निर्णय नं. ३५७६ - जग्गा खिचोला चलन

निर्णय नं. ३५७६ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
सम्वत् २०४४ सालको दे.पु.नम्बर ८१४
फैसला भएको मिति : २०४५।८।१२ मा
पुनरावेदक/प्रतिवादी : संखुवासभा धनुषा गा.पं.वार्ड नं. ३ बस्ने महानन्द उपाध्यायसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने कपिलमणि उपाध्याय भट्टराई
मुद्दा : जग्गा खिचोला चलन
(१) हक टुटाई लिएको सबूद बिना भोग गरेको भन्ने आधारमा मात्र हक स्थापित हुन नसक्ने ।
(प्रकरण नं. १७)
फैसला
न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।९।१३ को फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. १९५० साल जाँचमा धुपुको राई जगसेरका जिम्मा भित्रको मोही जितमान भनेको जितु जिम्मा रु.३।२ धुरी तिरोमा दर्ता भई निज दर्तावाला गयरी हुँदा जिम्माबालको छोरा बहादुर राईबाट अन्यायको महानन्दले ८८।३।१६।३ मा पजनी लिई ९४।६।८।५ मा भिन्न हुँदा निज जितु भोटे दर्ताको जग्गा मेरो भाग अंशमा परी मैले भोगेको रु.१।– रिताको गैरीवारी आधी र बारी पुछारवारी र भोटे खण्ड धुरीको मुरी सखी खेत समेत आमा धनमायाका अंश भागमा परी आमा धनमायालाई विपक्ष दाजु महानन्दले हेला होचो नगरे मरे उप्रान्त शेष पछि खाने भन्ने बण्डापत्रमा लेखिएबमोजिम भोगी आएकोमा ००४।१।२४।४ मा भा.रु. ४८०। मा पाठा बस्ने धनन्जय पाध्यालाई बिक्री गर्दा उक्त पास तमसुकका ४ किल्लाका जग्गा मध्ये आमा धनमायाबाट २०२७।२।१ गते मेरी श्रीमती पुण्यकुमारीले गैरी बारी आधीबाट पूर्व निज आमा धनमायाबाटै २०२९।५।१५ गते पुण्यकुमारीले नै राजीनामा लिएको बारी पुछार बारी साँध अदालतको डिल वारपार पश्चिम, पोटी खोल्सा, उत्तर ठाडो बाटो, दक्षिण पति ४ किल्लाभित्रको दामासाही तिरो रु.१।२ लाग्ने रु. २००।– मोलिने मेरो अंश हकको रैकर धुरी बारी उक्त मो.व. साहूको थैली ०३२।८।१३ गते मैले तिरी निखनी लगत कट्टा गरेको जग्गामा विपक्षीहरुले मिति २०३२।८।२९ गते जबरजस्ती जोतखन गरी गहुँ बाली लगाई खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई विपक्षीहरुलाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने समेत फिरादपत्र ।
३. वादी लेख अनुसार ०४ सालमा धनन्जयलाई भोग बिक्री गर्दा म महानन्द साक्षी बसेको छैन । मबाट विपक्षीले ४ थान लिफा लिएको थियो त्यस लिफामा खडा गरेको छ वा के छ लिखत देख्न पाए अ.बं.७८ नं. अनुसार नामाकरण गर्नेछु । वादी दावी अनुसार हामीले वादीको जग्गामा खिचोला गरेको छैन होइन जालसाजी राजीनामा खडा गरी मनोमानी किल्ला लेखी झुठ्ठा कुरामा उजूर गरेकोले मैले अघिदेखि भोगी आएको जग्गा भोगी खान सदरको सदरै गरी झुठ्ठा उजूर गरेमा वादीलाई सजायँ समेत गरी पाउँ भन्ने प्रतिउत्तरपत्र ।
४. वादीबाट पेश भएको धनी धनन्जय ऋणी कपिलमणी भएकोमा रु.४८०।– को ०४।१।२४।४ को भोगबन्धकी लिखत देखे सुने उक्त तमसुकमा लेखिएको मध्ये पहिला दफाको गैरी बारी मेरा हकको भएकोले वादी कपिलमणिले नन्दलाल र मेरा नाउँमा समेत लेनदेन मुद्दामा आजै चाहिन्छ भनी सही गराई लिएको लिफाबाट उक्त लिखतमा धनी ऋणी र कलमी अन्तरसाक्षी भई जालसाज गरी खडा गरेको हुन भन्ने प्र.वा.देवराज भट्टराईले गरेको बयान ।
५. पु.वा.देवराजले गरेको बयान अनुसार जालसाज गरेको होइन बयान झुठ्ठाले लिखत सद्दे हो भन्ने समेत वादी वा.बलबहादुर निरौलाको बयान ।
६. देवराजले गरेको बयान सुनें सो अनुसार जालसाज गरेको होइन आजै भनी लिफा लिएकोमा लिखत खडा गरेको भन्ने मलाई थाहा छैन । जग्गा मैले भोगेको र रुपैयाँ बुझी दरपिठ गरेको नहुँदा दरपिठमा लागेको ल्याप्चे मेरो होइन । पिठ बन्दी कीर्ते गरेमा कपिलमणिलाई नै सजायँ गरी झुठ्ठा दावाबाट अलग गरी पाउँ भन्ने सूर्यप्रसाद दाहालले गरेको बयान ।
७. जग्गा प्रतिवादीको हक भोगको देखिँदा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्दैन । मिति २०३२।८।१३ को दरपिठमा लेखिएको रु.४००।– को हुने रु.६६९।२० को तमसुकको पिठमा लेखिएको सहिछाप वादी कपिलमणिले कीर्ते गरेको ठहर्छ भन्ने समेत शुरु संखुवासभा जिल्ला अदालतको मिति ०३८।८।२ को फैसला ।
८. शुरुले गरेको इन्साफमा चित्त बुझेन बदर गरी पाउँ भन्ने समेत वादी कपिलमणिले कोशी अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।
९. २०३२।८।१३ को दरपिठ जालसाज र जग्गा प्रतिवादीको ठहरेको शुरु शंखुवासभा जिल्ला अदालतको इन्साफ मनासिब हुँदा सो उपरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने कोशी अञ्चल अदालतको २०४०।३।२।५ को फैसला ।
१०. मेरो सबूद प्रमाण र कानून तथा नजीरको बेवास्ता गरी वादी दावी ४ किल्लाको जग्गा वादीको बण्डापत्र र भो.ब. लिखतलाई निस्कृय गराई शुरुले गरेको गल्ती इन्साफलाई समर्थन गरी कानून विरुद्ध गरिएको कोशी अञ्चल अदालतको उक्त फैसला जरिवाना समेत बदर गरी कानूनी न्याय पाउन पुनरावेदन अनुमति पाउँ भन्ने समेत वादी कपिलमणि भट्टराईको निवेदनपत्र ।
११. कोशी अञ्चल अदालतको फैसला प्रत्यक्ष विवाद रहित कानूनी त्रुटिपूर्ण देखिनाले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) को खण्ड (ग) र (ध) अनुसार पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने क्षे.अ.सिंगल बेञ्चको ०४१।७।१४।३ को आदेश ।
१२. सूर्यप्रसादको बयानबाट वादीको उक्त जग्गामा हक हुनेबारे कुनै विवाद उत्पन्न नहुने हुँदा यस्तो अवस्थाको पिठ बन्दीलाई कीर्ते ठहर्याउँन न्यायोचित नदेखिँदा कीर्ते ठहराएको जि.अ.को इन्साफलाई सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने ठहर्छ । दरपीठ कीर्ते भन्ने वादी दावी पुग्न सक्दैन । साथै हक टुटाई लिएको सबूद बिना भोग गरेको भन्ने आधारमा मात्र हक स्थापित हुन नसक्ने हुँदा वादी दावीको गैरी वारीमा वादीको हक कायम हुनु पर्नेमा प्रतिवादी महानन्दको हक ठहर्याएको स.स.जि.अ.को इन्साफलाई सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ गल्ती देखिँदा उल्टी हुने ठहर्छ वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत पू.क्षे.अ.को २०४३।९।१३।१ को फैसला ।
१३. पू.क्षे.अ.को फैसला प्रतिपादित सिद्धान्त विपरीत हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी महानन्द उपाध्यायको अनुमतिको लागि पर्न आएको निवेदनमा संशोधित न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ग) को अवस्था विद्यमान हुँदा पुनरावेदन गर्न अनुमति प्रदान गरिएको भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।३।१६ को आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत विषयमा तारेखमा रही इजलास समक्ष उपस्थित वादी प्रतिवादीका वा.समेतलाई रोहवरमा राखी सम्बन्धित मिसिल कागज अध्ययन गरी पू.क्षे.अ.ले गरेको निर्णय मिले नमिलेको के रहेछ । सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१५. यस्मा मुख्यतः जितु भोट जिम्माको तिरो रु.३।२ धुरी तिरोको गैरी वारीमध्ये आधी भन्ने वादी सम्पूर्ण कित्ता मेरो भन्ने प्रतिवादी भएबाट यही गैरीवारीमा विवाद देखिन आयो ।
१६. प्रतिवादीतर्फबाट विवादीत जग्गा नन्दलाल साहू भएको बिगो मुद्दाबाट बिगो ठहर भई बिगो बापत लिलाम भइसकेको र जितु भोगको रु.३।२ तिरोको जग्गामा आफ्नो हक भोगको भन्ने जिकिर लिएको पाइन्छ । तर नन्दलाल भट्टराईको बिगो भराउने सम्बन्धमा अदालतमा परेको २००८।७।२१ को दरर्खास्तमा पूर्व ६नं. अदालतबाट गरेको २०१०।६।५ को पर्चामा काले दर्ताको जग्गा ००५ सालमा रु.१४०।– मा परशुरामलाई भोग बन्धक पास भएको र उकास गर्नु बाँकी भन्ने उल्लेख भएबाट धनन्जय पाध्यालाई रु.४८०।– मा भोगबन्धकी भएको जितु भोटे दर्ताको जग्गा बेग्लै देखिन आयो । साथै १९९४।६।८ को राजीनामा व्यहोराबाट समेत विवादीत गैरी बारी आधी भित्तापट्टी प्र.महानन्दको अंश भागमा परेको भन्ने देखिन आयो । साथै २००४।१।२४ मा धनन्जयलाई जितु दर्ताको गैरी बारी भोगबन्धकी पास गरी दिएको लिखतको पेट बोलीमा उक्त जग्गा दामासाहीले वादी कपिलमणिले अंश भागमा पाएको भन्ने उल्लेख भएको र सोको ल्याप्चे आफ्नै भन्ने अदालतमा भएको वारेसको बयानबाट स्वीकार गरेको पाइयो । अर्जि कागजमा गराइएका सहिछाप भन्ने विश्वासयुक्त देखिन आएन । साथै प्र.महानन्दको एकलौटी अंशको भन्ने तथ्य प्रमाणित हुने कागजात समेत पेश भएको देखिन आएन ।
१७. साथै भोगबन्धकको २०३२।८।१३ को दरपिठलाई समेत उजूरी गरी बदर नगराई आफ्नो हक अघिदेखि नरहेको भनेबाट समेत उक्त पिठबन्दीलाई कीर्ते ठहर गर्न समेत मिल्ने देखिन आउँदैन । तसर्थ हक टुटाई लिएको सबूद बिना भोग गरेको भन्ने आधारमा मात्र हक स्थापित हुन नसक्ने हुँदा वादीहरुको उक्त विवादीत गैरीबारीमा वादीको हक कायम हुनु पर्नेमा प्र.महानन्दको हक ठहराएको शुरु जि.अ.को इन्साफलाई सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ उल्टी हुने ठहर गरेको उक्त पू.क्षे.अ.को फैसलामा उल्लिखित बूँदा प्रमाण समेतबाट इन्साफ पू.क्षे.अ.को मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही मुद्दा दायर भएको देखिँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल मंसीर १२ गते रोज शुभम् ।