शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६१३ - खुन डाँका

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६१३      ने.का.प. २०४५              अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको फौ.पु.नं. ४६९

फैसला भएको मिति : २०४५।५।१७।६ मा

 

पुनरावेदक/वादी : लक्ष्मण भुजेलको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि.सर्लाही पर्सा गा.पं.वा.नं.९ बस्ने विलास महतो सुडीसमेत

 

मुद्दा : खुन डाँका

 

(१)                कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुनेछ भनी नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुने ।

(प्रकरण नं. २५)

(२)               फ्नो एलिबिको जिकिर प्रमाणित गर्न नसकेकोमा उक्त कुरा निजको विरुद्धमा प्रमाण लाग्ने ।

(प्रकरण नं. २६)

(३)               मृतकले आफ्नो मृत्युको कारण र वारदातको यथास्थिति सम्बन्धमा अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयानबाट प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई शंकारहित तवरले पुष्टि गरिदिएकोबाट वादी दावी पुष्टि भएको अवस्था र स्थितिमा एलिवी (Alibi) को जिकिर कानूनसंगत मान्न नमिल्ने ।

(प्रकरण नं. २६)

(४)               खून डाँका जस्तो जघन्य प्रकृतिको कसूर संकलित प्रमाणबाट शंकारहित तवरले प्रमाणित भइरहेको अवस्थामा केवल इन्कारीको भरमा आरोपित कसूरबाट सफाई दिन फौज्दारी न्यायको सिद्धान्तले नमिल्ने ।

(प्रकरण नं. २६)

(५)              सरजमीनका अधिकांश व्यक्तिहरुले मृतकको सावितीलाई अदालत समक्ष आई बकपत्र गर्दा पनि समर्थन गरी लेखाई दिएको अवस्था र स्थितिमा मृतकको बयान कागजलाई अन्यथा भन्न नसकिने ।

(प्रकरण नं. २८)

(६)               प्रतिवादीहरुले आफू उपरको आरोपित कसूरमा इन्कार रही अदालत समक्ष बयान गरेको, सो इन्कारीको पुष्टि गर्ने दायित्व प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीहरुको रहेकोमा वारदातमा आफू संलग्न नभए नरहेको भन्ने इन्कारी न्यायसंगत मान्न     नमिल्ने ।

(प्रकरण नं. २८)

(७)              फौज्दारी कसूरमा एलिवि (Alibi) त्यतिखेर शंकारहित तवरले पुष्टि हुन सक्छ जतिखेर आरोपित कसूर पुष्टि गर्ने अन्य प्रमाणको अभाव रहेको हुन्छ अतः आरोपित कसूर पुष्टि गर्ने प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कुनै अस्तित्व रहन नसक्ने ।

(प्रकरण नं. २८)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।

२.    २०३९।९।१२ गतेको राती हातमा लाठी, बन्दूक, भाला समेत बोकेका डाँकाहरुले फेकु भुजेल समेतको घरमा डाँका गरी मेरो दोकानमा आई डाँका गर्न लाग्दा होहल्ला भई गाउँले र प्रहरी समेतहरु आउँदा लाठी प्रहारबाट रामअसिसको तत्काल मृत्यु भयो । डाँका मध्येका रामचन्द्र महतोलाई पक्राउ गरी दाखिल गरेका छौं, बिगो रु.६००।दिलाई सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको लक्ष्मण भुजेलको जाहेरी दर्खास्त ।

३.    ०३९।९।१२ गते राती रामअसिस समेतका ७।८ जवान डाँकाहरुले बन्दूक समेत लिई मेरो घरमा प्रवेश गरी धनमाल समेत लिई भागी जाँदा गाउँलेहरु जम्मा भई भिडन्त हुँदा रामचन्द्र महतो मौकैमा पक्राउ परेका हुन् । रामअसिसको मृत्यु भयो । बिगो रु.३९५।५० को धनमाल डाँका गरी लगेकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको फौज्दार मुसहरको जाहेरी दर्खास्त ।

४.    ०३९।९।१२ गते राती बन्दूक समेत लिएका  ७।८ जना डाँकाहरु मेरो घरमा आई बिगो २१५।को धन सम्पत्ति डाँका गरी रहेको अवस्थामा मानिसहरु जम्मा भई आपसमा भिडन्त हुँदा रामअसिस भन्ने डाँकाको मृत्यु भयो । डाँका मध्येका रामचन्द्र महतो पक्राउमा परेकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको जनकबहादुर भुजेलको जाहेरी दर्खास्त ।

५.    ०३९।९।१२ गते राती बन्दूक समेत लिएका ७।८ जवान डाँकाहरु मेरो घरमा आई डाँका गरी भाग्न लाग्दा गाउँले मानिसहरु र डाँकाहरुबीच भिडन्त हुँदा डाँका रामअसिसको मृत्यु भयो भने रामचन्द्र महतो पक्राउ परेकाले कानून बमोजिम गरी बिगो रु.१७५५।समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको फेकु भुजेलको जाहेरी दर्खास्त ।

६.    टाउको फुटी गिदी भुईमा छरिएको भन्ने समेत व्यहोराको मृत व्यक्तिको लाश प्रकृति मुचुल्का ।

७.    पुरानो दुस्मनीको कारण जाहेरवालाहरुको घरमा डाँका गर्ने सल्लाह भई ०३९।९।१२ गते राती रामअसिसले भनेकाले निज सहित विसाल सुडी, वीरबहादुर, मानबहादुर, पशुपतिबहादुर र म पहाडीयाहरुको घरमा पसी त्यहाँका आइमाइहरुले लगाएको फुली लुछी राम विसाललाई दिएँ पहाडीयाहरुले हामीसंग मुकाबिला गर्दा रामअसिसले फायर गरेको गोली मलाई लागी घाइते भएँ, रामअसिसकै हातको बन्चरो खोसी रामअसिसलाई प्रहार गरी मारे भन्ने समेत व्यहोराको रामचन्द्र महतो कोइरीले सर्लाही अस्पतालमा गरेको कागज ।

८.    म वीरबहादुर, रामचन्द्र, रामअसिस, पशुपति, समेत भई बन्दूक समेत लिई जाहेरवालाको घरमा डाँका गर्न गएको अवस्थामा गाउँलेहरुले पिछा गरी मुकाविला हुँदा रामअसिस घटनास्थलमै मरी मेरो हातमा भएको बन्दूकले गाउँलेउपर फायर गर्दा रामचन्द्र घाइते भई पक्राउ परेका हुन भन्ने समेत व्यहोराको विलास महतो सुडीको कागज ।

९.    डाँका वारदातमा रामअसिसको मृत्यु भएको र रामचन्द्र घाइते भएका हुन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

१०.    डाँका मध्येका रामअसिसको मृत्यु को कस्कोबाट भएको खुल्न नआएकाले त्यसतर्फ कारवाई चलाउन नपर्ने, विसाल महतो सुडीले गाउँलेउपर गोली हान्दा रामचन्द्र महतो कोइरीको मृत्यु हुन गएकोले निजलाई ज्यानसम्बन्धीको १३(१) नं. र डाँकातर्फ चोरीको १४(४) नं.बमोजिम सजायँ हुन र पशुपतिबहादुर क्षेत्री, मानबहादुर क्षेत्री, रामचन्द्र महतो कोइरी, वीरबहादुर महतो सुडीको हकमा चोरीको १४(४) नं.बमोजिम सजायँ हुन र बिगो सबै अभियुक्तहरुबाट दामासाहीका दरले भरिभराउ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

११.    वारदातको रातमा म आफ्नो गाउँघरमा नै छैन । बन्दूक मेरो होइन, डाँका वारदातमा म संलग्न छैन । प्रहरीमा भएको बयान कुटपिट गरी भएको हो, भन्ने समेत व्यहोराको विलास महतो सुडीको बयान ।

१२.    खुद आफ्नो कान्छा बाजे फेकु र मामा लक्ष्मण, जनक समेतको घरमा मैले डाँका गर्नुपर्ने नहुँदा म उपरको अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.मानबहादुरको बयान ।

१३.    वारदातको रात आफ्नो घरमा नै नहुँदा डाँका गरेका होइनौ भन्ने समेत व्यहोराको रामचन्द्र महतो कोइरी र वीरबहादुर सुडीको बयान ।

१४.    शंकाको भरमा अभियुक्तहरुलाई आरोपित कसूरमा सजायँ गर्न मिल्ने नहुँदा अभियुक्तले सफाई पाउने ठहर्छ र अभियुक्त पशुपतिबहादुर क्षेत्रीको हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी राखी दिने भन्ने समेत व्यहोराको शुरु सर्लाही जिल्ला अदालतको फैसला ।

१५.   शुरु अदालतको कानूनी त्रुटिपूर्ण फैसला बदर गरी अभियुक्तहरुलाई प्रतिवेदन दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को  सरकारतर्फबाट म.क्षे.अ.मा पर्न आएको पुनरावेदन ।

१६.    यसमा आरोपित कसूर गरेको भन्ने कुरा शंकारहित स्वतन्त्र प्रमाणबाट प्रमाणित हुनसकेको मिसिलबाट देखिन आएन । शंकाको सुविधा प्रतिवादीहरुले नै पाउने हुँदा आरोपित कसूरबाट प्रतिवादीहरुले सफाई पाउने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला रहेछ ।

१७.   पर्याप्त प्रमाणले आरोपित कसूर पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीहरुलाई सफाई दिने ठहर गरेको शुरु अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफ कानूनसंगत नहुँदा सो फैसला समेत बदर गरी प्रतिवेदन दावी बमोजिम सम्पूर्ण प्रतिवादीहरुलाई सजायँ गरी पाउँ भनी वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनमा प्रतिवादी रामचन्द्र महतोले अस्पतालमा गरेको बयान र विलास महतोको प्रहरी समक्षको सावितीको आधारमा म.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा विपक्षीहरुलाई झिकाई नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश देखिन्छ ।

१८.    यसरी नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले र प्रत्यर्थी विलास महतोको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । प्रस्तुत विषयमा मुख्यतः क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णय दिन पर्ने देखिन आयो ।

१९.    यसमा मिति २०३९।९।१२ गतेको रात डाँकाहरु आई हाम्रो घरमा डाँका गरी भाग्न लागेकोमा गाउँलेहरु र प्रहरी समेतको जमघट हुँदा डाँकाहरुसँग मुठभेड भयो । डाँकाहरुको समूहबाट फायर भएको बन्दूकको गोलीबाट डाँका मध्येकै रामचन्द्र महतो घाइते भए । रामअसिस कुटपिटको कारण मृत्यु भएकोले अन्य अभियुक्तहरुलाई पक्राउ गरी बिगो समेत भराई पाउँ भनी घाइते रामचन्द्र सहित फेकु भुजेल, फौज्दार माझी मुसहर र जनकबहादुर भुजेलबाट जि.प्र.का.सर्लाहीमा जाहेरी दर्खास्त परेको देखिन्छ ।

२०.   उक्त वारदातमा घाइते भई उपचारको क्रममा अस्पताल भर्ना भएको रामचन्द्र महतोको मृत्यु २०३९।९।१८ मा भएको सोही वारदातमा डाँकाहरुको प्रहारबाट लक्ष्मण भुजेल, फेकु भुजेलको बुहारी पासपतियादेवी र फौदारी माझीका भतिजी दुलारी मुसहरनीलाई चोटपटक लागी उपचार गराएको र डाँका मध्येका रामअसिसको तत्कालै मृत्यु भएको भन्ने ०३९।९।१३ गतेको घटनास्थल प्रकृति मुचुल्का समेतबाट वारदात भएको कुरामा विवाद देखिन आएन ।

२१.    अब वारदात को कस्को संलग्नताबाट भएको रहेछ भनी हेर्दा जाहेरवालाहरुको जाहेरी दर्खास्तबाट मृतक रामअसिस र रामचन्द्र महतोको नाम सम्म खुल्न आएको देखिन्छ ।

२२.   हाम्रो डाँका समूहको सरदार मृतक रामअसिस थिए । विलास महतो सुडी, पशुपतिबहादुर क्षेत्री, मानबहादुर क्षेत्री, रामचन्द्र महतो कोइरी, वीरबहादुर महतो सुडी र म पनि उक्त वारदातमा संलग्न थियौं । विलास महतोले गाउँलेउपर चलाएको बन्दूकको गोली मलाई लाग्दा घाइते भएको कारण म तत्काल पक्राउमा परे भने रामअसिस गाउँलेहरुको कुटपिटबाट तत्काल मरे । वारदात हाम्रै समूहबाट भएको हो भनी मृतक रामचन्द्र महतोले सर्लाही अस्पतालमा अधिकारप्राप्त अधिकारीका समक्ष मिति २०३९।९।१५ मा बयान गरी दिएको पाइन्छ । यसरी मिति ०३९।९।१३ मा उपचारको लागि भर्ना भएको मृतक रामचन्द्र महतोको मृत्यु २०३९।९।१८ मा भएको भन्ने सर्लाही अस्पतालको पत्रबाट देखिन्छ ।

२३.   यसै गरी रामअसिसको सल्लाह अनुसार मानबहादुर, पशुपतिबहादुर, रामचन्द्र महतो, वीरबहादुर महतो घाइते भएका रामचन्द्र महतो र म समेत भई जाहेरवालाहरुको घरमा डाँका वारदात गरेका हौं । वारदात अवस्था गाँउलेहरुको जमघट हुँदा मैले बन्दूक फायर गरेकोमा साथी रामचन्द्रलाई लागेछ र निज घाइते भए, भने रामअसिसको मृत्यु गाउँलेहरुको कुटपिटबाट भएको हो भनी प्रतिवादी मध्येका विलास महतो अधिकारप्राप्त अधिकारी समक्ष कसूरमा सावित रहेको पाइन्छ । सरजमीनका अधिकांश व्यक्तिहरुले पनि मृतक रामचन्द्र महतोले सर्लाही अस्पतालमा अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानलाई नै समर्थन गरी अदालतमा समेत आई बकी लेखाई दिएको देखिन्छ ।

२४.   प्रतिवादी विलास महतोले चलाएको बन्दूकको गोलीबाट रामचन्द्र महतोको मृत्यु भएकोले निजलाई ज्यानसम्बन्धी महलको १३(१) र चोरीको १, ६ नं. विपरीत वारदात गरेकोले ऐ.को १४(४) नं.बमोजिम सजायँ हुन र अन्य प्रतिवादीहरु पशुपतिबहादुर क्षेत्री, मानबहादुर, रामचन्द्र महतो कोइरी र वीरबहादुर महतोको हकमा चोरीको १४(४) नं.बमोजिम सजायँ हुन भनी अभियोग प्रतिवेदन दायर भएको पाइन्छ ।

२५.   यसमा प्रतिवादी विलास महतोले आफू पौष १० गतेदेखि गाउँमा नभई महोत्तरीमा भदाहको घरमा गई ऐ.१३ गते मात्र घरमा आएको हुँदा वारदातमा म संलग्न थिइन भनी आरोपित कसूरमा इन्कार रही अदालत समक्ष बयान दिएका छन् । प्रमाण ऐन, २०३१ को दफा २५ मा फौज्दारी मुद्दामा अभियुक्तहरुको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी व्यवस्था भएको पाइन्छ भने सोही ऐनको दफा २८ मा कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुने छ भनी कुनै नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुनेछ भनी उल्लेख भएको देखिन्छ ।

२६.   उक्त पृथक कानूनी व्यवस्थाबाट फौज्दारी मुद्दामा प्रमाणको भार वादीलाई सुम्पिएको छ भने कुनै खास कुरा प्रमाणित गर्ने भार प्रतिवादीउपर पनि राखी दिएको पाइन्छ । प्र.विलासले मिति २०३९।९।१० देखि नै आफू महोत्तरीको खजुरी गाउँमा रही वारदात पछि २०३९।९।१३ मा मात्र घरमा आएको भनी कसूरमा इन्कार रही एलिबी (Alibi) को जिकिर अदालत समक्ष बयान गर्दा लिएकोमा उक्त दिनहरुमा आफू त्यस ठाउँमा रहे भएको प्रमाण शंकारहित तवरले पुष्टि गर्ने भार निज माथि नै रहन नजाने होइन । साथै आफ्नो एलिबीको जिकिर प्रमाणित गर्न नसकेकोमा उक्त कुरा निजको विरुद्धमा प्रमाण नलाग्ने पनि होइन । तर फौज्दारी मुद्दामा अभियुक्त उपरको कसूर प्रमाणित गर्ने भार वादी पक्षको भएकोले वादी पक्षबाट प्र.विलास उपरको विरुद्धमा के कस्ता प्रमाणहरु रहेछन् । सो कुरा बहुतै महत्वपूर्ण हुन जान्छ । निज प्र.विलास महतो अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा आफू उपरको कसूरमा शंकारहित तवरले सावित रहेका छन् । मृतक मध्येका रामचन्द्र महतोले सर्लाही अस्पताल समक्ष गरी दिएको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ११ बमोजिम अन्यथा मान्ने भन्न सकिने स्थिति पनि देखिँदैन । मृतक रामचन्द्र महतोले आफ्नो मृत्युको कारण र वारदातको यथोस्थिति सम्बन्धमा अधिकारप्राप्त अधिकारी समक्ष गरी दिएको बयानबाट प्र.विलास महतोको अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई शंकारहित तवरले पुष्टि गरी दिएको देखिन्छ । जसबाट पनि प्र.विलास महतो समेत उपरको वादी दावी पुष्टि भएको पाइन्छ । यस्तो अवस्था र स्थितिमा प्र.विलासको एलिबी (Alibi) को जिकिर कानूनसंगत मान्न मिल्ने देखिन आएन । किनकी प्रचलित नेपाल कानून बमोजिम सजायमा कमी या छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएकोमा सो कुराको प्रमाण पुर्‍याउने भार प्रतिवादीकै हुनेछ भन्ने प्रमाण ऐन, २०३१ को दफा २७ लाई मध्यनजर राखी हेर्दा प्र.विलासको अदालत समक्षको इन्कारी बयानलाई केवल साक्षीको बकपत्र बाहेक अन्य शंकारहित प्रमाणबाट गडाउ गर्ने गरी पुष्टि गर्नसकेको पाइँदैन । खुन डाँका जस्तो जघन्य प्रकृतिको कसूर सङ्कलित प्रमाणबाट शंकारहित तवरले प्रमाणित भइरहेको अवस्थामा प्रतिवादीको केवल इन्कारीको भरमा आरोपित कसूरबाट सफाई दिन फौज्दारी न्यायको सिद्धान्तले पनि मिल्ने होइन ।

२७.   यसर्थ प्रमाण ऐन, २०३१ को दफा ११ अनुसार मृतक रामचन्द्र महतोले अस्पताल समक्ष अधिकारप्राप्त अधिकारीका सामु गरेको बयानलाई मान्यता नदिन पनि मिल्ने नदेखिँदा प्र.विलासको अदालत समक्षको इन्कारी कानूनसंगत देखिन आएन । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्र.विलास उपरको दावी शंकारहित तवरले स्वतन्त्र रुपबाट पुष्टि भई नै रहेको स्थिति र अवस्थामा आरोपित कसूरबाट नै सफाई पाउने ठहर गरेको शुरु अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा उल्टी हुन्छ । अतः प्र.विलास महतोले जाहेरवालाहरुको घरमा डाँका वारदात गर्दा चलाएको बन्दूकको गोली लागी मृतक रामचन्द्र महतोको मृत्यु हुन गएको देखिन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(१) नं. र डाँकातर्फ एकै रातमा ४ जनाको घरमा डाँका गरेको चौथो पटक चोरीको १४(४) नं.बमोजिम सजायँ हुने ठहर्छ ।

२८.   अब चोरीको महलको १४(४) नं.बमोजिमको दावी भएको प्रतिवादीहरु पशुपतिबहादुर क्षेत्री, मानबहादुर क्षेत्री, रामचन्द्र महतो कोइरी, वीरबहादुर महतो सुडीको हकमा विचार गर्दा प्र.पशुपतिबहादुर क्षेत्रीको हकमा मुलतवी रहेको देखिँदा त्यसतर्फ केही बोलिरहन परेन । अन्य प्रतिवादीहरु अदालत समक्ष बयान गर्दा इन्कार देखिन्छन् । तर वारदात नै नभएको भन्ने जिकिर निज प्रतिवादीहरुले लिएको पनि पाइँदैन । प्र.रामचन्द्र महतोले सर्लाही अस्पतालमा र प्र.विलास महतोले पनि अधिकारप्राप्त अधिकारीका समक्ष गरी दिएको कागजमा यी प्रतिवादीहरुको नाम स्पष्ट रुपमा शंकारहित तवरले लेखाइदिएका छन् । सरजमीनका अधिकांश व्यक्तिहरुले पनि मृतक रामचन्द्र महतो समेतको सावितीलाई अदालत समक्ष आई बकपत्र गर्दा पनि समर्थन गरी लेखाई दिएको  देखिन्छ । यस्तो अवस्था र स्थितिमा मृतक रामचन्द्र महतोको बयान कागजलाई अन्यथा भन्न सकिने देखिन आएन । प्र.विलास महतो सुडीले अधिकारप्राप्त अधिकारी समक्ष दिएको साविती बयानमा यी प्रतिवादीहरु समेतको सहयोगबाट जाहेरवालाहरुको घरमा डाँका वारदात गरेका हौं भनी स्पष्ट उल्लेख गरी दिएको पाइन्छ । तर प्रतिवादीहरुले आफू उपरको आरोपित कसूरमा इन्कार रही अदालत समक्ष बयान गरेको देखिन्छ । सो इन्कारीको पुष्टि गर्ने दायित्व प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीहरुको रहेकोमा वारदातमा आफू संलग्न नभए नरहेको भन्ने इन्कारी न्यायसंगत मान्न मिल्ने देखिन आएन । उक्त प्रतिवादीहरुले आफ्नो इन्कारी पुष्टि गर्ने प्रमाणको रुपमा केवल साक्षीहरुको बकपत्रलाई अंगालेको पाइन्छ जुन बकपत्रले प्रतिवादीहरुको इन्कारी शंकारहित तवरले पुष्टि गर्नसकेको पाइँदैन । फौज्दारी कसूरमा एलिबी (Alibi) त्यतिखेर शंकारहित तवरले पुष्टि हुन सक्छ, जतिखेर आरोपित कसूर पुष्टि गर्ने अन्य प्रमाणको अभाव रहेको हुन्छ । अतः आरोपित कसूर पुष्टि गर्ने प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कुनै अस्तित्व रहन सक्दैन ।

२९.   यसर्थ वारदात भएकोमा विवाद देखिन नआएको, सोही वारदातमा परी रामअसिसको तत्कालै मृत्यु भएकोमा शंका नरहेको, रामचन्द्र महतोको उपचारको क्रममा सर्लाही अस्पतालमा मृत्यु हुनु भन्दा अगाडि आफ्नो मृत्युको सम्बन्धमा गरिदिएको कागज समेतको आधार प्रमाणहरुबाट पनि वारदात शंकारहित तवरले पुष्टि हुनुको साथै यी प्रतिवादीहरु समेत उक्त मिति ०३९।९।१२ को डाँका वारदातमा संलग्न रही भई जाहेरवालाहरुको घरमा डाँका गरेको कुरा प्रमाणित  हुनआएको देखिँदा, अभियोग पुष्टि गर्ने पर्याप्ततामा नै प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरेको शुरु अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफ कानूनसंगत देखिन नआउँदा उल्टी हुन्छ । प्रतिवादीहरु वीरबहादुर महतो सुडी, रामचन्द्र महतो कोइरी, मानबहादुर क्षेत्रीले एकै रातमा चारजनाको घरमा डाँका वारदात गरेको देखिन आएकाले चोरीको ११ नं.को आधारमा चौथो पटक चोरीको १४(४) नं.बमोजिम सजायँ हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

प्र.विलास महतो सुडी के इन्साफ खण्डमा लेखिएबमोजिम ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसार सजायँ हुने ठहरेकाले सर्वश्वसहित जन्मकैद हुन्छ । डाँका वारदाततर्फ चोरीको १४(४) नं.बमोजिम सजायँ हुनेमा ज्यानसम्बन्धीको १३(१) नं. को सजायँ भएकाले कैदको हकमा थप गरिरहन परेन । डाँका गरी लगेको जम्मा बिगो रु.२,९६५।५० को दामासाहीले हुने रु.७४१।४० निजको सम्पत्तिबाट भराई दिई, बाँकी रहन आएका सम्पत्ति सर्वश्व गर्नु, रुजु नदेखिँदा कानून बमोजिम असूलउपर गर्नु भनी सम्बन्धित जिल्ला अदालतमा लगत दिन का.जि.अ.मा लेखी पठाउनु......१

देहायका प्रतिवादीहरुके इन्साफ खण्डमा लेखिएबमोजिम चौथौं पटक डाँका वारदात गरेको ठहरेकाले चोरीको १४(४) नं. अनुसार सजाय, रुजु नदेखिँदा कानून बमोजिम असूलउपर गर्नु भनी सम्बन्धित जिल्ला अदालतमा लगत दिन का.जि.अ.मा लेखी पठाउनु..२

प्र.मानबहादुर क्षेत्री के कैद वर्ष (१२) बाह्र जरिवाना रु.४,४४८।२५ प्र.वीरबहादुर महतो सुडी के कैद वर्ष (१२) बाह्र जरिवाना रु.४,४४८।२५ प्र.रामचन्द्र महतो कोइरी के कैद वर्ष (१२) बाह्र जरिवाना रु.४,४४८।२५ देहायका प्र.हरु के माथि इन्साफ खण्डमा लेखिएबमोजिम डाँका वारदात गरेको ठहरेकोले डाँका भएको बिगो भराई पाउँ भनी म्याद भित्र जाहेरवालाहरुको दर्खास्त परे जम्मा बिगो रु.२,९६५।५० देहाय बमोजिम असूलउपर गरी कानून बमोजिम सम्बन्धित जाहेरवालाहरुलाई भराई दिनु भनी बेरुजू रहेकाले सम्बन्धित जिल्ला अदालतमा लगत दिन का.जि.अ.मा लेखीपठाउनु....३

प्र.मानबहादुर क्षेत्री के. रु.७४१।४० प्र.वीरबहादुर महतो सुडी के. रु.७४१।४० प्र.रामचन्द्र महतो कोइरी के. रु.७४१।४० मिसिल नियमानुसार गरी बुझाई दिनु..४

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल भाद्र १७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु