शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६२० - उत्प्रेषण

भाग: ३० साल: २०४५ महिना: माघ अंक: १०

निर्णय नं. ३६२०     ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको रिट नं. १३९१

आदेश भएको मिति : २०४५।८।२८।३ मा

 

निवेदक : नेपालगञ्ज न.पं.वार्ड नं. १३ बस्ने सन्तोषकुमार टण्डन

विरुद्ध

विपक्षी : श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालत, बीरेन्द्र नगर, सुर्खेतसमेत

 

विषय : उत्प्रेषण

 

(१)                दण्ड सजायँको ६१ नं.मा पुनरावेदन सुन्ने अड्डामा निवेदन दिने म्याद तोकिएको छैन भन्दैमा निवेदन दिने म्याद सदाका लागि नै रहने भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया

विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट एवं विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

 

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ :

२.    बाँके जिल्ला अदालतको फैसला अनुसार बिगो कोर्ट फी समेत भरी पाउँ भनी म निवेदकको निवेदन परी तायदाती र पन्चकृति मोल मुचुल्का समेत भई लिलाम सूचना समेत टाँस गरी लिला बढाबढ समेतभै लिलाममा सकारेको घर रामकरण त्रिपाठीका नाउँमा दा.खा.गर्न सम्बन्धित कार्यालयमा लेखी पठाई चलन पुर्जी दिने र मिसिल तामेलीमा राखी दिनु भनी बाँके जिल्ला अदालतबाट मिति ०४१।९।२१ मा आदेश भई दा.खा.नामसारी गरिदिने भनी बाँके जिल्ला अदालतको पुर्जी अनुसार २०४१।१२।२८ मा रामकरण त्रिपाठीको नाममा दा.खा.समेत भई सकेको छ ।

३.    त्यसरी लिलाम भई बिगो भरी भराउको कार्य समेत सम्पन्न भइसकेपछि सन्तोषकुमार टण्डनले लेनदेन मुद्दा चलाई मुद्दा जिती मेरो घर लिलाममा चढाई रु.२१,६६६।मा मेरो नामको घर मध्ये तीन खण्डको एकखण्ड लिलाम गरिदिने भनी बाँके जिल्ला अदालतको सूचनामा उल्लेख भएकोमा एकखण्ड मात्र लिलाम नभई पूरा घर लिलाम गरिलिएको छु भनी निज सन्तोषकुमार टण्डनले मलाई बाँकी घरमा चलन गर्न नदिएकोले सूचनामा उल्लिखित रु.२१,६६६।बुझी लिई कानून बमोजिम सो घर विन्तिपत्रवालालाई चलन गर्न दिनु भन्ने बाँके जिल्ला अदालतको नाममा हु.प्र.बक्स गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी कर्णबहादुर सोनारले श्री ५ महाराजाधिराज सरकारका जूनाफमा विन्तिपत्र दिएकोमा यसमा कानून बमोजिम गर्नु गराउनु भन्ने हु.प्र.बक्स भई मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत त्यसमा सोही अनुसार तोक आदेश भई सो सम्पन्न भई सकेको लिलामी समेतको काम यथावत मै थियो । २०४३ श्रावणमा विपक्षी कर्णबहादुर सोनारले लिलामी बदर गरिपाउँ भन्ने अ.बं.१७ नं.बमोजिम भेरी अञ्चल अदालतमा निवेदन दिएकोमा यसमा लिलाम बिक्री बढाबढ गरी गरेको कारवाही रीतपूर्वकको देखिँदा कानून बमोजिम गर्नु होला भनी त्यस अदालतबाट तोक आदेश भई सके पनि निज विपक्षीले सोही व्यहोराको अ.बं.१७ नं. को निवेदन मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा दिएकोमा कैफियत प्रतिवेदन भई लिलामी सूचनाको प्रतिलिपि हेर्दा अ.बं.११० नं. विपरीत तामेल भएको देखिँदा सो सूचना र सो आधारमा गरिएको ०४१।९।२१ को आदेश समेत कानून प्रतिकूल हुँदा बदर गरिएको छ । अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८(५) अनुसार गरी कानूनको रीत पुर्‍याई तामेल गरी कानून बमोजिम गर्नु भनी बाँके जिल्ला अदालतको नाममा आदेश भएकोमा बाँके जिल्ला अदालतबाट उक्त व्यहोरा उल्लेख गरी अब यसमा उक्त बिगो मुद्दा जगाई दर्खास्तवालालाई जनाउ दिई झिकाई तारेखमा राखी मिसिल दायरीमा दर्ता गरी पेश गर्नु भन्ने  २०४४।३।४ मा आदेश भई सो बमोजिम म निवेदकको नाममा पठाइएको सूचना तामेल भई अदालतमा उपस्थित भई उक्त कागजात एवं आदेशको नक्कल समेत मिति २०४४।४।२९ मा प्राप्त गरी उक्त सबै व्यहोराको जानकारी प्राप्त हुनआएको र म निवेदकको केही समय विरामी परी डाक्टरको सल्लाह अनुसार पूर्ण आरामी लिन परेकोले हाल ठीक भई सम्मानीत अदालत समक्ष निवेदन पेश गरेको छु ।

४.    विपक्षी श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४४।१।१६ मा एवं बाँके जिल्ला अदालतबाट ०४४।३।४ मा भएको आदेश गैरकानूनी भएकोले एवं उक्त गैरकानूनी आदेशबाट निवेदकको संविधानको धारा १०, ११(२)(ङ), १५ समेतबाट प्रदत्त एवं संरक्षित मौलिक हक समेत कुण्ठित एवं अवरोधित भएकोले उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी समेत जारी गरी उक्त दुवै आदेशहरु बदर गरिपाउँ तथा यस निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त आदेश कार्यान्वित नगर्नु नगराउनु भन्ने अन्तरीम आदेश समेत जारी गरिपाउँ भन्ने समेत मुख्य जिकिर रहेको निवेदनपत्र ।

५.    यसमा विपक्षीहरुबाट लिखित जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने एवं यस निवेदनको अन्तिम टुंगो नलागेसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४४।१।१६ को उक्त आदेश कार्यान्वित नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको छ भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४४।५।११ को आदेश ।

६.    बाँके जिल्ला अदालतको फैसला अनुसार बिगो भरी भराउन सम्बन्धमा कारवाही हुँदा उक्त अदालतबाट फैसला कार्यान्वयनको लागि गरिएको लिलामी कारवाहीमा कानूनी त्रुटि गरी वेरीतसंग मेरो घर लिलाम गरी दिएकोले सो हदसम्म उक्त अदालतको कारवाही बदर गरिपाउँ भनी निवेदन दिएकोमा कैफियत प्रतिवेदन समेत भई एक न्यायाधीशको इजलासबाट उक्त लिलामी कारवाही गरिँदा तामेल गरिएको लिलामी सूचना अ.बं.११० नं. विपरीत तामेल गरिएको देखिँदा सो सूचनाको आधारमा गरिएको आदेश समेत प्रतिकूल हुँदा बदर गरिएको छ पुनः कानूनको रीत पुर्‍याई तामेल गरी गराई कानून बमोजिम गर्नु भन्ने आदेश भई तोक आदेश सहितको निवेदनपत्र सहितका कागजात शुरु बाँके जिल्ला अदालतमा चलान भई गएको यस अदालतको रेकर्डबाट देखिन्छ । सो आदेश अ.बं.१७ नं. ले प्रदान गरेको क्षेत्राधिकार भित्रको रहेको सूचनाको तामेली अ.बं.११० नं. एवं अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८(५) विपरीत भएको देखिएकोले सो लिलामी कारवाही सम्म बदर गरी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको लिखित  जवाफ ।

७.    यस अदालतले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४४।१।१६ को आदेश प्राप्त हुन आएपछि यस अदालतबाट ०४४।३।४ मा भएको आदेश बमोजिम बिगो मुद्दा पुनः दायरीमा दर्ता गरी निवेदक वादी विपक्षीलाई जनाउ दिई हाजिर गराई तारेखमा राखी कारवाही भइरहेको कानून अनुरुप नै भएकोले रिट निवेदन खारेजभागी छ भन्ने समेत बाँके जिल्ला अदालतको लिखित जवाफ ।

८.    मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०४४।१।१६ मा गरिएको आदेश बमोजिम बाँके जिल्ला अदालतबाट बिगो सम्बन्धी कारवाही जगाई विपक्षी निवेदकलाई तारिखमा राखी कारवाही भइरहेकोमा बाँके जिल्ला अदालतको फैसला बमोजिम विपक्षी निवेदकले भरी पाउने ठहरेको बिगो कोर्टफी रु.समेत मैले ०४४।५।१५ मा बाँके जिल्ला अदालतमा धरौट राखी सकेको हुँदा विपक्षीको माग बमोजिम कुनै पनि आदेश जारी हुनु पर्ने अवस्था विद्यमान नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी कर्णबहादुर सुनारको लिखित जवाफ ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया तथा विपक्षीहरुतर्फबाट उपस्थित विद्वान का.मु.अति.न्या.व. श्री प्रेमबहादुर विष्ट एवं विद्वान अधिवक्ता श्री शिवराज अधिकारी समेतको बहस सुनी यसमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के हो सो नै निर्णय गर्नु पर्ने देखिन आएको छ ।

१०.    यसमा कानून बमोजिम लिलाम सूचना तामेल गरी लिलाम बढाबढ भई लिलाम सकार गरी ०४१।१२।२८ मा दा.खा.भइसकेकोमा ०४३ फाल्गुणमा मात्र आई अ.बं.१७ नं.बमोजिम क्षेत्रीय अदालतमा दिएको निवेदनमा कैफियत प्रतिवेदन भई बाँके जिल्ला अदालतको ०४१।९।२१ को आदेश र सो बाट भएको कारवाही बदर गरेको भनी लिलाम बदर गर्ने आदेश भएबाट मेरो संवैधानिक हक हनन् भएकोले उत्प्रेषणको आदेश जारी गरी क्षेत्रीय अदालतको ०४४।१।१६ को एवं बाँके जिल्ला अदालतको ०४४।३।४ को आदेश बदर गरिपाउँ भन्ने समेत निवेदन एवं लिलाम सूचना तामेल गरेको बेरीतको देखिँदा ०४१।९।२१ को आदेश एवं त्यसबाट भएको कारवाही बदर गरिएको हुँदा सो गर्ने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४४।१।१६ को एवं बाँके जिल्ला अदालतको ०४४।३।४ को आदेश कानूनसंगत छ भन्ने समेत विपक्षीहरुको पृथकपृथक लिखित जवाफ देखिन्छ ।

११.    लिलाम गरिएको जग्गाको पञ्चकीर्ते मोल कायम गरिँदा ०४१।६।४।५ मा भएको मुचुल्कामा कर्णबहादुर सुनार रोहवरमा रही सहिछाप गरेको देखिन्छ । ०४१।१२।१४ मा बाँके जिल्ला अदालतबाट रामचरणको नाउँमा दा.खा.गरी दिने भनी नेपालगन्ज नगरपञ्चायत कार्यालयका नाममा पत्र गइसकेको देखिन्छ । कर्णबहादुर सुनारबाट उक्त लिलामको विषयमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा ०४३ फाल्गुणमा मात्र निवेदन परेको एवं सो निवेदनमा ०४४।१।१६।५ मा उक्त अदालतबाट भएको आदेश बमोजिम कारवाई गरिएको देखिन्छ । ०४१ सालमा दा.खा.भइसकेको कुरामा ०४३ फाल्गुणमा परेको निवेदनबाट कारवाही गर्न मिल्ने होइन । मुलुकी ऐन दण्ड सजायको ६१ नं.मा फैसला कार्यान्वयनको सिलसिलामा गरिएको निर्णयमा चित्त नबुझे अ.बं.१७ नं.बमोजिम पुनरावेदन सुन्ने अड्डामा निवेदन दिन सकिने व्यवस्था भएकोमा उक्त ६१ नं.मा पुनरावेदन सुन्ने अड्डामा निवेदन दिने म्याद तोकिएको छैन भन्दैमा निवेदन दिने म्याद सदाका लागि नै रहने भन्न मिल्ने नहुँदा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०४४।१।१६ मा भएको आदेश एवं बाँके जिल्ला अदालतबाट ०४४।३।४ मा भएको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । आदेशको जानकारी सम्बन्धित कार्यालयलाई दिन एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल मार्ग २८ गो रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु