शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६१० - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६१०            ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४४ सालको फौ.पु.नं. ४५३

फैसला भएको मिति : २०४५।५।७।३ मा

 

पुनरावेदक/वादी : प्र.ह.गोकर्णबहादुर शाहको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/वादी : जि.कपिलवस्तु अजिगरा गा.पं.वा.नं.१ बस्ने मालतीदेवी वरैनी

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                प्रहरी सावितीलाई अन्य शंकारहित प्रमाणबाट वादीले प्रमाणित गर्न नसकेको स्थितिमा प्रतिवादीलाई अभियोगबाट सफाई दिने गरी गरेको शुरुको फैसलालाई सदर गर्ने गरी गरेको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतका २०४४।२।७ का फैसला उपर वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पुनरावेदन परी यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.    २०४१।१२।३० गते अजिगंरा गा.पं.वडा नं.१ अजिगरा बस्ने रामदेव वरैको आमा तिर्थ वरैनी आगोले डढी मरेको भन्ने खबर पाई जाँदा तिर्थ वरेनीको लाशलाई खटियामा आगोले डढी लाश परेको देखियो लाश हेर्दा कसैले कर्तव्य गरी मारे जस्तो देखिएकोले छुट्याई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत प्र.ह.गोकर्ण बहादुरको प्रतिवेदन ।

३.    लाशको दुवै पैताला आगोले नजलेको अन्य शरीर आगोले जली १ पत्रे छाला उत्रेको देखिएको लाश रहेको पश्चिम पट्टि आगो बाली निभेको खरानी तथा कोइला थुपारेको देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    तिर्थ वरैनीलाई कसले मारेको हो भनी पत्ता लगाउँदा निजकी बुहारी मालती र निज तिर्थको बीचमा पहिले देखि वारम्वार झगडा हुने गरेको र २०४१।१२।१९ गते पनि झगडा भई लोग्ने खरीहानमा सुत्न गएको बखत निज मालतीले मट्टीतेल खन्याई आगो लगाई मारेको भन्ने थाहा हुनआएको र निजलाई सोधपुछ गर्दा स्वीकार गरेकोले निजलाई आवश्यक कारवाहीको लागि पेश गरेको छु भन्ने प्र.ह.विष्णुप्रसादको प्रतिवेदन ।

५.    मृतक तिर्थ वरैनीलाई मार्ने विचार गरी  २०४१।१२।१९ को साँझ लोग्ने रामहेत वरई खरीहानमा सुत्न गएको अवस्थामा रातको १२ बजे सासू निदाएको अवस्था पारी मट्टीतेल खन्याई आगो लगाई भित्र गई सुतेकी हुँ भन्ने समेत व्यहोराको माल्तीदेवी वैरेनीले प्रहरीमा गरेको बयान ।

६.    अत्यधिक जलेको कारण मृत्यु भएको भन्ने लाश जाँच प्रतिवेदन ।

७.    सासू बुहारीको अनमेलको कारणले गर्दा माल्तीदेवीले सासू तीर्थालाई शरीरमा मट्टितेल खन्याई आगो लगाई मारेमा शंका र विश्वास लाग्छ भन्ने समस्त मानिसहरुको लेखाई भएको सरजमीन मुचुल्का ।

८.    यसमा संकलित सबूद प्रमाणबाट सासू बुहारीका बीचमा बारम्बार झगडाको कारणबाट माल्तीदेवीले तिर्थालाई सुती निदाएको अवस्था आगो लगाई सोही आगोले जली मृत्यु हुनआएको देखिँदा माल्ती बैरेनीलाई ज्यानसम्बन्धीका १३(३) नं.बमोजिम सजायको माग दावी भएको प्रहरी प्रतिवेदन ।

९.    मिति यकीन गर्न सक्दिन, ७ दिन अगाडि लोग्ने खानाखाई खरीहानमा सुत्न गए । ससूरा मरेको पीरले सासू भोकै बाहिर वरण्डामा सुतिन । म भित्र सुते विहान लोग्ने आउँदा सासू आगोले जली मरेकी रहिछन्, मैले आगो लगाई मारेकी होइन २०४१।१२।१९ गते विहान मेरो र सासूको झगडा भएको होइन भन्ने समेत व्यहोराको माल्तीदेवीले अदालतमा गरेको बयान ।

१०.    प्रतिवादीको प्रहरीको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएकाले प्रतिवादीलाई कसूरदार ठहराउन फौज्दारी न्यायको विपरीत हुने हुँदा प्र.माल्तीदेवीले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कपिलवस्तु जिल्ला अदालतको २०४२।९।२२ को फैसला ।

११.    प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला न्यायसंगत नभएकोले सबूद प्रमाणको न्यायिक मूल्यांकन भई प्रतिवादीलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको वादी श्री ५ को सरकारतर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१२.    यसमा सरजमीनका काशीराम अहिर समेतले मृतक कसरी कुन तरीकाले जली मरेकी हुन थाहा छैन भनी लेखाएको, चस्मदिद व्यक्ति नभएको यस्तो शंकास्पद स्थितिमा ठोस सबूदको अभावमा केवल प्रहरीमा भएको सावितीको आधारमा यी प्रतिवादीलाई कसूरदार ठहराउन फौज्दारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा शुरुले प्रतिवादीलाई सफाई दिएको इन्साफ मिलेकै देखिँदा सदर हुन्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४४।२।७ को फैसला ।

१३.    उक्त इन्साफमा चित्त बुझेन प्र.माल्तीदेवीले आगो लगाई वा पहिला मारी अनी आगो लगाई तिर्था बैरेनीलाई कर्तव्य गरेको देखिँदा देखिँदै पनि सफाई दिएको नमिलेकाले प्रतिवादीलाई माग बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

१४.    पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी उपन्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस समेत सुनियो मुख्यत क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिन पर्ने हुनआएको छ ।

१५.   यस्मा मृतक तिर्था सकुशल सुत्न गएकी सुतेकी र विहान आगोले जली मृत्यु भएको अवस्थामा पाइएकी कुरामा विवाद देखिँदैन । अब ससुराको मृत्यु भएको पीर वेदनाले सासू भोकै बाहिर वरण्डामा सुतिन म भित्र सुतँे विहान लोग्ने खरीहानबाट आउँदा सासू तिर्था आगोले जली मरेकी रहीछ भन्ने बुहारी माल्तीदेवीले अपराधमा इन्कार रही अदालतमा बयान गरेको पाइन्छ । प्रहरी सावितीलाई अन्य शंकारहित प्रमाणबाट वादीले प्रमाणित गर्नसकेको पाइँदैन । यस्तो स्थितिमा प्रतिवादी माल्तीदेवी वैरेनीलाई अभियोगबाट  सफाई दिने गरी गरेको शुरुको फैसलालाई सदर गर्ने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल भाद्र ७ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु