शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६०३ - विध्वंसात्मक अपराध

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६०३     ने.का.प. २०४५                 अङ्क १०

 

सर्वोच्च अदालत तीन न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको फौ.पु.नं. ११

सम्वत् २०४४ सालको फौ.सा.नं. ९

फैसला भएको मिति : २०४५।२।२४।२ मा

 

पुनरावेदक/वादी : रा.पं.का. सचिव श्री श्यामकृष्ण भट्टराई समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.धनुषा गा.पं.तारापति सिरसिया वा.नं.८ बस्ने चन्द्र विजय शाहसमेत

 

मुद्दा : विध्वंसात्मक अपराध

 

(१)                प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्म्क अपराध सम्बन्धमा कुनै कानूनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानून बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न विध्वंसात्मक अपराध विशेष (नियन्त्रण तथा सजाय) ऐन, २०४२ बनेको देखिने ।

(प्रकरण नं. १०२)

(२)               संविधानको धारा ११(१) मा जेसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्यको लागि राज्यले कानून बनाउन सक्ने र त्यसरी बनेको कानूनको आधारमा, धारा १७(१) का आधारमा त्यस्तो हकहरुको प्रयोगलाई बन्देज समेत लगाउन सक्ने व्यवस्था रहेको, उक्त ऐन संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्य अनुकूल बनेको प्रष्ट देखिन आएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संवैधानिक तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्‍याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ ऐन) बमोजिम कारवाही हुन र सजायँ गर्न समेत संविधान र कानून अनुकूल नै देखिने ।

(प्रकरण नं. १०२)

(३)               विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको अभियोगमा केवल शंकाको भरमा मात्र ठहर गर्न न्यायसंगत नहुँने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने ।

(प्रकरण नं. १०४)

(४)               नेपालमा विध्वंसात्मक कार्य गर्न गराउन विदेशी भूमिमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले खडा गरेको गिरोहले खेमराज मायालु समेतको सहयोगबाट विष्फोटक पदार्थ सहित काठमाडौंमा विध्वंसात्मक कार्य गर्न गराउन पठाएको सिद्ध हुन आएकोले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(१) अनुसार अभियुक्तहरु विश्वेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहलाई मृत्यु दण्डको सजायँ गर्ने ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १०४)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : विध्वंसात्मक अपराध सम्बन्धी अदालतको जाहेरी फैसला उपर विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ९ बमोजिम वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।

२.    ०४२।३।६ गते दिनको अं.१.३० बजेको समयमा राष्ट्रिय पंचायत भवन (ग्यालरी बैठक) को प्रवेशद्वारमा आतंककारीहरुद्वारा राखिएको बम विष्फोटन हुँदा माननीय रा.पं.स.श्री डम्बर जंग गुरुङ, माननीय रा.पं.स.श्री जनकबहादुर शाह, माननीय रा.पं.स.श्री दीपबहादुर सिंह र माननीय रा.पं.स.श्री भोलामान सिंह थापाका साथै एक अपरिचित व्यक्ति, समेत, विष्फोटनमा परी घाइते हुनु भएकोले उपचारार्थ वीर अस्पतालमा तत्कालै पुर्‍याइएको, रा.पं.भवनको पश्चिम पट्टिको केही भाग क्षेतिग्रस्त भएको हुँदा आवश्यक जाँचबुझ भई कहाँको को को व्यक्ति भई के कसरी विष्फोटक पदार्थ बम ल्याई विष्फोटन समेत गराई देशको शान्ति सुव्यवस्थामा र अमनचयनमा समेत खलल पारी सामान्य जनजीवनलाई नै अस्तव्यस्त पारी विध्वंसात्मक काम गरेको हुनाले आतंककारीहरुको खोज तलाश गरी कानून बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको रा.पं.सचिवालयको सचिव श्री श्यामकृष्ण भट्टराईले ०४२।३।६।५ मा जि.प्र.का.काठमाडौंलाई लेखेको पत्र ।

३.    ०४२।३।६।५ को रा.पं.को घटनास्थल प्रकृति मुचुल्का हेर्दा, ग्यालरी बैठकको पश्चिमतर्फको प्रवेशद्वारमा जडान भएको फलामे गेटको बायाँ तर्फको भाग क्षतिग्रस्त भई फलामका सटरहरु भूइँमा छरिएका, प्रवेशद्वारका सिंढिको दायाँ बायाँ रहेका सिंहका मूर्ति थान दुई र कलशको जस्तै कलात्मक बुट्टा भएको दुई पिलरहरु चर्की फुटेका, द्वारका बायाँ तर्फको ६ फुट चौडाईको गार्‍होको भागमा २ फुट भित्र सम्म भत्केको छत सम्मको गार्‍होको बाहिरी भाग भत्केको, फलामको छत माथि सिसा राखी बनाएको छतको सबै सिसा फुटी गएको सिंडिमा प्रशस्त आलो रगत जमेको, प्रवेशद्वार भित्रको अग्र भागमा जडान भएका प्लाइउडको २८ फुट लामो, १५ फुट चौडा सिंडी चकनाचूर भएको, फुलका गमलाहरु फुटी भताभुङ भएको, झ्याल थान ८ को सिसाहरु फुटी छरिएको, सो ठाउँमा बारुदको जस्तो गन्ध आएको, प्लाष्टिकमा डोरीले बाँधिएको पोका जस्तो थुप्रो देखिएको, पोकामा नट बोल्टहरु समेत राखी डोरीले ३ भाग गरी बाँधेको, उक्त पोकाहरु विशेषज्ञलाई जचाउँदा  नष्ट गरिएको विभिन्न साइजका नट बोल्टहरु ४०, एस.जी, ८० एक्सप्लोसिभ लेखिएको जिलेटिन झोला थान ३१, इलेक्ट्रिक डिटोनेटर थान १, बम पड्किने समय सूचक यन्त्र इण्डियन टाइटोनामक घडी, ४ थान व्याट्री राख्ने प्लाष्टिकको बट्टा समेत प्राप्त भएको देखिएको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।

४.    लमजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने मेरो दाजु माननीय डम्बरजंग गुरुङ ग्यालरी बैठकमा आफ्नो नाउँ दर्ता गराई बैठक घरको गेटतर्फ आउँदा अचानक बम विष्फोटन भई सिकिस्त घाइते हुँदा उपचारार्थ वीर अस्पतालमा पुर्‍याइएकोमा मृत्यु भएकोले कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको ०४२।३।६ मा देबेन्द्र गुरुङको जाहेरी दर्खास्त ।

५.    मेरो भाइ विष्णुप्रसाद दवाडी, जाजरकोट जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयको कर्मचारी भएको, काम विशेषले ०४२।३।६ मा सिंहदरवार ग्यालरी बैठकमा जाँदा अचानक बम विष्फोटन हुन गई सिकिस्त घाइते भई वीर अस्पतालमा उपचारार्थ लग्दा मृत्यु भएकोले छानबीन गरी कारवाही होस् भन्ने बाबुराम उपाध्यायको ०४२।३।७ को जाहेरी ।

६.    रा.पं.स.डम्बर गुरुङको बम विष्फोटनबाट दुवै खुट्टा छुट्टिएको अवस्थामा अस्पताल ल्याई पुर्‍याउँदा नै मृत्यु भइसकेको भनी प्रतिवेदनमा उल्लेख भएकोले आवश्यक कारवाही गर्नु हुन भनी वीर अस्पताबाट जि.प्र.का.लाई लेखेको ०४२।३।७ को पत्र ।

७.    बम विष्फोटनमा परी उपचारार्थ ल्याइएका विष्णुप्रसाद दवाडीको श्वास प्रश्वास तथा नाडीको गति बन्द भई मृत्यु भएको हुँदा कानूनी कारवाही गर्नु हुन वीर अस्पतालबाट ०४२।३।७ मा जि.प्र.का.लाई लेखेको पत्र ।

८.    रा.पं.स.डम्बरजंग गुरुङ र विष्णुप्रसाद दवाडीको मृत्यु बम विष्फोटनको कारणबाट भएको भन्ने लाश जाँच प्रतिवेदन ।

९.    ०४२।३।६ मा काठमाडौं अन्नपूर्ण होटल, रा.पं.भवनको मूल ढोका, सिंहदरवार मेन गेट केशरमहलको पूर्वपट्टिको राजदरवार कम्पाउण्डको पश्चिम गेट अगाडी सडक पूर्वको पर्खाल पिलर, जय नेपाल सिनेमा हलतर्फ जाने पूर्व पश्चिम पिच सडक र राजदरवारको दक्षिण ढोका जाने बाटो निरको आँपको रुख नजिक समेत गरी ५ ठाउँमा भएको बम विष्फोटन र विध्वंसात्मक कार्य सम्बन्धमा बुझ्दा, विदेश भूमिमा रही नेपालमा आतंककारी गिरोहको कार्य गर्न मुख्य भूमिका खेल्ने जि.सप्तरी कोइलाडी घर भई हाल भारतमा बस्ने रामराजाप्रसाद सिंहले, नेपालको शान्ति सुरक्षा खलबल्याउने, अशान्ति र आतंक मच्चाउने, सरकारी तथा गैरसरकारी सम्पत्तिको नोक्शान पार्ने उद्देश्यले विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मा, शिवबहादुर विश्वकर्मा समेतका मानिसहरुलाई काठमाडौं पठाई निजहरुले विष्फोटन गरी गराई आतंक फैलाउने कार्य गरेको विश्वस्त सूत्रबाट थाहा भएको, निजहरु हाल फेला नपरेको, निजहरु उपर कारवाही गरी सजायँ समेत गरिपाउँ भन्ने प्र.नि.शारदाप्रसाद पराजुलीको ०४२।५।७।६ को प्रतिवेदन ।

१०.    ०४२।३।५ गते श्री ५ महाराजाधिराज सरकारबाट रा.पं.लाई सम्बोधन गरिबक्सेको हुनाले श्री ५ को सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा माननीयहरुबाट रा.पं.मा बोल्नु पर्ने हुनाले आफ्नो नाउँ लेखाउन ०४२।३।६ का दिन रा.प. भवनमा गई पुस्तिकामा आफ्नो नाम लेखी मूल ढोकाबाट बरण्डामा आई पुग्दा ग्यालरी बैठक भवनको माथिल्लो सिंढिको उत्तर कुनामा अचानक बम विष्फोटन भयो । बमको छिर्काले मेरो बायाँ घुँडामा चोट लाग्यो र लडें । माननीय डम्बरजंग गुरुङ उछिट्टिएर बज्रिएको देखें । माननीय दीपबहादुर सिंह, माननीय भोलामान सिंह पनि घाइते हुनु     भएछ । मेरो खुट्टाबाट नट सहितको छिर्काहरु अपरेशनबाट झिकियो । बम विष्फोटन रामराजाप्रसाद  सिंह समेतका व्यक्तिहरुबाट भएको भन्ने जानकारी हुन आएको, मलाई पनि शंका भएको हुँदा उक्त गिरोहउपर छानबीन गरी कडा कारवाही समेत होस् भन्ने समेत व्यहोराको रा.पं.स.जनकबहादुर शाहले ०४२।५।२३ मा प्रहरी समक्ष गरेको कागज ।

११.    रा.पं.म श्री ५ को सरकारको नीति तथा कार्यक्रम विषयमा बोल्नु पर्ने क्रममा नाउँ लेखाउन ०४२।३।६ मा रा.पं.भवनमा म गएको, मेरो साथ विष्णुप्रसाद दवाडी पनि रहन भएको, पुस्तिकामा आफ्नो नाम लेखाई, पानी परिरहेको हुँदा, मूल ढोकाको पहिलो खुड्किला उत्तर कुनाबाट विष्फोटनको आवाज आउना साथै म सख्त घाइते भई व्यहोश भएछु । अस्पताल पुर्‍याएर उपचार हुँदा होसमा आएँ, शरीरमा विभिन्न घाउ चोटहरु लागेका रहेछन् । माननीय डम्बरजंग गुरुङ र जाजरकोट वडा लेखापाल विष्णुप्रसाद दवाडीको मृत्यु भयो भन्ने थाहा पाउँ । मेरो शरीरबाट कतिपय फलामको नट तथा छर्राहरु निकालिएको थियो । रामराजाप्रसाद सिंह समेतका व्यक्तिहरुबाट सो घटना भएको शंका हुँदा कडा कारवाही होस् भन्ने समेत व्यहोराको रा.पं.स.दीपबहादुर सिंहले ०४२।५।२३ मा प्रहरी समक्ष गरेको कागज ।

१२.    रा.पं.मा श्री ५ को सरकारको नीति र कार्यक्रम सम्बन्धमा बोल्नु पर्ने क्रममा आफ्नो नाउँ लेखाउन भनी गई नाम लेखाई ढोकाको पहिलो सिंढिबाट दोश्रो सिंढिमा मात्र के ओर्लेको थिएँ सोही बखत उत्तर कुनाबाट विष्फोटनको भयानक आवाज आयो, म दक्षिणतर्फ ढलेछु । विष्णुप्रसाद दवाडी लगायतका मानिसहरु लडेको, रगत, बगिरहेको देखें । आफ्नो घाउ देखेपछि व्यहोस भएँ । विष्णुप्रसाद र माननीय डम्बरजंगको मृत्यु भएछ । उक्त घटना रामराजाप्रसाद सिंह समेतका गिरोहबाट भएको शंका भएकोले छानबीन गरी कडा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको रा.पं.स.भोलामान सिंह थापाले ०४२।५।२३ मा प्रहरीमा गरेको कागज ।

१३.    मेरो भाइ विष्णुप्रसाद दवाडीको मृत्यु रामराजाप्रसाद सिंह समेतका गिरोहद्वारा भएको बम विष्फोटनबाट भएको हुँदा क्षतिपूर्ति भराई निजहरु उपर कडा कारवाही समेत गरी पाउँ भन्ने समेत व्यहोराको निजका दाजु बाबुराम दवाडीले ०४२।५।२३ मा प्रहरीमा गरेको बयान ।

१४.    ०४२।३।६ मा काठमाडौंमा भएको बम विष्फोटन सम्बन्धमा बुझ्दा, रामराजाप्रसाद सिंह समेतको गिरोहबाट भएको, गिरोहमा केशव भेटवाल, सन्तनु कार्की, महादेव साहू सुडी, विजय साह सुडी समेत संलग्न भएको बुझिएको भन्ने प्रहरी शिवीर लैनचौरका प्र.नि.कृष्णबहादुर थापाको प्रतिवेदन ।

१५.   २०४२।३।३ का दिन विष्फोटक पदार्थ सहित भारतबाट आउँदै गरेको अवस्थामा जलेश्वर भन्सारमा पक्राउ परेका, विष्फोटक पदार्थ जनकपुरको जमघट स्थलमा पड्काउनु भनी दिई पठाएको ०४१ बैशाखमा मोहितलाल र लालबहादुर चौधरी मार्फत पटनामा रामराजासँग भेट भएको र गिरोहको तालीम समेत लिएको, भारतको सिमूलतला भन्ने क्याम्पमा तालीम लिंदा केदारकुमार कार्की, हेमशंकर गुप्ता, शिवकुमार विश्वकर्मा, राजेन्द्र झा, लक्ष्मणप्रसाद सिंह, पवनकुमार सिंह, बाबुराम भाट भन्ने मजिद मियाँ, सुमन भन्ने चन्द्रदेव ठाकुर, शेखर भन्ने विश्वेश्वर मण्डल, गौतम भन्ने किशोरी साह, गुरुदेव दासतत्मा, महेन्द्रप्रसाद बजगाई, पद्मलाल, इन्द्र भन्ने पंचे लामा, मुश्लिम मियाँ, रामनाथ ठाकुर, ज्ञानेन्द्र लामा, नवीन, मानबहादुर तामाङ, आर.के. सर्वहारा भन्ने रामकृष्ण महतो, आदि व्यक्तिहरु थिए । फाइरिङ्ग विष्फोटनको तालीम अल्मोडा उत्तर काशीमा र टाइम बम बनाउने, विष्फोटन गर्ने, बम तयार गर्ने सिमुल्तला क्याम्पमा नै सिकाइएको, पवन, बाबुराम भाट, विश्वेश्वर मण्डल, लक्ष्मणप्रसाद सिंह, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मा, तालीम दिने मुख्य व्यक्ति  थिएँ । ०४२।१।१५।१६ तिर म गुरु देवदास तत्मा रेकी गर्ने सुर्खेत गयौं, पछि पटनामा बोलावट हुँदा गएँ । जनकपुर अञ्चलको विभिन्न महत्वपूर्ण कार्यालयमा मानिस भेला हुने ठाउँमा विष्फोटन गर्न जानु पर्छ भनी रामराजाले भनेकाले, हरदेव चौधरी, मजिद मियाँ र म रामराजाले दिएको जिलेटिन व्याट्री फ्यूज समेत विष्फोटन पदार्थ लिई सितामढी आएको जनकपुर आई पुगी विष्फोटक पदार्थ गोयाल धर्मशालामा राखी सितामढि फर्की, पुनः सामानहरु ल्याउँदा जलेश्वर भन्सारमा पक्राउ परेको, हरदेव मजिद मियाँ भागे, भन्ने समेत व्यहोराको विश्वनाथ गुप्ताले जलेश्वर प्रहरी कार्यालय महोत्तरीमा ०४२।३।११ मा गरेको बयान ।

१५.   व्यागमा विष्फोटक पदार्थ बम राखी विराटनगरमा विध्वंसात्मक कार्य गर्न जान लागेकोमा ०४२।३।१० मा पक्राउ परेको, सो कार्य गर्ने रामराजाका भाइ लक्ष्मणप्रसाद सिंहले पठाएको, म ०४० आषाढ देखि सो काममा लागेको, गिरोहमा रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह, अशेश्वर यादव, वैजनाथ गुप्ता, ज्ञानचन्द्र यादव, पवनकुमार साह, डम्बरबहादुर सुब्बा, राजेन्द्र झा र रतन यादव भएको, रघुवंश झा र सत्यनारायण मार्फत जयनगरमा रामराजासँग भेट गराइएको, उनले विमल साहद्वारा सिमुलतला पुर्‍याइएको, त्यहाँ इश्वर लामा, चन्द्रदेव ठाकुर, मेथरु साह, पवन, रामचन्द्र लामा, इश्वरी ठाकुर, बाबुराम भाट, लक्ष्मणप्रसाद, किशोरी साह, केदारकुमार कार्की, सलान, रंजित, परमेश्वर समेतका व्यक्ति रहेका, क्याम्पमा जुडो कँराते, गुरिल्ला युद्ध, हातहतियार खोल्ने जोड्ने, फायर गर्ने, बम बनाउने, विष्फोटन गर्ने, आदि तालीम लिएको, तालीम दिनेमा रामकृष्ण महतो, लक्ष्मणप्रसाद सिंह, पवनकुमार साह, बाबुराम भाट, आदि भएको रामराजाले जोगमणि जानु भनेको हुँदा त्यहाँ जाँदा लक्ष्मणप्रसाद सिंहले जिलेटिन, डिटनिटेर, फ्यूज, कालो व्याग र रु.२००। नगद मलाई दिएको, विष्फोटक पदार्थ रेकी गरेको स्थान विराटनगर पानी टंकी, डि.आइ.जी. अफिस, जिल्ला कार्यालय आदि महत्वपूर्ण स्थानमा विष्फोटन गराउन भनी अहएको, ०४२।३।५ वा ६ गते रेकी स्थानमा विष्फोटन गराउन रामराजाले चिठ्ठी पठाएको, ०४२।३।६ मा आफ्नै घरमा बसी बम तयार गरी बम सहितको व्याग लिई हरिपुरबाट बसमा चढी विराटनगर पानी टंकीमा विष्फोटन गराउन गइरहेको अवस्था चौकी थाना नजिक दास बसमा पक्राउ परेको भन्ने समेत व्यहोराको प्र.महेन्द्रप्रसाद बजगाईले जि.प्र.का.सुनसरीमा ०४२।५।६ मा गरेको बयान ।

१६.    नेपाल अधिराज्यको शान्ति सुरक्षा र व्यवस्थामा खलतु पार्ने उद्देश्यले विध्वंसात्मक कार्य गर्न गराउनको लागि विदेश भारतमा आतंककारी गिरोह खडा गरी रामराजाप्रसाद सिंहले आतंककारी कार्य गरे गराएको बारे जानकारी दिन कोशी अञ्चलाधीश कार्यालयमा जाँदा पक्राउ परेको, गिरोहको नाइके रामराजाप्रसाद सिंह भएको, सो गिरोहमा म ०४१ चैत्र महिना देखि लागेको, सलबहादुर विश्वकर्मा, त्रिभुवन ढकाल, गजेन्द्र विश्वकर्मा, इन्द्रबहादुर विश्वकर्मा, टेकेन्द्र विश्वकर्मा सहित म पटना गएको, टेकेन्द्र विश्वकर्माले हामीलाई रामराजाको डेरामा जिम्मा लगाई दिएको, जसपश्चात नै गिरोहको विषयमा जानकारी भएको, हामीलाई सिमुलतल क्याम्पमा लगे र त्यहाँ लक्ष्मणप्रसाद सिंह, पवनकुमार साह, विश्वनाथ गुप्ता, गुरुदेव दास तत्मा, धमेन्द्र साह, किशोरी साह, मजिद मियाँ, रामकुमार यादव, मुला सदा मुसहर, दाताराम बजगाई, हरदेव चौधरी, प्रदिपकुमार, महेन्द्र सदा मुसहर, देव शंकर गुप्ता, आदि विध्वंसात्मक कार्यको तालीम लिई राखेका रहेछन । खेमराज मायालु, लालबहादुर चौधरी, डम्बरबहादुर सुब्बा निर्देशक थिए । हामी पनि तालीममा सरिक भयौं । विध्वंसात्मक सम्बन्धी सम्पूर्ण तालीम लियौं । तालीमको मुख्य व्यक्तिहरु आर.के. सर्वहारा भन्ने रामकृष्ण महतो, मजिद मियाँ, लक्ष्मणप्रसाद, पवन  कुमार आदि थिए । तालीम सकिएपछि ०४२ साल ज्येष्ठको पहिलो हप्तातिर अब ७५ जिल्ला मै विष्फोटन गराउन तिमीहरु खटिनु पर्ने भनी लक्ष्मणप्रसादले भने, हामीलाई सितामढी लगियो, तालीम लिँदा कोही भागेमा मारिने छ भन्ने धम्की बराबर दिएको कारणबाट बाध्यताबश बसेका थियौं । विभिन्न व्यक्तिको निर्देशनमा विभिन्न स्थानमा विध्वंसात्मक कार्य गर्न खटाइयो र रामराजा कै समक्ष पवनकुमार साहले जनकपुरको लागि बाबुराम भन्ने मजिद मियाँको नेतृत्वमा दिपक भन्ने हरदेव चौधरी, जितेन्द्र भन्ने भोजप्रसाद भट्टराई र मलाई खटाए, वीरगन्जको लागि पवनकुमारको नेतृत्वमा अन्य व्यक्तिहरु खटिए । जनकपुरको लागि खटिएको हाम्रो टोली ०४२।२।२३ गते विहान सितामढीबाट जनकपुरतर्फ लाग्यौं । जनकपुरमा एक साथ हिंड्दा शंका हुने देखि मजिद मियाँले रु.१००।का दरले सबैलाई दिई अलग अलग हिंड्ने निर्देशन दिइयो । भोजप्रसाद र म काकडभिट्टा जाने बसमा चढी भाग्यौं । ०४२।३।६ का दिन अधिराज्यका विभिन्न स्थानमा बम विष्फोटन भएको सुनियो त्यस विषयमा आफ्नो गाउँको सचिव समक्ष भने, निजले सो को जानकारी अञ्चलाधीश समक्ष गरी दिन भनेर मलाई त्यहाँ लगे र प्रहरीमा पठाइयो भन्ने समेत व्यहोराको दुर्गाप्रसाद अधिकारीले ०४२।५।९ मा जिल्ला प्र.का.मा गरेको बयान ।

१७.   रामराजाले, भद्रपुर भन्सार कार्यालयका प्रहरी कार्यालय, तथा सार्वजनिक महत्वको स्थानमा विष्फोटन गर्ने भनी पठाएको विष्फोटक पदार्थ लिई आउँदा भद्रपुर भन्सार कार्यालयमा पक्राउ परेको, ०४० साल असोजमा पवनकुमार साहले रामराजाको क्याम्पमा तालीम लिन भनी सितामढि लगी निजसँग भेट गराएको इश्वर लामा, यूगल किशोर कर्ण, अशेश्वर यादव, रघु बंश झा, राम रत्न यादव समेत त्यहाँ नै रहेका, गिरोहको उद्देश्य जानकारी भएपछि, म पनि गिरोहमा संलग्न भएको हुँ । क्याम्पमा विध्वंसात्मक कार्य सम्बन्धी सम्पूर्ण विषयमा तालीम समेत दिइएको, फाइरिङको तालीम भारतीय आर्मी जस्तो देखिने व्यक्तिबाट सिकाइएको थियो तालीम सकिएपछि कुन व्यक्तिले कहाँ रेकी गर्ने भन्ने कुराको छलफल रामराजाले गरेको, विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मालाई विष्फोटनको उच्च तालीम दिन अन्यत्र लगेको, निजहरुलाई नै काठमाडौंमा रेकी गर्न खटाएको हुनुपर्दछ । तालीम पाएका विभिन्न व्यक्तिहरुलाई नेपालको विभिन्न महत्वपूर्ण स्थानमा रेकी गर्न पठाएको, राजेन्द्र झा, इश्वरी ठाकुर, रामपुकार यादव, आर.के. सर्वहारा भन्ने रामकृष्ण महतो र म विराटनगरमा रेकी गर्न खटिएका थियौं । नेपालको विभिन्न ठाउँमा विष्फोटन गरी आतंक फैलाउन नेपालको पूर्व क्षेत्रको लागि खटन पटन गर्न भारत पटनाका लक्ष्मणप्रसाद सिंहले मध्य क्षेत्रको लागि भारत सितामढिमा रामराजाप्रसाद सिंहले र पश्चिम क्षेत्रको लागि गोरखपुरमा खेमराज मायालुले हेडक्वाटर कायम गरेका थिए । निजहरुले हामीलाई विराटनगरमा विष्फोटन गर्न विध्वंसात्मक सामान दिई पठाएको, ०४२।२।२० मा हामी जोगवनी आई भोलिपल्ट दुवहीमा डेरा खोजी केही सामान जोगवनी पार गर्‍यौं । बाँकी सामान इश्वरी ठाकुरलाई भारतीय पुलिसले शारदा लजमा पक्रिए हामी पनि पक्राउ पर्न सक्ने संभावना हुँदा सोको खबर गर्न पटना गयौं । सामान लुकाउन रामराजाबाट निर्देशन हुँदा दुवही आई चिनेको डा.मानबहादुरको घरमा सामान राखी पटना फर्के । भद्रपुरमा विध्वंसात्मक कार्य गर्नु भनी अर्‍हाएको हुँदा केही सामान लिई गलगलिया हुँदै भद्रपुर आउँदा त्यहाँ पक्राउमा परियो । राजेन्द्र झा भागे भन्ने समेत व्यहोराको रामकृष्ण महतोले ०४२।३।१३ मा जि.प्र.का.झापामा गरेको बयान कागज ।

१८.    कामकाजको सिलसिलामा टेकेन्द्र विश्वकर्मा र महेन्द्रप्रसाद बजगाईले ०४१ फाल्गुणमा पटना लगी रामराजाकहाँ पुर्‍याएको, त्यहाँ अन्य व्यक्तिहरु भएको  विध्वंसात्मक अपराध गर्न तालीम रामराजाको गिरोहले दिंदो रहेछ भन्ने जानकारी पाएको, क्याम्पमा पुगेको मानिस भागेमा मारिने धम्की दिंदा म पनि सोही तालीममा सरिक भएँ क्याम्पमा विध्वंसात्मक कार्य गर्ने विभिन्न तालीम दिइयो । तालीम प्राप्त भए पश्चात विभिन्न व्यक्तिहरु विभिन्न ठाउँमा विध्वंसात्मक कार्य गर्न खटिए भने हामी जनकपुरको लागि खटियौं । अलग हिंड्ने निर्देशन हुँदा दुर्गाप्रसाद र म काकडभिट्टाको बसमा चढी म दार्जेलिङ गएँ । ०४२।३।६ मा नेपालमा बम विष्फोटन भएको कुरा दार्जेलिङमै थाहा पाउँ । सो को जानकारी जनकपुर अञ्चल कार्यालयलाई बताउन भनी आउँदा काकडभिट्टा पुलिसले मलाई पक्राउ गरेको हो । रामराजा, लक्ष्मणप्रसाद, खेमराज मायालु, विश्वेश्वर मण्डल, पवनकुमार साह, केदारकुमार कार्की, बाबुराम भाट, उक्त विष्फोटनका मुख्य व्यक्ति हुन्, भन्ने समेत व्यहोराको जितेन्द्र भन्ने भोजप्रसाद भट्टराइले जिल्ला प्र.का.झापामा गरेको बयान ।

१९.    ०४० आषाढमा धनुषाका गौरीशङ्कर सुडीले म समेत मोहरी पंजियार, सुरेश पंजियार, शङ्कर पासवान, चन्द्रदेव ठाकुरलाई सिमुलतला लगे । त्यहाँ विध्वंसात्मक अपराध गर्ने तालीम दिने रामराजाको क्याम्प रहेछ । क्याम्पमा धेरै व्यक्तिहरु तालीम लिंदै रहेछन् । क्याम्पबाट विध्वंसात्मक सम्बन्धी सम्पूर्ण तालीम दिइयो । तालीमको उद्देश्य नेपालको विभिन्न ठाउँमा विध्वंसात्मक कार्य गर्नु रहेछ । केही समय घर फर्की आएर जनकपुर चुरोट कारखाना पाल्पा शाखामा पियनको पदमा काम पाएपछि म तालीम लिन गइँन । विष्फोटन कार्यमा म संलग्न छैन भन्ने समेत व्यहोराको चन्द्रविजय साहले जि.प्र.का.काठमाडौंमा ०४२।६।३ मा गरेको बयान ।

२०.   विध्वंसात्मक कार्य गरी आतङ्क फैलाउन रामराजाप्रसादले नेतृत्व गरेको गिरोहको ०३७ मा रक्सौल वैजनाथ गुप्ताको घरमा मिटिङ्ग भएको, त्यस अवस्थामा युगल किशोरलाल कर्ण, कटकबहादुर मल्ल, श्यामकिशोर, वैजनाथ गुप्ता, राम कार्की, खेमराज मायालु पनि थिए । रामराजा जेलबाट नछुटिन्जेलसम्म गिरोहको नेतृत्व अनारसिंह कार्कीबाट हुने भनी निर्णय भएको र विध्वंसात्मक कार्य गरी आतङ्क पनि फैलाउने समेत निर्णय गरेको उद्देश्य अनुरुप ०३७ श्रावण तिर वैजनाथ बाबा धाम नजिकै रामराजाले खडा गरेको तालीम क्याम्पमा म समेतका धेरै व्यक्तिहरु सहभागी भएको, तालीम लगातार सन्चालन नभएको कारण, सामुहिक कार्यक्रम नबनाएको भन्ने समेत व्यहोराको केशव भेटवालले ०४२।६।३ मा जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२१.    ०४० भदौमा गौरीशङ्करले पटनामा काम लगाई दिन्छु भनी पटना रामराजाकहाँ पुर्‍याई दिएको जहाँ रामराजाले तालीम दिने क्याम्प रहेछ । क्याम्पमा म पनि संलग्न भएँ । जहाँ धेरै व्यक्तिहरु तालीम लिई राखेका थिए । एक महिनाको तालीम लिएपछि घर फर्केँ । हिमाली छापाखानामा काम गर्न लागेँ । पछि शिवनाथ पासवानको आमाले छोरा ल्याइदेउ भनेकोले शिवनाथलाई लिन सिमुलतला गएँ, त्यहाँ मलाई कुटपिट गरेकाले मौका छोपी भागी आएर प्रेसमा काम गर्न लागेको भन्ने समेत व्यहोराको महादेव साहु सुडीले जि.प्र.का.मा गरेको बयान ।

२२.   ०३७ आषाढमा राम कार्कीले भारतको रिसीवामा लगी अनारसिंह कार्कीसँग भेट   गरायो । त्यहाँ रामराजाको गिरोहलाई तालीम दिने क्याम्प रहेछ । तालीममा म पनि सरिक भएँ । जहाँ धेरै व्यक्तिहरु तालीम लिंदै थिए । अनारसिंह कार्की, राम कार्की, खेमराज मायालु, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह, तालीम दिने गर्दथ्यो । तालीम विध्वंसात्मक कार्य सम्बन्धी हुन्थ्यो । खर्चको अभावमा लुकीछिपी काठमाडौं आयौं, निश्चित कार्यक्रम केही थिएन भन्ने समेत व्यहोराको सन्तनु कार्कीले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२३.   २०३८ सालमा ज्ञानचन्द्रले झुक्याई सिमुलतला रामराजाको गिरोह तालीम क्याम्पमा पुर्‍याए, केही समय तालीम लिएपछि, घर पुगी आउँछु भनी फर्किएँ, जसपश्चात म फर्केर गइँन भन्ने समेत व्यहोराको रामनिवास गुप्ताले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२४.   ०४० सालमा रामविलास पंजियारले रघुबंश झासँग भेट गराएको, निजले पटना हुँदै खेमराज मायालुको जिम्मा लगाई दिएको, निजले रामराजाको तालीम क्याम्पमा पुर्‍याएको तालीममा संलग्न भई घर आई, दोश्रापटक तालीम लिई फर्कि आएपछि पुनः तालीम लिन नगएको भन्ने समेत व्यहोराको मेथरु साहले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२५.   ०३८ सालमा गाउँको सफरुद्दिनले सिमुलतला पुर्‍याएको, जहाँ रामराजा समेतको गिरोहद्वारा संचालित क्याम्पमा गुरिल्ला युद्धको तालीम हुँदोरहेछ मलाई पनि तालीम लिनुपर्छ भनेकाले तालीम लिएको छु । तालीम अवस्थामा विभिन्न व्यक्तिहरु पनि थिए । २ महिना क्याम्प चलेपछि त्यहाँका सबै मानिस बाबाधाम नजिक लिलाश्रममा सर्‍यो । त्यहाँ २ महिना तालीम गरेपछि खर्चको आवश्यकता परेको, रामराजा नआएकोबाट आफ्नो घरमा आयौं । जसपश्चात गिरोहको तालीममा संलग्न नभएको विष्फोटनमा म नरहेको भन्ने समेत व्यहोराको भिखारी पण्डितले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२६.   ०४१ कार्तिकमा सत्यनारायण र रामु हाथीले म र शिवनाथ पासवानलाई सिमुलतला क्याम्पमा लगी तालीममा समावेश गराएका हुन् । तालीम क्याम्पमा विभिन्न व्यक्तिहरु पनि थिए । तालीमबाट भागी पहिले जस्तै फलफूलको दोकान गरी आएको छु भन्ने समेत व्यहोराको विरन्दर साह सुडिले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२७.   ०३७ आश्विनमा राम कार्कीले भारततर्फ लगेको, त्यहाँ अरु व्यक्तिहरुसँग भेट हुँदा सबै रेल चढी बाबाधाम पुगी, रिषिया पुगियो जहाँ रामराजाले नेतृत्व गरेको गिरोहको तालीम दिने क्याम्प रहेछ । म पनि तालीममा सहभागी भएँ । विध्वंसात्मक कार्य गर्ने बारे सैद्धान्तिक र व्यवहारिक ज्ञान त्यहाँ दिइयो । मलाई ज्वरो आएकोले घर फर्केँ । ७।८ दिन मात्र तालीम पाएको हुँदा गिरोह सम्बन्धी अन्य कुरा थाहा भएन । पछि गिरोहको तालीम लिन पनि गइँन । सोही गिरोहबाट बम विष्फोटन गरिएको, तर को कसले विष्फोटन गरेको हो जानकारी नभएको, विष्फोटनमा म संलग्न नरहेको भन्ने समेत व्यहोराको रमेशकुमार कार्कीले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२८.   दरभंगा मेडिकल कलेजमा एम.बि.बि.एस.पढ्दा रामराजासँग भेट भएको, नेपालमा विध्वंसात्मक कार्यद्वारा आतङ्क मच्चाउन पर्छ भनी निजले भनेकाले सोही योजना मुताविक निजैले सञ्चालन गरेको तालीममा सहभागी समेत हुन पुगें । तालीममा विभिन्न व्यक्तिहरुको सहभागीता थियो मैले पनि विध्वंसात्मक कार्य सम्बन्धमा र प्राथमिक उपचार सम्बन्धमा कक्षा लिने गर्दथेँ । त्यसपछि म दरभंगा नै फर्कि आएँ र क्याम्पमा गएको छैन । बम विष्फोटन को कस्ले गरे किटानी भन्न सक्दिन, त्यसमा म संलग्न छैन भन्ने समेत व्यहोराको डा.जितेन्द्र महासेठले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

२९.   २०३८ श्रावणमा हरि भुजेल मार्फत रामराजासँग पटनामा भेट भएको, हरि भूजेलले रामराजाको नेतृत्वको गिरोह तालीम क्याम्पमा लगेको, म पनि गिरोहको उद्देश्यबारे चित्त बुझ्दा तालीम लिएको, तालीम धेरै साथीहरुबाट लिइरहेको १८/१९ दिन तालीम लिएपछि उपचार गर्न भनी घर फर्कि आएपछि म क्याम्पमा गइँन । विष्फोटन रामराजाले नै गराएको हो भन्ने समेत व्यहोराको जगरनाथ दासले ऐ.मा गरेको बयान ।

३०.   शन्तनु कार्कीले सुकदेव चौधरी, शेषराज नेउपाने र मलाई काम दिलाई दिन्छु भनी ०३८ साल जेष्ठमा भारत सिमुलतलामा पुर्‍याए । जहाँ गिरोहको  तालीम हुँदोरहेछ । म पनि तालीममा सहभागी भएँ । तालीम लिने ३४/३५ व्यक्तिहरु थिए । तालीममा विध्वंसात्मक कार्य सम्बन्धी व्यावहारिक ज्ञान समेत दिइन्थ्यो । पैसाको अभावमा घर फर्कि आयौं । विध्वंसात्मक कार्य रामराजाको गिरोहले गरेको भन्ने समेत व्यहोराको सोमन चौधरीले जि.प्र.का.काठमाडौंमा गरेको   बयान ।

३१.    ०३७ सालमा सन्तनु कार्कीले मलाई सिमुलतलामा लगे, जहाँ रामराजाको नेतृत्वमा गिरोहको तालीम क्याम्प रहेछ । मलाई पनि तालीम गर्न लगाए ३ महिना पछि खानाको अभाव भएकोले अनारसिंहले घर जानु भनेकाले घर आएँ । बम विष्फोटन रामराजाको नेतृत्वमा रहेका गिरोहबाट नै भएको हो भन्ने समेत व्यहोराको जीवन सार्कीले ऐ.मा गरेको बयान ।

३२.   ०३८ बैशाखमा खेमराज मायालुले मलाई पटना लगे । रामराजाले परिचय गरी रिषिया क्याम्पमा लैजाउ भनेकाले सो क्याम्पमा पुगें । अनगिन्ति व्यक्तिहरु विध्वंसात्मक तालीम लिई राखेका रहेछन । समय समयमा रामराजाप्रसाद सिंह विध्वंसात्मक कार्यको बारेमा सिकाउँथे । लक्ष्मणप्रसाद सिंह सोही कार्य सम्बन्धी पढाउँथे । एक डेढ महिना तालीम सकेपछि घर फर्कि आएँ । त्यसपछि म गिरोहमा गएको छैन । बम विष्फोटन कार्यमा म सम्मिलित छैन भन्ने समेत व्यहोराको झपुलाल कुंवरले ऐ.मा गरेको बयान ।

३३.   ०३७ सालमा हरि कसाईले रामनारायण देव र अरिम साह र मलाई लिई दरभंगा हुँदै बाबाधामको रिषिया भन्ने ठाउँमा लगे । जहाँ रामराजाले नेतृत्व गरेको गिरोहको तालीम दिने क्याम्पमा लक्ष्मणप्रसाद सिंह लगायतका मानिसहरु थिए । म पनि तालीममा सहभागी भएँ र २ महिनापछि खर्चको अभाव परी घर फर्कि आएँ । बम विष्फोटन रामराजाको गिरोहले गराएको हो । तर म भने उक्त कार्यमा संलग्न छैन भन्ने समेत व्यहोराको शिवशङ्कर थापाले जि.प्र.का.काठमाडौंमा ०४२।६।८ मा गरेको बयान ।

३४.   म वि.ए.पढ्दाकै अवस्थामा रामराजाको सिद्धान्त मन परी मेरो झुकाव निज प्रति रहेको, दिनेशले रामराजासँग लगी परिचय गराएको, त्यस समयदेखि नै रामराजाको गिरोहमा सम्मिलित भएको, तत्पश्चात निज नेपालगन्जमा जेल परेको हुँदा अनारसिंहले उक्त गिरोहको नेतृत्व गरेको, निज जेलबाट नछुटुन्जेलसम्म सो कार्य यथावत राख्ने गरी म काठमाडौं आएको, गिरोहको गतिविधि के कस्तो थियो मलाई थाहा नभएको विष्फोटन कार्यमा मेरो कुनै हात नभएको भन्ने समेत व्यहोराको कटकबहादुर मल्लले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

३५.   २०४४ सालमा इश्वरचन्द्र लामाले केदारकुमार कार्की र आर.के.सर्वहारा भन्ने रामकृष्ण महतोसँग परिचय गराई दिएको, निजहरुले मलाई नोकरी दिलाई दिन्छु भनी सिमुलतला परसाही क्याम्पमा पुर्‍याई गिरोह क्याम्पमा लगे जहाँ अनगिन्ति मानिसहरु तालीम लिंदै रहेछन् । मैले पनि तालीम लिएँ । तालीममा विध्वंसात्मक कार्य सम्बन्धी ज्ञान दिइयो । २४/२५ दिन तालीम गरेपछि घरतर्फ आएँ । पुनः क्याम्पमा गएको पनि छैन । विष्फोटनको कार्यमा मेरो हात छैन भन्ने समेत व्यहोराको मुस्लिम मियाँले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

३६.   २०३८ साल बैशाख २० गते शन्तनु कार्कीले काम लगाई दिन्छु भनी मलाई भारत सिमुलतला लगेको, साथमा सोमन चौधरी, शेषराज नेउपाने, राजेश कसाई, बासुदेव समेत भएको, त्यहाँ गिरोहद्वारा संचालित तालीम दिने क्याम्प रहेको, म पनि तालीममा संलग्न भई तालीम लिएको थिएँ । जहाँ धेरै व्यक्तिहरु तालीममा संलग्न थिए । विध्वंसात्मक कार्य सम्बन्धी पढाई हुन्थ्यो । २ महिना तालीम गरिसकेपछि हामीलाई राम कार्कीले बाबाधाम, लिला मन्दिर लगी पूर्ववत तालीम दिलाउन  लागे । त्यहाँबाट घर फर्की आएपछि गिरोहमा फर्की आएको छैन । विष्फोटनमा मेरो कुनै हात छैन भन्ने समेत  व्यहोराको सुकदेव चौधरीले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

३७.   २०३७ सालतिर म र रामराजाप्रसाद सिंहले सल्लाह गरी एउटा गिरोह बनाउन निर्णय गरेका थियौं । २०३७ साल श्रावणमा भारत बैजनाथ बाबाधाम नजिकै रामराजा समेतका व्यक्तिहरुले रिषिया भन्ने ठाउँमा तालीम क्याम्प खडा गरिसकेका रहेछन् । राम कार्की, सन्तनु कार्की, रामनारायण देव लगायतका व्यक्तिहरु तालीममा सहभागी भइराखेका रहेछन् । तालीममा विध्वंसात्मक कार्य सम्बन्धी ज्ञान दिइन्थ्यो मैले पनि तालीममा १५।१६ दिन पढाएँ आवश्यकता भएमा तालीमवाला व्यक्तिहरुलाई फेरि बोलाउने गरी म घरमा फर्की आएँ । पछि हरि भुजेल मकहाँ आई सिमुलतलामा गिरोहको दोश्रो क्याम्प खडा भएको भन्ने कुरा गरी रामराजालाई मेरो दोश्रो क्याम्पमा मैले पुनः पढाउने काम गरें । २०३८ सालमा लिलाश्रम क्याम्पका प्रशिक्षार्थीहरु समेत १५।२० जना वीरपुर   आयौं । रामराजाको गिरोहबाट आएका हाम्रो समूहका नाइके शोभाकर धनन्जयलाई छानी नेपालभित्र प्रवेश गर्‍यौं । साथीहरु भेला हुन नसकेको हुँदा गिरोहको कुनै कार्यक्रम तर्जुमा गर्न सकेनौं । तत्पश्चात म गिरोहमा पुनः सरिक भएको छैन । विष्फोटनमा मेरो कुनै हात छैन । रामराजाकै गिरोहले बम विष्फोटन कार्य गरी आतंक फैलाएको हो । गिरोहमा कुन कुन व्यक्तिहरु थिए थाहाछैन भन्ने समेत व्यहोराको अनारसिंह कार्कीले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

३८.   २०३७ श्रावण तिर भारत बैजनाथ बाबाधामको रिषिया भन्ने ठाउँमा रामराजाले नेतृत्व गरेको गिरोहले तालीम क्याम्प खडा गरेको थियो । तालीममा म पनि सहभागी भएँ । धेरै व्यक्तिहरु तालीम लिइराखेका रहेछन । २ महिना जति तलीम लिई रामराजासँग पटना आई भेट्दा अहिले तलीम स्थगित राखेको छ, पछि सोचुँला भनेपछि म नेपालगञ्जतर्फ आएँ १ महिना पछि पटना गई रामराजासँग भेट्दा सिमुलतलामा क्याम्प सञ्चालन भई तालीम चलिरहेको भन्ने सुनी म त्यसतर्फ गएँ । विध्वंसात्मक कार्य सम्बन्धी कक्षा खेमराज मायालु र मैले प्रशिक्षण दिने गरेको थिएँ अर्थ अभावको कारण नेपाल फर्कियौं । तालीमवाला व्यक्तिहरु जमघट हुन नसकेकोले, गिरोहको कुनै काम तर्जूमा गर्न सकेनौं । पुनः म गिरोहमा फर्की गइँन । विष्फोटनमा मेरो कुनै हात छैन । तर रामराजाकै गिरोहबाट बम विष्फोटन भएको हो, भन्ने समेत व्यहोराको दिनेशप्रसाद श्रेष्ठले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

३९.   घटना घटेको दिन रा.पं.को बैठक बसेको थिएन । श्री ५ को सरकारको नीति तथा कार्यक्रम विषयमा बोल्न पहिला नै नाम लेखाउनु पर्ने हुँदा सो दिनको ११.०० बजे देखि १७.०० बजे सम्मको समय निश्चित गरी नाम लेखेर रजिष्ट्रर रा.पं.को मूल भवनको प्रबेशद्वारको दक्षिणतर्फको कक्षमा राखिएको थियो । माननीयहरु आफ्नो नाउँ लेखाउँन भवनमा आउनु भएको ०४२।३।६ गते अं.१.३५ बजेको समयमा रा.पं.भवनको प्रवेशद्वारमा एउटा ठुलो आवाज आई धूवाँ र धूलोले छोपिएको देखिएकोले, तत्काल विष्फोटन हुँदा माननीय डम्बरजंग गुरुङ, माननीय दीपबहादुर सिंह, माननीय जनकबहादुर शाह, माननीय भोलामान सिंह थापा, र पछि नाम थाहा हुन आएका लेखा नियन्त्रक विष्णुप्रसाद दवाडी समेत भूइमा लडिरहेको देखी निजहरुलाई तुरुन्त सचिवालयको मोटरमा राखी उपचारको लागि वीर अस्पताल पुर्‍याएको भन्ने समेतको व्यहोराको रा.प. सचिव श्यामकृष्ण भट्टराईले गर्नु भएको बयान ।

४०.   ०३८ सालको शुरुमा जितेन्द्र महासेठले दरभंगामा मलाई रामराजसंग परिचय गराएको, भारतमा नेपालीहरुको जमात तयार गरी नेपालमा आतंक मच्चाउने कार्यको तयारी र नेपाली युवकहरुलाई गिरोहको तालीम दिने भन्ने कुरा निजबाट जानकार  पाएको, मलाई पनि अनुरोध गर्दा म गिरोहमा सम्मिलित भएको हो । नेपाली युवकहरुलाई भारतमा विध्वंसात्मक कार्यको तालीम दिई हातहतियार चलाई बम बिस्फोटन गरी नेपाल अधिराज्यको शान्ति सुरक्षा र व्यवस्थामा खलतु पुर्‍याउने, सरकारी तथा गैरसरकारी सम्पत्तिको तोडफोड गर्ने, मानिसको जिउ ज्यान समेत लिनु नै रामराजाले खडा गरेको गिरोहको मुख्य उद्देश्य रहेको छ । २०३७ सालदेखि संचालित गिरोह पहिला लिलाश्रममा र २०३८ सालमा भारतकै सिमुलतलामा सरेको थियो । गिरोहको उद्देश्य अनुरुपकै कार्यहरु क्याम्पमा गराइयो । गिरोह खडा गर्ने मुख्य व्यक्ति रामराजा हुन । सहयोगीमा लक्ष्मणप्रसाद सिंह, पवनकुमार, खेमराज, मजिद मिया समेत हुन । रामराजाले पटकपटक मसँग कुरा गर्दा नेपालको विभिन्न स्थानमा बम विष्फोटन गराई आतंक फैलाउनु पर्दछ भनेका थिए । ०३८ सालमा अनारसिंह लगायतका गिरोहका केही व्यक्तिहरु गिरोहबाट बाहिर निस्की नेपाल आए । २०४१ सालको आखिरी तिर अब तालीम पूरा भयो, विष्फोटन गर्ने गराउने समय पनि आयो भनी रामराजा, लक्ष्मणप्रसाद र खेमराज मायालुले भने । विष्फोटन के कुन ठाउँमा गर्ने भनी रेकी गर्न विभिन्न स्थानमा मानिसहरु खटिए । रेकी गरी रिपोर्ट पनि दिए । निजहरुले सितामढी, पटना र गोरखपुरमा क्याम्प खडा गरी नेपालको विभिन्न क्षेत्रमा विष्फोटन गरिने योजना बनाए । विष्फोटन गर्न मानिसहरु पनि पठाए । के कुन ठाउँमा विष्फोटन गर्ने को कुन व्यक्तिहरु खटिएका थिए म भन्न सक्दिन । २०४० सालमा गिरोहका व्यक्तिहरु मध्ये विश्वेश्वर मण्डल, चन्द्रदेब ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, र प्रेमबहादुर विश्वकर्मा ५ जनालाई विष्फोटन तालीमको लागि विशेष तालीम दिन गिरोहबाट बाहिर पठाएको थियो यिनै विशेष तालीम प्राप्त व्यक्तिहरु नै काठमाडौंमा विष्फोटन गराउन खटिएको हुनु पर्दछ । गिरोहको उद्देश्य अनुरुप नै काठमाडौंको विभिन्न ठाउँमा बम विष्फोटन भई धनजनको क्षति भएकोले रामराजा, लक्ष्मणप्रसाद, खेमराज समेतले खटाए अनुरुप नै विश्वेश्वर मण्डल समेतका व्यक्तिले विष्फोटन गराएको हो भन्ने समेत व्यहोराको रघुवंश झाले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

४१.    रामराजाको गिरोहमा ०३७ सालदेखि लागेको छु निजले हामिलाई गिरोहको उद्देश्य र काम बताई तालीममा सरीक गराए । तालीम लिइसकेपछि मन नलागेर घर फर्कन खोज्दा अनारसिंह कार्कीले गाली गरी घर आउन दिएन । केही समयपछि अनारसिंह लगायतका १५।२० व्यक्तिहरु गिरोहका केही हात हतियारहरु लिई गएका थिए । रामराजाले आफ्नो एरियाबाट मानिस खोजी ल्याउ भनेकाले ४ जनालाई पटना लगें । म घर फर्कि ०३९ भाद्र, आश्विनतिर पटना गई रामराजासँग भेटी क्याम्प हेरी फर्कदा ०३९ कार्तिकदेखि ०४० आश्विनसम्म राजविराजमा सुरक्षा कानून अन्तर्गत थुनामा परी छुटेपछि सिमुलतला गएँ । त्यहाँ २।३ दिन बसी घर फर्किएपछि विश्वनाथ लगायतका केही व्यक्तिहरुलाई तालीममा पुर्‍याएँ । उक्त तालीममा विश्वेश्वर मण्डल लगायतका धेरै व्यक्तिहरु संलग्न थिए भन्ने समेत व्यहोराको लालबहादुर चौधरीले जि.प्र.का.काठमाडौंमा गरेको बयान ।

४२.   माननीय डम्बरजंग गुरुङ र लेखा नियन्त्रक विष्फोटनमा परी तत्कालै मृत्यु भएको, माननीयहरु भोलामान सिंह थापा, दीपबहादुर शाह, जनकबहादुर शाह सख्त घाइते भई रा.प. भवनको रु.५५,२७३।३६ को भौतिक क्षति भएको तथ्य प्रकृति मुचुल्का, लाश जाँच मुचुल्का र घा जाँच फाराम समेतबाट प्रमाणिक रुपले पुष्टि भएको छ । उक्त विध्वंसात्म्क अपराध रामराजाप्रसाद सिंहको नेतृत्वको गिरोहद्वारा गरिएको भन्ने पक्राउ परेका अभियुक्तहरुको बयान समेतबाट देखिन आएको, अभियुक्तहरु मध्येको विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मा रामराजाको गिरोहमा संलग्न भएको, निजहरु  भारतबाट वीरगंज प्रवेश गरी वीरगंजको नवदुर्गा लजमा मिति ०४२।३।३ र ४ गते बसी विध्वंसात्म्क अपराध गर्न ०४२।३।४ मा वीरगंजबाट बसद्वारा काठमाडौं प्रवेश गरेको काठमाडौंमा ०४२।३।५ र ६ गतेमा सेरे पंजाव लजमा बसी काठमाडौंका विभिन्न भागमा बम राखी विष्फोटन गराई विध्वंसात्मक अपराध गरी ०४२।३।६ मा शेरे पंजाव लज छाडी गएको भन्ने तथ्य नवदुर्गा वीरगंजको यात्रु रजिष्टर चण्डेश्वरी बस सेवाको अधकट्टी टिकट, शेरे पंजाव लजको यात्रु रजिष्टर समेतका प्रमाणहरुबाट पुष्टि हुनआएको छ । निजहरु ५ अभियुक्तलाई विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध गरेको देखिएको हुँदा निजहरुलाई सोही ऐनको दफा ७(१) अनुसार सजायँ गरी अभियुक्त रामराजाप्रसाद सिंह गिरोहको मुख्य व्यक्ति भएको र लक्ष्मणप्रसाद सिंह तथा खेमराज मायालु क्षेत्रीय नेतृत्व लिने व्यक्तिहरु भएको, विध्वंसात्मक अपराध गर्ने विश्वेश्वर मण्डल समेतका (५) व्यक्तिहरुलाई विष्फोटक पदार्थ समेत दिई विध्वंसात्मक अपराध गर्न अर्‍हाई खटाई पठाएको समेत देखिंदा निज (३) जना अभियुक्तहरुले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध समेत गरेको हुँदा सोही ऐनको दफा ७ (१) अनुसार सजायँ हुन, अभियुक्त केशव भेटवाल, चन्द्रविजय साह सुडी, महादेव शाह, शन्तनु कार्की, अमर प्रधान, मेहरु साह हलुवाई, श्यामकिशोर कुसवाह, रामनिवास गुप्ता, भिखारी पण्डित, डा.जितेन्द्र महासेठ, सोमन चौधरी, जीवन सार्की, जगरनाथ दास, वीरेन्द्र साह, रमेशकुमार कार्की, अनारसिंह कार्की, सुकदेव चौधरी, कटकबहादुर मल्ल, मुस्लिम मिया, शिवशंकर थापा, झुपलाल कुंवर, दिनेश श्रेष्ठ समेत रामराजाप्रसाद सिंहको उपरोक्त गिरोहमा सामेल भएका, विध्वंसात्मक कार्यको अभ्यास गरेका, गिरोहमा मानिसहरु लगी सम्मिलित गराएका अनारसिंह कार्की समेतका व्यक्तिहरु नेपाल प्रवेश गरेर पनि नेपाल भित्रको गतिविधि गिरोहमा पुर्‍याउँदै गरेको, गिरोहको कार्यमा सकृय रहेको भन्ने समेत देखिन आएकोले ऐ.ऐनको दफा ३(१) र ३(२) अनुसारको कसूर गरेको प्रमाणित हुन आएकोले ऐ.ऐनको दफा ७(२) बमोजिम सजायँ गरी पाउन, अभियुक्तहरु सफरुदिन मिया, गौरीशंकर सुडी, मोहरी पंजियार, सुरेश पंजियार, शंकर पासवान, राजेन्द्र झा, पवनकुमार साह, मजिद मियाँ, सत्यनारायण साह, किशोर साह, शनिश्चरा ठढेरी, रामु हाथी, ज्ञानचन्द्र यादव, युगल किशोरलाल कर्ण, राम कार्की, सुशिलकुमार शुक्ला, बुदुर चौधरी, अमृत चौधरी, रामनारायणदेव, शोभाकर धनन्जय, महेन्द्रप्रसाद बजगाई, शिवनाथ पासवान, अशोक मियाँ, हरि भुजेल, राजेश कसाई, कपिलदेव मण्डल, भुलासदा मुसहर, कृष्णसिंह, शेष अव्दुल, फेकन पासवान, केदारकुमार कार्की, रामकृष्ण महतो, विमल साह, हरदेव चौधरी, महेन्द्रकुमार गुप्ता, रामरत्न यादव, कुमारजंग कार्की, हरि कसाई, मोहनराज रावत, हेमराज रावत, रामनारायण पोखरेल, ईश्वर लामा, इन्द्र लामा भन्ने पंचे लामा, अशेश्वर यादव, हरदेव मण्डल, टेकेन्द्र विश्वकर्मा, त्रिभुवन ढकाल, खेमनाथ पराजुली, दाताराम बजगाई, महेन्द्र सदामुसहर, इन्द्रबहादुर विश्वकर्मा, सोनेश्वर यादव, हेमशंकर गुप्ता, ईश्वरी ठाकूर, रामनाथ ठाकूर, ज्ञानेन्द्र लामा, नवीन राई, रामचन्द्र लामा, धर्मेन्द्र साह, प्रदिपकुमार साह, राम कार्की, अनिलकुमार सिंह, मोहितलाल चौधरी, शुसिल शुक्ला समेत रामराजाको उपरोक्त गिरोहमा सामेल भई विध्वंसात्मक कार्य गर्न अभ्यास समेत गरेको तथा गिरोहमा मानिस समेत लगी दिई ऐनको दफा ३(१) र ३(२) अन्तर्गतको कसूर गरेको देखिँदा ऐ.ऐनको दफा ७(२) बमोजिम सजायँ समेत गरी पाउँ ।

४३.   अभियुक्तहरुले विध्वंसात्मक कार्य गर्दा राष्ट्रिय पंचायत भवनको रु.५५,२३३।३६ को क्षति भएको, जनकबहादुर शाहलाई उपचार गराउँदा रु.६३,०००।खर्च लागेको, दीपबहादुर शाहलाई उपचार गर्दा रु.६०,०००।खर्च लागेको, भोलामान सिंह थापालाई उपचार गराउँदा रु.२५,०००।खर्च लागेको देखिँदा ऐनको दफा ७(२) अनुसार सम्बन्धित व्यक्ति समेतलाई प्रतिवादीहरुबाट दिलाई भराई दिनु हुन माग दावी गरिएको ।

४४.   लालबहादुर चौधरी र रघुबंश झाको हकमा विचार गर्दा निजहरुले रामराजा समेतले खडा गरेको, गिरोहको सम्बन्धमा महत्वपूर्ण कुराहरु देखाई खुलाई दिएको समेत हुँदा निजहरुलाई ऐनको दफा ११(२) अनुसार सरकारी गवाह कायम गरिएको ।

४५.   प्रतिवादी अनारसिंह कार्की, समेतले पोल गरेको वैजनाथ गुप्ता, साकेतचन्द्र मिश्र, दिलिप चौधरी, मानबहादुर शाही, जीतबहादुर बस्नेत, गणेश भन्ने गोविन्द मण्डल, भरत सिंह, श्याम झा, रामकिश्वर मुखिया, बिन्देश्वर शाह, चन्द्रमाधव कसूरवाह, ईश्वरी पौडेल, शेषराज न्यौपाने, नेवालाल यादव, रामविनय साह भारतीय मामा, शिवशंकर देव, कोकाई साह, पदम लामा, कुलदिप राई, रामस्वरुप साह, प्रेम कार्की, डा. लक्ष्मीनारायण झा, कुमार राई, किशोरकुमार बस्नेत, रमेश चौधरी, गोपाल श्रेष्ठ, अमित चौधरी, अशिष साह, अनिल चौधरी, विकास दारासिंह, दिपबहादुर थिंग, बासुदेव, भुपेन्द्र, अव्दुल, लक्ष्मी, जागिराम साहतेली, श्रीचन्द्र साहतेली, गणेश थापा, शिवशंकर साह समेतका व्यक्तिहरुको घर, वतन समेत हालसम्म प्रष्ट हुन नआएकोले खुल्न आएका अवस्था दावी लिइने हुँदा दसी र संकलित कागजातका साथ पेश गरेको भन्ने प्रहरी प्रतिवेदन ।

४६.   मासिक रु.२००।तलब व्यवस्था गरी दिन्छु भनी रघुबंश झाले २०४० फाल्गुणमा मलाई पटना लगेको, त्यहाँबाट मायालु भन्ने पहाडियाको साथ लगाई सिमुलतला पुर्‍याए । जहाँ सत्यनारायण, शंकर साह, लक्ष्मणप्रसाद सिंहलाई खाना बनाउने डेढ महिना जति काम गरेपछि रुपैयाँ माग्दा नदिएकोले आफ्नो घरमा आई दुकान गरी बसेको छु । प्रहरीमा पनि यही कुरा भनेको थिएँ, बम विष्फोटन कसले गरे गराए मलाई थाहा छैन । रामराजाको गिरोहमा तालीम लिएको होइन भन्ने समेत मेथा साहले अदालतमा गरेको बयान ।

४७.   २०३८ सालमा डकर्मीको काम भनी गाउँकै सफुसुदिन मियाले भारतको सिमुलतला पुर्‍याए । त्यहाँ अनारसिंह कार्की, राम कार्की समेत मानिसहरु थिए । देशमा गरिवी हटाउनु पर्दछ भनी हामीलाई तालीम दिइन्थ्यो । भाद्रसम्म तालीम गरी २०३८ भाद्रमा घर आएँ जसपश्चात प्रहरीले पक्राउ गरी राजकाज मुद्दामा वीरगन्जमा थुनामा राखी अञ्चलाधीशले ३ वर्ष कैद र रु.५००।जरिवाना हुने गरी थुनामा रही २०४१ आश्विन १४ गते थुनाबाट छुटी आएको विष्फोटन रामराजाले गराएको होला । सो काण्डमा मेरो हात छैन भन्ने समेत भिखारी पण्डितले अदालतमा गरेको बयान ।

४८.   सत्यनारायण साह सुडीले ०४० साल कार्तिकमा नोकरी गराउँछु भनी बाबाधाममा छोडी आयो । सो ठाउँमा मेथरु साह, शिवनाथ पासवान समेत थिए । त्यहाँ दौडने काम गराए । नोकरी गर्न गएको व्यक्तिलाई दौडने काम दिएकोले त्यहाँबाट भागी घर आएँ दौडाउने काम किन गर्दथे म  जान्दिन । प्रहरीमा पनि यही कुरा भनेको थिएँ । विष्फोटन कसले गराए थाहा छैन भन्ने समेत व्यहोराको वीरेन्दर साहले अदालतमा गरेको बयान ।

४९.   प्रहरीमा भएको बयान मैले भने बमोजिम लेखिएको होइन । सहिछाप भने मेरो हो । ०३६ सालदेखि भारत जमशेदपुर टाटा वर्कसपमा गई मिस्त्री काम गर्दथेँ । ०३९ सालमा घर आएँ । त्यसपछि पूर्णियामा गई मिस्त्री काम गर्न थालेँ ०४२ साल ज्येष्ठमा घर आएँ रिषियामा तालीम लिएको भन्ने समेत व्यहोरा प्रहरीको कागजमा किन लेखाए । तालीम लिएको पनि छैन । बम विष्फोटन कसले गराए थाहा छैन भन्ने शिवशंकर थापाले अदालतमा गरेको बयान ।

५०.   ०३९ सालमा इश्वर लामाले काम दिलाई दिन्छु भनी भारत सिमुलतला पुर्‍यायो त्यहाँ पढाउन थाल्यो । उद्देश्य बुझ्दा नेपालमा क्रान्ती गर्नुपर्छ भनी पवनले भने । हामी भाग्न खोज्दा हामीलाई एउटा कोठामा थुनियो । गएको १४।१५ दिनपछि पंचलाल र म भागी खर्चको अभावमा परी लाइट सर्ट समेत बेची दुःख सही घर आयौं । विष्फोटन कसले गराए थाहा छैन भन्ने समेत मुस्लिम मियाले अदालतमा गरेको बयान ।

५१.   प्रहरीमा भएको कागज पढी बांची नसुनाई सही गराएको हो । सन्तनुले मलाई सिमुलतला लगेको होइन । तालीम लिन म गएको, तालीम लिएको केही होइन, पक्राउ परेपछि विष्फोटन रामराजाले गरेको भन्ने सुनेको हुँ । विष्फेटन को कसले गराए थाहाछैन भन्ने समेत जीवन सार्कीले अदालतमा गरेको बयान ।

५२.   ०४० साल भाद्रमा गौरीशंकर साह सुडीले कामको प्रलोभनमा पारी भारत सिमुलतला पुर्‍याए । नेपालमा प्रजातन्त्र ल्याउनु पर्दछ, आतंक गर्नुपर्छ भनी लक्ष्मणप्रसाद सिंह समेतले भनेका र विष्फोटन तालीम दिन लागेको मलाई मन नपरी खर्चको अभाव परी आफ्नो सर्ट समेत बेची ०४० असोजमा घर आएँ । बम विष्फोटन कसले गरे गराए, निश्चित गरी भन्न सक्दिन तापनि सिमुलतलामा तालीम लिने रामराजाको गिरोहले गराएको होला भन्ने महादेव साह सुडीले अदालतमा गरेको बयान ।

५३.   सोमन चौधरी, नवीन प्रताप र मलाई सन्तनु कार्कीले भारत सिमुलतला पुर्‍यायो । पिटी र दौडको काम सिकाउन लागियो । यस विषयमा सोधनी गर्दा, नेपालमा पुलिससँग लडाई गर्नु पर्छ भनी राम कार्कीले भने । खानको अभाव हुँदा म र सोमन त्यहाँबाट भागी घर आयौं । कसले बम विष्फोटन गराए मलाई थाहा छैन भनी सुकदेव चौधरीले अदालतमा गरेको बयान ।

५४.   कामको सिलसिलामा सन्तनु कार्कीको साथ भारत सिमुलतला गयौं त्यहाँ मानिसहरु कुदाउने गर्दथ्यो । तिमीले पनि कुद्नु पर्दछ, नेपालको व्यवस्थालाई फाल्नु पर्छ, जनवादी व्यवस्था ल्याउनु पर्छ भनी सिकाउँथे । बन्दूकको पार्टपूर्जा समेतको काम २ महिना जति सिकाएपछि खानको अभाव भई वीरपुर हुँदै भागी घर आयैं । सो कुरा ०३८ सालमा नै उदयपुर जिल्ला कार्यालयमा गर्‍यौं । कस्ले बम विष्फोटन गर्‍यो मलाई थाहाछैन भन्ने सोमन चौधरीको अदालतमा भएको बयान ।

५५.   पटना र बाबाधाम लिला मन्दिर नगएको, तालीम पनि नलिएको, ०३६ सालमा मैले बहुदलको प्रचार गरेको, जनमत पछि चर्म रोग लागी भारत दरभंगामा उपचार गराई ०३८ सालदेखि दास बसमा काम गरिरहेको छु । प्रहरीमा पनि यही कुरा भनेको, कुटपिट गरी सही गराएको, विष्फोटन कसले गरेको हो भन्न सक्तिन भन्ने जगरनाथ दासले अदालतमा गरेको बयान ।

५६.   ०३८ आषाढ, श्रावण तिर ज्ञानचन्द्रले रक्सौल हुँदै पटनामा लगे । रामराजाको घरमा पुर्‍याए । निजको सल्लाह अनुसार सिमुलतलामा लगी पिटी, दौड सिकाए । म भिखारी, कृष्ण सिंह र अव्दूल भागी घर आयौं । मलाई र भिखारी पण्डितलाई नारायणी अञ्चलाधीश कार्यालयले राजकाज मुद्दा चलाई ३ वर्ष कैद र रु.५००।जरिवाना गरेकोले ०४१ साल असोज १५ गते जेलबाट छुटी घर आई बसेको हुँ । पिटी दौडको उद्देश्य बताएनन् । बम विष्फोटन कसले गराए थाहा छैन भन्ने रामनिवास गुप्ताले अदालतमा गरेको बयान ।

५७.   ०३६ सालमा सिराहाको आमसभामा रामराजा र मेरो चिनजान भएको, मैले जनमतताका बहुदलमा प्रचार गरेको, जनमतको नतीजा प्रकाशन भएपछि निर्दलीय व्यवस्था स्वीकार गरी ०३७ साल मार्गदेखि जागिरे भई हालसम्म जागिरे नै छु । रामराजाको गिरोह सम्बन्धमा मलाई थाहाछैन, विष्फोटन कसले गरे थाहा भएन भन्ने रमेशकुमार कार्कीको अदालतमा भएको बयान ।

५८.   ०३८ चैत्रमा शंकर सुडीले कामको आशामा पारी म समेतलाई सिमुलतला पुर्‍याए । २ महिना जति पिटी र दौडको तालीम लिएँ । खर्चको अभावमा घर फर्की आउने मौकामा थिएँ । १५।२० दिनपछि पटनाबाट लक्ष्मणप्रसाद सिंह आए । निजको पाकेटबाट रु.६०।झिकी भागी घर आएँ । ०४१ सालदेखि जनकपुर चुरोट कारखानामा जागिरे छु । तालीम बारे पहिला केही जानकारी भएन, पछि लक्ष्मणप्रसादले हाम्रो गिरोह क्रांतिकारी गिरोह हो, नेपालमा राजालाई मार्नुपर्छ, फ्नो शासन व्यवस्था कायम गराउनु पर्छ भन्थे । प्रहरीबाट कुटपिट हुँदा बम बनाउने तरिका र फ्रेच मैले बनाएको हुँ । कसले बम पड्काए मलाई थाहा छैन भन्ने चन्द्रविजय शाहले अदालतमा गरेको बयान ।

५९.   ०३६ सालमा बहुदलको प्रचार गरें । जनमतको परिणाम पछि पटना दरभंगा गई ०३८ सालमा एम.वि.वि.एस.पास गरी ०३९ सालमा घर फर्की, ०४० सालमा सरकारी सेवा शुरु गरें । ०४० बैशाखदेखि उदयपुर जिल्ला अस्पतालमा सरुवा भई हालसम्म कार्यरत छु । प्रहरीमा जबरजस्ती सही गराएको हो । रिषिया क्याम्पमा कहिल्यै गएको छैन । विष्फोटन कसले गराए भन्न सक्दिन भन्ने समेत डा.जितेन्द्र महासेठले अदालतमा गरेको बयान ।

६०.   प्रहरीमा भएको कागज स्वेच्छाले गरेको होइन । म तालीम लिन गएको पनि छैन । काठमाडौंमा विष्फोटन कसले गराए मलाई थाहा नभएको भन्ने झुपलाल कुंवरले अदालतमा गरेको बयान ।

६१.    प्रहरीमा भएको कागज स्वइच्छाको नभएको, बहुदलको प्रचारको सिलसिलामा रामराजासँग काम गरेको तर रामराजाको जनवादी मुक्ति मोर्चामा काम गर्ने इच्छा नहुँदा आफ्नो गृहस्थीमा लागें । कसले बम विष्फोटन गरे गराए, मलाई थाहा छैन । म संलग्न नरहेको भन्ने श्यामकिशोर कुशवाहले अदालतमा गरेको बयान ।

६२.   ०३६ सालमा रामराजाप्रसादले बनाएको बहुदलीय जनवादी मोर्चा स्थापना गरेको म पनि मोर्चाको सदस्य भएको थिएँ । ०३८ सालको आश्विनमा रामराजाले मलाई पटनामा बोलाएका रहेछन । त्यहाँ जाँदा निजसँग भेट भएन, लिलाश्रम बाबाधाम आएँ, वीरपुरमा लक्ष्मणप्रसाद सिंहले अबको बहुदलीय जनवादी मोर्चालाई विस्तृत रुपमा गठन गर्ने कुरा गरे, त्यसो भए विदेशमा बसी क्रान्ति गर्न चाहदैनौं भनी हामी घरतर्फ फर्कियौं । ०४२।२।११ मा पक्राउ परी सोही १८ गतेदेखि शान्ति सुरक्षा अन्तर्गत कारागारमा थिएँ । प्रहरीमा भएको मेरो बयान स्वेच्छाले भएको होइन भन्ने केशव भेटवालले अदालतमा गरेको बयान ।

६३.   ०३६ सालमा जनमत संग्रहताका रामराजासँग परिचित भई बहुदलको प्रचार प्रसार गरेको हुँ । वैजनाथको घरमा मिटिङ भएको मलाई थाहाछैन । विध्वंसात्मक कार्य सम्बन्धी काममा म संलग्न छैन । विष्फोटन कसले गरे मलाई थाहा छैन । प्रहरीमा भएको कागज स्वइच्छाले गरेको होइन भन्ने कटकबहादुर मल्लले अदालतमा गरेको बयान ।

६४.   ०३६ सालमा रामराजाले बहुदलीय जनवादी मोर्चा बनाएको हुँदा म पनि सदस्य भई बहुदलको प्रचार गर्न थालेको जनमतको नतीजा पछि म घरमै बसें । ०३७ सालमा रामराजा र म कोइलाडी गयौं । त्यहाँबाट पटना हुँदै रामराजाले रिषिया क्याम्पमा लगे । राजनीतिक छलफल गर्ने मानिसका काम भएकोबाट नेपाल आएँ । पुनः पटनाबाट खबर आएकोले त्यहाँ गएँ । रामराजाले नेपालमा सशस्त्र क्रान्ती गर्नुपर्छ, पञ्चायती व्यवस्था राजतन्त्र फाल्नुपर्छ भनी राजतन्त्रको विरोधमा कुनै क्रान्ती गर्न हामी चाहँदैनौ, सशस्त्र क्रान्तीको लाइन मान्दैनौ भन्दा रामराजा पटना गए । निजको नीतिसँग सहमत नहुँदा म समेत काठमाडौं आएँ । रामराजासँग मेरो केही सम्बन्ध नभएको विषयमा ०४०।५।१ मा बक्तव्य पनि दिइसकेको छ । राष्ट्रिय पञ्चायत भवन समेतमा कसले बम विष्फोटन गरे मलाई थाहा छैन । म संलग्न छैन भन्ने दिनेशप्रसाद श्रेष्ठले अदालतमा गरेको बयान ।

६५.   जनमतको समयमा रामराजाले बहुदलीय जनवादी मोर्चा खोलेका, जनमतको परिणाम घोषणा भइसकेपछि बैजनाथ धाममा खोलेको तालीम क्याम्प हामीले मन नपराएको हुँदा रामराजाको विरोध गर्‍यौं । रामराजाले मसँग माफ मागेपछि तालीममा गई माक्र्स, गान्धी, लेलीन सम्बन्धी राजनीति शास्त्रको क्लास लिएँ । केही समयपछि पुनः मतभेद हुँदा आफ्नो घर फक्र्यौं । म संस्थागत राजनीति चाहन्थे, भने रामराजा व्यक्तिगत विचारधाराबाट काम गर्न चाहन्थे । भारतीय भूमिमा बसेर राजा र राष्ट्रियताको विरुद्ध हुने काम सकिए । राजनीति गर्ने हो भने देशभित्रै गएर गर्नु पर्दछ भनी शोभाकर धनन्जयलाई कार्यबाहक अध्यक्ष बनाई म समेतका ३।४ जना काठमाडौं आई घरमा रहेकोमा ०३८ सालमा राजकाज मुद्दामा पक्राउ परी राजविराज अञ्चलाधीश कार्यालयमा बयान हुँदा रामराजाप्रसाद सिंहसँग मेरो मतभेद भएको कुरा स्पष्ट उल्लेख गरेको हुँ । विष्फोटन रामराजाले गराएको होला, म भने संलग्न छैन भनी अनारसिंह कार्कीले अदालतमा गरेको बयान ।

६६.   प्रहरीमा भएको बयान स्वइच्छाको होइन । सिमुलतलामा गई जनवादी मोर्चाको तालीम लिएको छैन, विष्फोटन कस्ले गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको सन्तनु कार्कीले अदालतमा गरेको बयान ।

६७.   राम कार्कीले भारत तिर डुल्न जाउँ भन्दा निर्मली हुँदै रिषिया पुग्यौं । नेपालमा विध्वंसात्मक आक्रमण गर्नुपर्छ, पञ्चायती व्यवस्था हामीलाई मन परेन, आक्रमण गरेर तर्साएर सबैले खान लाउने माक्र्सवादी अर्थतन्त्र व्यवस्था ल्याउन पर्छ भनी तालीम दिइरहेछ । रिषिया क्याम्पलाई जनवादी मोर्चाको क्याम्प भन्ने गरेको थियो । म रिषियामा बसुन्जेल रामराजा आएनन् । तर मोर्चाको नेता रामराजा हुन् भन्ने सम्म सुनेको हुँ । म मोर्चामा भाग लिने उद्देश्यले भारत गएको होइन, तालीमको उद्देश्य थाहा पाइसकेपछि आफ्नो घर फर्कने प्रयास गरें । फर्कन दिएनन्, बाध्यताले तालीम लिएँ । १६।१७ दिन तालीम लिएपछि राती क्याम्बाट भागी झापामा दिदीको घरमा आई राजविराज फर्किएँ । बम विष्फोट कसले गरे मलाई थाहा छैन, म संलग्न छैन भन्ने समेत व्यहोराको अमर प्रधानले अदालतमा गरेको बयान ।

६८.   रामराजाले बम बनाउने हतियार चलाउने, खोल्ने, मिलाउने आदि तालीमको व्याख्या गर्नु भएपछि मैले तालीम लिनु स्वीकार गरी भारत नैनीतालको छेउछाउमा एक महिनासम्म बम बनाउने, हितियार चलाउने, तालीम लिई पटना आएँ । पटनामा आई रामराजासँग छुट्टी भागी घरमा आएर स्कुलमा मास्टरी गर्ने र पसल समेतमा व्यस्त हुँदा पटना फर्कने विचार गरिन । ०४० सालमा रामराजाले सितामढीबाट बोलाउन पठाउँदा त्यहाँ जाँदा सिमुलतला क्याम्पमा पठाए । मलाई जनवाद क्या है, अच्छा कम्युनिष्ट कैसे बनेंभन्ने किताब दिएकोले तालीम लिनेलाई किताब पढेर सम्झाउने गर्दथेँ देहरादुनतिर शस्त्रअस्त्र चलाउने, बम विष्फोटन गराउने प्रयोगात्मक तालीम हुँदा ३० जना जति थियौं । त्यसपछि म पटना नउम्कने हिसाबबाट घर बसेको थिएँ । एकाएक नेपालको विभिन्न भागमा रामराजाले बम विष्फोटन गराएको कुरा पत्रपत्रिका र रेडियोबाट सुन्दा आफू पनि रामराजासँग बसी तालीम लिएको हुँदा भारत सिसौनीतर्फ गई बसेको अवस्थामा शेखरले धक्की दिई मलाई पटना लगी रामराजासँग भेट गराए । रामराजाले धम्की दिई मलाई आफ्नै साथमा राख्ने । निर्वाचन आयोग र महत्वपूर्ण स्थलमा बम विष्फोटन गराउनु भनी ०४१ साल बैशाखमा हामीलाई खटाई पठाएको । विष्फोटक पदार्थसहित ०४३।१।१८।१९ मा काठमाडौं आई सुन्धारा निलम लजमा विष्फोटक पदार्थसहित पक्राउ परेको कुरा मैले फौ.मि.नं.११ को मुद्दामा ०४३।३।२५ मा बयान गरिसकेको छु । सो बाहेक अरु विष्फोटनबारे मलाई थाहा छैन, भनी हरदेव मण्डलले अदालतमा गरेको बयान ।

६९.   ०३९ सालको अन्ततिर सितामढीमा लक्ष्मणप्रसाद सिंहसँग भेट गरी सिमुलतलामा १ वर्ष सम्म तालीम लिएपछि, म शेखर, उद्धव, विजय भन्ने शिव विश्वकर्मा, अरुण भनेको विश्वनाथ चौधरीलाई लक्ष्मणप्रसाद सिंहले पटना आउनु भनी बोलाएको हुँदा ५ जना पटना गयौं । पटना शव्जीबागको होटेलमा रामराजा र लक्ष्मणप्रसाद आएर हामीलाई काठमाडौं गई अन्तराष्ट्रिय एअरपोर्ट, राजदरवार दक्षिण र पश्चिम ढोका, सिंहदरवार, राष्ट्रिय पंचायत ग्यालरी बैठक, अन्नपूर्ण होटल, सोल्टी होटलमा बम पड्काउनु पर्छ । ती ठाउँको रेकी गर्न ५ जना नै काठमाडौं गई त्रिपुरेश्वर मिथिला होटलमा बस्नु खानु, त्यसपछि काठमाडौंको अली बाहिर डेरा खोजी डेरामा नै खाने प्रबन्ध समेत मिलाउनु रुपैयाँ र मालसामान लिन १५ दिनको फरक पारी कोही पटना आउनु भनी निर्देशन दिएका थिए । ०४१ फाल्गुणतिर हामी ५ जना पटनाबाट वीरगंज हुँदै काठमाडौं आयौं । करीब १ महिना मैथली होटलमा बस्यौं । त्यसपछि बबरमहल पश्चिम अशोक तण्डुकारको घरमा एक कोठा भाडामा लियौं । शेखर र विजय पैसा र सामान लिन पटना गए । जिलेटिन १०० जति बाकसमा राखी डिटोनेटर ४।५ वटा र पैसा समेत लिई आए । काठमाडौंको विभिन्न भागमा रेकी गर्ने काम प्राय सकी सकेका थियौं । शेखर, विजय पटनाबाट आएपछि म, उद्धव र विजय पटना गयौं । रुपैयाँ र जिलेटिन २ सुटकेससहित काठमाडौं आयौं । ०४२ जेष्ठमा उद्धव र शेखर पुनः गोरखपुरमा रामराजा र लक्ष्मणलाई भेट्न भनी गएको थिए । निजहरुलाई भेटी नटबोल्ट ४।५ किलो र बम पड्काउने यकीन मिति लिएर आएका रहेछन । ०४२ आषाढ ५ गते पड्काउने भन्ने निश्चित भयो । त्यसपछि डेरामा बेलुका जिलेटिन, डिटोनेटर आदी सफा गरी बम बनाउने काम सुरु गर्‍यौं । आषाढ ४ गते ६ वटा बम   बनायौं । ३ बटा मोटर व्याट्री, १२ वटा टर्च व्याट्री, ब्याट्री बक्स तीन थान पनि किन्यौं । २ थान बुट्टा भएको गमलामा फूल समेत किनेर ल्यायौं । शेखरले दुवै गमलामा बम फिट गर्‍यो । बबरमहलमा ट्याक्सी लिएर गमला राखी उद्धव र शेखर राष्ट्रिय पञ्चायत भवन जाने भनी आए । गमलाको बम राष्ट्रिय पञ्चायत भवनको सिढीमा राखी आयौं भने करीव आधा घण्टा पछि आएर म भने गएको थिइन । रेकी सोही ठाउँमा गरेका थियौं । शेखरले डेरामा आएपछि डेराबाट सबै सामान निकाली तीनवटा टेक्सी लिई, सिंहदरवार मूल ढोकामा अरुणले, राजदरवार पश्चिम ढोकामा म, दक्षिण ढोकामा विजयले बम राख्ने सल्लाह गरी अलग टेक्सीमा चढी हिड्यौं । सिंहदरवार ढोका अगाडि आएपछि अरुणले प्लाष्टिकको व्यागको बम राखी दिए, अरुण र शेखर अमर लजमा कोठा बन्दोबस्त गर्न गए । म विजय र उद्धव अन्नपूर्ण होटलतर्फ गयौं । अन्नपूर्ण होटल छेउमा उभी म राजदरवार पश्चिम ढोका तिर, विजय दक्षिण ढोकातिर, उद्धव हातमा कालो व्याग बोकी अन्नपूर्ण होटलतर्फ लाग्यो । पानी परिरहेको थियो । पाले भित्रपट्टी ओत लागेर बसेका थिए । बम राखी सकेपछि, उद्धव, अरुण, कालिमाटीमा बस समाती वीरगन्ज हिंडे विजय एक्लै ६ बजेको बसमा जनकपुर भएर पटनातिर  हिंड्यो । म र शेखर ६½ बजे भैरहवा हुँदै गोरखपुरतिर हिड्यौं । यसरी हामीले ०४२।३।६ मा काठमाडौंको विभिन्न भागमा बम विष्फोटन गर्ने काम गर्‍यौं । राजदरवारको ढोकामा बम पड्काउँदा राजा डराउँछन, राष्ट्रिय पञ्चायत भवनमा बम पड्काउँदा २।४ जना माननीय मर्दछन अनि हामीलाई समर्थन गर्दछन । होटलमा पड्काउँदा विदेशी डराई नेपाल आउँदैनन्, नेपालको नोक्सानी हुन्छ, देशमा आतंक फैलन्छ भनी हामीलाई रामराजा र लक्ष्मणप्रसादले भनेका थिए भन्ने समेत व्यहोराको चन्द्रदेव ठाकूरले अन्नपूर्ण होटलमा विष्फोटन भए सम्बन्धी मुद्दामा बयान गरिसकेको सोही बयानलाई प्रस्तुत मुद्दामा पनि कायम गरी पाउँ भनी अदालतमा गरेको बयान ।

७०.   २०४१ बैशाख ज्येष्ठतिर महेन्द्रप्रसाद बजगाइले म समेतलाई लिई पटना पुर्‍याई रामराजासँग भेट गराई सिमुलतला लगे, जहाँ बम बनाउने, बन्दूक चलाउने, पिटी परेड जस्ता तालीम ४ महिना लिएँ । तालीम लिई सकेपछि वीरगन्जमा बम विष्फोटन गर्नु पर्दछ भनी रामराजाले म, पवनरत्न, प्रदिपलाई खटाए । विष्फोटक सामान सहित ०४२।२।२० मा वीरगन्ज आई लक्ष्मी लजमा बस्यौं । बम बनाई ०४२।३।६ मा मैले २ थान, पवनले २, भुला सदाले १, रत्नले २ बम बोकी निश्चित सेनेमा हल छेउमा १ थान राखे । काठमाडौंमा भएको विष्फोटनमा म संलग्न छैन भनी टिकेन्द्रबहादुर भन्ने टेकेन्द्र विश्वकर्माले स.फौ.मि.नं. ११ मा बयान दिएकोलाई सोही कायम गरी बयान गरेको ।

७१.   ०४१ चैत्रतिर महेन्द्रप्रसादसँग भेट भई टेकेन्द्र विश्वकर्मा सहित इटहरी आई सबैलाई निजले लिई पटनामा रामराजासँग भेट गराई सिमुलतला गयौं । तीन महिनासम्म तालीम लिएपछि, पटनामा आयौं, नेपालगन्जमा रेकी गर्न खेमराज मायालुको साथ रामराजाले नेपालगन्ज पठाए म र मदन भई नेपालगन्जको डि.एस.पी. कार्यालय र अञ्चल अदालतको रेकी गरी बहराइच फर्कियौं । बहराइचबाट जिलेटिन, डिटोनेटर, ब्याट्री बक्स लुकाई नेपालगन्ज गई धर्मशालामा बसी ०४२।३।५ मा बम तयार गरी आषाढ ६ गते म र मदनले कालो जिनको झोलामा बम राखी मालपोत कार्यालयमा पुगी मदनले व्याग कार्यालयभित्र कुनामा राखी दियो । त्यसपछि हामी रिक्सा चढी बहराइच पुग्यौं । राष्ट्रिय पञ्चायतको विष्फोटनमा म संलग्न छैन भनी त्रिभुवन ढकालले स.फौ.मि.नं.१० मा बयान दिएको सोही बयानलाई प्रस्तुत मुद्दामा कायमै राखी गरेको बयान ।

७२.   भद्रपुर छोटी भन्सारले बम विष्फोटन पदार्थ सहित मलाई पक्राउ गरी अभियोग लगाई स.फौ.मि.नं. १ मा बयान दिइसकेको नै छु । प्रस्तुत वारदात हुनु पूर्व ०४२।३।४ मा म पक्राउ परिसकेको हुँदा मलाई सजायँ हुनुपर्ने होइन भनी रामकृष्ण महतोले अदालतमा गरेको बयान ।

७३.   सुनसरी लौकहीमा विष्फोटक पदार्थ बम सहित पक्राउ गरी फौ.मि.नं. २ को मुद्दामा सबै विवरण खुलाई बयान गरिसकेको छु । यस मुद्दामा म संलग्न छैन । सोही बयान कायम गरी पाउँ भनी महेन्द्रप्रसाद बजगाईले अदालतमा गरेको बयान ।

७४.   भारतमा तालीम लिएको, वीरगन्जमा रेकी गरी टाइम बम राखेको सम्पूर्ण कुराहरु सम्बन्धमा स.फौ.नं. ३० को मुद्दामा बयान दिई सकेको हुँदा सोही बयान यसमा पनि कायम   गरिपाउँ । यस अभियोगमा म सामेल छैन । भनी भुलासदा मुसहरले अदालतमा गरेको बयान ।

७५.   धनगढी अञ्चल प्रहरी कार्यालय छेउमा म समेत भई विष्फोटक पदार्थ बम राखेको सम्बन्धमा फौ.मि.नं. ९ को मुद्दामा सबै विवरण खुलाई बयान गरिसकेको हुँदा सोही बयान यसमा पनि कायम गरिपाउँ । यस अभियोगमा मलाई सजायँ हुन पर्ने होइन भनी खेमराज पराजुलीले अदालतमा गरेको बयान ।

७६.   पटनाबाट लिई आएको विष्फोटक पदार्थ बम जनकपुर गोपाल धर्मशालामा राखी अर्को पटक पनि सोही पदार्थ लिई आउँदा जलेश्वर भन्सारमा पक्राउ परी सबै व्यहोरा खुलाई फौ.मि.नं. ४ को मुद्दामा बयान गरिसकेको यस मुद्दामा मलाई सजायँ हुनुपर्ने होइन भनी विश्वनाथ गुप्ताले अदालतमा गरेको बयान ।

७७.   मलाई र विश्वनाथ गुप्तालाई नेपालगञ्ज र सुर्खेतमा रेकी गरी आउनु भनी लक्ष्मणप्रसाद सिंहले खटाई पठाएको, मिल्टरी व्यारेक, सि.डि.ओ. कार्यालय, प्रहरी थाना रेकी गरी गोरखपुर पुग्यौं, मलाई डरलागी भागी आएको कुरा फौ.मि.नं. ४ को मुद्दामा बयान गरिसकेको हुँदा सोही बयान कायम गरिपाउँ । यस अभियोगमा म सामेल नहुँदा सजायँ हुन पर्ने होइन भनी गुरुदेव दास तत्माले अदालतमा गरेको बयान ।

७८.   मैले भएको व्यहोरा फौ.मि.नं. ४ को मुद्दामा खुलाई बयान गरेको, प्रस्तुत अभियोग मलाई सजायँ हुन पर्ने होइन भनी मोहितलाल चौधरीले अदालतमा गरेको बयान ।

७९.   साँचो कुरा फौ.मि.नं. ४ को मुद्दामा बयान गरिसकेको प्रस्तुत अभियोग मैले नगरेको हुँदा मलाई सजायँ हुन नपर्ने भनी केदारकुमार कार्कीले अदालतमा गरेको बयान ।

८०.   यसमा मउपर लगाइएको कसूर मैले नगरेको हुँदा मलाई सजायँ हुन पर्ने होइन । म निर्दोष छु, भनी युगल किशोरलाल कर्णले अदालतमा गरेको बयान ।

८१.    ०३७ सालमा राम कार्कीले रिषिया बाबाधाम पुर्‍याएको, १५।१६ दिनसम्म साधारण तालीम लिएपछि अनारसिंह कार्की र रामराजा त्यहाँ आए । तालीमको उद्देश्य मन नपरी घरमा आई ०३९ सालको चुनावमा गाउँकै प्रधानपञ्चको पदमा लडेको समेत थिएँ । बम विष्फोटन कसले गरे मलाई थाहा छैन । ०४२।२।१० मा प्रहरीले पक्राउ गरी थुनामा नै रहेकोले मैले कसूर नगरेको भनी बुदुर चौधरीले अदालतमा गरेको बयान ।

८२.   प्रतिवादीहरु शोभाकर धनन्जय, दाताराम बजगाई, प्रेमबहादुर विश्वकर्मा, सलबहादुर विश्वकर्मा, गजेन्द्र विश्वकर्मा, इन्द्रबहादुर विश्वकर्मा, राम कार्की, प्रदीपकुमार शाह, रामरत्न यादव, महेन्द्रकुमार गुप्ता, विमल शाह, कपिलदेव मण्डल, विशेश्वर मण्डल, खेमराज मायालु, कुमार जंग कार्की, हेमराज रावत, मोहनराज रावत, धर्मेन्द्र साह, नवीन राई, पंचे लामा, इश्वर लामा, रामचन्द्र लामा, ज्ञानेन्द्र लामा, रामनाथ ठाकुर, फैकम पासवान, वनमानुष भन्ने रामु हाथी, विशेरी साह, सनिश्चरा ठडेरी, गौरीशंकर साह, मोहरी पंजियार, सुरेश पंजियार, विश्वनाथ पासवान, शंकर पासवान, सोनेश्वर यादव, राजेन्द्र झा, रामनारायण देव, राजेश कसाई, अशोक मियाँ, हरि भुजेल, हेम शंकर गुप्ता, शिवकुमार विश्वकर्मा, अमृत चौधरी, विश्वनाथ चौधरी, महेन्द्र सदा मुसहर, मनोजप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह, शुशिलकुमार शुक्ला, रामराजाप्रसाद सिंह भेष अब्दुल सपूरादिन मियाँ, मजिद मियाँ, कृष्ण सिंह, ज्ञानचन्द्र यादव, पवन भन्ने पवनकुमार साह, हरदेव चौधरी, सत्यनारायण साह, अशेश्वर यादव, इश्वरी ठाकुर, राज नारायण पोखरेलले शुरु समाव्हान म्याद नै गुजारी बसेको देखियो ।

८३.   ०३७ सालमा डा.जितेन्द्र महासेठ मार्फत रामराजासँग भेट भएको, नेपालको युवकहरुको समूहबाट एक गिरोह संगठन गर्ने नेपालमा तोडफोड, अशान्ति मच्चाउने गिरोहको उद्देश्य रहेको भनी रामराजाले भनेका, तालीमको क्याम्प बाबाधामको लिलाश्रम र सिमुलतलामा रहेको, क्याम्पमा विध्वंसात्मक सम्बन्धी तालीम दिइने गरेको र क्याम्पमा तालीम प्राप्त व्यक्तिहरु धेरै रहेको थियो । काठमाडौंमा विध्वंसात्मक कार्य गर्नको लागि विशेश्वर मण्डल, चन्द्र देव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्माले विशेष तालीम लिँदै छन भनी लक्ष्मणप्रसादले बताएका   थिए । सोही ग्रुपबाट विष्फोटन भएको हुनुपर्छ । मैले ०४२।८।२१ मा यस विषयमा बयान पनि दिइसकेको नै छु । भनी सरकारी गवाह रघुवंश झाले अदालतमा गरेको बकपत्र ।

८४.   ०३८ सालमा राजनीतिको सिलसिलामा पटना गएको, त्यहाँ रामराजासँग भेट भएको, गिरोहको तालीम केन्द्र वैजनाथ धाम लिला मन्दिरमा छ भनी निजले भनेको, क्याम्पमा नेपालको विध्वंसात्मक कार्य गर्न तालीम हुने हुँदा हामी सबै तालीम लिउँ भनेको, रामराजा कै साथमा उक्त क्याम्पमा हामी पुगेको, नेपाल अधिराज्यमा बम विष्फोटन गरी अधिराज्यको शान्ति सुरक्षामा खलल पुर्‍याउने, सरकारी तथा गैरसरकारी सम्पत्ति तोडफोड गरी तहस नहस गर्ने, आम जनताको जीउ ज्यानमा हानी नोक्सानी गर्ने, जसबाट सरकारको आर्थिक स्थिति डामाडोल भएर जाओस, जनतामा आक्रोस फैलियोस, भन्ने नै गिरोहको मुख्य उद्देश्य रहेको थियो, गिरोहको मुख्य व्यक्तिहरुमा रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह, खेमराज मायालु, विश्वेश्वर मण्डल, हरिदेव मण्डल, टिकेन्द्रबहादुर विश्वकर्मा, चन्द्रदेव ठाकुर पवनकुमार शाह समेत थिए । गिरोहको क्याम्पमा विष्फोटन सम्बन्धी तालीम दिइन्थ्यो, विश्वेश्वर मण्डल, शिवकुमार विश्वकर्मा, प्रेमबहादुर विश्वकर्मा, विश्वनाथ चौधरी, चन्द्रदेव ठाकुरले बम बनाउने पड्काउने विशेष तालीम समेत लिएका थिए । राइफल र एस.एल.आर. मेशिनगन फाइरिङको तालीम उत्तर काशी गंगोहरिको छेउमा हरिसर भन्ने डाँडामा गई मिलिटरी क्याम्पमा फाइरिङको तालीम लिएको थियो, काठमाडौंको लागि विध्वंसात्मक कार्य गर्न उक्त ५ व्यक्तिहरुले विशेष तालीम लिएको हो । रामराजाको गिरोह ०३७ सालदेखि सञ्चालन भएको, निजको हेड अफिस पटनामा रहेको, ०३८ सालमा वैद्यनाथ धाम भन्ने लिला मन्दिर क्याम्प स्थापना भएको हो । अनारसिंह कार्की ०३८ सालमा वैजनाथ धाम लिला मन्दिर क्याम्पको इन्चार्ज हुनाले गिरोहको मुख्य व्यक्ति हुन । रामराजा, लक्ष्मणप्रसाद र खेमराज गिरोहको नेतृत्वकर्ता हुन । काठमाडौंमा भएको विष्फोटन रामराजाको नेतृत्वका विशेष तालीम प्राप्त व्यक्तिहरुबाट गरिएको हुनुपर्दछ भनी सरकारी गवाह लालबहादुर चौधरीले अदालतमा गरेको बकपत्र ।

८५.   राष्ट्रिय पञ्चायत सदस्य भएको नाताले ०४२।३।६ मा शाही संवोधनमा उल्लिखित कार्यक्रमबारे नाम लेखाउन राष्ट्रिय पञ्चायत भवनमा गएको, मेरो साथमा विष्णुप्रसाद दवाडी पनि रहेको, पुस्तिकामा आफ्नो नाम लेखाई मूल ढोकातर्फ आउँदा माननीय डम्बर जङ्ग गुरुङ्ग र भोलामान सिंह थापासंग भेट भई बाहिर पानी परिरहेको कारण त्यही उभियो । पानी पर्न कम भएकोले बाहिर निस्कन दोस्रो खुड्किलोमा पुग्ना साथ बम विष्फोटन भयो । सख्त घाइते भई व्यहोस हुँदा अस्पताल   लगिएछ । माननीय डम्बर जङ्ग गुरुङ्ग, विष्णुप्रसाद दवाडीको मृत्यु भएछ । माननीय जनकबहादुर शाह, भोलामान सिंह थापा सख्त घाइते हुनुभएछ । मेरो उपचार भइरहेको छ । हालसम्मको उपचारमा रु.३ लाख खर्च भइसकेको छ । विष्फोटन रामराजाको गिरोहबाट भएको भन्ने कुरा हामीलाई शंका छ भनी दीपबहादुर शाहले अदालतमा गरेको बकपत्र ।

८६.   श्री ५ को सरकारको नीति सम्बन्धमा छलफल गर्न नाम लेखाउन पर्ने हुँदा रा.प. भवनमा गई आफ्नो नाम लेखाई भोलामान सिंह थापा, दीपबहादुर शाह, डम्बर जङ्ग गुरुङ मेरो साथमा उभिए । हामी हिंड्न लाग्दा विस्फोटन हुँदा म पछारिएँ । डम्बर जङ्ग गुरुङ उचालिएर पछारिएको पनि देखें । राम्रो होस नरहँदा उपचारार्थ वीर अस्पताल पुर्‍याइयो, होसमा आएपछि डम्बर जङ्ग गुरुङ्ग र विष्णुप्रसाद दवाडीको मृत्यु भएको जानकारी पाउँ । घुँडाको हड्डी फुटेको नट वोल्ट अपरेशन गरी झिकिएको देखें । मेरो खुट्टा पूर्व अवस्थामा आउन सक्ने अवस्था नै छैन । रामराजाप्रसाद सिंह समेतको गिरोहबाट विष्फोटन कार्य गरेको भन्ने सुने भन्ने समेत व्यहोराको जनकबहादुर शाहले अदालतमा गरेको बकपत्र ।

८७.   विष्फोटनको अवस्था भवनको मुख्य द्वारको दक्षिण कुनामा नजिकै छु । शाही सम्वोधनउपर छलफलको लागि नाम लेखाउन म त्यहाँ गएको थिएँ । त्यहाँ ठूलो आवाजले विस्फोटन भयो । विष्णुप्रसाद दवाडीको खुट्टाको हड्डी छियाछिया भएको समातेर बसेको देखें, जस पश्चात म पनि व्यहोश भएछु । अस्पताल पुर्‍याएपछि मेरो टाउकोमा ठूलो घाउ रहेछ । देब्रे आँखा टालिएको थियो । दुवै कानको जाली फुटेको रहेछ । वीर अस्पतालको उपचारपछि शिक्षण अस्पतालमा भर्ना भई कुर्कुच्चाको अपरेशन हुँदा छर्रा निकालेको थियो । हाउसमा गृह मन्त्रीबाट रामराजाप्रसाद सिंहको ग्रुपले विस्फोटन गरे गराएको भन्ने सुने । विध्वंसात्मक कार्य गर्ने उपर कडा सजायँ हुनुपर्दछ । डम्बर जङ्ग गुरुङ्ग घटनास्थमै मरेको र विष्णुप्रसाद दवाडी उपचारकै क्रममा मरेको पछि थाहा पाउँ । दीपबहादुर शाह र जनकबहादुर शाह सक्त घाइते भएको थिए । भवन निकै क्षति भएको थियो भन्ने समेत व्यहोराको सरकारी गवाह भोलामान सिंह थापाले अदालतमा गरेको बयान ।

८८.   राष्ट्रिय पञ्चायत सचिवालयमा जम्मा रु.३५,७७३।३७ को क्षति भएको भन्ने आवास तथा भौतिक परियोजना विभाग उपत्यका मर्मत डिभिजनको ०४२।७।१४ को पत्र पनि मिसिल सामेल देखियो ।

८९.   प्रस्तुत मुद्दामा ०४२।३।६ गते दिनको १:३० बजे राष्ट्रिय पञ्चायत भवन ग्यालरी बैठकको प्रवेश द्वार अर्थात भवन भित्र पस्ने मुख्य ढोकामा आतंककारीहरुद्वारा राखिएको बम विष्फोटन हुँदा माननीय डम्बरजंग गुरुङ लेखा नियन्त्रक विष्णुप्रसाद दवाडीको मृत्यु भएको, माननीय जनकबहादुर शाह, र दीपबहादुर सिंह, भोलामान सिंह समेत ३ जना घाइते हुनुभएको, राष्ट्रिय पञ्चायत भवनको भौतिक क्षति भएको सम्बन्धमा अभियुक्तहरु मध्ये विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्मा समेत ५ जनालाई विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, ०४२ को दफा ३(१) र ३(२) को अपराध गरेकोमा निजहरुलाई सोही ऐनको दफा ७(१) अनुसारको सजायँ हुन र अभियुक्तहरु रामराजाप्रसाद सिंह गिरोहको मुख्य व्यक्ति भएको, लक्ष्मणप्रसाद सिंह तथा खेमराज मायालु क्षेत्रीय नेतृत्व लिने व्यक्ति भएको, विध्वंसात्मक अपराध गर्ने विश्वेश्वर मण्डल समेतका ५ जनालाई विष्फोटक पदार्थ समेत दिई विध्वंसात्मक अपराध गर्न अह्राई खटाई पठाएको हुँदा निजहरु तीनैजनालाई सोही ऐनको दफा ३(१) र ३(२) को कसूर गरेकोमा सोही ऐनको दफा ७(१) अनुसार र अन्य अभियुक्तहरुलाई उक्त ऐनको दफा ७ (२) बमोजिम सजायको माग गरी क्षतिपूर्तिको समेत माग दावी भएको रहेको देखिन्छ ।

९०.   राष्ट्रिय पञ्चायत भवनको क्षति भएको घटनाथलको प्रकृति मुचुल्का डम्बरजंग गुरुङ र विष्णुप्रसाद दवाडीको विष्फोटनबाट मृत्यु भएको भन्ने लास जाँच प्रकृति मुचुल्का समेतबाट वारदात भएको पुष्टि हुन्छ । विध्वंसात्मक अपराध, (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को प्रारम्भ लालमोहर लागेको मितिदेखि नै हुने देखिन्छ । विध्वंसात्मक अपराध सम्बन्धी मुद्दामा मात्र यो ऐन बमोजिम कारवाही र सजायँ गर्ने उद्देश्यले यो ऐन बनेको कुरा प्रष्ट हुन आउने हुँदा कार्यविधिमा मात्र यो ऐनमा अतित प्रभावी बनाएको नहुँदा यो ऐन बमोजिम कारवाही हुनसक्ने नै देखिन्छ । मिसिल संलग्न प्रमाण कागजहरु आरोपित कसूरमा अभियुक्तहरुले दिएको बयानहरु समेतको आधार प्रमाणहरुबाट अरुवा भन्ने विश्वेश्वर मण्डल, उद्धव भन्ने प्रेमबहादुर विश्वकर्माले राष्ट्रिय पञ्चायत भवनको सिढीमा बम फिट गरेको गमला राखेकोले सो बम विष्फोटन भई रा.पं.स.डम्बरजङ्ग गुरुङ्ग र लेखा अधिकृत विष्णुप्रसाद दवाडीको तत्काल मृत्यु हुन गएको र अरु ३ जना माननीयहरु सख्त घाइते हुनुका साथै राष्ट्रिय पञ्चायत भवनको भौतिक क्षति समेत भएको हुनाले निज बम राख्ने अभियुक्त उद्धव भन्ने प्रेमबहादुर विश्वकर्मा, शेखर भन्ने विश्वेश्वर मण्डलले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, ०४२ को दफा ३(१) र ३(२) को कसूर गरेको देखिन आउँदा दुवैजनालाई सोही ऐनको दफा ७(१) बमोजिम जनही मृत्युदण्डको सजायँ हुन्छ । अन्य अभियुक्तहरु शिवकुमार विश्वकर्मा, चन्द्रदेव ठाकुर, अरुण भन्ने विश्वनाथ चौधरीको हकमा बम राष्ट्रिय पञ्चायत भवनमा राख्दा साथै गएको नदेखिएको, बम बनाउँदा शेखर भन्ने विशेश्वर मण्डलले नै फिट गरेको देखिएको, बम राख्ने ठाउँको रेकी गरी अपराध गर्ने कुरामा सहमत भएकोले सोही ऐनको दफा ७(१) बमोजिम मृत्युदण्डको सजायँ दिन नमिल्ने हुँदा चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा विश्वनाथ चौधरीलाई सोही ऐनको दफा ७(२) बमोजिम जनही जन्मकैदको सजायँ हुने ठहर्छ । यस अभियोगमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहको भूमिकातर्फ हेर्दा, यिनीहरुको नेतृत्वमा खडा भएको क्याम्पमा नेपाल अधिराज्यका आतंककारी कारवाही गरी शान्ति र व्यवस्थामा नै खलल पार्ने नियत भई सोही अनुरुपको विष्फोटन कार्य समेत भइसकेको संकलित सबूद प्रमाणबाट पुष्टि हुन आएकोले निजहरु रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूर गरेकै देखिन आएको हुँदा निजहरु दुवैलाई सोही ऐनको दफा ७(१) बमोजिम मृत्युदण्डको सजायँ हुने ठहर्छ । विध्वंसात्मक अपराध सम्बन्धी कार्यमा सक्रिय रहने खेमराज मायालुले विष्फोटन गराउने सम्बन्धमा सहयोगसम्म गरेको देखिँदा सोही ऐनको दफा ७(२) बमोजिम निजलाई पनि जन्मकैदको सजायँ हुन्छ ।

९१.    अभियुक्तहरु मध्ये रामकृष्ण महतो, राजेन्द्र झा र इश्वरी ठाकुरको हकमा फौ.मि.नं. १ को मुद्दामा जनही १०।१० वर्षको दरले कैद सजायँ गर्ने गरी आजै फैसला भएको, महेन्द्रप्रसाद बजगाईको हकमा फौ.नं. २ को मुद्दामा विध्वंसात्मक अपराध गरेको ठहरी कैद वर्ष १५ सजायँ गर्ने गरी फैसला भएको, पवनकुमार साह, टेकेन्द्र विश्वकर्मा, सलबहादुर विश्वकर्मा, भूलसदा मुसहरको हकमा स.फौ.नं. ३ को मुद्दामा पवनकुमारलाई जन्मकैद, टेकेन्द्र विश्वकर्मा र भूलासदा मुसहरलाई जनही वर्ष ५, सलबहादुर विश्वकर्मालाई कैद वर्ष १०, सजायँ गर्ने र वीरगञ्ज छपकैया सिनेमा हलनिर विष्फोटक पदार्थ राखेमा स.फौ.नं. १३ को मुद्दामा पवनकुमारलाई कैद वर्ष १०, टेकेन्द्र विश्वकर्मा, भूलासदा मुसहरलाई जनही कैद वर्ष ५।५।, सलबहादुर विश्वकर्मालाई कैद वर्ष १०, गर्ने गरी आजै फैसला भएको, हरदेव मण्डल र टेकेन्द्र विश्वकर्माले काठमाडौं निर्वाचन आयोग समेतका विभिन्न स्थानमा बम विष्फोटन गर्दै आएको मौका निलम लजमा विष्फोटक पदार्थ सहित पक्राउ भएकोले निजहरु दुवैजनालाई फौ.नं. १० को मुद्दाबाट जनही १० वर्षका दरले कैद हुने ठहरी फैसला भएको तर राष्ट्रिय पञ्चायत भवनमा विष्फोटन गरे गराएको प्रमाण श्री ५ को सरकारबाट पुर्‍याउन नसकेकोले निजहरुले यस मुद्दामा सफाई पाउने ठहर्छ ।

९२.   विश्वनाथ गुप्ता, दिपक भन्ने हरदेव चौधरी किशोरी साह, मजीद मिया, गुरुदेवदास तथा केदारकुमार कार्की समेत ६ जनाको हकमा निजहरुले जनकपुर गोपाल धर्मशालामा विष्फोटक पदार्थ राखेको र पछि भारततर्फ गई विष्फोटक पदार्थ लिई आएको अवस्था महोत्तरी भिट्टामोड भन्सारमा पक्राउ परी दायर भएको विध्वंसात्मक अपराध सम्बन्धी फौ.मि.नं. ४ को मुद्दामा निजहरुले विध्वंसात्मक अपराध गरेको ठहरी विश्वनाथ गुप्ता, मजिद मियाँ, किशोरी साह, हरदेव चौधरीलाई जनही १० वर्षका दरले कैद र अभियुक्त गुरुदेवदास तत्मा र केदारकुमार कार्कीलाई जनही ५ वर्षका दरले कैद हुने ठहरी फैसला भएको तर अपराधमा निजहरुको संलग्नता रहे भएको प्रमाणित हुन नआएको हुँदा निजहरु सबैले यस अभियोगमा भने सफाई पाउने ठहर्छ ।

९३.   अभियुक्त त्रिभुवन ढकाल, इन्द्रबहादुर विश्वकर्मा, दाताराम बजगाई, खेमराज पराजुलीको हकमा त्रिभुवन ढकाल र इन्द्रबहादुर विश्वकर्माले बाँके मालपोत कार्यालयमा विष्फोटक पदार्थ राखेको ठहरी फौ.मि.नं. १४ को मुद्दामा निजहरुलाई जनही १० वर्षका दरले कैद हुने ठहर भएको निजहरु दुवैजनाले भैरहवा रत्नलजमा विष्फोटक पदार्थ राखे समेतमा निजहरुलाई जनही कैद वर्ष १० भइसकेको, खेमराज पराजुलीले धनगढी अञ्चल प्रहरी कार्यालय नजिक विष्फोटक पदार्थ राखे समेतमा १५ वर्ष कैद भइसकेको, दाताराम बजगाईलाई विध्वंसात्मक अपराध गरेमा फौ.मि.नं. ११ को मुद्दाबाट कैद वर्ष (५) गर्ने समेत ठहरी फैसला  भएको तर निजहरुको यस अभियोगमा संलग्नता रहे भएको प्रमाण वादी पक्षबाट आउन सकेको नपाइँदा सफाई पाउने ठहर्छ ।

९४.   संकलित सबूद प्रमाणहरु समेतबाट राष्ट्रिय पञ्चायत भवनमा बम विष्फोटन गर्ने गराउने अपराधमा अनार सिंह, केशव भेटवाल, दिनेशप्रसाद श्रेष्ठ, राम कार्की, शोभाकर धनन्जय, भिखारी पण्डित, राम निवास गुप्ता, शोमन चौधरी र सुकदेव चौधरीको कुनै किसिमको संलग्नता रहेको नदेखिँदा निजहरुले यस अभियोगमा सफाई पाउने ठहर्छ र अमर प्रधान, चन्द्र विजय साहको हकमा पनि कसूर कायम गर्ने मनासिब प्रमाण देखिन नआउँदा निजहरुले पनि अभियोगबाट सफाई पाउने ठहर्छ । अभियृक्त मध्येका श्यामकिशोर कुशवाह, कटकबहादुर मल्ल, रमेशकुमार कार्की, भपुलाल, जितेन्द्र महासेठ, युगलकिशोरलाल कर्णले यस अभियोगमा आफ्नो संलग्ता नभएको भनी कसूरमा इन्कार गरेका, निजहरुको साक्षीको बयानबाट पनि सो कुरा समर्थन भएकै पाइएको र श्री ५ को सरकार तर्फबाट अभियोग प्रमाणित गर्ने ठोस सबूद प्राप्त हुनआएको नपाइँदा निजहरुले पनि यस अभियोगबाट सफाई पाउने ठहर्छ । अमृत चौधरी र सन्तनु कार्कीउपर लगाएको अभियोग अनुसारको कसूर गरेको प्रमाणित हुन नआएकोले निजहरुले पनि सफाई पाउने ठहर्छ । अभियुक्त शिवशंकर थापा, जीवन सार्की, जगरनाथ दास, मेथरु साह, विरेन्दर साह, मुस्लिम मिया, महादेव साह, बुदुर चौधरी समेतको हकमा हेर्दा सो तालीम निजहरुलाई मन नपरी भागी घरमा आएको देखिएकोले निजहरुको अपराधिक मनसाय नदेखिएको यस अभियोगमा निजहरुको संलग्नता रहे भएको प्रमाण वादी श्री ५ को सरकारले गुजार्न नसकेकोले शंकाको भरमा कसूर कायम गर्न नमिल्ने हुँदा निजहरुले पनि यस मुद्दामा सफाई पाउने ठहर्छ । सबूद प्रमाणको अभावमा मोहितलाल चौधरीलाई कसूरदार कायम गर्न न्यायोचित नहुँदा निजले पनि सफाई पाउने ठहर्छ ।

९५.   हेम शंकर गुप्ता, राजेश कसाई, हरि भुजेल महेन्द्रकुमार, अशेश्वर यादव, सोनेश्वर यादव, प्रदिपकुमार, सत्यनारायण, सन्तोष भन्ने फेकन पासवान, गौरीशंकर साह, रामरत्न यादव समेतका अभियुक्तहरुको हकमा अदालतबाट जारी भएको म्यादमा हाजिर नभई गुजारी बसेका तर निजहरुले यस अभियोग सम्बन्धमा कसूर गरेको भन्ने सबूद प्रमाणको अभाव हुँदा निजहरुले सफाई पाउने ठहर्छ ।

९६.   महेन्द्र सक्ष, गजेन्द्र विश्वकर्मा, ज्ञानचन्द्र, ईश्वर लामा, धर्मेन्द्र साह, ज्ञानेन्द्र लामा, नवीन राई, पञ्चलाल, सफरुद्दिन, नवीन कार्की समेतका हकमा रामकृष्ण महतोले गरेको बयानमा गजेन्द्र विश्वकर्मा पोखरामा विष्फोटक पदार्थ लिई गएकोमा आफ्नै साथमा विष्फोटन भई मरेको भन्ने उल्लेख गरेको छ । तर संकलित सबूद प्रमाणबाट निजहरुले गरेको कार्य विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को ३(१) ३(२) भित्र परेको नदेखिँदा निज अभियुक्तहरुले यस मुद्दामा सफाई पाउने ठहर्छ ।

९७.   अभियुक्तहरु अशोक मियाँ, शुशिलकुमार शुक्ला, शेष अब्दुल, रामचन्द्र लामा, शनिश्चरा ठटेरी, कृष्ण साह, हेमराज रावत, मोहनराज रावत, शंकर पासवान, मोहरी पंजियार, सुरेश पंजियार, रामु हाथी, शिवनाथ पासवान, रामनारायणदेव, राजनारायण पोखरेल, विमलप्रसाद साह, रामनाथ ठाकुर, कपिलदेव मण्डल र मनोजप्रसाद सिंहले राष्ट्रिय पञ्चायतमा घटेको वारदात सम्बन्धमा के के अपराध गरे भनी प्रमाणिक रुपले खुलाउन सकेको नदेखिँदा निजहरुले पनि यस मुद्दामा सफाई पाउने ठहर्छ, अनिलकुमार सिंहको हकमा निजको घरद्वार भारत गोरखपुर मोटी टोल उल्लेख भएको देखिएकोले यसै सरहद भित्र फेला परेको बखत ठहरे बमोजिम हुने, राष्ट्रिय पञ्चायत भवनमा भएको क्षति र माननीय रा.पं.स.हरुको उपचारको लागि खर्च भएको हकमा धन  सम्पत्ति क्षति भएको भन्नाले भौतिक क्षतिलाई जनाउने, शारीरिक चोट लागेको व्यक्तिले उपचार गराए बापतको खर्च यो ऐन अन्तर्गत पर्न नआउने हुँदा उपचार खर्च बापतको रकम भराई दिन मिल्दे देखिएन । भवनको क्षति भएको रु.३५,७७३।३७ प्रतिवादीमध्ये मृत्युदण्डको सजायँ पाउने रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह, विश्वेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा बाहेक कैदको सजायँ पाउने चन्द्रवदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र खेमराज मायालुबाट राष्ट्रिय पञ्चायत सचिवालयले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको विध्वंसात्मक अपराध सम्बन्धी अदालतबाट मिति ०४४।२।१४।५ मा फैसला भएको देखिन्छ ।

९८.   यस अभियोगमा मृत्यु दण्डको सजायँ पाएका अभियुक्तहरु देखि बाहेकका अन्य जन्मकैदका सजायँ पाएका व्यक्तिहरुउपर हदैसम्म सजायको माग दावी लिई वादी श्री ५ को सरकार तर्फको पुनरावेदन दावी छ भने सफाई पाएका अभियुक्तहरु रामकृष्ण महतो, राजेन्द्र झा, इश्वरी ठाकुर, महेन्द्रप्रसाद बजगाई, पवनकुमार साह, टेकेन्द्र विश्वकर्मा, सलबहादुर विश्वकर्मा, भूलासदा मुसहर, हरिदेव मण्डल समेत रामराजाको गिरोहमा संलग्न भई विध्वंसात्मक कार्य सम्बन्धी तालीम लिएको, भनी संकलित सबूद प्रमाणबाट खुल्न आई अपराधमा संलग्न रहेको अवस्थामा निजहरुलाई सफाई दिने गरी गरिएको फैसला मिलेको छैन । अभियुक्त विश्वनाथ गुप्ता, हरदेव चौधरी, किशोरी साह, मजिद मियाँ, गुरु देवदास तत्मा, केदारकुमार कार्की गिरोहमा तालीम लिई विध्वंसात्मक अवाञ्छित गतिविधिमा संलग्न रहेको प्रष्ट छ । तसर्थ प्रतिवेदन माग दावी बमोजिम गरी पाउँ । त्यसै अभियोग प्रतिवेदनमा लेखिएका अभियुक्तहरुलाई सफाई दिने गरी भएको फैसला मिलेको छैन । सजायँ पाएका अभियुक्तहरुको हकमा हेर्दा फौज्दारी मुद्दामा वारदात अलग अलग भएपछि सजायको दायित्वबाट छुट्कारा नपाउने हुँदा अन्य मुद्दामा सजायँ पाएको भन्दैमा प्रस्तुत मुद्दामा सफाई दिने गरेको फैसला नमिलेको, प्रस्तुत मुद्दामा अभियुक्तहरु सामूहिक रुपले परिणाम निस्कने र सामूहिक एउटै लक्ष्य भएको गिरोहका सदस्य भएको हुँदा र एउटै लक्ष्य विध्वंसात्मक कार्यका लागि काम गरेको हुँदा प्रतिवेदन माग बमोजिम सम्पूर्ण अभियुक्तहरु मृत्युदण्डको सजायँ पाएका बाहेकलाई हदैसम्म सजायँ गरी पाउँ भनी वादी श्री ५ को सरकार तर्फबाट विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको पाइन्छ भने साधक तहबाट इन्साफ जाँचको लागि पनि आएको देखिन्छ ।

९९.   नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले रामराजाप्रसाद सिंहको गिरोहमा अभियुक्तहरुले तालीम लिई गिरोहको अह्रन खटन अनुसार विध्वंसात्मक कार्यका लागि विष्फोटक सामानहरु लिई आउँदा पक्राउ परेका अभियुक्तहरुको साविती बयान, घटनास्थल प्रकृति मुचुल्का, बरामद भएको विष्फोटक पदार्थहरु समेतबाट सफाई पाएका सम्पूर्ण अभियुक्तहरु लगायत दावी बमोजिम सजायँ नभई कम सजायँ पाएका अभियुक्तहरु समेत अवाञ्छित गतिविधिमा संलग्न रहे भएको प्रष्ट छ । विध्वंसात्मक अपराध सम्बन्धी ऐनको दफा ३ को परिभाषा अनुसार गिरोहको उद्देश्य अनुकूलको कार्यमा स्वइच्छाले वा पारिश्रमिक लिई वा नलिई लाग्नु पनि अपराधिक कार्य मानिन्छ । फरार रहेका अभियुक्तहरुको हकमा पनि ऐनको दफा ११(१) को व्यवस्था अनुसार आफ्नो सफाईको सबुद दिन नसक्नुबाट निजहरुको अपराधमा संलग्नता रहेको र एकै उद्देश्यले एकै परिणाम निस्कने विध्वंसात्मक कार्यका लागि काम गरेका अभियुक्तहरुलाई दावी बमोजिम सजायँ नभएको र सफाई समेत दिएको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला मिलेको नहुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सम्पूर्ण अभियुक्तहरुलाई हदैसम्म सजायँ गरिपाउँ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत   सुनियो ।

१००.   प्रस्तुत मुद्दामा मुख्यतः विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ प्रयोग हुन सक्ने नसक्ने र अभियुक्तहरुलाई दावी बमोजिम सजायँ नभएको साथै सफाई दिएको भनी ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णायक विषय देखिन आयो ।

१०१.   यसमा मिति २०४२।३।६ गते राष्ट्रिय पञ्चायत भवनको प्रवेशद्वारमा विष्फोटक पदार्थ बम विष्फोटन भई भवनको भौतिक क्षति भएको, सोही घटनामा विष्फोटनमा परी राष्ट्रिय पञ्चायतका सदस्य डम्बरजङ्ग गुरुङ, विष्णुप्रसाद दवाडीको मृत्यु भएको, रा.पं.स. जनकबहादुर शाह, दीपबहादुर सिंह, भोलामान सिं थापा समेत घाइते भएको भन्ने मिसिल संलग्न रहेको घटनास्थल प्रकृति मुचुल्का, मृतकहरुको लाश जाँच प्रतिवेदन आदि समेतबाट पुष्टि भएको देखिन्छ । प्रस्तुत वारदात लगायत काठमाडौंमा भएका सोही मितिको अन्य विष्फोटन गर्न आएका अभियुक्तहरु मध्येका पक्राउमा परी थुनामा रहेका चन्द्रदेव ठाकुरले हाम्रै समूहका प्रेमबहादुर विश्वकर्मा र विश्वेश्वर मण्डलले गमलामा बम फिट गरी उक्त स्थानमा राखेका थिए भनी शंकारहित तवरले लेखाई दिएकोबाट पनि अपराध घटेको तथ्य प्रमाणित हुन आएको छ ।

१०२.   उक्त वारदातलाई विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध भनी सोही ऐनको दफा ७(१), ७(२) अनुसार अभियुक्तहरुलाई सजायँ गरी पाउँ भनी वादी श्री ५ को सरकार तर्फबाट मिति २०४२।९।२५ मा मुद्दा दायर भएको देखिन्छ भने वारदात २०४२।३।६ को पाइन्छ । ऐन, २०४२।५।३ मा लालमोहर लागी सो मितिदेखि प्रारम्भ भएको छ । तर ऐनको दफा ११(२) मा प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराध सम्बन्धमा कुनै कानूनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानून बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न पनि उक्त ऐन बनेको देखिन्छ । प्रस्तुत ऐनको प्रावधान संविधानको धारा ११(३) को प्रतिकूल भयो कि भन्नेतर्फ हेर्दा, नेपाल अधिराज्यको सुरक्षा, शान्ति र व्यवस्था कायम राख्न, सर्वसाधारणको जिउज्यान र धन सम्पत्ति तथा महत्वपूर्ण सार्वजनिक सरकारी र गैरसरकारी संस्थान, भवन र साधनहरु समेतको सुरक्षा गर्न विध्वंसात्मक अपराधलाई विशेष रुपले नियन्त्रण गर्न तथा तत्सम्बन्धी सजायको विशेष व्यवस्था गर्न उक्त ऐन बनेको कुरा प्रस्तावनाबाट देखिन्छ भने संविधानको धारा ११(१) मा जेसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्यको लागि राज्यले कानून बनाउन सक्ने र त्यसरी बनेको कानूनको आधारमा धारा १७(१) का आधारमा त्यस्तो हकहरुको प्रयोगलाई बन्देज समेत लगाउन सक्ने व्यवस्था रहेको, उक्त ऐन संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्य अनुकूल बनेको प्रष्ट देखिन आएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संवैधानिक तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्‍याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ ऐन) बमोजिम कारवाही हुन र सजायँ गर्न समेत संविधान र कानून अनुकूल नै देखिन्छ ।

१०३.   अब विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसलाबाट दावी बमोजिम सजायँ नपाएको र सफाई पाएका अभियुक्तहरुको हकमा पुनरावेदन दावी बमोजिम हुन नहुनेतर्फ विचार गर्दा नेपालमा विध्वंसात्मक कार्य गरी गराई आतंक समेत मच्चाउने उद्देश्यले विदेशी भूमिमा बसी रामराजाप्रसाद सिंहको नेतृत्वमा संचालित  गिरोहमा विध्वंसात्मक कार्यको विशेष तालीम समेत प्राप्त गरेका विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्मा गिरोहको अह्रन खटन अनुसार विध्वंसात्मक कार्य गर्न विष्फोटक पदार्थ सहित काठमाडौंमा आएका र निजहरुले नै प्रस्तुत वारदात गरे गराएको कुरा मिसिल संलग्न रहेका र घटनास्थल प्रकृति मुचुल्का, सोही विष्फोटनमा परी मृत्यु भएका व्यक्तिहरुको लास जाँच मुचुल्का, विष्फोटनमा घाइते भएका व्यक्तिहरुको बयान बकपत्र र उक्त अभियुक्तहरु मध्येका चन्द्रदेव ठाकुरको साविती बयान समेतबाट अभियुक्तहरुमध्ये प्रेमबहादुर विश्वकर्मा र विशेश्वर मण्डलले गमलामा विष्फोटक पदार्थ बम फिट गरी राष्ट्रिय पञ्चायतको मूल द्वारमा लगी राखेको प्रमाणिक रुपबाट पुष्टि हुनआएको छ । उक्त कार्य गर्न गराउन अह्रन खटन गरी पठाउने व्यक्तिहरुमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंह भएको, वारदातमा सहयोग सम्म गर्ने अन्य अभियुक्तहरुमा चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र खेमराज मायालु रहेका संकलित सबूद प्रमाणबाट देखिन्छ । अभियुक्तहरु मध्ये विशेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंहलाई प्रतिवेदन दावी बमोजिम नै सजायँ भएको पाइन्छ भने अभियुक्तहरु चन्द्रदेव ठाकुर, विश्वनाथ चौधरी, शिवकुमार विश्वकर्मा, खेमराज मायालुको हकमा जन्मकैदको सजायँ भएको देखिन्छ । तर उल्लिखित अभियुक्तहरु सबैलाई ऐनको दफा ७(१) बमोजिम सजायँ गरी अन्य अभियुक्तहरुलाई सोही अपराधमा ऐनको दफा ७(२) बमोजिम सजायँ गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर रहेको पाइन्छ । दावी बमोजिम सम्पूर्ण प्रतिवादीहरुलाई सजायँ हुने नहुने सम्बन्धमा विचार गर्दा, विध्वंसात्मक अपराध गरी कसैको जिउज्यान गएको रहेछ भने त्यस्तो अपराध गर्ने गराउने वा षडयन्त्र गर्ने मुख्य व्यक्तिलाई र त्यस्तो अपराध गर्न लगाउनेलाई मृत्युदण्डको सजायँ हुनेछ भनी ऐनको दफा ७(१) मा र सो बमोजिम सजायँ हुने व्यक्ति बाहेक उक्त ऐन बमोजिम अपराध गर्ने अन्य व्यक्तिलाई कसूरको मात्रा हेरी ५ वर्षदेखि जन्मकैद सम्मको सजायँ हुनेछ भनी दफा ७(२) मा व्यवस्था भएको पाइन्छ । तर निज अभियुक्तहरु चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र खेमराज मायालुले यस अपराधमा सहयोगसम्म गरेको मिसिल संलग्न रहेको प्रमाणबाट देखिन्छ, वादी श्री ५ को सरकारबाट निजहरुले पनि अपराध नै गरेको भन्ने सबूद शंकारहित तवरले पुष्टि गर्न सकेको नपाइँदा निजहरुलाई ऐनको दफा ७(२) अनुसार उपरोक्त उल्लिखित प्रतिवादीहरु चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र खेमराज मायालुलाई जन्मकैदको सजायँ गर्ने गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसलामा त्रुटी देखिन आएन ।

१०४.प्रस्तुत अभियोगबाट सफाई पाएका अभियुक्तहरुको हकमा विचार गर्दा बम विष्फोटन भएको सम्बन्धमा निजहरुको संलग्नता के कस्तो थियो भन्ने तथ्य सरकारी गवाहले खुलाउन सकेको, यी अभियुक्तहरु यस अपराधमा संलग्न थिए भन्ने कुराको प्रमाण वादी श्री ५ को सरकारतर्फबाट पनि प्राप्त हुनसकेको, पक्राउमा परेका अभियुक्तहरुले पनि यी अभियुक्तहरुको संलग्नता रहे भएको तथ्ययुक्त प्रमाण आएको र मिसिल संलग्न सबूद प्रमाणहरुबाट पनि निज अभियुक्तहरु अपराधमा संलग्न रहे भएको तथ्य खुल्न आएको नपाइँदा, विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको अभियोग केवल शंकाको भरमा मात्र ठहर गर्न न्यायसंगत नहुने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने नै देखिन्छ । तसर्थ उपरोक्त आधार प्रमाणहरु समेतबाट विरुद्ध खण्डमा लेखी आएका प्रतिवादीहरुलाई यस अभियोगमा मात्र सफाई दिने ठहर गरेको र कसूर नै कायम गर्न नमिली सफाई दिने समेत ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसलामा  कुनै कानूनी त्रुटी देखिन नआउँदा इन्साफ मनासिब ठहर्छ । वादी पुनरावेदक श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । उक्त अदालतको फैसला उपर पुनरावेदन नगर्ने प्रतिवादीहरु रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह, विश्वेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा समेतको हकमा साधक तहबाट इन्साफतर्फ विचार गर्दा, वारदात नभएको, वारदातमा आफ्नो संलग्नता नरहेको, वारदात आफूले नगरे नगराएको भन्ने कुनै जिकिर कहीं कतै नपाइएको, घटनास्थल प्रकृति मुचुल्का, विष्फोटक पदार्थ बम सहित पक्राउ परेका अभियुक्तहरु र काठमाडौंको विभिन्न ठाउँमा विष्फोटन गर्न खटी आएका अभियुक्त मध्ये चन्द्रदेव ठाकुरको समेतको साविती बयानबाट अभियुक्तहरु मध्ये विशेश्वर मण्डल र प्रेमबहादुर विश्वकर्माले राष्ट्रिय पञ्चायत भवनको मुल द्वारमा बम राखी विष्फोटन गराई भवनको भौतिक क्षति र रा.पं.स.डम्बरजंग गुरुङ्ग, जाजरकोटको लेखा नियन्त्रक विष्णुप्रसाद दवाडीको मृत्यु भएको, निज अभियुक्तहरुलाई नेपालमा विध्वंसात्मक कार्य गर्न गराउन विदेशी भूमिमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले खडा गरेको गिरोहले खेमराज मायालु समेतको सहयोगबाट विष्फोटक पदार्थ सहित काठमाडौंमा विध्वंसात्मक कार्य गर्न गराउन पठाएको सिद्ध हुन आएकोले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(१) अनुसार अभियुक्तहरु विशेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहलाई मृत्यु दण्डको सजायँ गर्ने ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको इन्साफ समेत मनासिब ठहर्छ । साधकको लगत कट्टा गरी दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.पृथ्वीबहादुर सिंह,

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल ज्येष्ठ २४ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु