निर्णय नं. ३५९१ - जालसाजी

निर्णय नं. ३५९१ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४८९
फैसला भएको मिति : २०४५।७।९।३ मा
पुनरावेदक/वादी : का.न.पं.वा.नं.१३ बस्ने नरेन्द्र बिक्रम थापा
विरुद्ध
विपक्षी/प्रतिवादी : वीरगंज न.पं. वा.नं.१३ बस्ने लखीचन साहु कानूसमेत
मुद्दा : जालसाजी
(१) राजीनामा अनुसार दा.खा.ढिलो भएको कारणबाट राजीनामा नै बदर भएको अथवा निष्कृय भएको मान्न नमिल्ने ।
(प्रकरण नं. १४)
(२) राजीनामा कायम भएसम्म सो राजीनामाबाट श्रृजित हक अनुसार बकपत्रलाई जालसाजी मान्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
प्रत्यथीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल
फैसला
न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर चित्त नबुझाई वादीतर्फबाट परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ :
२. काठमाडौं जिल्ला कालिमाटी भिममुक्तेश्वर गुठी विर्ताको सञ्चालक म नरेन्द्रविक्रम थापा १, विपक्षी विष्णुकुमारी थापा १ र विपक्षी नेत्रविक्रम थापा हौं । भिममुक्तेश्वर गुठी अन्तर्गतको जग्गाहरु सबैले विर्षवालो गरी चलाई आएकोमा हामीहरुको आपसमा मुद्दा परी बारा जिल्ला अदालत बसडिलवा गुठी विर्ता मौजा जिमिन्दारी म नरेन्द्रविक्रमको नाउँमा भएको साविक बमोजिम कायम राखी उक्त मौजाको जग्गा जोत जिरायत समेत म नरेन्द्रविक्रमले चलाई आएको र मेरो जिउतासम्मलाई नै बाली नखोज्ने गरी निजले चलाउन भनी मिति २०२३।४।३२ गते काठमाडौं मालबाट मिलापत्र भई सोही बमोजिम आयस्ताबाट गुठी चलाई आएको छु त्यसरी भएको मिलापत्र बदर गरी भनी विपक्षी नेत्रविक्रम र विष्णुकुमारीले मेरो नाउँमा पर्सा जिल्ला अदालतमा उजूर गरी मिति २०३४।८।१९ मा डिसमिस फैसला भएको उक्त गुठीको जग्गा भिममुक्तेश्वर गुठीको नाममा नापी भई जग्गा कमाउने व्यक्ति क.प. इन्द्रध्वजलाई रकम बुझाउन बाँकी राखेमा पजनी बन्दोवत गर्न परी मिति २०२०।११।९।५ मा मोहनसिंह चमरिया कोइरिनी, किसुनदेव हजारा, धुरी महतो, ठगिया अहिरनी, इनरदेव राउत, राम सवारीदेवी, मनिफमियाँ, पतिया अहिरनी, बेलायत मियाँ, जगदिश राउत, कमल महतो, जगदेव राउत समेतका साथ पजनी बन्दोवस्त भई निजहरुबाट रकम आयस्ता चली आएको जग्गामा विपक्षी सुखी साह, रामअसिष साहको हक तथा दर्ता श्रेस्ता समेत नभएको बारा जिल्ला मौजे पोखरिया मटिपरियामा विपक्षी लखिचनको जग्गाहरु भएको सुखी साह तथा राम असिष नातादार समेत भएकोले यही मिति २०३३।१२।१२।३ का दिन बसडिलवा मौजामा विपक्षीहरु आई जग्गाहरु हेरी जग्गाहरु राम्रो र आवादलायक रहेछ, मेरो छोरा पशुपतिका नाउँमा बकसपत्र लेखी दिनुहोस् । विर्तावालाको भतिजा नेत्रविक्रम तथा विष्णुकुमारी ज्यू साथै हुनुहुन्छ, अहिले नै रसीद दाखिल खारेज समेत देखाई चाहिने रसीद लगतहरु खडा गरी गराई लिखत पारितको मुद्दा पारी फैसला गराई ती जग्गाहरु आपसमा बाँडी खाउँला भन्ने राय सल्लाह अनुसार लखिचनले मानी रामअसिषले लिखत गरी दिई सुखी साहुका नाउँबाट बारा जिल्ला इनरवासिरा गा.पं.वा.नं.कि.नं. ८६, ४१७, ४१९, ५३२, ५४०, ६६८, ७१६, ७२३, ७५५, ७७९, ७९६, ८०९, ७१, ४१८, ४७६, ५३३, ६६४, ६७१, ७२२, ७२४, ७७८, ७८०, ८०४ समेतको जम्मा जग्गा विगहा १३–११–६ को विपक्षी पशुपतिप्रसादका नाउँमा बकसपत्रको लिखत मिति २०३३।१२।१३।३ मा खडा गरी गराई सो लिखतमा लखिचन र नथुसाह लिलाप्रसाद समेत साक्षी बसी नेत्रविक्रमबाट छाप लिई मानिकचनको नाउँबाट दाखिल खारेज गरेको जनाई पोत बुझेको रसीद समेत मिति २०३४।५।१५ गते खडा गरी सो रसीद समेत लखिचनले नै लेखाई पेश गरी लिखत पारितको नालिश पारी पराई साविती प्रतिउत्तर दिई मिति ०३५।२।३ गते लिखत पारित हुन ठहरी पर्सा जिल्ला अदालतबाट फैसला भएअनुसार मिति २०३५।७।१९ मा मालपोत कार्यालय बाराबाटै पास गराएको हाल असूल तहसील गर्न जाँदा मिति २०३६।२।१५ गते प्रमाणका मानिसहरुबाट थाहा हुन आएकोले यो फिराद गर्न आएको छु, अतः विपक्षीहरु आपसमा मिलोमतो गरी मेरो हक भोगको कुरामा मेरो हक मेटी मिली बाँडी खानको लागि दर्ता नभएको आसिष समेतको नाउँमा जालसाजी दर्ता गरी अधिकार नभएकाहरुबाट रसीद समेत खडा गरी गराई जालसाज गरेकोले विपक्षीहरुलाई कीर्ते कागजको १०, १४ नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको नरेन्द्रविक्रम थापाको मिति २०३६।३।५ को फिरादपत्र ।
३. वादी विर्तावालाले पाएको लालमोहर र सनदमा परपजनी गर्ने बाध्य नगरेको र जग्गाको हक दावी पुग्नेले आफ्नो सम्पत्ति कसैलाई दिन लिन सक्ने कुनै कानूनी अड्चन समेत छैन । वादीले आफ्नो ३ खण्डमा २ खण्ड हक भोगाधिकारवाला विष्णुकुमारी नेत्रविक्रमसंगको व्यवहारमा अमेल हुँदा सोतर्फ सम्म कानूनी राय सल्लाह दिने गर्दा मेरो छोरा पशुपतिप्रसादको प्राप्त हक अधिकार भित्रको जग्गामा धक्का पुर्याउने नियत लिई यो झुठ्ठा नालिश गरेको देखिन्छ । ३ खण्डको १ खण्ड विर्तावाल वादीले सम्बन्धित सनद र मिलापत्र प्रचलित कानूनको मर्यादा भंग गर्ने उद्देश्यले गरेकोले वादीको दावी बमोजिम कुनै किसिमबाट जालसाज नगरेको हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सुखिचन साह समेत ५ जनाको संयुक्त प्रतिउत्तरपत्र ।
४. विपक्षीले उल्लेख गर्नु भएको सुखी साहु, रामअसिषले पशुपतिका नाउँमा बकसपत्र गरिदिनु भएको जो जग्गा हो सो जग्गा अघि क.प.इन्द्रध्वजका नाउँमा दर्ता रही हक भोग भानिज इन्द्रध्वजले राम आशिष र निजका बाबु मानिकचन्द्रलाई छुट्टाछुट्टै मिति २०१३।४।१५ गते रजिष्टे«शन पास गरी राजीनामा गरिदिनु भएको रहेछ । राजीनामाबाट हक पुगे हुनेका नाउँ अंशियारको नाउँमा दर्ता हुनु स्वभाविक भएको हुँदा राजीनामा समेतको आधारमा दाखिल खारेज भएको र सोही आधारमा दिएको रसीदलाई जालसाजीको परिभाषा भित्र पर्न नजाने हुँदा वादीको झुठ्ठा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विष्णुकुमारी थापा समेत २ जनाको संयुक्त प्रतिउत्तरपत्र ।
५. २००१ साल आषाढमा भएको सनदमा गुठीको जग्गहरु बेचबिखन गर्ने छैन भनी स्पष्ट उल्लेख समेत भएबाट भिममुक्तेश्वर गुठीको नम्बरी जिरायत समेत कुनै पनि जग्गा कसैलाई हक हस्तान्तरण गरी बेचबिखन गर्न नसक्ने हुँदा वादी दावी मनासिब लेखनदास बाहेकका अरु प्रतिवादीहरुले जालसाजी गरेको ठहर्छ भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको मिति २०३८।३।१६।३ मा भएको फैसला ।
६. जालसाजी गरेको ठहर्याएको शुरुको फैसला अन्यायपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीले नारायणी अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।
७. गुठीको जग्गा मोहीले बेचबिखन गर्नसक्ने अवस्थामा वादी समेतको गुठी जग्गा विषय पोत आयस्ता उठाउने हक समेतमा असर परेको नदेखिएकोमा जालसाजी ठहर्याएको शुरुको इन्साफ मिलेको नहुँदा बदर गरी दिएको छ । वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको नारायणी अञ्चल अदालतबाट मिति २०४०।५।२६।१ मा भएको फैसला ।
८. नारायणी अञ्चल अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदनमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) को आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४१।४।२१।१ मा भएको आदेश ।
९. मालपोतसम्म उठाउन पाउने अधिकार भएको यी वादीले अन्य हकवाला प्रतिवादी विष्णुकुमारी समेतले गरिदिएको रसीदबाट वादीको के कस्तो हकमा आघात पुगेको हो सो फिरादमा स्पष्ट खुलेको समेत देखिन नआउँदा विवादको लिखत जालसाजी नठहराई छिनेको नारायणी अञ्चल अदालतको फैसला मनासिब हुँदा कुनै परिवर्तन गरी रहनु परेन सदर हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।१३ को फैसला ।
१०. प्रमाणस्वरुप पेश भएको मिलापत्रबाट म निवेदकमा सम्पूर्ण हक सुम्पिएकोमा हक छाडेका व्यक्तिबाट अघिको मिति हाली पछि बेहक व्यक्तिका नाममा रसीद खडा गरी सो रसीदको आधारमा बकसपत्र खडा गरी मुद्दा पारी फैसला गराई बकसपत्र लिखत पास गर्नु गराउनु नै जालसाजी कीर्तेको प्रष्ट प्रमाण पुगेको मुद्दामा मुद्दा देखि बाहिरका तर्क अपनाई म.क्षे.अ.बाट गरिएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी नरेन्द्रविक्रम थापाको यस अदालतमा पर्न आएको निवेदन ।
११. यसमा आफ्नो हक हिस्सा समेत प्राप्त व्यक्ति यी निवेदक नरेन्द्रविक्रमलाई बाहेक गरी जानकारीसम्म पनि नदिई २०२० सालमा नै विवादीत मौजाको विवादीत जग्गा मालपोत बाँकीमा अरु नै व्यक्तिका साथ बन्दोवस्त भई गई सकेका र बकसपत्र दिने र २०१३ सालमा राजीनामाबाट लिने भनेका यी प्रतिवादीहरुको हकाधिकारै समाप्त भएको जग्गाको अनाधिकार व्यक्ति विष्णुकुमारी, नेत्रविक्रमबाट दिइएका रसीदका मुख्य आधार बनाई सुखी शाह कानु र रामआसिष दिने पशुपतिप्रसाद लिने गरी २०३३।१२।१३ मा (वादी र रसीद गर्ने प्रतिवादीका बीच अधिकारको विवाद रहेको अवस्थाको मिति) खडा गरी २०३५।२।३ मा पारित गरेको विवादीत रसीद तथा बकसपत्रका लिखतलाई सद्दे साँचो ठहराई गरेको क्षेत्रीय अदालतको निर्णयमा कीर्ते कागजका २ नं. र ३ नं. समेतको त्रुटी भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।७।१६ को आदेश ।
१२. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चुडामणि राजसिंह मल्लले गर्नु भएको बहस समेत सुनियो ।
१३. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ, निर्णयतर्फ विचार गर्दा, विपक्षी पशुपतिप्रसादका नाउँमा मिति २०३३।१२।१३ मा बकसपत्र लिई खडा गरी गराई मानिकचनको नाउँबाट दा.खा.गरेको जनाई पोत बुझेको रसीद मिति २०३४।५।१५ गते खडा गरेको रसीद समेत जालसाजी गरेकोले कीर्ते कागजका १० नं. र १४ नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत दावी लिएको पाइन्छ । वादीको उक्त फिरादबाट नै नरेन्द्रविक्रम, नेत्रविक्रम, विष्णुकुमारी गुठीका सञ्चालकहरु भन्ने देखिएको छ । वादी गुठी संस्थान केन्द्रीय कार्यालय तथा विपक्षी प्रतिवादी नरेन्द्रविक्रम सिंह थापा क्षेत्री भएको २०४३ सालको दे.पु.नं. ६९९, राजगुठी कायम गराई पाउँ भन्ने समेत मुद्दामा यस अदालत संयुक्त इजलासको मिति २०४५।५।१३ को फैसलाबाट समेत विवादीत गुठी राजगुठीमा कायम गरी धर्मलोप गरेको नठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर भई नरेन्द्रविक्रमको भोगाधिकार कायम भएको ठहर भइरहेको देखिन्छ । उक्त गुठीमा नेत्रविक्रम, विष्णुकमारीको हकै नपुग्ने रसीद दिन नसक्ने भन्न मिल्दैन ।
१४. मोही क.पं.इन्द्रध्वजले रामआशिष र मानिकचन्दलाई २०१३।४।२८ मा राजीनामा पारित गरी दिएको देखिन्छ । सो राजीनामा बदर भएको देखिँदैन । उक्त राजीनामा अनुसार दा.खा.ढिलो भएको कारणबाट राजीनामा नै बदर भएको अन्यथा निष्कृय भएको मान्न मिल्दैन । उक्त राजीनामाउपर उजूर दिएको देखिएन । उक्त २०१३ सालको राजीनामा कायम भएसम्म सो राजीनामाबाट श्रृजित हक अनुसार बकसपत्रलाई जालसाजी मान्न सकिन्न ।
१५. तसर्थः उपरोक्त अवस्था विद्यमान रहँदा रहँदै जालसाजी नठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई त्रुटिपूर्ण मान्न मिल्दैन । सो इन्साफ मनासिब देखिँदा कुनै परिवर्तन गरी रहनु परेन । वादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल कार्तिक ९ गते रोज ३ शुभम् ।