निर्णय नं. ३६२८ - विदेशी मुद्रा अवैध कारोवार

निर्णय नं. ३६२८ ने.का.प. २०४५ अङ्क १०
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४५ सालको निवेदन नम्बर ७४१
फैसला भएको मिति : २०४५।९।१६।६ मा
निवेदक, प्रतिवादी : सोनाम तामाङ
विरुद्ध
वादी : राजश्व अनुसन्धान महाशाखाको जाहेरीले श्री ५ को सरकार
मुद्दा : विदेशी मुद्रा अवैध कारोवार
(१) मुलुकी ऐन, १९४ नं. मा भएको व्यवस्था अनुसार अदालतले मुद्दाको तथ्य हेरी धरौटी वा जमानीको अंक तोक्न सक्ने नै देखिने ।
(प्रकरण नं. २)
निवेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे
वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत के राजश्व अनुसन्धान महाशाखाको जाहेरीले वादी श्री ५ को सरकार भएको विदेशी मुद्रा अवैध कारोवार मुद्दामा अ.बं.१९४ नं.बमोजिमको सुविधा दिने सम्बन्धमा भएको बेरीतको आदेश बदर गरी पाउँ भनी प्रतिवादी सोनाम तामाङकोतर्फबाट पर्न आएको निवेदनको व्यहोरा समेत पेश भई निवेदकका तर्फबाट पर्न आएको निवेदनको व्यहोरा समेत पेश भई निवेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे तथा श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएको विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस समेत सुनियो ।
२. यसमा निवेदक सोनाम तमाङलाई बागमती विशेष अदालतको २०४५।६।१६।६ का फैसलाले कैद वर्ष २ दुईको सजायँ हुने ठहर भएको र सो फैसला उपर निजको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी विचाराधीन रहेको र निजलाई औषधि उपचारको लागि वीर अस्पतालमा भर्ना गरेको भन्ने निवेदनसाथ पेश भएका कागजातबाट देखिन्छ । निजको स्थिति सम्बन्धमा यस अदालतका मिति २०४५।९।२।६ का आदेशानुसार वीर अस्पताल बुझ्दा मिति २०४५।९।८ को पत्रबाट निवेदकको अप्रेशन भई अस्पतालमै रहेको भन्ने देखिएको छ । मुलुकी ऐन, अ.बं.१९४ नं.मा भएको व्यवस्था हेर्दा अदालतले मुद्दाको तथ्य हेरी धरौटी वा जमानीको अंक तोक्न सक्ने नै देखिन्छ । अतः निवेदक स्वदेश नेपालमै स्थायी बसोबास भएको भन्ने देखिएको अवस्था हुँदा फैसलाले लागेको कैदमा पुर्पक्षको लागि थुनामा बसी भुक्तान गरेको कैद दिन कट्टी गरी बाँकी कैद बापतको नगद र अ.बं.१९४ को देहाय ३ र अ.बं.११८ को देहाय १० बमोजिम थप तजबिजी रु.३०,०००।– (तीस हजार) रुपैयाँ समेत नगदै धरौट दिए लिई निवेदकलाई तारेखमा राखी कानून बमोजिम गर्नु ।
इति सम्वत् २०४५ साल पौष १६ गते रोज ६ शुभम् ।