शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६०९ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६०९     ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पु.नं. ४३८

सम्वत् २०४५ सालको साधक नं. ४७

फैसला भएको मिति : २०४५।५।९।५ मा

 

पुनरावेदक/वादी : चम्पादेवी खत्वेनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : सुनसरी बबिया गा.पं.वा.नं.६ बस्ने होमी भन्ने भागवत खत्वे

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                प्रतिवादीको प्रहरी सावितीलाई लाश प्रकृति एवं अन्य सबूद प्रमाणबाट समर्थन हुन नआएको आधार प्रमाणहरुबाट प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरी क्षेत्रीय अदालतबाट भएको निर्णय मिलेको देखिने ।

(प्रकरण नं. २५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१२।१० को फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी र सोही मितिको फैसला बमोजिम साधकको रुपमा समेत दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।

२.    २०३८।२।३२ गते साँझ सम्म छोरा रामप्रसाद, बुहारी चन्द्रकला र म भई धान गोड्दै रहेको अवस्थामा भागवत भन्ने होसी खत्वेले आँप खान आउ भनी छोरालाई बोलाई लगेको रातभर फर्की नआउँदा १ गते खुलडल गर्दा खेतमा मारी फालेको सुनी जाँदा मृत अवस्थामा रहेकोले भागवत समेतको कर्तव्यबाट मरी मराएको हुँदा पक्राउ गरी कानून बमोजिम होस् भन्ने समेत व्यहोराको २०३८।३।१ को जाहेरी दर्खास्त ।

३.    गाउँ भन्दा फरक अमिग आँप बगैंचा दक्षिण ठाडो आलीको सुदेमा उत्तर टाउको, दक्षिण खुट्टा गरी उत्तानो लाशको मुखको देब्रेभाग गालामा कान छेउ सम्म काटिएको कान मुनी ५ इन्च लम्बा ४ इन्च गहिराई काटेको, घाँटीमा ६ ईन्च लम्बाई ६ इन्च चौडाई काटेको घुचुकमा किल किले हाड छिन्ने गरी काटिएको समेत देखिन्छ भन्ने २०३८।३।१ को लाश प्रकृति मुचुल्का ।

४.    मरणान्त घाँटीमा गम्भीर चोट लाग्नाले मरेको देखिन्छ भन्ने समेत मृतकको लाश जाँच पोष्टमार्टम फाराम ।

५.    खेतमा काम गर्दा गर्दैको अवस्था भागवतले मेरो छोरालाई आँप खान जाउँ भनी लगेको विहानसम्म घर नआएकोले । निजसंग सोध्दा थाहा छैन भनेबाट पुनः सोधी देउ भनी जाहेरवालीले मलाई भनेकाले म समेत भई सोध्दा मारी फालेको सुनी जाँदा लेखिएको अवस्थामा देखेको हुँ भन्ने बवियाको वा.स.लक्ष्मीखत्वेको प्रहरीमा भएको कागज ।

६.    मेरो र मर्ने डोमीको श्रीमतीको माइती मृतककै घर आसपासमा पर्ने भएको र हाम्रा श्रीमतीहरुलाई मृतक अनुचित करणी लिनु दिनु गर्छ भन्ने हामी दुवैलाई शंका भई मार्ने मनसायबाट हाम्रो १५।१६ दिन अघि सल्लाह भई सो दिन समेतमा काम गरेको अवस्थामा बोलाई बरामत भएको कोदालोले डोमाए र मैले हानी काटी रोपी घोची मारी दिएका हौं भन्ने भागवत डोमी खत्वेले प्रहरीमा गरेको कागज ।

७.    लखन खत्वेको कोदालो मेरो घरमा राखेको लखनकी श्रीमतीले हिजो तिम्रो दाजुले भनी माग्दा सिकुवामा फेला पारी निजको घरमा पुर्‍याई दिए देखाएको कोदालो यही हो भन्ने सरस्वती खत्वेनीको प्रहरीमा भएको कागज ।

८.    लेलाईको घर पश्चिम निजैको मूल घर पूर्व गुहाली छेउमा ४५ कोदालो माटो खेतको खुर्किएको पूर्वपट्टि १५ फिट लम्बाई ७ फिट चौडाई माटो भूई छिलेको रामप्रसादलाई मार्दा प्रयोग गरिएको कोदालो नं. ६ को कोदालो लगेको छु भन्दा सनाखत गरी देखाएको कोदालो जिम्मा लिएको खान तलासी मुचुल्का ।

९.    २०३८।२।३२ गते बेलुकी ५६ बजे पैनी बनाउन सानो कोदालो डोमी भन्ने भागवतले लिई गएको २०३८।३।१ गते बेलुकी पख डोमीको बहिनी सरस्वती खत्वेले कोदालो ल्याई दिएको हो कुनै काम नगरी सो कोदालो जस्ताको तस्तै राखेको थिएँ भन्ने रेश्मी खत्वेले प्रहरीमा गरेको कागज ।

१०.    मृतक र मेरो माइती घर एकै ठाउँमा भएको भागवतसंग मेरो ५६ वर्ष अघि विवाह भई मैले गर्भ धारण गरेको थिएँ सो गर्भ मृतक रामप्रसादको हो भनी गाली बेइज्जती हेला गरेबाट माइत आई बसेको हुँ देखाएको कोदालो आफ्नो घरको होइन भन्ने भागवत भन्ने डोमीकी श्रीमतीको कागज ।

११.    लोग्ने, म र सासू २०३८।२।२२ गते भदैधान गोड्दै गर्दा अं.३ बजे भागवत आई मेरो स्वास्नी  माइत गएको बोलाउँदा आउँदिन भनी कुरा गरी गएँ । म घर आएँ बेलुकी सासू मात्र खेतबाट आएपछि सोध्दा डेमीले आँप खान लगेको छ भने रातभर फर्की नआएकोले सोध्न खोज्न जाँदा डोमीले थाहा छैन भन्यो खोज तलाश गर्दै जाँदा घटनास्थलमा मृत अवस्थामा फेला परेकाले भागवतले कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने चन्द्रकला खत्वेनीले प्रहरीमा गरेको कागज ।

१२.    मृतक रामप्रसादकी आमा हिजो बेलुकी डोमीले आँप खान बोलाई लगेको थियो । कता गयो आएन भनी बोलाउँदै हिंडिन केही बेर पछि घटनास्थलमा रामप्रसादको लाश फेला पर्‍यो । गाउँमा हल्ला भएपछि डोमी भन्ने भागवत र बोकाईको छोरा डोमी खत्वे भागी हिंडेको र भाग्ने दुवैजनाको श्रीमतीसँग रामप्रसादको लसपस छ भन्ने कुरा डोमीहरुले चालपाई रामप्रसादसंग प्रतिशोधको भावना लिएको घाईघुई सुनेको हो दुवै डोमीले रामप्रसादलाई मारेकोमा विश्वास लाग्छ भन्ने सरजमीन  मुचुल्का ।

१३.    डोमी भन्ने भागवत पक्राउ भई आउँदा मेरो साथी डोमीको स्वास्नीसँग मृतकले करणी गर्छ भन्ने विश्वास लागी हामी दुवैले प्रतिशोधको भावना लिई दुवैले रामप्रसादलाई दशीमा दाखिल भएको कोदालो समेतले काटी चक्कूले रोपी घोची मारेको हो भनी बोकाईको डोमी खत्वेलाई पोल गरी, बुझिएको सरजमीन प्रमाणबाट समेत निजहरुउपर दोषारोपण देखाएको र अनुचित करणी लिनु दिनु गर्छ भन्ने शंका गरी प्रतिशोधको भावना लिई २ जनाले ज्यानसम्बन्धीको १ नं.विपरीत कसूर गरी बरामत भई आएको कोदालोबाट काटी मारेको सिद्ध भएकोले पक्राउ परेको डोमी भन्ने भागवत खत्वे समेतउपर ऐ.को १३(१) बमोजिम सजायँ माग भई पेश भएको प्रहरी प्रतिवेदन ।

१४.    २०३८।२।३२ गते दिन आफ्नो खेतमा काम गर्दागर्दै डोमीले रातमा रामप्रसादलाई मारेको छ भन्ने कुरा सुनी सो ठाउँमा जम्मा भएका मानिसले डोमी यही हो भनी पक्राउ गरी ल्याएको हो । रामप्रसादलाई मैले मारेको होइन रामप्रसादलाई मार्ने गाउँकै बोकाइको छोरा डोमी हुनुपर्छ निजको घर इण्डियातर्फ पनि हुँदा हाल उतै छन् भन्ने प्रतिवादी डोमी भन्ने भागवत खत्वेको अदालतमा भएको बयान ।

१५.   वादी तथा प्रतिवादीको साक्षी समेत बुझिएको रहेछ ।

१६.    अभियुक्त बोकाईको छोरा डोमी खत्वेको नाउँमा जारी भएको ७० दिने म्याद गुजारी फेरार रहेको अंश रोक्का मुचुल्का समेत भई आएकोले निज अभियुक्त डोमी खत्वेको हक अ.बं.१९० नं.बमोजिम मुलतबी राखी दिने ।

१७.   बुझिएको सबूद प्रमाणको निष्कर्ष तथा मौका तहकिकातमा भएको साविती बयानलाई समर्थित हुने स्थिति प्रमाण समेतको आधारले अभियुक्त डोमी भन्ने भागवत खत्वेले वादी श्री ५ को सरकार प्रहरी प्रतिवेदन दावी बमोजिम रामप्रसादलाई मारेको ठहर्छ । ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको २०४०।४।२६ को  फैसला ।

१८.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको डोमी भन्ने भागवत खत्वेको पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१९.    पुनरावेदकको साविती अन्यथा सबूद प्रमाणबाट पुष्टी हुन नआएको स्थितिमा प्रहरी प्रतिवेदन माग बमोजिम कसूर गरेको ठहर्‍याएको शुरु फैसला नमिली फरक पर्ने देखिएकोले वादी श्री ५ को सरकारलाई सूचना दिई पेश गर्नु भन्ने पू.क्षे.अ.को २०४२।८।२३ को आदेश ।

२०.   समाव्हानको म्याद गुजारी बस्ने बोकाईको छोरा डोमी खत्वेको हकमा पछि फेला परेका बखत कारवाई हुने गरी अ.बं.१९० नं.बमोजिम मुलतवी रहेकोले सो सम्बन्धमा हाल ठहर गरिरहनु पर्ने अवस्था आएन ।

२१.    पुनरावेदकको हकमा विचार गर्दा प्रहरी कागजलाई नै पुनरावेदकले मैले राजीखुशीले गरेको छैन भनी इन्कार रही बयान गरेको देखिँदा लाश जाँच प्रकृति मुचुल्का हेर्दा घाँटी घिच्रोमा ३ ठाउँमा काटेको र किलकिले छिनेको भन्ने समेत उल्लेख भएको र शव परीक्षण प्रतिवेदन हेर्दा धेरै ठाउँमा काटिएको घाउ भन्ने समेत उल्लेख भएको र लाश साथ मुरली समेत निस्किएको मुरली कस्को हो सो समेत अनुसन्धानात्मक तरीकाबाट निष्कर्षमा आएको नदेखिएकोले लाशमा परेको घाउ चोटको दृष्टिकोणबाट समेत कोदालाले हानी मारेको भन्ने पुनरावेदकको प्रहरी साविती पुष्टि हुन नआएको र सो साविती अन्य सबूद प्रमाणबाट समेत प्रमाणित हुन नआएको हुनाले सो प्रहरी सावितीको विवेचना गरी पुनरावेदकले आरोपित कसूर गरेको ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला गल्ती देखिँदा बदर भई उल्टी हुन्छ । पुनरावेदकले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१२।१०।१ को फैसला ।

२२.   सो फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२३.   नियम बमोजिम आजको दैनिक कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा वादी पुनरावेदक श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएको विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठको बहस समेत सुनियो । प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन भन्ने कुराको नै मुख्य निर्णय दिनु पर्ने हुनआएको छ ।

२४.   यसमा मृतक रामप्रसादको कर्तव्यबाट मृत्यु भएको भन्ने कुरामा विवाद देखिँदैन । फरार रहेका बोकाईका छोरा डोमी खत्वेका हकमा निज फरार भई हाजिर नभएको कारण अ.बं.१९० नं.बमोजिम मूलतवी रहेको देखिन आएकोले त्यसतर्फ केही गरिरहन परेन । अब प्रतिवादी लेलाईको छोरा डोमी भन्ने भागवत खत्वेको हकमा सफाई दिने गरेको मिलेन भन्ने मुख्य पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको पाइन्छ । वारदात भएको ०३८।२।३२ देखिएको र डोमी भन्ने भागवत खत्वेको ०३८।३।७।१ मा मात्र प्रहरी कागज भएको देखिन्छ । सो प्रहरी कागजमा लेखिएको सावितीमा बरामद भएको हतियारमा कोदालो बरामद भएको पाइन्छ ।

२५.   अदालतमा आई निज डोमी भन्ने भागवत खत्वेले अपराध नगरेको कुरामा पूर्ण इन्कार भई बयान गरेको र अधिकारप्राप्त अधिकारी समक्ष गरेको कागजको सावितीमा भएको बयान र बरामद भई आएको ज्यान मार्दा प्रयोग भएको हतियार कोदालो देखिन आएको र मृतकको लाश प्रकृतिबाट किलकिले छिनेको र घाँटी घिच्रोमा ३ ठाउँमा काटेको भनी लाश प्रकृति मुचुल्कामा लेखिएको   देखिन्छ । प्रतिवादी डोमी भन्ने भागवत खत्वेको प्रहरी सावितीलाई लाश प्रकृति एवं अन्य सबूद प्रमाणबाट समर्थन हुन नआएको आधार प्रमाणहरुबाट प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मिलेको देखिँदा मनासिब ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक तहबाट इन्साफ जाँच गरी हेरी निर्णय भएकोले साधकको लगत काटी दिई अरु तपसीलका कुरामा तपसील बमोजिम गर्ने ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरुको इन्साफ उल्टी गरी प्रतिवादी डोमी भन्ने भागवतलाई पू.क्षे.अ.ले सफाई दिने गरेको फैसला सदर भएकोले निज प्र.डोमी भन्ने भागवत खत्वेलाई यो मुद्दा बाहेक अरु मुद्दामा थुनामा राख्न नपर्ने भए थुनाबाट मुक्त गरिदिनु भनी पहिल्यै आदेशद्वारा लेखी गई सकेको र सो बमोजिम थुनाबाट मुक्त नगरेको भए तुरुन्त छोडी दिनु र अब शुरुको  लगत काटी पूर्वाञ्चल क्षेत्रीय अदालतको ०४२।१२।१० का फैसला बमोजिम गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१

मिसिल नियमानुसार गरी बुझाई दिनु............................२

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ भाद्र ९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु