निर्णय नं. ३५८२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रदत्त हकको प्रचलन गराई पाउँ

निर्णय नं. ३५८२ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रि.नं.१८०८
आदेश भएको मिति : २०४५।८।१५ मा
निवेदक : का.न.पं.वा.नं.२ लाजिम्पाट बस्ने वर्ष ५५ की लक्ष्मी ठकुरी
विरुद्ध
विपक्षी : श्री भूमिसुधार अधिकारी, भू.सु.का.काठमाडौंसमेत
विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रदत्त हकको प्रचलन गराई पाउँ
(१) अदालतको फैसला, आदेश तथा फैसला बदर र निषेधाज्ञा मुद्दा समेतबाट विवादीत जग्गाको मोहियानी जग्गा निवेदिकाले पाएको भन्ने कुरामा विवाद नदेखिँदा अन्तिम फैसलाबाट पाएको जग्गामा निवेदिकाले मोहियानी बापत पाउन नसक्ने भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नरहरि आचार्य
विपक्षीहरुतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।
२. विपक्षी नं. ३ को पति रामबहादुरसंग मेरो अंश मुद्दा परी ५ भागको १ भाग म लक्ष्मी ठकुरीले पाउने ठहरी का.जि.अ.बाट फैसला भई बण्डा छुट्याउन म लक्ष्मी ठकुरीको दर्खास्त परी कारवाई हुँदा रामबहादुरका नाउँमा जारी भएको म्याद विपक्षी जमुनाले रामबहादुर परलोक भएको भनी बुझी सकार गरी तारेखमा बस्नु भएको थियो । सो मुद्दामा अंश छुट्याउँदा मोहियानी जग्गा बण्डा नहुने भएबाट म लक्ष्मी ठकुरीलाई छुट्याइएबाट कि.नं.११४, ३५३, ३५४ को कित्ता जग्गाको मोही म लक्ष्मी ठकुरी हुन आई जोती भोगी आएको फैसला पर्चाबाट स्पष्ट गरेको छ । त्यसलाई कानूनी मान्यता दिन नमिल्ने भनी बदर अमान्य गर्न विपक्षी नं. १ लाई अधिकार छैन । तत्कालिन मोही भनिएका रामबहादुरको मु.स.गर्ने विपक्षी नं. ३ भएपछि अंश मुद्दामा वादी म लक्ष्मी ठकुरी प्रतिवादी विपक्षी नं. ३ भएको निर्विवाद छ । उक्त अनुसारको जग्गा म लक्ष्मी ठकुरीले भोगी आएको प्रष्ट छ । सिर्फ रामबहादुर समेतका अंश मुद्दाका प्रतिवादीहरुको नाम कट्टा गरी म लक्ष्मी ठकुरीका नाउँमा मोही सदर कायम गरी दिन उक्त फैसला पर्चा कार्यान्वयनको सिलसिलामा विपक्षी नं. १ मा प्राप्त भई कारवाई भइरहेको स्थितिमा विपक्षी नं. ३ ले आफ्नो हक अधिकार नभएको मोहियानी हक हुनै पर्दछ भनी अंश मुद्दाको फैसला पर्चा नदेखाई विपक्षी नं. १ लाई झुक्याई ०३७।१।२० मा निर्णय भनिएको गराउँदैमा त्यस्तो निर्णयलाई सदर मान्न नमिल्ने र उक्त फैसला पर्चा पत्रको कार्यान्वयन गर्नु पर्ने कानूनी विद्यमान देखिन आई निज विपक्षी नं. ३ विपक्षी नं. १ बाट झिकाई निजले लिएको भनेको प्रमाणपत्र मिसिल सामेल राखिएको थियो । कि.नं.१८२ को कित्ता काट भई कि.नं.३५३, ३५४ र ११४ को जग्गा समेत जोताहा स्व.रामबहादुरका नाउँबाट विपक्षी नं. ३ का नाउँमा नामसारी गरी जो.अ.नि.प्राप्त गरी सकें । कि.नं.३५३, ३५४ को जोताहा हकको जग्गामा विपक्षी नं. १ को अधिकारीले बलजफतसंग कुनै कुरा गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिपाउँ भनी विपक्षी नं. ३ ले बा.अं.अ.मा निवेदन दिएकोमा मेरा हकको जग्गा हो भनी लिखित जवाफ पेश गरे पछि उक्त जग्गाको हक मेरो कायम हुने ठहर्याई ०३७।५।२३ मा निवेदन खारेज हुने ठहर्याई फैसला भएको अन्तिम छ । सो पछिका जि.अ.समेतमा मुद्दा परी पुनरावेदन तह समेतबाट मेरै कायम भएको छ ।
३. कि.नं.११४ को कित्ता ज.ध.ले तुल्सीनारायणलाई भू–स्वामित्व हक छाडी दिएको र मोही महलमा म लक्ष्मी ठकुरी नै कायम भएको छ । विपक्षी नं. २ को दाता भनिएको विपक्षी नं. ३ ले मुद्दा समेत हारी सकेको स्थितिमा मलाई मोहीबाट निष्कासन गर्न पाउने अवस्था छैन । यस्तो स्थितिमा विपक्षी नं. २ ले झुठ्ठा व्यहोरा उल्लेख गर्दै २०४० सालमा दिएको रिटमा भू.सु.अ.आफैंले निर्णय गर्नु पर्नेमा फाँटवालाले टिप्पणी पेश गरी सदर गरेकोसम्म मिलेन भनी स.अ.बाट आदेश भएको देखिन्छ । विपक्षी नं. १ ले त्यसपछि र ०३७।१।३० मा मोहियानी नामसारी गर्ने गरी भएको निर्णय हालसम्म कायमै हुँदा सोही बमोजिम हुने ठहर्छ भनी विपक्षी नं. १ द्वारा निर्णय भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) प्रस्तुत मुद्दामा प्रयोग हुनसक्दैन अदालतकै फैसला पर्चा पत्र बमोजिम नै गर्नु पर्ने कुरा बोली कार्यान्वयन गरिनु पर्ने कानूनी बाध्यता हो । सो अनुसार नगरिएको राय किताबमा नलेखी पक्ष विपक्षको सहिछाप नगराई हचुवा किसिमबाट गरिएको निर्णय त्रुटिपूर्ण छ । विपक्षी नं. २ ले अदालतको फैसलालाई अमान्य फैसला बदर गरी पाउँ भन्ने अ.बं.८६ नं. को आधारमा विरोध उठाउँन सकेको छैन र विपक्षी नं. ३ ले जग्गाको हक कायम गरी पाउँ भनी दावी लिएकोमा दावी बमोजिम नभई जग्गाको हक कायम र फैसला बदर हुन नसकी भएको अदालतको निर्णयबाट निवेदकको हक अधिकारमा आएको प्रष्ट हुँदा त्यस्तो अदालतको निर्णय अमान्य गराउने मिति २०४४।२।२१ को हचुवा फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।
४. विपक्षीहरुबाट लिखित जवाफ मगाउने भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. यस कार्यालयबाट २०३४।६।२८ र २०३७।१।३० मा मोहियानी नामसारी गर्ने गरी भएको निर्णय हालसम्म पनि कायमै देखिएको हुँदा सोही बमोजिम हुने गरी यस कार्यालयबाट २०४३।२।२१ मा भएको निर्णय कानून बमोजिम नै भएको हुँदा रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध गर्दछु भन्ने समेतको भू.सु.का.काठमाडौंको लिखित जवाफ ।
६. भूमिसुधार कार्यालयले ऐन र आफ्नो अगाडिको अन्तिम निर्णयहरुकै आधारमा निर्णय गरेकोमा कुनै त्रुटी छैन भन्ने समेतको नानीमाया शाहीको लिखित जवाफ ।
७. भू.सु.का.बाट ०३४।६।२८ र ०३७।१।३० मा मोहियानी नामसारी गर्ने गरी भएको निर्णय हालसम्म पनि कायमै देखिएको हुँदा सोही बमोजिम भू.सु.का.बाट ०४३।२।२१ मा कानून बमोजिम निर्णय भएको हो भन्ने समेतका जमुनादेवी ठकुरी र काजीमान डंगोलको संयुक्त लिखित जवाफ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री नरहरि आचार्यले र विपक्षी कार्यालयका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की एवं विपक्षी नानीमायाको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी जमुनादेवी समेत तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले गर्नु भएको बहस समेत सुनियो ।
९. अब प्रस्तुत रिट निवेदनमा निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
१०. निर्णयतर्फ विचार गर्दा यसमा विवादीत जग्गाहरु काठमाडौं जिल्ला अदालतबाट यिनै निवेदिका वादी र रामबहादुर प्रतिवादी भएको अंश मुद्दामा फैसला हुँदा निवेदिकाको भागबण्डामा पारी दिएकोमा सो फैसला उपर अञ्चल अदालतमा पुनरावेदन परी निर्णय हुँदा समेत शुरुको सदर भई निर्णय भएको देखिन्छ । उक्त फैसला आजसम्म अन्तिम भइरहेको पाइन्छ । पछि विपक्षी जमुनादेवीले बागमती अञ्चल अदालतमा निषेधाज्ञा मुद्दा र फैसला बदर मुद्दा समेत दायर गरेकोमा जमुनादेवीले हारी फैसला भएकोमा सो पनि अन्तिम रुपमा रहेको देखिन आएको छ । अंश मुद्दामा फैसला भइसकेपछि वादी प्रतिवादीको संयुक्त निवेदन परी का.जि.अ.बाट भाग बण्डा गरी दिई यिनै निवेदिकाको नाउँमा मोहियानी नामसारी गरी दिन समेत लेखी पठाएको देखिन्छ । यसरी जिल्ला अदालतको फैसला आदेश तथा फैसला बदर र निषेधाज्ञा मुद्दा समेतबाट उक्त विवादीत जग्गाको मोहियानी जग्गा निवेदिकाले पाएको भन्ने कुरामा विवाद देखिएन । अन्तिम फैसलाबाट पाएको जग्गामा निवेदिकाले मोहियानी बापत पाउन नसक्ने भन्न मिलेन । तसर्थ नामसारीको नाताबाट जमुनादेवीको नाममा मोहियानी कायम रहन सक्ने स्थिति नहुँदा भू.सु.का.काठमाडौंबाट मिति ०४३।२।२१ मा भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा म.न्या.का.मार्फत पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मार्ग १५ गते रोज शुभम् ।