निर्णय नं. ३६३५ - अंश

निर्णय नं. ३६३५ ने.का.प. २०४५ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ७९२
फैसला भएको मिति : २०४५।१०।११।३ मा
पुनरावेदक/वादी : जि.झापा महाभारा गा.पं.वार्ड नं. १ बस्ने डम्बरबहादुर निरौला
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.बस्ने शेरबहादुर निरौलासमेत
मुद्दा : अंश
(१) जालसाजी मुद्दाबाट निस्कृय भएको घरसारको बण्डापत्रबाट वादीले अंश पाई सकेको भनी ठहर गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १२)
(२) वादी र प्रतिवादीहरुले बण्डापत्र समेत गरी छुट्टी भिन्न भएको भनी देखाएको मितिलाई वादी प्रतिवादीहरु मानु छुट्टिएको मिति कायम मान्नु पर्ने ।
(प्रकरण नं. १२)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. विपक्षी पिता शेरबहादुरको जेठी पत्नी पुनमाया पट्टि जेठा लिलमबहादुर, माहिला म फिरादी, कान्छा विपक्षी हरिबहादुर समेत ३ भाइ र कान्छी प्रेम माया पट्टि धर्मसिं १, भाइ समेत ४ भाइ छोरामा जेठा लिलमबहादुर २०१८ सालमा र कान्छी आमा र भाइ धर्मसिं २०२६ सालमा छुट्टी भिन्न भएको मलाई पनि अलगै बस्नु भनी पहाडको जग्गा ४ किल्ला छुट्याई आम्दानी उपलब्ध गराई दिने र तराईतर्फ कि.नं.८९ को ७–३–० जग्गा २०३१।११।२७ मा बण्डा गरी दिनु भएको २०३६ सालमा पहाडबाट आउनासाथ आयस्ता माग्दा तिम्रो जग्गा कहाँ छ र आयस्ता ल्याउँ, जे जो गर्नु पर्छ गर भनी विपक्षी हरिबहादुरले भनेको र पिता शेरबहादुरले आँखा देख्न छाडे दाम काम सबै हरिबहादुरलाई छाडी सकेको छ भन्नु भएकाले २०३१।११।२७ मा घरसारमा बण्डापत्र लेखाइ सहिछाप गराए तापनि पहाड र तराई समेतको अचल सम्पत्ति सबै पिताजीकै नाममा रहेको हाल पिताजीको आँखा कमजोर भई विपक्षी हरिबहादुरले व्यवहार आफ्नो कब्जामा पारी भाइ बहुारी छोरा भतिजाका नाममा दर्ता गरी एकलौटी खाने नियत गरेकोले प्रतिवादीहरुबाट अंशबण्डाका २०, २१, २३ नं.बमोजिम फाँटवारी लिई मैले पाउने अंश यकिन गरी दिलाई भराई पाउँ भन्ने २०३६।११।२१।३ को फिरादपत्र ।
३. जेठा छोरा लिलामबहादुर २०१८ सालमा छुट्टिएको, कान्छी श्रीमती र छोरालाई २०२१ सालमा भिन्न भई २०२६ सालमा बण्डा गरी दिएको बाँकी विपक्षी डम्बरबहादुर २०३१ सालमा भिन्न हुँदा सबै जमीन ३।३ भाग गरी लिखत भई भिन्न भएको म आँखा कमजोर भई बाथको रोग लागी सबै व्यवहार र कागजपत्र छोरा हरिबहादुर जिम्मा रहेकोले हाल के कसरी व्यवहार चलेको छ मलाई थाहा छैन । उक्त बण्डापत्र अनुसारको सम्पत्ति प्रतिवादी जिम्मा छैन भन्ने समेत व्यहोराको मिति ०३७।२।२४ को प्र.शेरबहादुरको प्रतिउत्तरपत्र ।
४. दाजु लिलमबहादुर र धर्मसिं २०२०।७।१८ गते नै छुट्टिएका र २०३१।११।२७ गते यी वादीले पाउने अंश लिई आफ्नो अंशमा परेका पहाड मदेशका जग्गा भोग गर्दै आएका छन् । २०३१ सालको अंशबण्डामा चित्त नबुझे अंशबण्डाको ३२ नं.बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो नगरी चित्त बझाई बण्डा लिई भोगी सकेपछि वादी दावी लाग्न नसक्ने २०३६ सालमा पितासंग म पनि छुट्टि बसेपछि वादी पुनः पिताकै साथमा बस्न गई पिताकै सल्लाहबाट यो फिराद दायर गरे गराएको हो वर्तमान अवस्था वादी पिताकै साथमा बसी पिताको जिउनी भाग समेत भोगचलन गरिआएका छन् । २०३२ सालको सर्वेमा विपक्षी हाजिर नभई बन्धक दिनेहरुले नै सर्भे गराएछन् । सो जग्गा मैले वादीका नाममा सर्वे नगराएको समेत इवीले यो नालेश गरेका हुन् भन्ने २०३७।४।८ को प्र.हरिबहादुर निरौलाको प्रतिउत्तरपत्र ।
५. २०३१ सालको बण्डापत्र अनुसारको जग्गा मलाई नदेखाई अंशको फाँटवारी मात्र देखाएका र ०३६ सालको पहाडको आम्दानी बाली नदिएको र तराईको जग्गा पनि भोग बञ्चित गर्न लागेकोले नालेश गरेको हुँ भन्ने वादी वा. टिकाप्रसाद कोइरालाले २०३७।१०।७ मा गरेको बयान ।
६. २०३१।११।२७।३ मा भएको बण्डा बमोजिम वादीले चित्त बुझाई बसेको सो जग्गा वादीले नै दर्ता गराउनु पर्ने दर्ता गराउन नदिएमा बण्डा बमोजिम जग्गा दर्ता गराउन दिएन भन्नेतर्फ कानूनी उपचार खोज्नु पर्ने सो नगरी २०३५ सालको बाली नदिएपछि मात्र अंशमा दावी लिएको हुँदा अंशबण्डाको ३० नं. ले पारित नभएको बण्डापत्र सदर हुने भएकाले अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने झापा जिल्ला अदालतबाट भएको २०३९।३।२८।२ को फैसला ।
७. घरसारमा बण्डा गरेको लिखत बमोजिम जग्गा भोग्दै गर्नु भन्ने बण्डा लेखकको आधारमा सो जग्गा पुनरावेदनको नाममा आउन र दाखिल खारेज हुन नसक्ने हुँदा ०३५ सालको बाली नपाउँदा मात्र अंशमा दावी लिएको भन्ने आधार मानी झुठ्ठा बहाना बनाई अंश नदिने नियत लिएको विचारसंग सहमत भई अंशबण्डाको १०, १८, ३० नं. प्रमाण ऐन, २०३१ को दफा ६ को समेत प्रत्यक्ष त्रुटि गरी प्रस्तुत मूल मुद्दासंग संलग्न जालसाजी मुद्दालाई खारेज गरेको झापा जिल्ला अदालतको ०३९।३।२८।२ को फैसला गैरकानूनी र न्यायिक मनको अभावमा गरिएको हुँदा सो फैसला उल्टाई बदर गरी हक इन्साफ गरी पाउँ भन्ने २०३९।५।२१।२ को झापा जिल्ला अदालत मार्फत परेको पुनरावेदन ।
८. २०३१ सालको बण्डा स्वीकारी सो बण्डा अनुसारको जग्गा आयस्ता खान नपाएकोले पुनः अंश पाउँ भनी दावी लिएको देखिन्छ । यसरी २०३१ सालमा नै बण्डा भई अंश पाई सकेकोले पुनः अंश पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिँदैन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४४।५।२९ को फैसला ।
९. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा अंशबण्डाको ३० नं. को त्रुटि भएको देखिँदा पुनरावदेनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको २०४४।९।२१ को आदेश ।
१०. नियम बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले वादी प्रतिवादीहरु बीच २०३१।११।२७ मा भएको बण्डापत्र रजिष्ट्रेशन पारित भएको छैन । वादी प्रतिवादीहरु भिन्न बसेको छ । सो बण्डापत्र जालसाजी मुद्दाबाट निष्क्रिय भइसकेको छ । त्यस्तो निष्क्रिय भइसकेको बण्डापत्रबाट बण्डा पाइसकेको भन्ने ठहर गरेको इन्साफ मिलेको छैन । वादीले प्रतिवादीहरुबाट वादी दावी बमोजिम अंश पाउनु पर्छ भन्ने समेत बसह गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले वादी प्रतिवादीहरु बीच २०३१।११।२७ मा बण्डापत्र गरी भिन्न बसेको छ । बण्डापत्रको सम्पत्तिहरु भोगचलन गरेको समेतबाट अंश पाइसकेको हुँदा अंशमा दावी नलाग्ने हुँदा इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनु पर्दछ भन्ने बहस गर्नु भयो ।
११. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा मलाई अलग बस्नु भनी २०३१।११।२७ मा घरसारमा बण्डापत्र गरी सहिछाप गराए तापनि पहाड र तराई समेतको अचल सम्पत्ति सबै विपक्षी हरिबहादुरले आफ्नो कब्जामा पारी भाइ बुहारी, भाइ भतिजाका नाममा दर्ता गरी एकलौटी खाने नियत गरेकाले फाँटवारी लिई मैले पाउने अंश यकिन गरी पाउँ भन्ने समेत वादीको दावी देखिन्छ । २०३१।११।२७ मा वादीले अंश लिई छुट्टि बसेको चित्त नबुझे अंशबण्डाको ३२ नं.बमोजिम उजूर गरी बदर गराउन सक्नु पर्ने सो सकेको छैन । झुठ्ठा उजूर गरेको हो भनी प्रतिवादीले प्रतिउत्तरमा जिकिर लिएको पाइन्छ । वादी प्रतिवादीहरु अंशियार भएकोमा र २०३१।११।२७ मा अंशबण्डा गरी छुट्टि भिन्न भएमा विवाद देखिँदैन । अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भनी प्रस्तुत मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालतले निर्णय गर्दा २०३१।११।२७ को बण्डापत्रलाई स्वीकारी वादीले दिएको जालसाजी मुद्दामा जालसाज गरी दर्ता गराएको ठहर भई फैसला भइरहेको देखिन्छ भन्ने समेत आधार लिएको छ । तर सो घरसारको बण्डापत्रलाई यिनै वादीले यिनै प्रतिवादीउपर दिएको जालसाजी मुद्दामा “सो बण्डापत्र पारीत गराई आफू आफूको भाग दर्ता भोग तिरो लेनदेन कारोबार समेत गरेको नदेखिएको सो घरसारको बण्डापत्रमा उल्लेख भएको वादीका भागमा परेको भनेको जग्गा समेत प्रतिवादीहरु निजका स्वास्नी छोरा समेतका नाममा नापीमा दर्ता भएको देखिन आएकोले बण्डापत्र निष्क्रिय भएको देखियो भन्दै वादीको हक मेट्ने गरी जालसाज गरेको ठहर्छ” भनी झापा जिल्ला अदालतबाट २०४१।१२।१ मा फैसला भई अन्तिम रुपमा रहेको प्रमाण मिसिलबाट देखिन्छ । यसबाट सो घरसारको बण्डापत्र निष्क्रिय भएको पाइन्छ । त्यसरी सो जालसाजी मुद्दाबाट निष्क्रिय भएको २०३१।११।२७ को घरसारको बण्डापत्रबाट वादीले अंश पाइसकेको भनी ठहर गर्न मिल्ने देखिँदैन । सो बण्डापत्रबाट वादीको भागमा परेको भनेको जग्गा वादीका नाउँमा दर्ता भएको छ भनी प्रतिवादीले देखाउन सकेको पनि छैन । सो बण्डापत्र कानून बमोजिम रजिष्ट्रेशन पारीत भएको पनि देखिँदैन । वादी र प्रतिवादीहरुले बण्डापत्र समेत गरी छुट्टी भिन्न भएको भनी देखाएको मिति २०३१।११।२७ गतेलाई वादी प्रतिवादीहरु मानु छुट्टिएको मिति कायम मान्नु पर्ने हुन आयो । वादीको लेखाइबाट वादी प्रतिवादीहरु ३ अंशियार र वादीका आमा पुनमाया समेत चार अंशियार भएको देखिन्छ । वादीले अंश पाइसकेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन । तसर्थ मानो छुट्टिएको मितिदेखि अघिल्ला दिनसम्मको अंश गर्नु पर्ने श्रीसम्पत्तिमा वादीले प्रतिवादीहरुबाट चारखण्डको एकखण्ड अंश पाउने ठहर्छ । मानु छुट्टिएका मितिदेखि अघिल्ला दिनसम्मको अंशबण्डा गर्नु पर्ने श्रीसम्पत्तिको दुवै वादी प्रतिवादीहरुबाट तायदाती लिई अंशबण्डाको २१, २२, २३ र २४ नं.बमोजिमको रीत पुर्याई तायदाती कायम गरी सोमा ऐन बमोजिम लाग्ने कोर्टफी समेत लिई अंश छुट्याई दिनु भनी दुवैपक्षलाई तारीख तोकी मिसिल शुरु झापा जिल्ला अदालतमा पठाई दिनु । अरु तपसील बमोजिमको लगत दिनु ।
तपसील
वादी डम्बरबहादुर निरौला के निजले फिराद गर्दा राखेको कोर्टफी रु.२५।– अरु दस्तूर रु.१६।– पू.क्षे.अ.मा पनरावेदन गर्दा राखेको कोर्टफी रु.२५।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२५।– समेत जम्मा रु.९१।– देहायको प्रतिवादीहरुबाट भराई पाउँ भनी वादीको ऐनका म्याद भित्र दर्खास्त परे दस्तूर केही नलिई देहायका प्रतिवादीहरुबाट बराबरका दरले वादीलाई भराई दिनु भनी का.जि.अ.त. मा लगत दिनु...............१ प्र.शेरबहादुर निरौला १ प्र.हरिबहादुर निरौला १
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४५ साल माघ ११ गते रोज ३ शुभम् ।