निर्णय नं. ३५९६ - दर्ता बदर
निर्णय नं. ३५९६ ने.का.प. २०४५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ८६४
फैसला भएको मिति : २०४५।८।२८।३ मा
पुनरावेदक/वादी : दमक न.पं.वार्ड नं. १२ बस्ने रनमाया राईनी गुरुङ
विरुद्ध
विपक्षी/प्रतिवादी : दमक न.पं.वार्ड नं. १२ बस्ने लालबहादुर गुरुङ
मुद्दा : दर्ता बदर
(१) विधवा स्वास्नी मानिसले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमासम्म त्यस्तो स्वास्नीको हक नरहने ।
(प्रकरण नं. १२)
(२) आफ्नो लोग्नेको सत्य डगाई कुनै स्वास्नीमान्छे पोइल जान्छ भने सो लोग्नेबाट पाएको अंश र सोबाट बढे बढाएको सम्पत्तिमा निजको हक समाप्त भई हकवालाले पाउने ।
(प्रकरण नं. १२)
(३) लोग्ने तर्फबाट पाएको अचल स्वास्नीको पेवाको सम्पत्ति हुने, निज स्वास्नी मानिस नमरेसम्म निजले आफू खुस गर्न पाउने निजी सम्पत्ति ठहरिने हुँदा पोइल गएको नाताबाट विपक्षीलाई हकदार मानी निजको नाउँमा नामसारी गर्ने ठहर्याएको मालपोत कार्यालयको निर्णय कानून अनुरुपको नदेखिने ।
(प्रकरण नं. १२)
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. मेरो श्रीमान चक्रबहादुर राई भारतीय सेनामा भएको अवस्था एक्सीडेण्टमा परी मृत्यु भएको क्षतिपूर्ति मैले पाई नेपाल आउन लाग्दा विपक्षीलाई भेटी सँगै नेपाल आई दमक न.पं.वा.नं.६ को ६ धुरजग्गा मञ्जूरनामा दिई मेरो नाउँमा खरीद गर्न पठाउँदा सो मञ्जूरनामा छिपाई प्रतिवादीले आफ्ना नाउँमा जग्गा दर्ता गराएछन, सो कुरा थाहा पाई भन्दा तुरुन्तै तिम्रा नाउँमा सारी दिउँला भन्दै विपक्षी मेरो घरमा संगै रहँदै बस्दै थिए, यसरी विपक्षीले मेरो श्रीमानको क्षतिपूर्तिद्वारा प्राप्त रुपैयाँबाट खरीद गर्ने गरेका जग्गा झुक्याई दर्ता गराएको बदर गरी पाउँ भन्ने समेत वादीको फिरादपत्र ।
३. २०१८ सालदेखि नै आसामबाटै पति पत्नीको रुप कायम भई पैसाको जोहो भएपछि २०२६ सालमा नेपाल फर्की दमक गा.पं.वार्ड नं. ६ को कि.नं.१३२३ को जग्गा ६ धुर खरीद गरी घर बनाई १८ वर्ष सम्म वादी प्रतिवादीको सहवासबाट जायजन्म नभई दुबैजनाको सल्लाहले २०३४ सालमा अर्को विवाह गरेको पछि फिरादीले मलाई विचल्ली पार्नुहुन्छ होला भन्दा उक्त ज.वि.६ धूर फिरादीका नाउँमा पास गरी दिएको २०४० साल बैशाखमा मधुमल्ला बस्ने प्रेमबहादुरसंग वादी पोइल गएको थाहा पाई प्र.ले आफ्ना नाउँको जग्गा नामसारी गरी पाउन कारवाही चलाई प्र.का नाउँमा अब उजूर गर्ला भन्ने निश्चित देखि उक्त अपराध बाट बच्न सकिन्छ कि भनी म समेतउपर फौ.दा.नं. ५०४ को जालसाज मुद्दा दायर गरेको छन फिरादीले पनि चक्रबहादुरको उपदानबाट जग्गा किनेको भए उपदान पाएको प्रमाण समेत पेश गर्न सक्नु पर्ने सो समेत नगरेको झुठ्ठा दावीबाट अलग गरी मेरा नाउँ दर्ताको जग्गा कायम सदर गरी पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र ।
४. वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको मेची अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. वादी दावी नपुग्ने ठहर्याई गरेको शुरु झापा जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको फैसला ।
७. मेची अञ्चल अदालतबाट भएको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनपत्रमा पुनरावेदनको अनुमति दिइएको भन्ने समेत पु.क्षे.अ.को आदेश ।
८. प्रतिवादीको नाममा विवादको जग्गा नामसारी गर्ने कुरा वादीलाई थाहा दिलाउँदा पनि विरोध नगरी उल्टो सबै व्यहोरा ठीक छ भनी स्वीकार गरेको देखिएकोले वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ मिलेकै देखिएकोले कुनै परिवर्तन गरिरहन नपरी मनासिब ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रत्यक्ष कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी पाउन न्याय प्रशासन सुधार (चौथो संशोधन ऐन), २०३१ को दफा १३(५) अनुसार पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतको परेको निवेदन ।
१०. विवादको जग्गा प्रतिवादी लालबहादुरले नै वादी निवेदिकालाई ०३६।९।२६ मा बकसपत्र पारित गरी दिएको देखिन्छ । त्यस्तो बकसपत्रबाट प्राप्त गरेको जग्गा वादी रनमायाले मुलुकी ऐन, स्त्री अंश धनको ५ नं. ले आफू खुशी गर्न पाउने प्रष्ट व्यवस्था गरेको पाइन्छ । यस्तो स्थितिमा विवादीत जग्गा प्रतिवादीका नाउँमा नामसारी गरी दिने ठहर्याएको मेची अञ्चल अदालतको इन्साफ सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयमा उक्त स्त्री अंश धनको ५ नं. को प्रत्यक्ष त्रुटी गरी गरेको देखिन आएकोले प्रस्तुत निवेदनमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख), (ग) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
११. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा यसमा डाक्न लगाउँदा पनि पुनरावेदकतर्फको वारिस र कानूनी व्यवसायी समेत उपस्थित नभए पनि मुद्दा किनारा गर्न बाधा नपर्ने हुँदा वादी दावी नपुग्ने ठहर्याएको शुरु र अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के हो भन्नेतर्फ विचार गरेमा वादी पुनरावेदकले जुन कि.नं.१३२३ को जग्गा र घर समेत विपक्षी लालबहादुरका नाउँमा नामसारी दर्ता गराएको बदर गरिपाउँ भन्ने दावी लिएको सो जग्गा र घर साविक दर्तावाला आफ्नी स्वास्नी रनमाया प्रेमबहादुर सित पोइल गएको हुँदा अरु कोही हकदार नहुँदा आफ्ना नाउँमा नामसारी गरी पाउँ भनी नगर पञ्चायतबाट निज रनमाया प्रेमबहादुरसित पोइल गएको हुन र दावीको जग्गा निजै लालबहादुरले आफ्नी स्वास्नीका नाउँमा दर्ता गराएकोले निजको दर्ता बदर गरी दिन मनासिब पर्छ भन्ने समेत व्यहोराको सरजमीन सहितको सिफारिश सहित साथमा राखी मालपोत कार्यालयमा निवेदन दिई सो निवेदनमा पुनरावेदक रनमायाले उक्त निवेदनमा लेखिएको व्यहोरा सबै ठीक हो भनी सनाखत गरी दिएको आधारमा विपक्षीका नाउँमा नामसारी गरी दिने गरी २०४०।४।१ मा नामसारी गरी दिएको देखियो ।
१२. स्त्री अंश धनको ६ नं. मा भएको व्यवस्थाबाट विधवा स्वास्नी मानिसले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमासम्म त्यस्तो स्वास्नीको हक रहँदैन, हकवालाको हुन्छ भन्ने कानूनमा भएको यो व्यवस्थाले आफ्नो लोग्नेको सत्य डगाई कुनै स्वास्नीमान्छे पोइल जान्छ भने सो लोग्नेबाट पाएको अंश र सोबाट बढे बढाएको सम्पत्तिमा निजको हक समाप्त भई हकवालाले पाउने हुन्छ । तर पुनरावेदकले जुन जग्गाको दर्ता बदर गराई पाउँ भन्ने दावी लिएको छ सो जग्गा विपक्षी साविक लोग्ने लालबहादुरबाट अंश बापत पाएको नदेखिई निजैले २०३६।९।२६ मा पास समेत गरी बकसपत्र गरी दिएको मिसिलसाथ पेश भइरहेको बकसपत्रको प्रतिलिपिबाट देखिन आएको र स्त्री अंश धनको ४ नं. मा भएको व्यवस्थाले यसरी लोग्ने तर्फबाट पाएको अचल स्वास्नीको पेवाको सम्पत्ति हुने भई सोही महलको ५ नं. मा भएको व्यवस्थाबाट निज स्वास्नीमानिस नमरेसम्म निजले आफू खुश गर्न पाउने निजी सम्पत्ति ठहरिने हुँदा वादी पुनरावेदक पोइल गएको नाताबाट विपक्षीलाई हकदार मानी निजको नाउँमा नामसारी गर्ने ठहर्याएको मालपोत कार्यालय झापाको निर्णय कानून अनुरुपको नदेखिएकोले वादी दावी बमोजिम दर्ता बदर हुने ठहर्छ । वादी दावी नपुग्ने ठहर्याएको शुरु र अञ्चल अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी रनमाया राइनीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम दर्ता बदर हुने ठहरी फैसला भएकोले प्रतिवादीका नाउँमा नामसारी भएको दमक न.पं.वार्ड नं. ६ को कि.नं.१३२३ को ज.वि.०–०–६ धुर जग्गाको दर्ता बदर गरी वादी रनमाया राइनीका नाउँमा दर्ता गरी दिनु भनी मालपोत कार्यालय झापामा लेखी पठाउन शुरु जि.अ.मा लगत दिन का.जि.अ.त.मा लगत दिनु...१
पुनरावेदक वादी रनमाया राइनीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरु अञ्चल अदालत र पू.क्षे.अ.को इन्साफ गल्ती ठहरी फैसला भएकोले वादीले शुरु जिल्ला अदालतमा फिराद दायर गर्दा राखेको कोर्टफी रु.१०।– अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० पू.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी. रु.१।५० समेत जम्मा कोर्टफी रु.१४।५० प्रतिवादीबाट भराई पाउने हुँदा प्रतिवादीको यसै सरहदको जायजेथा देखाई भराई पाउँ भनी ऐनका म्यादभित्र वादीले दर्खास्त दिए कानून बमोजिम प्रतिवादीबाट वादीलाई भराई दिनु भनी झापा जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु................३
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल मार्ग २८ गते रोज ३ शुभम् ।