निर्णय नं. ३५७८ - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३५७८ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् ०४४ सालको रिट नं. १७०९
आदेश भएको मिति : २०४५।७।१४।१ मा
निवेदक : का.जि.खड्का भद्रकाली गा.पं.वा.नं.६ बस्ने कान्छा महर्जन
विरुद्ध
विपक्षी : का.मु.प्रमुख मालपोत अधिकृत श्री धर्मप्रसाद गौतमसमेत
विषय : उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) पिताको परलोक भएकाले लगत भिडाई जग्गा दर्ता गराई ज.ध.प्र.पु.समेत पाउँ भनी मा.पो.का.मा निवेदन परिसकेपछि सो जग्गा दर्ता गर्न मिल्ने नमिल्ने सो सम्बन्धमा लगत भिडाई हेर्नु पर्नेमा सो नगरी फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल कारवाही गर्न मिलेन भन्दै आवादी समितिबाट कारवाही हुने गरी तामेलीमा राख्ने भनी गरेको मा.पो.का.को निर्णय कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का
विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. मौजा टोखा हा.नं.५६१ को लगतमा पिता नेकोसिं डंगोलका नाममा दर्ता भएको जग्गा पिताको परलोक भई सोही लगतमा भिडाई का.जि.खड्का भद्रकाली गा.पं.वडा नं.६(क) कि.नं.१३८ क्षेत्रफल ०–५–२ जग्गा दर्ता गरिपाउँ भनी विपक्षी कार्यालयमा निवेदन गरेकोमा सो कि.नं.१३८ को जग्गा नापी हुँदा मोहीको महलमा मेरो नाम उल्लेख भएको र ज.ध. महल खाली र किसानको व्यहोरामा यो जग्गा शेर्मा तिरी खाई आएको भनी लेखिएको र २०४२।८।२३ मा श्रेस्ता भिडाउँदा मोहीको नाममा म निवेदकको नाम उल्लेख भएको अरु महल खाली भएको र श्रेस्ता अप्रमाणित भएको भनी जवाफ दिई म निवेदकको नाममा सर्भे नापी भएको कुरामा विवाद नरही मेरा नाममा उक्त जग्गा दर्ता गर्नु पर्नेमा आफ्नो क्षेत्राधिकार भित्रको कार्य तथा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(३) बमोजिम छानबीन नगरी फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल आवादी समितिबाट कारवाही हुने गरी तामेली गर्ने भन्ने निर्णय अनाधिकृत फांटवालाले उठाएको सदर गरेको टिप्पणी न्यायिक मनको प्रयोग नगरी गरिएको छ ।
३. उक्त कि.नं.१३८ को जग्गाको कैफियत महलमा बेनिस्सा मानी उल्लेख भए तापनि किसानको व्यहोरामा सेर्मा तिरी खाई आएको भनी उल्लेख भएको छ पर्ति भनी लेखिएकोमा पनि प्रमाणको मूल्यांकन न्यायिक मनको प्रयोग गरी निर्णय गर्नु पर्ने प्रतिपादित सिद्धान्त विपरीत आफ्नो अधिकारको न्यायिक मन प्रयोग गरी निर्णय नगरी हाल आवादी समितिबाट कारवाही हुने गरी तामेली हुने भन्ने मा.पो.का.काठमाडौंको २०४२।८।२६ को निर्णय बदर गरी सबूत प्रमाणको मूल्यांकन गरी पुनः निर्णय गर्नु भन्ने आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
५. विपक्षी निवेदकको माग अनुसार नापी शाखाबाट फिल्डबुक मगाई हेर्दा निज विपक्षी कान्छा महर्जन मोही कायम भई कैफियत महलमा यो जग्गा अरु कसैको होइन बेनिस्सामा जोती कमाई खाई आएको भन्ने व्यहोरा लेखाई निजले सहिछाप गरेको देखिएकोले यस्तो बेनिस्सा कायम भएको सरकारी ऐलानी जग्गा व्यक्ति विशेषका नाउँमा दर्ता प्रमाणित गरी दि नमिल्ने र यस्तो जग्गा व्यक्ति विशेषले भोगचलन गरेकोमा हाल आवादी समितिबाट दर्ता सम्बन्धी कारवाही हुने हुँदा सो अनुसार यस कार्यालयको २०४२।८।२६ को निर्णयले सो निवेदन तामेलीमा राखिएको हो । निवेदकले हाल आवादी समिति मार्फत कारवाही गरी पाउन माग गर्नु पर्नेमा रिट क्षेत्रमा गएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने मा.पो.का.काठमाडौंको लिखित जवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्काले र विपक्षी कार्यालयको तर्फबाट बहसको लागि उपस्थित हुनुभएको विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
७. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
८. यसमा निवेदकको पिता नेकोसिं डंगालेको नाममा दर्ता भएकोमा निज नेकोसिंको परलोक भइसकेकोले मौजा टोखा दा.नं. ५६१ को का.जि.खड्का भद्रकाली गा.पं.वार्ड नं. ६(क) कि.नं.१३८ क्षे.फ. ०–५–२ जग्गा दर्ता गरिपाउँ भनी वपक्षी कार्यालय समक्ष निवेदन दिएकोमा मालपोत ऐन, २०३४ को संशोधन सहितको दफा ६ बमोजिमको काम कारवाही नगरी निवेदन तामेलीमा राख्ने गरेको प्रत्यर्थी मा.पो.का.को मिति २०४२।८।२६ को तामेली निर्णयबाट रिट निवेदकको हक अधिकारमा हनन् हुन गएकोले उत्प्रेषणयुक्त आज्ञा, आदेश जारी गरी बदर गरी सबूद प्रमाणको मूल्यांकन गरी पुनः निर्णय गर्नु भनी परमादेशको आदेश जारी गरिपाउँ भन्ने मुख्य रिट निवेदन भएको देखिन्छ ।
९. प्रत्यर्थी कार्यालयको लिखित जवाफ हेर्दा फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल कारवाही गर्न मिलेन हाल आवादी समितिबाट कारवाही हुने गरी तामेली गर्ने भनी तामेलीमा राखिएको भन्ने समेत प्रत्यर्थी कार्यालयको लिखित जवाफ देखिन आयो ।
१०. मालपोत ऐन, २०३४ को दफा ६(२) मा जग्गाको दर्ता किताब खडा गर्दा जग्गा नाप जाँच भएको ठाउँमा सो नाप जाँचबाट तयार भएको जग्गाधनी दर्ता श्रेस्ता बमोजिम र जग्गाधनी दर्ता श्रेस्ता तयार नभएको वा जग्गा नाप जाँच नभएको ठाउँमा आफ्ना कार्यालयमा रहेको लगत वा भूमिसुधार कार्यालय वा अन्य कार्यालयबाट प्राप्त लगत बमोजिम खडा गर्नु पर्नेछ । तर दर्तावाला मरी वा निजबाट हक हस्तान्तरण भई अरुको हक हुनआएको जग्गामा त्यस्तो हक भएको व्यक्तिको नाउँमा जग्गा दर्ता गर्न मालपोत कार्यालयले आवश्यक भएमा डोर समेत खटाई अध्यावधी लगत खडा गर्नु पर्ने छ भन्ने समेत व्यवस्था भएको देखिन्छ ।
११. त्यसरी रिट निवेदकले पिताको परलोक भएकाले लगत भिडाई जग्गा दर्ता गराई ज.ध.प्र.पु. समेत पाउँ भनी मा.पो.का.मा निवेदन परिसकेपछि सो जग्गा दर्ता गर्न मिल्ने नमिल्ने सो सम्बन्धमा लगत भिडाई हेर्नुपर्नेमा समेत नगरी फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल कारवाही गर्न मिलेन भन्दै आवादी समितिबाट कारवाही हुने गरी तामेलीमा राख्ने भनी गरेको मा.पो.का.काठमाडौंको उक्त २०४२।८।२६ को निर्णय कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । साथै कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी मा.पो.का.काठमाडौंको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि यसै आदेशको १ प्रति म.न्या.का.मा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल कार्तिक १४ गते रोज १ शुभम् ।