निर्णय नं. ३६०५ - ज्यान

निर्णय नं. ३६०५ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको फौ.पु.नम्बर ६१५, सा.नं. ९६
फैसला भएको मिति : २०४५।९।४।१ मा
पुनरावेदक/प्रतिवादी : इलाम कारागार शाखामा थुनामा रहेकी हर्कमाया लिम्बुनी
विरुद्ध
विपक्षी/वादी : हर्कबहादुर लिम्बुको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) आफू अविवाहित भई करणी लिनु दिनुबाट गर्भ रही जन्मेको बच्चालाई मारेको भन्ने देखिँदा अविवाहित अरुको करणीबाट गर्भ रहन गई बालिका जन्मेकोले सामाजिक लोकलाजबाट बच्नसम्म अपराध गरेको भन्ने देखिँदा घटी सजायको लागि राय लगाएको मनासिबै हुँदा सो अपराध गरेको अवस्थाको विचारबाट अभियुक्तलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं.१८८ नं.ले निज अभियुक्तलाई कैद वर्ष दश (१०) हुने ।
(प्रकरण नं. १४)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ :
२. बडा बाबु दलबहादुरकी जेठी छोरी ठुली कान्छी नाम गरेकी अविवाहिता केटीले कस्को गर्भ बोकी मिति २०४२।१।२४ गते बेलुकी ५ बजेतिर दलबहादुरकै घरमा छोरी जातकी नानी पाई मृतक अवस्थामा छ, भन्ने सुनी निज ठुली कान्छीसँग बुझ्दा कुनै कुरा नगरेकोले लाश सुरक्षित गरी कानून बमोजिम गरी पाउँ भन्ने समेत हर्कबहादुर लिम्बुको जाहेरी दर्खास्तपत्र ।
३. म अविवाहित हुँ । दोख बस्ने धनबहादुर इजमसंग चिनाजानी भई तिमीलाई लान्छु भनी विश्वास दिलाएकोले २०४१ साल साउन महिनामा सम्भोग गर्न दिएँ । उ पल्टन गयो । त्यही सम्भोगबाट गर्भ रह्यो । मिति २०४२।१।२४ गते दिनको २ बजे घरमा कोही नभएको बेला मतान घरमा नानी पाउँ । नानी जन्मिएपछि सास फेर्यो र मुख बायो । त्यसपछि सास फेरे जस्तो लागेन मर्यो जस्तो लागी कसैले थाहा नपाउने गरी धनड्डे जंगलको पातालमा ठूलो ढुंगाको चेपमा लगी ढुंगाले थिची घर आएको अवस्था महिला संगठनको कोषाध्यक्ष हर्कमाया गुरुङ्गनीले थाहा पाई सो कुरा मैले भनेपछि त्यस ठाउँमा गई मृतक बालिका बोकी घर मतानमा ल्याई राखेको हुँ भन्ने प्रतिवादी हर्क मायाले प्रहरीमा गरेको कागज ।
४. मिति २०४२।१।२४ गते ३ बजेतिर हर्कमाया लिम्बूनीले मरेको बालिका जन्माएको सुनेका हौं नानी पाउनु भन्दा ६–७ दिन अगाडि घाँस काट्दा दुबिलाको रुखबाट लडेकी थिई । सोही लडेको पीरबाट मृतक नानी जन्माएकी जस्तो लाग्छ भन्ने गौमाया गुरुङनी समेत जना १६ को मिति २०४२।१।३१ गतेको सरजमीन मुचुल्का ।
५. बालिका जन्मी मरेकीले फालेकी हुँ भन्ने प्र.हर्कमायाको कागत र बालिका जम्मिएपछि मृत्यु भएको भन्ने सरजमीनले लेखिदिएको छ । तापनि बालिकाको पोष्टमार्टम गराउँदा इन्जुरी ९क्ष्लवगचथ० बाट मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट भएको लाश जाँच हुँदा निल घाउ चोट देखिएको हुँदा निज हर्कमाया अविवाहिता भई गाउँघर समाजबाट बच्न जन्मिएको बालिकालाई मारी ओडारमा लगी फालेको स्पष्ट देखिन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको संयुक्त प्रहरी प्रतिवेदन ।
६. मेरो विवाह भएको थिएन । दोखु बस्ने धनबहादुर ईजमसंग भेट भई २०४१ साल साउन महिनामा करणी लिनु दिनु गरी सोही करणी विर्यबाट मेरो गर्भ रहन गई मिति २०४२।१।२४ गते दिनको २–३ बजे बाबु दलबहादुरकै घरमा छोरी पैदा भयो । पैदा हुँदा सास अलि अलि थियो त्यसपछि सास फेर्न छोडेकोले घर देखि दक्षिणतर्फको जङ्गलमा लगी ढुङ्गाले छोपी घर आएको हुँ । सो कुरा महिला संगठनको उपसभापति हर्कमायाले थाहा पाई सोधपुछ गर्दा मैले सबै कुरा बताई दिएँ । त्यसपछि भोलिपल्ट मृतक बालिका सहित प्रहरी साथ ताप्लेजुङ्ग अस्पतालमा ल्याई पोष्टमार्टम भएको हो । बालिकाको जिउमा लागेको चोट नीलडाम ओडारबाटै निकाली हेर्दा त्यस्तो चोट पहिला थिएन । बालिका मरिसकेको सम्झी डरले कसैले नदेख्ने गरी ओडारमा लगी राखेको हुँ भन्ने समेतको प्रतिवादी हर्कमाया लिम्बुनीले अदालतमा गरेको बयान ।
७. प्रतिवादी हर्कमाया लिम्बुले प्रहरीमा बयान गर्दा मरे जस्तो लागी ढुङ्गाको ओडारमा फाली आएको भन्ने लेखिएको कुरालाई अदालतमा बयान गर्दा सोही व्यहोरा समर्थन गरी बयान गरेको र मृतकको घाँटीमा नील समेत पर्न गएको पोष्टमार्टम रिपोर्टबाट देखिँदा बच्चा ज्यूँदै जन्मेको र चोटपटकको कारणले मृत्यु भएको प्रष्ट भएकोले आफैं मरेको भन्ने प्रतिवादी जिरहलाई समर्थित हुने सबूदको अभावमा मृतक बालिकाको मृत्यु प्रहरी प्रतिवेदन दावी बमोजिम अभियुक्त हर्कमायाकै कर्तव्यबाट मारेको ठहर्छ भन्ने समेतको ताप्लेजुङ्ग जिल्ला अदालतको फैसला ।
८. जिउँदो बालकलाई मारेको भनी सावित भएकै भरमा डाक्टरको पोष्टमार्टमबाट म जनाना अवलालाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरी शुरु जिल्ला अदालतले गर्ने गरेको इन्साफ उल्टाई शुरु फैसला बदर गरी झुठ्ठा अभियोग दावीबाट न्याय पाउँ भन्ने समेतको प्रतिवादी हर्कमाया लिम्बुनीको जि.का.कारागार शाखा ताप्लेजुङ्ग मार्फत यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
९. प्रतिवादी हर्कमाया लिम्बुनीले बच्चालाई कर्तव्य गरी मारी फालेको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गत सर्वश्वसहित जन्मकैद गर्ने शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन बच्चा आफैं मरेको हुँदा कसैले नदेख्ने गरी फालेकोसम्म हुँदा आरोपित कसूरबाट पूर्ण सफाई पाउँ भन्ने समेत प्रतिवादी हर्कमाया लिम्बुनीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
११. निर्णयार्थ बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले बच्चा जीवित नै जन्मिए पनि जन्मी सकेपछि मरेको हुँदा फालेकोसम्म हो भनी कसूरमा इन्कार रही प्रतिवादी हर्कमायाले बयान गरेको बच्चा जन्मनु भन्दा ६–७ दिन अघि घाँस काट्न जाँदा प्रतिवादी हर्कमाया रुखबाट लडेको थिइन र सोही चोटबाट बच्चा जन्मदै मरेको हुनुपर्छ भनी प्रतिवादी हर्कमायाको बयानलाई नै समर्थन गरी सरजमीनमा लेखाई दिएको र अदालत समक्ष बकपत्र समेत गरेका हुन् । बच्चालाई मारेको मौकामै देख्ने चस्मदिद गवाहको अभावमा शंकाको सुविधा अभियुक्तले पाउने नै हुँदा प्रतिवादी हर्कमायाले आरोपित कसूरबाट पूर्ण सफाई पाउनु पर्छ भनी बहस गर्नु भयो ।
१२. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१३. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी हर्कमायाले अविवाहित भई गाउँघर समाजबाट बच्न जन्मिएको बालिकालाई मारी ओडारमा लगी फालेको स्पष्ट देखिन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी परी प्रस्तुत मुद्दा कारवाही भएको देखिन्छ । पुनरावेदक अभियुक्त हर्कमाया लिम्बुले म अविवाहिता हुँ । धनबहादुर ईजम लिम्बूसंग २०४१ साल साउनमा करणी लिनु दिनु भएकोबाट गर्भ रही मिति २०४२।१।२४ गते छोरी पैदा भयो । अलि अलि सास थियो । केही समयपछि सास फेर्न छाडेको हुँदा मरी सकेको ठानी जंगलको ओडारमा लगी ढुङ्गाले छोपी आएको हुँ भनी प्रहरी र अदालतमा समेत बयान गरेको पाइन्छ । यसबाट जिउँदो बच्चा जन्मिएको भनी स्वीकारेको पाइन्छ । लाश प्रकृति मुचुल्काबाट दाहिने हात सलक्क शरीरको भागमा सटिएको औला खुल्ला कुइनाको भागबाट औलाको पञ्जासम्म केही चिजमा ठोकी मासु नरहेको हड्डी देखिएको देब्रे आँखा माथिको आँखि भौ देखि तालुसम्म छाला कोरिएको र रगत केही मात्रामा निस्केको देखिएको र लाश जाँच प्रतिवेदनबाट मर्ने बच्चीको घाँटीमा दुई औलाको दाग र ठाउँ ठाउँमा घा चोट समेत रहेको पाइन्छ । मृत्युको कारण इन्जूरीबाट मरेको भन्ने उल्लेख भएको छ । यसबाट सो जन्मिएको बच्ची आफ्नै कालगतिले मरेको भन्न सकिने अवस्था रहने लाश प्रकृति मुचुल्का तथा लाश जाँच प्रतिवेदन समेतबाट पुनरावेदकले नै कर्तव्य गरी मारेको भन्ने देखिन आयो । यस स्थितिमा आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रहरी प्रतिवेदन दावी अनुसार मृतक बालिकालाई अभियुक्त हर्कमायाले कर्तव्य गरी मारेको ठहराएको ताप्लेजुङ जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।
१४. अभियुक्त हर्कमाया अविवाहिता युवती भई परपुरुषको गर्भ बोकी बच्चा जन्माउँदा सामाजिक प्रतिष्ठामा आघात पुग्ने अवस्था परी सामाजिक लोकलज्जा बचाउन गरेको प्रस्तुत अपराधमा अन्य प्रकृतिका अपराधी सरह सजायँ तोक्दा चर्को पर्ने महसूस भएकोले निजलाई सर्वश्वसहित जन्मकैदको सट्टा कैद वर्ष १० मात्र सजायँ भए समसामयिक हुने चित्तमा लागेकोले भनी ताप्लेजुङ जिल्ला अदालतले राय लगाएको पूर्वाञ्चल क्षेत्रीय अदालतले समर्थन गरी राय लगाएतर्फ हेर्दा अभियुक्त हर्कमाया लिम्बुनीले आफू अविवाहित भई धनबहादुरसंगको करणी लिनु दिनुबाट गर्भ रही जन्मेको बच्चालाई मारेको भन्ने देखिन्छ । अविवाहित अरुको करणीबाट गर्भ रहन गई बालिका जन्मेकोले सामाजिक लोकलाजबाट बच्नसम्म अपराध गरेको भन्ने देखिन्छ । तसर्थ घटी सजायको लागि शुरु र पूर्वाञ्चल क्षेत्रीय अदालतले राय लगाएको मनासिबै हुँदा सो अपराध गरेको अवस्थाको विचारबाट निज अभियुक्त हर्कमाया लिम्बुनीलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं.१८८ नं.ले निज अभियुक्त हर्कमाया लिम्बूनीलाई कैद वर्ष १० हुने ठहर्छ । अभियुक्तको पुनरावेदन परेकोले पुनरावेदन तहबाट निर्णय भएको हुँदा साधकतर्फ ठहर बोलिरहन परेन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी हर्कमाया लिम्बुनी के अ.बं.१८८ नं.ले कैद वर्ष दश १० हुन्छ । निज मिति २०४२।१।२५ गतेदेखि थुनामा रहेको र हाल इलाम कारागार शाखामा थुनामा रहेको मिसिलबाट देखिँदा थुनिएका मितिदेखि कैद कट्टी गर्नु भनी ताप्लेजुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु .१
प्रतिवादी हर्कमाया लिम्बूनीके ताप्लेजुङ जिल्ला अदालतका मिति २०४२।६।२१ का फैसलाले सर्वश्वसहित जन्मकैद गर्ने गरेकोमा माथि लेखिए अनुसार दश १० वर्ष मात्र कैद हुने भई सो सर्वश्वसहित जन्मकैद नलाग्ने हुँदा सो लगत काटी दिनु भनी ताप्लेजुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु....२
कैद वर्ष दश १० हुने गरी पुनरावेदन निर्णय भएको सूचना पुनरावेदकलाई दिनु...३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.........४
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल पौष ४ गते रोज १ शुभम् ।