शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६१२ - ज्यान

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६१२            ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पु.नं. ५६८, ५७३

सम्वत् २०४४ सालको फौ.सा.नं. १२८

सम्वत् २०४५ सालको फौ.पु.नं. ४७०,४७१ र ४७२

फैसला भएको मिति : २०४५।९।४।१ मा

 

पुनरावेदक/प्रतिवादी : वारा प्रष्टोका गा.पं.वा.नं.३ बस्ने बनारसीलाल साह तेली

विरुद्ध

वादी : मोतीलाल साहको जाहेरीले श्री ५ को सरकार

 

पुनरावेदक/प्रतिवादी : जि.वारा प्रष्टोका गा.पं.वा.नं.६ बस्ने बिन्दा साह तेली

विरुद्ध

वादी : श्री ५ को सरकार

 

पुनरावेदक/प्रतिवादी : जि.वारा प्रष्टोका गा.पं.वा.नं.६ बस्ने जगसाह तेली समेत

विरुद्ध

वादी : श्री ५ को सरकार

 

मुद्दा : ज्यान

 

(१)                प्रमाणरहितको इन्कारीले सफाइको भूमिका निर्वाह गर्न नसक्ने ।

(प्रकरण नं. २६)

(२)               अदालत समक्षको इन्कारीलाई शंकारहित मान्न र अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई अन्यथा गर्ने संकलित सबूद प्रमाणबाट मिल्ने देखिन नआउँदा संकलित सबूद प्रमाणको आधारमा शंकारहित तवरले प्रतिस्थापित नभएको भनी मान्न मिल्ने देखिन नआउने ।

(प्रकरण नं. २६)

(३)               अधिकारप्राप्त अधिकारी समक्षको इन्कारी बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट र अदालत समक्षको इन्कारी बयानलाई अन्य शंकारहित प्रमाणले वादीबाट खण्डन मण्डन हुन नसकेको, चस्मदिदको बयानबाट पनि अभियोगलाई शंकारहित तवरले गडाउ गर्न सकेको नपाइँदा शंकारहित स्वतन्त्र प्रमाणको अभावको स्थिति र अवस्थामा कसूरदार ठहर गरेको इन्साफ मिलेको नहुँदा उल्टी हुने ।

(प्रकरण नं. २६)

(४)               आफू उपरको अभियोगमा अदालत समक्ष बयान गर्दा इन्कार देखिने, तर बन्दुक हातमा देखेको भनी सरजमीनबाट खुल्न आएको र मृतकको मृत्यु बन्दुकको गोली लागी भएकोबाट पनि इन्कारीमा शंकारहितपन प्रतिविम्बित हुनसकेको नपाइनुको साथै आफ्नो इन्कारीलाई पुष्टि गर्ने शंकारहित र स्वतन्त्र प्रमाण निजबाट गुजार्न सकेको पनि मिसिल संलग्न प्रमाण कागजातबाट देखिन नआउँदा इन्कारीलाई प्रमाणिक रुपमा स्वीकार गर्न नमिल्ने ।

(प्रकरण नं. २७)

 

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार देखिन्छ ।

२.    २०३७।३।८ गते राती विश्वनाथ, बिन्दा साह तेली, जग साह तेली, झगरु महतो कोइरी, लालबहादुर, बनारसीलाल समेतले बाबु जाढोलाललाई बन्दूक हानी मारे भनी आमाले भनेकाले जाहेर गरेको छु भन्ने समेत व्यहोराको मोतीलालको जाहेरी दर्खास्त ।

३.    बिन्दा साह तेली, विश्वनाथ साह, माढोलाल, जाढोलाल, अयोध्या साह, बद्रीनारायण र म समेत भई जाढोलाललाई कर्तव्य गरी मारेका भन्ने समेत व्यहोराको जग साहले प्रहरीमा गरेको   कागज ।

४.    मृतकको मृत्युको सम्बन्धमा मलाई केही थाहा छैन । वारदातको समयमा म घरमै   छु । रीसइवीको कारण म उपर किटानी दर्खास्त दिएको हो । म वारदातमा संलग्न छैन भन्ने समेत व्यहोराको प्र.वनारसीलालले प्रहरीमा गरेको बयान ।

५.    वारदात अवस्थामा आफ्नो घरमा नभई कलैया गा.पं.को औधापुरमा शशुरा वंशी महतोको घरमा छु । मृतकलाई कसले मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको झमरु महतो कोइरीले प्रहरीमा गरेको बयान ।

६.    ०३३।३।८ गते राती लालटिन बलिरहेको थियो । म बालकलाई दुध ख्वाई बसेको अवस्थामा बन्दूक सहित बिन्दा, विश्वनाथ, बनारसी, झगरु, लालबहादुर, जग साह समेत आई मेरो पति जाढोलाललाई समाई विश्वनाथले गोली हानी मारेको भन्ने मृतककी पत्नी मायादेवीले प्रहरीमा गरेको बयान ।

७.    बिन्दा, विश्वनाथ, जग साह, बनारसीलाल, लालबहादुर, झगरु समेतलाई वारदात गर्न जाँदा देखें भन्ने वारदात गरी भागी जाँदा देखें भन्ने अधिकांश व्यक्तिले र बनारसी, लालबहादुर समेतले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

८.    संकलित सबूद प्रमाणहरु र मृतककी श्रीमती समेतको बयान कागजबाट गोली हानी मार्ने विश्वनाथ साहको हकमा ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम र बिन्दा साह, बनारसी, लालबहादुर झगरु, जग साह, मादो, जादोलाल, अयोध्या, बद्रिनारायण समेत विश्वनाथले जाढोलाललाई बन्दूकले गोली हानी मार्दा कोही घर भित्र र कोही घर बाहिर घेरा दिई बसेको देखिएकोले निजहरुउपर ऐ.का १७(२) बमोजिम सजायँ हुनु पर्ने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

९.    मृतक जाढोलाललाई मैले मारेको होइन र मार्नमा सहयोग गरेको पनि छैन । कसले मारे थाहा भएन । मृतकसंग मेरो कुनै रीसइवी पनि नभएकोले झुठ्ठा उजूरीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको बनारसीलालले अदालतमा गरेको बयान ।

१०.    मृतक जाढोलाललाई मैले मारेको होइन । कसले मारे थाहा छैन । ०३७।३।८ गतेको रात खानपिन गरी रामायण सुनी बसेकोमा गाउँमा हल्ला भयो म समेतका मानिसहरु मृतकको घरमा पुगी लाश हेरी जाहेरवाला निजको आमाले मैले कसैलाई पनि चिनिन भनिन् । लाशलाई टायरगाडामा राखी कलैयाँमा म समेत  गाउँले आएको र आइतवार साँझ ६ बजे लाशको दाह संस्कार भयो । म पनि गएको थिएँ । प्रहरीमा भएको बयान स्वइच्छापूर्वकको होइन भन्ने समेत व्यहोराको जगसाहले अदालतमा गरेको बयान ।

११.    वारदातको दिन राम म आफ्नो घर बेलहियामा नभई ससुरा बन्सी महतोको घरमा    छु । मैले मृतक जाढोलाललाई मारे मराएको छैन भन्ने समेत व्यहोराको झगरु महतोले अदालतमा गरेको बयान ।

१२.    मृतक जाढोलाललाई मैले मारे मराएको होइन । वारदातको दिन रात म रक्सौलको सेन्डेडाक्टरको क्लिनिकमा छु । मसँग गैरकानूनी हतियार नहुँदा मैले बन्दूक दिएको भन्ने कुरा झुठ्ठा हो भन्ने समेत व्यहोराको माढोलालले अदालतमा गरेको बयान ।

१३.    जाढोलाललाई मैले मारे मराएको होइन । वारदातको दिन रातमा म आफ्नो पसल कलैया बजारमा छु । म उपरको आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको जवाहरलाल साह तेलीले अदालतमा गरेको बयान ।

१४.    मृतकलाई मैले मारेको छैन । वारदातको दिन भन्दा अघि पछि म घरमा नभएको भन्ने समेत व्यहोराको जाढोलालले अदालतमा गरेको बयान ।

१५.   जाहेरवाला वालिग भएपछि हामीले मोही भई कमाएको जग्गा म आफैं कमाउँछु भनी निजले र निजको आमाले भन्दा मैले मोही कमाउन नछाडेकाले सोही कारण मउपर जाहेरवालाको गफमेलका मानिसहरुले मउपर शंका पोल गरेका हुन् भन्ने समेत व्यहोराको लालबहादुरले अदालतमा गरेको बयान ।

१६.    मृतकलाई मैले मारेको होइन । वारदातको मिति भन्दा अगावै असार ६ गते गोरु किन्न भनी म तथा भाइ हृदयनारायण समेत हिंडी पर्सा जिल्लाको विश्रामपुर बहिनीको घरमा बास बसें, सोही रात झाडावान्ता लागी अस्वस्थ भएबाट औषधोपचारको लागि बागेश्वरी हेल्थपोष्टमा लगी १० गतेसम्म हेल्थपोष्टमा रही त्यसपछि बहिनीको घरमा आई २० दिन बसी आफ्नो घरमा आएको हुँदा अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको बिन्दा साह तेलीले अदालतमा गरेको बयान ।

१७.   मृतकलाई मैले कर्तव्य गरी मारे मराएको छैन । कसले मारे जानकारी भएन । ०३८।३।७ गते म गाई किन्न गाउँकै शिवलाल, भरत महतो समेतलाई लिई गैहरिया गाउँमा गई परमानन्द कहाँ खाना खाएको, मेरो पेटमा दर्द हुन गएकोले वरियापुर हेल्थपोष्टमा भर्ना भई आषाढ ८ गतेसम्म इलाज गराई १०११ गतेसम्म परमानन्दकै घरमा बसी १२ गते भारत रक्सौल भई घर आएको वारदात मितिमा म हेल्थपोष्टमा छु भन्ने समेत व्यहोराको विश्वनाथ साहतेलीले अदालतमा गरेको बयान ।

१८.    ०३७।३।८ गतेको रात म आफ्नो घरमा सुतेको थिएँ । आमाबाबु फुसको छाप्रोमा सुत्नु भएको थियो । रातको ११।। बजे बन्दूकको फायर सुनी ढोका खोली आमा भएको कोठामा गएँ । बाबुको घाँटी मुनि पिठ्यूँबाट रगत बगिरहेको थियो । बनारसी साह, विश्वनाथ साह, जग साह, बिन्दा साह, लालबहादुर, झगर महतो समेतले ज्यान मारी गए भनी आमाले भन्नु भएको भन्ने समेत व्यहोराको जाहेरवाला मोतिलालले अदालतमा गरेको बयान ।

१९.    दावी बमोजिम विश्वनाथले कसूर गरेको ठहर्छ, बिन्दा साह, लालबहादुर, जग साह, झगरु महतो, बनारसी साहले दावी बमोजिम कसूर गर्न सहयोग गरेको हुँदा विश्वनाथ साह तेलीलाई सर्वश्वसहित जन्मकैद हुन्छ । सहयोगीहरुलाई कैद वर्ष ५ जनही सजायँ हुन्छ । माढो साह र जाढोलाल साह तेलीको हकमा निजको साक्षीहरुले कसूर गरेका होइन भनी बकी दिएको र निजहरु पनि इन्कार देखिएकोले माढो साह र जाढोलाल साहले सफाई पाउने ठहर्छ । कालिचरण साह र जवाहरलाल साहलाई मुद्दा चलाएको देखिएन । जवाहरलाललाई अड्डाबाट म्याद गई बयान गरी तारेखमा रहेका देखिन्छ । सबूदबाट निज निर्दोष देखिन आयो । अयोध्या साह तेली बद्रिनारायणको हकमा जंग साहले प्रहरीमा पोल गरेका देखिएकोले निजहरुको हकमा डायरीमा दर्ता गरी नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको फैसला ।

२०.   बारा जिल्ला अदालतको फैसलामा चित्त बुझेन । जादोलाल साह तेली र माढो साह तेलीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम होस् भनी श्री ५ को सरकारले र उक्त अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी सफाई पाउँ भनी बनारसीलाल साह तेली, झगरु महतो कोइरी, लालबहादुर साहतेली, बिन्दा साहतेली, जग साहतेली समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

२१.    बन्दूक विश्वनाथकै हातमा देखेको भनी सरजमीन लगायतका अन्य प्रमाणबाट समेत पुष्टि हुनआएको हुँदा प्र.बनारसीलाल, जग साह तेली, बिन्दा साह तेली, लालबहादुर साह तेली र झगरु महतो कोइरी समेतले मृतक जाढोलाललाई कर्तव्य गरी मारेको देखिन आएको प्र.विश्वनाथलाई दावी बमोजिम नै कसूर गरेको र अन्य प्र.हरुलाई ज्यानसम्बन्धीको १७(२) नं. अनुसार जनही कैद वर्ष ५ का दरले सजायँ गरेको साथै प्र.जाढो साह र माढो साह तेलीको हकमा सफाई दिने गरी गरेको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

२२.   शुरु अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफ कानूनसंगत नहुँदा बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.बनारसीलाल साह तेली, बिन्दा साह तेली, झगरु महतो कोइरी, जग साह तेली र लालबहादुर साह तेलीबाट यस अदालतमा पर्न आएको पृथक पुनरावेदन ।

२३.   यी प्रतिवादीहरुले मृतकलाई मार्ने सहयोग पारी दिएको भन्ने व्यहोराको सकारात्मक पुष्ट्याँई भएको नदेखिँदा अ.बं.२०२ नं. तथा स.अ.नियमावली बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको आदेश रहेछ ।

२४.   यसरी नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले र वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । प्रस्तुत विषयमा मुख्यतः शुरु अदालतको फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णयको विषय देखिन आयो ।

२५.   यसमा मिति २०३७।३।९ को लाश जाँच प्रतिवेदनमा गर्दन नजिकै बन्दूकको घाउ (Gun sut wound) देखिएको र शरीरबाट गोली झिकिएको भनी लेखिएको देखिँदा जाढोलालको मृत्यु बन्दूकको गोली लागी भएको देखिन्छ । मृतक जाढोलाललाई प्र.विश्वनाथले गोली हानेको र अन्य प्रतिवादीहरु बिन्दा सा, झगरु महतो, जग सा, लालबहादुर, बनारसीलालले मार्नमा सघाउ पुर्‍याएको भनी अभियोग प्रतिवेदन दावी रहेको पाइन्छ । ज्यानसम्बन्धीको १३(१) नं. को दावी लिइएको प्र.विश्वनाथबाट पुनरावेदन परी आएको पाइदैन भन्ने ज्यानसम्बन्धीको १७(२) नं. अनुसारको दावी लिइएका प्रतिवादीहरुबाट पुनरावेदन परी आएको रहेछ ।

२६.   अब पुनरावेदक प्रतिवादीहरुको हकमा अभियोग प्रतिवेदन दावी बमोजिम सजायँ हुने हो होइन के रहेछ भनी हेर्दा प्र.बिन्दा सा आफू उपरको आरोपित कसूरमा अदालत समक्ष बयान गर्दा पूर्णतः इन्कार देखिन्छन् । आरोपित कसूरमा अधिकारप्राप्त अधिकारी समक्ष भएको बयानमा सावित हुने प्र.जग सा तेलीले प्र.बिन्दा सा को संलग्नता बारे लेखाई दिएको पाइन्छ । जुन बयानलाई मिसिल संलग्न रहेको जाहेरी दर्खास्त लगायत चस्मदिदको बयान समेतबाट समर्थन भएको देखिन्छ यस्तो  अवस्थामा निज प्र.बिन्दा सा उक्त वारदातमा संलग्न थिएनन् रहेनछन् भन्न सकिने स्थिति अवस्था देखिन आएन । त्यस्तै प्र.झगरु महतो कोइरीको हकमा विचार गर्दा निज आफू उपरको अभियोगमा अदालतमा समेत इन्कार छन् । तर इन्कारीको पुष्टि गर्ने तथ्यसंगत प्रमाण पेश दाखेला हुनसकेको पाइदैन । प्रमाणरहितको इन्कारीले सफाइको भूमिका निर्वाह गर्नसक्ने नहुँदा निज झगरु महतो उक्त वारदातमा संलग्न रहेनछन् भनी मान्न मिलेन । प्र.लालबहादुर सा तेलीको हकमा हेर्दा निज आफू उपरको अभियोगमा आफ्नो संलग्नता नभए नगरेको र निर्दोष रहेको भनी इन्कार रही अदालत समक्षको बयानमा लेखाउँछन् । तर वारदात नभएको भन्ने जिकिर पाइदैन । साथै इन्कारीउपर दिएको सबूद निज उपरको अभियोगलाई शंकारहित तवरले स्वतन्त्र रुपबाट पुष्टि गर्नसकेको देखिँदैन । अतः निजको अदालत समक्षको इन्कारी न्यायसंगत मान्न सकिएन । त्यस्तै प्र.जग साह तेलीको हकमा विचार गर्दा निज अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा आरोपित अभियोगमा सावित देखिन्छन् । जुन सावितीलाई अदालत समक्ष बयान गर्दा इन्कार गर्दछन् र वारदातमा आफ्नो संलग्नता नभए नरहेको भनी लेखाएको पाइन्छ । तर अदालत समक्षको इन्कारीलाई शंकारहित मान्न र अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई अन्यथा गर्ने संकलित सबूद प्रमाणबाट मिल्ने देखिन नआउँदा निज उपरको अभियोग संकलित सबूद प्रमाणको आधारमा शंकारहित तवरले प्रतिस्थापित नभएको भनी मान्न मिल्ने देखिन आएन । पु.प्र.बनारसीलाल साह तेलीको हकमा विचार गर्दा निज अधिकारप्राप्त अधिकारी र अदालत समक्ष बयानमा समेत आफू उपरको अभियोगमा इन्कार देखिन्छन् । जाहेरी दर्खास्तमा निजको नाम उल्लेख भएको पाइन्छ । तर अधिकारप्राप्त अधिकारी समक्षको बयानमा सावित रहने जग साको बयानबाट निज बनारसीलाल उक्त वारदातमा संलग्न रहेको भन्ने देखिँदैन । साथै निजको अधिकारप्राप्त अधिकारी समक्षको इन्कारी बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट र अदालत समक्षको इन्कारी बयानलाई अन्य शंकारहित प्रमाणले वादी श्री ५ को सरकारबाट खण्डन मण्डन हुनसकेको पाइँदैन । जाहेरवाला लगायत चस्मदिद मृतककी श्रीमतीको बयानबाट पनि प्र.वनारसीलाल उपरको अभियोगलाई शंकारहित तवरले गडाउ गर्न सकेको नपाइँदा शंकारहित स्वतन्त्र प्रमाणको अभावको स्थिति र अवस्थामा प्र.बनारसीलाल साह तेलीलाई कसूरदार ठहर गरेको शुरु अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफ सो हदसम्म मिलेको नहुँदा उल्टी हुन्छ । अन्य पुनरावेदक प्रतिवादीहरुको हकमा उल्लिखित अवस्था र शुरु म.क्षे.अ.को फैसलामा लेखिएका बूँदा प्रमाणहरु समेतको आधारमा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ ।

२७.   अब ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायँ पाएका प्रतिवादी विश्वनाथ साह तेलीको हकमा साधक तहबाट इन्साफतर्फ विचार गर्दा वारदात भएको कुरामा विवाद देखिँदैन । निज प्र.विश्वनाथ आफू उपरको अभियोगमा अदालत समक्ष बयान गर्दा इन्कार गरेको देखिन्छ । तर बन्दुक विश्वनाथकै हातमा देखेको भनी सरजमीनबाट खुल्न आएको र मृतकको मृत्यु बन्दुकको गोली लागी भएकोबाट पनि निज प्र.को इन्कारीमा शंकारहितपन प्रतिविम्बित हुनसकेको पाइँदैन । साथै आफ्नो इन्कारीलाई पुष्टि गर्ने शंकारहित र स्वतन्त्र प्रमाण निज विश्वनाथबाट गुज्रन सकेको पनि मिसिल संलग्न प्रमाण कागजातबाट देखिन नआउँदा इन्कारीलाई प्रमाणिक रुपमा स्वीकार गर्न पनि मिलेन । यसर्थ निज प्र.विश्वनाथ साह तेलीलाई अभियोग प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु अदालतको फैसलालाई सदर गरेको समेत म.क्षे.अ.को इन्साफ कानूनसंगत नै देखिँदा उक्त इन्साफमा कुनै परिवर्तन गरिरहन परेन इन्साफ मनासिब ठहर्छ । साधकको लगत कट्टा गरी अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

देहायका पुनरावेदक प्रतिवादीहरु के इन्साफ खण्डमा  लेखिएबमोजिम हुने ठहरेकोले पुनरावेदन जिकिर नपुगे बापत अ.बं.२०३ नं. ले थप कैद हुने हुँदा शुरु अदालत ले ज्यानसम्बन्धीको १७(२) नं.बमोजिम जनही कैद वर्ष ५।सजायँ गरेकोमा सोको सयकडा ५ प्रतिशतले जनही ३ महिना थप कैद हुन्छ । नियमानुसार गर्नु भनी शुरु जिल्ला अदालतमा लेखत दिन का.जि.अ.मा लेखी पठाउनु ।

प्र.बिन्दा साह तेली के थप कैद ३ महिना १ प्र.जग साह तेली के थप कैद महिना १ प्र.झगरु महतो कोइरी के थप कैद महिना १ प्र.लालबहादुर साह तेली के थप कैद महिना १ पुनरावेदक प्र.बनारसीलाल साह तेली के इन्साफ खण्डमा लेखिएबमोजिम अभियोगबाट पूर्ण सफाई पाउने ठहरेकोले निजको हकमा ज्यानसम्बन्धीको १४(२) नं.बमोजिम कैद वर्ष ५ को सजायँ गर्ने गरेको शुरु अदालतले राखेको लगत र मध्यमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन गरेको बापत थप गरेको कैद महिना ६ को लगत समेत अब कायम राख्न परेन सोको लगत कट्टा गरी दिनु भनी शुरु अदालतमा लगत दिनु का.जि.अ.मा लेखी पठाउनु...२

मिसिल नियमानुसार गरी बुझाई दिनु...३

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल पौष ४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु