निर्णय नं. ३६२९ - उत्प्रेषण लगायत परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३६२९ ने.का.प. २०४५ अङ्क १०
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको रिट नं. ९८०
आदेश भएको मिति : २०४५।१०।१०।२ मा
निवेदक : मोरंग, वयरवन गा.पं.वार्ड नं. ८ बस्ने तेजप्रसाद पराजुली
विरुद्ध
विपक्षी : श्री पूर्वाञ्चल क्षेत्रीय अदालतसमेत
विषय : उत्प्रेषण लगायत परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) जारी भएको म्यादमा प्रतिवादी नफिराई गुजारी बसेकोबाट आफ्नो हक छाडिदिनु प्र.ले दिएको विवाद उठाएकोबाट हक निखनाई दिने ठहराएको मालपोत कार्यालयको निर्णयलाई जिल्ला कार्यालयबाट सदर गरेको स्थितिको विवादउपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरी क्षेत्रीय अदालतबाट आदेश भएकोमा कुनै कानूनी त्रुटि विद्यमान भई निवेदकको संवैधानिक हकमा आघात परेको भनी मान्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने
आदेश
न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान, ०१९ को धारा १६।७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. म निवेदकले मोरङ जिल्ला केरौनी गा.पं.वडा नं.५(क) को कि.नं.३६ को ज.वि.०–७–१० जग्गा र सोमा बनेको घर मिति २०४१।११।९ मा विपक्षी ढल्लु राजवंशीबाट राजीनामा गरी लिई उक्त जग्गाको मिति २०४१।११।१० मा मालपोत कार्यालय मोरङबाट राजीनामा पास समेत गरिलिएको मेरो हक भोगको जग्गा हो ।
३. २०२१ साल भन्दा अगाडि उक्त जग्गा मोही भई कमाउने डोमी थारुले मोहीको आचरण बेगर काम गर्नु भएको हुनाले बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भनी तत्काल जग्गाधनी विपक्षी ढल्लु राजवंशीले उजूरी गर्दा मोहीले कुतबाली बापत हुन आउने रकम रु.४,३९०।२५ लिई उपरोक्त जग्गा कमाउन छाडिदिने शर्त राखी मिति २०३४।४।२८ मा मोहियानी हक छाडी मिलापत्र गर्नु भएकोमा हाल विपक्षी दाता ढल्लु राजवंशीले मिलापत्र बमोजिमको लगत कट्टा भई मालपोत कार्यालयको मोठ श्रेस्तामा जनिन बाँकी नै रहेको अवस्थामा नभई निवेदकले उक्त जग्गा खरीद गरी लिएको हुँदा मेरो ज.ध.प्र.पु. तथा अन्य रेकर्डमा निज मोहीको नाउँ उल्लेख थियो । विपक्षी मोहीले कमाउन छाडेपछि विपक्षी ढल्लु राजवंशीले कमाउँदै आउनु भएको र म निवेदकले खरीद गरिलिएको उपरोक्त मितिदेखि नै भोगचलन गरी आएको छु ।
४. मिति २०३४।४।२८ को मिलापत्र बमोजिम विवादीत जग्गाको ज.ध.प्र.पूर्जामा विपक्षी मोहीको लगत कट्टा गरी पाउँ भनी निवेदकले मिति २०४५।५।२८ मा मालपोत कार्यालयका नाउँमा जानकारी पत्र लिई जाँदा २०४१।११।१० र.नं. ४८८५ का लेखतबाट २०४२।८।२० का हकसफा निर्णय, २०४२।९।९ को निवेदन माग बमोजिम डोमी थारुको नाउँमा दर्ताको देखिएको र पूर्वाञ्चल क्षेत्रीय अदालतको नि.नं.५१५ को मिसिलमा ढल्लु राजवंशीसंग राजीनामा गरी लिने लिखतको पनि तेजप्रसादले जारी भएको म्यादमा प्रत्यर्थी डोमी थारुको दावीमा इन्कार लिन नसकी हक निखनाई लिन तेजप्रसाद मञ्जूर भएकोले मालपोत कार्यालय समेतबाट भएको निसाफ मनासिब ठहर्छ भन्ने २०४३।९।२५ को पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत देखिएको र त्यहाँबाट लगत कट्टा गरी दिनु भनी लेखिएका ज.ध.का नाउँमा जग्गा नै नभई मोही नै तल जग्गाधनी नै देखिएकोले लगत कट्टा गर्न नमिलेको भन्ने व्यहोराको जानकारी गराइयो ।
५. विपक्षी डोमी थारुले मोहियानी बापत मिति २०३४।४।२८ मा रु.४,३९०।२५ लिई स्वेच्छाले अड्डामा दुवैथरले निवेदन गरी मोहियानी हक परित्याग गरी बस्नु भएको हो । उपरोक्त मितिमा भएको मिलापत्र यथास्थितिमा छ । परित्याग गरिसकेको हकमा दावा गर्न विपक्षीलाई अ.बं.८२ नं. ले अधिकार पुग्न सक्दैन । विपक्षीले मिलापत्र गरी सकेपछि निजको निखनाउने हक मिति २०३४।४।२८ मा नै समाप्त भइसकेको छ । निखन्ने सम्पत्ति विवाद छ भनी विपक्षी ढल्लु राजवंशीले प्रश्न उठाई सकेपछि त्यसको निरोपण नगरी मालपोत कार्यालयले मिति २०३४।४।२८ मा भू.सु.का.बाट भएको मिलापत्रको बर्खिलाप हुने गरी गरिएको निर्णय रजिष्ट्रेशनको ३५(२) को प्रतिकूल छ ।
६. विवादीत जग्गा ढल्लु राजवंशीबाट मिति २०४१।११।९ मा राजीनामा कागज खडा गरी लिई मिति २०४५।११।९ मा उक्त कित्तामा बनेको घर समेतलाई रु.१०,०००।– को छुट्टै कागज गरिदिनु भएकोछ । उक्त कागजमा विपक्षी डोमी थारु साक्षी बस्नु भएको छ । कारवाही चलाउँदा मिलापत्रलाई बुझी निर्णय गर्नुपर्नेमा मालपोत कार्यालय र जिल्ला कार्यालय मोरङ समेतबाट सो बुझिएको छैन । अतः मेरो हक भोगको जग्गालाई विपक्षी डोमी थारुलाई निखनाई दिने गरेको मालपोत कार्यालयको उपरोक्त निर्णयले संविधानको धारा १५ द्वारा प्रदत्त हक समेत हनन् हुन गएकोले उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
७. नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपानेले निवेदकको विपक्षी मोही डोमी थारुले गरेको मिलापत्रबाट निजको हक समाप्त भइसकेको जग्गामा एकलौटी हक प्राप्त गरेको अवस्थामा मिलापत्र समेत नहेरी विपक्षीको मोहियानी हक कायमै रहने गरी मालपोत कार्यालयबाट गरिएको निर्णय त्रुटिपूर्ण हुँदा विपक्षीहरुबाट लिखित जवाफ मगाइनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत मुद्दामा विद्वान अधिवक्ताको बहस समेत सुनी प्रमाणको ढल्लु राजवंशी विरुद्ध डोमी थारु भएको हक निखनाई पाउँ भन्ने मुद्दाको मिसिल समेत अध्ययन गरियो । निवेदकको माग बमोजिमको आदेश जारी हुन विपक्षीहरुबाट लिखित जवाफ मगाइनु पर्ने नपर्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।
९. यसमा निर्णयतर्फ विचार गर्दा मालपोत कार्यालय मोरङबाट मिति २०४२।१०।१४ मा पर्चा खडा भएकोमा विवादको कि.नं.३६ को ज.वि.०–७–१० को जग्गा वादी डोमी थारु मोही देखिँदा वादीले मोहीको हैसियतले हक निखनाई लिन पाउने भनी मिति २०४२।८।२० मा निर्णय भएको भनी उल्लेख भएको देखिन्छ । पुनरावदेक ढल्लु राजवंशीबाट राजीनामा गराई लिने धनी तेजप्रसादले डोमी थारुको दावीमा जारी भएको म्यादमा प्रतिवादी नफिराई गुजारी बसेकोबाट आफ्नो हक छाडी दिन प्र.ढल्लु राजवंशीले दिएको विवाद उठाएकोबाट हक निखनाई दिने ठहर्याएको मालपोत कार्यालयको निर्णयलाई जिल्ला कार्यालय मोरङबाट सदर गरेको देखिन्छ । यस्तो स्थितिको विवादउपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट समेत आदेश भएकोमा कुनै कानूनी त्रुटि विद्यमान भई निवेदकको संवैधानिक हकमा समेत आघात परेको भनी मान्न मिल्ने अवस्था देखिन आएन । अतः विपक्षीहरुबाट लिखित जवाफ मगाई विचार गरिरहन पर्ने अवस्था नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
इति सम्वत् २०४५ साल माघ १० गते रोज २ शुभम् ।