निर्णय नं. ३६१४ - अंश

निर्णय नं. ३६१४ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको स.अ.दे.पु.नं. ७३६
फैसला भएको मिति : २०४५।९।११।१ मा
पुनरावेदक/प्रतिवादी : सुनसरी डुम्राहा गा.पं.वा.नं.९ बस्ने दानालाल मण्डल धानुकसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने सियालाल मण्डल धानुक
मुद्दा : अंश
(१) वादी सगोलै भएको भए अंशियारले सगोलको अंशियारबाट ऋण लिने प्रश्न नै उठ्न नसक्ने स्थितिमा मुलुकी ऐन अंशबण्डाको ३० नं. मा व्यवस्था भएबमोजिम व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टिई भिन्न भएको प्रष्ट देखिई रहेकोमा वादीले वादी दावी बमोजिम अंश पाउने ठहराई शुरुको सदर गरी गरेको निर्णय फैसला मिलेको नदेखिने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।१८।४ को निर्णयमा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट यस अदालतमा अनुमतिको निवेदन परी अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।
२. मधुरी मण्डलका २ पत्नीमा जेठी पट्टी म, कान्छी पट्टिका विपक्षीहरु भई हामीहरु दाजु भाइ छौं । मेरो आमा स्वर्गीय भएपछि आपसी मन मुटाब हुँदा सबै सम्पत्ति सगोलमा रही ०–५–० जग्गा मेरो नाउँमा खरीद गरिदिई ०१७ सालमा मानो छुट्याई दिएको र आयस्ता बराबर खाई आएको पिताको पनि २०३७।१२।१२ मा स्वर्गवास भयो भाइहरुसंग २०३८।१२।२ मा अंशबण्डा गरौं भन्दा हामी जिम्मा अंश छैन भनेकाले तायदाती लिई ५ भागको १ भाग अंश पाउँ भन्ने समेत व्यहोराको फिराद ।
३. जेठी श्रीमती स्वर्गवास भएपछि पिताले हाम्रो आमा ल्याएको र हाम्रो जन्म भएको हो । विपक्षी २०१० सालमा चलअचल सम्पत्ति लिई भिन्न भई बसेका हुन । हाम्रो आर्जनको सम्पत्ति पिताकै नाउँमा रहेको र पिताबाट हामी समेत आ–आफ्नो अंश लिई छुट्टी भिन्न भई बसेका छौं । वादीको अंश हाम्रो जिम्मा छैन । अंश दिनु पर्ने समेत होइन भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर ।
४. अंशियार हुन भन्ने कुरा स्पष्ट भयो । नीतिपूर्वक अंश भएको मानु छुट्टिएको लिखत छैन ०१७ साल भन्ने वादी र ०१० साल भन्ने प्रतिवादी भई विवाद हुँदा फिराद परेको मितिलाई मानु छुट्टिएको मिति कायम गरी तायदाती लिएकोबाट वादी दावी बमोजिम रामजी मण्डल समेतबाट अंश पाउने प्रमाणित भएकोले आएको फाँटवारी बमोजिम ५ भागको १ भाग चलअचल अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सुनसरी जिल्ला अदालतको ०४१।१।१० को फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. यसमा वादी प्रतिवादीका बाबुको जग्गा खरीद बिक्री समेतको कारोवार भइसकेको देखिँदा वादीबाट प्रतिवादीलाई अंश दिलाउन मिलेन अंश पाउने ठहराएको शुरुको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको फैसला ।
७. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ।
८. यसमा तायदाती बमोजिम ५ भागको १ खण्ड वादीले अंश पाउने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको इन्साफ मनासिब हुँदा सदर हुन्छ वादी दावी नठहराएको कोशी अञ्चल अदालतको फैसला बदर भई उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०४३।१२।१८ को फैसला ।
९. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई यस इजलास समक्ष पेश हुनआएको रहेछ ।
१०. पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री नारायणराज खरेलले गर्नु भएको बहस समेत सुनियो मुख्यतः पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
११. यसमा वादी प्रतिवादीहरु अंशियार भएकोमा र ०–५–० कठ्ठा जग्गा वादीलाई किनी दिई ०१७ सालमा मानु छुट्टिएको भन्ने कुरा स्वयं वादीले नै वादीमा स्वीकारेको पनि पाइन्छ । वादीको आमा स्वर्गे भएपछि ०१० सालमै बाबुसंग चलअचल सम्पत्ति लिई वादी भिन्न भएको र पछि बाबुले अर्को विवाह गरी हामी जन्मेको र आफ्नो आर्जनबाट कमाएको सम्पत्ति बण्डा गरी खाई आएकोले वादीलाई अंश दिनु पर्ने बाँकी छैन भन्ने प्रतिवादीहरुको जिकिर भएको देखिन्छ । वादी प्रतिवादीका बाबु माधुरी मण्डल स्वयंले प्रतिवादी देवनारायणलाई रु.५००।– मा ०३०।९।२३ मा र दानालाललाई रु.५००।– मा मिति ०३७।९।२३ मा रामजी मण्डललाई रु.५००।– मा मिति ०३७।९।२३ मा जग्गाहरु रजिष्ट्रेशन पारित गरी राजीनामा गरी दिएको र सो लिखतहरुलाई आजसम्म कुनै अन्यथा भइरहेको उजूर वाजूर परी बदर भएको पनि पाइदैन । अर्को कुरा वादी सियालाल मण्डलले ०३६।४।१२ मा प्र.सत्यनारायण मण्डलबाट कपाली तमसुक गरी रुपैयाँ ऋण लिएका समेत देखिन आएको यदि वादी सगोलै भएको भए सगोल अंशियारले सगोल अंशियारबाट ऋण लिने प्रश्न नै उठ्न नसक्ने । यस्तो स्थितिमा मुलुकी ऐन अंशबण्डाको ३० नं. मा व्यवस्था भएबमोजिम व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टिई भिन्न भएको प्रष्ट देखिइरहेकोमा वादीले वादी दावी बमोजिम अंश पाउने ठहराई शुरुको सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिँदा उल्टी हुन्छ । वादी प्रतिवादी भिन्न भई आ–आफ्नो व्यवहार गरी बसेको समेतका आधार प्रमाणबाट वादीको अंशमा दावी पुग्न नसक्ने ठहरी शुरुको उल्टी गरी कोशी अञ्चल अदालतले गरेको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको ०४३।१२।१८ को फैसला उल्टी भएकोले सो फैसलाको तपसील खण्डमा उल्लेख भएको कलमहरु सम्पूर्णको लगत काटी कोशी अञ्चल अदालतको फैसला बमोजिम गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१
पुनरावेदक प्रतिवादी दानालाल मण्डल धानुक १ देवनारायण, १ सत्यनारायण १ समेत के माथि इन्साफ खण्डमा लेखिएको बमोजिम पु.क्षे.अ.को फैसला उल्टी भएकोले निजहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.४०।३५ वादीको यसै सरहदको जेथा देखाई भराई पाउँ भनी प्र.हरुको म्यादमा दर्खास्त परे कानूनको रीत पुर्याई वादीलाई प्रतिवादीहरुलाई भराई दिनु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.....२
मिसिल नियमानुसार गरी बुझाई दिनु................३
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल पौष ११ गते रोज १ शुभम् ।