निर्णय नं. ३५७७ - कर्तव्य ज्यान

निर्णय नं. ३५७७ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ६२६
फैसला भएको मिति : २०४५।८।७।३ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा तेह्रथुममा थुनामा बस्ने चन्द्रबहादुर डांगी
विरुद्ध
प्रत्यर्थी/वादी : चन्द्रबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) छोरालाई मार्नु पर्ने रीसइवी मनसाय नभई अह्राएको काम नगरेबाट रीस उठी परिश्रम मेहनत गर्नु पर्छ भनी निज मर्नेकै हितको लागि निजलाई कुटपिट गरेको, होस नपुर्याई हान्दा मृतक कान्लामनी लडी रुखमा अल्झी संजोगवस मृत्यु भएकोमा ज्यानसम्बन्धीको महलको ५ नं. अनुसार भवितव्यको अपराध देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) बमोजिम निजलाई कैद वर्ष २ हुने ।
(प्रकरण नं. १८)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री नरहरी आचार्य
प्रत्यर्थी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफउपर चित्त नबुझी प्रतिवादीतर्फबाट कारागार शाखा तेह्रथुम मार्फत यस अदालतमा पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।
२. २०४१।४।१० गतेका दिन छोरा लक्ष्मीप्रसाद डांगीलाई वस्तु भएको रेखदेख गर्न भनी श्रीमती र छोरा २ समेत लिई खेतको काम गर्न गई बेलुका ६ बजे घरमा फर्की आउँदा घरमा नभई तलास गर्दा घर मुनी खस्रेताको रुखमा डोरीले पासो लगाई झुण्डी मरेकोले लास समेत फेला परेबाट कानून बमोजिम गरी पाउँ भन्ने समेत चन्द्रबहादुरको २०४१।४।११ को जाहेरी दर्खास्त ।
३. छोरा लक्ष्मीप्रसादले घरमा काम नगरेकाले चन्द्रबहादुर डाँगीले कुटपिट गरी लडाई मारी ज्यानमा परिन्छ भनी श्रीमती, छोरा टेकबहादुर समेत भई खस्रेतोको रुखमा झुण्ड्याएको बुझीन आएकोले चन्द्रबहादुर समेत ३ जनालाई दाखिल गरेको छु भन्ने प्र.स.नि. चन्द्रबहादुर श्रेष्ठको प्रतिवेदन ।
४. घरमा वस्तुलाई घाँस पानी गर्नु भनी दाजु लक्ष्मीलाई अह्राई बाबु आमा र म समेत खेत रोप्न गएका करिव १ बजे दाजुले के गर्नु भयो भनी बाबु घर आएका दाजुले केही काम नगरी बसेको देखी बाबु चन्द्रबहादुरले २।४ थप्पड हिर्काए पछि दाजु घाँस काट्न घर मुनी वारीमा गएका र बाबु त्यही बाटो खेततिर झर्दा फेरि हिर्काई १५ फिट मुनी डिलमा लडाई मरेपछि बाबु खेतमा जानु भयो र लक्ष्मीप्रसादले घरमा केही काम गरेको छैन, घरमा पनि छैन भन्दा खोज्न भनी घर आएका, पछि बाबुले मैले रीसले कुटपिट गर्दा छोरो लक्ष्मी त्यहीं मरे अब कसो गर्ने ज्यानमा परिन्छ भन्दा किन त्यो गर्नु भयो भनी मैले भनें र बाबुको अह्रावट अनुसार दाजु लक्ष्मीप्रसादलाई डोरीले झुण्ड्याउनसम्म सहयोग गरेको हो, मार्न सहयोग गरेको छैन भन्ने समेत टेकबहादुरको प्रहरी तथा अदालतमा बयान ।
५. घरमा काम नगरेकोले मेरा श्रीमान चन्द्रबहादुरले हिर्काउँदा छोरो लक्ष्मीप्रसाद मरेका हुन् । मारे पछि किन त्यसो गरेको भनेको, श्रीमानले ज्यानमा बच्छु कि भनी आफैं झुण्डी मरेको भन्ने पार्न झुण्ड्याउनु पर्छ भनेकोले रुखमा झुण्ड्याउनसम्म सहयोग दिएको हो । झुण्ड्याई मार्नमा मेरो सहयोग छैन भन्ने समेत चन्दमायाको प्रहरी तथा अदालतमा बयान ।
६. २०४१।४।१० गते छोरा लक्ष्मीप्रसादलाई वस्तु भाउलाई घाँस पराल गर्न अह्राई विरोटा खेत रोप्न गएका, घरमा आउँदा कुनै काम नगरी बसेका देखी रीस उठी एक थप्पठ हिर्काएँ । गन गन गर्दै घाँस काट्न वारीमा गएको, म पनि पानी लगाउन त्यसै बाटो झर्दा मुख छोडी गाली गरेको सुनें । रीस उठेकोले घोप्टो परी घाँस काट्दै गर्दा लात्ताले हान्दा सण्डीमा लाग्न गएछ र लडेपछि गालामा र पानी पेटमा हिर्काएँ । परान परेकोले मर्यो कि भनी डरले समाई छोरा छोरा भन्दा एकोहोरो भई आधा मिनेटमा प्राण गयो र त्यहाँ नै छोडी श्रीमती छोरा भए ठाउँमा गई सबै कुरा भनी छोरा श्रीमती समेत भई खस्रेताको रुखमा झुण्ड्याएको हो र आफैं झुण्डी आत्महत्या गरी मरेछ भनी जाहेरी दिएकोमा प्रहरीले शंका गरी खारखेर गर्दा मैले गरेको कुटपिटले मरेकोले पछि झुण्ड्याएको हो भनी भनेको हो भन्ने समेत प्रहरी र अदालतमा प्र.चन्द्रबहादुर डांगीले गरेको बयान ।
७. मर्ने लक्ष्मीप्रसाद डांगीलाई घरमा काम नगरेको रिसले कुटपिट गरी मारेमा चन्द्रबहादुर डांगी सावित भएकोले लक्ष्मीप्रसादलाई चन्द्रबहादुले कुटपिट गरी मारी श्रीमती र छोराको सहयोग लिई झुण्ड्याएको हुन भन्ने समेत मुचुल्का ।
८. प्रतिवादी चन्द्रबहादुर डांगीउपर ज्यानसम्बन्धीको १३(३) र चन्द्रमाया र टेकबहादुरका हकमा ऐ.१७(३) बमोजिमको सजायको माग दावी समेतको प्रहरी तथा स.स.अ.को राय प्रतिवेदन ।
९. तत्काल उठेको रिसको आवेगमा आई कुटेको भन्ने समेत प्र.चन्द्रबहादुरको बयानलाई वादी पक्षबाट खण्डन गर्न अरु कुनै सबूद प्रमाण प्रस्तुत हुन नसकेकोले चन्द्रबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद हुन्छ । चन्द्रमाया, टेकबहादुरको हकमा ज्यानसम्बन्धीको २३ नं. को कसूर गरेको हुँदा ऐ.२५ नं.बमोजिम रु.२०।– जरिवाना हुन्छ भन्ने समेत शुरु तेह्रथुम जिल्ला अदालतको २०४१।१२।६ को फैसला ।
१०. प्रतिवादी चन्द्रबहादुरलाई ज्यानसम्बन्धीको १३(३) नं.को दावी भएकोमा ऐ.१४ नं. ले सजायँ गरेको र चन्द्रमाया र टेकबहादुरको हकमा ऐ.१७(३) को दावी भएकोमा ऐ.२५ नं. ले सजायँ गरेको कानूनी त्रुटिपूर्ण फैसला हुँदा प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पु.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
११. रक्षा शिक्षा दिने बाबुले साधारण कुटपिट गर्दा छोराको मृत्यु भएकोमा मार्ने नियत मनसाय नभएको, मेहनत र परिश्रम गर्नु पर्छ भनी २।४ थप्पड हन्दा परलोक भएको कुरा भवितव्य भन्दा अरु केही हुन नसक्नाले मलाई ज्यानसम्बन्धी १४ नं. ले कैद वर्ष १० गर्ने फैसला बदर गरी ज्यानसम्बन्धीको ६(३) बमोजिम ठहर गरी पाउँ भन्ने समेत प्र.चन्द्रबहादुर डांगीको पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१२. घरमा वस्तु भाउलाई घाँस पानी गर्न अह्राई खेतमा गई फर्की आउँदा केही काम नगरेको देखी रीसले बाबु चन्द्रबहादुरले छोरा लक्ष्मीप्रसादलाई हिर्काएको र छोरा घाँस काट्न गएपछि बाबुलाई मुख छोडि गाली गरेकोले लात्ता, मुक्का तथा चड्कन हानी अचानक सण्डी, पानी पेटमा लाग्न गई मृतकको मृत्यु भएको कुरा प्र.चन्द्रबहादुरले स्वीकार गरेको देखिएकोले तत्काल उठेको रीसबाट कुटपिट गर्दा मर्न गएकोमा वारदात ज्यानसम्बन्धी महलको १४नं. अन्तर्गत पर्न आउँछ । लक्ष्मीप्रसादलाई मार्नमा प्र.चन्द्रमाया र टेकबहादुरको कुनै भूमिका नदेखिई मृतकको मृत्यु पश्चात जाहेरी नगरी लास झुण्ड्याउन सहयोगसम्म गरेको देखिएकोले ती प्रतिवादीहरुले ज्यानसम्बन्धीको २३ नं. को कसूर गरेको देखिई प्र.चन्द्रमायालाई ज्यानसम्बन्धीको २५नं. ले रु.२०।– जरिवाना गरी आमा चन्द्रमायालाई जरिवाना भइसकेकोले प्र.टेकबहादुरलाई जरिवाना नगर्ने गरेको शुरु फैसला मनासिब ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४३।११।२६।३ को फैसला ।
१३. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी कारागार शाखा तेह्रथुम मार्फत यस अदालतमा पर्न आएको प्र.चन्द्रबहादुर डांगीको पुनरावेदनपत्र ।
१४. छोरा लक्ष्मीप्रसाद डांगीलाई उसको हितको लागि प्रतिवादी चन्द्रबहादुरले कुटपिट गर्दा मर्न गएकोमा ज्यानसम्बन्धी १४ नं. लगाई प्र.चन्द्रबहादुरलाई सजायँ गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिएकोले छलफलको निम्ति म.न्या.का.लाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको आदेश ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट बहसका निम्ति उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री नरहरी आचार्यले रक्षा शिक्षा दिने बाबुले साधारण कुटपिट गर्दा मृत्यु भएकोमा मार्ने नियत मनसाय नभएको र मेहनत परिश्रम गर्नुपर्छ भनी सम्झाई २।४ थप्पड हान्दा अचानक मृत्यु भएकोले त्यसलाई ज्यानसम्बन्धीको ६(३) बमोजिम भवितव्य ठहर गर्नु पर्छ भन्दै यसै वारदातसंग मिल्दा वादी श्री ५ को सरकार प्रतिवादी बुसिला तिवारी, मुद्दा कर्तव्य ज्यान भएको ने.का.प. २०४२, अंक ५, नि.नं.२३७४, पृष्ठ ४९१ मा प्रकाशित नजीर समेत बमोजिम भवितव्य ठहर हुनु पर्ने भन्ने बहस गर्नु भयो भने वादी श्री ५ को सरकार तर्फबाट बहसका लागि उपस्थित विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले घरमा वस्तु भाउलाई घाँस पानी गर्नु भनी अर्हाएको काम छोरा लक्ष्मीप्रसादले नमान्दा तत्काल उठेको रीसबाट प्रेरित भई कुटपिट गरी तथा पछि वारीमा घाँस काट्न गएपछि पनि मुख चलायो भनी प्र.चन्द्रबहादुरले कुटपिट गरी मृतकको मृत्यु भएकोले ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजायँ गर्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको हुनाले सदर हुनुपर्छ भन्ने समेत गर्नु भएको बहस जिकिरहरु सुनियो ।
१६. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब के रहेछ निर्णय दिनुपरेको छ ।
१७. यसमा प्रतिवादी चन्द्रबहादुर डांगीले निजको आफ्नै छोरा लक्ष्मीप्रसाद डांगीलाई घरमा वस्तु भाउलाई घाँस पानी गर्नु भनी अर्हाएको काम नमानेकोले कुटेको कारणबाट निज लक्ष्मीप्रसादको मृत्यु भएको भन्ने कुरामा विवाद देखिएन । अब निजको मृत्यु कर्तव्यबाट भएको हो वा भवितव्यबाट हुन गएको हो भन्नेतर्फ हेरिएमा मर्ने लक्ष्मीप्रसाद प्रतिवादी चन्द्रबहादुरको छोरा भएको निजलाई मार्नु पर्नेसम्मको रीसइवी समेत परेको मिसिलबाट देखिन नआएको आफू खेत रोप्न जाँदा छोरालाई घरमा गाईबस्तुहरुलाई घाँस पानी खुवाउनु, गोबर सोर्नु भनी अर्हाई गएकोमा दिउँसो खेतबाट फर्की आउँदा छोराले केही काम पनि नगरी बसी रहेको देखी रीस उठी साधारण कुटपिट गरेको र छोरा लक्ष्मीप्रसाद घाँस काट्न घर मुनी गई घाँस काटी रहेको बेला सोही बाटो गरी खेतमा पानी लगाउन जान लागेकोमा निजलाई मर्ने लक्ष्मीप्रसादले गाली गरिरहेको सुनी रीस उठी निजलाई हिर्काउँदा निज बारीको डिलबाट खसी मृत्यु भएको भन्ने निज चन्द्रबहादुर डांगी समेतको कागज बयानबाट देखिन्छ ।
१८. छोरालाई मार्नु पर्ने रीसइवी मनसाय नभई अर्हाएको काम नगरेबाट रीस उठी परिश्रम मेहनत गर्नु पर्छ भनी निज मर्नेकै हितको लागि निजलाई कुटपिट गरेको, होस नपुर्याई चाकमा हान्दा मृतक कान्ला मनी लडी रुखमा अल्झी संजोगवस निजको मृत्यु भएको ज्यानसम्बन्धीको महलको ५ नं.अनुसार भवितव्यको अपराध देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) बमोजिम निज चन्द्रबहादुर डांगीलाई कैद वर्ष २ हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्र.चन्द्रबहादुर डांगी के माथि इन्साफ खण्डमा लेखिएबमोजिम कैद वर्ष २ हुने ठहरेकोले सो लगत राखी ०४१।४।१६ देखि थुनामा परेको हुँदा निजलाई तोकिएको कैद अवधि भुक्तान भइसकेकोले थुनाबाट छाडि दिनु भनी कारागारमा लेखी पठाउनु भनी शुरु जि.अ.मा लेखी पठाउनु...१
निज चन्द्रबहादुर डांगी के शुरु जि.अ.फैसला बमोजिम कैद वर्ष १० र क्षे.अ.ले पुनरावेदन गरे बापत गर्ने गरेको कैद वर्ष १ समेतको लगत राख्न नपर्ने हुँदा सो कैद लगत कट्टा गरी दिनु भनी शुरु जि.अ.मा लेखी पठाई दिनु...२
पू.क्षे.अ.को इन्साफ केही उल्टी भएकोले मा.न्या.श्री अरबिन्द नाथ आचार्य, मा.न्या.श्री राजेन्द्रराज नाख्वाको केही उल्टीमा रेकर्ड राख्नु । नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल मार्ग ७ गते रोज ३ शुभम् ।