निर्णय नं. ३६२२ - .

निर्णय नं. ३६२२ ने.का.प. २०४५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४३७
सम्वत् २०४४ सालको साधक नं. १०३
फैसला भएको मिति : २०४५।८।२९।४ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा डडेल्धुरामा कैदी रहेका नरबहादुर महत क्षेत्री
विरुद्ध
विपक्षी/वादी : प्रतापसिंह ऐरको जाहेरीले श्री ५ को सरकार
वादी : प्रतापसिंह ऐरको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : कारागार शाखा डडेल्धुरामा बन्दीरहेका नरबहादुर महत क्षेत्री
(१) छोरी खोस्न जाँदा मृतकले नदिएकोले छोरी खोस्दा सासूको कपाल समाती धकेल्दा भीर छेउमा परी भीरबाट लडी खसी खोलामा परेको कारणले मृत्यु भएको भन्ने देखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम निज प्रतिवादीलाई १० (दश) वर्ष कैद हुने ।
(प्रकरण नं. २२)
फैसला
न्या.महेशरामभक्त माथेमा : सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी तथा साधक जाहेर भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. मेरो सहोदर फुपू वर्ष ४० की मैनादेवी आफ्नो घर नबसी माइती मै बस्ने गरेकी र हामीहरुको धनगढी मालाखेतीमा पनि जग्गा जमीन भएकोले हिउँद मदेश र वर्षा पहाड बस्ने गरेका थियौं । मदेशबाट जग्गा जमीन र गाई गोरु बेचेको नगद रु.९,०००।– लिई पहाडतर्फ आउँदा बाटामा निज फुपूकी छोरी बासुको घर पर्ने भई वासुको घर गएकी र फर्कंदा बासुकी छोरो वर्ष ४ की ल्याउन लाग्दा नरुवा महत, सेरुवा महत, टिका समेत ३ जनाले फुपूसित भएको उक्त ९,०००।– र लगाएको गहना बुलाकी १, वाला जोडा १ समेत लुटी फुपूको कर्तव्य गरी ज्यान मारेकोले कानूनी कारवाही गरी पाउँ भन्ने समेत प्रताप सिंह ऐरको ०४२।४।८ को जाहेरी दिएको जाहेरी मैले नै हो, अगाडि फुपू मैना र निजकै ज्वाई नरुवा महतको झैझगडा भई राख्ने भएकोले सोही रीसबाट मारेकोमा मैले शंका देखाएको हुँ, निज नरुवा बाहेक अरुको सहमति छैन भन्ने समेत जाहेरवालाले ०४२।५।२ मा गरी दिएको सनाखत कागज ।
३. जङ्गल भएको खोलामा ३ वटा ढुङ्गा खप्टिएको प्वालभित्र रुखका पात र माटोले छोपिएको घोप्टो पारिएको मृतक मैनाको लाश सडी गली अन्यत्र लैजान नसक्ने अवस्थामा फेला परेको र सो लाशको टाउको नलीहाड (घुडामुनिको भाग) लैजान सकिने अवस्थामा भएको भन्ने मिति ०४२।५।३ को लाश प्रकृति मुचुल्का ।
४. प्रहरी हिरासतमा रहेका नरबहादुर महताले बताएको ठाउँ धनगडी डडेलधुरा राजमार्गको पैया टुडाको टुप्पा राजमार्गको पूर्वतर्फ किनार भई माटोले छोपी राखेको २ वटा चाँदीका बाला बरामद भएको ठीक साँचो हो भन्ने ०४३।५।३ को बरामदी मुचुल्का र ऐ.मितिमा घटनास्थलमा मिलेका कपडाहरु र लाशको सनाखत भएको कागत ।
५. मृतक मैनादेवीकी छोरी वासुसित मैले ०३८ सालमा विवाह गरेको र विवाह हुँदाको अवस्थामा लगाएका गहना पछि निकालेकोले छोरीको गहना बनाई देउ भनी सँधै झैझगडा गरिरहने भएकोले सारै दुःखी थिएँ । २०४२।३।१० गतेका दिन पनि सासू मेरो घरमा गएकीले गहना सम्बन्धमा झगडा भएको थियो । मिति ०४२।३।१० गतेका दिन म खेतबाट काम गरी घर फर्केर आउँदा श्रीमती वासुले आमाले ल्याएको खिरखान दिएकीले आमा आएको थाहा पाएको हुँ, सासूसित सधैं गहना सम्बन्धमा झगडा परिराख्ने हुँदा कसरी छुटकारा पाउँला भनी सोची राखेको थिएँ । सासूसित सधैंको झै झगडाले गर्दा ढोगभेट बोलचाल पनि थिएन । पटक–पटक मेरो घरमा आई झगडा गर्ने गरेकी र मलाई चैनसित बस्न नदिने गरेकीले घरबार बनाउन र चैनसित बस्न सासू मैनालाई जानेबेला जङ्गलमा मार्नु पर्ला भन्ने सोची खेतबाट सासु जाने बाटो नदेखिने भएकोले कुलोमा पानी ल्याउने निहुँ गरी सासु आउने बाटो ढुकी रहेको थिएँ । सासु र श्रीमती वासु छुट्टिएपछि भिरको टुप्पामा पुगेको बेला सासुले मेरो छोरी तुल्सी बोकी राखेकीले देउ भनी माग्दा नदिएकीले रण्डी भनी गाली गरी कपाल तानी करिव ५० गज जति घिसार्दै लगी टाउको घोप्टो पारी हानी भिरबाट खसलेको र त्यसपछि सासुको लाशलाई लुकाउनुको साथै गहना पनि बरामद भएको ठाउँमा लुकाएको हुँ, त्यसपछि छोरीलाई लिसा कम्पनीको लेबर कहाँ छाडी खेत हुँदै घर गएको हुँ भन्ने समेत व्यहोराको ०४२।५।३ मा नरबहादुर महताले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
६. शरीरको अन्य भाग प्राप्त भएमा मात्र शव परीक्षण गर्न सकिने भएकोले मृत्युको कारण खोल्न नसकिने भन्ने व्यहोराको डडेलधुरा अस्पतालको शव परीक्षण प्रतिवेदन ।
७. आमा र लोग्नेका बीच गहना सम्बन्धमा झगडा भई रहन्थ्यो । २०४२।३।१० गते पनि मेरो घरमा आमा आएकी थिइन । आमालाई मार्नमा अरु कसैको सहमती भए नभएको मलाई थाहा छैन भनी ०४२।५।५ मा बासु महतले गरी दिएको कागज ।
८. म प्रायः गोठतिर नै बस्दछु, सासु मैनादेवीलाई मारेको सम्बन्धमा केही थाहा छैन, दाजु र सासु मैनाको झगडा परे सम्बन्धमा केही थाहा छैन, सासुलाई मार्नमा मेरो केही हात छैन भन्ने समेत व्यहोराको अधिकारप्राप्त अधिकारी समक्ष शेरबहादुर महतले गरेको कागज ।
९. ०४२।३।१० गतेका दिन विहान खाना खाई भैंसी चराउन गएकोमा बेलुका मात्र घर आएको हुँ, मैनादेवी घरमा आएको कुरा थाहा छैन, मैनादेवीलाई को कसले मारे मलाई थाहा छैन मेरो कर्तव्यबाट मैनादेवीको मृत्यु भएको होइन भन्ने समेत व्यहोराको टिका भन्ने टेकबहादुरको बयान कागज ।
१०. मृतक मैना र नरबहादुरका बीच झगडा हुने गर्दथ्यो । मैनादेवीलाई नरबहादुरले मारेको हो, अरु कसैको सहमती भए नभएको थाहा छैन भनी सरजमीनको केही व्यक्तिहरुले लेखाई दिएको र मैनालाई नरबहादुरले मारी लाश दबाएको हो, उक्त घटनामा निजको दाजु टिका र भाइ शेरबहादुरको पनि सहमती छ कि भन्ने शंका लाग्छ, तर यकिन भन्न सक्तिन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
११. नरबहादुरको साविती बयान कागज घटनास्थल प्रकृतिमा उल्लेख गरी बरामद हुन आएका साडी समेतका सामान र बरामद गरी दिएको मैनादेवीले लगाएका चाँदीका बाला बुझिएका समस्त सरजमीन समेतबाट नरबहादुर महतले मैनादेवीलाई मारी आफू अपराधबाट बच्न लाश दवाएको संकलित प्रमाणबाट सिद्ध हुन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (३) बमोजिम सजायँ हुन समेत माग दावी भएको प्रहरी प्रतिवेदन ।
१२. सासु मैनाले तेरो घर बिगारी दिन्छु भनेकी र छोरी समेत लिई मेरो घरबाट आएकीले छोरीलाई फिर्ता ल्याउ भनी गई पैया टुकडी भन्ने ठाउँमा सासुलाई भेटी छोरी दिनुहोस भन्दा म दिन्न भनेकी र मैले जबरजस्ती खोस्न लाग्दा मलाई गाली गरेकी र तिम्रो घरमा आगो लगाई दिन्छु अड्डामा गई पक्राउँछु समेत भनेकीले रीसउठी छोरीलाई निजबाट अलग छुटयाई चउरमा राखी सासुको कपाल समाती जोरले धकेल्दा भीरमा पर्न गई सो भिरबाट लडी खोलामा खसी मर्न गएकी हुन, सासुसित भएको पैसा लिने खाने उद्देश्यले मारु भन्ने नियतले मारेको नभई छोरी नदिएकीले तत्काल रीस उठी धकेलेकोमा मर्न गएकी हुन् भन्ने समेत व्यहोराको प्र.नरबहादुर महताको अदालतमा भएको बयान ।
१३. प्र.नरबहादुर निजका भाइ टेकबहादुर, शेरबहादुर तीनैजनाको मिलोमतोबाट मैनादेवीलाई मारेकोमा शंका लाग्छ भन्ने अधिकांश सरजमीनका मानिसहरुले अदालतमा गरेको बकपत्र ।
१४. ०४२।३।१० गते भैंसी गोठमा नै थिएँ, मैनादेवी दाजु नरबहादुरको घरमा गए नगएको केही थाहा छैन, कर्तव्य गरी मार्नमा मेरो केही सहमति छैन भन्ने समेत व्यहोराको शेरबहादुर महतले अदालतमा गरेको बयान ।
१५. २०४२।३।१० गतेका दिनभरी म खेतको आली बनाउन खेतमा गएको थिएँ, मैनादेवी कतिबेला आई कहाँ आइन कतिबेला फर्किन मलाई थाहा छैन भन्ने समेत व्यहोराको टिका महताले अदालतमा गरेको बयान ।
१६. मृतक मैनादेवीलाई मेरै लोग्ने नरबहादुरले मारेको भनी सुनेको हुँ, के कस्तो परी लोग्ने पक्रिए मलाई थाहा छैन, निज लोग्नेले मारेको भन्ने मलाई थाहा छैन भनी नरबहादुरकी श्रीमती वासुदेवी महताले अदालतमा गरेको बकपत्र ।
१७. अभियुक्त नरबहादुरको मृतक मैनादेवीसंग मार्नसम्मको पहिलेदेखि रीसइवी भएको र ज्यान मार्नु पर्ने सम्मको रीसइवी लाग वा मनसाय रहेको पनि नदेखिएको र लुकी चोरीकन कुनै घातक हतियार वा लाठा ढुंगालात मुक्का इत्यादिले हानेको पनि रहेनछ । मृतक सासुले छोरी दिएन र गाली समेत गरेकीले भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रीस आवेगमा प्र.नरबहादुरले मृतक मैनादेवीको चुल्ठो समाती धकेल्दा भिरालो ठाउँ भएकोले मैनादेवी पल्टी तल झरी मृत्यु भएकोले प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले ज्यानसम्बन्धीको १४नं. अनुसार १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको डडेल्धुरा जि.अ.को ०४३।४।१३ को फैसला ।
१८. किटानी जाहेरी परेको, मृतक मैना र नरबहादुरको बेला बेलामा झगडा परिरहन्थ्यो भन्ने कुरा प्रतिवादीको बयान समेतबाट देखिएको, प्रतिवादीले भनेको ठाउँमा नै सामानहरु बरामद भएको, प्रतिवादी र मृतकको बीचको झगडा संधैका लागि अन्त गर्न र मृतकसंग रहेको रु.९,०००।– समेतको धनमाल लिने खाने कपटपूर्ण उद्देश्यले मनसायबाट नै कर्तव्य गरी मारेकोले प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गर्नु पर्नेमा ऐ. ऐ. को १४नं. लगाई १० वर्ष कैद गरेको शुरु जि.अ.को इन्साफमा चित्त नबुझेकोले प्र.नरबहादुर महतलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट सु.प.क्षे.अ.मा परेको पुनरावेदन ।
१९. प्रहरी प्रतिवेदन माग दावी बमोजिम निज प्र.नरबहादुर महतलाई मुलुकी ऐन ज्यानसम्बन्धीको नं. १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । तत्काल उठेको रीस थाम्न नसकी लछार पछार गर्दा ज्यान मर्न गएकोले ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद हुन्छ भन्ने डडेल्धुरा जिल्ला अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने समेत ठहर्छ भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२०. उक्त सु.प.क्षे.अ.को फैसलामा चित्त नबुझेको सो फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नरबहादुर महताको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२१. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब बेमनासिब के रहेछ भनी निर्णयतर्फ विचार गर्दा मृतक मैनादेवीकी छोरी वासुसित विवाह गरेको र विवाह हुँदाका अवस्थामा लगाएका गहना पछि निकालेकोले छोरीको गहना बनाई देउ भनी सासु मृतक मैनादेवीसंग सधैं झगडा भई रहने गर्दथ्यो । वारदातका दिन खेतमा काम गर्न जाँदा समेत सोही कुरा मनमा खेल्न जाँदा छुटकारा पाउने उद्देश्यले खेतबाट सासु आउने बाटो नदेखिने हुँदा कुलामा गई ढुकेको र सासु एवं श्रीमती वासु आई भीर मुन्तिर बसुन्जेलसम्म पर्खी सासु एक्लै भएको बेला पारी सो ठाउँमा गई छोरी किन लगेको रण्डी भनी भनेको र तत्पश्चात कपाल तानी पछाडिबाट घाँटीमा मुड्कीले हानी भिरबाट खसाली दिएको हुँ । सासु भीरबाट खसी मरिसकेपछि लशलाई ओडारमा लगी लुकाएको र चाँदीकावाला समेत लुकाएको हुँ भनी अधिकारप्राप्त अधिकारी समक्ष साविती बयान गरेको देखिन्छ । अदालतमा आई बयान गर्दा छोरी खोस्न जाँदा नदिएकीले रीस उठन गई छोरीलाई अलि पर चौरमा राखी सासुको कपाल समाती धकेल्दा भिरबाट खसी खोलामा परेकीले खोलामा गई हेर्दा सासुको मृत्यु भइसकेको रहेछ । कसैले नदेखोस् भनी लास ओडारमा लुकाएको र वाला पनि बरामद भएकै ठाउँमा लुकाएको त्यसपछि छोरीलाई उठाई लेवरको डेरामा राखी आफ्नो घरमा गएको हुँ भनी बयान गरेको पाइन्छ । यसरी मृतक सासु मैनादेवीकी छोरीसंग विवाह भएपछि विवाहमा लगाएको गहना झिकेको कारणले गर्दा गहना नबनाई दिएको कुरामा झगडा भई रहने गरेकोले प्र.नरबहादुर महतले पूर्व योजना तयार गरी भीरबाट खसाली दिएकोबाट मृतकको मृत्यु भएको भन्ने कुरा अधिकारप्राप्त अधिकारी र अदालत समक्ष आई बयान गर्दा अभियोग स्वीकार गरी साविती बयान गरी दिएको र सरजमीनका मानिसहरुले पनि मृतक सासु र प्रतिवादी बीच झगडा भई रहने गरेकोले मारी लास दबाएको भन्ने लेखाई दिएबाट भीरबाट खसाली लुकाएको भन्ने व्यहोरा प्रमाणित हुन आयो । तसर्थ प्रहरी प्रतिवेदन माग दावी बमोजिम निज प्रतिवादी नरबहादुर महतलाई मुलुकी ऐनको ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२२. तर वारदातको प्रकृति समेतलाई दृष्टिगत गरी हेर्दा प्रतिवादी नरबहादुर महत खेतबाट फर्केर आउँदा छोरी तुलसीलाई मृतक सासुले लगी गएको देखी छोरी खोस्न जाँदा मृतक सासुले नदिएकीले छोरी खोस्दा सासुको कपाल समाती धकेल्दा भीर छेउमा परी भीरबाट लडी खसी खोलामा परेको कारणले मृत्यु भएको भन्ने देखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम निज प्रतिवादी नरबहादुर महतलाई १० (दश) वर्ष कैद हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन परी कारवाही भएको हुँदा साधकको लगतबाट हेरी रहन परेन, लगत कट्टा गरी दिनु । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पु.वे.प्र.नरबहादुर महत के माथि इन्साफ खण्डमा लेखिएबमोजिम १० (दश) वर्ष कैद हुने ठहरेकोले सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४४।२।११।२ को फैसलाले निजलाई ज्या.सं.को १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरी दिनु र निज प्रतिवादी नरबहादुर महतलाई माथि लेखिएबमोजिम १० (दश) वर्ष कैद हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु डडेलधुरा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..१
पु.वे.प्र.नरबहादुर महत के माथि इन्साफ खण्डमा लेखिएबमोजिम हुने भएकोले सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाले निजको अंश रोक्का राख्ने गरेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरी दिनु र अंश रोक्का राखिएको भए फुकुवा गरी दिनु भनी शुरु डडेल्धुरा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु...२
पु.वे.प्र.नरबहादुर महतले जि.का.कारागार शाखा डडेलधुरा मार्फत पुनरावेदन गरेको देखिँदा फैसलाको जनाउ पठाई दिनु...३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु............४
उक्त रायमा मेरो सहमत छ ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मंसीर २९ गते रोज ४ शुभम् ।