निर्णय नं. ३५८५ - ज्यान

निर्णय नं. ३५८५ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ४४३ र ४७१
फैसला भएको मिति : २०४५।८।१२।१ मा
पुनरावेदक/प्रतिवादी : का.जि.बलम्बु गा.पं.वा.नं.२ बस्ने धमा भन्ने धनबहादुर महर्जन
विरुद्ध
पुनरावेदक/वादी : उपप्रधानपञ्च भिमबहादुर नकर्मीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : का.जि.बलम्बु गा.पं.वा.नं.२ बस्ने धनबहादुर महर्जनसमेत
मुद्दा : ज्यान
(१) अघि देखि मार्ने मनसाय पनि नराखेको षड्यन्त्र पनि नगरेको चोर चोर भनी गाउँमा हल्ला भएबाट पक्री ज्यान मर्ला जस्तो कुनै कार्य नगरी बाधछाँद गर्दा ज्यान मर्न गएको भवितव्यको अपराध देखिने ।
(प्रकरण नं. २९)
वादी श्री ५ को सरकारतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्रबस्नेत
प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
फैसला
न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवैपक्षको पुनरावेदन परी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. मिति २०३६।९।१६ गते राती अं.२ बजेको समयमा गाउँमा होहल्ला भएको सुनी मैले घरको झ्याल खोली हेर्दा बलम्बु स्कूल भवनको चौरमा चोर आयो भनी गाउँका मानिसहरु स्कूलमा जम्मा भई चोर भनिएको हाल नाम थाहा हुनआएको गौफले भन्ने चन्द्रबहादुर महर्जनलाई काशी महर्जन, रत्नलाल महर्जन र साथीहरु समेत भई हात लात मुक्काले हानी कुटपिट गरी घटनास्थलमा नै मारी भागी बेपत्ता भएकाले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको बलम्बु गा.पं.का उप–प्रधानपञ्च भीमबहादुर नकर्मीको मिति २०३६।९।१७ को जाहेरी दर्खास्त ।
३. मेरो लोग्ने गोफले भन्ने चन्द्रबहादुर मिति २०३६।९।१६ गतेका दिन बेलुका अं.८ बजेको समयमा बलम्बुमा साला विरामी भएको छ रे हेरी आउँछु भनी गएको सो राती घर आएनन् भोलिपल्ट १७ गतेको दिन ८:३० बजे लोग्ने चन्द्रबहादुरलाई बलम्बुको स्कूल अगाडि कुटपिट गरी मारेको भन्ने हल्ला सुनी हेर्न जाँदा लोग्नेलाई कुटपिट गरी मृत्यु गराएको देखे । मैले बुझ्दा धमी भन्ने धनबहादु महर्जन, काशी महर्जन, रतनलाल महर्जन, सागर महर्जन, मोहलाल श्रेष्ठ, गोकुलदाश श्रेष्ठ र अरु नाम नजानेका मानिस समेत भई कुटपिट गरी लोग्ने गोफले भन्ने चन्द्रबहादुरलाई मारेको भन्ने बुझिएकाले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मृतककी श्रीमती दानमायाको मिति २०३७।५।९ मा प्रहरीमा भएको कागज ।
४. मिति २०३६।९।१६ गते राती १२:४५ बजेको समयमा हिरामाया श्रेष्ठ दिशा बस्न भनी र नजिकै बसेकी रहीछन् र निजले चोर आयो चोर आयो भनी कराएको सुनेकाले उठी म बाहिर आएँ र टोलका मानिसहरु पनि जम्मा भएर हिरामायाले चोर भनी देखाएको मानिस बलम्बु स्कूलबाट बाहिर निस्की खोलातर्फ भागे र म मंगलदाश श्रेष्ठ, कान्छा श्रेष्ठ, मोहलाल श्रेष्ठ, कबाटा श्रेष्ठ, नात श्रेष्ठ, पहलमान श्रेष्ठ समेत ७ जना र अरु नाम थाहा नभएका समेत भई भाग्ने गोफले भन्ने चन्द्रबहादुरलाई स्कूल भन्दा पूर्व पट्टि चौरनिर मैले समाते र मंगलदाशले खुट्टा बाँधेर हामीहरु उक्त माथि लेखिएका मानिसहरुले तानी ल्याई स्कूलको थाममा डोरीले पाता फर्काई निजका पटुकाले पनि बाँधी अब यसलाई नकुट म उपप्रधान पञ्च बोलाउन जान्छु भनी जान लाग्दा काशिचा महर्जन, भाइराम श्रेष्ठ, सागर महर्जन, रत्नलाल महर्जनको काँहा बस्ने चोर हो भनी आई रत्नलालले हात समाती पाखुरा भाँची दिए र अरुले बेसरी कुटपिट गरे र मर्ला भनी म उपप्रधान पञ्चलाई खबर दिन गएँ र त्यसपछि नाती श्रेष्ठले नकुट भनी बाँधेको डोरी पटुका फुकाई दिएपछि निज गोफले भन्ने चन्द्रबहादुर महर्जन रगतपच्छे अवस्थामा बेचेत भई स्कूल अगाडि लडे भन्ने सुनें । मैले उपप्रधान पञ्चलाई खबर दिएपछि निज घटनास्थलतर्फ आए । निज गोफले भन्ने चन्द्रबहादुरलाई समाउँदा निजको हातमा रहेको फलामको डण्डीले मलाई हिर्काएकोले हातमा घाउ भई उपचार गराउन मनिदाशको औषधि पसलमा गई उपचार गराई फर्किजाँदा निज गोफले भन्ने चन्द्रबहादुरको मृत्यु भइसकेको रहेछ । निज चोरलाई समाती स्कूलमा ल्याई म समेतले भाग्न उम्कन नसक्ने गरी थाममा बाँध्न लगाएको हुँ । पछि उक्त रत्नलाल समेतका व्यक्तिहरु आई कुटपिट गरेको हो । हामी समाती ल्याउनेले कुटपिट गरेको छैन । कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको प्रतिवादी धमा भन्ने धनबहादुर महर्जनले प्रहरीमा गरेको बयान कागज ।
५. मिति २०३६।९।१७ का दिन विहान अं.५:३० बजे म आफ्नो घरमा सुतिरहेका बखत धमा भन्ने धनबहादुरले मलाई बोलाएकाले म उठी किन बोलाएको भनी झ्यालबाट सोध्दा मलाई घाउ लाग्यो उपचार गरी दिनु पर्यो भनेकाले तल औषधि पसलमा आई यो घाउ कसरी लाग्यो भनी सोध्दा गाउँमा चोर समात्दा घाउ लाग्यो भने र मैले निजको कुइना मुनी लागेको घाउ सफा गरी औषधि लगाई दिएँ र निज धनबहादुर गए । म चोर हेर्न भनी अं.७ बजे तिर बलम्बुको स्कूलमा जाँदा हाल नाम थाहा हुन आएका गोफले भन्ने चन्द्रबहादुर कुटपिटको चोट बेदनाबाट मरेको देखें । मंगलदास धमा भन्ने धनबहादुर, सागर महर्जन, काशी महर्जन, रत्नलाल समेत भई कुटपिट गरेको कारणबाट मृत्यु भएको भन्ने हल्ला सुनेको कस्ले कुटपिट गरेबाट चन्द्रबहादुरको मृत्यु भएको हो थाहा छैन भन्ने समेत व्यहोराको मदनदास महर्जनले प्रहरीमा गरेको कागज ।
६. बलम्बु स्कूल अगाडि मिति २०३६।९।१६ गते गोफले भन्ने चन्द्रबहादुरलाई कुटपिट गरी मारे भनी १७ गते हेर्न आउँदा निज चन्द्रबहादुर मृतक अवस्थामा देख्यौं र निजलाई धनबहादुर समेतका निजले देखाएका जाहेरीमा उल्लेख भएको मृतककी श्रीमतीले देखाएका व्यक्तिहरुले कुटपिट गरी मारे मराएको शंका लाग्छ भन्ने समेत व्यहोराको भक्तबहादुर श्रेष्ठ समेतका केही व्यक्तिको र चन्द्रबहादुरको मृत्यु भएको देख्यौं को कस्ले कुटपिट गरी मारे मराए थाहा छैन भन्ने समेत व्यहोराको कान्छा महर्जन समेतका केही मानिसको भनाई भएको सरजमीन मुचुल्का ।
७. संकलन हुनआएको जाहेरी दर्खास्त, मृतककी श्रीमती दानमायाको कागज, पक्राउ परेका धमा भन्ने धनबहादुर महर्जनको कागज, सरजमीन मुचुल्का समेतबाट र रत्नलाल समेतका व्यक्तिहरुको खोज तलास गर्दा फेला नपरेकोबाट प्रतिवादीको महलमा लेखिएका व्यक्तिहरुले गोफले भन्ने चन्द्रबहादु महर्जनलाई कुटपिट गरी मारे मराएको सिद्ध हुन आएकोले प्रस्तुत केशमा धमा भन्ने धनबहादुर, रत्नलाल महर्जन, काशी महर्जन, सागर महर्जन, गोकुल दाश श्रेष्ठ, भाइराम श्रेष्ठ, मंगल दाश श्रेष्ठ, कान्छा श्रेष्ठ, मोहनलाल श्रेष्ठ, ववाटा श्रेष्ठ, नाती श्रेष्ठ, पहलमान श्रेष्ठ समेतउपर ज्यानसम्बन्धी महलको १३(३) नं.अनुसार कारवाही भई सजायँ हुन एवं फेला नपरेका रत्नलाल महर्जन समेतका ११ जनालाई अदालतबाटै समाव्हान जारी हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरीमा प्रतिवेदन माग दावी ।
८. मिति २०३६।९।१६ गते राती अं.१ बजे चोर आयो भन्ने हल्ला सुनी ब्यूझी हेर्दा स्कूलमा हो हल्ला भएको रहेछ । त्यहाँ गई हेर्दा हल्ला गर्ने आइमाइ करिब १० जना रहेछन् । निजहरुले नै तिमी यहाँ आउनु पर्दैन प्रधानपञ्च बोलाउन जाउ भनेकाले म प्रधानपञ्चलाई बोलाउन गएँ । र बोलाई आउँदा निज चन्द्रबहादुर मरणासन्न अवस्थामा रहेछन् त्यहाँ धेरै भिड भएकाले म भिडभित्र जान सकिन र म घर गई सुतें र भोलिपल्ट खाना खाई निस्किंदा चोर मर्यो भनी बलम्बुका मानिसले भनेकाले मात्र थाहा पाएको हुँ । प्रहरीमा भएको बयान प्रहरीले आफ्नो राजी खुशीबाट लेखाई मलाई कुटपिट गरी सही गराएका हुन् । मैले भनेको र भएको कुरा समेत होइन । हातमा लागेको घाउ प्रधानपञ्चलाई बोलाउन जाँदा लड्ेर लागेको हो । निज मृतकलाई को कस्ले कुटपिट गरी मारेका हुन थाहा छैन मेरा विपक्षीहरु भएकाले सरजमीनमा कहिले मलाई समेत पोली उजूर गरेका हुन भन्ने समेत व्यहोराको प्रतिवादी धमा भन्ने धनबहादुर महर्जनले अदालतमा गरेको बयान ।
९. प्रतिवादी भाइराम समेतका नाउँमा आदेशानुसार म्यादी पुर्जि जारी गर्दा प्रतिवादी मध्येका बबाटा श्रेष्ठको घर द्वारै पत्ता नलागेको भनी म्यादी पुर्जी तामेल हुन नसकेको ।
१०. मिति २०३६।८।१६ गतेका दिन म घरमा थिइन डकर्मी काम गर्न पाटनमा गएको हुँदा चन्द्रबहादुर मरेको बारे मलाई केही थाहा छैन । गाउँमा आएको चोरलाई मारेको भन्ने कुरा म डकर्मी काम गरी ७–८ दिन पछि घरमा आउँदा थाहा पाएको हुँ । मैले गोडामा तानेर ल्याएको भन्ने सरजमीन व्यहोरा झुठ्ठा हो । धनबहादुरले मलाई किन आरोप लगाए थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मंगल दास श्रेष्ठले अदालतमा गरेको बयान ।
११. मिति २०३६।९।१० का दिन म काठको व्यापार गर्न भनी घरबाट निस्की ऐ.१० गते हेटौंडा पुगी ऐ.१२ गते बरघाटमा गएको र १५, १६ दिन बसी माघे संक्रान्तिको १ दिन अगाडि म घरमा आएको थिएँ । चन्द्रबहादुरलाई कुटपिट गरी मारेको भन्ने कुरा म बरघाटबाट घरमा आउँदा श्रीमतीले भनेबाट थाहा पाएको हुँ । धनबहादुरको झगडिया सागर महर्जन मेरो साक्षी भएकोले त्यही रीसबाट धनबहादुरले मलाई पोल गरेका होलान् । चन्द्रबहादुर के कसरी मर्न गए मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी भाइराम श्रेष्ठले अदालतमा गरेको बयान ।
१२. मिति २०३७।९।१६ का दिन म मेरो नयाँ घर गुरुजुधारामा गएको थिएँ । मिति २०३६।९।१६ गते चन्द्रबहादुरलाई बलम्बु स्कूलमा मारेको कुरा मिति २०३६।९।१७ गते काठमाडौंबाट बसमा घरमा फर्की आउँदा बसमा हल्ला गरेकोले मात्र सुनें । मिति २०३३ सालमा धनबहादुरलाई मैले रु.५००।– दिएकोमा उक्त रुपैयाँ माग्दा निजले मेरो रीस गरी हिंडेका थिए सोही रीसइवीबाट मलाई पोलेका हुन् । म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी पहलमान श्रेष्ठले अदालतमा गरेको बयान ।
१३. मिति २०३६।९।१५ गतेका दिन म साँखु डाँछी टोल ससुराली विष्णु श्रेष्ठको घरमा सत्यनारायणको पुजामा गई मिति २०३६।९।१७ गते बेलुका मात्र घरमा फर्केको र घर फर्कंदा बलम्बु स्कूलमा चन्द्रबहादुर भन्ने मानिसलाई मारेको कुरा बसमा हल्ला गरेकोबाट थाहा भएको हो । धनबहादुरको बच्चा र मेरो बच्चा बीच झगडा परेको कारणबाट निज धनबहादुर र मेरो रीसइवी भएबाट धनबहादुरले मउपर पोल गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी नाती श्रेष्ठले अदालतमा गरेको बयान ।
१४. २०३६।९।१६ गते भन्दा ३,४ दिन अघि देखि रुघा ज्वरो आई म मेरो घरमा नै सुतिरहेको थिएँ । मिति २०३६।९।१६ गते चोर आएको कुरा मैले थाहा पाइन । भोलिपल्ट विहान देउताको थानमा घुमेर आउँदा मृतक चन्द्रबहादुर मरेको मैले देखेको हुँ । धनबहादुरसंग मेरो रीसइवी पनि छ र बोलचाल समेत छैन । प्रहरीमा कुटपिट गरेको चोटले मउपर समेत धनबहादुरले पोल गरेका होलान् । म वारदातस्थलमा गएको र वारदातमा सम्मिलित समेत भएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मोहलाल श्रेष्ठले अदालतमा गरेको बयान ।
१५. म मिति २०३६।९।१ गतेदेखि नै ल.पु.न.पं.वडा नं.१२ चक्रवहिलमा रहेको बाबुकाजीको कारखानामा काम गरी २०३६ साल पौष मसान्तमामात्र घर फर्केको थिए । घर फर्कंदा बसबाट ओर्लदा खेरी चौकीटार निरको मानिसले भनेबाट चन्द्रबहादुरलाई बलम्बु स्कूलमा बाँधेर मारेको भन्ने कुरा थाहा पाएको हुँ । मर्नेकी श्रीमतीले उप–प्रधान पन्चको भनाईमा लागि मउपर पोल गरेकी होलिन् । धनबहादुर मेरो शत्रु भएकोले आफू बच्नको लागि पनि मलाई पोल गरेको होलान् भन्ने समेत व्यहोराको प्रतिवादी रत्नलाल महर्जनले अदालतमा गरेको बयान ।
१६. म मिति २०३६।९।१४ गतेदेखि काठको व्यापार गर्न वीरगंज गई ऐ.२२ गतेका दिन घर फर्केको थिएँ । वीरगन्जबाट घर फर्की गुरुजुधाराको पसलमा चिया खान जाँदा बलम्बु स्कूलमा चन्द्रबहादुरलाई मारेछन् भनी मैले नाउँ नजानेको मानिसले भनेबाट सुनी थाहा पाएको हुँ । जाहेरवालाले मउपर समेत शंका गरी जाहेरी दिएबाट दानमायाले मलाई पोल गरेकी होलिन् म निर्दोष छु । धनबहादुरसंग चुनावका बखत पार्टी पार्टीको रीसइवी भएबाट धनबहादुरले मलाई पोल गरेका होलान भन्ने समेत व्यहोराको प्रतिवादी काशि महर्जनले अदालतमा गरेको बयान ।
१७. म मिति २०३५ सालदेखि नै गुरुजुधारामा मामा लतमान श्रेष्ठको घरमा काम गरी बसी आएकोले उक्त घटना घटेको दिन म बलम्बुमा थिइन । बलम्बुमा चन्द्रबहादुर मरेको कुरा २, ३ महीना पछिमात्र थाहा पाएको हुँ । मेरो दाजुलाई धनबहादुरले कुटपिट गरेका थिए । निजसंग आजतक बोलचाल छैन सोही इवीले मलाई निज धनबहादुरले पोल गरेका होलान् भन्ने समेत व्यहोराको प्रतिवादी कान्छा श्रेष्ठले अदालतमा गरेको बयान ।
१८. मिति २०३६।८।२० गतेदेखि म हेटौंडामा घुम्न भनी गई मिति २०३६।९।२६ गते मात्र घरमा फर्केको हुँ । घर फर्केपछि मात्र चन्द्रबहादुरलाई स्कूलमा बाँधेर मारेको कुरा थाहा पाएको हुँ दानमायाले मउपर किन झुठ्ठा आरोप लगाईन थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी गोकुलदास श्रेष्ठले अदालतमा गरेको बयान ।
१९. म मिति २०३६।९।१ देखि ऐ.मसान्तसम्म ल.पु.न.पं.वडा नं.१२ चक्रबहिलमा पर्ने काष्ट उद्योगमा काम गरी बसेको थिएँ । चन्द्रबहादुर मारिएको कुरा कारखानाबाट माघे संक्रान्ति मनाउन भनी घरमा आउँदा चुरोट पसलमा सुनी थाहा पाएको हुँ । जग्गा सम्बन्धी रीसइवीबाट धनबहादुरले मलाई पोल गरेका हुन भन्ने समेत व्यहोराको प्रतिवादी सागर महर्जनले अदालतमा गरेको बयान ।
२०. प्रतिवादी मध्येका धनबहादुरले अदालतमा बयान गर्दा वारदात स्थलमा निज भएको र प्रधानपञ्चलाई बोलाउन गएको र आउँदा मृतक चन्द्रबहादुर मरणासन्न अवस्थामा रहेको भन्ने समेत कुरा खुलाएबाटै पनि निज वारदातस्थलसम्म पुगेको कुरा स्वीकारेकै देखिए समेतबाट प्रतिवादी धनबहादुर वारदातमा संलग्न रहेको प्रष्ट देखिने र निजले प्रहरीमा गरेको कागजमा पनि आफू समेत वारदात स्थलमा गई मृतक चन्द्रबहादुरलाई पक्रेको र स्कूलको थाममा बाँधेको समेत कागजलाई अन्यथा भन्न मिल्ने स्थिति रहेको छैन । निज समेतको संलग्नतामा बाँध छाँदको कार्य समेत भई कुटपिट भएबाट मृतक चन्द्रबहादुरको मृत्यु भएको भन्ने देखिन आएको र मार्नु पर्नेसम्मको रीसइवी रहेको देखिन नआएको रातको समयमा चोर हो भन्ने हो हल्लाबाट एकत्रित भएको र चोर भनी पक्रिएका चन्द्रबहादुर भाग्न उम्कन नपाउने गरी बाँध छाँद गरेको र कुटपिटको अवस्था उपस्थित रहेबाट रातको समय हुँदा कहाँ कसरी चोट लाग्न जाने भन्ने यकीन नरहेको हुँदा ज्यानसम्बन्धीको ५, ६ नं. अन्तर्गत भवितव्य परी चन्द्रबहादुरको मृत्यु हुन गएको देखिएको त्यस्तो वारदातमा प्रतिवादी धनबहादुर संलग्न रहेकोले निजलाई ज्यानसम्बन्धीको ६(४) नं.बमोजिम कसूरको मात्रा विचार गरी कैद वर्ष १ हुने ठहर्छ । प्रतिवादी क्वाटा श्रेष्ठको हकमा निज म्यादमा हाजिर रहेको नदेखिएकोले अ.बं.१९० नं.बमोजिम मुलतवी राखी दिनु पर्ने ठहर्छ । रत्नलाल लगायतका अन्य सबै प्रतिवादीहरुले कसूरमा इन्कार रही बयान गरेको सरजमीन र जाहेरवाला समेत उपस्थित गराई आफ्नो दावी प्रमाणित गर्नु वादी पक्षले नसकेको र प्रतिवादी धनबहादुरले गरेको पोल विश्वसनीय प्रमाणबाट समर्थित नभएसम्म कसूरदार हो भन्न नमिल्ने भएबाट समेत निज प्रतिवादीहरु उपरको प्रहरी प्रतिवेदन माग दावी पुग्न सक्ने देखिएन निजहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०३९।५।७ मा भएको फैसला ।
२१. वारदातस्थलमा धेरै मानिसहरुको हुल भएकोमा सो हुलमा जम्मा भएको मानिसहरु मध्ये कस्ले चन्द्रबहादुरलाई कुटपिट गरी मारेको हो सो सम्बन्धमा वादी पक्षले कसूर प्रमाणित हुने गरी स्वतन्त्र तथा निर्विवाद प्रमाण गुजार्न नसकेको अवस्थामा शंकै शंका र तर्कै तर्कको भरमा मात्र फौज्दारी न्यायको सिद्धान्त विपरीत हुने गरी काठमाडौं जिल्ला अदालतले मलाई ज्यानसम्बन्धीको ६(४) नं. अन्तर्गत कसूरदार ठहर्याई गरेको फैसला अन्याय एवं त्रुटिपूर्ण भएको हुँदा शुरुको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी धनबहादुर महर्जनको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
२२. प्रतिवादी मध्येको धनबहादुरको अधिकारप्राप्त अधिकारी समक्षको कागज, जाहेरी दर्खास्त मानदासको कागज तथा प्राप्त भएको फलामे डण्डी समेतका कुराबाट पुष्टी भएको हुँदा २ नं. देखि १२ नं. सम्मका प्रत्यर्थीहरुको इन्कारी अविश्वसनीय भई वारदातमा सबै प्रत्यर्थीहरुको संलग्नता रहेको प्रष्ट नै छ । देख्ने व्यक्ति हिरामाया नै नबुझी चन्द्रबहादुरलाई चोर भन्न सक्ने अवस्था नभएको र चोर हो भन्ने माने पनि बाँध छाँद गरिसके पछि हात समेत भाँचिने गरी कुटपिट गर्नुलाई सामान्य भन्न सकिने नुहँदा शुरु अदालतबाट ज्यानसम्बन्धीको ६ नं. आकृष्ट हुन्छ भनी भवितव्य ठहराएको मिलेको नभई ज्यानसम्बन्धीको १३(३) नं.नै आकृष्ट हुनु पर्ने भई सम्पूर्ण प्रत्यर्थीहरुले चन्द्रबहादुरलाई कर्तव्य गरी मारेको हुँदा शुरुको फैसला बदर गरी धनबहादुर समेतका सबै प्रत्यर्थीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
२३. हिरामाया महर्जन, मनिदाश महर्जन तथा जाहेरवाला भिमबहादुर नकर्मीलाई शुरु जिल्ला अदालतबाट बुझेको नदेखिएकोले निजहरुलाई बुझ्नु पर्ने देखिँदा निजहरुलाई झिकाई बकपत्र गराई मिसिल समेत पठाई दिनु भनी पुनरावेदक प्रतिवादीलाई तारिख समेत तोकी मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई कार्य सम्पन्न भई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.डिभिजन बेञ्चबाट मिति २०४२।४।९ मा भएको आदेश ।
२४. मिति २०३६।९।१६ का दिन म आफ्नो माइत गएको हुँदा उक्त घटना भएको मलाई थाहा थिएन । म दोश्रा दिन आए पछि हल्लासम्म सुनेकी हुँ भन्ने समेत व्यहोराको श्रीमती हिरामाया श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
२५. चोर समात्दा खेरी घाउ भएको, औषधि लगाई दिनुहोस् भनी धनबहादुर मेरो औषधि पसलमा आएकोले उहाँलाई औषधि लगाई दिएँ । अरु घटना मलाई केही थाहा छैन । प्रतिवादीहरुले त्यस्तो वारदात घटाए नघटाएको मलाई थाहा छैन भन्ने समेत व्यहोराको मानदास महर्जनले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
२६. चन्द्रबहादुरलाई भवितव्यबाट मरेको ठहर्याई प्रतिवादी धमा भन्ने धनबहादुरलाई ज्यानसम्बन्धीको ६ नं. को देहाय ४ ले तजबिजी कैद वर्ष १ हुने गरी म्याद गुजार्नेहरु बाहेकका अन्य प्रतिवादीलाई सफाई दिने ठहर्याएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । प्रतिवादी भन्ने धमाबहादुरको र वादी श्री ५ को सरकारको तर्फको समेत पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को फैसला ।
२७. म.क्षे.अ.को फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकार तथा प्रतिवादी धमा भन्ने धनबहादुर महर्जनको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले तथा प्रतिवादी धनबहादुर महर्जनको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
२९. निर्णयतर्फ विचार गर्दा यस्मा मृतक चन्द्रबहादुरको मृत्यु भएकोमा विवाद छैन । निज मृतकको मृत्यु के कसरी भएको हो भन्नेतर्फ हेर्दा लास जाँच प्रतिवेदनमा टाउकोको चोटको कारण निजको मृत्यु भएको भन्ने देखिएबाट नै मृत्यु भएको देखिन आयो । अब मृतकको मृत्यु प्रतिवादीहरुको कर्तव्यबाट भएको हो होइन भन्नेतर्फ हेर्दा मुलतवी रहने अभियुक्त बाहेक अन्य अभियुक्तहरु आरोपित कसूरमा पूर्णरुपले इन्कार रही बयान गरेको देखिन्छ । निज प्रतिवादीहरुले मृतकलाई मार्न पर्ने सम्मको कारण पनि मिसिलबाट खुल्न आउँदैन । सुनियोजित रुपले षडयन्त्रबाट मृतकको मृत्यु भएको पनि भन्न मिल्दैन । रातीको समयमा चोरचोर भन्ने होहल्लामा निजलाई पक्राउ गरी बाँधछाँद गरेको भन्ने सम्म मिसिलबाट खुल्न आउँछ, को कसले बाँधछाँद र कुटपिट गरेका हुन् भन्नेतर्फ हेर्दा प्र.मध्येका धमा भन्ने धनबहादुरले मृतकलाई पक्री डोरीले बाँधेको कुरामा अधिकारप्राप्त अधिकारी समक्ष साविती भई कागज गरेको देखिन्छ । अन्य को कसले कुटपिट गरी मृतकको मृत्यु भएको हो मिसिलबाट खुल्न आउँदैन, अतः शंकाको स्थितिमा प्र.धनबहादुर बाहेकका अभियुक्तहरु मध्ये म्याद गुजार्ने बाहेक अन्य प्रतिवादीहरुलाई कसूरदार ठहर्याउन मिल्दैन । सफाई दिने ठहर्याएको शुरु इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । प्र.धनबहादुरले वारदात स्थलमा उपस्थित रही चोर भनी बाँध छाँदसम्म गरेकोमा मृतकको मृत्यु भएको देखिएबाट निजको संलग्नतालाई पुष्टी मिल्दछ । अघि देखि मार्ने मनसाय पनि नराखेको, षडयन्त्र पनि नगरेको चोर चोर भनी गाउँमा हल्ला भएबाट पक्री ज्यान मर्ला जस्तो कुनै कार्य नगरी प्र.धनबहादुरले बाँधछाँद गर्दा ज्यान मर्न गएको भवितव्यको अपराध देखिन आयो । भवितव्यबाट मृत्यु भएको देखिँदा निजलाई ज्यानसम्बन्धीको ६(४) बमोजिम सजायँ गर्ने गरेको हदसम्म म.क्षे.अ.को इन्साफ मनासिब नै देखिन्छ । १ वर्ष कैदको सजायँ गर्ने गरेको न्यायको दृष्टिबाट नमिल्ने हुँदा निजलाई रु.५००।– मात्र जरिवाना हुने ठहर्छ । वादी श्री ५ को सरकारको र प्र.धमा भन्ने धनबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रतिवादी धमा भन्ने धनबहादुरलाई रु.५००।– जरिवाना लाग्ने ठहरेकोले सोको लगत राख्नु र म.क्षे.अ.को मिति २०४३।३।२ को फैसलाले राख्ने गरेको लगत राख्न परेन सो कट्टा गरी दिनु भनी का.जि.अ.त. लाई लेखी पठाई दिने...१
पुनरावेदक प्र.धमा भन्ने धनबहादुरले मिति २०३७।६।८ मा का.जि.अ.मा रु.२०००।– धरौट राखेको देखिएकोले निजलाई लागेको जरिवाना रु.५००।– सो धरौट रकममा कट्टा गरी बाँकी रु.१५००।– फिर्ता पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त दिन आए कानून बमोजिम गरी फिर्ता दिनु भनी ऐ.ऐ....१
मिसिल नियम बमोजिम गरी बुझाई दिनु......१
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल मार्ग १२ गते रोज १ शुभम् ।