्र ।

१६.     प्रतिवादी कलशीले आफैंले जन्माएको जिउँदो बालकलाई कर्तव्य गरी मारेको ठहराई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको अछाम जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । कैद वर्ष १० सम्म गर्ने गरे मनासिब हुन जाला भन्ने राय व्यक्त गरेको छु भन्ने समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।११ गतेको फैसला ।

१७.    प्रस्तुत मुद्दामा सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुरामा साधक निर्णय दिनु पर्ने हुनआएको छ ।

१८.    यसमा निर्णयतर्फ हेर्दा कलशी तिरुवाले अवैध गर्भ धारण गरी बच्चा जन्माई बच्चालाई आफैंले कर्तव्य गरी मारेकोले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी    देखिन्छ । अभियुक्त कलशी तिरुवाले खड्के कठायतको करणी वीर्यबाट रहेको गर्भ भाद्र ६ गते जिउँदै बच्चा जन्मेको नाभीको आन्द्राले घाँटीमा थिची दिएको बच्चा  मृत्यु भएकोले बोरामा लपेटी गोठमा फाली दिएको भनी प्रहरीमा सावित भई कागज गरेको पाइन्छ । तर अदालतमा बच्चा जन्मने वित्तिकै मरेको थियो भनी इन्कार रहेको देखिन्छ लाश जाँच प्रकृति मुचुल्काबाट मृतक नवजात शिशुको घाँटीमा केही चिजले बाँधी घाँटीमा रातो दाग पुरै भएको, घाँटी पुरौ नीलो पहेलो भएको भन्ने उल्लेख भएको पाइन्छ । जाहेरवाला तथा सरजमीनका काले तिरुवा समेतले बच्चा कलशीले नै मारे जस्तो लाग्छ भनी अदालतमा आई बकपत्र गरी दिएको देखिन्छ । अभियुक्त कलशीको साक्षी झंकरे तिरुवाले कसैसँग करणी गराइ गर्भ बोकेको कुरा र बच्चा जन्माई कर्तव्य गरी मारेकीले प्रहरीले पक्री लगेको कुरा सुनेको हुँ भनी बकपत्र गरेको छ । तर निज अभियुत्तले आरोपित कसूर गरेको होइन भनी भन्न सकेको छैन । उपर्युक्त लास प्रकृति मुचुल्का र सरजमीनका व्यक्तिहरुको बकपत्र तथा अभियुक्तकै साक्षीको बकाई समेतबाट प्रहरीमा भएको अभियुक्तको साविती बयानको पुष्टि भई निज अभियुक्तले नै आरोपित कसूर गरेको भन्ने देखिन्छ । निज अभियुक्त कलशी तिरुवाले नै आरोपित कसूर गरेको होइन भन्ने कुरा कुनै प्रमाण देखिँदैन आरोपित कसूर गरेको ठहराएको क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन गर्नसकेको पनि छैन । यस स्थितिमा अभियुक्त प्रतिवादी कलसी तिरुवा निर्दोष रहेछ भन्न सकिने अवस्था   रहेन । तसर्थ निजलाई आरोपित कसूर गरेको ठहराई निजलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको अछाम जिल्ला अदालतको इन्साफ सदर गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मनासिब    ठहर्छ ।

१९.     घटी सजायको लागि राय लगाएतर्फ हेर्दा जंगलमा खड्के कठायतले जबरजस्ती करणी गरी गएकोबाट गर्भ रही बच्चा जन्मेको थियो । बच्चा पायो भनी थाहा पाइन्छ की भनी बच्चालाई सालनालले घाँटीमा बाँधी मारेमा अभियुक्त कलशी तिरुवा सावित भई प्रहरीमा बयान गरेको पाइन्छ । निज अधियुक्त लोग्ने मरी विधवा भन्ने देखिन्छ । एकैपटकको करणीबाट गर्भ रहेको भन्ने निजको बयानमा उल्लेख भएको छ । त्यसपछि करणी लिनुदिनु भएको भन्ने देखिँदैन । घटनाको अवस्थाबाट विधुवा स्त्रीले अर्काको गर्भ बोकी जन्मेको बच्चालाई लोकापबाद र लाजगालबाट बच्न सकिन्छ कि भन्ने अभिप्रायले सम्म जन्मेको बच्चालाई मारेको भन्ने देखिन्छ । यस्तोमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आयो । तसर्थ शुरु जिल्ला अदालत तथा क्षेत्रीय अदालतले अभियुक्त कलशी तिरुवालाई घटी सजायको लागि राय लगाएको मनासिब देखिँदा अपराधको अवस्था समेतबाट निज अभियुक्त कलशी तिरुवालाई अ.बं.१८८ नं.ले कैद वर्ष १० दश सजायँ हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी कलशी तिरुवाके माथि इन्साफ खण्डमा लेखिएअनुसार अ.बं.१८८ नं.ले कैद वर्ष १० दश सजायँ हुन्छ । निज अछाम कारागारमा थुनामा हुँदा हिरासतमा रहेको मिति २०४२।५।११ देखि कैद कट्टी गर्नु भनी अछाम जिल्ला अदालतमा लेखी पठाउँन का.जि.अ. मा लगत दिनु ...१

प्रतिवादी कलशी तिरुवाके अछाम जिल्ला अदालतका मिति २०४३।३।२२ को फैसलाले सर्वश्व सहित जन्मकैद गर्ने गरेकोमा माथि लेखिएअनुसार १० दश वर्ष मात्र कैद हुने ठहरेकोले सो सर्वश्वसहित जन्मकैदको लगत काटी दिनु भनी अछाम जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु ..२

प्रतिवादी कलशी तिरुवाके माथि लेखिएअनुसार कैद वर्ष १० दश मात्र हुने भएकोले सर्वश्व गर्न नपर्ने हुँदा निजको मिति २०४३।२।३० गते रोक्का भएको सर्वश्व फुकुवा गरी दिनु भनी अछाम जिल्ला अदालतमा लेखी पठाउँन का.जि.अ. मा लगत दिनु ..

कैद वर्ष १० हुने ठहरी साधक निर्णय भएको सूचना  प्रतिवादी कलशी तिरुवालाई दिनु ...४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ......५

 

उक्त रायमा म सहमत छु ।

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल आषाढ २१ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु