शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६०८ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६०८     ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४५ सालको फौ.सा.नं. १३५

फैसला भएको मिति : २०४५।३।१४।३ मा

 

वादी : रत्नबहादुरको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : नवलपरासी गा.पं.कावास्वती रैतान सेरी सुकुम्बासी टोल बस्ने रत्नबहादुर पुलामी मगर

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                फ्नो श्रीमती माइतबाट घर जाउँ हिंड भनी भन्दा जान्न भनी भनेकोबाट तत्काल उठेको रिसले कर्तव्य गरी मारेको भन्ने देखिँदा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने ।

(प्रकरण नं. १२)

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२.    मेरी छोरीको छोरी वर्ष १९ की डिलमाया सार्केनीलाई २०४२ साल ज्येष्ठ महिनामा रनबहादुरले लगेका र २०४२।६।११ गते निज नातिनी मेरो घरमा आइ बसेकी ऐ.१६ गते विहान निजको लोग्ने रनबहादुर पुलामी मगर पनि आएका र निज रनबहादुरले नातिनीलाई जाउँ भनी फकाएको र नातिनी जान मानेकी थिइन । म सुतेपछि अं.दिन ३:३० बजेको समयमा हल्ला भई उठ्दा नातिनी डिलमायालाई खुकुरीले हानी पल्टाएको देखी छेक्न जाँदा मलाई समेत हान्न आएकोले म गुहार माग्दै भागे गाउँलेहरु समेत जुटे । निज रनबहादुरले आफ्नो पेटमा समेत खुकुरीले हानी घाइते भएका छन् । निज रनबहादुरले अपराध गरेको हुँदा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको रत्नबहादुर सार्कीको जाहेरी दर्खास्त रहेछ ।

३.    बु.न.पं.वडा नं.८ शिवनगर स्थित १२ हात लम्बाई ८ हात चौडाईको १ तल्ले झुपडी फुस र थाकले छाएको घरमा खरिया माथि गुन्द्री विछ्याएको सो माथि आलो रगत सुकी सकेको सो खटिया मुन्तिर पश्चिम टाउको पूर्व गोडा गरी घोप्टो अवस्थामा रहेको मृतकको लाश सो लाशको खुट्टा देखि २ फिट पूर्वमा फलाम २ ईन्चको काठको विड भएको पितलको काँचो ठोकिएको रगताम्य भएको धारिलो खुकुरी भएको मृतकको पछाडि टुप्पी निर टाउकोमा २ ईन्ज लामो ½ इन्च चौडाको धारिलो हतियारले काटेको घाउ सो देखि मुन्तिर घाँटीमा पटकपटक काटेको आलो घाउ अं.४ इन्च गहिरो घाँटीको गोलाई मध्य २ भाग काटिएको हड्डी देखिएको समेत लाश प्रकृति विवरण मुचुल्का रहेछ ।

४.    २०४२ साल बैशाखमा डिलमाया भनिएकी फुलमाया सर्किनीलाई चिनीप्रितिमै माया प्रेम भई मैले ल्याएको २०४२ सालको तिज मान्न माइती घरमा गएकी तिज सकिएपछि म निजलाई लिन जाँदा सासूले मलाई छक्याई सो माइतिबाट बुटवलतिर लिई हिंडी छन् । पत्ता लगाउँदा तिनी बुटवल विसक्याम्प सुकुम्बासी ठाउँमा आई बसेको पत्ता लागी सासूसंग भन्दा तिमीसंग छोरी पठाउन्न भनी भनेबाट मलाई रीस उठी खुकुरी लिई फेला पारे भने ल्याउँछु । नमाने मारिदिन्छु भनी हिंड्दा फेला पारी जाउँ भन्दा नमानेको हुँदा रिस उठी उसलाई मारी म पनि मर्छु भनी निजलाई मारी म पनि मर्न पेटमा खुकुरीले हिर्काएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रनबहादुरले प्रहरीमा गरेको बयान रहेछ ।

५.    प्रतिवादी फुलमाया भन्ने डिलमायालाई यिनै प्रतिवादी रनबहादुरले काटी आफ्नो पेटमा आफैंले खुकुरीले हानी घाइते भएका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

६.    प्रतिवादी रनबहादुरले आफ्नो स्वास्नी दिलमाया भन्ने फुलमायालाई मारी आफू पनि मर्न पेटमा हानेको हुँदा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(१) बमोजिम कारवाही भई सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी रहेछ ।

७.    मर्ने दिलमायालाई मैले लभ म्यारेज गरी २०४२ साल ज्येष्ठ महिनादेखि लोग्ने स्वास्नी भई बसी आएको थिएँ । श्रीमतीलाई छाडी म कहिले घरमा जाने र कहिले मैले काम गर्ने आरुङ खोलामा बस्ने गरी आएको थिएँ । श्रीमतीलाई माइत पठाई म भरतपुर गएको सोबाट आएपछि ससुराली गई सोद्धा आमा छोरी हिंडेका छन् भनी भनेबाट म त्यहीं बसें सासु आएपछि सोद्धा छोरी वालिङ गएकी छ तपाइको विस्तरा लिई तपाई गए हुन्छ भनी सासुले भनेपछि स्वास्नीको खोजी गर्न जानु पर्‍यो भनी खोजी गरी हिंड्दा निज दिलमाया दाउरा बोकी हिंडेको बुटवलमा फेला पारी घरमा जाउँ भनी भने जान्न  भनेकीले रिस उठी निजको बज्यैको घरमा भुइँमा रहेको खुकुरी उठाई हानी मारी अब मर्छु भनी खुकुरीले पेटमा हिर्काएको हुँ भन्ने समेत व्यहोराको रनबहादुरले अदालतमा गरेको बयान रहेछ ।

८.    प्रतिवादी रनबहादुरलाई ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ प्रतिवादी रनबहादुर पुलामी मगरलाई उल्लिखित सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिँदा कम सजायँ हुनुपर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम राय समेत व्यक्त गरी जाहेरी फैसला मिति २०४३।४।२३ गतेमा रुपन्देही जिल्ला अदालतबाट फैसला भएको रहेछ ।

९.    मृतक दिलमायालाई प्रतिवादीले कर्तव्य गरी मारेको कुरा पुष्टि हुन आएकोले प्र.लाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको मनासिब देखिन्छ घटनाको स्थितिलाई विचार गर्दा कानून बमोजिम सजायँ गर्दा चर्को पर्ने देखी अ.बं.१८८ नं.बमोजिम कम सजायको लागि राय सहित जाहेर गरेको जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।२६ गतेको जाहेरी फैसला ।

१०.    प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन साधक जाँची निर्णय दिनु पर्ने हुनआएको छ ।

११.    यसमा निर्णयतर्फ हेर्दा मेरो छोरीको छोरी दिलमाया सर्केनीलाई रनबहादुरले खुकुरीले हानी अपराध गरेको हुँदा सजायँ गरी पाउँ भन्ने समेत रत्नबहादुर सार्कीको जाहेरी दर्खास्त परी प्रस्तुत मुद्दाको कारवाही भएको देखिन्छ । मौका लाश प्रकृति मुचुल्का हेर्दा मर्ने दिलमाया सर्केनीको पछाडि टुप्पीनिर टाउकोमा २ ईन्च लामो १/४ चौडाको धारिलो हतियारले काटेको घाउ घाँटीमा पटकपटक काटेको अं.४ ईन्च गहिरो घाँटीको गोलाई मध्ये २ भाग काटिएको हड्डी देखिएको भन्ने उल्लेख भएको पाइन्छ । लाश जाँच प्रतिवेदन समेतबाट मर्ने डिलमाया भन्ने फुलमाया सर्किनी कर्तव्यबाट मरेको भन्ने देखिन्छ, अभियुक्त रनबहादुर पुलामी मगरले अदालतमा बयान गर्दा मर्ने डिलमाया भनेको फुलमायासंग लभ म्यारेज गरी लोग्ने स्वास्नी भई बसी आएको श्रीमतीलाई माइत पठाई भरतपुर गएको, आएपछि ससुराली जाँदा सासुले छोरी वालिङ गएकी छ, भनेबाट स्वास्नीको खोजी गरी हिंड्दा दाउर बोकी हिंडेको बुटवलमा फेला पारी घर जाउँ भनी भन्दा जान्न भनेकीले रिस उठी निजको बजैको घरमा भूइँमा रहेको खुकुरीले हानी मारी अब म पनि मर्छु भनी खुकुरीले पेटमा हिर्काएको हुँ भनी आफूले गरेको अपराध स्वीकारी बयान गरेको देखिन्छ । मौकाको लाश प्रकृति मुचुल्का किटानी जाहेरी तथा लाश जाँच प्रतिवेदनबाट निज अभियुक्तको साविती पुष्टि भएको देखिन्छ । अभियुक्त रनबहादुर पुलामी मगरले आरोपित कसूर गरेको होइन भन्ने कुराको कुनै सबूद प्रमाण देखिँदैन । रनबहादुरलाई आरोपित कसूर गरेको ठहराएउपर निजले पुनरावेदन गर्नसकेको पनि छैन । यस्तो स्थितिमा निज अभियुक्त रनबहादुर निर्दोष रहेछ, भन्न सकिने अवस्था रहेन । निज अभियुक्त रनबहादुर पुलामी मगरले मर्ने डिलमाया भन्ने फुलमाया सर्किनीलाई खुकुरीले हानी कर्तव्य गरी मारेको देखिन आयो । तसर्थ निज अभियुक्त रनबहादुर पुलामी मगरलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहराएको रुपन्देही जिल्ला अदालतको इन्साफ सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मनासिब छ ।

१२.    अब घटी सजायको लागि राय लगाएतर्फ हेर्दा मर्ने डिलमाया भन्ने फुलमाया सर्किनीसंग अभियुक्त रनबहादुरको प्रेमविवाह भएको कुरामा कुनै विवाद देखिन्न । सो कुरा अभियुक्त रनबहादुरले स्वीकार गरेको पाइन्छ । मर्ने डिलमाया भन्ने फुलमायालाई मार्नु पर्ने सम्मको रीसइवी भई मारेको भन्ने पनि देखिँदैन । आफ्नी श्रीमती  माइतबाट घर जाउँ हिंड भनी भन्दा जान्न भनी भनेकोबाट तत्काल उठेको रीसले मर्ने डिलमाया भन्ने फुलमायालाई अभियुक्त रनबहादुर पुलामी मगरले कर्तव्य गरी मारेको भन्ने देखिँदा घटि सजायको लागि क्षेत्रीय अदालतले राय लगाएको मनासिब हुँदा अपराध गरेको अवस्था समेतको विचारबाट अभियुक्त रनबहादुर पुलामी मगरलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अभियुक्त रनबहादुर पुलामी मगरलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० दश हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी रनबहादुर पुलामी मगरके माथि इन्साफ खण्डमा लेखिएअनुसार अ.बं.१८८ नं.ले कैद वर्ष १० दश हुन्छ । निज मिति २०४२।७।१५ गतेदेखि थुनिएको मिसिलबाट देखिँदा सोही मितिदेखि कैद कट्टी गर्नु भनी रुपन्देही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१

प्रतिवादी रनबहादुर पुलामी मगरके रुपन्देही जिल्ला अदालतको मिति २०४३।४।२३ को फैसलाले सर्वश्वसहित जन्मकैद गर्ने गरेको सो नलाग्ने हुँदा सो फैसला बमोजिम कसिएको लगत कट्टा गरी दिनु भनी रुपन्देही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२

प्रतिवादी रनबहादुर पुलामी मगरके रुपन्देही जिल्ला जिल्ला अदालतको मिति २०४३।४।२३ को फैसलाले निजको सर्वश्व रोक्का गर्ने गरेको सो गर्नु नपर्ने हुँदा रोक्का भएको भए फुकुवा गर्नु र रोक्का गर्न बाँकी भए रोक्का गर्नु पर्दैन भनी रुपन्देही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...३

कैद वर्ष १० दश हुने गरी निर्णय भएको सूचना प्रतिवादीहरुलाई लगत दिनु..४

मिसिल नियम बमोजिम गरी बझाई दिनु......५

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल आषाढ १४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु