शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६१६ - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६१६                      ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४४ सालको रि.नं.१८३५

आदेश भएको मिति : २०४५।१०।११।३ मा

 

निवेदक : ल.पु.न.पं.वा.नं.१३ बस्ने सजीव केशवन

विरुद्ध

विपक्षी/प्रत्यर्थी : श्री ५ को सरकार, गृह मन्त्रालय काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)                नेपाल राज्यभित्र आफ्नो स्थायी बासस्थान कायम गर्ने उद्देश्य लिई स्वयं परिवार बसोबास गर्ने मानिस अधिबासी ठहर्ने ।

(प्रकरण नं. ११)

(२)               जुन कानूनको आधारमा नागरिकता प्रमाणपत्र पाउने दावी गरेको छ सो कानून अनुसार नागरिकताको प्रमाणपत्र पाउने नपाउने सो सम्बन्धमा ठहर गर्नुपर्नेमा सो नगरी गृह मन्त्रालयको पत्रको आधार लिई प्रमाण पत्र नपाउने भनी जि.का.ले दिएको पत्र कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ११)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

 

आदेश

न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.    म निवेदक भारतीय मूलका पिता एम.पी. केशवन एवं नेपाली नागरिक माता गोपीमैया मगरनीको कोखबाट सन् १९६३ नोवेम्बर २५ तारिख तद्नुसार मिति २०२०।८।९ मा यस नेपाल अधिराज्यमा जन्मेको हुँ । म निवेदक नेपाल अधिराज्यमा जन्मेको एवं मेरी आमा नेपाल अधिराज्यमा जन्मनु भई नेपालकै नागरिक हुनु भएकीले मेरा पिता नेपाली नभए तापनि आमा गोपीमाया नेपालमा नै जन्मेकी नेपाली नागरिक हुनुभएकोले नेपाल नागरिकता ऐन, २००९ को दफा (२) अनुसार नेपालको नागरिकता पाउने हक मलाई प्रदत्त छ किनभने नेपाल नागरिकता ऐन, २००९ दफा (२) मा नेपालमा जन्मेको बाबु आमा मध्ये एकजना नेपालमा जन्मेको स्थितिमा नेपालको नागरिक हुने अवस्था छ । साथै नेपाल अधिराज्यमा जन्मेदेखि निरन्तर नेपालमा नै बसोबास गरी आएको उपर्युक्त कानूनी व्यवस्था अनुसार म निवेदक नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ हुनु भन्दा अघि मिति २०२०।८।९ मा नेपालमा जन्मेको र मेरो बाबु आमा मध्ये आमा गोपीमैया मगर्नीको जन्म पनि नेपालमा नै भएको हुँदा म निवेदकले नेपालको नागरिकता पाउने कुरा निर्विवाद छ ।

३.    यसरी निर्विवाद रुपमा नेपाली नागरिकता पाउनु पर्ने स्थिति भएकोले म निवेदकले नेपाली नागरिकता पाउँ भन्ने निवेदन प्रत्यर्थी जिल्ला कार्यालय ललितपुर समक्ष आवेदन गरेकोमा उक्त कार्यालयले मिति २०४४।६।२५ मा प्रेषित गरेको पत्रमा उक्त सम्बन्धमा तपाईले यस कार्यालयमा नागरिकता पाउँ भन्ने दिएको आवश्यक निर्देशनको लागि गृह मन्त्रालयमा लेखी गएकोमा गृह मन्त्रालयबाट मिति २०४४।३।१० क्षे.च.नं. ७९१ मा ल.पु.न.पं.वा.नं.१३ निवासी सजीव केशवनको पीता एम.पी. केशवन नेपाली नागरिक नभएको भए निजको सन्तानले हाल कुनै पनि नेपाली नागरिकता पाउन नसक्ने अवगतार्थ भएकोले तपाईलाई पनि सोही जानकारी गराइन्छ भनी सूचित गरिएकोले अन्य कानूनी उपचारको मार्गको अभावमा सम्मानीत अदालत समक्ष यो निवेदन गर्न आएको छु ।

४.    नेपाल नागरिकता ऐन, २००९ को दफा २ बमोजिम नेपाल अधिराज्यमा जन्मेको एवं आमा समेत नेपाल अधिराज्यमा जन्मनु भएको कारणबाट समेत म नेपाली नागरिकमा स्थापित भइसकेको व्यक्ति हुँ । यस स्थितिमा मेरा पिता नेपाली नागरिक नभएको कारण म निवेदकलाई कुनै प्रतिकूल असर पर्दैन । नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ भएपछि म निवेदकको जन्म भएको भए मात्र पिता नेपाली नागरिक नभएको कारण मैले नेपाली नागरिकता पाउन नसक्ने स्थिति हुन्थ्यो किनभने नेपाल नागरिकता ऐन, २०२० को दफा ३ मा यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको वाउ निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्था छ, तर म निवेदक उक्त ऐन मिति २०२०।११।१६ मा लागू हुनु भन्दा पूर्व मिति २०२०।८।९ मा जन्मेको हुँदा उक्त दफा ३ मेरो विरुद्ध आकृष्ट हुनसक्दैन । तसर्थ नेपाल नागरिकता ऐन, २००९ को दफा  (२) बमोजिम मैले नेपाली नागरिकता पाउन सक्ने कुरा निर्विवाद    छ । कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ मा व्यवस्थित प्रावधानबाट परिलक्षित मनसाय अनुसार अद्यावधिसम्म नेपाल नागरिकता ऐन, २००९ बहाल नै रहेबाट पनि म निवेदक नागरिकता प्राप्त गर्ने हकदार हुँ, त्यसकारण म निवेदकलाई नेपाल नागरिकता ऐन, २००९ बमोजिम नागरिकताको प्रमाणपत्र प्रदान गरिनु पर्छ । २००९ सालको ऐन बमोजिम नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सोही ऐनको व्यवस्था अनुसार प्रदान गरिन्छ, त्यसै कारण नागरिकता ऐन, २०२० अन्तर्गत तोकिएको नागरिकता प्रमाणको ढाँचामा २००९ सालको ऐनको पनि उल्लेख भइरहेको छ ।

५.    अतः एवं प्रत्यर्थीको निर्णय एवं कारवाहीबाट म निवेदकको संविधानको धारा १०(१) द्वारा प्रदत्त कानूनको समान संरक्षणको मौलिक हक लगायत नेपाल नागरिकता ऐन, २००९ अनुसार प्राप्त नागरिकताको प्रमाणपत्र लिने कानूनी हक समेत कुण्ठित भएकोले प्रत्यर्थीहरुका निर्देशन तथा मिति २०४४।३।१० को च.नं.८९१ को प्रत्यर्थी नं. १ को एवं मिति २०४४।६।२५ को प्रत्यर्थी नं. २ को पत्र समेतबाट गरी म निवेदकलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको सजीव केशवनको निवेदन ।

६.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षी प्रत्यर्थीहरुबाट लिखित जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशका इजलासबाट भएको मिति २०४५।१।३ मा भएको आदेश ।

७.    निवेदक सजीव केशवनको जन्म नेपाल नागरिकता ऐन, २०२० लागू हुनु भन्दा पूर्व मिति २०२०।८।९ गते नेपालमा भएको हो भन्ने कुनै सबूद प्रमाण पेश समेत नगरेको र रिट निवेदनमा जुलियस डे स्कूलको प्रमाणपत्रको प्रतिलिपि उल्लेख गरेको भए पनि मौकाको दर्खास्तमा सो स्कूलको प्रमाणपत्रको प्रतिलिपि उल्लेख गरेको देखिएन । मौकाको दर्खास्तमा सो स्कूलको प्रमाणपत्रको प्रतिलिपि पेश नगरेकोले त्यसको मान्यता नै हुने भएन । अर्को कुरा सो प्रमाणपत्रलाई सकारात्मक दृष्टि दिए पनि स्कूलमा लेखाउँदा मनगढन्त हिसाबले मिति लेखाउन सकिने हुँदा त्यसलाई अकाट्य बनाउन जन्मदाको समयको अस्पतालको प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, जन्मखम्वीर प्रमाणको अभावमा स्कूलको प्रमाणपत्रलाई यकीन प्रमाण मान्न नसकिने हुँदा नेपाल नागरिकता ऐन, २०२० को दफा ९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निजले २०३७ साल चैत्र मसान्तसम्म नागरिकता रोजी सक्नेमा सो समेत भए गरेको नदेखिएकोले पनि नागरिकता लोप हुने व्यवस्था भएको हुँदा प्रस्तुत रिट खारेज हुन सादर अनुरोध गर्दछु भन्ने समेत व्यहोराको गृह मन्त्रालयको लिखित जवाफ रहेछ ।

८.    यस सम्बन्धमा उचित निर्देशनका लागि गृह मन्त्रालयमा राय माग हुँदा निवेदकको पिता नेपाली नागरिक नभएको भए निजको सन्तानले हाल कुनै पनि नेपाली नागरिकता पाउन नसक्ने कुरा उल्लेख भई आएकोले निज निवेदकलाई नागरिकता पाउन नसक्ने जानकारी दिइएको हो, रिट निवेदक सजीव केशवनले रिट निवेदनमा गर्नु भएको जिकिरहरुको सम्बन्धमा गृह मन्त्रालयबाट सम्मानीत अदालत समक्ष चढाइएको लिखित जवाफबाट स्पष्ट नै हुने हुँदा सोही अनुसार प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जि.का.ललितपुरको लिखित जवाफ रहेछ ।

९.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत विषयमा रिट निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले मेरो पक्ष संजीव केशवनको पिता नेपाली नागरिक नभएको भए निजका सन्तानले हाल  कुनै पनि नेपाली नागरिकता पाउन नसक्ने भनी प्रत्यर्थी जिल्ला कार्यालयले मिति २०४४।६।२५ मा दिएको पत्रबाट मेरो पक्षको संविधान प्रदत्त हक अधिकारमा कुंठीत हुन पुगेको छ । मेरो पक्षले नेपाल नागरिकता ऐन, २००९ अनुसार नागरिकता पाउनु पर्नेमा कुनै विवाद हुनसक्दैन । नेपाल नागरिकता ऐन, २०२० को दफा ९ मा वंशजको नाताले नागरिकता पाउने भन्ने उल्लेख भएको छ उक्त नागरिकता ऐन, २०२० ले उक्त साविक ऐन, २००९ लाई खारेज गरेको छैन । आमा नेपाली नागरिक भन्ने कुरामा पनि विवाद आउँदैन । नेपाल नागरिकता नियमावली, २०२५ मा नागरिकताको ढाँचामा समेत २००९ भन्ने उल्लेख भएबाट २००९ अनुसार नागरिकता पाउने नै देखिन्छ । कानून व्याख्या ऐनले पनि नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गर्न मिल्ने होइन भन्ने र प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले रिट निवेदकले आफ्नो रिट निवेदनमा संविधानको धारा १०(१) ले समानताको हक प्राप्त गरेको भन्ने मुख्य जिकिर लिनुभएको छ । रिट निवेदकले नागरिकताको हकाधिकार नै नपाएको स्थितिमा समानताको अधिकार पाएको भन्न मिलेन । निवेदकले नागरिकता ऐन, २००९ आकर्षित हुनको लागि तथ्ययुक्त प्रमाण पेश गर्नसकेको छैन । निवेदकले पेश गरेको स्कूलको प्रमाणपत्रलाई यकीन प्रमाणपत्र भन्न सकिँदैन । नागरिकता ऐन, २०२० को दफा ९(२) बमोजिम २०३७ साल चैत्र मसान्तसम्म नागरिकता रोजी नसकेको स्थितिमा नागरिकता लोप हुने ऐनमा व्यवस्था भएको स्थितिमा नागरिकता प्राप्त गर्न नसक्ने भनी अधिकारप्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज हुनु पर्ने भन्ने समेत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१०.    प्रस्तुत रिट निवेदनमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुने हो होइन भनी निर्णय दिनु पर्ने हुन आयो ।

११.    यसमा म निवेदक भारतीय मुलका पिता एम.पी. केशवन एवं नेपाली नागरिक माता गोपीमैया मगरनीको कोखबाट मिति २०२०।८।९ मा यस नेपाल अधिराज्यमा जन्मेको हुँ । म निवेदक नेपाल अधिराज्यमा जन्मेको एवं मेरी आमा नेपाल अधिराज्यमा जन्मनु भई नेपालकै नागरिक हुनुभएकोले नेपाल नागरिकता ऐन, २००९ को दफा (२) अनुसार नेपालको नागरिकता पाउँ भन्ने व्यहोराको निवेदन जिकिर देखिन्छ । प्रत्यर्थी कार्यालयबाट निवेदकलाई जि.का.ललितपुरले २०४४।६।२५ मा दिएको पत्र हेर्दा तपाईले यस कार्यालयमा नागरिकता पाउँ भनी दिएको निवेदनमा आवश्यक निर्देशनको लागि लेखी गएकोमा गृहमन्त्रालयबाट मिति २०४४।३।१० को च.नं.७९१ मा ल.पु.न.पं.वा.नं.१३ निवासी सजीव केशवन, पिता एम.पी. केशवन नेपाली नागरिक नभएको भए निजको सन्तानले हाल कुनै पनि नेपाली नागरिकता पाउन नसक्ने भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । निवेदकले जि.का.ललितपुरमा नागरिकताको प्रमाणपत्रको लागि दिएको निवेदन समेत साथ पेश गरेको जुलिएन डे स्कूलको प्रमाणपत्रमा निवेदकको जन्म मिति २०२०।८।९ देखाएको र निवेदकले नेपाल नागरिकता ऐन, २००९ अन्तर्गत नागरिकताको प्रमाणपत्रको लागि दावी गरेकोमा उक्त ऐनको दफा (२) मा प्रत्येक व्यक्ति जो नेपालको राज्यको अधिबासी भई निम्नलिखित शर्तहरुमा कमसेकम एक पूरा गर्छ नेपालको नागरिक ठहर्छ । (क) जो नेपाल राज्यमा जन्मेको हो । (ख) जसको आमा बाबु एकजना नेपाल राज्यमा जन्मेको हो, नेपाल राज्यभित्र आफ्नो स्थायी बासस्थान कायम गर्ने उद्देश्य लिई स्वयं परिवार बसोबास गर्ने मानिस अधिबासी ठहर्छ, भन्ने उल्लेख भएको पाइन्छ । निवेदकले जुन ऐन अन्तर्गतको दावी लिई प्रमाणपत्रको माग गरेको हो, त्यस सम्बन्धमा केही उल्लेख नगरी सजीव केशवनको पिता एम.पी. केशवन नेपाली नागरिक नभएको भए निजको सन्तानले हाल  कुनै पनि नेपाली नागरिकता नपाउने भन्ने उक्त मितिको पत्रमा उल्लेख भएको छ । जुन कानूनको आधारमा नागरिकता प्रमाणपत्र पाउने दावी गरेको छ सो कानून अनुसार नागरिकताको प्रमाणपत्र पाउने, नपाउने सो सम्बन्धमा ठहर गर्नु पर्नेमा सो नगरी गृह मन्त्रालयको पत्रको आधार लिई प्रमाणपत्र नपाउने भनी जि.का.ललितपुरले दिएको मिति २०४४।६।२५ को पत्र कानूनअनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । आवेदकको आवेदनमा कानून बमोजिम कारवाही गरी निर्णय गर्नु भनी विपक्षीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि यसै आदेशको एकप्रति प्रतिलिपि म.न्या.का.मार्फत विपक्षी का.मा पठाई दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४५ साल माघ ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु