निर्णय नं. ३६०७ - कर्तव्य ज्यान

निर्णय नं. ३६०७ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४९८
फैसला भएको मिति : २०४५।७।२३।३ मा
पुनरावेदक/वादी : प्र.ना.नि.दीपक रंजीतको प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. २० बस्ने विद्यालक्ष्मी श्रेष्ठ
मुद्दा : कर्तव्य ज्यान
(१) मर्नेलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण परेको भन्ने नदेखिने लोग्नेले रक्सी सेवन गरेको कारणबाट स्वास्नीले लोग्नेसंग झैझगडा गर्नु स्वाभाविक क्रिया हो । तर यत्तिकै कारणबाट मार्नुपर्ने सम्मको रिसइवी परेको मान्न नमिल्ने ।
(प्रकरण नं. २०)
(२) स्वास्नीले लोग्नेलाई रक्सी सेवन नगर्नु भनी सम्झाउनु अस्वाभाविक हैन, रक्सी नखानु भनी तर्साउनको लागि मर्नेलाई निजको श्रीमतीले साधारण काठले कुटेकोबाट निजको लोग्ने मरेको भन्ने देखिँदा यस्तोमा निज प्रतिवादीले ज्यानसम्बन्धीको १३(३) नं. को अपराध गरेको भनी ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. साविक जस्तै मिति ०४२।३।२९ गते पनि होटल चलाई निज बलराम र निजकी श्रीमती विद्यादेवी श्रेष्ठ राती सुतेकोमा मिति ०४२।३।३२ गते विहान होटल नखोली बलराम र निजकी श्रीमती विद्यादेवी होटल भित्र रहेको र विद्यादेवी रोएको आवाज छरछिमेकीले सुनी बाहिरबाटै जबरजस्ती ढोका खोली भित्र हेर्दा बलराम मरिरहेको खबर छिमेकीहरुले ल्याएकोले गई हेर्दा बलरामको शरीरमा चोटपटक लागेको जमीनमा रगत जमेको घटनास्थलमा चुरा फुटेको र लोग्ने स्वास्नी कहिले काहीं झगडा पनि गर्दथे भन्ने सुनेको समेत हुँदा उपरोक्त घटनास्थलको प्रकृतिबाट निज बलराम श्रेष्ठलाई निजकै श्रीमती विद्यादेवी श्रेष्ठले कर्तव्य गरी मारेको यकीन हुन आएकोले लाश सुरक्षित राखी निजलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.नि.दिपक रंजीतको प्रतिवेदन ।
३. घरको मुनी तलाको बाटाको बीच मझेरीमा पूर्व सिरान, पश्चिम गोडा भई उत्तानो परेको बलरामको लाश रहेको र मृतकको टुपी रहने भागमा १।। इञ्च लामो गहिरो तिखो हतियारले रोपेको घाउ र बाँया आँखानिर तिखो हतियारले रोपेको चोट भई रगत बगेको दायाँ हत्केला, नाडी, पाखुरा, काँधमा निलो डाम परी छाला पिल्सिएको, दाहिने खुट्टाको कुर्कुच्चो र गोली गाँडाको मासु निलो भई सुनिएको, बाँया खुट्टाको गोली गाँठा माथि तिखो हतियारले रोपेको सानो गहिरो घाउ परेको देखिएको मृतक लाश उल्टाई पल्टाई हेर्दा बायाँ हातको छाला खोस्रिएको र कमर मुनि निलो छाला खुइलिएको मृतकको पेन्टमा जताततै रगत लागेको र मृतकको टाउको नजिक काँचको चूरा फुटेको र जमीनमा रगत जमेको समेत भएको घटनास्थल लाश प्रकृति मुचुल्का ।
४. पति मृतक बलराम असाध्य रक्सी खाइरहेकोमा रक्सी छुटाउन कोशिश गर्दै आइरहेको थिएँ । २०४३।३।२९ गते विहानदेखि रक्सी खाएको थिए । बेलुका ५ बजेतिर दोकानमा राती म हटिया गए ६ बजेतिर हटिया गरी आउँदा मेरो पतिले फेरि रक्सी खाई खुट्टा पनि राम्रोसंग टेक्न नसक्ने गरी दोकानमै बसिरहेछन् । म आई पुगेपछि पति चोटामा गएका थिए । त्यसको आधा घण्टापछि माथिबाट आवाज आयो । दोकानमा आएको ग्राहकहरुले के को आवाज हो भनी भन्दा मैले केही भनिन् । रातको ११ बजेतिर दोकान बन्द गरी माथि चोटामा जाँदा मेरो लोग्ने खाटबाट झरी खाटमुनी लडी राखेका थिए । निजलाई उठाई भर्याङबाट मुस्किलले तल झरी आफैं लडेका थिए । नजिकै त्यही भान्सातिर काठ फेला परेको त्यही काठले दुवै हातको पाखुरामा र गोडाको घुँडा गोली गाँठा समेतमा ८–१० चोटी हानें र म पनि त्यहीं विस्तरा लगाई सुते चोटपटक लागेको मैले याद गरिन । बिहान ७ बजेतिर निन्द्राबाट बिउँझी उठी हेर्दा मेरो लोग्ने रात ११ बजेतिर पछारिएको ठाउँमै पछारी रहेको रहेछन् । मैले सो ठाउँमा गई घच्घच्याउँदा पनि नउठेको मरेको जस्तो भई रहेकोेले मैले हल्ला गर्दा वरपरका मानिस जम्मा भएका थिए । टाउकोमा कसरी चोट लाग्यो थाहा छैन । राती तल बजारिंदा टेबुलमा ठोकिएको हुनुपर्छ । मैले कुटेको चोटबाट मरेको भन्ने मलाई लाग्दैन । मारौं भन्ने उद्देश्यले कुटेको होइन । तर्साउने नियतले रीसको आवेगमा कुटेको हो यसरी कुट्दा मरी हाल्ला भनी सोचेको थिइन । मैले कुटेको चोटपटकले मरेको हो या रोगको कारणबाट मरेको हो यकीन भन्न सक्दिन भन्ने समेत व्यहोराको विद्यालक्ष्मी श्रेष्ठको प्रहरीमा भएको बयान ।
५. दोकानमा काम गरी बेलुका १०।११ बजे बाहिर सुत्ने गर्दछौं । ३० गते विहान उठ्दा दोकानमा भिड लागेको थियो र भित्र विद्यालक्ष्मी रोइरहेकी थिइन । डाक्टर बोलाई ल्याउँ भनेकाले जोगवनी डाक्टर बोलाउन गएकोमा डा. भेट भएन । बलराम श्रेष्ठ मरेको भन्थे । श्रीमतीले कुटेको थिएँ भन्थी कुटेको देखिएन भन्ने मृतक बलराम श्रेष्ठको दोकानमा काम गर्ने कृष्णबहादुर खड्का समेत ३ जनाले गरेको कागज ।
६. बलराम श्रेष्ठको लाश पोष्टमार्टम गराउँदा मृतकको शरीरबाट निकालिएको पदार्थ मिसरा जाँचको प्रतिवेदन प्राप्त नभई मृत्युको कारण भन्न नसकिने भन्ने मेडिकल अधिकृतको राय भई शरीरबाट निकालिएको पदार्थ मिसारा जाँचको लागि पठाएको ।
७. १४–१५ दिन अगाडिको कुरा हो, बलराम श्रेष्ठकी श्रीमती विद्यालक्ष्मी अं.६ बजेतिर रोएको सुनेको थिएँ । किन रोएकी भनी हेर्न जाँदा बलराम श्रेष्ठ दोकान भित्र मरीरहेको रहेछ । कसरी मर्यो भनी त्यहाँका मानिसहरुसंग सोध्दा धेरै रक्सी खाने गरेको थियो । केही टि.बी. को विरामी पनि थियो सोही कारणबाट मरेको केही स्वास्नीले कुटेको भन्थे, के भएर मरेको थाहा छैन भन्ने समेत गरी ११ जनाको सरजमीन मुचुल्का ।
८. धेरै दिन अगाडि देखि मृतक बलराम श्रेष्ठलाई निजकी श्रीमती विद्यालक्ष्मी श्रेष्ठले रक्सी नखाउ भन्दा नमानेको र सोही विषयमा झैझगडा हुने गर्दथ्यो । ०४२।३।२९ गते विहान देखि रक्सी खाएर मस्त भएका थिए । रक्सी नखाउ भन्दा नमानी रक्सी खायो भन्ने पिरले पाखुरा र गोडामा काठले कुटेको हो मारौं भन्ने नियतले मारेको होइन भन्ने व्यहोराको विद्यालक्ष्मी श्रेष्ठको बयान ।
९. लाश जाँचको पोष्टमार्टमबाट मृत्युको कारण खुलाउन नसकेको भन्ने मेडिकल अधिकृतको राय, कसैले विद्यालक्ष्मीले कुटेको भन्ने सुनेको, कसैले रक्सी धेरै खाने गरेको भनेको समेत सरजमीन मुचुल्का । मृतकको श्रीमतीले मृतकलाई कुटेको भन्थे भन्ने कृष्णबहादुर खड्का समेतको कागज भएको र विद्यालक्ष्मीको साविती बयान कागज समेतबाट बलराम श्रेष्ठको मृत्यु श्रीमती विद्यालक्ष्मी श्रेष्ठले कुटेको कारणबाट भएको देखिन आएकोले निज अभियुक्त विद्यालक्ष्मी श्रैष्ठउपर ज्यान सम्बधी महलको १३ नं. को देहाय ३ बमोजिम सजायको माग दावी गर्दै स.स.अ.तथा स.स.अ. र प्रहरीको संयुक्त प्रहरी प्रतिवेदन ।
१०. २०४२।३।२९ गते श्रीमान बलराम श्रेष्ठ विहान देखि रक्सी खाई सुती रहनुभएका उठाई हटिया गएँ, हटियाबाट फर्किंदा श्रीमान माथिल्लो तलामा गयो १, १½ घण्टापछि माथिबाट आवाज आयो । रक्सी खाएकोले लडे होला भन्ने ठानी माथि गइन ११ बजे राती दोकान बन्द गरी तलामाथि जाँदा श्रीमान लडी रहनुभएका देखी उठाई रक्सी नखाउ भनेको थियौं मान्नु भएन भनी रिसले काठ लिई कुट्न लाग्दा समाई कुटन नदिई भूइँमा काठ फाली दिएर बलरामलाई सुताई आफू पनि एकछिन तलामा सुत्न गएँ । फेरि तल आवाज आयो फेरि रक्सी खाए होला भनी ठानी तल आइन विहान ७ बजे उठी आउँदा उठाउन खोजी बोलाउँदा नबोलेकाले के भयो भनी कराउँदा गाउँले र छिमेकीहरु जम्मा भेला भए । प्रहरीहरु पनि आए । मलाई प्रहरीले पक्राउ गरेका हुन कुटपिट गरेको छैन । मेरो कुटाइबाट मरेको होइन अघिदेखि लिभर डाईमेज र टि.बि.को रोगी हुनु हुन्थ्यो । सो दिन रक्सी बढी खाएको कारणबाट वहाँको मृत्यु भएको हो प्रहरीलाई दोकानबाट उधारो सामान नदिएको कारणबाट रीसाई कागज पढी वाची नसुनाई कुटी नभनेको कुरा बढी लेखी सही गराएको हो । बेञ्चबाट उठ्दा ठक्कर लागी मरेको हुनुपर्छ मैले कुटेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी विद्यालक्ष्मीदेवीको अदालतमा भएको बयान ।
११. ०४२।४।२०।१ का आदेश बमोजिम भई आएका प्रतिवादीको घा जाँच केश फाराम समेतबाट पछि ठहरे बमोजिम हुने गरी अ.बं.११८ नं. को दफा ३ को उपदफा ४ को अवस्था देखिन आएकोले सोमा उल्लेख गरिए अनुसार रु.२०००।– धरौटी दिए लिई तारेखमा राख्ने नदिए अ.बं.११८ नं. को दफा १९ बमोजिम (ख) श्रेणीको सिधा खुवाई थुनामा राख्ने भन्ने ०४२।४।२१।२ को थुनछेकको आदेश ।
१२. मृतकको पेन्टमा लागेको प्र.विद्यालक्ष्मीको खुट्टामा लागेको र घटनास्थलमा फेला परेको पदार्थ रगत र मृतकको शरीरबाट निकालिएको पदार्थ मिसारस समेत जाँच भएको प्रतिवेदन प्राप्त भएको ।
१३. मृतक टी.बी. को रोगी भएको र रक्सी धेरै खाने गर्दथे । ज्यादा रक्सी खाएर दोकान घरमा जाँदा चोट लागी मरेको सुनेको हुँ । विद्या लक्ष्मीको कुटाईबाट मरेको होइन, विद्यालक्ष्मीले कुटेको होइन भन्ने व्यहोराको खेमबहादुर विश्वकर्माको बकपत्र र रक्सी नखाउ भनी डाक्टरले मनाही गरेको नमानी रक्सी खाई ठक्कर लागी मरेको सुनेको हो, विद्यालक्ष्मीको कुटाईबाट मरेको होइन प्रहरीले जबरजस्ती डर, भय, त्रास देखाई प्रतिवादीलाई सावित गराएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी साक्षी किशोर शाहीको बकपत्र रहेछ ।
१४. रक्सी नखाओस् भनी पतिकै हितका निम्ति साधारण काठले कुटपिट गर्दा त्यसैको चोट पीरले मृत्यु भएको देखिन आएकोले प्रतिवादी विद्यालक्ष्मीलाई कर्तव्य गरी ज्यान मारेमा हुने सजायँ सम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम माग गरिएको प्रहरी प्रतिवेदनसंग सहमत हुन सकिएन । रोगी लोग्नेले रक्सी नखाओस् भनी निजको हितको निमित्त रक्षा शिक्षा गर्न स्वास्नी विद्यालक्ष्मीले साधारण काठले हानेको चोटबाट भवितव्य भई बलराम श्रेष्ठको मृत्यु भएको ठहर्छ भन्ने शुरु मोरङ जिल्ला अदालतको फैसला ।
१५. अधिकारप्राप्त अधिकारी समक्ष भएको कागज आफ्नो स्वेच्छा विरुद्धको कागज हो भनी प्रतिवादी विद्यालक्ष्मीले अन्यथा प्रमाणित गर्न नसकेको घटना हुँदा काठ र छुरी पनि प्रयोग भएको देखिएकोले स्वास्नीले लोग्नेलाई रक्षा शिक्षा दिनको लागि कुटेको भनी शुरुले गरेको तर्क मिलेको नदेखिँदा शुरुको फैसला बदर भई प्रतिवादीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१६. प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम ठहर्याउन न्यायोचित नहुँदा सो को कसूरदार नठहराई सोही ज्यानसम्बन्धीको ६(३) बमोजिम भवितव्य ठहराई सजायँ गरेको मोरङ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४४।४।१२ को फैसला ।
१७. प्रतिवादी मर्ने बलराम श्रेष्ठलाई कुटेको चोटबाट मर्न गई ज्यानसम्बन्धीको १३(३) नं.को अपराध गरेको भन्ने मिसिल प्रमाणबाट देखिएकोमा भवितव्य ठहराएको इन्साफ मिलेको छैन प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ हुनुपर्छ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।
१८. पुनरावेदक श्री ५ को सरकारतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादीले मर्ने बलरामलाई काठले कुटेको भन्ने कुरा अदालत समेतमा बयान गरेको छ मर्ने बलराम कर्तव्यबाट मरेको भन्ने प्रष्ट छ । यस्तोमा भवितव्य ठहराएको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन । प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
२०. यसमा निर्णयतर्फ हेर्दा मर्ने बलराम श्रेष्ठको मृत्यु श्रीमती विद्यालक्ष्मी श्रेष्ठले कुटेको कारणबाट भएको देखिन आएकोले निज अभियुक्त विद्यालक्ष्मी श्रेष्ठउपर ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी देखिन्छ । अभियुक्त विद्यालक्ष्मी श्रेष्ठले मैले कुटेको चोटबाट मरेको भन्ने लाग्दैन । मारौं भन्ने उद्देश्यले कुटेको होइन । तर्साउने नियतले कुटेको भनी प्रहरीमा बयान गरेको पाइन्छ । तर अदालतमा बयान गर्दा कुटपिट गरेको छैन, कुटाईबाट मरेको होइन, अघि देखि लिभर डाइमैज र टि.वि.को रोगी हुनुहुन्थ्यो, रक्सी बढी खाएको कारणबाट मृत्यु भएको भनी इन्कार रहेको देखिन्छ । मृतक बलराम श्रेष्ठ र अभियुक्त विद्यादेवीको बीच लोग्ने स्वास्नीको नाता भन्ने देखिएको छ । मर्ने लोग्ने बलरामले रक्सी पिउने गरेको कारणबाट बेला बेलामा झगडा भइरहन्थ्यो भन्ने सरजमीनका मानिसको कथन रहेको छ । तर मर्ने बलराम श्रेष्ठलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण परेको भन्ने देखिँदैन । लोग्नेले रक्सी सेवन गरेको कारणबाट स्वास्नीले लोग्नेसंग झैझगडा गर्नु स्वाभाविक कृया हो । तर यतिकै कारणबाट मार्नु पर्ने सम्मको रिसइवी परेको मान्न मिलेन । स्वास्नीले लोग्नेलाई रक्सी सेवन नगर्नु भनी सम्झाउनु अस्वाभाविक हैन । रक्सी नखानु भनी तर्साउनको लागि मर्ने बलराम श्रेष्ठलाई निजकी श्रीमती प्रतिवादी विद्यालक्ष्मीले साधारण काठले कुटेकोबाट निज प्रतिवादीको लोग्ने बलराम श्रेष्ठ मरेको भन्ने देखिन्छ । यस्तोमा निज प्रतिवादी विद्यालक्ष्मी श्रेष्ठले ज्यानसम्बन्धीको १३(३) नं. को अपराध गरेको भनी ठहर गर्न मिल्ने देखिन आएन । तसर्थ प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । भवितव्यको वारदात ठहराई प्रतिवादी विद्यालक्ष्मी श्रेष्ठलाई ज्यानसम्बन्धीको ६ नं. को देहाय ३ बमोजिम सजायँ गरेको मोरंग जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल कार्तिक २३ गते रोज ३ शुभम् ।