शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५८८ - हदबन्दी

भाग: २८ साल: २०४३ महिना: बैशाख अंक:

निर्णय नं. २५८८    ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको डि.दे.पु.नं. ६७७

फैसला भएको मिति : २०४२।१०।१७।५ मा

 

पुनरावेदक/प्रतिवादी : जि.महोत्तरी इटहरवा गा.पं.वा.नं. ५ बस्ने गुलेविया पाण्डेसमेत     

विरुद्ध

विपक्षी/वादी : जिल्ला भूमिप्रशासन कार्यालय, महोत्तरी

 

मुद्दा : हदबन्दी

(१)         भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७(१)(२) मा उल्लेख भए अनुसार कुनै व्यक्तिको जग्गावालाको हैसियतले २५ विगहा र घरबारीका निमित्त ३ विगहा सम्म राख्‍न पाउने ।

(प्रकरण नं. १०)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

विपक्षी/वादीतर्फबाट   : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.हरूको यस अदालतमा परेको पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :

२. यसमा विश्वेश्वर पाण्डे भूमिहारले भू.सं. ऐन, २०२१ को दफा बमोजिम आफ्नो नाउँमा भएको जग्गा जमीनको मिति ०२२।१०।१० मा फाँटवारी पेश गरेकोमा ऐनको दफा १४ अनुसार दफा १३ बमोजिम पेश भएको फाँटवारी छ । नवीन कारवाही गर्नुपर्ने विश्वेश्वर पाण्डेलाई झिकाउँदा मैले जग्गा विगहा ६४११ को फाँटवारी पेश गरेको छु । सगोलको भतिजा रामनारायण, सत्य नारायणका नाउँमा उक्त जग्गा बाहेक अरु केही जग्गा छ त्यसको फाँटवारी निजहरूले फरक गरी पेश गरेछन् कति जग्गा हो त्यो थाहा छैन मेरो उक्त जग्गामा अंश लाग्ने १६ माथिका नातेदार रामेश्वर पाण्डे, सत्यनारायण पाण्डे रामनारायण पाण्डे छन् । चार परिवारमा अंश हुँदा हदबन्दी भन्दा बढी छैन भन्ने समेत व्यहोराको विश्वेश्वरको वारेस हरिप्रसादले गरेको बयान ।

३. विश्वेश्वरको जग्गामा मेरो अंश लाग्ने होइन विश्वेश्वरले म बाट पाउने पनि होइन दाजु विश्वेश्वरसंग पहिले नै भिन्न भई बसेको छोराहरू समेत २०२० सालमा नै भिन्न भएकोले दाजु विश्वेश्वरको नाउँमा के कति जग्गा छ मलाई थाहा छैन भन्ने समेत व्यहोराको रामेश्वर पाण्डेको  बयान ।

४. भू.सु.ऐन, २०२१ को दफा ७ उपदफा १, २ मा १ परिवारले २५ विगहासम्म राख्‍न पाउने भएको र निज विश्वेश्वर पाण्डे एक परिवार कायम हुन आउने हुँदा उल्लिखित जग्गा हाल सर्भे नापीबाट ५५१५८।। कायम हुन आएकोले राख्‍न पाउने जग्गा विगहा २८ कटाई बाँकी रहेको जग्गा विगहा २७१५।। बढी देखिन आएकोले भू.सु.ऐन, २०२१ को दफा १४(१) बमोजिम लगत प्रकाशित गर्ने गरी भू.सु.का.महोत्तरीबाट २०२८ साल आषाढमा निर्णय भएको ।

५.    फेकु पाण्डेको विश्वेश्वर पाण्डेको जेठो रामेश्वर पाण्डे कान्छो दुई छोरा भएकोमा विश्वेश्वर पाण्डेको नविन नामको एउटा नाबालक छोरा र प्रेमीया गुलेविया दुई स्वास्नी भएको हामी ५ विश्वेश्वर पाण्डेको अंशियार भई अंश भाग नभई संगै बसेको म भिन्न भई सक्यो भनी भु.प्र.का.ले अन्यायपूर्ण फैसला गरी हाम्रो सम्पत्ति हरण गर्‍यो भन्ने समेत सत्यनारायण गुलेविया प्रेमिया समेत ३ जनाले जनकपुर अञ्चल अदालतमा पुनरावेदन दिएको ।

६. जनकपुर अञ्चल अदालतले भूमिप्रशासन कार्यालयले गरेको निर्णयलाई नै सदर गरी मिति        ०३६।३।१४ मा गरेको पुनरावेदन फैसला ।

७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी रामेश्वर पाण्डेले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुँदा जग्गाधनी विश्वेश्वर पाण्डेले ०२२।१०।१० मा दाखेल गरेको ७ नं. फाराममा आफ्नो भाइको नाम उल्लेख नगरी भतिजाहरूको नाम उल्लेख गरेको पाइन्छ । अंशबण्डा गर्दा भाइको भाग बण्डा गर्नुपर्ने कानुनी प्रावधान भएकोमा भतिजाको नाममा ७ नं. फाँटवारी भरिएको र विश्वेश्वर पाण्डेको भाइ सत्यनारायण पाण्डेलाई बुझ्दा अंश लिई भिन्न भइसकेको भन्ने बयान गरेबाट निजहरूको अंशबण्डा भइसकेको भन्ने प्रष्ट देखिन आउँछ जसलाई रामेश्वर पाण्डेले इन्कार गर्न नपाउने कुरा प्रमाण ऐनको दफा ३३(१) ले प्रष्ट पारेको छ । अतः अंशबण्डा भइसकेको प्रष्ट भएकोले निजका छोराहरू सत्यनारायण पाण्डे र रामनारायण पाण्डेलाई भूमिसम्बन्धी ऐनको दफा २(ग) अन्तर्गत विश्वेश्वर पाण्डेको भाग १ परिवार कायम गरी एक परिवारले राख्‍न पाउने हदबन्दीको जग्गा कायम राखी सो भन्दा बढी देखिन आएको जग्गा भू.सं. ऐन अन्तर्गत प्राप्त गर्ने गरी अनुसूची ८ प्रकाशित गर्ने गरेको प्रत्यर्थी भूमिप्रशासन कार्यालय महोत्तरीको निर्णयलाई सदर गरेको जनकपुर अञ्चल अदालतको फैसलामा त्रुटि नदेखिँदा सदर हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

८. उक्त म.क्षे.अ.को फैसलामा समेत चित्त नबुझेको हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्र.हरूको यस अदालतमा निवेदन पर्दा यस अदालतबाट ऐन बमोजिम कारवाही चलेको अंश मुद्दामा भएको मित्रापत्रलाई कानुनी मान्यता दिन नमिल्ने भनी भूमिप्रशासन कार्यालय महोत्तरीको निर्णयलाई सदर गर्ने गरी म.क्षे.अ.ले गरेको निर्णयमा मुलुकी ऐन अ.बं. ८६ नं. को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छभन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।

९. पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले र विपक्षी भू.सु.का.तर्फबाट विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस समेत सुनियो । मुख्यत मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१०.    यसमा पुनरावेदक गुलेवियाको पति विश्वेश्वर पाण्डे र रामेश्वर पाण्डे दाजु भाइ फेकु पाण्डेका छोरा भएको र १६ वर्ष उमेर पुगेका सत्यनारायण पाण्डे र रामनारायण पाण्डे २ भाइ रामेश्वर पाण्डेका छोरा भएकोमा कुनै विवाद देखिँदैन । उक्त उल्लिखित पुनरावेदकका परिवारहरू कानुन बमोजिमको रीत पुर्‍याई भिन्न भई अलग अलग बसेको पनि पाइन्न । उमेर पुगेका सगोलका परिवार ४ जना मध्ये विश्वेश्वर पाण्डेका नाउँमा साविक दर्ता रहेको जम्मा जग्गा विगहा ६४११ धुर र रामेश्वर पाण्डेका नाउँमा रहेको जग्गा विगहा जम्मा १७१७४ दुवै जग्गा विगहा ८११८१५ जग्गाको ७ नं. फाराम भरेकोमा पनि विवाद देखिन्न । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७(१)(२) मा उल्लेख भए अनुसार कुनै व्यक्तिको जग्गावालाको हैसियतले २५ विगहा र घरबारीका निमित्त ३ विगहा सम्म राख्‍न पाउने निर्विवाद व्यवस्था गरेको पाइन्छ । उल्लिखित उपदफा (३) ले नेपाल कानुनले अंशमा हक पुग्ने हकवाला वा अंशियार भन्ने व्यवस्था गरेको समेत प्रष्ट छ । २०२२।१०।२२ मा विश्वेश्वर पाण्डेले जम्मा जग्गा विगहा ६४११ जग्गाको ७ नं. फाँटवारी आफू समेत सत्यनारायण पाण्डे र रामनारायण पाण्डे समेतको नाममा भूमिसुधार कार्यालय महोत्तरीमा पेश दाखिल गरेको देखिनाले दाखिल भए गरेको व्यक्तिका नाममा सो बमोजिमको जग्गा रहे भएको देखिन्छ । यस्तो स्थितिमा  हद भन्दा बढी जग्गा विश्वेश्वर पाण्डेको नाममा रहे भएको भन्ने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको देखिन नआएकोले इन्साफ उल्टी हुने ठहर्छ । तपसिलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक विश्वेश्व पाण्डेको भरेको ७ नं. फाराममा उल्लिखित मध्येका हदबन्दी भन्दा बढी जग्गा अपहरण गर्ने गरेको विवादीत जग्गा सोही फाराम बमोजिमका व्यक्तिका नाउँमा दर्ता गरी लालपूर्जा समेत गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालय महोत्तरीलाई लेखी पठाउनु भनी शुरु भूमिसुधार कार्यालय महोत्तरीमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ...१

मिसिल नियमानुसार गरी बुझाइदिनू ..........................................................२

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४२ साल माघ १७ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु